nepali news

लग्जेम्बर्गले नेपालसँग साझेदारी गर्ने

एनआईबि संवाददाता,काठमाडौं
२९जनवरी२०२०

नेपालको सामाजिक–आर्थिक विकास प्रयासमा लग्जेम्बर्गले सहयोग गर्ने तत्परता प्रकट गरेको छ । दुई देशबीच परराष्ट्रमन्त्रीस्तरमा बुधबार  परराष्ट्र मन्त्रालयमा भएको वार्ता उक्त राष्ट्रले साझा चासोका विषयमा नेपालसँग सहकार्य गर्ने तत्परता व्यक्त गरेको हो ।

नेपालको औपचारिक भ्रमणमा रहेका लग्जेम्बर्गका विदेशमन्त्री जिन एसलवर्न र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली नेतृत्वको छ सदस्यीय प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्तामा दुई देशबीचका पारस्परिक हित, साझा चासोका विषयमा गहन समीक्षा भएको थियो । प्रतिनिधिमण्डलले साझा चासोका क्षेत्रीय तथा अन्तरराष्ट्रिय विषयमा पनि विचारविमर्श गरेको थियो ।

वार्तामा स्काउटका माध्यमबाट लग्जेम्बर्गले नेपाललाई गरेको सहयोगप्रति हार्दिक आभार व्यक्त गर्दै शिक्षा, स्वास्थ्य र वातावरण संरक्षण एवं विकासका लागि संयुक्त राष्ट्रसङ्घ र युरोपेली सङ्घमार्फत विकास सहायता उपलब्ध गराउँदै आएकामा कृतज्ञता प्रकट गरेको थियो ।

त्यसबखत परराष्ट्रमन्त्री ज्ञवालीले आर्थिक सहायता वृद्धि, व्यापार, लगानी, पर्यटन प्रवद्र्धन, प्रविधि हस्तान्तरणको महत्वमाथि प्रकाश पार्दै त्यसमा लग्जेम्बर्गको सहयोगको अपेक्षा गरे । जलवायु परिवर्तन, सम्पर्क सञ्जाल विस्तार र आप्रवासी कामदारका सम्बन्धमा पनि वार्तामा छलफल हुनुका साथै वहुपक्षीय चासोका कार्यसूचीमा दुवै देशले मिलेर काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका थिए ।

बुुधबारै काठमाडौंस्थित लग्जेम्बर्गको अवैतानिक वाणिज्य दूतावासले द्विपक्षीय सम्बन्ध स्थापनाको ४५औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको विशेष कार्यक्रममा दुवै देशका परराष्ट्रमन्त्रीले आपसी हितका क्षेत्रमा साझेदारीलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

ंक्षिप्त मन्तव्य व्यक्त गर्दै मन्त्री ज्ञवालीले भौतिक पूर्वाधार निर्माण, ऊर्जा उत्पादन, पर्यटन तथा कृषिमा आधारित उद्योगको विकासका लागि नेपाललाई अथाह वैदेशिक सहायता आवश्यक भएकाले लग्जेम्बर्गका उद्यमी व्यवसायीलाई नेपालमा पूँजी परिचालन गर्न आह्वान गरे । उनले विदेशमन्त्री एसलवर्नको सहयोगको अपेक्षा गर्दै त्यस्तो आह्वान गरेका हुन् । आगामी चैतमा आयोजना हुने सगरमाथा संवादमा लग्जेम्बर्गबाट उच्चस्तरमा सक्रिय सहभागिताको अपेक्षा नेपालले गरेको उनले बताए ।

लग्जेम्बर्गका अवैतनिक वाणिज्यदूत श्रीराम लामिछानेले आयोजना गरेका उक्त कार्यक्रममा काठमाडौँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, उद्योगपति, विभिन्न देशका अवैतनिक वाणिज्यदूत र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीको उपस्थिति थियो ।––रासस

काँकरभिट्टा र भारतको पानीट्याङ्की जोड्ने मेची खोलामा पुलसँगै निर्माण भइरहेको सडक

cheking rikhsa in kakadbhiitta naka
पूर्वी नाका काँकरभिट्टाबाट भित्रिएको सवारीलाई जाँच गर्दै प्रहरी । तस्वीर : सुरेन्द्र भण्डारी/रासस
siligudhi -kakadbhiitta border
भारतको पश्चिम बङ्गालस्थित पानी ट्याङ्कीबाट सामान लिएर नेपाल भित्रँदै गरेको ठेलालाई सिमानामा रहेको मेची पुलमा जाँच गर्दै नेपाल प्रहरी । तस्वीर:सुरेन्द्र भण्डारी/रासस

काँग्रेसको १४औ महाधिवेशन निर्धारित मितिमै गरिने, अधिवेशन कार्यतालिका परिमार्जन

२७जनवरी२०२०

नेपाली काँग्रेसले पार्टीको १४औँ केन्द्रीय महाधिवेशन तोकिएको मिति २०७७ फागुन ७ देखि १० (१९–२२फरवरी२०२१) गते काठमाडौँमा नै गर्नेे निर्णय गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा सोमबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले सो निर्णयमा कुनै परिवर्तन गरेन ।

बैठकले पार्टीको १४औँ महाधिवेशनको निर्धारित मिति अन्तगर्त त्यस अघिका अधिवेशन कार्यतालिकामा केही परिमार्जन गरेको छ । गत पुस ११ गते केन्द्रीयसमिति बैठकको बहुमतका आधारमा गरिएको निर्णयमा परिमार्जन गरिएको हो ।

बैठकले क्रियाशील सदस्यता वितरण र छानबिन तथा गाउँ/नगर वडा अधिवेशनदेखि प्रदेश अधिवेशनसम्मको कार्यतालिकामा परिमार्जन गरेको काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

परिमार्जित निर्णयअनुसार गाउँ/नगर वडा अधिवेशन २०७७ कात्तिक १६, गाउँ÷नगरपालिका अधिवेशन कात्तिक १८, प्रदेशसभा क्षेत्रीय अधिवेशन कात्तिक २१, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन कात्तिक २३ र एक भन्दा बढी भएकाको जिल्ला अधिवेशन कात्तिक २५ र प्रदेश अधिवेशन मङ्सिर २९ गते हुनेछ ।

साथै बैठकले यही माघ मसान्तभित्र पार्टीको अन्तरिम संरचना समायोजन गरी सक्ने, आगामी फागुनदेखि चैत मसान्तसम्म प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नवीकरण गर्ने, २०७७ वैशाख मसान्तभित्र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले वितरण गरेको नयाँ क्रियाशील सदस्यता र जिल्ला कार्यसमितिले नवीकरण गरेको क्रियाशील सदस्यताको सूची प्रकाशन र केन्द्रमा पठाउने निर्णय गरेको छ ।

यसैगरी २०७७ जेठ १५ भित्र नयाँ क्रियाशील सदस्यता वितरण सम्बन्धमा जिल्लास्तरीय क्रियाशील सदस्यता प्रारम्भिक छानबिन समितिमा उजूरी र नवीकरण उपर क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिमा उजूरी दिने, जेठ मसान्तभित्र उजूरी उपर क्रियाशील सदस्यता प्रारम्भिक छानबिन समितिले निर्णय गरिसक्नुपर्नेछ ।

विसं २०७७ असार १५ भित्र क्रियाशील सदस्यता प्रारम्भिक छानबिन समितिले गरेको निर्णयमा चित्त नबुझेमा क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिमा उजूरी दिइसक्नुपर्ने, साउन १५ भित्र उजूरीउपर केन्द्रीय छानबिन समितिले निर्णय गरिसक्नुपर्ने, साउन २५ भित्र नयाँ क्रियाशील सदस्यता र क्रियाशील सदस्यता नवीकरणको नामावलीको अन्तिम सूची तयार गरी केन्द्रीय सभापतिलाई बुझाइसक्नु पर्नेछ ।

साउन मसान्तभित्र केन्द्रीय कार्यालयले केन्द्रीय सभापतिबाट प्रमाणित क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची केन्द्रीय निर्वाचन समितिलाई बुझाउने निर्णय भएको उनले बताउनुभयो ।

पार्टीको विधानबमोजिम गठन हुने “क्रियाशील सदस्यता केन्द्रीय छानबिन समिति” ले गर्ने कार्यसम्पादन गर्न सात सदस्यीय क्रियाशील सदस्यता छानबिन समिति गठन गर्ने र सभापतिले समितिका संयोजक तथा सदस्यको मनोनयन आवश्यक परामर्श गरी गर्ने निर्णय गरिएको छ ।

पार्टीको १४औं महाधिवेशन सम्पन्न गर्न परिमार्जनसहित सोमबार पारित गरिएको उपरोक्त कार्यतालिका र कार्यविधिसँग सम्बन्धित विधानका दफा र नियमावलीका नियम सम्बन्धमा अर्को बैठकमा छलफल गर्ने निर्णय भएको मुख्य सचिव पौडेलले बताए । केन्द्रीय कार्यसमितिको अर्को बैठक यही माघ २३ गते(६ फरवरी२०२०) दिउँसो २ बजे बस्नेछ ।–राससबाट सम्पादित

नेपालमा भित्रिने रेमिटान्समा भारत दोश्रो स्थानमा

एनआईबि संवाददाता,काठमाडौं

२७ जनवरी २०२०

नेपालमा सबैभन्दा धेरै रेमिट्यान्स भित्रिने मुलुकमा भारत दोश्रोमा रहेको एक अध्ययनले देखाएको छ । नेपालमा पहिलो स्थानमा कतार बाट सबैभन्दा बढि रेमिटान्स भित्रिने गरेको छ । नेपाल राष्ट्र बैंकले गरेको पछिल्लो चार महिनाको अध्ययनले कतारपछि भारतबाटधेरै रेमिट्यान्स भित्रिने गरेको देखाएको छ ।

राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको कात्तिकसम्ममा सबैभन्दा धेरै कतारबाट ५३ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्स आएको छ । यो रकम सो अवधिमा नेपाल आएको कुल रकमको १७.७ प्रतिशत हो । त्यसपछि दोश्रो स्थाना रहेको भारतबाट सो अवधिमा ४३ अर्ब १६ करोड रुपैयाँ रहेको छ । समग्र रेमिटान्समा भारतबाट भित्रिने रेमिटान्सको योगदान १४.२ प्रतिशत रहेको छ ।

चालू आर्थिक वर्षको पहिलो चार महिनामा कुल ३ खर्ब ४ अर्ब ९७ करोड रेमिट्यान्स भित्रिएको छ ।

सदनको सभामुखमा ‘अग्नि सर’

२६ जनवरी २०२०

‘हाम्रो चयन उपयुक्त रहेछ । कुनै पनि दलले उहाँको विकल्पमा अर्को प्रस्ताव सार्नुभएन’, यो भनाइ हो नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता सुवास नेम्वाङको । प्रतिनिधिसभाको आइतबारको बैठकमा नेकपा स्थायी समिति सदस्य एवं सांसद अग्निप्रसाद सापकोटालाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव राख्दै उपनेता नेम्वाङले सभाध्यक्षकालागि आफूहरुको चयन उपयुक्त भएको बताएर पार्टीको निर्णय सही भएको स्पष्ट परे । नेता सापकोटा लामो समयदेखि संसदीय प्रक्रियामा सहभागी रहेको र राजनीतिमा आउनुअघि कुशल शिक्षक समेत रहनुभएकाले सभामुखका लागि उहाँ उययुक्त पात्र रहेको पूर्व सभामुखसमेत रहनुभएका नेम्वाङको भनाइ थियो ।

‘कञ्चन’ उपनामले चिनिने सापकोटालाई आम मानिसले हेडसरका रूपमा चिन्छन् । राजनीतिमा लाग्नुभन्दा अघि लामो समय शिक्षक हुँदै प्रधानाध्यापकसमेत भएका उनलाई सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक दोलखा, सिन्धुली र रामेछापका धेरैजसोले ‘माड्साप’ वा ‘अग्नि सर’ का रूपमा चिन्छन् ।

धेरैले ‘अग्नि सर’ का रूपमा चिन्ने सापकोटा अब प्रतिनिधिसभाको नयाँ सभामुखका रूपमा निर्वाचित भएका छन् । संविधानसभाबाट जारी भएको संविधानपछि गठन भएको प्रतिनिधिसभाको दोस्रो सभामुखका रूपमा सापकोटाले आफ्नो यात्रा तय गरेका हुन् ।

संसदीय गतिविधिमा लामो समय व्यतित गरेका पूर्वसभामुख एवं नेकपा संसदीय दलका उपनेता नेम्वाङले भने जस्तै सापकोटा लामो समयदेखि यो क्षेत्रमा क्रियाशील छन् । ‘जीवनकालमा राम्रो र मेहेनती शिक्षकका रूपमा क्रियाशील रहनुभएको थियो । यी सबै पृष्ठभूमिलाई ध्यान दिएर माननीय अग्निप्रसाद सापकोटाबाट प्रतिनिधिसभाले निर्वाह गर्नुपर्ने भूमिका बहन हुन्छ भने आशा लिएको छ’, उनले भने ।

सापकोटालाई सभामुख बनाइयोस् भन्ने नेम्वाङको प्रस्तावलाई नेकपा संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङ, पूर्वसभामुख ओनसरी घर्ती र राजपा सांसद लक्ष्मणलाल कर्णले समर्थन गरेका थिए । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसलगायतले पनि उम्मेदवारी नदिएर सापकोटालाई नै समर्थन ग¥यो । नेपालको संसदीय इतिहासमा प्रमुख प्रतिपक्षीको समेत समर्थनमा सभामुख बन्न पाउने सौभाग्य सापकोटाले पाएका छन् ।

नेता सापकोटालाई नेकपाले यही माघ ५ गते सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो । तत्कालीन सभामुख कृष्णबहादुर महरामाथि यौन दुव्र्यवहारको आरोप लागेपछि विगत चार महिनादेखि रिक्त रहँदै आएको सभामुखमा लामो बहस र छलफलपछि नेकपाले उम्मेदवार टुङ्गो लगाएको थियो । सभामुखविहीन हुँदा प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश नै नगरी स्थगित हुँदै आएको थियो ।

सभामुखको आसनमा रहनुभएका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सापकोटा सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरे । सो घोषणालाई सत्तारूढ नेकपा र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस, राजपा, संघीय समाजवादी लगायतले स्वागत गरेका थिए । ज्येष्ठ सदस्य ठाकुरले सभामुखमा सापकोटा निर्वाचित भएको घोषणा गरेपछि सबैभन्दा पहिले पूर्वसभामुख ओनसरी घर्तीले बधाई दिइन भने सँगै रहेकी नेकपा नेत्री फम्फा भुसालले बधाइ दिइन ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले खादा ओढाउँदै सापकोटालाई सफल कार्यकालको सफलताको शुभकामना दिए । नेकपाका सांसदहरुको बधाइसँगै नवनिर्वाचित सभामुख सापकोटा आफ्नै शैलीमा प्रधानमन्त्री केपी शर्मा ओली बसेको आसन नजिक पुगे । प्रधानमन्त्रीले नवनिर्वाचित सभामुख सापकोटालाई बधाइ दिए।
सापकोटा आफैँले प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालगायतका नेताहरुसँग पनि पालैपालो हात मिलाए । राजपाका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईसँग पनि बधाइ आदानप्रदान गरे ।

नवनिर्वाचित सभामुख सापकोटा माओवादीले सञ्चालन गरेको जनयुद्धमा होस् वा राजकीय जिम्मेवारीमा रहँदा नै किन नहोस, प्राप्त भएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने सादगी र इमान्दार नेताका रूपमा परिचित छन् । माओवादीले शुरु गरेको जनयुद्धमा सहभागी हुँदा होस् वा शान्ति प्रक्रियामा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक लगायतका जिल्लावासीले उनलाई सादगी नेताका साथै ‘अग्नि सर’का रूपमा चिन्छन् । विसं २०१४ फागुन २४ गते सिन्धुपाल्चोकको कुविण्डेमा तिलमाया सापकोटा र धनपति सापकोटाको सुपुत्रका रूपमा जन्मिएका सापकोटाले त्रिभुवन विश्वविद्यालयबाट स्नातकसम्मको अध्ययन गरेका छन् ।

नवनिर्वाचित सभामुख सापकोटा २०३५ सालमा नेकपा (चौथो महाधिवेशन) बाट पार्टी राजनीतिमा लागेका हुन् । नेकपा स्थायी कमिटी सदस्य रहनुभएका सापकोटा २०६४ चैत २८ गते सम्पन्न पहिलो संविधानसभाको निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नं २ बाट निर्वाचित भएका थिए ।

विसं २०६८ मा सूचना तथा सञ्चारमन्त्री भएका सापकोटा २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा पनि सिन्धुपाल्चोक–२ बाट दोस्रोपटक संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । तत्कालीन नेकपा (माओवादी)ले विजय हासिल गरेकामध्ये वाग्मती अञ्चलबाट निर्वा्चित हुने एकमात्रै नेता उनी हुन । सापकोटाले २०७३ सालमा नेपाल सरकारको वन तथा भू–संरक्षण मन्त्रीको समेत जिम्मेवारी सम्भालेका थिए ।

विसं २०७४ मा भएको प्रतिनिधिसभाको निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नं १ बाट निवाचित सापकोटा २०४८ सालदेखि सक्रियरूपमा राजनीतिमा क्रियाशील छन् । विसं २०५१ मा तत्कालीन नेकपा (एकता केन्द्र) को केन्द्रीय सदस्य हुँदै २०५१ असोजमा नेकपा (माओवादी) केन्द्रीय सदस्य हुनुभएका उनी २०५२ माघदेखि भूमिगत राजनीतिमा समेत संलग्न थिए ।

उनले विसं २०५८ मा तत्कालीन नेकपा (मोआवादी)का तर्फबाट गठन गरिएको तीन सदस्यीय वार्ता टोलीमा रही शान्ति प्रक्रियालाई अगाडि बढाउन महत्वपूर्ण योगदान गरेका थिए । तत्कालीन एकीकृत नेकपा (माओवादी) को हेटौँडा महाधिवेशनबाट पोलिटब्युरो सदस्य बनेका उनले २०६९ साउनदेखि एकीकृत नेकपा (माओवादी) को स्थायी समिति सदस्य तथा पार्टीको केन्द्रीय प्रवक्ताको भूमिका निर्वाह गरे । सानैदेखि विद्रोही स्वभावका सापकोटा कुविण्डेका सापकोटा परिवारकै पहिलो प्रधानाध्यापक हुने पहिलो व्यक्तिका रूपमा समेत परिचित छन् ।

स्पष्ट वक्ता र राजनीतिमा कहिल्यै विचलित नहुने स्वभावका सापकोटालाई प्रतिनिधिसभाको ‘हेडसर’ अर्थात सभामुख बन्ने सौभाग्य मिलेको छ । जनयुद्धकाल तथा शान्ति प्रक्रियामा समेत पार्टी, देश र जनताप्रति इमान्दार भएर लागेका सापकोटाकै पहलमा लामो समयदेखि बन्द भएको तातोपानी नाकासमेत खुलिसकेको छ । राजधानीभन्दा जनताको घर आँगनमा नै रमाउन चाहने सापकोटा पार्टीभित्र स्पष्ट विचार राख्ने नेतामध्ये एक हुन ।

नेकपाको बहुमत रहेको प्रतिनिधिसभालाई जनताप्रति उत्तरदायी बनाउने र नीति निर्माणमा विगतमा जस्तै कुशलतापूर्वक जिम्मेवारी बहन गर्ने दायित्व समयक्रमले सापकोटाको काँधमा ल्याइदिएको छ । सभामुखमा निर्वाचित भएपछि उहाँले दिनुभएको प्रतिक्रिया नै काफी छ । उनले भने,‘संघीय संसद्लाई थप जनमुखी, जिम्मेवार, तटस्थ, निष्पक्ष र सन्तुलित भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

#सभामुख

नेपालले गरयो भारत र पाकिस्तानबीच मध्यस्तताको प्रस्ताव

एनआईबि संवाददाता,नयाँ दिल्ली
२६जनवरी२०२०

भारत र पाकिस्तानबीच तनाव कम गर्न नेपालले मध्यस्तताको प्रस्ताव गरेको छ । कश्मीर तथा सीमापार आतंकवादको मुद्दामा नेपालले मध्यस्तताको प्रस्ताव गरेको हो । नेपाल सरकारको श्रोतको हवाला दिदै भारतीय समाचार संस्था पिटिआइको समाचारलाइ भारतीय संचारमाध्यमहरुले छापेका छन् ।

परमाणु सम्पन्न दुइ छिमेकी मुलुकबीच मध्यस्ताको प्रस्ताव राख्ने नेपाल दक्षिण एशियाको पहिलो मुलुक रहेको छ । समाचारमा भनिएको छ, ‘नेपाल सरकारको श्रोतका अनुसार आपसी विवाद समाधानकालागि दुवै मुलुकबीच कुराकानी हुनु अत्यन्त आवश्यक छ । यसबीच दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्कले पनि नयाँ जीवन पाउनेछ । ’

‘कुनै पनि समस्या समाधानकालागि वार्ता उत्तम तरीका हो यदि आवश्यक परेमा हामी मध्यस्तकर्ताको भुमिका निभाउन तयार छौं,’ श्रोतको हवाला दिदै समाचारमा लेखिएको छ ।

गत वर्ष अगस्तमा जम्मु कश्मीरको धारा ३७० खारेज गरेपछि भारत र पाकिस्तानबीचको तनाव चुलिएको थियो ।

यस अघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीच मध्यस्ताको प्रस्ताव गरिसकेका छन । तर यसलाइ भारतले अस्वीकार गरेको थियो ।

चार वर्षदेखि भएको छैन सार्क सम्मेलन

२०१४मा काठमाडौंमा सम्पन्न १८ औं सार्क शिखर सम्मेलन पछि सार्क निष्क्रिय छ । सो सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानका तात्कालिन प्रधानमन्त्री नवाज शरिफ दुवै सहभागी भएका थिए ।

त्यसपछि १५–१९नोभेम्बर २०१६ मा १९ औं सम्मेलन पाकिस्तानमा हुने तय भएको थियो तर उरीको पुलवामा भएको आक्रमण पछि भारतले पाकिस्तानमा हुने सम्मेलनमा सहभागी हुन अस्वीकार गरयो । पछि यो बैठक नै रद्द भयो ।

चीनको चोङसिङमा हिमालयको उडान शुरु

एनआईबि संवाददाता,काठमाडौं
२३ जनवरी २०२०

नेपालबाट अन्तरराष्ट्रिय गन्तव्यमा उडान भर्दै आएको नेपालको निजी लगानीको वायुसेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले चीनको चोङकिङमा सिधा उडान शुरु गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा कम्पनीले विहिबारदेखि नियमित उडान शुरु गरेको काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

एयरलायन्सले चोङकिङमा साताको तीन दिन उडान भर्नेछ । चोङकिङ चीनको एक मनोरम पर्यटकीय शहर हो । यो उडानले पर्यटक आवागमनमा टेवा पुग्ने कम्पनीले जनाएको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारी तथा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी, हिमालय एयरलाइन्सका अध्यक्ष झोउ इयोङ, पर्यटन सचिव केदारबहादुर अधिकारीले संयुक्त रूपमा उडान शुभारम्भ गरेका थिए ।

सो अवसरमा पर्यटनमन्त्री भट्टराईले हिमालयका उडान विस्तारले नेपालको पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्ने बताउँदै निकट भविष्यमै नेपाल एयरलाइन्सले पनि चीनका विभिन्न गन्तव्यमा उडान भर्ने विश्वास व्यक्त गरे । उनले नेपालबाट चीनका विभिन्न गन्तव्यमा उडानले आगामी दिनमा चिनियाँ पर्यटकको बढोत्तरी हुने विश्वास व्यक्त गरे ।

पर्यटनमन्त्री भट्टराईले निकट भविष्यमै सञ्चालनमा आउन लागेको भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा पनि चिनियाँ जहाजले सिधा उडान भर्नसके चिनियाँ पर्यटक बढ्नुकासाथै लुम्बिनीको विकासमा थप योगदान पुग्ने विश्वास व्यक्त गरे ।

चिनियाँ राजदूत झोउले नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भमा चीनका विभिन्न गन्तव्यमा हिमालयको उडान विस्तारले बढी भन्दाबढी चिनियाँ नागरिक नेपाल भित्रयाउन सहयोग पुग्ने बताइन ।
कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले कम्पनीले चीनका अन्य गन्तव्यमा पनि व्यावसायिक उडान भर्ने र बढी पर्यटक भित्रयाउने लक्ष्य रहेको बताए ।

हिमालयको यो उडान चीनको पाँचौ गन्तव्य हो । निकट भविष्यमै चीनको ल्हासामा उडान गर्ने कम्पनीको योजना छ ।

महंगाईका कारण अब खाद्यान्न पसलमा तरकारी बेच्ने योजनामा भारत

एनआईबि संवाददाता, नयाँ दिल्ली

भारत सरकारले महंगाईका कारण अप्ठेरोमा परेका उपोभोक्तालाई राहत दिन आगामी बजेटमा केही योजना ल्याउन सक्ने अनुमान गरिएको छ।भारतीय सञ्चारमाध्यमको समाचार अनुसार नीति आयोगले तरकारीको बढ्दो मूल्यलाई ध्यानमा राख्दै जन वितरण प्रणाली (पीडीएस) अनुसार तरकारी बेच्न सरकारलाई सुझाव दिएको छ।

आलु, टमाटर, प्याजको बढ्दो मूल्यलाई काबुमा राख्न पीडीएसको हिस्सा बनाउन आयोगले सरकारलाई आग्रह गरेको बताइएको छ। आयोगको सुझावलाई वित्तमन्त्री सीतारमणले १ फरवरीमा पेश गर्ने बजेटमा अपनाउन सक्ने बताइएको छ।

नीति आयोगका अनुसार तरकारी पीडीएस प्रणालीमा बिक्रि गर्दा मूल्यमा आएको उताड चडावमा नियन्त्रण आउनुका साथै यस क्षेत्रमा सरकारले दिएको अनुदानको पनि पूर्ण रुपमा उपयोग हुने बताएको छ।

आयोगको आकलन अनुसार उपभोक्ताको कुल आम्दानीको ५० देखि ५५ प्रतिशत हिस्सा खानपिनमा खर्च हुने गर्छ। त्यसैले आम उपोभोक्तासँग सरकार पनि बढ्दो महंगीका कारण अप्ठेरोमा परेको छ। जसरका कारण आगामी बजेटमा नयाँ रणनीति अख्तियार गर्ने सोचमा रहेको समाचारमा जनाइएको छ।

उपसभामुखले भेटिन् अध्यक्षद्वयलाई, आइतबारबाट संसद नियमित हुने आश्वासन

एनआईबि संवाददाता, काठमाडौँ

१० जनवरी २०२०

उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फे प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेकी छन् । उनी अध्यक्षद्वयलाई भेट्न शुक्रवार   बालुवाटार पुगेकी हुन् ।

उनी करिब एक घन्टा अध्यक्षद्वय छलफल गरी फर्किएकी छन् । रिक्त प्रतिनिधिसभाको सभामुख पदको निर्वाचनको मिति पर सरिरहेका वेला तुम्बाहाङ्फेलाई बोलाएर दुई अध्यक्षले वार्ता गरेका हुन् ।

नेकपाभित्र सभमुख कसलाई बनाउने भनी सकस परिरहेका बेला सभामुखकै दाबेदारी मानिएकी उपसभामुख तुम्बाहाम्फेले अध्यक्षद्वयसँग भेटघाट गरेकी हुन् ।

सभामुखमा पहिलो दाबी प्रस्तुत गर्दै आएकी तुम्बाहाङ्फेलाई दुई अध्यक्षले यसअघि नै बाटो खोलिदिन आग्रह गरिसकेका छन् । तर, उनले महराको गल्तीको दोष आफूलाई नदिन आग्रह गर्दै सभामुखको पहिलो दाबेदारका रुपमा आफैँलाई प्रस्तुत गरिरहेकी छन् ।

यदि उपभामुख पद छाडेमा मन्त्री बनाउने आश्वासन दुई अध्यक्षले उनलाई दिएका छन्। तर उनले आफूले कुनै गल्ती नगरेको अवस्थामा सभामुख आफैँ हुनुपर्ने अडान राखेपछि नेकपाभित्र सभामुखको गाँठो झन् अड्किएको छ।

प्रधानमन्त्री ओली र अध्यक्ष दाहलसँग भेट गरेर फर्किएकी उपसभामुख तुम्बाहाङ्फेले आइतबारबाट प्रतिनिधिसभा नियमित सञ्चालन हुने जानकारी दिएकी छन् । साथै उनले सोही दिनबाट सभामुख निर्वाचन प्रक्रियासमेत अघि बढ्ने पनि उनले जानकारी दिएकी छन् ।

आज दुई अध्यक्षसँगको भेट पछि उनले यस्तो बताएकी हुन्। यसअघि १६ पुषलाई बोलाइएको संसद बैठक सूचना टाँसेर स्थगित गरिएको थियो। २७ पुषलाई बोलाइएको संसदको हिउँदे अधिवेशनको बैठकले सभामुख चयन प्रक्रिया शुरु गर्ने उपसभामुख तुम्बाहाङ्फेले जानकारी दिएकी छन्।

नेकपाभित्र सभामुख उम्मेदवारका विषयमा भने हालसम्म कुनै सहमति भएको छैन।

सेजमा देखिएका समस्या समाधानमा सरकार गम्भीर

१० जनवरी २०२०

विशेष आर्थिक क्षेत्र (सेज)मा देखिएका सबै प्रकारका समस्या समाधानका लागि सरकारले क्रमिक रूपमा पहल गर्ने भएको छ । व्यापार घाटा घटाउने र आर्थिक समृद्धिका लागि मार्ग प्रशस्त गर्ने लक्ष्यका साथ स्थापना गरिएको भैरहवा विशेष आर्थिक क्षेत्रमा औद्योगिक वातावरण बन्न नसकेको तथा विद्युत् आपूर्ति लगायतका समस्या रहेको भन्दै उद्योगी तथा व्यवसायीले गुनासो गरेपछि सरकारको तर्फबाट उक्त प्रतिबद्धता आएको हो ।

उद्योग वाणिज्य तथा अपूर्तिमन्त्री लेखराज भट्टले सेजमा रहेका र देखिएका सबै प्रकारका समस्या समाधानका लागि मन्त्रालयले समिति नै बनाएर अनुगमन गर्ने जानकारी दिए । सेजका पूर्वाधार अझै पूर्ण हुन नसकेको, उद्योगीले आवश्यक सुविधा नपाएको र कतिपय उद्योगीले सेजमा उद्योग सञ्चालन गर्ने भनेर राखेको प्रस्ताव आवश्यक सुविधा नपाएको भन्दै बाहिरिएको अवस्थामा मन्त्री भट्टले आफूसहितको टोली गएर अनुगमन गर्ने र समाधानमा लाग्ने विश्वास दिलाए ।

“हामीसँग दक्ष एवं प्राविधिक जनशक्तिको अभाव छ । सेजमा पनि केही समस्या छन् भन्ने विषयमा म, राज्यमन्त्री, सचिवलगायतको टोली नै बनाएर सेज अनुगमन गर्नेछौँ, व्यावहारिक समस्या ‘अन द स्पट’ समाधान गरिने छ, नीतिगत सुधारको काम पनि भइरहेको छ”, मन्त्री भट्टले भने ।

नेपाल आर्थिक पत्रकार समाज सेजन र समुन्नति फाउण्डेशनले भैरहवा सेजको अवस्थाबारे विहिबार आयोजना गरेको अन्तरक्रियामा मन्त्री भट्टले भने, निर्यात वृद्धिका लागि ल्याइएको सेजमा उद्योगी आकर्षित हुन नसकेको विषयमा समस्या केलाएर समधान गरिन्छ ।” उनले भैरहवामा मात्रै होइन, सिमरामा पनि उद्योगी आकर्षिक नभएको पाइएको छ, समस्या के हो र समाधान कसरी गर्न सकिन्छ भन्ने विषयमा मन्त्रालयले विशेष पहल गर्ने बताए ।

उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले सेजमा देखिएका समस्या समाधान गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताए । उनले आर्थिक क्षेत्रको विकासका लागि सेजका जस्तै गरी अन्य क्षेत्रको पनि समस्या पहिचान गरेर अघि बढ्नुपर्नेमा जोड दिए । स्थिर र बलियो सरकार आउँदा पनि निजी क्षेत्र र आम जनाताले अपेक्षाकृत सुधार पाउन नसकेको अवस्थामा सरकारले यस्ता विषयलाई प्राथमिकता दिनुपर्ने राज्यमन्त्री दुगडको भनाइ थियो ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा शङ्कर शर्माले आवेदन दिएकामध्ये पाँच उद्योगी फिर्ता भएको विषयमा सरकारले कारण खोज्नुपर्ने बताए । सन् २००१ देखि भैरहवा सेजको प्रक्रिया शुरु भएकामा अहिलेसम्म तीन वटा उद्योग मात्रै सञ्चालनमा छन् । तेह्र वटाले उद्योग सञ्चालनको प्रतिबद्धता गरेको भए पनि पाँच वटा फिर्ता भएका छन् ।

सेज प्राधिकरणका उपसचिव सुन्दर थापाले मागका आधारमा बिजुलीको समस्या नभएको दाबी गरे । कूल ५८ कर्मचारीको दरबन्दी भए पनि नौ कर्मचारीको भरमा सञ्चालन गर्नुपरेको उनले गुनासो पोखे ।

कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक हरराज न्यौपानेले सेजमा आगामी एक महिनाभित्र १५ मेगावाट विद्युत् दिन र यथास्थितिमा थप पाँच मेगावट विद्युत् दिन समस्या नरहेको जानकारी गराए । उनले सेज क्षेत्रमा सवस्टेशन निर्माण भएसँगै त्यसको समस्या कम हुने स्पष्ट पारे । विद्युत् प्रसारण लाइन निर्माणको क्रममा वन र सडकबाट अवरोध भएकाले समस्या भएको पनि उनले उल्लेख गरे ।–––रासस,भैरहवा

Nepal news headlines | breaking news kathmandu | national news of nepal live