nepal news in india

हर्षवद्र्धनको ठाउँमा तरनजीत सिंह सन्धु अमेरिकाका राजदूत

एनआईबि संवाददाता,नयाँ दिल्ली

भारत सरकारले हर्षवद्र्धन श्रृंगलालाइ विदेश सचिव नियुक्त गरेसँगै उनको ठाउँमा तरनजीत सिंह सन्धुलाइ संयुक्त राज्य अमेरिकाकालागि राजदूत नियुक्त गरेको छ । मंगलबार भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दैं सन्धुलाइ अमेरिकाको राजदूत नियुक्त गरेको जनाएको छ । भारतीय विदेश सेवामा १९८८को ब्याचका सन्धु हाल श्रींलंकाकोलागि भारतीय उच्चायुक्तको जिम्मेवारीमा रहेका छन् ।

उनले वाशिंगटनमा उपनियोग प्रमुखको रुपमा सन् २०१३देखि २०१७ सम्म जिम्मेवारी संभालिसकेका छन् । त्यसैगरि वाशिंगटनमै १९९८देखि२००० सम्म प्रथम सचिवको रुपमा काम गरेका थिए ।

उनले केहि समयभित्रै राजदूतको रुपमा आफ्नो जिम्मेवारी संभाल्ने भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

संसद् चलाउन विपक्षलाई विश्वासमा लिनुपर्छ : सभापति देउवा

२८जनवरी२०२०

नेपाली काँग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले संसद् चलाउन सभामुखले विपक्षी दललाई विश्वासमा लिनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा नवनिर्वा्चित सभामुख अग्निप्रसाद सापकोटालाई बधाई दिँदै उहाँले भन्नुभयो,‘सभामुख तटस्थ र निष्पक्ष पद हो । संसद विपक्षीको हो भन्ने कुरा ध्यान दिन आग्रह गर्छु । सत्तापक्षले संसद्मा ल्याउने कानूनका बारेमा आलोचना गर्ने काम प्रतिपक्षको हो ।’

संविधानको भावना प्रतिकूल केही विधेयकहरु सरकारले संसदमा पेश गरेको भन्दै उनले मानवअधिकार, प्रेस स्वतन्त्रता विरोधी विधेयकहरु त्यही रुपमा पारित गर्न नहुनेमा जोड दिए । प्रजातन्त्रकालागि पूर्ण प्रेस स्वतन्त्रता आवश्यक रहेको उनको भनाइ थियो ।

कोरोना भाइरसका सन्दर्भमा जोखिम न्यूनीकरणकालागि २४ घण्टे ‘हेल्प डेस्क’ चलाउन आवश्यक रहेको उल्लेख गर्दै सभापति देउवाले चीनसँग सिधा उडान रहेको र चीनमा रहेका नेपालीका बारेमा समेत सरकारको ध्यान जानुपर्ने बताए ।

संयुक्त राज्य अमेरिकाको सहयोग ‘मिलेनियम च्यालेन्ज कर्पाेरेशन’ (एमसिसी) विभिन्न चरण पार गर्दै तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाका पालामा नेपालले हस्ताक्षर गरेको अवगत गराउँदै उहाँले भन्नुभयो,‘यति ठूलो सहयोग नेपालमा आउनेवाला छ ।

नेपालको विद्युत् भारतमा निर्यात गर्नका लागि अमेरिकाले दिने सहयोग नेपालले किन नलिने ? तत्काल एमसिसी संसद्बाट अनुमोदन गर्नुपर्छ ।’

संसद्को प्रतिष्ठा उच्च बनाउन भगिरथ प्रयत्न गर्नेछु: सभामुख सापकोटा

२८जनवरी२०२०

नवनिर्वा्चित सभामुख अग्निप्रसाद सापकोटाले संसद्को प्रतिष्ठा उच्च बनाई राख्न आफ्नो भगिरथ प्रयत्न रहने स्पष्ट पारेका छन् । प्रतिनिधिसभाको मंगलबारकोे बैठकमा आफू सभामुख पदमा निर्वाचित भएकामा बधाई तथा शुभकामना व्यक्त गर्नुहुने सम्पूर्ण सांसदप्रति आभार प्रकट गर्दै उनले सदनलाई सफलताका साथ सञ्चालन गर्न हरसम्भव प्रयासरत रहने उल्लेख गरे ।

उनले सदनको कामकारवाही अगाडि बढाउन सबै राजनीतिक दल र सांसद सदस्यबाट सदैव सकारात्मक सहयोग प्राप्त हुने विश्वाससमेत व्यक्त गरे । यसैगरी प्रतिनिधिसभाको बैठकले सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यको नामसमेत मनोनयन गरेको छ ।

बैठकमा सभामुख सापकोटाले बैठकको अध्यक्षता गर्ने सदस्यको नाम मनोनयनकालागि प्रस्ताव गरेका थिए । भने सो प्रस्तावलार्ई बैठकको सर्वसम्मतिले अनुमोदन गरेको छ । अध्यक्षता गर्ने सदस्यहरुमा उमाशंकर अरर्ग्रिया, चन्द्रकान्ता चौधरी, डा.डिला सङ्ग्रौला, मानबहादुर विश्वकर्मा, राधा ज्ञवाली, रेखा शर्मा र सोमप्रसाद पाण्डे रहेका छन् । प्रतिनिधिसभाको अर्को बैठक यही माघ १७ गते बिहान ११ बजे बस्नेछ ।–रासस

काँग्रेसको १४औ महाधिवेशन निर्धारित मितिमै गरिने, अधिवेशन कार्यतालिका परिमार्जन

२७जनवरी२०२०

नेपाली काँग्रेसले पार्टीको १४औँ केन्द्रीय महाधिवेशन तोकिएको मिति २०७७ फागुन ७ देखि १० (१९–२२फरवरी२०२१) गते काठमाडौँमा नै गर्नेे निर्णय गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा सोमबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले सो निर्णयमा कुनै परिवर्तन गरेन ।

बैठकले पार्टीको १४औँ महाधिवेशनको निर्धारित मिति अन्तगर्त त्यस अघिका अधिवेशन कार्यतालिकामा केही परिमार्जन गरेको छ । गत पुस ११ गते केन्द्रीयसमिति बैठकको बहुमतका आधारमा गरिएको निर्णयमा परिमार्जन गरिएको हो ।

बैठकले क्रियाशील सदस्यता वितरण र छानबिन तथा गाउँ/नगर वडा अधिवेशनदेखि प्रदेश अधिवेशनसम्मको कार्यतालिकामा परिमार्जन गरेको काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

परिमार्जित निर्णयअनुसार गाउँ/नगर वडा अधिवेशन २०७७ कात्तिक १६, गाउँ÷नगरपालिका अधिवेशन कात्तिक १८, प्रदेशसभा क्षेत्रीय अधिवेशन कात्तिक २१, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन कात्तिक २३ र एक भन्दा बढी भएकाको जिल्ला अधिवेशन कात्तिक २५ र प्रदेश अधिवेशन मङ्सिर २९ गते हुनेछ ।

साथै बैठकले यही माघ मसान्तभित्र पार्टीको अन्तरिम संरचना समायोजन गरी सक्ने, आगामी फागुनदेखि चैत मसान्तसम्म प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नवीकरण गर्ने, २०७७ वैशाख मसान्तभित्र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले वितरण गरेको नयाँ क्रियाशील सदस्यता र जिल्ला कार्यसमितिले नवीकरण गरेको क्रियाशील सदस्यताको सूची प्रकाशन र केन्द्रमा पठाउने निर्णय गरेको छ ।

यसैगरी २०७७ जेठ १५ भित्र नयाँ क्रियाशील सदस्यता वितरण सम्बन्धमा जिल्लास्तरीय क्रियाशील सदस्यता प्रारम्भिक छानबिन समितिमा उजूरी र नवीकरण उपर क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिमा उजूरी दिने, जेठ मसान्तभित्र उजूरी उपर क्रियाशील सदस्यता प्रारम्भिक छानबिन समितिले निर्णय गरिसक्नुपर्नेछ ।

विसं २०७७ असार १५ भित्र क्रियाशील सदस्यता प्रारम्भिक छानबिन समितिले गरेको निर्णयमा चित्त नबुझेमा क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिमा उजूरी दिइसक्नुपर्ने, साउन १५ भित्र उजूरीउपर केन्द्रीय छानबिन समितिले निर्णय गरिसक्नुपर्ने, साउन २५ भित्र नयाँ क्रियाशील सदस्यता र क्रियाशील सदस्यता नवीकरणको नामावलीको अन्तिम सूची तयार गरी केन्द्रीय सभापतिलाई बुझाइसक्नु पर्नेछ ।

साउन मसान्तभित्र केन्द्रीय कार्यालयले केन्द्रीय सभापतिबाट प्रमाणित क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची केन्द्रीय निर्वाचन समितिलाई बुझाउने निर्णय भएको उनले बताउनुभयो ।

पार्टीको विधानबमोजिम गठन हुने “क्रियाशील सदस्यता केन्द्रीय छानबिन समिति” ले गर्ने कार्यसम्पादन गर्न सात सदस्यीय क्रियाशील सदस्यता छानबिन समिति गठन गर्ने र सभापतिले समितिका संयोजक तथा सदस्यको मनोनयन आवश्यक परामर्श गरी गर्ने निर्णय गरिएको छ ।

पार्टीको १४औं महाधिवेशन सम्पन्न गर्न परिमार्जनसहित सोमबार पारित गरिएको उपरोक्त कार्यतालिका र कार्यविधिसँग सम्बन्धित विधानका दफा र नियमावलीका नियम सम्बन्धमा अर्को बैठकमा छलफल गर्ने निर्णय भएको मुख्य सचिव पौडेलले बताए । केन्द्रीय कार्यसमितिको अर्को बैठक यही माघ २३ गते(६ फरवरी२०२०) दिउँसो २ बजे बस्नेछ ।–राससबाट सम्पादित

नागरिक लगानी कोषले नाफा कमाउने होइन – अर्थमन्त्री

२७जनवरी२०२०

अर्थमन्त्री डा युवराज खतिवडाले नागरिक लगानी कोषलाई पूँजीबजारमा लगानी विस्तारका लागि मार्ग प्रशस्त गर्न लागिएको बताएका छन् । उनले कोषले सहायक कम्पनीमार्फत पूँजीबजारमा लगानी बढाउने र त्यसले बजार विस्तारका अतिरिक्त सुदृढीकरणमा समेत काम गर्ने विश्वास व्यक्त गरे ।

सङ्घीय संसदको अर्थ समितिको सोमबारको बैठकमा ‘नागरिक लगानी कोष ऐन, २०४७ लाई संशोधन गर्न बनेको विधेयक’ माथिको छलफलमा अर्थमन्त्री डा खतिवडाले कोषको सहायक कम्पनी स्थापना गरी पूँजीबजारमा लगानी बढाउने तयारीमा सरकार अगाडी बढेको स्पष्ट पारे ।

छलफलमा अर्थमन्त्रीले कोष मुद्राबजारको संस्था नभई पूँजीबजारको संस्था भएको उल्लेख गर्दै ‘ मार्केट मेकर’ अत्यावश्यक भएकाले पनि त्यसतर्फ केन्द्रीत हुन लागेको बताए । अर्थमन्त्रीले भने,‘सहायक कम्पनीमार्फत कोषले पूँजीबजारमा मार्केट मेकरको काम गर्छ । त्यसका लागि कोषको पूँजी रु तीन अर्ब पर्याप्त छ ।’

लगानीकर्ताको हितका लागि स्थापना गरिएको कोष वाणिज्य बैंक जस्तो नरहेको र ट्रष्टी पनि नभएको उनको भनाइ थियो । उनले कोष सामान्य नाफामूलक सार्वजनिक संस्था भएको र सङ्कलन गरिएको रकमको सुरक्षित लगानी गर्ने निकाय मात्रै भएको जानकारी दिए । ‘कोष वाणिज्य बैंक जस्तो नाफा कमाउने संस्था त होइन, तर लगानी सुरक्षित भने हुनुपर्छ । त्यसकाकारण यसलाई अन्य नाफामूलक संस्था जसरी तुलना गरिनु उपयुक्त हुँदैन’, उनले भने ।

उनले नागरिक लगानी कोष र कर्मचारी सञ्चयकोषलाई सामाजिक सुरक्षा कोषसँग मेल खाने गरी कुनै पनि प्रकारको योजना नल्याउनसमेत निर्देशन दिए । कर्मचारी सञ्चयकोषका अध्यक्ष समेत रहेका राजश्व सचिव शिशिरकुमार ढुङ्गानालाई निर्देशन दिँदै उनले भने,‘कर्मचारी सञ्चयकोषको अध्यक्ष पनि यहीँ हुनुहुन्छ । सकेसम्म सामाजिक सुरक्षा कोषसँग मिल्ने गरी कुनै पनि योजना नल्याउनुस् ।’

समितिको बैठकमा ‘नागरिक लगानी कोष ऐन, २०४७ लाई संशोधन गर्न बनेको विधेयक’ माथिको दफावार छलफल जारी छ । सांसदहरुले दर्ता गराउनुभएको संशोधन प्रस्तावमाथि नियमित छलफल गर्ने र पारित गर्ने कार्यसूची रहेको सभापति कृष्णप्रसाद दाहालले जानकारी दिए । ––रासस

सापकोटाविरुद्धको मुद्दा हेर्दाहेर्दै मङ्गलबार

२७जनवरी२०२०

सर्वोच्च अदालतमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दामा आज सुनुवाइ नसकिएकाले हेर्दाहेर्दैमा मङ्गलबार सुनुवाइ हुने भएको छ ।
न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासमा सुनुवाइ शुरु भएको थियो । सुनुवाइ नसकिएको हुँदा हेर्दाहेर्दैमा राखिएको हो ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सशस्त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्यामा संलग्नताको आरोप लागेका सापकोटालाई सभामुखमा नियुक्त नगर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासमा आइतबार पेशी तोकिएको भएपनि सापकोटाविरुद्धको अर्को मुद्दामा सर्वोच्च अदालतमा न्यायाधीश नहुँदै बहस गरेको हुनाले हेर्न नमिल्ने सूचीमा राखिएको थियो ।––रासस

जनताको आशा र विश्वास बढ्ने गरी सदन अगाडि बढ्छ : सभामुख सापकोटा

एनआईबि संवाददाता,काठमाडौं

२७जनवरी २०२०

नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले संसद्प्रति जनताको आशा र विश्वास बढ्ने ढङ्गबाट आफूले सदनको कामकारबाही अगाडि बढाउने बताएका छन । सभामुख पदको शपथ ग्रहणलगत्तै आज सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पदवहाली गरेपछि आयोजित संक्षिप्त पत्रकार भेटघाटमा उनले सदनलाई जीवन्तरूपमा सञ्चालन गरिने बताए ।

“हामीले चुनेर पठाएका प्रतिनिधिले लोकतान्त्रिक बाटोबाट छलफल गरेका छन् भनेर जनताले अनुभव गर्नेगरी सदनलाई अगाडि बढाउँछु”, उनले भने ।“केही विधेयक प्रमाणीकरण गर्न बाँकी छ । प्राथमिकता प्राप्त विधेयकलाई शीघ्र अगाडि लैजाने र विधेयकको प्राथमिकता छुट्टयाएर काम गर्नेछु ।”

सभामुखमा निर्वाचित भएलगत्तै अब आफ्नो सम्पूर्ण ध्यान संसद्मा केन्द्रित भएको उनको भनाइ थियो । सभामुख सापकोटाले सदनमा दर्ता भएका विधेयकका साथै सङ्कल्प प्रस्ताव, सार्वजनिक महत्वका प्रस्तावलाई प्राथमिकता क्रम छुट्टयाएर अगाडि बढाउने बताए ।

‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’ (एमसिसी) सम्बन्धी प्रस्ताव के गर्नुहुन्छ ? भन्ने जिज्ञासामा उनले एमसिसीसम्बन्धी सहयोग लिने/नलिने भन्नेमा नेपाली समाजमा बहस छेडिएको र बहसबाट निस्कने निष्कर्षका आधारमा निर्णय लिइने टिप्पणी गरे । “एमसिसीको सन्दर्भमा सबै सांसदको भावना समेटेर अघि बढ्छु”, उनले भने ।

लोकतन्त्रमा विरोध भइरहन्छन् सभामुखमा निर्वाचित भएपछि आफ्नो बारेमा गरिएको विरोधलाई सामान्यरूपमा लिँदै उनले लोकतन्त्रमा विरोध गर्न सबैलाई छुट भएको टिप्पणी गरे । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेसँगै केही व्यक्तिले विरोध गरेका थिए । उनले आफूविरुद्ध अदालतममा केही मुद्दा विचाराधीन रहेको र ती विषयमा बढी बोल्नु मनासिव नहुने बताए । “यस विषयमा धेरै बोल्नु परिवक्वता हुँदैन”, त्यस विषयमा आफूलाई बोल्न बाध्य नपार्न आग्रह गर्दै उनले भने , “केही विषय उठेका छन्, ती निरुपण हुँदै जान्छन् ।”

पदवहालीलगत्तै सभामुख सापकोटाले संसद्मा पेश गर्न विधेयक स्वीकृत गरेका थिए। सभामुखलाई कार्यकक्षमा सङ्घीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलगायत संसद्का कर्मचारीले स्वागत गरेका थिए । –––रासस

नेपाल भारत सीमा बैठक फागुनमा

नेपाली संचारमाध्यमबाटः

२७जनवरी २०२०

कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा सीमा विवादबारे नेपाल र भारतका परराष्ट्रसचिवस्तरीय वार्ता फागुनमा हुने भएको छ । भारतीय नेतृत्वले विदेश मन्त्रालयमा नयाँ सचिव हर्षवद्र्धन श्रृंगलाले जिम्मेवारी लिएसँगै वार्ता हुने जनाउ दिएपछि परराष्ट्र मन्त्रालय त्यसको तयारीमा जुटेको हो। मिति भने तय भएको छैन।

दुई औपचारिक पत्र र पटक–पटक अनौपचारिक छलफलपछि नेपाल हेर्ने डेस्कले फागुन अन्त्यसम्ममा बैठक बस्ने जानकारी दिएको परराष्ट्र अधिकारीको भनाइ छ। भारतले सबै समस्या वार्ताबाट समाधान हुने भनेर कूटनीतिक नोटको उत्तर पठाएको एक महिनापछि त्यस्तो जानकारी दिएको हो।

यसअघि परराष्ट्रसचिव स्तरमा वार्ता गर्न आलटाल भइरहेको थियो। पछिल्लो समय संवादबाट विवाद समाधान गर्न भारत इच्छुक देखिएको परराष्ट्र अधिकारीको बुझाइ छ। यसअघि भारतले नेतृत्व आन्तरिक राजनीतिमा केन्द्रित हुनुपरेको, विदेश मन्त्रालयको संयन्त्र र नेपालमा राजदूत परिवर्तनजस्ता विषय देखाउँदै तत्काल वार्ता नगर्ने बताएको थियो।

भारतीय विदेशसचिव विजय गोखलेको कार्यकाल मंगलबार सकिँदै छ। त्यस स्थानमा श्रिंगला आउँदै छन्। अमेरिकामा राजदूत रहेका उनी नेपाली बोल्छन्। बैंकक र ढाकामा राजदूत भइसकेका उनले नेपाल–भारत सम्बन्धका विषयमा गम्भीर रूपले छलफल गर्ने संकेत दिएको कूटनीतिक स्रोतले बतायो।

उनले डीसीमा हुँदा कूटनीतिज्ञसँगको छलफलमा भन्ने गरेका थिए– ‘नेपाल–भारत समस्याको समाधान वार्ता नै हो।’ अमेरिकास्थित एक कूटनीतिज्ञले टेलिफोनमा भने, ‘नेपाललाई राम्ररी बुझेका व्यक्ति भारतमा बुधबारदेखि विदेशसचिव बन्दै हुनुहुन्छ। उहाँले पक्कै छलफल गरेर समस्या समाधानमा जोड दिनुहुनेछ।’

नयाँ सचिव र राजदूत आएपछि सीमाका विषयमा थप छलफल अघि बढ्ने परराष्ट्रसचिव शंकरदास वैरागीले बताए। ‘हामी छलफलका लागि पहल गरिरहेका छौं’, उनले भने, ‘भारतमा विदेश मन्त्रालयको नेतृत्व र नेपालका लागि राजदूत पनि परिवर्तनको अवस्था थियो, त्यसैले ढिलाइ भएको हो।’

सरकारले भारतलाई दुईपटक कूटनीतिक नोट पठाएर सीमाका विषयमा वार्ताको पहल गरेको थियो।….

आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।

link:

http://annapurnapost.com/news/146557

‘सगरमाथा संवाद’ बारे अन्तरराष्ट्रिय सञ्चारमाध्यमलाई ‘ब्रिफिङ’

एनआईबि संवाददाता,काठमाडौं

२४जनवरी२०२०

नेपाल सरकारले आगामी अप्रिल(चैत्र)मा आयोजना गर्न लागेको अन्तराष्ट्रिय स्तरको पहिलो ‘सगरमाथा संवाद’ बारे भारत लगायत अन्तराष्ट्रिय संचारमाध्यमका प्रतिनिधिहरुलाइ बिस्तृत जानकारी गराएको छ । राष्ट्रिय, क्षेत्रीय, अन्तर्राष्ट्रिय तथा विश्वव्यापी समसाययिक तथा साझा चासोका विषयमा सघन बहस र छलफल गर्ने उद्देश्यले सरकारले आउँदो अप्रिल २देखि४ सम्म आयोजना गर्न लागेको ‘संवाद’ बारे शुक्रबार परराष्ट्र मन्त्रालयमा अन्तक्रिया गरियो ।

नेपालमा पहिलोपटक आयोजना गर्न लागिएको सो संवादका साथै नेपाल भ्रमण वर्षको समेत प्रचार प्रसार गर्ने उद्देश्यले सरकारको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतका वरिष्ठ पत्रकारहरूको टोलीलाई संवाद कार्यक्रमको आयोजना, औचित्य र सहभागितालगायत विषयबारे बिस्तृत जानकारी गराइएको थियो ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आफ्नै मन्त्रालयमा अन्तरराष्ट्रिय सञ्चारमाध्यमका नेपालस्थित प्रतिनिधि, राष्ट्रिय समाचार समिति र भ्रमणमा रहेका भारतका पत्रकारबीच अन्तक्र्रिया गर्दै सरकारले छिमेकी, दक्षिण एशियाली, बिमस्टेक, ठूला तथा जलवायु परिवर्तनले असर पारेका पर्वतीय र साना सामुद्रिक टापुका मुलुकलाई संवादमा सहभागी हुन आमन्त्रण गरिएको जानकारी गराए ।

प्रत्येक दुई वर्षमा आयोजना गरिने संवादको पहिलो संस्करणको शीर्षक ‘जलवायु परिवर्तन, पर्वतीय वातावरण र मानव जातिको भविष्य’ रहेको जानकारी दिँदै उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि आमन्त्रण गरिएको बताए । यद्यपि मोदीको सहभागिता बारे नयाँदिल्लीबाट जवाफ आइनसकेको पनि उनले जानकारी दिए ।

अन्तक्रियामा जलवायु परिवर्तनको प्रत्यक्ष चपेटामा पर्दै आएका पर्वतीय मुलुकहरू,सामुद्रिक टापुका मुलुक तथा हिन्दूकुश हिमालय जस्ता उच्च पर्वतमालामा उच्च अवस्थितिका कारण जलवायु परिवर्तनको असर पृथ्वीका अन्य क्षेत्रमा भन्दा चाँडो र तीव्रगतिमा परिरहेको यथार्थ मन्त्री ज्ञवालीले साझा गरेका थिए ।

विभिन्न मुलुकमा नेपाल सरकारका तर्फबाट तीन उच्च तहबाट निमन्त्रणा गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट सम्बन्धित देशका राष्ट्र प्रमुख र सरकार प्रमुखलाई छुट्टाछुट्टै निमन्त्रणा गरिएको छ । सगरमाथा संवादका संयोजक पराराष्ट्रमन्त्री ज्ञवालीका तर्फबाट पनि उनका समकक्षीका साथै अन्य विदेशी पाहुनालाई आमन्त्रण गरिएको छ ।

संवाद कार्यक्रममा नेपालले समेत सामना गर्नु परिरहेका वातावरणीय, सामाजिक, आर्थिक, सांस्कृतिक, प्राविधिक, जनजीवनलगायत विश्वव्यापी चासोका मामलाहरू एवं समस्याहरूबारे सरोकार राख्ने मुलुक, अन्तरराष्ट्रिय संस्था, नागरिक समाज, अनुसन्धाता तथा विज्ञ, प्राज्ञिक संस्था लगायतका सरोकारवालाहरुसँग छलफल गरिने छ ।

संवाद आयोजनाकालागि परराष्ट्रमन्त्रीकै अध्यक्षतामा २० सदस्यीय सगरमाथा संवाद आयोजक समिति गठन गरिएको छ भने राष्ट्रिय योजना आयोगका सदस्य डा ओलीको संयोजकत्वमा जलवायु परिवर्तन, पर्वतीय पर्यावरणलगायत सम्बन्धित क्षेत्रका विषयका जानकार सम्मिलित १३ सदस्यीय सगरमाथा विशेषज्ञ कार्यदल गठन भई त्यसले काम गरिरहेको छ । सगरमाथा संवाद आगामी चैत २० देखि २२(अप्रिल २–४) गतेसम्म काठमाडौँमा आयोजना हुनेछ ।

सरकारलाई हरहालतमा सफल बनाइ छाड्छौँ :प्रवक्ता श्रेष्ठ

एनआईबि संवाददाता,काठमाडौं
२३ जनवरी २०२०

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नो विजयले वर्तमान सरकारलाई प्रभावकारी रुपमा सञ्चालन गरेर परिणाममुखी बनाउन मद्दत पुग्ने बताएका छन् । राष्ट्रियसभा सदस्यमा निर्वाचित भएपछि विहिवार साँझ पोखरामा आयोजना गरिएको विजयीसभामा उनले सरकार र सदनको प्रभावकारिता वृद्धि गरी ‘समृृद्ध नेपाल, सुखी नेपाली’को सरकारको आकांक्षालाई सफल तुल्याउन आफ्नो विजयले सघाउने दावी गरे ।

उनले भने,‘राष्ट्रियसभामा प्रभावकारी भूमिका निर्वाह गर्न र सरकारलाई प्रभावकारी रुपमा सञ्चालन गरेर परिणाममुखी बनाउन विजयले मद्दत गर्नेछ । हामी सरकारलाई हरहालतमा सफल बनाइछाड्छौ म आफ्नातर्फबाट सम्पूर्णरूपमा प्रतिबद्धता व्यक्त गर्दछु ।’

आफूहरुको विजयले सांसद्को उपस्थिति र सरकार सञ्चालनमा संख्यात्मक अन्तर पार्ने नभएपनि पार्टीको नीति र कार्यक्रम तथा घोषणापत्र अनुसार सरकारले सामाजिक आर्थिक रुपान्तरणको प्रक्रियालाई गुणात्मक फड्कोमा पु¥याउने विश्वास उहाँले व्यक्त गरे ।

नेता श्रेष्ठले राष्ट्रियसभामा उम्मेदवार बनाउने र विजयी गराउन योजना बनाउने पार्टी नेतृत्व र पार्टीलाई आभार व्यक्त गर्दै मतदान प्रक्रियामा सहभागी सबैमा धन्यवाद व्यक्त गरे । अर्का नवनिर्वाचित सांसद भगवती न्यौपानेले परिवर्तन पक्षधर जनता विजयी हुँदै आएको वर्तमान युगमा पार्टी र जनताको अपेक्षालाई पूरा गर्न आफू लागिपर्ने प्रतिबद्धता व्यक्त गर्दै मतदान गर्ने सम्पूर्णमा आभार व्यक्त गरिन ।
निर्वाचन कार्यालयले मतपरिणाम सार्वजनिक गरेलगत्तै नेकपाका नेता कार्यकर्ताले राष्ट्र बैंक चोक हुँदै शहीद चोकसम्म विजयी ¥याली निकालेका थिए ।

राष्ट्रिय सभाको विहिबार १८ पदकोलागि सम्पन्न निर्वाचनमा नेकपाका १६ र नेकपा राजपा गठबन्धनका २ जना निर्वाचित भएका छन् । विहिबारको निर्वाचनमा नेपाली काँग्रेस शून्यमा रहेको छ ।

Nepal news headlines | breaking news kathmandu | national news of nepal live