ट्रम्प अघि कुन कुन अमेरिकी राष्ट्रपतिले भारत भ्रमण गरे ?

trump
Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एनआईबि संवाददाता,नयाँ दिल्ली,

काठमाडौँ ,२४ फरवरी २०२०

अमेरिकी राष्ट्रपति ट्रम्पको भारत भ्रमण अघि ६ राष्ट्रपतिले भारत भ्रमण गरेका छन् । ट्रम्प सातौं राष्ट्रपति हुनेछन् । वाराका ओवामा अघिका राष्ट्रपतिहरुले भारत भ्रमणका कार्यक्रम पाकिस्तान र अफगानिस्तानको भ्रमणसँगै तय गरेको देखिएको छ ।

कुनै राष्ट्रपतिले भारत भ्रमण गरेर पाकिस्तान अफगानिस्तानको भ्रमण गरेका थिए भने कोही पहिले नै भ्रमण सकाएर भारत आएका थिए । यसले अमेरिकाको भारतप्रतिको इन्ट्रेस्ट क्रमिक रुपमा बढदै गएको देखिन्छ ।

राष्ट्रपति ड्वििट डेभिड आइसनहवर

भारत स्वतन्त्र भएको १२ वर्षपछि अमेरिकाबाट पहिलो राष्ट्रपतिले भारत भ्रमण गरेका थिए । सन् १९५९ मा अमेरिकाका तात्कालिन राष्ट्रपति ड्वििट डेभिड आइसनहवरले स्वतन्त्र भारतको पहिलो भ्रमण गरेका थिए ।

दोश्रो विश्व युद्ध समाप्त भएको दुइ वर्षपछि सन् १९४७ मा ब्रिटिश शासनबाट स्वतन्त्र भएको भारत भ्रमण अघि आइसनहवरले डिसेम्बर ७ देखि ९ सम्म पाकिस्तान र अफगानिस्ताको भ्रमण सकाएर अन्त्यमा भारत आएका थिए ।

१९५९ डिसेम्बर ९ देखि १४ सम्म भारतको भ्रमणमा रहेका आइसनहवरले नयाँ दिल्ली र आगरामा समय बिताएका थिए । उनी अमेरिकाका ३४ औं राष्ट्रपति थिए । उनले दुइ पटकको कार्यकालमा दोश्रो कार्यकालको मध्यमा भारत भ्रमण गरेका थिए ।

उनको भारत भ्रमणको समयमा भारतमा राजेन्द्र प्रसाद राष्ट्रपति र जवाहरलाल नेहरु प्रधानमन्त्री थिए । उनले त्यतिबेला भारतको संसदलाइ समेत सम्बोधन गरेका थिए ।
राष्ट्रपति जान एफ केनेडि र लिण्डन बी जानसन

१९६१मा ३५औं राष्ट्रपति बनेका जान एफ केनेडिले भारत भ्रमण गरेनन् । राष्ट्रपति बनेको दुइ वर्षमै केनेडिको हत्या गरिएको थियो । उनको निधन पछि १९६३मा राष्ट्रपति बनेका लिण्डन बी जानसनले पनि भारत भ्रमण गरेनन । तर उनले पाकिस्तानको भ्रमण भने गरेका थिए । उनी डिसेम्बर २३ १९६७मा पाकिस्तान आएका थिए । उनले केनेडिको बाँकी रहेको दुइ वर्ष र त्यसपछि चारवर्षको कार्यकाल गरेर ६ वर्ष राष्ट्रपतिको जिम्मेबारी संभालेका थिए ।

राष्ट्रपति रिचार्ड निक्सन

आइसनहवर भारत आएको दश वर्षपछि सन् १९६९ जुलाइ ३१मा राष्ट्रपति रिचार्ड निक्सनले भारतको राजकीय भ्रमण गरेका थिए । जिम्मेबारी संभालेको ६ महिनाभित्रै उनी दुइ दिने भ्रमणका क्रममा भारत आएका थिए । उनले तात्कालिन राष्ट्रपति मोहम्मद हिदायातुल्लाहलाइ भेटेका थिए । इन्दिरा गान्धी त्यतिबेला भारतको प्रधानमन्त्री थिइन । भारत भ्रमण सके लगत्तै अगस्त १–२मा निक्सन दुइ दिने भ्रमणका क्रममा पाकिस्तान पनि पुगेका थिए ।

राष्ट्रपति जिम्मी कार्टर

जिम्मी कार्टरले सन् १९७८ जनवरी १–३ सम्म गरेको भारत भ्रमणका क्रममा उनले पनि भारतको संसदमा सम्बोधन गरेका थिए । निलम सन्जीव रेड्डी राष्ट्रपति र मोरारजी देसाइ प्रधानमन्त्री भएको समयमा कार्टरको भारत भ्रमण भएको थियो । उनले हरियाणा राज्यको भ्रमण समेत गरेका थिए ।

राष्ट्रपति बिल क्लिंगटन

सन् २०००मा राष्ट्रपति बिल क्लिंगटन पनि भारत आएका थिए । २०००मार्च १९देखि२५ सम्मको भ्रमणको तालिकामा २० तारिखमा उनले बंगलादेश पुगेर फेरि भारत फर्किएका थिए । उनले तात्कालिन भारतीय राष्ट्रपति के.आर. नारायणसँग भेट गरेका थिए । उनको भ्रमणका क्रममा उर्जा तथा वातावरण सम्बन्धी संयुक्त वक्तव्यमा हस्ताक्षर भएको थियो ।

२५ मार्चमा भारतबाट विदा भएर उनी पाकिस्तान हुँदै अमेरिका फर्किएका थिए ।

राष्ट्रपति जर्ज डब्लु बुस

सन २००१ देखि दुइ कार्यकाल राष्ट्रपति बनेका जर्ज डब्लु बुसले पनि आफ्नो दोश्रो कार्यकालको मध्यमा भारत भ्रमण गरेका थिए । उनले २००६ मार्च १–३ सम्म भारत भ्रमण गरेका थिए ।

तात्कालिन प्रधानमन्त्री डा. मनमोहन सिंहको कार्यकालमा भारत आएका बुसको भ्रमणका क्रममा भारतकोलागि उपलब्धि मानिएको अमेरिका–भारत न्यूक्लियर संझौतामा हस्ताक्षर भएको थियो ।

यही समयपछि भारत र अमेरिकाबीचको सम्बन्धमा न्यानोपना आउन शुरु भएको हो । भारत र अमेरिका सम्बन्धलाइ गति दिने प्रधानमन्त्रीको रुपमा मनमोहन सिंहको योगदान उल्लेख्य मानिन्छ ।

राष्ट्रपति वाराक ओवामा

त्यसपछिका राष्ट्रपति वाराक ओवामाले दुइ कार्यकालमा दुइ पटक भारतको भ्रमण गरेका थिए । २०१० नोभेम्बर६–९ मा पत्नी मिशेल ओवामाका साथ उनले पहिलो पटक मुम्बइ र दिल्लीको भ्रमण गरेका थिए । अमेरिका भारत व्यापार परिषद तथा उद्यमशीलता शिखर सम्मेलनमा सहभागी भएका ओवामाले मुम्बइको टाउन हलमा मुम्बईका विद्यार्थीहरुसँग छलफल गरेका थिए ।

तात्कालिन राष्ट्रपति प्रतिभा पाटिल र प्रधामन्त्री डा मनमोहन सिंह सँग ओवामाले भेटवार्ता गरेका थिए । उनले पनि भारतीय संसदलाइ सम्बोधन गरेका थिए । ओवामा दम्पतीले हुमायुको मकवरा तथा राजघाट समेत अवलोकन गरेका थिए ।

उनले दोश्रो पटक, प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो कार्यकालमा सन् २०१५ जनवरी २५–२७ मा भारत भ्रमण गरेका थिए । भारतीय गणतन्त्र दिवसको मुख्य अतिथिको रुपमा सहभागी भएका ओवामा , यो अवसरमा सहभागी हुने पहिलो अमेरिकी राष्ट्रपति थिए । त्यतिबेला पनि उनी अमेरिका भारत व्यापार परिषदले आयोजना गरेको छलफलमा सहभागी भएका थिए ।

भारतको भ्रमणमा आएका ओवामा छैठौं अमेरिकी राष्ट्रपति थिए । ती मध्ये सन् १९६९मा राष्ट्रपति रिचार्ड निक्सनले मात्र राजकीय स्तरको भ्रमण गरेका थिए । हालका राष्ट्रपति डोनाल्ड ट्रम्पले राजकीय स्तरको भ्रमण गर्ने भएका हुन् । उनी भारत भ्रमणमा आउने अमेरिकाका सातौं राष्ट्रपति हुनेछन् । भने राजकीय स्तरको भ्रमण गर्ने दोश्रो राष्ट्रपति ।

भारत नआएका अमेरिकी राष्ट्रपति

पछिल्लो ६ दशकमा अमेरिकामा १२ राष्ट्रपति चुनिए । जसमध्ये ६ राष्ट्रपतिले भारत भ्रमण गरे भने ट्रम्प सातौंं राष्ट्रपति हुनेछन् । भारत नआएका राष्ट्रपतिहरु जान एफ केनेडि, लिण्डन बी जानसन, गेराल्ड फोर्ड, जर्ज एच डब्लु बुस र रोनाल्ड रेगन हुन् ।

हाइलाइट
सन् २००६मा दुइ देशबीच भएको न्यूक्लियर संझौतापछि भारत अमेरिका सम्बन्धमा न्यानोपना शुरु भएको हो ।

भारतमा प्रधानमन्त्री डा मनमोहन सिंहको कार्यकालमा अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसले गरेको भारत भ्रमणका क्रममा भएको न्यूक्लियर संझौता पछि भारत–अमेरिका सम्बन्धले गति लिएको देखिन्छ ।


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live