भारतसँगको सम्बन्धलाई नेपालले उच्च महत्व दिन्छः प्रधानमन्त्री ओली

फाइल फोटो

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मोदीलाइ सम्बोधन गर्दै के भने ओलीले?

एनआईबि संवाददाता,काठमाडौं /नयाँ दिल्ली

प्रधानमन्त्री के.पी ओलीले नेपालले भारतसँगको सम्बन्धलाइ उच्च महत्व दिएको बताएका छन् । पेट्रोलियम पाइपलाइनको उदघाटन पछिको भिडियो सम्बोधनमा प्रम ओलीले दुइ देशको सम्बन्ध गहिरो र वृहत रहेको बताए । ‘भारतसँगको सम्बन्धलाई नेपालले उच्च महत्व दिन्छ । यी दुई देशहरूको सम्बन्ध यति गहिरो र बृहत् छ कि कुनै पनि क्षेत्र हाम्रो सहकार्यबाट अछुतो छैन । यसलाई थप विस्तार गर्ने सम्भाव्यता पनि सदैव विद्यमान छ,’ ओलीले भने ।

दक्षिण एशियाकै पहिलो क्रस बोर्डर पाइपलान परियोजनाले दुइ देशबीचको अन्तरसम्पर्क र अन्तरनिर्भरतालाइ अझ सशक्त बनाउने बताउँदै उनले भने ‘यो परियोजना व्यापार तथा पारवहन पूर्वाधारका हिसाबले नेपाल र भारतबीच कनेक्टिभिटिको एक उत्कृष्ट उदाहरण हो । निसंदेह यसले दुइ देशहरुबीचको अन्तरसम्पर्क र अन्तरनिर्भरतालाइ अझ सशक्त बनाउँछ । ’

ओली विकास, समृद्धि तथा जनताको खुसीबारे आफूहरुको दृष्टिकोण समान रहेको भन्दै ठोस राजनीतिक प्रतिबद्धता र कार्यान्वयन गर्ने बलियो संकल्पले त्यसलाइ साथ दिएको बताए । ‘मोदीजीको ‘सबका साथ, सबका विकास, सबका विश्वास’ र मेरो ‘समृद्ध नेपाल र सुखी नेपाली’को सपनाले हाम्रा प्रतिबद्धता, दृढता र आआफ्ना देशका विकासको अवस्थितिलाई रूपान्तरण गर्ने प्रयासको मूल रूपलाई समेट्दछन्,उनले भने ।

यस सन्दर्भमा ओलीले नेपाल–भारत सम्बन्धमा नयाँ उर्जा, गतिशीलता र मार्गदर्शन प्रदान गर्नु आवश्यक रहेको भन्दै यसले आगामी दिनमा नयाँ उचाइ चुमोस् भन्ने आफ्नो विश्वास व्यक्त गरे। ‘यस उद्देश्यको प्राप्तिका लागि मोदीजीसँग हातेमालो गर्न म तयार छु , ओलीले भने ।

उनले दुबै मुलुकमा बलियो सरकार भएको भन्दै दुइदेशीय साझेदारी र सहकार्य थप सशक्त बनाउने वातावरण निर्माण भएको बताए । उनले दुवै मुलुक इतिहासको महत्वपूर्ण विन्दुमा रहेको उल्लेख गर्दै भने , ‘नेपाल र भारत दुबै तर्फ बलियो बहुमतीय सरकार सहितको राजनीतिक स्थायित्व छ । बढ्दो आर्थिक वृद्धि दर, गतिशील तथा सक्षम मानव स्रोतको उपलब्धता एवं प्राकृतिक स्रोतसम्पन्नताले गर्दा विकास तथा समृद्धिका लागि उत्साहजनक वातावरण बनेको छ । यसले गर्दा आपसी हितका लागि दुई देशबीचको साझेदारी र सहकार्यलाई अझ सशक्त बनाउने वातावरण निर्माण भएको छ ।’

भारतको आर्थिक सहयोगमा सम्पन्न नेपालका गोरखा र नुवाकोट जिल्लाका करिब ५० हजार घरको भूकम्पपश्चातको पुनर्निर्माणको प्रशंसा गरेका ओलीले आफ्ना समकक्षी मोदीलाइ नेपाल भ्रमणको निमन्त्रणा पनि दिए ।


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live