‘भारतीय जेलमा रहेका नेपाली कैदीहरुको तथ्याँक सार्वजानिक’,विभिन्न राज्यका जेलमा ६१२ नेपाली कैदीहरु

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कैदीहरुको समस्याबारे सर्वेक्षण गरिदै, भारत स्थित नेपाली दूतावास बेखबर

एनआईबि संवाददाता,नयाँ दिल्ली

भारतका विभिन्न जेलहरुमा ६सय १२ नेपालीहरुले कैदी जीवन बिताइरहेका छन् । भारतीय राष्ट्रिय अपराध तथ्याँक शाखा(नेशनल क्राइम रिकर्डस ब्यूरो–एनसीआरबि)ले भर्खरै जारी गरेको एक तथ्याँक प्रतिवेदनले यो संख्या सार्वजानिक गरेको छ । भारतका १ हजार ४ सय १२ जेलहरुमा रहेका कुल ६ हजार ३ सय ७० विदेशी कैदीहरुको सुचीमा नेपाल नेपाल दोश्रो स्थानमा रहेको छ । पहिलो स्थानमा बंगलादेश छ । जेलमा ३ हजार ७ सय ७० कैदीहरु बंगलादेशका नागरिक रहेका छन् ।

एनसीआरबीले प्रकासित गरेको ‘प्रिजन स्टाटिस्टिक्स२०१६’ वार्षिक प्रतिवेदनमा भारतका दिल्ली लगायत विभिन्न १३ राज्यहरुका जेलहरुमा कुल ६हजार ३ सय ७० विदेशी कैदीहरु मध्ये ६१२ नेपाली रहेको उल्लेख छ । जसमध्ये दोषी प्रमाणित भएका २११ र मुद्दा विचाराधिन रहेका ४०१ रहेका छन् । दोषी र विचाराधिन कैदीहरु क्रमशः८.९ र १२.३ प्रतिशत रहेको छ । कुल कैदीको ९.६ प्रतिशत नेपालीहरु रहेका छन् ।

एनसीआरबिले नागरिकताको आधारमा फरेन नेशनल क्याटेगोरी अन्तर्गत यो तथ्याँक संकलन गरिएकाे हाे । जेलको संख्या,प्रकार,कैदी संख्या, जेल क्षमता, क्षमता भन्दा बढीको भार, दोषी प्रमाणित, विचाराधिन, नजरबन्द, मृत्यु भएका कैदी, विदेशी नागरिक लगायतका शीर्षकमा अध्ययन पछि यो तथ्याँक  सार्वजानिक गरेको हो ।

एनसीआरबीले २०१७ अप्रिलदेखि अगस्त २०१८ डिसेम्बर सम्मको अध्ययनपछि यो प्रतिवेदनले सार्वजानिक गरेको हो । सन् १९९५ देखि प्रकाशन गर्दै आएको शाखाकाे याे २२ औं संस्करण हो । यसअघि लिंग र उमेरका लगायतको आधारमा तथ्याँक सार्वजानिक गर्दै आएको थियो । यस पटक कैदीहरुको विदेशी राष्ट्रियता शीर्षक नै राखेर तथ्याँक जारी गरेको छ । २०१४मा पनि विभिन्न देशका नागरिकहरुको छुट्टा छुट्टै सुची सार्वजानिक गरेको थियो ।

कुन जेलमा कति नेपाली ?

दोषी प्रमाणितहरुको संख्या

दोषी प्रमाणित भएका २११ मध्ये नेपालीहरु उत्तर प्रदेशका जेलहरुमा सबैभन्दा बढि छन् । दिल्ली समेत विभिन्न ९ राज्यहरुका जेल मध्ये उत्तर प्रदेशका जेलहरुमा ११२ जना नेपालीहरु छन् ।
उत्तर प्रदेश–११२, हिमांचल प्रदेश–४०,दिल्ली–११,जम्मु कश्मीर–८,महाराष्ट्र–८,उत्तराखण्ड–८,गोवा–७, पंजाब–७,बिहार–७,मध्य प्रदेश–३

विचाराधिन मुद्दामा रहेका नेपालीहरुको तालिका

दिल्ली समेत गरेर १५ राज्यमा विचाराधिन मुद्दामा रहेका नेपाली कैदीहरुको संख्या ४०१ रहेको छ। जसमध्ये युपीका जेलमा सबैभन्दा बढि १७३ नेपालीहरु रहेका छन् ।
उत्तरप्रदेश–१७३,दिल्ली–५०,हिमांचल प्रदेश–४५,बिहार–४१,महाराष्ट्र–३१,पंजाब–१५,उत्तराखण्ड–१०,कर्नाटक–९,पश्चिम बंगाल–८,जम्मु कश्मीर–७,गोवा–३,तमिल नायडु–३,केरला–३,राजस्थान–२,गुजरात–१

श्रोतः‘प्रिजन स्टाटिस्टिक्स २०१६’, नेशनल क्राइम रेकर्डस ब्यूरो,भारत

विदेशी कैदीहरुको समस्या बारे सर्वे गरिदै

विविध अपराधमा भारतीय जेलमा रहेका विदेशी कैदीहरुको समस्याका बारेमा एकेडेमी अफ प्रिजन्स एण्ड करेक्सनल एडमिनिस्ट्रेसन(एपीसिए)ले सर्वे गर्ने भएको छ । यो सर्वे ६ महिनाभित्र सक्ने लक्ष्य राखिएको छ । भारतीय जेलमा अमेरिका, ब्रिटेन, अष्ट्रेलिया,साउथ अफ्रिका, बंगलादेश, नेपाल, म्यानमार लगायतका मुलुकहरुका कैदीहरु रहेका छन् । यी मुलुकहरुले आ– आफ्ना दूतावास मार्फत कैदिहरुको सहुलियत दिनकालागि सुझावहरु पनि बुझाएको भारतीय संचारमाध्यमले खबर छापेको छ । दूतावासहरुको माँगका कारण एपीसिएले सर्वेक्षण गर्न लागेको हो । दिल्लीको ब्रिटिस उच्चायोगमा भएको एक बैठक पछि यो सर्बे बारे निर्णय गरिएको भारतीय संचारमाध्यमले लेखेको छ ।

नेपाली दूतावास बेखबर

यो तथ्याँकबारे भारतमा रहेको नेपाली दूतावास बेखबर छ । नेपाली दूतावासका उच्च अधिकारीसँग सम्पर्क गर्दा आफूहरु समक्ष जानकारी नआएको बताए । यो खबर बारे जानकारी लिन खोजेपछि बल्ल दूतावासले विदेश मन्त्रालयमा तथ्याँक उपलब्ध गराउन कुरा गरेको दूतावासका एक अधिकारीले भने । यस अघि नेपाली दूतावासले पनि भारतीय जेलमा रहेका नेपालीहरु बारे तथ्याँक संकलन गर्ने बताएको थियो ।

नेपाली दूतावासले आफैले पनि भारतका जेलहरुमा रहेका नेपाली कैदीहरुको तथ्याँक संकलन गरिरहेको उनले जानकारी गराए । पहिलो चरणमा तथ्याँक संकलन गर्ने भनेर दूतावासले झण्डै डेढ वर्षअघि भनेको थियो । अहिले सम्म त्यसमा खासै प्रगति भएको छैन्। ‘हामीसँग त्यस्तो खासै कुनै तथ्याँक संकलन भएको छैन, दूतावासका एक अधिकारीले भने ।

विदेशी उच्चायोगहरुले बैठक गरेर आफ्ना कैदी नागरिकहरुकालागि बलियो पैरवी गरेर विदेशी कैदीहरुको सर्वे नै हुन लागेको छ । दूतावासले कैदीहरुका सम्बन्धमा उपलब्धिमुलक तत्परता नदेखाएको गुनासो भारतमा रहेका प्रवासी नेपालीहरुले निरन्तर गर्दै आएका छन् ।  भारतको केरला, कर्नाटक,महाराष्ट्र,,पंजाब,राजस्थान,तमिल नायडु,चण्डीगढका जेलहरुमा रहेका नेपालीहरुले कष्टकर कैदी जीवन बिताइरहेको समाचार सार्वजानिक भइरहे पनि नेपाल सरकारले गम्भीरतापूर्वक पहल नगरेको गुनासो भारतका नेपाली समुदायहरुले पटक पटक गरिरहेका छन् ।

उनीहरुले भारत भ्रमणमा आएका सरकारका मन्त्रीहरु,राजनीतिक दलका नेताहरुलाइ भेटेर निम्न आर्थिक अवस्थाका अधिकांश नेपालीहरुले बिना अपराध पनि लामो समयदेखि कष्टकर कैदी जीवन यापन गरिरहेको भन्दै उनीहरुको रिहाइकालागि पहल गर्न पटक पटक आग्रह समेत गरिसकेका छन् ।


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live