‘भारतमा मेडिकल कलेजमा अध्ययनरत नेपाली आवासिय चिकित्सकले स्टाइपेन्ड पाउने’

तस्वीरःनेपाली दूतावास,नयाँ दिल्ली

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एनआईबि संवाददाता,नयाँ दिल्ली

भारतको सरकारी मेडिकल कलेजहरुमा अध्ययनरत नेपाली आवासिय चिकित्सकहरुलाइ भारत सरकारले यसै वर्षदेखि भत्ता (स्टाइपेन्ड) उपलब्ध गराउने आश्वासन दिएको छ । भारतका केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्री डा.हर्षवर्धनले यस्तो आश्वासन दिएको उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले बताए ।
शुक्रबार मन्त्री यादवले हयात होटलमा आफ्ना समकक्षी हर्षवद्र्धनसँग भेटघाट गरेका थिए । विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एशियाली सम्मेलनको क्षेत्रीय समितिको उद्घाटन सत्रमा भाग लिन मन्त्री यादव आइतबार दिल्ली आएका मन्त्रीले सम्मेलनको समापनका दिन समकक्षीलाइ भेटेका थिए ।

‘भारतका सरकारी कलेजमा पोष्ट ग्राजुएसनमा अध्ययनरत नेपाली विद्यार्थीहरुलाइ स्टाइपेन्ड यसै वर्षदेखि उपलब्ध गराइने आश्वासन पाएका छौं । अर्को नेपाल र भारतको बीच स्वास्थ्य क्षेत्रमा सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्ने विषयमा पनि सहमति भएको छ,’ भेटमा भएको कुराकानी बताउँदै मन्त्री यादवले भने ।
‘कार्यान्वयन हुने अवस्था बनिसकेको भन्ने कुरा आएको छ , यसै पालि देखि लागु गर्ने भन्नेमा उहाँहरुको दृढता देखिएको छ । चण्डीगढ अस्पतालकालागि निर्णय भइसकेको पनि जानकारी पाएका छौं, मन्त्री यादवले थपे ।

मन्त्री यादवले दिएको जानकारी अनुसार ड्राफ्ट तयार गरिसकेपछि समझदारी पत्रमा पनि छिटै नै हस्ताक्षर गरिने सहमति भएको छ । यसका अलाबा भारतमा र नेपालमा उपचारकालागि आवत जावत गर्ने नागरिकहरुलाइ सहजता प्रदान गर्ने विषय र भारत सरकारको सहयोगमा नेपालमा संचालित अस्पतालहरुको गुणस्तर सुधारका कुरा, आयुर्वेदको विकासकालागि सहयोग गर्ने कुराहरु पनि छलफल भएको मन्त्री यादवले बताए ।

एम्समा अध्ययनरत आवासिय चिकित्सक डा सागर पौडेलका अनुसार हाल भारतको दिल्लीमा रहेको अल इन्डिया इन्टिच्युट अफ मेडिकल साइन्स(एम्स), पोष्ट ग्राजुएट इन्सिटच्युट अफ मेडिकल एजुकेसन एण्ड रिसर्च(पीजीआईएमईआर),चण्डीगढ र जवाहरलाल इन्स्टिच्युट अफ पोष्ट ग्राजुएट मेडिकल एजुकेशन एण्ड रिसर्च(जेआईपिएमईआर),पोन्डिचेरीमा रहेका मेडिकल कलेजहरुमा १५० नेपाली विद्यार्थीहरु अध्ययनरत छन् । अन्तर्राष्ट्रिय प्रावधान अनुसार मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीहरुले स्टाइपेन्ड पाउनु अनिवार्य छ । तर भारतमा यो प्रावधान लागु भएको छैन् । ‘नेपालमा भारतीय चिकित्सकहरुले यो सुविधा पाइरहेका छन्,’ डा सागरले थपे ।

यो प्रावधान लागु भएमा नेपाली आवासिय चिकित्सकहरुले मासिक ९० हजार देखि एक लाख भारतीय रुपैया पाउनेछन् । नेपाली चिकित्सकहरुको यो माँग प्रधानमन्त्री के.पी शर्मा ओलीको पहिलो भारत भ्रमणका समयमा उठान गरिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला पनि उनले संसदमा यो विषयमा बोलेका थिए । पछिल्लो समय काठमाडौंमा सम्पन्न नेपाल भारत संयुक्त आयोगको पाँचौं बैठकमा पनि यो विषयमा छलफल भएको थियो र यसलाइ लागु गर्नेमा भारत सरकारात्मक रहेको भारतकालागि नेपाली राजदूत नीलाम्बर आचार्यले जानकारी दिएका थिए ।

नेपाली चिकित्सकहरुले शुरुमा स्टाइपेन्ड पाउनकालागि कानुनी लडाइ पनि लडे । २०१३मा दिल्ली उच्च अदालतमा मुद्दा दायर गरेका थिए । अदालतले उनीहरुको पक्षमा फैसला सुनाएको थियो । तर एम्सले पून सो फैसलाको विरुद्ध मुद्दा हाल्यो । हामीले कानुनी बाटोबाट नसक्ने भएपछि कुटनीतिक बाटो अपनाएका हौं, डा पौडेलले भने । भारत सरकारले अघिल्लो महिना ल्याएको मेडिकल काउन्सिल विधेयको विरोध हुँदा नेपाली चिकित्सकहरुले एम्स अस्पतालमा निरन्तर पुरयाएको सेवालाइ प्रशंसा गर्दै भारतीय संचारमाध्यमले समाचार नै छापेको थियो । अहिले नेपाली विद्यार्थीहरुले स्टाइपेन्ड त परै जाओस चिकित्सकले पाउने न्यूनतम मेडिकल सुविधा अर्थात इम्प्लोइ हेल्थ सर्भिसेज(ईएचएस)समेत नपाइरहेको अवस्था छ । डा सागर भन्छन, ‘२४ घण्टा खटेर नेपाली चिकित्सकहरुले सेवा पुरयाइरहेका छौं तर हामी बिरामी पर्दा आफनो खर्च गरेर उपचार गराउनुपर्छ । ’


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live