भारती प्रवासी नेपालीको अधिकारकालागि मानव अधिकार आयोगको चासो, आयोगका सात सदस्यीय भ्रमणटोली दिल्लीमा,भारतीय मानव अधिकार आयोगका पदाधिकारीसँग दिल्लीमा छलफल

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एनबीआइ संवाददाता,नयाँ दिल्ली

राष्ट्रिय मानव अधिकार आयोग नेपालका पदाधिकारीहरुले भारतीय मानव अधिकार आयोगका अध्यक्ष जस्टीस एच एल दत्त्तु लगायत पदाधिकारीसँग दिल्लीमा छलफल गरेका छन् । आयोगका सदस्य सुदीप पाठकको नेतृत्वमा मंगलबार दिल्ली आएको सात सदस्यीय टोलीले भारतीय पक्षसँग आ आफना कामको अनुभव आदान प्रदानका साथै सहकार्यको क्षेत्रबारे छलफल गरेको छ । मूलत नेपालबाट हुने मानव तस्करी, भारतमा रहेका प्रवासी तथा आप्रवासी नेपालीहरुको सुरक्षाका विषय लगायत दुबै मुुलुकको साझा समस्यामा कसरी काम गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको आयोगका सदस्य सुदीप पाठकले बताए । दुबैले अपनाएका उत्कृष्ट अभ्यासबाट एक अर्काले कसरी लाभ लिन सकिने विषय तथा भविष्यमा गोष्ठी, सम्मेलन तथा चेतनामूलक कार्यक्रमका साथै साझा कार्यक्रमहरु बनाउने विषयमा भारतीय आयोगसँग छलफल गरेका छौं , पाठकले भने ।
आयोग स्थानपनाको उन्नाइस वर्षको अवधिमा भारतीय मानव अधिकार आयोगसँग विषयगत रुपमा कुराकानी गर्न आयोगको तर्फबाट पहिलो पटक यस प्रकारको उच्चस्तरीय भ्रमण भएको हो । भ्रमण दलमा सदस्य , सचिव , निर्देशक ,उपनिर्देशक, अधिकृत सहितको सात सदस्यीय टोली रहेको छ । ‘पाँच दिने लामो भ्रमणमा विविध विषयको सुक्ष्म तरीकाले अध्ययन र अनुभव गरेको पहिलो पटक हो,’ आयोग सदस्य पाठकले भने ।
विहिबार प्रवासी नेपालीहरुसँग छलफलकालागि दिल्ली स्थित नेपाली दूतावास पुगेका पाठकले भारतीय पक्षसँग भएको कुराकानी साझा गर्दै भने, ‘ मूलत उनीहरुसँग सहकार्य गर्न सकिने क्षेत्र भनेको मानव तस्करी हो त्यसकालागि दुबै आयोगको बीचमा अन्तक्रिया , छलफल, गोष्ठी , सम्मेलन , चेतनामूलक कार्यक्रमहरु गरेर विविध माध्यमबाट काम गर्न सकिन्छ भनेर बुझ्ने बुझाउने काम भएको छ ।’

भारतीय मानव अधिकार आयोग नेपालकासाथै बंगलादेश म्यानमार सँग समेत मिलेर साझेदारीमा काम गर्न इच्छुक रहेको टोलीले जानकारी दिए । ‘भारतीय पक्षको चासो हामीले सोचे भन्दा धेरै पायौं,’ आयोगका सचिव वेद प्रसाद भट्टराइले भने । छलफलका क्रममा आयोगले भारतीय पक्षसँग एउटा संझौता(एमओयू)मा हस्ताक्षर गरेर सहकार्य गर्नकालागि प्रस्ताव राखेको छ । यसमा भारतीय पक्ष पनि सकारात्मक रहेको हुँदा अब आगामी दिनमा यस बारेमा गृहकार्य गरेर अगाडि बढनेछौं, भट्टराइले भने ।
भारतीय मानव अधिकार आयोगको सहकार्यमा भारत भ्रमणमा रहेको आयोगले भारतीय महिला आयोग, अल्पसंख्यक ,अनुसुचित जनजाति तथा सफाइ कर्मचारी आयोगका पदाधिकारीहरुसँग पनि छलफल गरेको छ । । नेपाली महिलाहरुको समस्याका बारे सिधै भारतीय महिला आयोगमा उजुरी गर्न सक्ने व्यवस्थाका बारेमा आयोग पदाधिकारीहरुले प्रवासी नेपालीहरुलाइ जानकारी गराएका थिए । छलफलकै क्रममा भारतमा रहेका प्रवासी नेपालीहरुको गुनासा , सल्लाह र सुझाव समेत संकलन गरेर नेपाल सरकारलाइ प्रतिवेदन बुझाएर कार्यक्रम अघि बढाउने आयोगले जनाएको छ । त्यसोत मानव अधिकार आयोगले पनि अधिकारकालागि लबिंग गर्न सक्ने विषयबारे प्रवासी नेपालीहरु समेत खासै जानकार देखिएनन् । उनीहरुको अवस्था तथा अधिकारका बारे आयोगले दिल्लीमा आएर चासो राखेको पनि पहिलो पटक हो । आयोग पदाधिकारीहरुले दूतावासको हलमा प्रवासी नेपालीहरुसँग स्वतन्त्र रुपमा छलफल गरेका थियो । प्रवासी नेपालीहरुको सुरक्षा तथा समस्या समाधानको विषयमा दूतावासको भुमिकाका बारेमा पनि आयोगले चासो राखेको थियो । आयोगले दूतावासले खेलेको भुमिकाबारे स्वतन्त्र टिप्पणी गर्न प्रवासी नेपालीहरुसँग आग्रह पनि गरेको थियो ।
‘प्रतिवेदनमा यी लगायतका विषय राखेर प्रधानमन्त्री कार्यालय लगायत सरकारका विभिन्न मन्त्रालयमा हाम्रो प्रतिवेदन जान्छ , सरकार सँग छलफल र सहकार्य हुन्छ , कसरी कमीकमजोरीहरुमा सुधार गर्न सकिन्छ भन्ने विषयमा अघि बढन सकिन्छ , पाठकले भने ।
‘दुइ वर्ष अघि भारतमा काम गर्न आएका सुदुर पश्चिम जिल्लाका तीनसय नेपाली कामदार घर नफर्किएको भन्ने उजुरी आयोगमा परेपछि भारत तर्फ आयोगको ध्यान गम्भीर भएको हो’ भारतका नेपालीहरुको हकमा आयोगको चासो किन यति ढिला भन्ने अन्नपूर्णको प्रश्नको जवाफमा पाठकले भने । यस अघि यो स्तरमा छलफल नभएको उनले स्वीकारे ।
भारतमा बसोबास गरिरहेका प्रवासी नेपाली, कामको खोजीमा आवत जावत गर्ने आप्रवासी नेपाली तथा मानव तस्करीमा परेर बेचिएका नेपाली महिलाहरुको मानवअधिकारको संरक्षणकालागि आयोग गम्भीर रहेको स्पष्ट पारेको छ । आगामी दिनमा भारतीय नेपालीहरुको समस्याको उजुरीकालागि भारतीय मानवअधिकार आयोग तथा महिला आयोगको अनलाइनमा सिधैं उजुरी गरेर मानव अधिकार आयोग नेपाललाइ पनि एक कपी पठाउने सुझाव दिएका थिए । नेपालभित्र काम गरेको जस्तो भारतमा काम गर्न सहज नहुने वास्तविकता बताउँदै पाठकले भने, यद्यपि दुइ वटा आयोगको बीचमा मैत्रीपूर्ण सम्बन्ध विकास गरेर हामी सशक्त रुपमा सहकार्य गर्न सक्छौं । ’
मानव अधिकारको पक्षमा सरकारलाइ प्रतिवेदन बुझाउने र सोही अनुरुप आगामी दिनका कार्यक्रमहरु तय गर्नकालागि पनि यो भ्रमण महत्वपूर्ण रहेको आयोग पक्षको भनाइ रहेको थियो । पाठक नेतृत्वको भ्रमण दलमा आयोगका सचिव वेद प्रसाद भट्टराइ , निर्देशक मुरारी प्रसाद खरेल , उपनिर्देकद्धय लोकनाथ वास्तोला, श्याम बाबु काफ्ले ,अधिकृतद्धय जीवन न्यौपाने र तारादेवी वाग्ले समेत सात सदस्य रहेका छन् । भ्रमण दल शनिवार काठमाडौं फर्कदैछ ।
प्रवासी नेपालीहरुले आयोग समक्ष राखेको गुनासाहरु
भारतमा बेचिएका चेलीहरुको उद्धार पछि उनीहरुलाइ तत्काल राख्ने व्यवस्थाकालागि अस्थाइ संरक्षण गृहको टडकारो खाँचो प्रवासी नेपालीहरुले औंल्याएका थिए । गृहको आवश्यक्ता बारे यस अघि पनि पटक पटक सरकार प्रमुखहरुलाइ आग्रह गरिसकेका नेपालीहरुले दूतावासको परिसरमै संरक्षण गृहको स्थापनाकालागि सरकारलाइ सुझाउन मानवअधिकारकर्मीहरुको टोलीलाइ पून आग्रह गरे ।
भारतमा नेपालीहरुको मानव अधिकारको सुरक्षा कति भएको छ भन्ने विषय छुट्टै वहसको विषय होला तर अहिले पनि दैनिक ज्यालादारीमा हिमाँचल , उत्तराखण्ड , मणिपुरमा दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरु पिडित छन् । भारतका विभिन्न जेलमा नेपालीहरु अनाहकमा सजाय भोगिरहेका पनि छन् भने कतिको सजाय सकिएर पनि ओभरस्टे समेत गरिरहेको अवस्था देखिएको छ । यसबारे सरकारसँग यकीन तथ्याँक छैन् ।
हेमराज आरुषि हत्याकाण्डका शंकास्पद नेपाली आरोपी कृष्ण थापाको हालकोे नाजुक रहेको मानसिक अवस्था बारे पनि प्रवासी नेपाली ठाकुर खनालले प्रसंग उठाएका थिए ।


भारतमा बसोबास गरिरहेका नेपालीहरुसँग पहिचानको आधारमा गरिने भेदभाव, दोहोरो पहिचान पत्र बोक्नुपर्ने बाध्यता , सीमानाकामा प्रहरीको प्रताडनाका अलावा कमाएर लगेको पैसा लुटिने घटना, मरेका नेपालीहरुको लाश बुझ्नकालागि हुने कठिनाइ , क्षतिपूर्तिमा भेदभाव लगायतका समस्या समेत उनीहरुले दोहरयाएका थिए । भारतीय कानुनका बारेमा नेपालीहरुलाइ जानकार गराउनकालागि चेतनामूलक कार्यक्रमको आवश्यक्ता तर्फ पनि उनीहरुले आयोगको ध्यानाकर्षण गराएका थिए ।


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live