सातौ बैठककालागि प्रबुद्ध समुहको भारतीय टोली काठमाडौंमा

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एनआइबी संवाददाता,नयाँ दिल्ली

नेपाल र भारत दुइपक्षीय सम्बन्धका विविध आयामहरुलाइ एउटै टेबलमा छलफल गरेर आवश्यक परिमार्जन सहितको सुझाव बुझाउने उद्धेश्यका साथ गठन गरिएको नेपाल भारत प्रबुद्ध व्यक्ति समुह (इमिनेन्ट पर्सन ग्रुप–इपिजी) को संयुक्त बैठक शनिबार र आइतबार काठमाडौंमा बस्दैछ । छैठौ बैठकमा भएको सहमति अनुरुप काठमाडौंमा बस्ने सातौं बैठकमा प्रतिवेदन लेखनको शुरुवात र मस्यौदाको स्वरुपका बारे अन्तिम टुँगो लाग्ने अनुमान छ । दुबै मुलुकको हितका मुद्दाहरुमा दुबै पक्षले आ–आफ्ना धारणा राख्ने र त्यसमा बहस तथा छलफल गर्ने कार्य सकिसकेको हुँदा यस पटकको बैठक संयुक्त सुझाव प्रतिवेदन लेखनमा केन्द्रित हुने भएको हो । बैठकमा भारत र नेपाल दुबै तर्फबाट छैठौं बैठक सम्ममा गरिएका छलफलबाट सहमतिमा पुगेका बुँदाहरु सहितको प्रारम्भिक प्रतिवेदन प्रस्तुत गरिनेछ ।

‘विगतमा भएको सांझा सहमति अनुसार हामीले पनि प्रारम्भिक प्रतिवेदन तयार पारेर लैजादै छौं , नेपाली पक्षबाट पनि प्रतिवेदन तयार पारिदैछ । दुइ मुलुकको आपसी हितलाइ ध्यानमा राख्दै कुन कुन बुँदाहरु संयुक्त सुझाव प्रतिवेदनमा समावेश गर्ने भन्ने बारे निक्र्यौल यस पटकको बैठकमा गरिनेछ , काठमाडौं जानु अघि समुहका भारतीय पक्षका संयोजक भगतसिंह कोशियारीले एनबीआइसँग भने । बैठकमा सहभागी हुन भारतीय टोली शुक्रबार काठमाडौं पुगेको छ । भारतीय समुहका तर्फबाट संयोजक भगतसिंह कोशियारी तथा सदस्यद्धय प्राध्यापक महेन्द्र पी लामा तथा प्राध्यापक भुवनचन्द उप्रेती सहभागी हुँदैछन् । स्वास्थ्यलाभ गरिरहेका समुहका अर्का सदस्य नेपालकालागि पूर्व भारतीय राजदूत जयन्त प्रसाद भने बैठकमा सहभागी नहुने बुझिएको छ । चिकित्सकले यात्रा नगर्न सल्लाह दिएको हुँदा जयन्त प्रसाद गएनन् ।

दुइ वर्षको अवधिमा आवश्यक्ता अनुरुप जति पटक पनि बैठक बस्न सकिने भएपनि तोकिएको समयावधि नजीकिदै गएको हुँदा यसलाइ टुँगोमा पुरयाउनेमा दुबै पक्ष हतारिएका छन् । आगामी असार २० गतेभित्र(४ जुलाइ २०१८) सम्म दुबै मुलुकका सरकार प्रमुखलाइ सुझाव प्रतिवेदन बुझाउने जिम्मेबारी अनुरुप डेढ महिनाको अन्तरालमा दोश्रो बैठक राखिएको हो । यो बैठकपछि भारतमा बस्ने आठौ बैठक निर्णायक हुने समेत कोशियारीले संकेत दिए । ‘अन्तिम तथा निर्णायक बैठक दिल्लीमा नै सम्पन्न गरेर औपचारिक रुपमा प्रेसमिट गरेर जानकारी गराउँछौ,’ कोशियारीले भने ।

नेपालको मुख्य चासो रहेको १९५०को शान्ति तथा मैत्री सन्धि परिमार्जन गर्ने विषयमा सुझाव राख्ने कुरामा भारतको सुरक्षा हितको अडान भने कायमै रहेको छ । कोशियारीले भने, ‘यो बैठकमा नेपाली पक्षबाट आउने सुझावका कुराहरु सुनेर दुइ पक्षीय हितलाइ ध्यानमा राख्दै सन्धि परिमार्जनका सुझावहरु समावेश गर्नेछौं । यसमा नेपाली पक्षको चासो सँगै भारतको सुरक्षा हित पनि उत्तिकै महत्वपूर्ण रहेको छ,’ उनले थपे । नेपालले भारतको सुरक्षा संवेदनशीलतालाइ ध्यानमा राख्दै नेपालको हित अनुकुल हुने गरि सन्धिको दफा २,५,६ र ७ लाइ परिमार्जनको सुझाव राख्न चाहेको छ यद्यपि छैठौं बैठकपछि सन्धि यथास्थनामा नरहने सुझाव दिन दुबै पक्ष सहमत भएको प्रतिक्रिया नेपाली पक्षले दिएको थियो । त्यसैले सबैकुरा सामान्य रहेमा शान्ति तथा मैत्री सन्धि लगायत असमान सन्धि संझौताको परिमार्जित स्वरुप पनि यो बैठकबाट टुगिंने अनुमान छ । सन्धि परिमार्जनको सुझाव राख्नकालागि गत महिना नयाँ दिल्लीमा सम्पन्न छैठौं बैठकमा मात्र भारतीय पक्ष लचिलो देखिएको हो ।

यस अघिका बैठकहरुमा नेपाल भारतबीचको द्धिपक्षीय सम्बन्धमा लामो समयदेखि मतभेद रहँदै आएको आर्थिक, सामाजिक , साँस्कृतिक तथा विविध विषयमा विभिन्न कार्यपत्रहरु प्रस्तुत गरि बृहत छलफल गरिसकिएको छ, सन्धि परिमार्जनको सुझाव बाहेकका विषयमा एक प्रकारको सहमति भइसकेको छ, समुहका भारतीय पक्षका एक सदस्यले भने । नेपाली समुहका सदस्य डा. राजन भट्राइका अनुसार दुइ मुलुककोे इतिहासमै असमान सन्धि संझौता लगायत आर्थिक,सामाजिक ,साँस्कृतिक सम्बन्धका वृहत पक्षको बारेमा एउटै टेबलमा पहिलो पटक छलफल भएको हो । बैठकको सकारात्मक पक्ष नै यही रहेको उनको भनाइ थियो ।

पालै पालो नेपाल र भारतमा बैठक बस्ने प्रावधान अनुरुप सातौं बैठक काठमाडौंमा बस्न लागेको हो । यस अघि चौथो बैठक उत्तराखण्डको देहरादुनमा बसेको थियो भने पाँचौ काठमाडौं र छैठौं बैठक नयाँ दिल्लीमा बसेको थियो । संयोग नै भएको छ , नेपालमा प्रधानमन्त्रीे ओलीको पहिलो कार्यकालका समयमा गठित समुहले उनकै नेतृत्वको सरकारलाइ प्रतिवेदन बुझाउने छ । त्यसैले पनि भारतीय समुहका संयोजक भगतसिंह कोशियारीले दिल्लीमा सम्पन्न पछिल्लो बैठकका बेला प्रतिक्रिया दिएका थिए, ‘ओलीजी कै पालामा इपीजीले औपचारिकता पाएको थियो , उहाँलाइ नै सुझाव बुझाउनु त झन राम्रो हो ।

 


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live