WORLD

सुरक्षा परिषदको अस्थायी सदस्यमा भारत, आयरल्यान्ड, मेक्सिको र नर्वे विजयी

भारत चीनबीचको सीमामा भएको हिंसाप्रति संयुक्त राष्ट्रसंघको चासो

नयाँ दिल्ली,जुन १७

भारत र चीनबीचको सीमामा भएको हिंसाप्रति संयुक्त राष्ट्रसंघको चासो व्यक्त गरेको बताइएको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले सो विषयमा चासो व्यक्त गरेको हो । भारत र चीनबीचको सीमामा भएको विवाद र सैनिक झडपमा परी २० जना भारतीय सैनिकको ज्यान गएको बताइएको थियो ।

साथै संयुक्त राष्ट्रसंघका महासचिवले सो विषयमा वार्ताको माध्यमबाट विवादको समाधान खोज्नका लागि पनि आह्वान गर्नुभएको बताइएको छ ।संयुक्त राष्ट्रसंघका महासचिव गुटर्रेसकोतर्फबाट सहायक प्रवक्ताद्धारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ‘भारत र चीनबीचको सो विवादमा केही सैनिक हताहत भएको समाचार पनि हामीले सुनेका छौँ, हामीले परिस्थितिलाई थप उत्तेजक नबनाइ वार्ताको माध्यमबाट समाधान खोज्न दुवै पक्षलाई आग्रह गर्दछौँ ।’

भारत र चीनबीच ग्वालन उपत्यकास्थित लदाखमा यही जुन १५ को राति भारत र चीनका सीमा सुरक्षा सैनिकबीच झडप भएको बताइएको छ ।सो झडपमा परेर भारतका कम्तीमा पनि २० जना सैनिकको ज्यान गएको भारतले जनाएको छ । त्यस्तै चीनले पनि आफ्ना सैनिक मारिएको जनाएको छ ।

चीनका उप विदेशमन्त्री लुओ जाहोइ र चीनका लागि भारतका राजदूत विक्रम मिश्रीबीच बुधबार चीनको राजधानी बेइजिङमा भेटवार्ता भएको बताइएको छ ।
चीन र भारतबीचको यो तनावले विश्वको ध्यान दक्षिण एशियाको विकसित राजनीतिक घटनाक्रमप्रति खिचिएको छ ।

न्यूजील्याण्ड कोरोना भाइरस मुक्त देश भयोः प्रधानमन्त्री आर्डन

वेलिङ्टन, जुन ८

न्यूजील्याण्डले सोमबार कोरोनाभाइरससँग सम्बन्धित सबै घरेलु प्रतिबन्धहरु हटाएको घोषणा गरेको छ । कोविड–१९ बाट संक्रमित अन्तिम व्यक्ति पनि संक्रमणमुक्त भएसँगै न्यूजील्याण्डले यस्तो घोषणा गरेको हो ।

प्रधानमन्त्री जेसिन्डा आर्डन उक्त खबर सार्वजनिक भएसँगै घरभित्र खुशीले नाचेकि थिइन । प्रधानमन्त्री आर्डनले अन्तर्राष्ट्रिय सीमामा जारी प्रतिबन्धहरु भने यथावत रहने बताइन । उनले सामाजिक दूरी र सार्वजनिक स्थलमा हुने भेला, समारोहमा रहेका सीमितताहरु हटाइएको पनि घोषणा गरिन ।

टेलिभिजनबाट प्रशारित एक सम्बोधनमा प्रधानमन्त्री आर्डनले भने,“अहिलेका लागि न्यूजील्याण्डमा कोरोनाभाइरसको प्रसार पूर्णरुपमा रोकिएकामा हामी विश्वस्त छौं । भाइरसलाई नियन्त्रणमा ल्याउन जनताले देखाएको अभूतपूर्व एकताको म प्रशंसा गर्दछु ।”

करिब ५० लाख जनसंख्या रहेको दक्षिणी प्रशान्त महासागरीय राष्ट्र न्यूजील्याण्डमा कोविड–१९ बाट एक हजार १५४ जना संक्रमित हुनुका साथै २२ जनाको ज्यान गएको थियो । पछिल्लो १७ दिनदेखि न्यूजील्याण्डमा कुनै नयाँ संक्रमण देखिएको छैन । पछिल्लो एक सातामा एक जनामा मात्र कोरोना संक्रमण देखिएको थियो ।

संक्रमित पछिल्लो व्यक्तिका बारेमा विस्तृत रुपमा जानकारी दिइएको छैन, तर स्रोतहरुले ती व्यक्ति अकल्याण्ड निवासी ५० वर्षीया महिला रहेको बताएका छन् । न्यूजील्याण्डले कोरोना भाइरसको प्रसार रोक्न देशव्यापी रुपमा सात हप्तासम्म निकै कडा लकडाउन गरेको थियो ।

न्यूजील्याण्डमा अब सबैजसो खेलमा जति पनि दर्शक सहभागी हुन पाउने छन् । न्यूजील्याण्ड रग्बी संघले यसै साता सुपर रग्बी प्रतियोगिता संचालन गर्ने जनाएको छ ––रासस ।एएफपी

कोरोना भाइरसबाट विश्वमा ३ लाख ६६ हजार भन्दा बढीको मृत्यु, ६० लाख ३५ हजार संक्रमित

पाकिस्तानले सुरु ग-यो अन्तर्राष्ट्रिय उडान

अमेरिकाद्धारा विश्व स्वास्थ्य संगठनसँगको सम्बन्ध तोड्ने घोषणा

वाशिंगटन,मे ३०

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) सँग अमेरिकाले सम्बन्ध तोड्ने घोषणा गरेका छन् । उनले अमेरिकाले विश्व स्वास्थ्य संगठनसँगको सबै खाले सम्बन्ध तोड्ने घोषणा गरेको समाचारमा जनाइएको छ ।

विश्वमा फैलिएको कोभिड १९ को विषयलाई लिएर पछिल्लो समयमा संयुक्त राज्य अमेरिका र विश्व स्वास्थ्य संगठनबीचको सम्बन्ध चिसिएको थियो । राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनले अमेरिकाको नभएर चीनको मात्र भाषा बोलेको आरोप उनले लगाउँदै आएका थिए ।

राष्ट्रपति ट्रम्पले उक्त संगठनसँगको सम्बन्ध तोड्ने जानकारी दिँदै कोरोना भाइरस संक्रमण फैलिनबाट रोक्न विश्व स्वास्थ्य संगठन असफल भएको आरोप पनि लगाएका छन् । राष्ट्रपति ट्रम्पले गत महिनामात्र पनि अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको आर्थिक सहयोगको मात्रा पनि बन्द गरिदिने चेतावनी दिएका थिए ।

शुक्रबार ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले भने,‘चीनले वर्षेनी विश्व स्वास्थ्य संगठनलाई ४ करोड अमेरिकी डलर बराबरको मात्र आर्थिक सहायता दिँदै आएको छ तर उक्त संगठनमाथि चीनले नै नियन्त्रण जमाएको छ ।’

उनले अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई वर्षेनी ४५ करोड अमेरिकी डलर बराबरको आर्थिक सहायता प्रदान गरी आएको जानकरी गराउँदै तर पनि उक्त संगठनले अमेरिकाको आवाज बोल्न नसकेको आरोप लगाए ।

उक्त संगठनलाई ब्यापक सुधार गर्न अमेरिकाले अनुरोध गरेको भए पनि उ असफल भएको आरोप पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाए । उनले भने, त्यसैले पनि हामीले आजबाट विश्व स्वास्थ्य संगठनसँगको सबै खालको नाता तोड्दैछौँ ।

यस घोषणासँगै राष्ट्रपति ट्रम्पले संयुक्त राष्ट्रसंघ अन्तर्गतको संस्था डब्ल्यूएचओलाई अमेरिकाले दिँदै आएको बराबरको आर्थिक सहयोगको रकम अबदेखि विश्वमा जनस्वास्थ्यका क्षेत्रमा लगाउने पनि जानकारी दिए ।

संयुक्त राज्य अमेरिका विश्व स्वास्थ्य संगठनको सबैभन्दा ठूलो दाता राष्ट्र हो । अमेरिकाले प्रत्येक वर्ष उक्त संगठनलाई ४५ करोड अमेरिकी डलर बराबरको आर्थिक सहायता उपलब्ध गराउने गर्छ ।
यसअघि देखि नै राष्ट्रपति ट्रम्पले चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वभर फैलिनु र जनधनको ठूलो क्षति हुनुमा उक्त संगठनलाई दोषी देखाएका थिए ।

अमेरिकाले विश्व स्वास्थ्य संगठनमा विस्तृत रुपमा सुधार गर्ने भनेको तर पति उक्त संगठनले नमानेको आरोप ट्रम्पको छ । यसअघि पनि उहाँले चीनले सुरुमा कोरोना भाइरस पत्ता लाग्नासाथ सही सूचना लुकाएको आरोप लगाएका थिए ।

अमेरिकाले उक्त भाइरसको प्रकोप फैलिएदेखि नै कोरोना भाइरस फैलिनुको कारण पत्ता लगाउन विश्व स्वास्थ्य संगठनले विशेषज्ञहरुको टोली चीन पठाउनुपर्ने माग राख्दै आएको छ । तर त्यस मागप्रति चीन र विश्व स्वास्थ्य संगठन नै सकारात्मक छैनन् ।

कोरोना भाइरसबाट विश्वमै सबैभन्दा बढी प्रभावित देश अमेरिका हो । अमेरिकामा कोरोना संक्रमणका कारण एक लाख भन्दा बढीको ज्यान गएको छ भने १७ लाखभन्दा बढी नागरिक संक्रमित छन् । –––एएनआई / रासस

बेलायतमा कोरोनाबाट युरोपकै धेरै नागरिकको मृत्यु

लण्डन,मे ६

कोरोना भाइरस कोभिड १९ बाट बेलायतमा युरोपका अरु देशको तुलनामा सबैभन्दा धेरैको ज्यान गएको बताइएको छ । बेलायतमा यस संक्रमणबाट मृत्यु हुनेको संख्या यूरोपका अन्य राष्ट्रभन्दा बढी देखिएको छ । बेलायतको सरकारी निकायको तथ्यांकअनुसार बेलायतमा बुधबार बिहानसम्म कोभिड–१९ को संक्रमणले २९ हजार ४२७ जनाको मृत्यु भएको छ ।

यो युरोपमा अहिलेसम्म सबैभन्दा धेरैको ज्यान गएको हो । बेलायत सबैभन्दा धेरै ज्यान गएको इटालीभन्दा पनि अघि बढेको छ । इटालीमा यस प्रकोपबाट ज्यान जानेको संख्या २९ हजार ३०० रहेको छ । बुधबार दैनिक पत्रकार भेटघाटका क्रममा यहाँका विदेशमन्त्री डोमिनिक राबले बेलायतले छोटो अवधिमा यति धेरै संख्यामा बेलायती नागरिकको मृत्यु होला भन्ने नसोचेको बताएका थिए । उनले आफूले आफ्नो देशको इतिहासमा यति धेरै व्यक्तिको मृत्यु हुने घटना कहिल्यै नदेखेको प्रतिक्रिया पनि दिए ।

बेलायतमा विश्वका अन्य राष्ट्रहरुको अपेक्षा कोभिड–१९ संक्रमितको मृत्युदर पनि बढी छ । इटालीमा कोभिड–१९ को संक्रमणले हालसम्म २९ हजार ३१५ जनाको मृत्यु भएको हो । जुन बेलायतभन्दा कम छ । तर इटालीभन्दा बेलायतमा संक्रमण दर र मृत्यु दर पनि बढी रहेको देखिएको छ ।

बेलायतमा परीक्षण दर पनि कम रहेको बताइएको छ । बेलायतमा बुधबार सम्म १३ लाख ८३ हजार ८४२ जनामा कोरोना भाइरसको परीक्षण गरिएको छ । बुधबार बिहानसम्म बेलायतमा कोरोना भाइरसको संक्रमितको संख्या एक लाख ९६ हजार पुगेको देखिएको छ । यसरी हेर्दा बेलायत विश्वमा कारोनाबाट सबैभन्दा धेरै नागरिकको ज्यान जाने देश अमेरिकापछिको दोस्रोमा रहेको पाइएको छ ।––रासस

अमेरिकाको सर्वोच्च अदालतमा फोन मार्फत् सुनुवाई

वाशिंगटन,मे ४

कोरोना भाइरसको महामारीका कारण अमेरिकाको सर्वोच्च अदालतले फोनबाटै सुनुवाई शुरु गरेको छ । सम्भवतः यो अभ्यास विश्वमै पहिलो पटक भएको हुनसक्ने अधिकारीहरुले बताएका छन् । मानिसको भौतिक उपस्थिति विना फोन मार्फत् आवाज मात्रै पु¥याएर सुनुवाई गरिएको घटनालाई अनौठो घटनाका रुपमा लिइएको छ ।

कोरोनाभाइरस सङ्क्रमणको त्रासका कारण सुनुवाईको परम्परागत शैली परिवर्तन गरेर यस्तो नयाँ शैली अपनाउनु परेको हो । अदालतको सुनुवाई कक्षमा कोरोनाभाइरसको सङ्क्रमणको खतरा बढी भएको अधिकारीहरूको भनाई छ ।

अदालतमा विशेष गरेर छ जना न्यायाधीश ६५ बर्ष वा सोभन्दा बढी उमेरका भएकाले संक्रमणको खतरा बढी रहेको ठानिएको हो । फोनबाटै सुनुवाई गर्ने अभ्यासको शुरुवात सोमबारदेखि गरिएको छ । सुुनुवाईका क्रममा एउटा पक्षले बोल्दा अर्को पक्षले पनि सुन्न मिल्ने पनि बनाइएको अधिकारीहरुको भनाइ छ ।

सोमबार पहिलो पटक भएको सुनुवाईमा राष्ट्रपति डोनाल्ड ट्रम्पसँग जोडिएको मुद्दामा बहस भएको थियो । फोनबाट भएको सुुनुवाई अरु दिन जस्तै सोमबार पनि विहान १० बजेदेखि नै शुरु भएको थियो । –––एपी । रासस

विश्व एकजुट भए कोरोनाविरुद्धको लडाइँ जित्न सकिन्छ : प्रधानमन्त्री ओली

नामको अनलाइन सम्मेलन

काठमाडौं,मे ४

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व विभाजित भए कोरोना भाइरसले पराजित गर्ने र एकजुट भएमा कोरोनाविरुद्धको लडाइँ जित्न सकिने बताएका छन् । सिंहदरबारस्थित एक्सन कक्षबाट असंलग्न आन्दोलन (नाम) को सम्पर्क समूहको अनलाइन शिखर सम्मेलनमा सहभागी भई नेपालका तर्फबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भाइरसलाई पराजित गर्नुबाहेक हामीसँग अरू कुनै विकल्प नभएको स्पष्ट पारे ।

उनले यस संकटको घडीमा असंलग्न राष्ट्रहरु एकताबद्ध हुनुर्ने र कोभिड–१९ लाई पराजित गर्न तथा शान्ति, स्थायित्व र समृद्धिको साझा आकांक्षा प्राप्तिमा सहयोग पु¥याउन बहुपक्षीयता र विश्वव्यापी सहयोगलाई समर्थन गर्नुपर्नेमा जोड दिए । कोभिड –१९ विरुद्ध एकताको विषय दिइएको सो सम्मेलनमा प्रस्ताव गरिएको कोरोनाविरुद्ध असंलग्न राष्ट्रका आवश्यकता समावेश गरी तथ्याङ्कीय आधार निर्माण गर्न असंलग्न राष्ट्रहरुको कार्यटोली गठनको प्रस्तावलाई समर्थन गर्दै प्रधानमन्त्री ओलीले असंलग्न आन्दोलनले सदस्य मुलुकका सहयोगी कार्यमा समन्वय गर्न र विश्वव्यापी ऐक्यबद्धताको भावनानुरूप विश्वभरिका गरीब तथा अति जोखिमयुक्त जनसंख्याको आवाजलाई एकीकृत पार्न आह्वान गरे ।

विश्व सामान्य अवस्थामा फर्किने विषय सुनिश्चित गर्न असंलग्न्न राष्ट्रहरुले आफ्नो भूमिका निर्वाह गर्नुपर्छ भन्दै उहाँले विश्वव्यापी एकतालाई सुढृढ गर्न अनुभवको साटासाट एवं प्रविधि, औषधिजन्य सामग्री तथा उपकरणको आदानप्रदानको माध्यमबाट दक्षिण दक्षिण सहयोगलाई अभिवृद्धि गर्न आग्रह गरे । सम्भावित आर्थिक मन्दीलाई सम्बोधन गर्न अन्तरराष्ट्रिय समुदायलाई एक बलियो पुनःस्थापना प्याकेज प्रदान गर्ने कार्यमा असंलग्न राष्ट्रलाई सहकार्य र वकालत गर्न प्रस्ताव गर्दै प्रधानमन्त्री ओलीले विशेषतः अतिकम विकसित, भूपरिवेष्ठित तथा साना विकासोन्मुख टापु राष्ट्रमा यसका प्रभाव असीमित भएकाले यो संकटले विकासोन्मुख राष्ट्रप्रतिको विद्यमान प्रतिबद्धताबाट पछि हट्ने बहाना कदापि प्रदान गर्न नहुने विचार राखे ।

विश्वका १२० मुलुक आबद्ध नामले क्षेत्रीय पहलहरुलाई विश्वव्यापी प्रयासको स्तम्भका रुपमा गरीबी, अस्वस्थता र अल्पविकसित अवस्थाविरुद्धको लडाइँमा सिङ्गो मानव समुदाय एकै स्थानमा उभाउनुपर्नेमा जोड दिँदै उनले यो विद्रोह तथा लडाइँमा संलग्न हुने समय होइन भन्नुभयो । उहाँले संयुक्त राष्ट्र सङ्घका महासचिवद्वारा विश्वव्यापी युद्धविरामका लागि गरिएको अनुरोधलाई नेपाल समर्थन गर्ने पनि स्पष्ट गरे ।

“यो महामारीले हाम्रो जीवनकालमा नभोगेको तहमा संसारलाई हल्लाएको छ । साथै, यसले हाम्रो भाग्य एकापसमा कसरी जोडिएको छ भन्ने तथ्यलाई पनि स्मरण गराएको छ । अहिले मानवता जोखिममा छ ”, प्रधानमन्त्री ओलीले भने ।

झण्डै दुई लाख पचास हजार जनाको मृत्यु भइसकेको र हाम्रा स्वास्थ्य सुविधामा थामिनसक्नु बोझ बढेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यस भाइरसले हाम्रो क्षमताको परीक्षण गरेको र हाम्रो निरीहता उदाङ्गो तुल्याएको पनि उल्लेख गरे ।

कोरोना संकटका कारण रोजगारी गुमेको, शैक्षिक प्रणाली भत्केको र लाखौंँ मानिस गरीबीमा धकेलिंँदै गएकाले दिगो विकासका लक्ष्य हासिल गर्ने कार्य झन् कठिन बन्दै गएको जनाउँदै प्रधानमन्त्री ओलीले भने,“अहिले हामी साझा तर अदृश्य शत्रुसँग लडिरहेका छौंँ । यस्तो अवस्थामा, मानव जीवनको रक्षा गर्नु र मानवताको संरक्षण गर्नुभन्दा महत्वपूर्ण अर्को काम केही हुँदैन । यो सरकारहरुको सर्वोच्च कर्तव्य पनि हो ।”

आर्थिक क्षतिको पुनस्थापन गर्न सकिने, प्रविधि नयाँ आविष्कार गर्न सकिने तथा समृद्ध समाज निर्माण गर्न सकिने तर खेर गएको अमूल्य मानव जीवनलाई पुनःप्राप्ति गर्न सकिन्न बताउँदै उहाँले मानवता जोगाउने विषय पहिलो प्राथमिकतामा पर्नुपर्नेमा जोड दिए । उनले नेपालले आफ्नो क्षमताभित्रका सबै राजनीतिक, आर्थिक, मानवीय र प्राविधिक स्रोत भाइरस संक्रमण विस्तार हुन नदिनमा लगाएको अवगत गराए । “हाम्रो मुख्य जोड महामारीको रोकथाम र शमन गर्नेतर्फ छ । हामीले संघीय, प्रदेश र स्थानीय तहका सबै स्रोत र राज्य संयन्त्र यो संकटलाई संगतिपूर्ण रूपमा व्यवस्थापन र सम्बोधन गर्नमा परिचालन गरेका छौंँ ।”

प्रधानमन्त्रीले नेपालको अनुभव विश्व समुदायलाई सुनाउँदै भन्नुभयो, “हाम्रा स्वास्थ्य सुविधाको स्तरोन्नति गरेका छौंँ, स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहित तुल्याएका छौंँ र सबैको पहुँचमा स्वास्थ्य सेवा सुनिश्चित गरेका छौंँ । क्वारेन्टाइन र अलग्गै बस्नका लागि आवश्यक पूर्वाधार निर्माण गरेका छौंँ । अन्तराराष्ट्रय हवाइ उडान स्थगन, सीमापार आवतजावत नियन्त्रणजस्ता अस्थायी कदमहरु समेत लागू गरेका छौंँ ।”

कोरोनाविरुद्धको सामूहिक लडाइँका लागि सम्पर्क समूह स्थापनामा अध्यक्ष इल्हम अलियेबले गर्नुभएको पहललाई नेपालका तर्फबाट स्वागत गर्दै प्रधानमन्त्री ओलीले नामका सदस्य राष्ट्र सबैलाई एक ठाउँमा ल्याउन गर्नुभएको पहलका लागि उहाँलाई धन्यवाद दिएका थिए ।

सम्मेलनको उद्घाटन अजरबैजानका राष्ट्रपति एवं नामका अध्यक्ष अलियेभले गरेका थिए । संवादमा विश्वव्यापी महामारी कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि जारी पहल र विश्व समुदायको साझा दायित्व तथा नामको भूमिकाबारे विचारविमर्श भएको थियो ।

सो अवसरमा प्रधानमन्त्रीका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उनका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमालसहित उच्चपदस्थ अधिकारी सहभागी भएका थिए । नाम विश्वका कुनै पनि शक्ति पक्षसँग संलग्न नभएका १२० मुलुकको साझा मञ्च हो । संयुक्त राष्ट्र सङ्घपछि विश्वमा यो दोस्रो ठूलो राष्ट्रहरुको मञ्च मानिन्छ । यसको स्थापना सन् १९६१ मा भएको थियो ।––रासस

उपचारपछि निको भई फर्केका व्यक्तिमा पनि सङ्क्रमण दोहोरिने सम्भावना हुनसक्छ : डब्लुएचओ

जेनेभा,अप्रिल २५

कोरोनाभाइरस सङ्क्रमणपछि निको भएर घर फर्किएका व्यक्तिलाई पुनः संक्रमण हुँदैन भन्ने निश्चित नरहेको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओले) शनिबार चेतावनी दिएको छ । उनीहरूलाई पुनः सङ्क्रमण नहुने कुराको सुनिश्चितता हुँदैन ।

डब्लुएचओको चेतावनीको अर्थ यो हो कि सङ्क्रमणबाट निको हुनु भनेको संक्र्रमणबाट स्वस्थ भएपछि पुनः यो दोहोरिने आधारहरू छैनन् अर्थात् यो नै कोभिड–१९ संक्रमण ‘प्रतिरोधको प्रमाणपत्र’ होइन ।

डब्लुएचओले शनिबार जारी विज्ञप्तिमा भनिएको छ, “कोभिड–१९बाट निको भएको वा रोग प्रतिरोधी औषधिको प्रयोग गरेको व्यक्ति दोस्रो सङ्क्रमणबाट सुरक्षित छ भन्ने अहिलेसम्म त्यस्तो कुनै तथ्य भेटिएको छैन ।”––एएफपी / रासस

Nepal news headlines | breaking news kathmandu | national news of nepal live