TOURISM

व्यवसायीका समस्या सम्बोधन नभए भयावह अवस्था आउने होटल संघको चेतावनी

काठमाडौं, मे ४

होटल संघ नेपाल (हान) ले होटल व्यवसायीका समस्या सम्बोधन नभए भयावह अवस्था आउने चेतावनी दिएको छ । ६ महिनासम्म होटल बन्द गर्ने गरी गरेको निर्णयप्रति सरकारले असहमति जनाएपछि हानले यस्तो चेतावनी दिएको हो । आइतबार हानले ६ महिना होटल व्यवसाय बन्द गरी श्रमिकहरुलाई १२ प्रतिशत तलब दिने र त्यसमा असहमति जनाए कामदार नै कटौती गर्ने निर्णय गरेको थियो ।

हानको उक्त निर्णयप्रति असहमित जनाउँदै नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हानसँग सोमबार छलफल गरेको थियो । छलफलमा हानका पदाधिकारीहरुले व्यवसायी र श्रमिक दुबै पक्षका कुराहरु सम्बोधन नभए भयावह अवस्था सिर्जना हुने चेतावनी दिएका छन् । विश्वका धेरै होटल र पर्यटन व्यवसाय बन्द हुँदा कर्मचारी कटौती गरिरहेपनि नेपालमा त्यो अवस्था सिर्जना हुन नदिन उचित निर्णय हुनुपर्ने हानले बताएको छ ।

अहिलेको समस्यालाई सबैले इमानदारीपूर्वक सम्बोधन गर्नुपर्ने होटल संघ नेपाल (हान) का कानूनी सल्लाहकार गान्धि पण्डितले बताए । होटल व्यवसायीहरुको समस्यामा आँखा चिम्लेर बसे अन्य क्षेत्रमा पनि आगो सल्किन सक्ने चेतावनी उनले दिए । उनले भने,‘‘समस्यालाई सबैले इमानदारपूर्वक सम्बोधन गरेमा ठूलो समस्या हुँदैन तर आँखा चिम्लेर बस्यो भने भयावह अवस्था आउन सक्छ । यो समस्या होटल व्यवसायीहरुको मात्रै होइन अन्य क्षेत्रमा पनि सल्किन सक्छ । यसलाई समयमै सरकार र सम्बन्धित पक्षले ध्यान दिनुपर्छ ।’’

सोमबार हानका पदाधिकारी र सरकारी पक्षबीच ८, १० महिनासम्म होटल व्यवसाय बन्द भए के गर्न सकिन्छ भन्ने विषयमा गम्भिर छलफल भएको उनले बताए । लामो समय होटल व्यवसाय बन्द हुने अवस्थामा सरकारले गर्न सक्ने सहयोगका विषयमा पनि छलफल भएको उनले बताए । व्यवसायी र श्रमिकहरु दुबै पक्षलाई राहत पुग्नेगी सहमतिमा पुग्न सकिने संकेत आजको छलफलबाट मिलेको उनको भनाई छ । उनले भने,‘‘समस्या होटल सञ्चालकहरुको मात्रै होइन । श्रमिक, व्यवसायी र राज्यको पनि समस्या हो । भोली बेरोजगारीको अवस्था आउन सक्छ । यसलाई त्रिपक्षीय रुपमा छलफल गरेर होटल, श्रमिक कसैलाई पनि मार नपरोस भनेर सोमबार छलफल भयो ।’’

अर्को बैठक बैशाख २९ गते बस्ने भएको छ । हानले आइतबार आगमी असोज मसान्त सम्म होटल व्यवसाय बन्द गर्ने निर्णय गरेको थियो । पूर्ण रुपमा होलट बन्द हुने अवस्थामा कामदारलाई १२ दशमलव ५ प्रतिशत मात्रै तलब दिने तर कामदारले त्यसमा असहमति जनाए आंशिक वा पूर्ण रुपमा कामदार कटौतीको प्रकृया सुरु गर्ने निर्णय पनि गरेको थियो । कोभिड—१९ को असर अहिले होटल व्यवसायमा पनि परेको छ ।

कतार एयरवेज ३०९ नागरिक बोकेर फर्कियो

काठमाडौं,मे २

कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहदा नेपालमा रोकिएका विभिन्न ५४ मुलकका ३०९ विदेशी नागरिक लिई कतार एयरवेजको वाइडबडी जहाज फ्रान्सको पेरिसतर्फ उडेको छ ।

त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलका अनुसार नेपालस्थित फ्रान्सेली दूतावासले चार्टर गरेको सोे उडान कतारको दोहा हुँदै पेरिस पुग्नेछ । जहाजमा युरोपेली मुलुक तथा दक्षिण अफ्रिका, इजरायल, अमेरिका, क्यानाडालगायत मुलुकका नागरिक छन् ।

यो उडानसहित लकडाउन अवधिमा कतार एयरवेजको ११ उडान भएको छ । कतारपछि नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले आठ अन्तर्र्रााष्ट्रय उडान गरेको छ । नेपालबाट तीन नेपालीसहित ३० वायु सेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् ।

सरकारले २०७६ चैत ११ देखि देशभार लकडाउन गरेको छ । पछिल्लो पटक आगामी वैशाख २५ सम्म लकडाउनलाई निरन्तरता दिने निर्णय भएको छ । यो अवधिमा गत चैत १० गतेदेखि आगामी जेठ २ गतेसम्म नेपालमा उडान भर्ने सबै अन्तर्रा्ष्ट्रिय हवाई उडान प्रतिबन्ध गरिएको छ ।––रासस

पोखराबाट ६९ पर्यटकलाई काठमाडौँ पठाइयो

पोखरा,अप्रिल ३०

बन्दाबन्दीका कारण पोखरामै रोकिन पुगेका विदेशी पर्यटकलाई पोखराबाट काठमाडौँ पठाइएको छ । कोभिड–१९ का कारण सरकारले पछिल्लो पटक १० दिन बन्दाबन्दीको समय थपेपछि घर जान आत्तिएका विदेशी पर्यटकलाई सम्बन्धित देशका राजदूतवासको पहलमा पोखराबाट काठमाडौँ पु¥याउने व्यवस्था मिलाइएको हो ।
स्वीस राजदूतावासको पहलमा आज तीन पर्यटक बसले ६९ विदेशी पर्यटकलाई काठमाडौँ लैजाने व्यवस्था गरेको पर्यटक प्रहरी निरीक्षक गणेश खनालले जानकारी दिए । उनका अनुसार लेकसाइडको हल्लनचोकमा बसको व्यवस्था गरेर सम्पूर्ण पर्यटकको ज्वरो मापन गरी गाडीमा बस्ने व्यवस्था मिलाइएको थियो भने सम्पूर्णलाई मास्क वितरण गरिएको थियो । बन्दाबन्दी यता पोखराबाट विभिन्न समयमा ९३५ पर्यटकको उद्धार गरिएको छ ।

काठमाडौँ जान लागेका पर्यटकमा ४० जना फ्रेन्च, ११ जना जर्मनसहित पोल्याण्ड, नर्वे, बेल्जियम, पोर्चुगल, अष्टे«लिया, इटाली, क्यानाडा, स्वीडेन, नेदरल्याण्ड, रमानिया मुलुकका रहेका छन् । काठमाडौँबाट फ्रेन्च राजदूतावासले पेरिसमा मे २ मा विमान चार्टर्ड गरेर नागरिकलाई स्वदेश फर्काउने व्यवस्था मिलाएको छ ।

पोखराका पर्यटन व्यवसायी एवं स्वीट्जरल्याण्डका लागि पोखरास्थित प्रतिनिधिसमेत रहनुभएका बसन्त दवाडीले फ्रेन्च नागरिकसहित यूरोपेली युनियनले नेपालमा अलपत्र परेका पर्यटकलाई स्वदेश फर्काउन पहल गरेको र आज फ्रेन्चसहित अन्य मुलुकका नागरिकलाई काठमाडौँ पठाइएको जानकारी दिए । पोखराका विभिन्न होटल एवं गेष्ट हाउसमा अझै पनि केही विदेशी पर्यटक रहेका र उनीहरुले आफ्नो देशभन्दा यतै सुरक्षित महसुस गर्ने गरेको पाइएको छ ।––रासस

पर्यटनमन्त्रीलाई सांसदको सुझाव

काठमाडौं,अप्रिल ३०

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले आगामी आर्थिक वर्षको बजेटमा पर्यटन क्षेत्रको विकासका लागि समेटिनुपर्ने विषयमा सांसदहरुसँग सुझाव लिएका छन् ।पर्यटन क्षेत्रको विकास र समृद्धिका लागि आगामी आव २०७७/७८ को नीति तथा कार्यक्रम तथा बजेटमा मन्त्रालयका तर्फवाट प्रस्तुत गर्ने योजना तथा कार्यक्रमका सम्बन्धमा विहिबार प्रदेशगतरुपमा संघीय सांसदहरुसँग सुझाव लिएका हुन् ।

मन्त्रालयमा भएको छलफलको पहिलो चरणमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट संघीय संसद्मा प्रतिनिधित्व गर्ने सुदूरपश्चिम र कर्णाली प्रदेशका सांसदसँग र दोस्रो चरणमा प्रदेश नं १ का सांसदसँग सुझाव लिएका थिए । शुक्रबार चरण चरणमा प्रदेश नं २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का नेकपाका सांसदहरुसँग सुझाव लिने मन्त्री भट्टराईको निजी सचिवालयले जनाएको छ । त्यस्तै, प्रतिपक्षी दलका सांसदहरुसँग पनि क्रमबद्धरुपमा सुझाव माग्ने बताइएको छ ।

छलफलमा सांसदहरुले बजेट विनियोजन गर्दा पहुँचका आधारमा मात्र वितरण गर्ने विगतको परम्पराको अन्त्य गर्दै समानुपातिक, समावेशी र सन्तुलनका आधारमा गर्नुपर्नेमा विशेष जोड दिएका थिए । विगतमा सय गन्तव्य छनोट गर्दा हचुवाको भरमा गरिएको र अहिले धेरैजसो ती गन्तव्यका कार्यक्रम कुन अवस्थामा रहेका भन्ने आफूहरुलाई कुनै जानकारी नभएको अधिकांश सांसदको भनाइ थियो ।

सय गन्तव्यका कार्यक्रमको जिम्मा प्रदेश वा स्थानीय तहलाई नदिइ संघीय सरकार आफैले लिएर त्यसको प्रभावकारी अनुगमन गर्नुपर्ने सांसदहरुको धारणा थियो । सांसदहरुले प्रादेशिक सदरमुकामका विमानस्थललाई क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलका रुपमा विकास गर्नुपर्नेमा पनि जोड दिएका थिए ।

कर्णाली प्रदेशका सांसदहरुको जोड सुर्खेतमा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल बनाउनुपर्नेमा थियो भने सुदूरपश्चिमका सांसदहरुले धनगढी विमानस्थललाई क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलका रुपमा विकास गर्नुपर्ने धारणा राखेका थिए । त्यस्तै, प्रदेश नं १ का सांसदहरुले विराटनगर विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थलका रुपमा विकास गर्नुपर्ने बताएका थिए ।

कार्यक्रममा पर्यटनमन्त्री भट्टराइले सांसदहरुको माग बमोजिम सकेसम्म प्रदेश तथा स्थानीय तहसँगको सहकार्यमा ‘लगानीमा साझेदारी र प्रतिफलमा हिस्सेदारी’को नीतिअनुसार ठूला पर्यटकीय आयोजना अघि बढाउने मन्त्रालयको सोच रहेको बताए । नयाँ विमानस्थलहरु औचित्य, आवश्यकता र व्यवसायिकता आधारमा निर्माण गरिने उल्लेख गर्दै मन्त्री भट्टराइले भने,“अति दुर्गम ठाउँमा सेवा दिने राज्यको कर्तव्य हो, दिनुपर्छ, त्यसबाहेक व्यवसायिकतालाई पनि हेर्नुपर्ने हुन्छ, लगानी गरिसकेपछि, लगानी डुब्नु हँुदैन भन्ने कुरामा पनि हेक्का राख्नुपर्छ ।”

छलफलमा कर्णाली र सुदूरपश्चिका २२ सांसदले सुझाव दिएका थिए भने प्रदेश नं १ का १४ जना सांसदले सुझाव प्रस्तुत गरेका थिए । छलफलमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकाल र स्वास्थ्य राज्यमन्त्री नवराज रावतको पनि उपस्थिती रहेको थियो ।–रासस

चिनियाँ पर्यटक नेपालमा अलपत्र

काठमाडौं,अप्रिल २६

चिनियाँ पर्यटकहरुले लकडाउनका कारण नेपालमै अलपत्र परेको भन्दै आफ्नो देश जाने व्यवस्था मिलाइदिन आग्रह गरेका छन् । चिनिया पर्यटकहरुले आफुहरु आफ्नो घर फिर्ता हुन पाउनुपर्ने माग गर्दै काठमाडौंको भृकुटीमण्डप स्थित पर्यटन बोर्ड पुगेका हुन् ।

२५/३० जनाको संख्यामा रहेका चिनियाँ पर्यटकहरु ‘हामी घर जान चाहन्छौं’ लेखिएका ब्यानर बोकेर पर्यटन बोर्ड पुगेका हुन् । उनीहरुले चीन जानका लागि कुनैपनि उडान नभएको र आफुहरुलाई नेपाल छाडन कुनैपनि विकल्प नभएकोले अलपत्र परेको बताएका छन् ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले लकडाउन लागू गरेपछि उनीहरु स्वदेश फिर्ता हुन नपाएका हुन् । उनीहरुले कोभिड–१९ को महमारी फैलन सक्ने अवस्थालाई ध्यानमा राखेर चिनियाँ सरकारले नेपालमा कुनैपनि चार्टर उडान अनुमति दिन नचाहेकोले पहल गरिदिन आग्रह गर्न नेपाल पर्यटन वोर्डको कार्यालय पुगेका हुन् ।

यस्तै चिनियाँ दुतावासले पनि घर फिर्ताका लागि कुनैपनि व्यवस्था नगरी होटलमा नै सेल्फ आइसोलेसनमा बस्न आग्रह गरेको भन्दे असन्तुष्टि जनाएका छन् । उनिहरुले नेपालका विभिन्न ठाउँमा ४ सय भन्दा बढीको संख्यामा रहेका चिनियाँ पर्यटकहरु अलपत्र परेको बताएका छन् ।

त्यसमध्ये केही गर्भवती महिलाहरु समेत रहेको उनिहरुले बताए । यस्तै केही विद्यार्थीहरु रहेको र उनिहरुको कलेज छुटेको समेत उनिहरुले बताए । उनिहरुले दुई चिनियाँ एयरलाइन्सहरुले आउटबाउन्ड उडान अनुमति पाए चिनियाँ नागरिकलाई लैजान तयार रहेको बताउँदै ती उडानहरु सञ्चालन हुने व्यवस्था मिलाईदिन आग्रह समेत गरेका छन् । उनिहरुले नेपालमा छैटौं हप्ता पनि लकडाउन हुने सम्भावना रहेकाले आफुहरु अझबढी समस्यामा पर्न लागेको बताएका छन् ।

पर्यटन क्षेत्रलाई माथि उकास्ने योजना बनाउँदैछौँ : पर्यटनमन्त्री

काठमाडौं,अप्रिल २०

कोभिड–१९ बाट नराम्ररी असर पारेको नेपालको पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारी तथा निजी क्षेत्रबाट विभिन्न पहलकदमी भइरहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पनि कोभिड–१९ बाट आक्रान्त बनेको पर्यटन क्षेत्रलाई माथि उकास्न विभिन्न रणनीति बनाइरहेको छ ।

कोभिड–१९ का कारण धरासायी अवस्थामा रहेको पर्यटन क्षेत्रलाई गति दिन मन्त्रालयले विभिन्न सम्भावनाको खोजी गरिरहेको पर्यटनमन्त्री योगेशकुमार भट्टराईले बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले सोमबार आयोजना गरेको भिडियो कन्फ्रेन्समार्फतको अन्तक्र्रियामा मन्त्री भट्टराईले कोभिड–१९ बाट पर्यटन क्षेत्रमा परेको वास्तविक असरको पहिचान गरी यस क्षेत्रलाई माथि उकास्न नयाँ योजनाका साथ अघि बढ्ने बताए । उनले आन्तरिक पर्यटकमार्फत पर्यटन क्षेत्र बचाउन एक महिना बिदा दिने गरि योजना बनाइरहेको पनि बताए ।

पर्यटन क्षेत्रको असरबारे अध्ययन गर्न पर्यटन मन्त्रालयका सहचिव घनश्याम उपाध्याय, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मी र नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल रहेको समितिले वास्तविक विवरण सङ्कलन गरिरहेको छ । पर्यटनको यकिन विवरण आएपछि के कस्ता राहतका कार्यक्रम ल्याउने भन्ने टुङ्गोमा पुगिने पर्यटन मन्त्री भट्टराईको भनाइ छ ।

उनले भने,“यो कोभिड–१९ महामारी नियन्त्रणका बारेमा अहिले नै भन्न सकिने अवस्था छैन । सङ्क्रमण रोकिए पनि विदेशी पर्यटक आउने सम्भावना कम छ । त्यसैले नेपालको पर्यटन क्षेत्रलाई ‘भाइब्रेन्ट’ बनाउन आन्तरिक पर्यटनलाई बढावा दिनुपर्छ ।” मन्त्री भट्टराईले पर्यटन क्षेत्रको वित्तीय सङ्कट समाधानका लागि अर्थमन्त्रालय र राष्ट्रिय योजना आयोगसँग पनि छलफल भइरहेको बताउँदै आगामी बजेटका सन्दर्भमा अहिले उठेका विषयलाई सम्बोधन गर्न सकिने धारणा राखे ।

उनले पर्यटन क्षेत्रका श्रमिकलाई वैकल्पिक काममा लगाउन सरकारले गृहकार्य गरिरहेको जानकारी पनि दिए । पर्यटन क्षेत्रका जनशक्तिलाई हिमाल सरसफाइ, पदमार्ग निर्माण, साइनेजिङ, फुट ट्रेल निर्माणलगायत काममा लगाउन सकिने उनको भनाइ छ । नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले कोभिड–१९ बाट थलिएको पर्यटन क्षेत्रलाई सामान्य अवस्थामा फर्काउन आगामी तीन वर्षको गुरुयोजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिए ।

उनले भने, “सरकारले सन् २०२० सम्मको गुरुयोजना बनाएर पर्यटन क्षेत्रको पुनरुत्थान गर्नुपर्छ, सरकार र निजी क्षेत्रको सहकार्यमा सन् २०२० मा पर्यटन उद्योगलाई बचाउने, सन् २०२१ मा पुनरुत्थान गर्ने र सन् २०२२ मा पूर्णरुपमा पर्यटकीय गतिविधि विस्तार गर्ने रणनीति लिनुपर्छ ।” पर्यटन मन्त्रालयले नीतिगत सुधार गरी मन्त्रालयका अन्यत्रका बजेट कार्यक्रमलाई कोभिड–१९ ले शिथिल बनेको पर्यटनमा खर्च गर्ने वातावरण सिर्जना गर्न जरुरी छ । सरकारले यो अवस्थामा मुलुकको हरेक क्षेत्रमा सुरक्षा अवलम्बनका लागि म्यानुअल संयन्त्र बनाउन आवश्यक रहेको जोशीले बताए ।

होटल एशोसिएसन अफ नेपाल (हान) का द्वितीय उपाध्यक्ष प्रविण पाण्डेले पर्यटन उद्योग बचाउन निजी क्षेत्रले जम्मा गरेको सामाजिक सुरक्षा कोष प्रयोगमा ल्याउनुपर्ने बताए । उनले नेपालमा लकडाउन खुलेपछि पनि केही समय विदेशी पर्यटक आउने सम्भावना कम रहेको भन्दै आन्तरिक पर्यटन प्रवद्र्धनलाई जोड दिनुपर्ने खाँचो औँल्याए । –––रासस

अन्तरराष्ट्रिय बौद्ध सम्मेलनको तयारी

काठमाडौं
१७ फरबरी २०२०

सरकारले आगामी वैशाखको २३ देखि २५ सम्म लुम्बिनीमा आयोजना हुने अन्तरराष्ट्रिय बौद्ध सम्मेलनको तयारी शुरु गरेको छ । सम्मेलन मूल आयोजक समितिका अध्यक्ष रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईको अध्यक्षतामा मन्त्रालयमा सोमबार बसेको बैठकले २५६४औँ बुद्धजयन्ती तथा तेस्रो अन्तरराष्ट्रिय बौद्ध सम्मेलनको औपचारिक तयारी थालेको हो ।

बैठकमा मन्त्री भट्टराईले नेपाललाई अन्तरराष्ट्रिय क्षेत्रमा चिनाउने विभिन्न आयाममध्ये बुद्धको जन्मस्थल पनि एउटा भएको भन्दै यो सम्मेलनले नेपाललाई त्यहीँ उचाइबाट चिनाउन सफल हुने बताए । उनले लुम्बिनी र बुद्धका बारे जति धरै चर्चा ग¥यो, नेपालको छवि त्यत्ति नै माथि जाने उल्लेख गर्दै यो बौद्ध सम्मेलनलाई भ्रमण वर्ष २०२० को अवसरसँग पनि जोडर हेरिर्नुपर्नेमा जोड दिए ।

सम्मेलनमा बुद्ध र ‘बुद्धिज्म’को अध्ययन तथा अनुसन्धानका लागि आउनेहरुबाट नेपाल भ्रमणको प्रचारमा पनि ठूलो टेवा पुग्ने पर्यटनमन्त्रीको भनाइ थियो । विगतमा बौद्ध सम्मेलन गर्दा हलको समस्या भोग्नु परेपनि यसपटक सरकारले लुम्बिनीमा पाँच हजार जना अट्ने सभाहल (विश्व शान्ति ध्यान केन्द्र) बनाएकाले सोही स्थलमा सम्मेलन गरिनेछ ।

पर्यटनमन्त्री भट्टराईले यसपटक सम्मेलन केन्द्रका बेला लुम्बिनी अन्तरराष्ट्रिय विमानस्थललाई पनि सञ्चालनमा ल्याउने अधिकतम प्रयास भइरहेको जानकारी दिए । सम्मेलनलाई भव्य र सभ्य रुपमा सफल पार्न सरकारले यसअघि नै आयोजक समितिको सदस्य–सचिवमा पासाङ शर्पालाई नियुक्त गरेको थियो । पर्यटनमन्त्री अध्यक्ष रहने आयोजक मूल समितिमा ९५ सदस्य रहेका छन् । बैठकले सम्मेलनलाई भव्यता पूर्वक सम्पन्न गर्न विभिन्न २० वटा विभिन्न उपसमिति पनि गठन गरेको छ ।

सम्मेलनमा सहभागिताका लागि श्रीलंकाका राष्ट्रपति, थाइल्याण्डका प्रधानमन्त्री, म्यानमारका स्टेट काउन्सिलर, भारत, चीन, भियतनाम, कम्बोडिया, लाओस, जापान, दक्षिण कोरिया, भुटान, मङ्गोलिया, मलेसिया, सिङ्गापुर, बङ्गलादेश, अमेरिका, बेलायत, रसिया, कोस्टारिका, फ्रान्स र जर्मनका संस्कृति तथा धार्मिक मामिलामन्त्री तथा संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव वान कि मुन, भारतका सिक्किम, लद्दाक, अरुणान्चल,उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल, उत्तराखण्डका मुख्यमन्त्री, तिब्बतका गर्भनरका साथै संयुक्त राष्ट्रसंघ,विश्व पर्यटन सङ्गठनका महासचिवलाई पनि आमन्त्रण गरिने जनाइएको छ । नेपालले सन् २०१६ देखि हरेक दुई वर्षको अन्तरालमा अन्तरराष्ट्रिय बौद्ध सम्मेलन गर्दै आएको छ ।–––रासस

फागुनदेखि नारायणीमा सरर पानी जहाज: अनलाइन बुकिङ खुला हुँदै

९ फागुन २०२०

नारायणी नदीमा आगामी फागुन महिनादेखि क्रुजसीप (सानो पानीजहाज)सञ्चालनमा आउने भएको छ । भरतपुर महानगरपालिका–१६ मा क्रुजसीप निर्माणको काम अन्तिम चरणमा पुगेको छ । सरकारले पानी जहाजसम्बन्धी उद्योग दर्ता गर्न पाउने निर्णय गरेसँगै यहाँ जहाज निर्माण शुरुआत भएको थियो ।

क्रुजसीप निर्माण गर्दै गरेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलका अनुसार पानीजहाजसम्बन्धी उद्योग दर्ताको प्रावधान नभएकाले काममा केही ढिलाइ भएको थियो । मन्त्रिपरिषद्को बैठकले उद्योग दर्ता गर्न पाउने निर्णय गरेसँगै अगामी महिनादेखि सानो जहाज सञ्चालनमा ल्याइने जानकारी दिनुभयो । उनले भन्नुभयो,‘बाहिरको एसीपी लगाउन र सिसा राख्न बाँकी छ, केही दिनमा काम सक्छौँ ।’

उनले १० दिनभित्र अनलाइन बुकिङ आह्वान गर्ने जानकारी समेत दिए । क्रुजसीपमा बिहानीखाना (ब्रेकफाष्ट क्रुज), दिवा खाना (लन्च क्रुज) र रात्रिकालीन खाना ( डिनर क्रुज)का लागि अनलाइन बुकिङ खुला गरिँदैछ । बाहिर तयारी खाना क्रुजमा तताएर खुवाउने समेत व्यवस्था मिलाइँदैछ ।

जहाज भित्र नै गायकको गीतमा पर्यटक रमाउन सक्नेछन् । बारहरु रहनेछन् । भुइँतलामा ९० वटा कुर्सी, बीचमा ११० र छतमा २० जना बस्न मिल्ने प्रबन्ध निर्देशक कँडेलले जानकारी दिए । दोस्रोतलाको बाहिर बसेर समेत यात्रा गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

क्रुजको ब्रेकफास्टमा दुई घण्टाको यात्रा र लञ्च र डिनरमा तीन/तीन घण्टाको यात्रा गराइनेछ । यात्राका क्रममा काभ्रेघाटबाट शुरु यात्रा देवघाट हुँदै फर्किएर गोलाघाटसम्म बाह्य दृश्य हेरेर यात्रु रमाउन सक्नेछन् । नेपालमा व्यावसायिक रूपमा सञ्चालन गर्न लागिएको यस प्रकारको क्रुज पहिलो रहेको बताइएको छ ।

ज्ञानेश्वर सामुदायिक वनसंगै नारायणी नदी छेउमा जहाज निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । यसको सुरक्षा, सेवाग्राहीको सुरक्षा, वातावरणीय संरक्षणमा ध्यान दिँदै विशेष सावधानीका साथ क्रुज निर्माण र पूर्व तयारी गरिरहेको उनले बताए ।

क्रुजसीपको सञ्चालनका लागि आवश्यक तीन जना क्रु मेम्बर र प्राविधिक हाललाई विदेशी रहेका छन् । दीर्घकालीनरूपमा नेपाली जनशक्ति नै उत्पादन गर्नका लागि आवश्यक तालीम केन्द्र सञ्चालन गर्ने जनाइएको छ ।

क्रुजको निर्माण भारतीय कम्पनी ग्रान्डडुर मारिन इन्टरनेशनलले गरेको हो । क्रुजमा दुई इञ्जिन रहेका छन् । क्रुजको गति प्रतिघण्टा ३५ किलोमिटर हुनेछ । क्रुज निर्माण गत वर्षको चैतबाट थालिएको हो । क्रुज निर्माणका लागि रु १५ करोड हाराहारी खर्च भएको जनाइएको छ ।––रासस

महाशिवरात्रिलाई भ्रमण वर्षसँग जोडेर भव्य रुपमा मनाउने सरकारको तयारी

काठमाडौं
८ फेब्रुअरी २०२०

सरकारले यस वर्षको महाशिवरात्रिलाइ नेपाल भ्रमण वर्ष २०२० सँग जोडेर भव्य रूपमा मनाउने तयारी शुरु गरेको छ । यसकालागि संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईको अध्यक्षतामा १११ सदस्यीय मूलसमारोह समिति गठन गरिएको छ ।

समितिले शुक्रबार पशुपति क्षेत्रमा आयोजना गरेको कार्यक्रममा मन्त्री भट्टराईले महाशिवरात्रिमा भ्रमण वर्ष प्रवद्र्धनका लागि प्रचारप्रसार गर्न विश्वका विभिन्न देशमा रहेका हिन्दू धर्मसँग सम्बन्धित संस्थालाई पनि पत्राचार गर्न लागिएको जानकारी गराइ ।

‘विशेषगरी भारतका हिन्दू धर्मसँग सम्बन्धित संस्थाका प्रतिनिधि महाशिवरात्रिमा सहभागी गराइनेछ, ती संस्थालाई भ्रमण वर्ष सचिवालयले पत्राचार गर्नेछ, यसका लागि पशुपति क्षेत्रमा विशेष सफाइ गर्नुपर्नेछ, शौचालयमा पानीको व्यवस्थालगायत तयारी गर्न कोषलाई निर्देशन दिइएको छ,’उनले भने ।

पशुपतिनाथ विश्वस्तरमै पहिचानको केन्द्र भएकाले यहाँ पर्यटक भित्रयाउन भ्रमण वर्षको अवसरमा प्रचारप्रसार गरिने पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहेका मन्त्री भट्टराईले जानकारी दिए । कोषको सदस्य सचिव डा. प्रदीप ढकालले यसवर्ष पनि महाशिवरात्रिमा पशुपति प्रवेशका लागि पासको व्यवस्था नगरिएको जानकारी दिए ।

महाशिवरात्रिमा पशुपति आउने साधु सन्तको खानपानको व्यवस्थाका लागि गुठी संस्थान र अन्नपूर्ण भण्डारलाई जिम्मेवारी दिइएको छ । ‘भ्रमण वर्षसँग जोडेर यस वर्षको महाशिवरात्रि पर्व मनाउने तयारी गरिएकाले फागुन ६ गते बिहान प्रचारप्रसारका लागि राजधानीमा प्रभातफेरी आयोजना गर्न लागिएको छ, महाशिवरात्रिका दिन फागुन ९ गते रुद्रगाडेश्वरमा कोषका तर्फबाट विशेष पूजा आराधना गरिनेछ, महाशिवरात्रिलाई नै ध्यान दिएर आइतबारदेखि पशुपतिमा नमस्कार अभियान चलाइने छ’,मूलसमारोह समितिको समेत सदस्य सचिव रहेका डा ढकालले भने ।

यसअघि नै पशुपति क्षेत्रलाई मगन्ते र प्लाष्टिकरहित क्षेत्र घोषणा गरिएको छ । घोषणा गरिए पनि पूर्णरुपमा कार्यान्वयनमा नआएको भक्तजनको गुनासो पटक–पटक आउने गरेको छ । महाशिवरात्रिको विशेष तयारीका लागि विभिन्न ११ वटा उपसमिति गठन गरिएको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी गराए ।

महाशिवरात्रि पर्वको तयारीका लागि पशुपति क्षेत्र र सँगै जोडिएका विभिन्न स्थानमा मद्यपान एवं धूमपान निषेध गरिएको छ । चारवटै सुरक्षा निकायलाई समन्वयात्मक रुपमा पशुपति क्षेत्रमा परिचालन गर्ने गरी तयारी भइरहेको कोषको सुरक्षासमेत हेर्नुहुने प्रशासकीय अधिकृत गौरीशङ्कर पराजुलीले जानकारी दिए ।

महानगरीय प्रहरी आयुक्तको कार्यालयका प्रमुख विश्वराज पोखरेलले प्रत्येक वर्ष लाममा बसेर पनि सहज रुपमा पशुपतिनाथको दर्शन गर्न पाइएन भन्ने भक्तजनको गुनासोलाई यसवर्ष व्यवस्थापन गर्न सबैको समन्वयात्मक सक्रियता जरुरी रहेको बताए ।

महाशिवरात्रिलाई भव्य रुपमा मनाउन पशुपति क्षेत्रमा स्वीकृति नलिई निर्माण गरिएका घर टहरा हटाउने अभियान पनि माघ पहिलो सातादेखि नै कोषले शुरु गरेको छ । यसैगरी कोषले प्लाष्टिक निषेधित क्षेत्रलाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याउन पनि सार्वजनिक अपिल गरेको छ । कोषको अनुरोध नमानी प्रयोगमा ल्याउनेलाई कानूनी कारवाहीको दायरामा ल्याइने प्रशासकीय अधिकृत पराजुलीले जानकारी गराए ।––रासस

तालबाराहीको आरती पर्यटकको आकर्षण

३ फेब्रुअरी २०२०

प्रकृति र संस्कृतिले सम्पन्न पर्यटकीय नगरी पोखरामा सूर्योदयदेखि सन्ध्याकालीन आरतीसम्मका गतिविधि पर्यटकको आकर्षण बन्ने गरेका छन् । आन्तरीक तथा वाह्य पर्यटक यहाँ बास बसेपछि भोलिपल्ट सबेरै आँखा मिच्दै सूर्योदयको अवलोकनका लागि सराङकोट पुग्ने गर्दछन् ।

सराङकोटबाट सूर्योदय एवं हिमाली दृश्य अवलोकन गरेका उनीहरु दिउँसो यहाँका मठमन्दिर, तालतलैया, गुफा, झरना, सङ्ग्रहालयलगायत विभिन्न मनोरम दृश्यावलोकनमा व्यस्त देखिन्छन् । दिनभरि सुन्दर नगरीमा रमाउने पर्यटन साँझमा फेवाताल किनारास्थित तालबाराही मन्दिर प्रवेशद्वार बाराहीघाटमा प्रत्येक दिन हुने आरतीमा सहभागी हुने गरेका छन् ।

पछिल्ला दिनमा तालबाराहीको आरती सबै धर्मावलम्बी र विभिन्न उमेर समूहका पर्यटक एवं स्थानीय बासिन्दाको लागिे अर्को पर्यटकीय गन्तव्य बन्ने गरेको छ । पशुपतिनाथको महा आरतीको झझल्को दिने गरी सङ्गीतमयरुपमा आरती यहाँ सञ्चालन हुने गर्दछ ।

तीन जना पण्डितद्वारा सन्ध्याआरतीमा विशेष गरी धुप, घ्यू, ल्वाङदानी, कपुर, पुलपाती, मयूर पङ्ख, सेतो चमर, अलैँचीदाना, लाछी धागोलगायतका विभिन्न सुगन्धित वस्तुको प्रयोग गरिने युवा पण्डित रामप्रसाद सिग्देलले जानकारी दिए ।शंख उद्घोषबाट शुरु र अन्त्य गरिने आरतीमा ५४ वटा वत्ती रहने उनले जानकारी दिए ।

तालबाराहीबाट शुरु भएको आरती अहिले पोखराको प्रसिद्ध धार्मिक क्षेत्र विन्ध्यवासिनी मन्दिर, गुप्तेश्वर गुफा, सदाशिव हरिहर मन्दिर, नर्वदेश्वर मन्दिर र बेगनासतालमा समेत गरिँदै आइएको छ ।

हालसम्म ४सय ५७ दिन सञ्चालन भइसकेको माता तालबाराही आरती सेवा समितिका अध्यक्ष गिरीराज अधिकारीले जानकारी दिए । उनका अनुसार २०७५ साल असोज २४ गते घटस्थापनाका दिनेदेखि सञ्चालन गरिएको आरती निरन्तर चलिरहेको छ ।

‘जहाँ धर्म त्यही धन’ भन्ने युक्तिलाई आरतीले चरितार्थ गरेको उल्लेख गर्दै अध्यक्ष अधिकारीले भने,‘आरतीको दिगोपनका लािग शुरु गरिएको अक्षयकोषमा हालसम्म रु पाँच लाखभन्दा बढी रकम सङ्कलन भइसकेको छ।’ अक्षयकोषमा रु एक करोड पु¥याउने समितिको लक्ष्य रहेको छ ।

दिनभरिको थकान, तनाव, कोलाहलबाट केही समय पनि एकचित्तरुपमा आत्मशान्तिको लागिसमेत आरतीमा धार्मिक पर्यटनको आकर्षण बढ्दै गएको समितिका सहसचिव तुलसी दाहालले बताए । उनका अनुसार मुलुकका विभिन्न स्थानबाट पोखरा भ्रमणमा आउने आन्तरिक पर्यटक आरतीको दर्शन र ताप्नको लागिनै पटकपटक आउने गरेका छन् ।

‘नित्य ‘पूजाका लागि त जेनतेन आर्थिक संकलन भएको छ’, उनले भने । ‘विशेष गरी तालको किनारामा बालबाराही मन्दिर सामुन्ने खुला आकाशमुनि गरिने आरती पानी पर्दाको समयमा भने भक्तजनलाई अप्ठेरो पर्ने गरेको छ।’

आरती सञ्चालनमा गण्डकी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयबाट रु ७० हजार र पोखरा–६ का जनप्रतिनिधिबाट रु १५ हजार सहयोग प्राप्त भएको जनाइएको छ । तालबाराही मन्दिरलगायत आसपासमा बलेका बत्ती तालको पानीमा देखिने मनोरम दृश्यबाट पर्यटकले छुट्टै आनन्द लिने गरेका छन् ।
–––हरि बाँस्तोला(पोखरा)रासस

Nepal news headlines | breaking news kathmandu | national news of nepal live