TOURISM

चौध अन्तर्राष्ट्रिय उडान :बाह्र सय नेपाली स्वदेश फिर्ता

काठमाडौं,जुन २४

त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा बुधबार पनि एकैदिन आन्तरिक र अन्तर्राष्ट्रिय गरी २४ उडान भएका छन् । ती मध्ये अन्तर्राष्ट्रियतर्फ सर्वाधिक १४ उडान भएको विमानस्थल कार्यालयले जनाएको छ । आन्तरिकमा पनि बुधबार १० उडान भएका छन् ।

मंगलबार पनि अन्तर्राष्ट्रियतर्फ १४ उडान भएको थियो । यी सबै उडान यात्रु चार्टर्ड तथा कार्गो हुन् । विभिन्न मुलुकबाट उद्धार उडानमार्फत आज एक हजार २०० भन्दा बढी नेपाली स्वदेश फर्किएका छन् ।

विभिन्न एयरलाइन्सले विदेशमा अलपत्र परेका नेपालीलाई धमाधम चार्टर्ड उडान गरी काठमाडौँ ल्याइरहेका हुन् । बुधबार नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जेधाहबाट २२५ यात्रु र एक शव नेपाल ल्याएको छ । सोही एयरलाइन्सको जहाजले जापानको नारिताबाट १९ यात्रु ल्याएको छ । पुनः कुवेतबाट नेपाली ल्याउन त्यसतर्फ उडेको विमानस्थलले जनाएको छ ।

त्यस्तै हिमालय एयरलाइन्सले कुवेतबाट १५५, अबुधाबीबाट दुई उडान गरी क्रमशः १४९ यात्रु र तीन बच्चा र दुई यात्रु, दमामबाट १५४ र दोहाबाट २८२ यात्रु काठमाडौँ ल्याएको छ । श्री एयरलाइन्सले म्यान्माको यंगुनबाट नौ यात्रु र एक बच्चा ल्याएको छ भने दोस्रो चार्टर्ड उडानका लागि उक्त एयरलाइन्स म्यान्मा उडेको विमानस्थलले जनाएको छ ।

टर्किस एयरलाइन्सले स्तान्बुलबाट दुई चार्टर्ड उडानमा क्रमशः २८० र २८२ यात्रु काठमाडौँ ल्याएको छ । त्यसैगरी मलेसियन एयरलाइन्सले क्वालालम्पुरबाट दुई उडानमा क्रमशः सात र चार नेपालीको उद्धार गरी काठमाडौँ ल्याएको छ । बिहीबार पनि अन्तर्राष्ट्रियतर्फ १३ उडान हुने कार्यतालिका सार्वजनिक गरेको छ । दोहा, दमाम, यङ्गुन, अबुधाबी, बहराइन, क्वालालम्पुर र जापानको नारितामा चार्टर्ड उडान हुने विमानस्थलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

आन्तरिकतर्फ विभिन्न एयरलाइन्सका १० उडान भएका छन् । मनाङ र सिम्रिक एयरका हेलिकप्टरले ओखलढुङ्गा, सोलुखुम्बु, वीरगञ्ज र गोर्खामा उडान भरेका छन् भने तारा एयरको जहाजले नेपालगञ्जमा दुई उडान गरेको छ ।

अलपत्र परेका नेपाली ल्याउन नेपाल एयरलाइन्सले सार्वजानिक ग-यो उडान तालिका

काठमाडौं,जुन ११

विदेशमा अलपत्र परेका नेपाली ल्याउन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले आफ्ना उडानको कार्यतालिका सार्वजनिक गरेको छ । सरकारले विभिन्न मुलुकमा अलपत्र परेका करिब ३० हजार नेपाली जहाज चार्टर्ड गरेर ल्याउने निर्णय गरेसँगै निगमले जुन महिनाभर विभिन्न देशबाट गरिने चार्डर्ड उडानको कार्यतालिका बनाएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सरकारको निर्णयअनुरुप सरोकारवालासँग बुधबार छलफल गरी नेपाल एयरलाइन्सलाई २४ र हिमालय एयरलाइन्सलाई १९ उडान गर्नेगरी अनुमति दिएको थियो । त्यस्तै २४ वटासम्म विदेशी एयरलाइन्सलाई उडान दिने तालिका मन्त्रालयले तय गरेको छ ।

नेपाल एयरलाइन्सका दुई वाइडबडी र दुई न्यारोबडी गरी चार जहाजले उडान गर्नेछन् भने नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने निजी लगानीको हिमालय एयरलाइन्ससँग चार न्यारोबडी जहाज छन् । दुवै एयरलाइन्सले पूर्ण क्षमताका साथ विदेशबाट नेपाली बोक्नेछन् । नेपाल एयरलाइन्सको मात्रै चार जहाजले दैनिक एक हजार ६०० यात्रु ल्याउन सक्ने क्षमता छ । त्यस्तै हिमालयले करिब एक हजार यात्रु ल्याउन सक्छन् ।

विदेशस्थित कोभिड महामारीका कारण आफ्नो देश फर्कन चाहनेले अहिलेसम्म आ–आफ्नो देशस्थित राजदूतावासमा सम्पर्क गर्न अनुरोध गरिसकेको छ । निगमका अपरेशनल विभागका प्रमुख दीपु जुहार्जनका अनुसार नेपाल एयरलाइन्सले जुन महिनामा मात्रै दुई दर्जन उडान गर्दैछ ।
जसअनुरुप जुन १४ तारिखमा बङ्गलादेशको ढाका, जुन १५ मा माल्दिभ्सको माले र मलेशियाको क्वालालम्पुरमा उडान हुनेछ ।

त्यसैगरी जुन १६ मा दुबई र कतारको दोहा, जुन १७ मा अष्ट्रेलियाको सिङ्नी, थाइल्याण्डको बैंकक र बहराइनबाट नेपाली ल्याइनेछ । जुन १८ मा साउदी अरेबियाको रियाद र दुबइ, जुन १९ मा जापानको नारिता र कुवेत, जुन २० मा साइप्रस, क्वालालम्पुर र दोहा उडान हुनेछ ।

त्यसैगरी जुन २१ मा दक्षिण कोरियाको सोल र ओमानको मस्कट, जुन २२ मा सम्भावित मेल्बर्न, बैंकक, जुन २३ नारिता र माले, जुन २४ मा सम्भावित साउदी अरबको जेद्दह, कुवेत र जुन २५ तारिखका दिन सम्भावित अमेरिकाको लसएन्जल्स या डालस उडान गर्ने योजना रहेको निगमले उल्लेख गरेको छ । जुन महिनाका विभिन्न मितिमा हिमालय एयरलाइन्सले बङ्गलादेश, श्रीलङ्का, मलेशिया, कतार, साउदी अरब, युएई, कुवेतलगायत मुलुकबाट चार्टर्ड उडान गरी नेपाली स्वदेश ल्याउनेछ ।

हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले विदेशबाट नेपाली ल्याउन जहाज तयारी अवस्थामा रहेको जानकारी दिए । सरकारले गरेको निर्णयअनुरुप चार्टर्ड उडानका लागि सबैखाले तयारी थालिएको उनले उल्लेख गरे । ––रासस

पर्यटन क्षेत्रको पूर्नउत्थानकालागि ५० अर्बको कोष

काठमाडौं,जुन ८

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले कोभिड–१९ का कारण थला परेको पर्यटन क्षेत्रलाई राहत एवं पुनरुत्थानका लागि आगामी आर्थिक वर्षको बजेटमा एक खर्बको पुर्नउत्थान कर्जाका साथै ५० अर्बको पुर्नउत्थान कोषको व्यवस्था गरिएको बताएका छन् । विनियोजन विधेयक, २०७७ अन्तर्गत मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले कर एवं व्याजदरमा छुटका साथै पर्यटन क्षेत्रमा निजी क्षेत्रबाट सञ्चालित उद्योगी तथा पर्यटन व्यवसायीले उक्त कोषबाट राहत लिन सक्ने बताए ।

बजेटले पर्यटन क्षेत्रका कर्मचारी (श्रमिक)को सामाजिक सुरक्षा कोषको भुक्तानीमा योगदान गरेको उल्लेख गर्दै उनले पर्यटन व्यवसायमा पाँच प्रतिशत व्याजमा सहुलियतपूर्ण ऋण उपलब्ध गराइने बताए । कोभिड–१९ का कारण अप्ठ्यारोमा परेका हवाई उद्योगलाई राहत दिन इन्धनमा पूर्वाधार कर हटाइएको तथा हवाइजहाजको ल्याण्डिङ र पार्किङ शुल्कमा छुट दिइएको उनले बताए ।

नेपालको अनुकूल मौसमी अवस्था र जैविक एवं प्राकृतिक विविधताबाट प्रचुर लाभ लिन प्रदेशमा हिल स्टेशन निर्माणका लागि बजेट विनियोजन गरिएको उनले बताए । उनले पर्यटकीय गतिविधिलाई चलायमान गराउन आन्तरिक पर्यटन प्रवद्र्धनमा विशेष जोड दिइएको तथा पर्यटन प्रवद्र्धनमार्फत घरबास कार्यक्रम नियमित सञ्चालनमा जोड दिने नीति लिइएको बताए ।

पर्यटनसँग सम्बन्धित नीति र नेपालको राष्ट्रिय पर्यटन रणनीतिक योजना (सन् २०१६–२०२५) ले निर्दिष्ट गरेबमोजिम नेपाललाई यस क्षेत्रकै एक प्रमुख पर्यटकीय गन्तव्यका रुपमा स्थापित गरी अर्थतन्त्रमा योगदान पु¥याउने उद्देश्यका साथ सांस्कृतिक सम्पदाको पहिचान, विकास, पर्यटन पूर्वाधार विकासमार्फत गन्तव्य सुधार एवं विविधीकरणमा जोड दिइने उनले बताए ।

हरेक प्रदेशमा न्यूनतम एक प्रमुख पर्यटकीय गन्तव्य निर्माणका साथै स्थानीय तहमा समेत पर्यटन पूर्वाधार र पर्यटकीय उपज निर्माणका लािग साझेदारी कार्यक्रम अघि बढाइने उनले उल्लेख गरे । साझेदारी कार्यक्रमतर्फ ७९ करोड विनियोजन गरिएको उनले बताए ।

पर्यटन तथा संस्कृति क्षेत्रतर्फ पाँच अर्ब २७ करोड र हवाई क्षेत्रतर्फ २० अर्ब ४५ करोड तथा नेपाल नागरिक उड्डयन प्राधिकरणको आन्तरिकतर्फ १० अर्ब विनियोजन गरिएको जनाइएको छ । संघीयता र विकेन्द्रीकरणको भावना र मर्मबमोजिम आगामी आवमा प्रदेश र स्थानीयस्तरमा समानुपातिक र समावेशी अवधारणाबमोजिम बजेट तथा कार्यक्रम तयार गरिएको उनले जानकारी दिए ।

सोअन्तर्गत प्रदेश नं १ का लागि ४० करोड ५६ लाख, प्रदेश नं २ का लागि ५६ करोड ६३ लाख, वाग्मती प्रदेशका लागि ४६ करोड ७८ लाख, गण्डकी प्रदेशका लागि ४५ करोड ४६, प्रदेश नं ५ का लागि ३८ करोड ५३ लाख, कर्णाली प्रदेशका लागि २७ करोड ८६ लाख र सुदूरपश्चिम प्रदेशका लािग १९ करोड १५ लाख विनियोजन गरिएको छ ।

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल तथा भैरहवा र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि उच्च प्राथमिकतामा राखी आवश्यक बजेट विनियोजन गरिएको बताउँदै मन्त्री भट्टराईले आगामी आर्थिक वर्षमा दुवै विमानस्थल निर्माण सम्पन्न भई सञ्चालनमा आउने विश्वास दिलाए । त्यस्तै निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण शुरु गरिने उनको भनाइ थियो ।

आर्थिक रुपमा कमजोर बनेको राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को संस्थागत सुधारलाइ प्राथमिकता दिइएको उनले बताए । निगमले वार्षिक चार अर्ब ब्याज तिर्दै आएको छ । दुई वाइड बडी र दुई न्यारो बडी जहाज खरीदका क्रममा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिएको थियो । वाइड बडी जहाजका लागि २४ अर्ब र न्यारो बडीका लागि २० अर्ब ऋण लिइएको थियो ।

पर्यटनमन्त्री भट्टराईले निगम सुधारका लागि रणनीतिक साझेदार खोजी तथा सार्वजनिक कम्पनीका रुपमा लगेर संस्थाको खर्च कटौती गर्ने दिशातर्फ निगम अघि बढेको बताए । सरकारले आगामी आर्थिक वर्षका लागि हवाई क्षेत्रको पूर्वाधार विस्तारका लागि लागि१९ अर्ब ४२ करोड बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री डा युवराज खतिवडाले यही जेठ १५ गते संघीय संसद्को संयुक्त वैठकमा आव२०७७÷०७८ कोे आयव्ययको अनुमानित विवरण (बजेट) प्रस्तुत गर्दै पर्यटन हवाई पूर्वाधार विकासका लागि बजेट घोषणा गरेका थिए ।

अन्तरराष्ट्रिय विमानस्थलको निर्माण तथा स्तरोन्नतिका लागि सो बजेट खर्च गरिनेछ । अन्तर प्रदेश हवाई सम्पर्क विस्तार र अन्तरराष्ट्रिय हवाई सेवा बढाउन बजेट छुट्याइएको छ ।

हवाई सेवालाई गुणस्तरीय र प्रतिस्पर्धी बनाउन नयाँ हवाई नीति ल्याउने जनाइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण पुनःसंरचना गरी नियामक र सेवा प्रदायकका रुपमा छुट्टाछुट्टै संस्थाका रुपमा विकास गरिने बजेटमा उल्लेख छ ।––रासस

कूटनीतिक बाहेक सबै चार्टर्ड उडानमा रोक, नेपाल एयरलाइन्सलाइ असर

काठमाडौं,जुन ७

नागरिक उड्डयन प्राधिकरण (क्यान) ले कूटनीतिक माध्यमबाट हुने चार्टर्ड उडानबाहेक सबै उडानमाथि रोक लगाएको छ । प्राधिकरणको सो निर्णयले सबैभन्दा बढी असर राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को चार्टर्ड उडानलाई असर पु¥याएको जनाइएको छ । निगमले बन्दाबन्दीको अवस्थामा दैनिकजसो चार्टर्ड उडान गर्दै आएको थियो ।

विपद्को अवस्थामा चार्टर्ड उडानको नाममा वायुसेवा कम्पनी तथा ट्राभल एजेन्सीले यात्रुसँग मनोमानी भाडा असुल्न थालेपछि प्राधिकरणले आइतबारदेखि चार्टर्ड उडानमा रोक लगाएको हो । प्राधिकरणले शनिबार राति जरुरी सूचना जारी गर्दै कूटनीतिकबाहेकका उडान रोकिएको जानकारी गराएको छ । नेपालबाट सबै प्रकारका व्यावसायिक यात्रु उडान प्रतिबन्ध गरिएको अवस्थामा कूटनीतिक माध्यमबाट हुने उडानलाई मात्रै उडान अनुमति दिइने सूचनामा भनिएको छ ।

निगमको पूर्वनिर्धारित चार्टर्ड उडानमा भने असर नपर्ने निगमले उल्लेख गरेको छ । निगमको यात्रु चार्टर्ड गरिएको वाइडबडी जहाज आइतबार बेलुका ९ बजे जापानको नारिता र सोमबार अष्ट्रेलियाको क्यानबेरामा चार्टर्ड उडान गर्ने तालिका रहेको छ । बन्दाबन्दीमा नेपालबाट अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्ने वायुसेवा कम्पनीमध्ये निगमले सर्वाधिक चार्टर्ड उडान गरेको छ । नेपालबाट तीन नेपालीसहित ३० वायुसेवा प्रदायक कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् ।

बन्दाबन्दीको समयमा चार्टर्ड उडानले पछिल्लो समय वित्तीय सङ्कट बेहोरिरहेको नेपाल एयरलाइन्सलाई आर्थिकरूपमा पनि केही राहत मिलेको थियो । विपद्को उडान सारथी बनिरहेको नेपाल एयरलाइन्सले यात्रु चार्टर्ड र कार्गो चार्टर्ड उडान गर्दै आएको थियो । प्राधिकरणको निर्णयले अब कार्गो उडान मात्र गर्न पाउनेछ । व्यावसायिक चार्टर्ड उडान गर्न पाइँदैन । नेपाल एयरलाइन्सपछि कतार एयरले सबैभन्दा धेरै चार्टर्ड उडान गरेको थियो ।
निगमका एक उच्च अधिकारीका अनुसार प्राधिकरणको निर्णयले निगमलाई सबैभन्दा मार पुगेको छ । उनले “बन्दाबन्दीको अवधिमा चार्टर्ड उडानको अभिभारा बोकेको निगमलाई पछिल्लो प्राधिकरणको निर्णयले सबैभन्दा बढी असर गरेको छ, किनकि पछिल्लो समय उल्लेख्य संख्यामा हँुदै आएका चार्टर्ड उडान अब गर्न नपाइने भएको छ ।”

निगमले बन्दाबन्दीको अवधिमा नौ कार्गोसहित २३ अन्तर्राष्ट्रिय चार्टर्ड उडान तथा आन्तरिकतर्फ ११ चार्टर्ड उडान गरेको जनाएको छ । निगमले अन्य मुलुकमा पनि चार्टर्ड उडानका लागि पहल गरिरहेको थियो । प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले व्यावसायिक प्रकृतिका चार्टर्ड उडान प्रतिबन्ध गरिएको तर कूटनीतिक माध्यमबाट हुने चार्टर्ड उडान भने यथावत रहने जानकारी दिए ।

सरकारले गत चैत ९ गतेदेखि लागू हुने गरी नेपालमा अन्तर्राष्ट्रिय उडान भर्ने सबै वायुसेवा प्रदायक कम्पनीको उडान स्थगन गरेको थियो । त्यस्तै चैत ११ देखि आन्तरिक उडान पनि स्थगन गरिएको थियो । कोभिड–१९ महामारी नियन्त्रण गर्न सरकारले चैत ११ गतेदेखि देशभर बन्दाबन्दी गरेको छ । पछिल्लोपटक जेठ समान्तसम्म बन्दाबन्दीलाई निरन्तरता दिइएको छ । आगामी असार १६ सम्म हवाई उडान स्थगन गरिएको छ ।

सरकारसँग अनुमति नलिइ टिकट बिक्री गर्दै यात्रु चार्टर्ड हुन थालेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रायलले शनिबार प्राधिकरणलाई चार्टर्ड उडानमा कडाइ गर्न निर्देशन दिएको थियो । चैत १० देखि जेठ २४ सम्म ११० अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।––रासस

विमानस्थल सञ्चालनको तयारी

काठमाडौं,जुन १

धावनमार्ग निर्माणका काम सम्पन्न भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको तयारी तिव्र पारिएको छ । कोरोना संक्रमण रोकथामका लागि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु बन्द रहेको अवस्थामा धावनमार्ग निर्माणको काम सकिएको हो ।

लामो समयदेखि विभिन्न कारणले धावनमार्ग निर्माणको काम सुचारु हुन नसकेपनि उडानहरु प्रतिवन्ध भएपछि कामले तिव्रता पाएको हो । विमानस्थलको दक्षिणतर्फ ३ सय मिटरको धावनमार्ग निर्माण गरिएको छ ।

धावनमार्ग विस्तारपछि सञ्चालनको तयारी तिव्र पारिएको छ । कोरोना महामारीले विश्व प्रभावित भइरहेको बेला सामाजिक दुरी कायम गर्दै विमानस्थल सञ्चालनको तयारी भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले बताए । विभिन्न देशमा अलपत्र नागरिकहरुलाई स्वदेश ल्याउन तयारी भइरहेको उनले बताए ।

सरकारले सञ्चालनको सूचना जारी नगर्दासम्म सम्पूर्ण स्रोत साधन प्रयोग गरेर सञ्चालनको तयारी भइरहेको उनले बताए । विमानस्थलमा सामाजिक दुरी कायम गरी स्यानिटाइर र मास्क प्रयोग अनिवार्य गरिएको छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संठघनले लामो समयदेखि धावन मार्ग विस्तारका लागि पट पटक दबाव दिँदै आएको थियो । तर विमानस्थल बन्द गरेर काम गर्न सक्ने अवस्था नभएपछि निर्माण हुन सकेको थिएन् ।

पछिल्लो समय लक डाउन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानहरु बन्द भएपछि छोटो समयमै धावनमार्ग विस्तारको काम सम्पन्न भएको हो । विमास्थलमा अब एप्रोच लाइट जडानको काम मात्रै बाँकी रहेको छ ।

पाकिस्तानद्वारा अन्तर्राष्ट्रिय उडान सुरू गर्ने

श्रमिकहरुलाई कामबाट निकाल्न नपाइनेः पर्यटनमन्त्री

काठमाडौं,मे ७

संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले कुनैपनि पर्यटन व्यवसायीले श्रमिकहरुलाई कामबाट निकाल्न नपाउने बताएका छन् । कोरोना भाइरसको नियन्त्रण रोकथामका लागि लकडाउन लागू गरिएपछि होटल संघ नेपाल (हान)ले होटल बन्द गर्ने र कर्मचारीलाई केही प्रतिशत रकम पारिश्रमिक दिने निर्णय गरेपछि मन्त्री भट्टराईले कसैले पनि श्रमिकलाई कामबाट हटाउन नपाउने बताएका हुन् ।

पर्यटन मन्त्री भट्टराईले बिहीबार पत्रकारहरुसँगको भेटमा कुनैपनि व्यवसायीहरुले श्रमिकहरुलाई कामबाट निकाल्न (बेदखल) गर्न नपाउने बताएका हुन् । उनले भने, ‘श्रमिकहरुको हकमा हामीले भनेका छौं, कुनैपनि व्यवसायीले श्रमिकहरुलाई अहिले बेदखल गर्न पाइदैन् । किन भने वहाँहरुको सामाजिक सुरक्षा कोष पनि छ साथै होटल र अन्य कतिपय व्यवसायबाट प्राप्त गर्नुपर्ने विशेष सुविधाहरु पनि छन । त्यस्तै सरकारले पनि त्यसमा हेर्छ । त्यसैले अहिले श्रमिकहरुलाई बेदखल गर्ने करा गलत हो । त्यो गर्न पाइदैन भनेर हामीले भनेका छौं र त्यसमा सरकारले आफ्ना केही आर्थिक प्याकेजहरु पनि दिने नै छ ।’

उनले कोरोना भाइरसबाट परेको प्रभावलाई कम गर्नका लागि व्यवसायीहरु र श्रमिकहरुको हितमा केही पुनःस्थापना प्याकेजहरु अगाडि सार्ने सोचका साथ मन्त्रालय अगाडि बढेको बताए । मन्त्रालयले निश्चित रकम सम्म व्यवसाय सुचारु गर्नका लागि बिना धितो सहुलियत दरको कर्जा उपलब्ध गराउने, पुरानो ऋणको पुर्नतालिकिकरण गर्ने, भ्याट तथा ट्याक्समा छुट दिने लगायतका विषयमा सहयोग गर्ने मन्त्री भट्टराईले बताए ।–रासस

पर्यटन दशकका रुपमा अघि बढाइँदै : पर्यटनमन्त्री

काठमाडौं,मे ७

सरकारले कोभिड–१९ बाट प्रभावित बनेको मुलुकको पर्यटन क्षेत्रको पुनःस्थापनाका लागि आगामी आर्थिक वर्षमा पर्यटन दशकसम्बन्धी विशेष कार्यक्रम ल्याउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले कोभिड–१९ बाट थलिएको पर्यटन क्षेत्रलाई पुर्नजीवित गर्न १० वर्षे रणनीतिक अवधारणा ल्याइने जानकारी दिए ।

सिंहदरबारमा आज आयोजित कोभिड–१९ पछिको पर्यटन र आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति कार्यक्रममा समेटिने पर्यटन विकासका योजना कार्यक्रमबारे सञ्चारकर्मीसँगको अन्तक्र्रियामा उनले सन् २०२१ देखि २०३० सम्मको अवधिलाई पर्यटन दशकका रुपमा अघि बढाइने बताए ।

उनले पूर्वघोषित नेपाल भ्रमण वर्ष–२०२० कार्यक्रम पनि कोभिड–१९ का कारण स्थगित भइसकेको सन्दर्भमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा १० वर्षे पर्यटन रणनीतिलाई प्राथमिकताका साथ अघि बढाइने बताउनुभयो ।

“आगामी आवको नीति कार्यक्रममा नेपालको पर्यटनको १० वर्षे रणनीति (सन् २०१६ देखि २०२५ सम्म) कोलाई समेत मध्यनजर दिएर सन् २०२१ देखि २०३० सम्मको अवधिलाई पर्यटन दशकका रुपमा मनाउनेगरी प्रस्ताव अघि बढाएका छौँ, यसको विस्तृत कार्यक्रम छिट्टै सार्वजनिक गर्नेछौँ”, मन्त्री भट्टराईले भने ।

उनका अनुसार सामान्यतः सन् २०२० ‘सर्भाइबल’ वर्ष हुनेछ भने सन् २०२१ ‘रिभाइबल’ र सन् २०२२ देखि पर्यटन सामान्य अवस्थामा फर्कने आँकलनसहित रणनीति बनाइएको छ । यो भनेको सन् २०३० सम्मको अवधिमा कुनै न कुनै विधालाई प्राथमिकता दिएर पर्यटकीय गतिविधि सञ्चालन गरिनेछ ।

पर्वतीय पर्यटन, पर्या पर्यटन, जल पर्यटन, धार्मिक पर्यटन, खेलकुद पर्यटन, स्वास्थ्य पर्यटन र शिक्षा पर्यटनलाई प्रवद्र्धन गर्नेगरी नीति तथा कार्यक्रममा समेटिनेछ । साथै कोभिड–१९ बाट प्रभावित श्रमिक तथा व्यवसायीको हितमा पुनःस्थापनाका प्याकेजल्याइने जनाइएको छ ।

लुम्बिनी विकास प्राधिकरण स्थापना गरिने

लुम्बिनी क्षेत्रको बृहत्तर विकासको निम्ति लुम्बिनी विकास प्राधिकरण स्थापना गरिने पर्यटनमन्त्री भट्टराईले जानकारी दिए । उनका अनुसार लुम्बिनीस्थित मायादेवी क्षेत्र, रामग्राम, तिलौराकोट, देवदह, कपिलवस्तु, रुपन्देही क्षेत्रमा पर्ने बुद्धसँग सम्बन्धित स्थललाई एकअर्कासँग जोडेर बृहत्तर लुम्बिनी विकासको अवधारणा अघि बढाइनेछ ।
उक्त प्राधिकरणमार्फत पूर्वाधारमा लगानी गर्न सार्वजनिक साझेदारी रणनीतिका साथ विदेशी लगानीलाई समेत उपयोग गर्ने गरी अघि बढ्ने छ । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रदायकको रुपमा सङ्गठन पुनःसंरचनाको कामलाई पछि छिट्टै पूर्णता दिइने जनाइएको छ ।

हाल संसद्मा रहेको प्राधिकरण विभाजनसम्बन्धी विधेयकलाई शुक्रबारदेखि शुरु हुने बजेट अधिवेशनको दौरानमा यो विधेयकलाई अघि बढाउने छ ।नेपालको पर्यटन नीतिअनुरुप पर्यटनसम्बन्धी कानून निर्माणलाई अन्तिम रुप दिइनेछ । त्यस्तै नेपालको पर्यटनलाई बाह्रै महिना गतिविधि सञ्चालन गर्न ‘अल सिजन टुरिज्म’ को अवधारणाका रुपमा विकास गरिनेछ । पर्यटकीय तथ्याङ्क व्यवस्थापनलाई विशेष प्राथमिकता दिइनेछ ।

राष्ट्रिय ध्वजाबाहक वायु सेवा निगम (नेपाल एयरलाइन्स) लाई सार्वजनिक कम्पनीका रुपमा विकास गरिने भएको छ । मन्त्री भट्टराईले निगमको वित्तीय व्यवस्थापन र व्यवस्थापकीय सुधार गरी हालको ऋणभारलाई समेत कम हुने गरी रणनीतिक सुधारको थालनी आगामी आर्थिक वर्ष्भित्रै गरिने बताउनुभयो ।

बारामा प्रस्तावित दोस्रो निजगढ अन्तर्रा्ष्ट्रिय विमानस्थलको आगामी आव निर्माण कार्य शुरु गरिने उनले बताए । उनले निजगढ विमानस्थल चालू आवमै निर्माण शुरु गर्ने लक्ष्य रहे पनि विभिन्न परिस्थितिले असम्भव रहेको बताए । अहिले विमानस्थल निर्माणका लागि पूर्वाधार तयारीस्वरुप रुख कटानको प्रक्रिया शुरु हुने क्रममा छ । मुआब्जा वितरणको काम भइरहेको छ ।

उनले विदेशी लगानी नजुटे पनि सरकार आफँैले उपयुक्त ढाँचामा निजगढ विमानस्थल निर्माण गर्ने सोच बनाएको बताए । उनले आगामी वर्षमा २०७७/०७८ को बजेट तथा नीति कार्यक्रममा समेटिनुपर्ने पर्यटन क्षेत्रको विषयबारे सरोकारवाला निकाय, सांसदसँग चरणबद्ध छलफल गरिसकेका छन् । यसै सन्दर्भमा विभिन्न सञ्चारमाध्यमका पर्यटन विषयमा लेख्ने सञ्चारकर्मीसँग अन्तक्र्रिया गरी राय सुझाव लिएका छन् । ––रासस

सिड्नी उड्यो नेपाल एयरलाइन्स

काठमाडौं,मे ६

राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले २८१ विदेशी नागरिक बोकेर अष्ट्रेलिया उडेको छ । लकडाउनका कारण नेपालमा रोकिएका १७ बालबालिकासहित २८१ अष्ट्रेलियन नागरिक बोकेर निगमको वाइड बडी जहाज सिड्नीका लागि उडान भरेको त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलले जनाएको छ ।

अष्ट्रेलियाले निगमको वाइड बडी जहाज चार्टर्ड गरी आफ्ना नागरिक स्वदेश फिर्ता लगेको हो । नेपालस्थित अष्ट्रेलियन दूतावासले चार्टर्ड गरेको यो जहाजमा अष्ट्रेलियन र केही न्यूजिल्याण्डका नागरिक रहेको जनाइएको छ । काठमाडौँ विमानस्थलबाट दिउँसो सिड्नी उडेको वाइड बडी जहाजले मलेसियाको क्वालालम्पुर ट्रान्जिट हुँदै साढे १२ घण्टाको उडान तय गरी गन्तव्यमा पुग्नेछ । निगमको वाइड बडी जहाज बिहीबार साँझ काठमाडौँ विमानस्थलमा अवतरण गर्नेछ ।

निगमको अष्ट्रेलियामा चार्टर्ड उडान दोस्रो हो । यसअघि चैत १९ गते अष्ट्रेलियाको ब्रिश्वेनमा चार्टर्ड उडन गरेको थियो । मलेसिया ट्रान्जिट हुँदै अष्टे«लियासम्मको उक्त उडान करिब १३ घण्टाको थियो । निगमको अर्को वाइड बडी जहाजले आजै चीनको राजधानी बेइजिङमा कार्गो उडान गर्दैछ । साँझ ५ः३० बजे बेइजिङ उड्ने जहाज बिहीबार काठमाडौँ फर्कने तालिका छ । निजी व्यवसायीले अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन निगमको वाइड बडी जहाज चार्टर्ड गरेको बताइएको छ ।

हिमालय एयरलाइन्सले ग्वाङ्जाओबाट स्वास्थ्य सामग्री ल्यायो

नेपालको निजी क्षेत्र र चीनको संयुक्त लगानी रहेको हिमालय एयरलाइन्सले चीनको ग्वाङ्जाओबाट अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएको छ । हिमालयको न्यारोबडी जहाजले आज ग्वाङ्जाओबाट ६ हजार ६०० केजी स्वास्थ्य सामग्री ल्याएको विमानस्थलले जनाएको छ । यसअघि वैशाख १८ गते चीनको चाङ्साबाट र वैशाख १४ गते ग्वाङ्जाओबाटै हिमालय एयरलाइन्सले जहाजले स्वास्थ्य सामग्री ल्याएको थियो ।–रासस

बेइजिङ र सिड्नी उड्दै नेपाल एयरलाइन्स

काठमाडौ,मे ६

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को दुई वाइडबडी जहाज आज चीनको बेइजिङ र अष्ट्रेलियाको सिड्नीमा चार्टर्ड उडान गर्दैछ । निजी व्यवसायीले अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन तथा सम्बन्धित मुलुकले आफ्ना नागरिक ल्याउन निगमको वाइडबडी जहाज चार्टर्ड गरेका हुन् ।

उडान तालिकाअनुसार पहिलो चार्टर्ड उडान अष्ट्रेलियाको सिड्नीमा हुनेछ । वाइडबडी जहाज त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट दिउँसो १ः३० बजे उड्ने र भोलिपल्ट साँँझ ५ बजे काठमाडौँ विमानस्थलमा अवतरण गर्नेछ । दोस्रो जहाजले साँझ ५ः३० बजे बेइजिङमा कार्गो उडान गर्नेछ । भोलिपल्ट काठमाडौँ फर्कने तालिका छ । दुवै अन्तर्रा्ष्ट्रिय गन्तव्यको उडान निर्धारित तालिकामै हुने निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिए ।

प्रवक्ता खड्काका अनुसार नेपालमा रहेका २६४ अष्ट्रेलियाली नागरिक लिएर निगमको वाइडबडी जहाजले सिड्नी गन्तव्यमा चार्टर्ड उडान गर्न लागेको छ । वाइडबडी जहाज अष्ट्रेलियाबाट रित्तै फर्कनेछ । लोड कम हुने भएकाले सिधा सिड्नी–काठमाडौँ उडान हुने जनाइएको छ । निगमले यसअघि चैत १९ गते अष्ट्रेलियाको ब्रिश्वेनमा चार्टड उडन गरेको थियो । मलेशिया ट्रान्जिट हुँदै अष्टे«लियासम्मको यो उडान करिब १३ घण्टाको थियो । निगमको पुनः अष्ट्रेलिया उडान क्वालालम्पुर ट्रान्जिट भएर सिड्नी पुग्नेछ भने सिड्नीबाट फर्कँदा सिधैँ काठमाडौँस्थित त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । काठमाडौँ–सिड्नी साँढे १२ घण्टाको उडान हुनेछ ।

बेइजिङ पहिलो र ऐतिहासिक उडान

नेपाल एयरलाइन्सको बेइजिङ उडान पहिलो र ऐतिहासिक उडान हुनेछ । अहिलेको विषम परिस्थितमा गर्न लागिएको कार्गो उडान भए पनि बेइजिङ उडान निगमको उड्डयन इतिहासमै पहिलोपटक भएको निगमले उल्लेख गरेको छ । काठमाडौँ–बेइजिङ करिब सात घण्टाको उडान हुनेछ ।

निगमले यसअघि चीनको सांघाई हँुदै जापानको ओसाका उडान गर्ने गरेको थियो । सन् १९८४ ताका निगमले सो गन्तव्यमा उडान शुरु गरेको भए पनि अप्रिल १२ सन् २००७ मा जहाज अभावले ओसाका उडान बन्द भएको थियो । अघिल्लो वर्ष भदौ १२ देखि पुनः उडान शुरु गरिए पनि विसं २०७६ फागुन १९ देखि जापानकै नारिता उडान शुरु भएपछि ओसाका गन्तव्यको उडान बन्द भएको थियो ।

निगमले चीनको ग्वान्जाओमा व्यावसायिक उडानका लागि अनुमति पाएको थियो । नेपालमा कोभिड–१९ नियन्त्रणका लागि लकडाउन गरिएपछि उडान हुनसकेको छैन । बेइजिङलगायत गन्तव्यमा निरन्तर पहल गरिए पनि अझै उडान अनुमति पाउन सकेको छैन । अहिले नेपालबाट अन्तर्रा्ष्ट्रिय उडान भर्ने नेपालको निजी लगानी र चीनको संयुक्त लगानी भएको हिमालय एयरलाइन्सले चीनको बेइजिङ र छोङ्गिनलगायत गन्तव्यमा उडान गर्दै आएको छ । निगमले भने (शुरुको सांघाई उडानबाहेक) अहिलेसम्म चीनमा व्यावसायिक उडान गर्न पाएको छैन । बेलाबखत कार्गो तथा चार्टर्ड उडान मात्रै हँुदै आएको छ ।

वैशाख ३० गते दक्षिण कोरियामा उडान

निगमको वाइडबडी जहाजले दक्षिण कोरियामा पनि चार्टर्ड उडान गर्दैछ । आगामी १२ मेका लागि दक्षिण कोरियाको सिओल उडान गर्ने निश्चित भएको निगमका प्रवक्ता खड्काले जानकारी दिनुभयो । वैशाख ३० गते ५ बजे उडान गर्ने छ भने भोलिल्ट ८ः४५ बजे काठमाडौँ अवतरण हुनेछ । नेपाली कामदारलाई दक्षिण कोरिया लैजान गैरआवासीय नेपाली संघ कोरियाले जहाज चार्टर्ड गरेर लैजान लागेको जनाइएको छ । काठमाडौँ विमानस्थलबाट कोरियाको सिओलस्थित इङचोन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा उडान हुनेछ ।

मन्त्रिपरिषद्को वैशाख १४ गतेको निर्णयअनुसार इपिएस प्रणालीअन्तर्गत कोरिया काम गर्ने अनुमतिप्राप्त वैध प्रवेशाज्ञा (भिसा) भएका हाल बिदामा रहेका नेपाली स्वेच्छाले आफ्नो काममा फर्की जान चाहेमा निजहरुको स्वास्थ्य परीक्षण गराइ उनीहरुकै खर्चमा चार्टर्ड उडानबाट जान स्वीकृति दिने निर्णय गरेको थियो । सोहीअनुरुप कोरिया उडान गर्न लागिएको हो ।

मुलुकमा जारी लकडाउन तथा अन्तर्रा्ष्ट्रिय हवाई आवागमन स्थगन गरिएको अवस्थामा नेपाल एयरलाइन्सले चार्टर्ड तथा कार्गो उडान गरिरहेको छ । निगमले अष्ट्रेलिया र चीनमा पुनः उडान गर्न लागेको हो । लकडाउनको अवधिमा सर्वा्धिक उडान गरेको नेपाल एयरलाइन्सले भारत, बङ्गलादेश, जापान र अष्ट्रेलियामा चार्टर्ड उडान ग¥यो भने चीनको ग्वान्जाओमा चार कार्गो उडान गरेको छ ।

लकडाउन अवधिमा आठ अन्तर्रा्ष्ट्रिय उडान गरेको नेपाल एयरलाइन्सलको वाइडबडी जहाजले पहिलोपटक चैत १६, २० र २४ गते चीनको ग्वान्जाओबाट स्वास्थ्य सामग्री ल्याएको थियो । त्यस्तै चैत २८ गते जापानको नारितामा चार्टर्ड उडान गरेको थियो । भारतको नयाँ दिल्ली र बङ्गलादेशको ढाकामा पनि निगमले चार्टर्ड उडान गरेको थियो । हाल दुई वाइडबडी ए–३३० र दुई थान न्यारोबडी ए–३२० सिरिजको जहाजबाट निगमले अन्तर्रा्ष्ट्रिय उडान गरिरहेको छ ।––रासस

Nepal news headlines | breaking news kathmandu | national news of nepal live