Slider

राहतको प्याकेज ल्याउन अर्थविदहरुको सुझाव

अर्थ समितिमा अर्थविदहरु

काठमाडौं,मे १४

लकडाउनका कारण अर्थतन्त्रमा परेको असरको समग्र अध्ययन गरी राहतको प्याकेज ल्याउन अर्थविद्हरुले सुझाव दिएका छन् । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिले कोरोना भाइरसले अर्थतन्त्रमा पारेको प्रभाव र आगामी बजेटको प्राथमिकता लगायतका विषयमा आयोजना गरेको छलफलमा सहभागी भएका अर्थविद्हरुले सरकारले अझैपनि अर्थतन्त्रमा परेको असरको अध्ययन गर्न नसकेको बताएका हुन् ।

अर्थतन्त्रको सुधारका लागि समस्टिगत अध्ययन नगरी राहतको व्यवस्था गर्दा उचित वितरण नहुने भएकाले सबैभन्दा पहिला अध्ययन हुनु आवश्यक रहेको अर्थविद्हरुले बताएका हुन् । पर्यटन क्षेत्र सबैभन्दा लामो समय सम्म प्रभावित हुने, उद्योग बन्द हुने, उत्पादन घट्ने, बजारमा माग घट्ने लगायतका समस्याले अर्थतन्त्रलाई कमजोर बनाउने भएकाले सरकारले समस्टिगत अध्ययन गरी बजेटका प्राथमिकता तयार गर्नुपर्नेमा उनीहरुले सुझाव दिएका हुन् ।

अर्थविद डा. चन्द्रमणि अधिकारीले हिजोको दिनमा रहेको रोजगारीको संख्या र लकडाउन पछि गुम्ने रोजगारीको अध्ययन हुनुपर्ने बताए । मानिसको स्वास्थ्य, र रोजगारी जोगाउनका लागि सरकारले उचित कदम चाल्न सके सबैभन्दा ठूलो राहत हुने अर्थविद् अधिकारीले बताए ।

उनले लकडाउनका कारण उठनै नसक्ने क्षेत्रमा राहत दिन नहुने समेत बताए । विश्वभर लकडाउन भएको र खर्च गर्ने क्षमता सबैको कम भएको अवस्थामा पर्यटनलाई पहिलो प्राथमिकतामा राखेर नीति कार्यक्रम र बजेट ल्याउन नहुने अधिकारीले बताए ।

अर्थविद् डा. गोविन्द नेपालले होटल र पर्यटन क्षेत्रमा सबैभन्दा लामो समय र सबैभन्दा धेरै असर पार्ने भएकाले यस क्षेत्रमा गुम्ने राजगारीको व्यवस्थापन चुनौतिपूर्ण भएको बताए । यस्तै निजी क्षेत्रबाट व्यवसायिक पिडाबाट राखेका सबै मागहरुलाई सम्बोधन गर्न र अर्थतन्त्रलाई सुचारु गर्नका लागि समस्टिगत अध्ययन हुनुपर्ने बताए । यस्तै सरकारका तीन वटै निकायमा समन्वय गरी सहलगानीको अवधारणाबाट काम गर्नुपर्ने बताउनुभयो । उहाँले कोभिड–१९ को नियन्त्रण र अर्थतन्त्रलाई चलायमान गराउन श्रोतको बाँडफाँडको फर्मुला नै परिवर्तन गर्नुपर्ने बताए ।

अर्थविद डा.विश्वम्बर प्याकुरेलले वित्तीय र मौद्रिक नीतिलाई समन्वय गरेर लैजान सके मुद्रास्फीति नियन्त्रण गर्न सकिने बताए । उत्पादन घट्ने, उद्योग बन्द हुने, पर्यटन क्षेत्र ठप्प हुँदा गिरावट आएको अर्थतन्त्रलाई ‘भि सेप’को रिकभरी दिन सरकारले प्याकेजहरु ल्याउनुपर्ने उनले बताए । तर अहिलेकै स्थितिमा अर्थतन्त्रको ‘भि सेप’ रिकभरी हुने ठाउँ नरहेको अर्थविद प्याकुरेलले उल्लेख गरे । यस्तै वैदेशिक रोजगारी समेत ठप्प हुँदा रेमिट्यान्स घट्न गई वैदेशिक मुद्राको समस्या बढ्नेतर्फ अर्थविद प्याकुरेलले ध्यानाकर्षण गराए । यस्तो अवस्थामा डलरको मूल्य बढ्न गई नेपाली रुपैयाँ कमजोर हुने र आयातमा आधारीत नेपालको अर्थतन्त्रमा ब्यालेन्स अफ पेमेन्ट डेफिसिट हुने र मुद्रास्फीति बढ्ने बताए ।

अर्थविद् डा. डिल्लीराज खनालले लकडाउनका कारण श्रम बजारमा उत्पन्न भएको समस्यालाई समाधान नगरे सामाजिक द्धन्द्ध उत्पन्न हुने बताए । उनले लकडाउनले ४०/४५ लाख मानिसहरु बेरोजगार भएको अवस्थामा अर्थतन्त्रमा गम्भिर असर पर्ने र त्यसका लागि सरकारले नीति तथा कार्यक्रम र बजेट मार्फत राहत ल्याउनुपर्ने बताए । उनले स्वास्थ्यलाई पहिलो प्राथमिकता दिई अर्थतन्त्रलाई चलायमान बनाउन ध्यान दिनुपर्ने बताए ।

अर्थविद् शंकर शर्माले स्वास्थ्य, राहत र रोजगारीमा केन्द्रीत भएर सरकारका कार्यक्रमहरु आउनुपर्ने बताए । उनले सबैभन्दा धेरै रोजगारी साना तथा घरेलु उद्योगमा गुम्ने भएकाले त्यस क्षेत्रमा श्रम गर्नेहरुको व्यवस्थापन उचित ढंगले गर्नुपर्ने बताए । उद्योग बन्द हुने, उत्पादन घट्ने र माग समेत घट्ने हुँदा रोजगारी कटौति हुने र अर्थतन्त्रमा ठूलो क्षति हुनेतर्फ ध्यानाकर्षण गराए । यस्तै धान उत्पादनका लागि मल र बीउ उपलब्ध गराउन सके अर्थतन्त्रका लागि सबैभन्दा ठूलो राहत हुने उनले सुझाव दिए ।

अर्थविद्हरुले लकडाउनका कारण गुम्ने रोजगारीलाई कम गर्न सके अर्थतन्त्र जोगाउन सकिने बताएका छन् । आयातित अर्थतन्त्रलाई उत्पादनमुखि अर्थतन्त्रमा रुपमान्तरण गर्न लकडाउन अवसर हुन सक्नेमा समेत अर्थविदहरुले जोड दिएका छन् ।

शेयर कारोबार बन्द

काठमाडौं,मे १४

लकडाउनका कारण ५०औँ दिनमा मंगलबार खुलेको शेयर बजार पुनः बन्द गर्न नेपाल धितोपत्र बोर्ड (सेवोन)ले नेपाल स्टक एक्सचेञ्जलाई निर्देशन दिएको छ । बोर्डको निर्णयका आधारमा नेप्सेले मंगलबार र बुधबार शेयर कारोवार गरेको थियो । दुई कारोवार दिनमा समेत बजार पूरा समय टिक्नै सकेन । दुई प्रतिशतभन्दा बढीले बजार ओरालो लागे पनि नेप्सेले सर्किट ब्रेक लगाएर बजार बन्द गरेको थियो ।

मंगलबार बजार झण्डै डेढ घण्टा टिकेको थियो भने बुधबार कारोवार शुरु भएको ४० मिनेटमा नै सर्किट लागेर बन्द भएको थियो । बोर्डले दुई प्रतिशतका आधारमा बजार उकालो लागे पनि वा ओरालो लागे पनि सर्किट ब्रेक लगाउने व्यवस्था गरेको थियो । लकडाउन जारी रहे पनि बजार सञ्चालन गर्ने निर्णयअनुसार खुलेको बजार आज पुनः बोर्डको निर्देशनअनुसार नै बन्द गरिएको नेप्सेले जनाएको छ ।

कोरोना भाइरसको जोखिम काठमाडौँ उपत्यकामा परेको र सरकारले यही जेठ ५ गतेसम्म लकडाउन जारी राखेका कारण त्यसलाई कडाइका साथ लागू गर्नुपर्ने भएकाले बजार बन्द गरिएको नेप्सेले जनाएको छ । लकडाउनलाई पूर्णरुपमा पालन गर्न र मानिसको आवतजावत गर्न सवारी पासमा समेत कडाइ गरेको र यस्तो अवस्थामा लगानीकर्ताको धितोपत्रको पहुँचमा असहजता हुने देखिएकाले लगानीकर्ताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर लकडाउन अवधिभर कारोवार स्थगन गर्न बोर्डले निर्देशन दिएको छ ।

बोर्डको निर्देशनअनुसार विहिबार बसेको नेपाल स्टक एक्सचेञ्ज सञ्चालक समितिको निर्णयअनुसार कारोवार स्थगन गरिएको हो । नेप्सेका उपप्रबन्धक प्रविन पान्दाकका अनुसार लकडाउन अवधिभर बजार अब बन्द रहनेछ ।–––रासस

भारतमा कोरोना भाइरस संक्रमितको संख्या ७८ हजार नाघ्यो,दिल्लीमा संक्रमितको  संख्या ८ हजार बढी

नयाँ दिल्ली,मे १४

भारतमा बिहिवारसम्म कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ७८ हजार ३ जना पुगेको छ । गत २४ घण्टामा भारतमा थप ३ हजार ७२२ जना कोरोना भाइरस संक्रमित थपिएको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

भारतमा बुधबार एक दिनमा १३४ को मृत्यु भएको र यसपछि प्रकोपबाट मृत्यु हुनेहरुको सख्या २ हजार ५४९ जना पुगेको छ । यस संक्रमणबाट निको भएका बिरामीको संख्या २६ हजार २३५ जना रहेको पनि सो मन्त्रालयले जानकारी दिएको छ ।

भारतमा बिहीबार बिहानसम्मको तथ्यांक अनुसार कोरोनाबाट संक्रमित ४९ हजार २१९ जना अस्पतालमा उपचार गराइरहेका छन् ।

कोभिड–१९ बाट सबैभन्दा बढी महाराष्ट्रका नागरिक संक्रमित भएका छन् । महाराष्ट्रमा मात्र २५ हजार ९२२ नागरिक संक्रमित रहेका छन् ।

महाराष्ट्रपछि गुजरात दोस्रो स्थानमा रहेको छ । त्यहाँ ९ हजार २६७ जनामा कोरोना भाइरसको संक्रमण रहेका छन् भने तमिलनाडू ९ हजार २२७ संक्रमति रहेका छन् ।
दिल्लीमा कोरोना भाइरस संक्रमितको  संख्या ८ हजार नाघेको छ ।

कोराना भाइरसको (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारत सरकारले देशव्यापी लकडाउनलाई थप दुइ साताको लागि लम्बाएको थियो । भारतले गत मे ४ देखि लागू हुने गरी थप दुइ साताको लागि तेस्रो चरणको लकडाउन गर्ने निर्णय गरेको थियो ।

भारतमा पहिलो चरणको लकडाउन २४ मार्चमा लगाइएको थियो । दोस्रो लकडाउन १५ अप्रिलमा शुरु भएको थियो । दोस्रो लकडाउन मे ३ मा सकिदै थियो । कोरोना भाइरसको संक्रमण देशभरी बढ्दै गएपछि दोस्रो लकडाउन नसकिदै तेस्रो लकडाउन मे १७ सम्मको लागि घोषणा गरिएको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चौथो चरणको लकडाउन कस्तो प्रकारको हुने बारे केहि दिनमा सार्वजानिक गर्ने गत मंगलबारको सम्बोधनमा बताएका थिए ।

रुपन्देहीको एकै परिवारका नौमा कोरोना

खस्यौली(रुपन्देही),मे १४

रुपन्देहीको गैडहवा गाउँपालिका वडा नं २ स्थित जोगडामा एकै परिवारका नौसहित १० जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । तीमध्ये छ पुरुष, एक महिला एवं चार र १० वर्षीया बालिका तथा एक पुरुष अलग परिवारको रहेको गैडहवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेले जानकारी दिनुभयो । भारतको मुम्बईबाट नेपाल आएका उनीहरु एक साताअघि लुकिछिपी नेपाल प्रवेश गरेका थिए ।

नेपाल प्रवेश गरेपछि स्थानीय जोगडा माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका उनीहरुको परीक्षण गर्दा कोरोना पोजेटिभ भेटिएको प्रशासकीय अधिकृत घिमिरेले जानकारी दिनुभयो । उनीहरुको अवस्था सामान्य रहेको बताइएको छ । सो गाउँपालिका सैनामैना नगरपालिका र कञ्चन गाउँपालिकासँग जोडिएको गाउँपालिका हो ।

रुपन्देहीमा बुधबार थप १२ जनामा कोरोना सङ्क्रमण भएको थियो । थपिका १२ सहित जिल्लामा कोरोना सङ्क्रमित २८ पुगेको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । भैरहवास्थित भीम अस्पतालको आइसोलेशन वार्डका रहेका दुई र गैडहवा गाउँपालिकाको जोगडा मावि क्वारेन्टाइनमा बसेका १० सहित १२ मा कोरोना सङ्क्रमण भएको थियो ।

भीम अस्पतालको आइसोलेशनमा रहेका एक जना उत्तर प्रदेश जिल्ला गोण्डाका भारतीय हुन् भने एक जना विजयनगर नगरपालिका कपिलवस्तुका बासिन्दा भएको अस्पतालका सूचना अधिकारी गोपाल उपाध्यायले बताए ।

भारतीय प्रतिमाननिमा क्वारेन्टाइनमा बसेका बेला स्वास्थ्यमा समस्या भएपछि अस्पताल भर्ना गरिएका नागरिक छन्  । उनि केही दिन पहिला नवलपरासीमा पूजा गर्न आएको पण्डित भएको बताइएको छ ।––रासस

नेपालमा एक बालिकासहित थप सात जनामा कोरोना संक्रमण,संक्रमितको संख्या २५० पुग्यो

काठमाडौं,मे १४

नेपालमा सात जना कोरोना संक्रमित थपिएका छन् । सर्लाही, धनुषा, महोत्तरी, काठमाडौं र कपिलबस्तुमा गरी बिहीबार ७ जना कोरोना ,संक्रमित थपिएका हुन् । यो सँगै ,संक्रमितको संख्या २५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण क्रममा बिहीबार नयाँ सात जनामा संक्रमण देखिएको बताए ।

अधिकारीका अनुसार संक्रमितहरु काठमाडौँ चन्द्रागिरि नगरपालिकाका ३२ वर्षीय पुरुष, कपिलवस्तुका छ वर्षीया बालिका, सर्लाही धान्कोल नगरपालिकाका ४५ वर्षीय पुरुष, धनुषाको जनकपुर उपमहानगरपालिकाका ४० वर्षीय पुरुष, धनुषाकै मिथिला नगरपालिकाका २० वर्षीया महिला, महोत्तरी जलेश्वर नगरपालिकाका १६ वर्षीय पुरुष, महोत्तरीकै बलवा नगरपालिकाका ३५ वर्षीय पुरुष रहेका छन् ।

विहिबार देखिएका सङ्क्रमितहरुमा एक बालिकासहित दुई महिला र पाँच पुरुष रहेका छन् । मन्त्रालयका सहप्रवक्ता डा.अधिकारीका अनुसार ,संक्रमितको अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् ।

कोरियामा गुम्यो पाँच लाखको रोजगारीः नेपाली पनि प्रभावित

सउल(दक्षिण कोरिया),मे १३

कोरोना महामारीको प्रभावका कारण दक्षिण कोरियामा झण्डै पाँच लाख रोजगारी गुमेको छ । यति धेरै रोजगारी गुमेको यो दुई दशकयताकै उच्च हो । कोरियाको एक तथ्यांक अनुसार गत महिना मात्र चार लाख ७६ हजारभन्दा बढीले रोजगारी गुमाएका छन् । यो संख्या सन् १९९९ पछिको सबैभन्दा बढी हो ।

यसरी रोजगारी गुमाउनेमा अधिकांश अस्थायी तथा पार्टटाइम कामदार छन् । प्रायः सबै क्षेत्रमा यसको प्रभाव देखिए पनि विशेषगरी होलसेल तथा खुद्रा व्यवसाय, होटेल, पर्यटन, कृषि प्याकिङ तथा प्याकेजिङ, शिक्षा सेवा, मनोरञ्जन सेवालगायत क्षेत्र अत्याधिक प्रभावित देखिएका छन् । उक्त स्थानमा सामाजिक दूरी तथा सेवा क्षेत्र हेरेर जोखिमयुक्त क्षेत्रमा लगाइएका लकडाउनका कारण रोजगारी गुमेको हो । विभिन्न व्यावसायिक कम्पनीमा कामदारको माग न्यून हुन थालेपछि गत महिना मात्र उक्त संख्यामा रोजगारी गुमेको हो ।

यसका साथै उत्पादनमूलक क्षेत्रमा पनि यसको प्रभाव देखिएको छ । दैनिक आठदेखि १६ घण्टाभन्दा बढी काम हुने अधिकांश उत्पादनमूलक क्षेत्रमा पनि घटेर दैनिक आठ घण्टा मात्र काम हुने वा कम्पनीले सूचना टाँस गरी बेतलबी बिदा दिने वा वार्षिक रुपमा प्राप्त हुने तलबी बिदा घट्ने गरी बिदामा बस्न लगाउने क्रम बढेको छ । यसको प्रत्यक्ष प्रभाव नेपालीलाई पनि परेको छ ।

विशेषगरी आफ्नै देशमै खपत हुने उत्पादनको निर्यातमा सामान्य गिरावट आए पनि पनि बाह्य निर्यात हुने सामग्रीमा भारी गिरावटका कारण काम घट्ने क्रम बढेको हुन सक्ने अनुमान गरिएको छ । दक्षिण कोरियाले अधिकांश उत्पादन विदेश निर्यात गर्छ ।

तथ्यांक अनुसार रोजगारी गुमाउनेमा विशेषगरी १५ देखि २९ वर्ष उमेर समूहका युवा छन् । उनीहरूको संख्या कुल गुमेको रोजगारी संख्यामध्ये ४०.९ प्रतिशत अर्थात् दुई लाख ४५ हजार छ । सबैभन्दा धेरै दुई लाख १२ हजार बढि रोजगारी होटेल तथा रेस्टुरेन्ट व्यावसायमा गुमेको छ । सरकारले भने न्यून आय भएका जनताको निम्ति केही हप्तामै साढे पाँच लाखभन्द्या बढी नयाँ रोजगारी सिर्जना गर्ने बताएको छ ।––रासस

मिचिएको नेपाली भूमि फिर्ता ल्याउन सर्वदलीय बैठकमा एक स्वर

काठमाडौं,मे १३

नेपाली भूमि लिपुलेक हुँदै छिमेकी भारतले चीनसँग जोड्ने सडक निर्माण गरेको विषयमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेताले आपत्ति जनाउँदै कूटनीतिक माध्यमबाट चाँडो सीमा विवाद सुल्झाउन सरकारलाई आग्रह गरेका छन् ।

विश्व कोरोना महामारीसँग जुधिरहेका बेला गतसाता भारतले सो क्षेत्रमा सडक उद्घाटन गरेको सार्वजनिक भएपछि सरकार, राजनीतिक दल, नागरिक क्षेत्र र आम जनतामा चिन्ता पैदा भइरहेका बेला आज प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गर्नुभएको सर्वदलीय बैठकमा नेपाली भूमि रक्षाका लागि एक स्वरमा सो भावना व्यक्त भएको हो ।

सरकारले सो क्षेत्रमा भारतले सडक निर्माण गरेको विषयमा भारत सरकारलाई कूटनीतिक नोटमार्फत असहमति जनाइ वार्ताबाट चाँडो समस्याको समाधान गर्न आग्रह गरिसकेको छ भने बुधबारै दार्चुलाको सीमा क्षेत्रमा सशस्त्र प्रहरीको क्याम्प खडा गरिएको छ ।

भारतीय पक्षले कोरोना संकटपछि वार्ता गर्ने जनाउ दिएकामा नेपालले यो गम्भीर विषय भएकाले तत्काल कूटनीतिक वार्तामा आउन आग्रह गर्दै आएको छ । सरकारको यो पहल र कदमलाई सहभागी सबै दलका शीर्ष नेताले समर्थन गर्दै परिणाममुखी संवादबाट सीमा विवाद हल गर्न सुझाव दिएका छन् ।

संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुख, पूर्वप्रधानमन्त्री र संविधानसभाका अध्यक्षलाई आमन्त्रण गरिएको सो बैठकमा छिमेकी भारतले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरामा आफ्ना गतिविधि गरेको र नेपाली भूमि मिचेको विषयमा केन्द्रित भएर छलफल भएको थियो । यसअघि गत कात्तिकमा भारतले नेपाली भूमिसमेतलाई समावेश गरी आफ्नो नक्सा सार्वजनिक गरेपछि पनि यस्तै प्रकारको सर्वदलीय बैठक आयोजना हुँदा राष्ट्रियताका पक्षमा समान मत व्यक्त भएको थियो ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बैठकमा सबै नेताले एक स्वरमा भारतले र चीनको मानसरोवर जोड्नका लागि सडक बनाएको लिपुलेक क्षेत्र नेपालको रहेकामा विवाद नरहेको स्पष्ट गर्दै सरकारको पहलमा समर्थन रहेको अवगत गराएको बताए । उनले नेताहरुले नेपाली जनताको साथ र एकताबाट प्रभावकारी कूटनीतिक पहल चाल्न आग्रह गरेको जानकारी दिए ।

मन्त्री ज्ञवालीका अनुसार प्रधानमन्त्री ओलीले राष्ट्रियताका सन्दर्भमा प्राप्त एकता र सुझावलाई आत्मसात् गरी पुर्खाको पौरखले निर्मित र लडेर बचाएको मुलुकको स्वाधीनताको रक्षाका लागि सरकार दृढतापूर्वक उभिने स्पष्ट गरेका थिए । “नेपाल राष्ट्रको हितलाई सर्वाेपरि ध्यानमा राखेर हामी भारतसँग अविलम्ब कूटनीतिक वार्ता गरी समस्याको समाधान गर्ने पक्षमा छौँ”, बैठकमा प्रधानमन्त्री ओलीको भनाइ थियो, “नयाँ राजनीतिक नक्सा सार्वजनिक भएलगत्तै नेपाल सरकारले वार्ताको आग्रह गर्दा दुवै देशका परराष्ट्र सचिवस्तरको बैठकले टुङ्गो लगाउने भनिएकामा अहिले वार्तामा आउन भारतले कोरोना भाइरसलाई कारण बनाउनु र विवाद छ भन्दाभन्दै कोरोना जोखिमकै बीचमा बाटो उद्घाटन गरिनु दुःखद् छ ।”

कूटनीतिक वार्ताबाट समाधान गर्न उच्चस्तरीय तहबाटै वार्ता हुने हो या भारत वार्तामा बस्न चाहेन भने के गर्ने भन्ने पत्रकारको प्रश्नमा मन्त्री ज्ञवालीले भारतले नेपाली भूमिलाई प्रशासनिक अधिनमा राखेर सडक बनाउन थालेको थाहा भएदेखि नै नेपालले आपत्ति जनाउँदै आएको उल्लेख गर्दै समाधान गर्न दुवै पक्ष जुन तहमा वार्ताका लागि तयार हुन्छन, त्यसमा हामी तयार छौँ भने । उनले छिटोभन्दा छिटो भारतसँग वार्ता हुनुपर्ने अन्यथा दुई देशको सम्बन्धमा अनावश्यक समस्या सिर्जना हुने सरकारको धारणा रहेको उल्लेख गरे । उनले नेपालको पश्चिम सीमा महाकाली नदी हो भन्ने सुगौली सन्धिले स्पष्टरुपमा भनेकाले सोही विषयलाई प्रमाणका आधारमा नेपालले राख्ने जनाए ।

बैठकपछि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काली नदी नै नेपालको सीमा नदी भन्ने आधार सुगौली सन्धिमा उल्लेख भएको र कालापानी नेपालकै सीमा रहेकामा चीन र भारतले लिपुलेकलाई नाका मानेर सडक निर्माणको काम गरेकाले नेपालको भूमिमा किन यस्तो काम गरियो भन्ने विषयमा सबै गम्भीर भएर समस्या समाधानका लागि लाग्नुपर्नेमा जोड दिइएको बताए ।

उनले बैठकमा अमेरिकी सरकारसँगको मिलेनियन च्यालेन्स सहायता सम्झौता (एमसिसी) नेपालमा आउने ठूलो सहायता भएकाले पारित गर्नुपर्छ भन्ने विचार राखेको पनि जानकारी दिए । उनले भने,“पूर्ववर्ती सरकारका निर्णयहरु नमान्ने हो भने भोलि कसैको निर्णय नमानिन सक्छ । त्यसैले एमसिसिलाई संसद्बाट चाँडो पारित गर्नुपर्छ ।”

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले नेपाली भूमिको रक्षाका लागि हालसम्म सरकारबाट भएका कामका बारेमा प्रधानमन्त्रीले अवगत गराएको र आफूहरुले नेपाली जनतालाई विश्वासमा लिएर सीमा विषयमा समाधानमुखी कदम चाल्न आग्रह गरिएको बताए । पूर्वप्रधानमन्त्री एवं राष्ट्रिय जनता पार्टीका नेता डा बाबुराम भट्टराईले राष्ट्रवादका विषयमा साझा अवधारण बनाउन उच्चस्तरीय राजनीतिक आयोग गठन गरेर समस्याको समाधानमा लाग्न सुझाव दिएका थिए । –––रासस

नेपालमा बुधबार २४ संक्रमित थपिए, कोरोना संक्रमितको संख्या २४३ पुग्यो

काठमाडौं,मे १३

कोभिड १९ को संक्रमण बुधबार २४ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा नयाँ २४ जनामा संक्रमण देखिएको बताए ।

यो सँगै संक्रमितको संख्या २४३ पुगेको छ । बुधबार दिउँसोमात्र बाँके र कपिलवस्तुमा दुई जनामा संक्रमण पुष्टि भएको थियो । साँझ भेटिएकामा संक्रमित मध्ये रुपन्देहीका १२, कपिलवस्तुका आठ, पर्साका तीन र नवलपरासीका एक जना रहेका छन् । नयाँ संक्रमितमा २० जना पुरुष र चार जना महिला रहेका छन् । नयाँ सङ्क्रमितमा रुपन्देहीका २२, २२, २५, २८, ३०, ३२, ३२, ३३ र ४१ वर्षीय पुरुष र ४, १० र २८ वर्षीया महिला रहेका छन् ।

दार्चुलाबाट सुरक्षाकर्मी व्यास जाँदै

खुशी हुँदै फर्किइन् कोरोनामुक्त आमा

चितवन,मे १३

चार साताको अस्पताल बसाइपछि कोरोनामुक्त भएर घर फर्कँदै गर्दा ६३ वर्षीया आमाले अस्पतालका नर्स, चिकित्सक, स्वास्थ्यकर्मी र अस्पताललाई धन्यवाद दिँदै बिदा भएकी छन् ।

दुई छोरासँगै वैशाख ३ गते भरतपुर अस्पताल आएकी आमा र एक छोरालाई कोरोना भाइरस संक्रमण देखिएको थियो भने अर्का एक छोरामा नेगेटिभ देखिएको थियो । वैशाख १३ गते २७ वर्षीय छोरा संक्रमणमुक्त भए पनि आमालाई निको हुन समय लागेको थियो । आमासँगै घर जाने बताएपछि संक्रमण निको भएका छोरा पनि अस्पतालकै क्वारेन्टाइनमा बसेका थिए । आमालाई लिएर उनी पनि आज घर फर्किएका छन् । उनीहरुलाई लिन राप्ती नगरपालिका प्रमुख प्रभा बराल एम्बुलेन्स लिएर अस्पताल आएका थिए ।
अस्पतालका तर्फबाट बिदाइ गर्दै फूल, गुच्छा र डिस्चार्ज दिएपछि खुशी हुँदै आमाले आफूलाई कोरोना भएको भनिए पनि शरीरलाई भने केही नभएको बताइन । उनले भने,“एकदमै राम्रो छ । आउँदा पनि यस्तै थियो अहिले पनि त्यस्तै छ ।” उनले थपे,“सबैले मलाई कोरोना भयो भने मलाई त केही पनि भएको छैन ।”

अस्पतालको सेवाप्रति उनी निकै खुशी हुँदै नियमित रेखदेखमा रहेका नर्सिङ कर्मचारीलाई उनले विशेष धन्यवाद दिइन । बिदाइ गर्दै अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले उनलाई शुभकामना दिइन । स्वास्थ्यको ख्याल गर्न अधिकारीको सुझाव थियो । प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीले दुई सातासम्म घरमा छुट्टै बस्न अनुरोध गर्दै केही असजिलो भए अस्पताल आउन आग्रह गरे ।

उनले टेलिफोनबाट पनि सामान्य समस्या समाधान हुने बताए । सो अवसरमा नगरपालिका प्रमुख बरालले अस्पतालप्रति विशेष धन्यवाद दिँदै उनीहरुको रेखदेखमा नगरपालिकाले ध्यान दिने बताउनुभयो । सङ्क्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मी र चिकित्सकप्रति बरालले आभार प्रकट गर्नुभयो ।

कोरोना जितेर फर्कँदै गर्नुभएका आमाको बिदाइमा मेडिसिन विभाग प्रमुख डा प्रकाश खतिवडा, कोरोना क्लिनिकल संयोजक डा प्रमोद पौडेल, मेट्रोन शान्ता भण्डारी, सूचना अधिकारी लीलाधर पौडेल, आइसोलेसन विभाग प्रमुख रुमा देवकोटालगायतको उपस्थिति थियो । यसअघि २७ वर्षीय छोराले संक्रमणमुक्त भएपछि अस्पताललाई धन्यवाद दिएका थिए । आज पनि उनले त्यसैलाई दोहो¥याएर आमासँगै घर फर्किएका हुन् ।

उनीहरु राप्ती नगरपालिका वडा नं ८ का हुन् । चैत ३ गते बेलायतबाट काठमाडौँ आएर ५ गते राप्ती नगरपालिकास्थित घर आएका उनीहरुमध्ये आमाको वैशाख ३ गते ¥यापिड डाइग्नोष्टिक परीक्षणका क्रममा शंकास्पद देखिएको थियो । लगत्तै आमा र आमासँगै आएका दुई छोराको समेत पिसीआर परीक्षण गर्दा वैशाख ५ गते आमा र एक छोरामा कोरोना पुष्टि भएको थियो ।

अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार संक्रमित राखिएको अस्पतालको क्याविनका छ कोठालाई निर्मलीकरण गरेर प्रयोगमा ल्याइनेछ । भरतपुर अस्पतालले कोरोना आशंका गरिएका बिरामीको उपचार सरकारी भरतपुर अस्पताल र कोरोना अस्पतालमा गर्दै आएको छ भने आफ्नै कोरोना प्रयोगशालामा नियमित परीक्षण गरिरहेको उहाँले जानकारी दिए । जिल्लामा ती आमाछोरा संक्रमणमुक्त भएसँगै कोरोनाका संक्रमित छैनन् । ––रासस

Nepal news headlines | breaking news kathmandu | national news of nepal live