Slider

आर्थिक वृद्धि र मुद्रास्फीति ७ प्रतिशतको हाराहारीमा

काठमाडौं,मे २९

सरकारले आगामी आर्थिक वर्ष औसत सात प्रतिशतको हाराहारीमा आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । मुद्रास्फीतिलाई पनि सात प्रतिशतमा सीमित राख्नेगरी मौद्रिक नीति तर्जुमा गरिने बताएको छ ।

संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले कोभिड–१९ को प्रभाव सामान्य हुनासाथ अर्थतन्त्र पुनःगतिशील हुन सक्ने विश्वासका आधारमा आगामी आवमा पछिल्ला तीन आवको औसत सात प्रतिशतको हाराहारीमा आर्थिक वृद्धि हुने अनुमान गरिएको बताए । “बजेटले लक्ष्यित गरेको आर्थिक पुनरुत्थानका कार्यमा सघाउ पु¥याउन र मुद्रास्फीति दरलाई सात प्रतिशतमा सीमित राख्ने गरी नेपाल राष्ट्र बैंकले मौद्रिक नीति तर्जुमा गर्नेछ”, उनले भने ।

आगामी आवमा तत्काल प्रतिफल लिने र एक वर्ष्भित्र सम्पन्न हुने आयोजना एवं निर्माणाधीन अधुरा आयोजनाको कार्यान्वयन तीव्र गतिमा हुने, रणनीतिक महत्वका आर्थिक, सामाजिक र भौतिक पूर्वाधार आयोजनाको निर्माणमा प्रगति हुने, भूकम्पपछिको पुनःनिर्माण सम्पन्न हुने र सेवा क्षेत्र विस्तार हुने अपेक्षाका आधारमा अर्थमन्त्रीले सात प्रतिशत हाराहारीमा आर्थिक वृद्धि हुने प्रक्षेपण गर्नुभएको हो ।

कोभिड–१९ को महामारीका कारण दैनिक उपभोगका अत्यावश्यक वस्तुको उत्पादन, आपूर्ति शृङ्खलामा परेको प्रभाव, माग र आपूर्तिबीचको सन्तुलन कायम गर्ने चुनौती टड्कारो रहेकाले मुद्रास्फीतिको सीमालाई सात प्रतिशतको सेरोफेरोमा कायम गर्न सहज नहुने देखिन्छ । ––– रासस

नेपालमा १५६ नयाँ संक्रमित थपिए, संक्रमितको संख्या एक हजार ४२, १८७ घर फर्किए

आगामी आवको बजेट रु १४ खर्ब ७४ अर्ब ६४ करोड

स्वास्थ्यको बजेट ९० अर्ब ६९ करोड

कोरोना नियन्त्रण गर्न छ अर्ब बजेट, पूर्वाधारमा १२ अर्ब

विदेशमा अलपत्र नेपाली ल्याउन बजेट विनियोजन

बुधबार मात्र ११४ जनामा संक्रमण देखियो, नेपालमा कोरोना संक्रमितको संख्या ८८६

काठमाडौं,मे २७

बुधबार एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी संख्यामा कोरोना भाइरस संक्रमणका नयाँ विरामीहरु भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार थप १ सय १४ जनामा संक्रमण देखिएको छ । यो सँगै नेपालमा कुल संक्रमितको संख्या ८ सय ८६ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बुधबार धरानको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ११ जनामा पोजिटिभ देखिएको छ । पोजिटिभ देखिने सबै सप्तरीका हुन् । यसैगरी कोसी अस्पतालमा गरिएको परीक्षणमा झापाका १७ जनामा कोरोना पोजिटिभ देखिएको छ । हेटौडामा भएको परीक्षणमा रौतहटका ७ सहित ८ जनामो कोरोना पोजिटिभ देखिएको छ ।

पोखरामा भएको परीक्षणमा बागलुङका ४ जनामा पोजेटिभ देखिएको छ । दाङमा भएको परीक्षणमा रुकुम पूर्वका ३, दाङका १५ गरी १८ जनामो पोजिटिभ देखिएको छ । यस्तै भेरी अस्पतालमा भएको परीक्षणमा १६ जना पोजेटिभ देखिएको प्रवक्ता डा. देवकोटाले बताए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ३८ जनाको पोजिटिभ रिपोर्ट आएको छ । संक्रमण देखिएका मध्ये पुरुष ७ सय ९६ र महिला ९० रहेका छन् । नयाँ संक्रमितहरुको क्वारेन्टाइनमा उपचार सुरु गरिएको उनले बताए ।

अहिले देशभरीका आइसोलेसनमा ६ सय ९९ जना संक्रमित रहेका छन् । प्रदेश नम्बर १ मा ७३, प्रदेश नम्बर २ मा २ सय २६, बागमती प्रदेशमा २७ र गण्डकी प्रदेशमा ११ आइसोलेसनमा उपचाररत छन् । यस्तै प्रदेश नम्बर ५ मा ३ सय २५, कर्णाली प्रदेशमा २५ र सुदूरपश्चिम प्रदेशमा १२ जना उपचाररत रहेको प्रवक्ता देवकोटाले बताए ।

बुधबारसम्म १ सय ८३ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । प्रदेश नम्बर १ मा ३०, प्रदेश नम्बर २ मा ९७, बागमती प्रदेशमा ११ र गण्डकी प्रदेशमा २ जना निको भएर घर फर्किएका छन् । यस्तै प्रदेश नम्बर ५ मा ३८ र सुदूरपश्चिम प्रदेशमा ५ जना डिस्र्चाज भएका छन् । बुधबार मात्रै नारायणी अस्पतालबाट २८ जना, कोसी अस्पतालबाट ४ र शुशिल कोइराला पर्खर क्यान्सर अस्पतालबाट २ जना डिस्चार्ज भएका छन् ।

पीपीआर विधिबाट ५८ हजार २ सय ७७ र आरडिटी विधिबाट १ लाख २ सय ८७ जनाको नमुना परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा पीपीआर विधिबाट ३ हजार ५ सय ८० र आरडिटी विधिबाट २ हजार ३ सय २० जनाको नमुना परीक्षण भएको प्रवक्ता देवकोटाले बताउनुभयो ।

प्रदेश नम्बर १ मा ११ हजार २ सय ५२, प्रदेश नम्बर २ मा ६ हजार ५ सय ६९, बागमती प्रदेशमा २४ हजार ६ सय ८० र गण्डकी प्रदेशमा ७ हजार ९ सय ५० जनाको आरडिटी परीक्षण भएको छ । यस्तै प्रदेश नम्बर ५ मा १७ हजार ४ सय ३९, कर्णाली प्रदेशमा ११ हजार ३ सय ५४ र सुदूरपश्चिम प्रदेशमा २१ हजार ४५ जनाको आरडिटी परीक्षण भएको छ ।

यस्तै गरी प्रदेश नम्बर १ मा १ हजार ८ सय ६८, प्रदेश नम्बर २ मा १२ हजार १ सय ८३, बागमती प्रदेशमा १ हजार ३ सय ९८ र गण्डकी प्रदेशमा १ हजार ९ सय ३० जना क्वारेन्टाइनमा रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा २६ हजार ७ सय २९, कर्णाली प्रदेशमा ९ हजार ६ सय ९ र सुदूरपश्चिम प्रदेशमा १६ हजार ५ सय ८८ गरी देशभरी ७० हजार ३ सय ५ जना क्वारेन्टाइनमा रहेका छन् ।

अधिकांश उद्योगीले दिएनन् चैतको पारिश्रमिक

काठमाडौं,मे २७

कोभिड–१९ संक्रमणको जोखिम कम गर्न सरकारले लकडाउनको घोषणा गरेको अवस्थामा गत चैत महिनाको पूरा पारिश्रमिक उपलब्ध गराउने प्रतिबद्धता गरेका अधिकांश उद्योगी व्यवसायी आफ्नै प्रतिबद्धताबाट पछि हटेका छन् ।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले कोभिड–१९ का कारण श्रमिकमा परेको समस्याको सम्बन्धमा गरेको द्रुत सर्वेक्षणले ‘लकडाउन’ शुरु भएपछि ठूलो संख्यामा श्रमिकले पारिश्रमिक नपाएको देखिएको छ । गत चैत महिनामा ४२ दशमलव १ प्रतिशत प्रतिष्ठानले श्रमिकलाई पारिश्रमिक उपलब्ध नगराएको सर्वेक्षणमा उल्लेख छ । यसैगरी चैतमा पारिश्रमिक दिएका प्रतिष्ठानमध्ये आधाले समेत गत वैशाखमा पारिश्रमिक नदिएको देखिएको छ ।

सो द्रुत सर्वेक्षणमा विराटनगरदेखि कैलालीसम्मका उद्योग, होटल, निर्माण कम्पनी, निजी विद्यालय, टेक्सटाइल तथा गार्मेन्टदेखि स्वास्थ्य संस्थासम्म गरी मुलुकका ३२३ प्रतिष्ठानलाई समेटिएको थियो । सर्वेक्षण अनुसार चैत महिनामा ३१ दशमलव ५७ प्रतिशत प्रतिष्ठानले मात्र श्रमिकलाई पूरा पारिश्रमिक दिएको देखिएको छ ।

७ दशमलव ४३ प्रतिशतले आंशिक भुक्तानी गरेका छन् भने १८ दशमलव ८८ प्रतिशतले पेश्कीका रुपमा पारिश्रमिक उपलब्ध गराएको देखिएको हो । यसरी दिइएको पेश्की रकम पारिश्रमिकभन्दा कमसमेत हुने गरेको छ ।

यसरी पारिश्रमिक नदिइएका प्रतिष्ठानमध्ये धेरैजसोमा युनियनसँगको छलफलपछि दिने, बजेटपश्चात् मात्र विचार गर्ने, कुनैले आधा मात्र पारिश्रमिक दिने वा पारिश्रमिक घटाएर मात्र भुक्तान गर्ने जनाएको सर्वेक्षणमा सहभागीले जानकारी दिएका छन् । केही प्रतिष्ठानले भने उद्योग कहिले सञ्चालन हुन्छ, त्यसपछि मात्र दिन सकिने वा नसकिने वा कसरी दिने भन्ने टुङ्गोमा पुग्ने बताएको छ ।

बहुसंख्यक सामाजिक सुरक्षा कोषमा सूचीकृत छैनन्

सर्वेक्षणमा संलग्न उद्योग, प्रतिष्ठानमध्ये बहुसंख्यक प्रतिष्ठान सामाजिक सुरक्षा कोषमा सूचीकरण नभएको देखिएको छ । प्रतिष्ठानको नाममात्र सूचीकरण गर्नेहरु ४९ दशमलव २२ प्रतिशत रहेका छन् । तीमध्ये २१ दशमलव ३६ प्रतिशतले श्रमिकलाई समेत सामाजिक सुरक्षा कोषमा सूचीकरण गराएको देखिएको छ । रोजगारदाताको सूचीकरण, श्रमिकको सूचीकरण गरी कोषमा योगदान शुरु गर्ने प्रतिष्ठानको सङ्ख्या १० दशमलव ५२ प्रतिशत मात्र रहेको जनाइएको छ ।

सञ्चालनमा थोरै उद्योग प्रतिष्ठान

अध्ययनअनुसार औषधि, खाद्य तथा पेयसम्बन्धी उद्योग, केही निर्माण कम्पनीसहितका स्वास्थ्य संस्थासमेत गरी १७ दशमलव ६४ प्रतिशत प्रतिष्ठान मात्र यसबीचमा पूर्णरुपमा सञ्चालनमा रहेको देखिएको छ । १३ दशमलव ६३ प्रतिशत प्रतिष्ठान आंशिकरुपमा सञ्चालित छन् भने ६८ दशमलव ७३ प्रतिशत औद्योगिक तथा सेवामूलक प्रतिष्ठान बन्द रहेको देखिएको छ ।

जिफन्टले कुनै पनि प्रतिष्ठानलाई नेपाल सरकारले कर छुट, जरिवाना मिनाहा वा ब्याज अनुदान वा कुनै सुविधा दिने निर्णय गर्दा श्रमिकलाई पारिश्रमिक दिएको र सामाजिक सुरक्षा कोषमा योगदान गरेको हुनुपर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ । श्रमिकलाई पारिश्रमिक दिन अनिवार्य गर्ने अन्य कानूनी प्रबन्ध पनि गर्न जिफन्टले आग्रह गरेको छ ।

कार्यस्थलमा कोरोना सङ्क्रमण हुने अवस्था नआउने गरी सामाजिक दूरी कायम गरी औद्योगिक प्रतिष्ठान सञ्चालन गर्ने वातावरण सिर्जना गर्न जिफन्टले सरकारलाई सुझाव दिएको छ ।–रासस

त्रिनगरबाट एकै दिन पाँच हजार भित्रिए, थपिँदै चुनौती

डोटी,मे २७

कामको सिलसिलामा भारतका विभिन्न शहर गएका सुदूरपश्चिमेली अहिले दैनिक आ–आफ्ना जिल्ला फर्किन थालेका छन् । कैलालीको त्रिनगर भन्सार कार्यालयको बाटो हुँदै मङ्गलबार साँझ मात्रै पाँच हजारभन्दा बढी नागरिक भित्रिएका छन् ।

जसमा डोटी जिल्लाका मात्रै दुई हजार ८७९ छन् । जिल्ला प्रवेश गरेका दुई हजार ८७९ जनालाई जिल्लाका नौवटै स्थानीय तहले तयार पारेका ६७ क्वारेन्टिनमा राखिएको जिल्ला प्रशसान कार्यालय डोटीले जनाएको छ । जिल्लाको शिखर नगरपालिकाका नागरिक सबैभन्दा बढी भारतबाट फर्किएका छन् ।

भारतबाट फर्किकाका स्थानीयका कारण यहाँको चहलपहल पनि बढ्दै गएको छ । उनीहरुलाई बिनाजाँच यहाँका स्थानीय तहले आफ्ना क्वारेन्टिनमा राख्न थालेको छ । को जाँच गर्ने आरडिटी किट नभएका कारण उनीहरुलाई बिनाजाँच क्वारेन्टिनमा राख्न थालिएको हो ।

जिल्लाको दिपायल सिलगढी नगरपालिकामा ५कोरोना भाइरस६६, शिखर नगरपालिकामा ६३३, सायल गाउँपालिकामा २५९, केआइसिंह गाउँपालिकामा ५१४, जोरायल गाउँपालिकामा ६३, बोगटान फुड्सिल गाउँपालिकामा २१४, बडिकेदार गाउँपालिकामा २४२, आदर्श गाउँपालिकामा २८५ र पूर्वीचौकी गाउँपालिकामा १०३ गरेर कूल दुई हजार ८७९ राखिएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए । उनका अनुसार क्वारेन्टिनमा राखिएकामा महिला ७९, पुरुष दुई हजार ७८४ र बालबालिका १६ रहेका छन् ।

त्यस्तै जिल्लामा रहेका क्वारेन्टिनको बेड (शैया) संख्या एक हजार २८३, आइसोलेसन शैया संख्या ५१ रहेको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिए । उनका अनुसार जिल्लामा हालसम्म ३६९ जनाको पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ । जसमध्ये ३५९ जनाको रिर्पोट नेगेटिभ आएको छ भने १० जनाको रिर्पोट आउन बाँकी छ ।

जिल्लामा दुई हजार ८२ जनाको आरडिटी गरिएको छ । जसमा दुई हजार ७८ जनाको नेगेटिभ र चार जनाको मात्र पोजेटिभ आएको छ । केही दिनयतादेखि डोटी जिल्लामा भारतबाट आउनेको सङ्ख्या दिनानुदिन बढिरहेको छ ।

भारतबाट आउने नागरिकलाई व्यवस्थापन गर्न स्थानीय तहलाई निकै चुनौती देखिएको जोरायल गाउँपालिकाका उपाध्यक्ष जमुना बोहराले बताए । उनले भने, “भारतबाट नागरिक आएको छन, हामीलाई व्यवस्थापन गर्न हम्मेहम्मे भएको छ ।” भारतबाट आएका नागरिकलाई जिल्लाको दिपायल सिलगढी नगरपालिका–२ मा रहेको दिल्पेश्वर मावि, वडा नं १ को मगलेक मावि तिखा, केआइसिंह गाउँपालिकाको रानागाउँ, फलेडी, सलेना, जोरायल गाउँपालिकाको रामपुर मावि बुडर, बडिकेदारको बिपीनगर, आदर्श गाउँपालिकाको मौवा नगरदह, शिखर नगरपालिका–१० बानीडुग्रीसैन, बोगटान फुड्सिल गाउँपालिकाको चवरा चौतारालगायत स्थानमा निर्माण गरिएका क्वारेन्टिनमा राखिएको छ ।

कैलालीको त्रिनगर तथा कञ्चनपुरको गड्डाचौकी भन्सार नाकाबाट सुदूरपश्चिम भित्रिएका उनीहरुलाई जिल्लाका नौवटै स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीले उद्धार गरेर दैनिक जिल्लामा भित्रयाउन थालिएको बोगटान फुड्सिल गाउँपालिकाका उपाध्यक्ष भगवती बमले बताए ।

उनका अनुसार उद्धार गरिएकाहरुमा स–साना बालबालिकाका, महिला तथा वृद्धहरु पनि रहेको छन् । भारतबाट आएका नागरिकलाई बिनाजाँच क्वारेन्टिनमा राखिन थालेपछि जिल्लामा कोरोना सङ्क्रमण फैलिन सक्ने भन्दै स्थानीयवासीमा त्रास फैलिन थालेको दिपायल पिपल्लाका घनश्याम पाठकले बताए ।

उनले भने,“सरकारले आफ्ना अलपत्र परेका नागरिकको उद्धार गर्नुपर्छ, तर बिनाजाँच सबैसँगै राख्दा समस्या हुने भएकाले स्थानीयमा कोरोनाको त्रास फैलिएको छ ।” जिल्लाका स्थानीय तहले निर्माण गरेका क्वारेन्टिन डब्लुएचओको मान्यताअनुसार नभएका तथा क्वारेन्टिनमा राखिएकालाई चाहिने न्यूनतम आवश्यक सामग्री (शौचालय, शुद्ध खानेपनी, ज्ञास, सुत्नेलगायत ) समेत नभएकाले समस्या हुने स्थिति देखिएको दिपायल राजपुर–४ का टेक शाहले बताए ।

उनले भने, “कतिपय क्वारेन्टिन नाम मात्रका छन, खानदेखि सुत्नसमेत समस्या छ, क्वारेन्टिनमा बसेकालाई समस्या भएको छ ।” जिल्ला अस्पताल डोटीमा कोभिड–१९ को जाँच गर्ने आरडिटी किट नभएका कारण भारतका सीमाबाट उद्धार गरी ल्याएका नागरिकलाई बिनाजाँच क्वारेन्टिनमा राखिएको छ ।

भारतीय सीमा क्षेत्रबाट उद्धार गरेर क्वारेन्टिनमा राखिएका भने निकै खुशी भएका छन् । भारतमा नरकीय जीवन जिउनुभन्दा आफ्नै घरमा जस्तो अवस्था र दुःख भए पनि सहन गर्न सकिने भारतबाट काम गरी घर फर्किएका जोरायल गाउँपालिकाको कारेन्टिनमा बसेका राजकुमार भुलले बताए । उनले भने, “अर्काको देशमा निकै दुःख पाए, यहाँ जस्तो दुःख भए पनि सहन गरेर बस्ने छौँ, हामी सुरक्षित छौँ ।”

कोरोना तथा लिपुलेकको नक्साको विवादका कारण भारतमा नेपालीलाई दुःख दिइने र गाली गर्ने गरिएको उनले गुनासो गरे । यहाँका क्वारेन्टिन सरकारी मापदण्डअनुसार नबनेकाले समस्या हुँदै आएको स्थानीयवासीको आरोप छ । जिल्लामा निर्माण गरिएका क्वारेन्टिनको केही दिनभित्र अनुगमन तथा निरीक्षण गरिने प्रजिअ पौडेलले जानकारी दिए । ––रासस

सीमाका नागरिकको उद्धारमा स्थानीय तह

घोडाघोडी,मे २७

कोरोना भाइरसको सङ्क्रमण तत्काल रोकथाम हुने अवस्था नदेखेर रोजगारी तथा अध्ययनका लागि भारत गएका नेपाली ठूलो सङ्ख्यामा फर्कन थालेपछि कैलालीका स्थानीय तहहरू उनीहरूको व्यवस्थापनमा जुटेका छन् । अहिले कैलालीका स्थानीय तहहरू क्वारेन्टिन व्यवस्थापन तथा सीमासम्म पुगेका आफ्ना पालिकाका नागरिकको उद्धारमा व्यस्त देखिन्छन् ।

कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरी दैनिकजसो सीमामा रहेका आफ्ना नागरिकलाई लिन नगरपालिकाले सवारी साधन पठाउने गरेको बताए ।“हामी आफ्ना नागरिक ल्याउन र उहाँहरूलाई क्वारेन्टिनमा व्यवस्थापन गर्न लागिरहेका छौँ ।” वडा–वडामा क्वारेन्टिन बनाएर व्यवस्थापनमा वडाध्यक्ष तथा सरोकारवाला साथी खट्नुभएको छ”, प्रमुख चौधरीले भने ।

बन्दाबन्दीका कारण बन्द रहेका नगरपालिकाभित्रका विद्यालयलाई क्वारेन्टिनका रूपमा विकास गरेर स्थानीय युवा स्वयंसेवकलाई परिचालन गराएर भारतबाट आउनेलाई कम्तीमा दुई हप्ता क्वारेन्टिनमा राखेर स्वास्थ्य परीक्षणपश्चात् घर पठाउने गरिँदै आएकामा अब भने कम्तीमा तीन क्वारेन्टिनमा राख्ने व्यवस्था गरिएको नगरप्रमुख चौधरीले बताए । अहिले नगरपालिकाको क्वारेन्टिनमा ४२० जनालाई राखिएको र यो संख्या वृद्धि हुँदै जाने निश्चित भएको र व्यवस्थापनमा केही चुनौती रहेको नगरप्रमुख चौधरीले बताए ।

कैलालीको गौरीगङ्गा नगरपालिका प्रमुख भीमबहादुर देउवा नगरपालिकाले नेपाल–भारत सीमासम्म पुगेका नागरिक लिन नियमित सवारी साधन पठाउने गरेको बताए । “शुरुआती समयमा पालिकाभित्रका दुई स्थानमा मात्र क्वारेन्टिन बनाएर भारत तथा देशभित्रकै अन्य स्थानबाट आएकालाई राखिएको भएता पनि पछिल्लो समय भारतबाट फर्कनेहरूको सङ्ख्या बढेपछि हरेक वडामा क्वारेन्टिन बनाएर व्यवस्थापन गर्नतर्फ लागेको”, नगरप्रमुख देउवा बताए।

भारतबाट आउने कोहीलाई पनि क्वारेनटिनमा बसाउनुपर्ने नभए संक्रमणको खतरा बढ्न सक्ने भन्दै जनप्रतिनिधि तथा स्थानीय युवा क्लबमार्फत चेतना जगाउने काम पनि गरिरहेका कारण तथा सामाजिक सञ्जालमा सम्पर्क नम्बर राखिदिएका कारण सीमामा आउने पालिकाका जनताले सोझै सम्पर्क राख्न सक्ने भएको हुँदा व्यवस्थापनमा सहज भएको नगरप्रमुख देउवा बताए ।

कोरोना सङ्क्रमण फैलिन नदिन नगरपालिकाभित्र विभिन्न १० ठाउँमा क्वारेन्टिन बनाएर भारतलगायत बाहिरबाट आउनेहरूको व्यवस्थापनमा जुटिरहेको कैलालीको लम्किचुहा नगरपालिकामा अहिलेसम्म ६३० जना क्वारेन्टिनमा छन् । नगरपालिकाका प्रमुख महादेव बजगाईँ यो संख्या अझै बढ्ने बताए । भारतबाट नेपाल आउने नेपालीको संख्या दिनप्रतिदिन बढेका कारण व्यवस्थापनमा केही चुनौती भएको भए पनि सबैको सहयोगमा सही ढङ्गले व्यवस्थापन गरिँदै आएको प्रमुख बजगाईँले बताए ।

आजभोलि दैनिक नेपाल–भारत सीमामा आएका आफ्ना नागरिकलाई ल्याउनमा व्यस्त रहेको र अझै केही दिन एकदमै ठूलो सङ्ख्यामा नागरिक स्वदेश आउने भएकाले उनीहरुको व्यवस्थापन मुख्य चुनौतीका रूपमा देखापर्ने भएकाले यस विषयमा प्रदेश तथा केन्द्र सरकारले पनि ठोस कदम चाल्नुपर्ने नत्र स्थिति भयावह हुनसक्ने”, नगरप्रमुख बजगाईँको भनाइ छ । स्थानीय तहहरूले आफ्नो क्षमताअनुसार कोरोना रोकथाम तथा नियन्त्रणका लागि काम गरिरहेको भए पनि स्थानीय तह र केन्द्र सरकारबीचको सरकार प्रदेश सरकारले पहलकदमी नलिएको नगरप्रमुख बजगाईँले बताए ।

सुदूरपश्चिम तथा देशभरमै पछिल्लो समय भारतबाट आएकाहरूमा संक्रमण देखिन थालेपछि स्थानीय पालिकाहरू आफ्ना नागरिक लिन सीमासम्मै पुगेर आफ्ना जनताको उद्धारमा सक्रिय भएर लाग्नु सुखद् कुरा भएको जिल्ला समन्वय समिति कैलालीका प्रमुख सूर्यबहादुर थापाले बताए । प्रमुख थापाले सुदूरपश्चिममा भारतबाट फर्किने क्रम बढेसँगै यस क्षेत्रमा कोरोना सङ्क्रमणको चिन्ता पनि बढेको बताए ।

केही दिनयता कैलालीको मुख्य नाका त्रिनगर र कञ्चनपुरको गड्डाचौकीबाट सयौं नेपाली भित्रिएको भए पनि स्वास्थ्य परीक्षण भने खासै हुन नसकेको जसका कारण स्थिति नियन्त्रण बाहिर जानसक्ने अवस्था आउन सक्ने भएकाले स्थानीय पालिकाहरूको सक्रियता प्रशंसनीय भएको र प्रदेश सरकारले अझै आवश्यक समन्वय गर्नुपर्ने थापाले बताए ।––रासस

Nepal news headlines | breaking news kathmandu | national news of nepal live