PRAWAS

‘प्रवासी नेपालीहरु भारतकालागि साँस्कृतिक तथा जनसम्पर्क राजदूत हुन’: राजदूत आचार्य

मदन भण्डारी स्पोर्टस च्याम्पियनसिपका विजेता पुरस्कृत

एनआईबि संवाददाता,नयाँ दिल्ली

भारतकालागि नेपाली राजदूत नीलाम्बर आचार्यले नेपाल र भारतबीचको सम्बन्धमा न्यानोपना ल्याउन भारतमा रहेका प्रवासी नेपालीहरुको उल्लेखनीय योगदान रहेको बताएका छन् । भारतमा नेपाल र नेपालीको पहिचान स्थापित गराएका प्रवासी नेपालीहरुको प्रशंसा गर्दै उनीहरु भारतकालागि नेपालका वास्तवविक साँस्कृतिक तथा जनसम्पर्क राजदूतहरु रहेको बताएका छन् । मदन भण्डारी स्पोर्टस एकेडेमीले नयाँ दिल्लीमा आयोजना गरेको एक समारोहमा राजदूत आचार्यले प्रवासी नेपालीहरुलाइ सम्बोधन गर्दै भने, ‘भारतमा बसेर पनि नेपालीहरुले एकता कायम गरेका छन्, संघसंस्था बनाएर दुइ मुलुकलाइ जोडने कार्यक्रम आयोजना गरेका छन् । साथै नेपालप्रतिको मायालाइ जिउँदो राखेका छन् । उनीहरु वास्तवमा नेपालका साँस्कृतिक तथा जनसम्पर्क राजदूत हुन।’

प्रवासी नेपालीहरुको एक समुहद्धारा संचालित मदन भण्डारी स्पोर्टस एकेडेमीले आयोजना गरेको पहिलो मदन भण्डारी क्रिकेट च्याम्पियनशिप २०१९ पुरस्कार वितरण समारोहमा नेपालबाट सहभागि भएका पूर्व परराष्ट्रमन्त्री तथा मदन भण्डारी स्पोर्टस एकेडेमीका केन्द्रिय सदस्य महेन्द्र बहादुर पाण्डेले दिवगंत नेता मदन भण्डारीले खेललाइ राष्ट्रविकास सँग जोडेको स्मरण गरे । उनले भण्डारीको भनाई स्मरण गर्दै भने, मदन भण्डारी भन्नुहुन्थ्यो राष्ट्रको विकास गर्ने हो भने , ‘खेललाइ प्राथमिकता दिनै पर्छ । किनकी खेलले शरीर र मन दुवैलाइ स्वस्थ्य र सकारात्मक राख्छ । विकासकालागि यो दुवै अत्यावश्यक हुन्छ ।’

कार्यक्रममा नेपाली काँग्रेसका युवा नेता सन्दीप रानाले आफनो फरक राजनीतिक विचारधारा भएपनि भण्डारीको प्रशंसा गरेका थिए । उनले भने, ‘मदन भण्डारी आज सम्म भएको भए नेपाल अहिलेको अवस्था भन्दा निकै अगाडि पुगिसक्नेथ्यो । उनले नेपालको राजनीतिमा सबै पार्टीहरुले बीपी कोइरालालाइ संझिए सरह नै आफूले पनि भण्डारीलाइ स्मरण गर्ने गरेको बताए ।

समारोहमा एकडेमीले गत १९देखि २१ डिसेम्बरसम्म नयाँ दिल्लीमा आयोजना गरेको पहिलो तीन दिने टी–२० क्रिकेट च्याम्पियनशिप २०१९का विजेता समुहलाइ पुरस्कृत गरेको थियो । कुल आठ समुह सहभागी भएको टी २० खेलमा उत्कृष्ट प्रदर्शन देखाउँदै युनाइटेड मधेसी अफ नेपाल(युएमओएन)ग्लाइडेटर समुह विजेता बनेको थियो । त्यस्तै फाइनलमा ६९ रनले पछि परेको साउथ एशियन युनिभर्सिटी टीम फस्ट रनर अप भएको थियो । राजदूत आचार्य र पूर्व परराष्ट्र मन्त्री पाण्डेले संयुक्त रुपमा विजेता समुहलाइ च्याम्पियनसिप कप तथा प्रशंसा पत्रबाट पुरस्कृत गरेका थिए ।

खेल प्रति रुचि भएका प्रवासी नेपालीहरुलाइ वातावरण तथा अवसर प्रदान गर्ने उद्धेश्यले भारतमा आधिकारिक संस्थाको रुपमा मदन भण्डारी स्पोर्टस फाउन्डेसन स्थापना गरिएको हो । एकेडमीको अन्तराष्ट्रिय इन्चार्ज गोपाल थापाका अनुसार यो फाउन्डेसनले भारतमा मात्र नभएर मित्रराष्ट्रहरुसँग पनि इन्डो नेपाल मैत्रीपूर्ण खेलहरु गराउने वातावरण बनाउँदै लगेको बताए । यसअघि पनि फाउन्डेसनले ब्याडमिन्टन च्याम्पियनसीप लगायत आयोजना गर्दै आएको छ ।

सोही समारोहको दोश्रो सत्रमा स्थानिय कलाकारका साथै नेपालबाट आमन्त्रित गरिएको एबिसि इन्द्रेणी समुहले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । भ्रमण वर्षलाइ समेत प्रचार गरिएको कार्यक्रममा नेपाली दूतावासका अधिकांश अधिकारीहरु,विभिन्न जनवर्गीय संगठन,सामाजिक संघसंस्थाहरु, रेमिटान्स कम्पनी तथा ट्राभल तथा टुर्सका कम्पनीका प्रतिनिधिहरुका साथै उल्लेख्य संख्यामा प्रवासी नेपालीहरुको सहभागिता रहेको थियो । कार्यक्रम नयाँ दिल्लीको चाणक्यपुरी, एन्ड्रियुज गन्ज स्थित सामुदायिक भवनको प्रांगणमा सम्पन्न भएको थियो।

कार्यक्रमका केहि तस्वीर:

दिल्लीमा वर्षकै न्यून तापक्रम, उच्च सतर्कता अपनाउन निर्देशन

एनआईबि संवाददाता, नयाँ दिल्ली

उत्तर भारतबाट आएको चिसो हावाको कारण दिल्लीको तापक्रम वर्षको न्यूनमा पुगेको छ। शनिबार दिल्लीको तापक्रम २ डिग्रि सेल्सियस मापन गरिएको थियो। न्यून तापमानका कारण दिल्ली सहित छिमेकी राज्यमा पनि यसको असर देखिएको छ। दिल्ली सहित आसपासको तापक्रम नयाँ वर्षसम्म यस्तै रहने अनुमान गरिएको छ।

चिसो बढेसँग बाक्लो हुस्सु का  कारण हवाई मार्ग, रेल र लामो दूरीको यात्रामा समस्या देखापरेको जनाइएको छ। चिसोकै कारण हरियाणा राज्यको रिवारी जिल्लामा दुई जानानको मृत्यु भएको सञ्चार माध्यमले जनाएका छन्। यस्तै बाक्लो हुस्सु का कारण दिल्ली–जयपुर सडकखण्डमा १५ सवारी साधन एकआपसमा ठोक्किदा १२ जाना घाइते भएका छन्।

भारतीय जलवायु तथा मौसम अनुमान शाखाले पञ्जाब, हरियाणा, राजस्थान, उत्तर प्रदेश, दिल्ली, बिहार लगायतका स्थानमा आइतबार उच्च सतर्कता अपनाउन निर्देशन जारी गरेको बताइएको छ।

सोमालिया बम बिस्फोटमा मृत्यु हुनेको संख्या ७६ पुग्यो

एजेन्सी

अफ्रिकी राष्ट्र सोमालियामा शनिबार बिहानै कार बम बिस्फोट हुँदा मृत्यु हुनेको संख्या ७६ पुगेको छ।

सोमालियाको राजधानी मोगादिशुमा शनिबार विहान व्यस्त समयमा कार बम बिस्फोट भएको बीबीसीले जनाएको छ। मृत्यु हुनेमा अधिकाश विद्यार्थी रहेको जनाइएको छ।

हालसम्म कुने पनि समुहले आक्रमणको जिम्मा भने लिएका छैनन्। त्यस क्षेत्रमा अल सबाब नाम गरेको सशस्त्र समुहले हिंसा मच्चाउँदै आएका छन्। अलकायदासँग सम्बन्ध भएको अल सबाबले दश वर्षयता सोमालियामा हिंसा मच्चाइरहेका छन्।

राजधानी मागादिशुबाट अल सबाबको नियन्त्रण सन् २०११ बाट हटाइए पनि केही क्षेत्रमा आफै अल सबाबकै नियन्त्रण रहेको बताइन्छ।

भ्रमण वर्ष अभियानमा सहभागी हुन बैंगलुरुका सरोकारबालाहरुलाइ राजदूत आचार्यको आह्वान

एनआईबि संवाददाता,नयाँ दिल्ली

भारतकालागि नेपाली राजदूत निलाम्बर आचार्यले नेपाल सरकारले मनाउन लागेको भ्रमण वर्ष अभियानमा सहभागी हुन दक्षिण भारतका सरोकारबालाहरुलाइ आह्वान गरेका छन् । भारतको कर्नाटक राज्यको राजधानी बैगलुरुमा आयेजित ‘नेपाल भ्रमण वर्ष २०२०’ कन्क्लेभ कार्यक्रममा भ्रमण वर्ष अभियानको औपचारिक घोषणा गर्दै राजदूत आचार्यले दक्षिण भारतका पर्यटकहरुलाइ नेपाल भित्रयाउन सरोकारबालाहरुसँग आग्रह गरेका हुन् ।

भ्रमण वर्षको प्रचार प्रसार गर्ने क्रममा आयोजना गरिएको कार्यक्रमलाइ सम्बोधन गर्दै राजदूत आचार्यले भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्रयाउने लक्ष्य सुनाउँदै नेपालका पर्यटकीय गन्तव्यहरु बारे सरोकारबालाहरुलाइ जानकारी गराए । पर्यटकीय संभावना भएका क्षेत्रहरुमा लगानीकालागि आह्वान गर्दै राजदूत आचार्यले लगानीकालागि सरकारले वातावरण बनाइदिने आश्वासन पनि दिए ।

नेपालको आर्थिक,तथा सामाजिक–साँस्कृतिक विकासलागि पर्यटनको महत्वलाइ उजागर गर्दै नेपालकालागि पूर्व भारतीय राजदूत के.बी.राजनले भ्रमण वर्षलाइ नेपाल सरकारको अर्थपूर्ण अभियान भएको बताए । उनले अनुकुल प्राकृतिक वातावरणकाबीच नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष अभियानले नयाँ उँचाई प्राप्त गर्ने बताए ।

तस्वीर सौजन्य : विकास रौनियार

भारत स्थित नेपाली दूतावास, कर्नाटक स्थानिय सरकारका प्रतिनिधी तथा स्थानिय ट्राभल एण्ड टुर अपरेटर्सहरु तथा प्रवासी नेपालीहरुको सहभागिता सहितको दोश्रो सत्रमा सम्पन्न राउण्ड टेबल छलफल कार्यक्रममा । दक्षिण भारतमा भ्रमण वर्षको प्रवद्र्धनका विभिन्न दृष्टिकोणमा छलफल भएको थियोे ।

कार्यक्रममा नेपालको प्रख्यात तथा नयाँ पर्यटकीय गन्तव्यहरुका बारे जानकारी गराइएको थियो । नेपाल सरकारको नीति नियमहरुका बारे पनि दूतावासका अधिकारीहरुले सरोकारबालाहरुलाइ जानकारी गराएका थिए ।

नेपाली दूतावासको आयोजना तथा पिएचडी चेम्बर अफ कमर्शको सहकार्यमा सम्पन्न कन्क्लेभमा नेपाली दूतावासकी इकोनोमिक मिनिस्टर निता पोखरेल,आर्थिक काउन्सिलर तीर्थ पौडेल, कर्नाटक सरकारको पर्यटन विभागका निर्देशक के एन रमेश,कर्नाटक उद्योग वाणिज्य संघका अध्यक्ष सी.आर जनार्दन, बैंगलोर उद्योग परिसंका अध्यक्ष देवेश अग्रवाल, भारतीय टुर अपरेर्टसको कर्नाटक च्याप्टरका अध्यक्ष एस महालिंगैया, अन्तराष्ट्रिय मल्टी मोडल ट्रान्सपोर्टका कार्यकारी निर्देशक विकास रौनियार लगायत प्रवासी नेपालीहरु सहभागी थिए ।

भारतबाट नेपालमा सबैभन्दा बढि पर्यटक भित्रिने गरेको छ । पछिल्लो तथ्याँक अनुसार भारतमा मात्रै नेपालमा ११लाख ७३ हजार बढि पर्यटक भित्रिएका थिए । भारतमा प्रभावकारी प्रवद्र्धन गर्न सके नेपालको भ्रमण वर्षको लक्ष्यको अधिकाँश प्रतिशत भारतबाटै पुरा हुन सक्ने देखिन्छ ।

महेन्द्रनगरबाट दिल्ली आउंदै गरेको नेपाल भारत मैत्री बस दुर्घटना

दुर्घटनामा एक यात्रु सामान्य घाईते,अन्य यात्रु सकुशल

एनआईबि सम्वाददाता,नयाँ दिल्ली

कञ्चनपुरको महेन्द्रनगरबाट भारतको राजधानी दिल्लीआउदै गरेको नेपाल भारत मैत्री बस उत्तर प्रदेशको हापूड नजिक डासनामा दुर्घटनाग्रस्त भएको छ। महाकाली यातायातको ना 6 ख 7441 नम्बरको बसले आनन्द विहार बस स्टेशन पुग्नु 25 किलोमीटर अघि डासना भन्ने स्थानमा रोकिरहेको उत्तरप्रदेश परिवहनको रोडवेज बसलाई ठक्कर हानेका कारण दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन ।

दुर्घटनाका कारण एक यात्रु सामान्य घाईते भएका छन । बसका अन्य यात्रुहरु सकुशल रहेको बताइएको छ । तर दुर्घटनाका कारण नेपाली नम्बरको बसको अगाडीको भाग र भारतीय नम्बरको बसको पछाडीको भागमा क्षति भएको छ ।

बस चालकका अनुसार भारतीय नम्बरको बस अगाडी रोकिरहेको देखेपछि ब्रेक लगाउन खोजेको तर ब्रेक नलागेका कारण दुर्घटना भएको हो । शनिवार  बिहान १० बजे महेन्द्रनगरबाट भारतको राजधानी नयाँ दिल्लीको लागि 32 यात्रु बोकेर छुटेको बस साँझ ७ बजे दुर्घटनामा परेको हो । दुर्घटनापछि बसका यात्रुहरु अन्य वैकल्पिक साधनको प्रयोग गरि दिल्ली तर्फ लागेका थिए ।

दिल्लीमा नेपाली विद्यार्थीहरुको दशैँ

एनआईबि सम्वाददाता,नयाँदिल्ली

नेपालीहरुको महान चाड बडादशैँ प्रवासमा रहेका नेपालीहरुले पनि हर्षोल्लासका साथ मनाएका छन । विभिन्न सिलसिलामा भारतबाट घर फर्किन नपाएका प्रवासी नेपालीहरुले विजयादशमीको दिन टिका लगाएर रमाइलो गर्दै दशैँ मनाएका छन् ।

अध्ययनका सिलसिलामा दिल्लीको लक्ष्मीनगरमा अध्ययनरत सिए विद्यार्थी र दिल्ली विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरुले छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरि विजयादशमी मनाएका हुन ।

दशैं मनाउन घर जान नपाएकाहरुकलागी हातेमालो नेपाली विद्यार्थी समूहले  लक्ष्मीनगरमा र दिल्ली विश्वविद्यालयको नेपाली विद्यार्थी संगठनले कमला नगरमा टिका जमरा कार्यक्रमको आयोजना गरेको थियो  ।

लक्ष्मी नगरमा गरिएको समारोहमा बोल्दै हातेमालो नेपाली विद्यार्थी समूहका अध्यक्ष रोशन यादवले अध्ययनका कारण घर जान नसकेका विद्यार्थीहरुकालागि हरेक वर्ष टिकाजमराको कार्यक्रम गर्दै आएको बताए।

समारोहमा दिल्लीको कडकडडुमास्थित पशुपतिनाथ मन्दिरका पुजारी पण्डित यदुनाथले विद्यार्थीहरुलाई टिका जमरा प्रदान गरेका थिए । हरेक वर्ष यदुनाथले विद्यार्थीहरुलाई टिका लगाउने गरेका छन् ।

दिल्ली विश्वविद्यालयको नेपाली विद्यार्थी संगठनले गरेको टिका जमरा कार्यक्रममा विद्यार्थीहरुका साथै प्रवासी नेपालीहरुको पनि उपस्थिति रहेको थियो । रेशम कुमार गैरे अध्यक्ष रहेको संगठनले परिवारबाट टाढा रहेका नेपलिहरुकलागि कार्यक्रम गर्ने गरेको बताए ।समारोहमा उपस्थित नेपाली विद्यार्थीहरुलाई सेलरोटी सहित नेपाली खाना ख्वाइएको थियो ।

दिल्लीमा बेचिनबाट जोगिन एक नेपाली चेली

एनआईबि सम्वाददाता,नयाँ दिल्ली

सामाजिक सञ्जालको कुराकानीबाट  दलालको   प्नभावमा परेर भारतको राजधानी दिल्ली आइपुगेकी एक नेपाली  किशोरी बेचिनबाट जोगिएकी छिन । नवलपरासी बर्दघाटकी सत्र वर्षिया बेचविखन हुनबाट जोगिएकी  हुन् । उनि आफ्नै सुझबुझका कारण जोगिएकी छन् ।  विवाह गर्ने दलालको प्रलोभनमा  परेर दिल्ली पुगेकि किशोरी आफ्नो सुझबुझले उम्किएकी  हुन ।

उनको सहयोगमा दलाल समेत पक्राउ परेको छ । पीडित किशोरीका अनुसार दिल्लीको आनन्द विहार घर बताउने नन्दन नामक व्यक्तिसंग उनको  करिव एक महिना अघिदेखि  वाट्स एपमा कुरा  शुरु भयो । त्यसपछि कुरा गर्दै जाँदा उसले विवाह गरेर आफ्नो घर लैजाने भनेको थियो। विवाह गर्नकालागि उसले दिल्ली बोलाएपछि गत २१ सेप्टेम्बरका दिन रेल चढेर ति किशोरी दिल्ली पुगेकी थिइन।

दिल्लीको आनन्द बिहार रेलवे स्टेशनमा लिन पुगेको दलालले रेलवे स्टेशनमा पुलिसलाई देखेर असहज देखिएपछि किशोरीलाई शंका लागेको  थियो । दलालले उनलाई रेलवे स्टेशनमै दुई घण्टा संगै बसेपछि एकछिनमा आउँछु भन्दै छोडेर गएको थियो । त्यसपछि पीडित किशोरीले नन्दन माथी शंका गरेर नजिकै रहेकी बालबालिका सम्बन्धि काम गर्ने महिलालाई सबै कुरा बताईन। ती महिलाले किशोरीसँग फोन नम्बर लिएर दलाललाई बोलाएर पुलिस थाना पुर्याईन ।

पुलिसको सोधखोजपछी नन्दन नामक व्यक्तिले पहिले पनि  अन्य  महिलाहरूलाई विवाह गर्ने  प्रलोभन दिएर बेच्ने गरेको खुल्न आएको छ  । पुलिसले सो  दलाललाई हिरासतमा राखेर किशोरीलाई सुरक्षित आवास संस्कार आश्रममा पठाएको थियो।

आश्रमले  आफन्त नेपाल नामक संस्थालाई पत्राचार गरेपछि पीडित किशोरीको परिवारलाई खोजेर बुधबार नेपाल फिर्ता पठाइएको आफन्त नेपाल दिल्लीका प्रमुख नविन जोशीले बताएका छन । संस्थाले दिल्लीले बर्दघाटकी ती किशोरीसँगै बुवाले कुटपिट गरेपछि भागेर दिल्ली पुगेकी कपिलवस्तुकी एक किशोरीलाई पनि नेपाल फिर्ता पठाएको छ।

दुखद खबरःभारतमा १९ वर्षे नेपाली युवकको मृत्यु

एनआईबि संवाददाता,नयाँ दिल्ली

रोजगारीको सिलसिलामा भारत आएका एक नेपाली युवकको मृत्यु भएको छ । हरियाणा राज्यको फरिदाबादको एक होटलमा काम गर्दै आएका १९ वर्षीय विवश कुँबरको मृत्यु भएको हो । कुँवर अर्घाखाँची मालारानी गाविस वडा नं.–५ बाँगी भंडार गैरा निवासी थिए ।

फरिदाबादमा आफ्ना मामासँगै बस्दै आएका विवशलाइ एक सातादेखि ज्वरो आएको थियो । होटलको माथिल्लो तल्लामा कर्मचारीहरुलाइ बस्न दिइएको फ्ल्याटमा आराम गर्दै थिए । बुधबार साँझ घरकै छतमा निस्केको बेला रिंगटा लागेर उनी बेहोस भए । उपचारकालागि तत्काल स्थानिय मेट्रो अस्पताल पुरयाइएको थियो । चेकजाँच पछि अस्पतालले उनको निधन भइसकेको बतायो ।

सोही होटलमा यस अघि पनि दुइ वर्ष काम गरेका विवश नेपाल फर्किएका थिए । उनका मामा पनि त्यही २० वर्षदेखि कुकको काम गर्दै आएका छन् । काम र पढाइ सँगसँगै गर्ने भनेर नेपाल फर्किएका विवश भनेजस्तो काम नपाएपछि दुइ साता अघि मात्र पून भारत आएका थिए । काममा लागेको मात्र १२ दिन भएको थियो ।

आवश्यक प्रकृया पुरयाएर विवशको शवलाइ परिवारको जिम्मा लगाएको अखिल भारत नेपाली एकता मंचका आरबी खडकाले जानकारी दिए । खडकाका अनुसार अर्घाखाँचीको मालारानी गाविस निवासी कुँवरका परिवारले उतै अन्त्येष्टि गर्ने भनेर शव लिएर फर्किसके ।

विवशको बुबा इन्द्र बहादुर कुँवरको निधन भइसकेको छ भने आमा सरिता कुँवर गाउँमै बस्दै आएकी छन् । विवश तीन सन्तान मध्ये माइला थिए । उनकी एक दिदी र एक बहिनी रहेका छन् ।

मृतकको परिवारलाइ होटल मालिकले नेपाल सम्म लैजाने एम्बुलेन्स लगायत क्रिया खर्च, घरपरिवारलाइ एकमुष्ट आर्थिक सहायता दिने, विवशकी आमालाइ आजीवन ३००० हजार भारतीय रुपैया मासिक खर्च उनका मामा मार्फत दिने गरि कागजी सहमति गरेको खडकाले जानकारी दिए ।

पर्यटन प्रवद्र्धनकालागि नेपाल- भारतका युवाहरु जागे

एनआईबि सम्वाददाता,नयाँ दिल्ली

नेपाल सरकारको भ्रमण वर्ष २०२० अभियानलाइ सहयोग गर्ने उद्धेश्यले विभिन्न प्रवासी संघसंस्थाहरु स्वस्फुर्त रुपमा नेपालको प्रचारप्रसार गर्न अघि बढेका छन् । नेपाल-भारतका युवाहरुको साझा संस्था नेपाल भारत युवा अभियान (नेपाल इंडिया युथ मिशन)ले भ्रमण बर्षमा योगदान दिन राजनैतिक, गैरराजनितिक र सर्व-साधारण व्यक्तिहरूसँग भेटघाट गरि नेपाल भ्रमणको निम्तो दिन शुरु गरेको छ । दुवै देशका युवाहरु पदाधिकारी रहेको अभियानको अध्यक्ष नेपालका मधुरेन्द्र जैसवाल रहेका छन् । जैसवालले सरकारको लक्ष्यमा सहयोग गर्न यो अभियान शुरु गरेको बताए ।

यसै क्रममा जैसवालको नेतृत्वमा एक समुहले आइतबार दिल्लीका राजनीतिक, गैर-राजनीतिक व्यक्तिहरुलाई भेटेर नेपाल-भारतको सम्बन्ध, नेपालका धार्मिक, सांस्कृतिक पर्यटकीय स्थलको जानकारी  गराउदै नेपाल भ्रमणको निम्तो दिएका छन् । मिशनले भारतीय जनता पार्टीका दिल्ली राज्य सांस्कृतिक सेलकी अध्यक्ष रुबी यादव, युवा नेतृत्व परिसंघ(कन्फिडरेशन अफ यंग लिडर)का अध्यक्ष हिमदरिश सुमन र भारतीय बिश्वबिधालय परिसंघ (कन्फिडरेशन अफ इण्डियन युनिभर्सिटी)का अध्यक्ष डा. प्रिय रंजन त्रिवेदीसँग विशेष भेटघाट गरेर नेपाल भ्रमणको निम्तो दिएका छन् । भेटघाटमा सबैलाई सम्मान स्वरुप खादा ओढाई मायाको चिनोको रुपमा जानकी मन्दिरको तस्वीर प्रदान गरे ।

नेपाल भारतका युवाहरु मिलेर २०१४मा स्थापना गरेको भएको नेपाल भारत युवा अभियानले गैरराजनीतिक संस्थाको रुपमा काम गर्दै आएको ले नेपाल भारत सम्मेलन गराउदै आएको छ । नेपालबाट भारतमा सिए अध्ययन गर्न आएका नेपालीहरुले यो अभियानलाई भारतको विभिन्न १२ राज्यमा विस्तार गरेका छन् ।

नेपालमा पर्यटक भित्र्याउन दिल्लीमा छलफल

नेपाल सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई सफल र सार्थक पार्न प्रवासी नेपालीहरुले पहल गर्नुपर्नेमा जोड दिइएको छ । भारतको राजधानी दिल्लीमा आयोजना गरिएको “राष्ट्रको आवश्यक्ता सबैको प्रतिवद्धता, पर्यटन वर्ष २०२० प्रति प्रवासी नेपालीको ऐक्यवद्धता”विषयक कार्यक्रममा विभिन्न पेशा र ब्यबसायमा सक्रिय प्रवासी नेपालीहरुले आ-आफ्नो क्षेत्रबाट पहल गर्नुपर्नेमा जोड दिइएको हो ।

कार्यक्रममा सहभागीहरुले आ आफ्नो सम्पर्कमा आउने विदेशी नागरिकहरुलाई नेपालको सांस्कृतिक, धार्मिक पर्यटकीयस्थलको बारेमा जानकारी दिएर सरकारले लक्षित गरेको संख्याभन्दा धेरै पर्यटक भित्र्याउन सकिने बताए । पर्यटन वर्ष घोषणा गरेर मात्र ठूलो संख्यामा पर्यटक नभित्रिने भन्दै वक्ताहरुले सरकारले विश्वभरिका मानिसहरुसम्म पुग्ने गरि नेपालका प्रमुख पर्यटकीयस्थल सहित ग्रामिण क्षेत्रमा रहेका पर्यटकीयस्थलको प्रचार-प्रसार, सुदूर क्षेत्रको रहन-सहन, परम्परा, भिन्न संस्कृतिका बारेमा पनि जानकारी साझा गर्नुपर्नेमा जोड दिए । वक्ताहरुले नेपाल भ्रमणको प्याकेजहरु बनाएर पर्यटकहरुलाई आकर्षित गर्न सकेको खण्डमा पर्यटन वर्षलाई टेवा पुग्ने समेत बताएका छन ।

सुदूर पश्चिम टूर एण्ड ट्रावल्सले आयोजना गरेको कार्यक्रममा व्यवसायीहरुले भारत-नेपाल बस सेवा मार्फत भारतका पर्यटकहरुलाई भित्र्याउन महत्वपूर्ण भुमिका खेल्न सकिने भन्दै  उत्कृष्ट सेवा र पर्यटन वर्षसम्बन्धि प्याकेजको व्यवस्था गर्नु पर्नेमा जोड दिएका छन्। समारोहमा नेपाली राजदूतावासका  काउन्सिलर  तीर्थ प्रकाश पौडेलले सरकारको घोषणालाई सफल पार्न नेपाली दूतावासले भारतका  विभिन्न भागमा प्रचार-प्रसारको काम गरिरहेको बताए । भ्रमण वर्षलाई   सफल बनाउन नेपाली दूतावास हरेक प्रकारका सहयोगका लागि तयार रहेको पनि पौडेलले बताए ।

Nepal news headlines | breaking news kathmandu | national news of nepal live