NEWS

नेपालको भूमि मिचिएकोप्रति डिलिएको भत्सर्ना 

काठमाडौं,मे ११

नेपाल डेमोक्रेटिक लयर्स एशोसिएशन (डिएलए)ले भारतले नेपाली भूमि लिपुलेकलगायत क्षेत्र मिचेर सडक निर्माण गरेको कार्यको निन्दा र भत्र्सना गरेको छ । सुगौली सन्धिले नै उक्त भूमाग नेपालको हो भनी स्वीकारेको विषयमा भारतले एक पक्षीयरुपमा नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामाथि नै हस्तक्षेप गरी नेपाली भूमिमा सडक निर्माण गर्नु भारतको हेपाहा प्रवृत्ति भएको डिएलएको टिप्पणी छ ।

डिएलएका महासचिव लक्ष्मीदेवी दाहाल रावलले विज्ञप्तिमार्फत यस विषयमा सरकार संवेदनशील भएर कूटनीतिक पहललगायत जुनसुकै कदम चाली यथाशीघ्र मिचिएको नेपाली भूमि फिर्ता ल्याएर मुलुकको स्वतन्त्रता, सार्वभौमिकता र भौगोलिक अखण्डतालाई अक्षुण्ण राख्न माग गर्नुभएको छ ।––रासस

भारतीय पूर्वप्रधानमन्त्री डा.मनमोहन सिंह अस्पताल भर्ना

नयाँ दिल्ली,मे ११

भारतका पूर्वप्रधानमन्त्री डा.मनमोहन सिंह अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा असहजता महसुस भएपछि उनलाई आइतबार राति नै भारतको राजधानी नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा भर्ना गरिएको बताइएको छ ।

उनी अस्पताल भर्ना भएको अस्पतालले पुष्टि गरेको छ । सो समाचारको भारतीय काँग्रेसले पनि पुष्टि गरेको छ । छाती दुखेर असहज महसुश भएपछि उनलाई भर्ना गरिएको अस्पतालले प्रकाशन गरेको विज्ञप्तिमा जानकारी दिइएको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार पूर्वप्रधानमन्त्री सिंहलाई मुटुरोगसम्बन्धी समस्या देखिएकोले सो अस्पतालको मुटु रोग विभागमा राखेर उपचार सुरु गरिएको छ । पूर्वप्रधानमन्त्री सिंहको प्रारम्भिक जाँचका क्रममा स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । उनी ८७ वर्षका छन् ।

पूर्वप्रधानमन्त्री सिंहको शारीरिक अवस्था सामान्य रहेको अस्पताल स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । यसअघि पनि डा.सिंहको मुटुको वाइपास सर्जरी गरिएको थियो । सन् २००९ मा उनको मुटुको वाइपास सर्जरी भएको सो अस्पतालले जानकारी दिएको छ ।

यसपटक छाती दुखेपछि उनलाई आइतबार राति अस्पताल ल्याइएको र अहिले स्वास्थ्य अवस्था सामान्य नै रहेको सो अस्पतालले सोमबार बिहान प्रकाशन गरेको विज्ञप्तिमा जानकारी दिइएको छ ।

भारतका एकजना प्रख्यात अर्थशास्त्री मानिएका डा.सिंह हाल राजस्थानबाट भारतीय संसदको माथिल्लो सदनका लागि सांसद छन् । उनले सन् २००४ देखि सन् २०१४ सम्म लगातार दुई पटकसम्म भारतको प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका हुन् ।

यसैबीच उनको स्वास्थ्यसम्बन्धमा दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले चासो व्यक्त गरेका छन् । उनले पूर्वप्रधानमन्त्री डा.सिंहको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । मुख्यमन्त्री केजरीवालले पूर्वप्रधानमन्त्री डा.सिंहको उपचारमा कुनै कमी हुन नदिन उक्त अस्पताललाई निर्देशन पनि दिएका भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।––एएनआई / रासस

नेपालमा थप १० मा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १२० पुग्यो

काठमाडौं,मे ११

नेपालमा आज थप १० जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । संक्रमितमा कपिलवस्तुको यशोधरा गाउँपालिका–५ र बुद्धभूमि गाउँपालिकाको वडा ७ र १० निवासी रहेका छन् ।

संक्रमित सबै पुरुष रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । संक्रमितहरू १८ देखि ३४ वर्षसम्मका रहेका छन् । एक जनाको उमेर नखुलेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए । यससँगै नेपालमा कूल संक्रमितको संख्या १२० पुगेको छ ।

हालसम्म सबै संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु चिकित्सकको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो ।––रासस

चितवनमा रहेका ७५ जनाले भारत फर्कन नाम दर्ता गराए

चितवन,मे ११

जिल्लामा रहेका ७५ जना भारतीयले घर फर्कन चाहेको भन्दै नाम दर्ता गराएका छन् । जिल्ला प्रशासन कार्यालय चितवनले फर्कन चाहने भारतीयलाई नाम दर्ता गर्न सूचना जारी गरेको थियो । आइतबार दिनको तीन बजेसम्म नाम टिपाउन भनिएकोमा सो संख्यामा नाम दर्ता भएको हो ।

जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी ईश्वर सिम्खडाका अनुसार दर्ता भएका नाम भारतीय दूतावास पठाइएको छ । संकलन गरिएको विवरणमा नाम, भारतको ठेगाना र कुन नाकामार्फत फर्कनु पर्ने हो विस्तृत जानकारी पठाइएको उनले बताए ।

भारतीय दूतावासले जिल्लामा रहेका भारतीय नागरिकको विवरण संकलन गरेर पठाइदिन आग्रह गरेपछि घर फर्कन चाहने भारतीय नागरिकको विवरण संकलनका लागि प्रशासनले शुक्रबार सूचना जारी गरेर सम्पर्कमा आउन आग्रह गरेको थियो । सिम्खडाका अनुसार विवरण दूतावास पठाएपछि पनि केही व्यक्ति नाम छुटेको भन्दै सम्पर्कमा आएका छन् । ती नाम भने हालसम्म पठाइएको छैन ।––रासस

निजगढ विमानस्थलको पहुँच सडकका लागि चार हजार रुख काटिने

काठमाडौं,मे ११

बारामा प्रस्तावित निजगढ अन्तर्रा्ष्ट्रिय विमानस्थलको निर्माण क्षेत्रको चारकिल्ला परिसरमा पहुँच सडक निर्माणका लागि त्यस क्षेत्रमा चार हजार २३२ रुख काट्नुपर्ने भएको छ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको निजगढ विमानस्थल निर्माणमा अन्तरनिकाय समन्वयसम्बन्धी उच्चस्तरीय सहजीकरण समितिको आइतबार बसेको पाँचाँ बैठकले विमानस्थल परिसर सडकका लागि तोकिएको क्षेत्रमा रुख कटान गर्नुपर्ने आँकडा निकालेको हो ।

समितिले रुख कटानको प्रक्रिया अगाडि बढाउनेसमेत निर्णय भएको बैठकपछि जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । रुख कटान प्रक्रियाअन्तर्गत रुख कटानको स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयले यथाशीघ्र नेपाल सरकार (मन्त्रिपरिषद्) समक्ष प्रस्ताव पेश गर्ने निर्णय समितिले निर्णय गरेको छ ।

निजगढ विमानस्थल आयोजना निर्माणका लागि अन्तरनिकाय समन्वय, सहजीकरण एवं आइपरेका समस्या समाधान गर्न निरन्तर क्रियाशील रहने गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री संयोजक रहने गरी उच्चस्तरीय सहजीकरण समिति बनाइएको छ । समितिले विमानस्थल निर्माण क्षेत्रभित्रका रुख तथा पोलको लगत नम्बरिंग कार्यसमेत तत्काल अघि बढाउने निर्णय गरेको छ ।

समितिको चौथो बैठकले गत २०७६ माघ २ मा बस्ती स्थानान्तरण सम्बन्धमा निर्णय गर्न कार्यदल गठन गरेको थियो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिवको संयोजकत्वमा पर्यटन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणअन्तर्गत राष्ट्रिय गौरवको आयोजना हेर्ने निर्देशकसमेतको प्रतिनिधित्व हुने गरी गठन कार्यदलले आफ्नो कार्य जिम्मेवारीबमोजिमका कार्य यथाशीघ्र अगाडि बढाई त्यसको प्रगति प्रतिवेदन १० दिनभित्र समितिसमक्ष पेश गर्ने निर्णयसमेत भएको छ ।

विमानस्थल निर्माण गर्न लगानी बोर्डले निश्चित समयसीमा तोकी जुरिच इन्टरनेसनलसँग सार्वजनिक निजी साझेदारी (पिपिपी) मोडेलको प्रस्ताव माग गर्ने र सम्झौता प्रक्रिया पूरा गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ । समितिले प्राधिकरणबाट निजगढ विमानस्थलको गुरुयोजना निर्माणको खरिद सम्झौता प्रक्रियासमेत छिटो सक्न निर्देशन दिएको छ ।––रासस

चालु शैक्षिक सत्रमा शुल्क बृद्धि नगर्न आग्रह

महाराष्ट्र,मे ९

भारतको महाराष्ट्र प्रदेशका शैक्षिक संस्थाहरुलाई चालु शैक्षिक सत्रमा शैक्षिक शुल्क बृद्धि नगर्न आग्रह गरिएको छ । महाराष्ट्र शिक्षा विभागले शैक्षिक सत्र २०२०–२१ मा शैक्षिक शुल्क बृद्धि नगर्न शनिबार आग्रह गरेको हो ।

अविभावकहरुले यसअघि निर्धारण गरिएको शैक्षिक शुल्क तिर्न पनि गाह्रो हुने अवस्था रहेकाले थप बृद्धि गर्नु उपयुक्त देखिदैन, विभागले भनेको छ । उनीहरुलाई तत्काल शुल्क तिर्न बाध्य नपार्न वा दवाव नदिन पनि विभागले आग्रह गरेको समाचारमा जनाइएको छ ।

कोरोनाभाइरसको संक्रमण फैलिन थालेपछि भारतमा अहिले पनि देशव्यापी लकडाउन कायमै रहेको छ । लकडाउनका कारण शैक्षिक संस्थाहरु बन्द भएकाले विद्यार्थीले पढ्न पाएका छैनन भने अविभावकहरुको आम्दानी पनि घटेको छ ।

अहिले आम्दानी नभएकाले उनीहरुलाई शुल्क तिर्नका लागि मासिक वा चौमासिकमा तिर्न मिल्ने व्यवस्था गर्न पनि विभागले आग्रह गरेको छ । भारतमा पटक पटक थप्दै लम्ब्याउदै गरिएको देशव्यापी लकडाउन अहिले यही मे १७ तारिखसम्मका लागि तय गरिएको छ ।––एएनआई/रासस

लिपुलेक भुभाग मिचेको नेपाल सरकारको आपत्तिमा भारत सरकारको जवाफ

नयाँ दिल्ली , मे ९

भारतले नेपाली भुभागभित्र पर्ने लिपुलेपको भुमि मिचेकोमा आपत्ति जनाउँदै परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेपछि भारत सरकारले त्यसमा प्रतिक्रिया दिएको छ । भारतीय विदेश मन्त्रालयले यस बारेमा सोधिएको एक जिज्ञासाको जवाफ दिदै सो सडकखण्ड भारतीय भुभागमा नै परेको दाबी गरेको छ ।

मन्त्रालयले दिएको जवाफमा भनिएको छ , ‘हामीले भारतको सडक उदघाटन सम्बन्धमा नेपालको परराष्ट्र मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्ति देख्यौं। उत्तराखण्ड राज्यको पिथौरागढ़ जिल्लामा भर्खरै उद्घाटन गरिएको सडक खण्ड पूर्ण रूपमा भारतको इलाकामा अवस्थित छ । सडक कैलास मानसरोवर यात्राका तीर्थयात्रीहरूले प्रयोग गरेको पूर्व अवस्थित मार्ग अनुसरण गर्दछ । हालको परियोजना अन्तर्गत, तीर्थयात्रा, स्थानीय र व्यापारीहरूको सहज र सुविधाको लागि सोही सडक पक्का गरिएको हो ।

भारत र नेपालले सबै सीमानाका मामिलाहरूका बारेमा कुराकानीकालागि संयन्त्र स्थापना गरेका छन्। नेपालसँग सीमा रेखाचित्र अभ्यास चलिरहेको छ। कूटनीतिक वार्ताबाट र नेपालसँगको हाम्रो घनिष्ट र मैत्री द्विपक्षीय सम्बन्धको भावनामा उल्लेखनीय सीमा समस्याहरूको समाधान गर्न भारत प्रतिबद्ध छ।

दुबै पक्ष विदेश सचिवस्तरीय वार्ताको तालिका बनाउने प्रक्रियामा छन् जुन दुई समाज र सरकारहरूले कोविड १९ emergency को आपतकालिन चुनौतीको सफलतापूर्वक सामना गरे पछि दुवै पक्षबीच मितिहरू तय भएपछि हुनेछ ।

In response to queries on inauguration of road on 8th May in Pithoragarh district, Uttarakhand, the Official Spokesperson stated the following:

We have seen the Press Release dated 9th May 2020 issued by the Ministry of Foreign Affairs of Nepal pertaining to the inauguration of a road in India.

The recently inaugurated road section in Pithoragarh district in the State of Uttarakhand lies completely within the territory of India. The road follows the pre-existing route used by the pilgrims of the Kailash Mansarovar Yatra. Under the present project, the same road has been made pliable for the ease and convenience of pilgrims, locals and traders.

India and Nepal have established mechanism to deal with all boundary matters. The boundary delineation exercise with Nepal is ongoing. India is committed to resolving outstanding boundary issues through diplomatic dialogue and in the spirit of our close and friendly bilateral relations with Nepal.

Both sides are also in the process of scheduling Foreign Secretary level talks which will be held once the dates are finalised between the two sides after the two societies and governments have successfully dealt with the challenge of COVID 19 emergency.

New Delhi
May 09, 2020

https://mea.gov.in/response-to-queries.htm?dtl/32677/Official+Spokespersons+response+to+media+queries+on+inauguration+of+road+on+8th+May+in+Pithoragarh+district+Uttarakhand

कोभिड–१९ःसार्कमा कोरोना सङ्क्रमितको सङ्ख्या एक लाख सात हजार पुग्यो

काडमाडौं,मे ९

दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मुलुकहरुमा कोरोनाभाइरसबाट एक लाखभन्दा बढी व्यक्ति संक्रमित भएका छन् । दक्षिण एसियाका यी आठ देशमा हालसम्म कोरोना सङ्क्रमित सङ्ख्या एक लाख सात हजार ४८४ पुगेको छ भने दुई हजार ९४९ जनाको मृत्यु भएको छ ।

दक्षिण एशियाली मुलुकमध्ये भारतमा सबैभन्दा बढी संक्रमित रहेका छन् । शनिबारसम्ममा भारतमा ५९ हजार ८८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने एक हजार ९९० जनाको मृत्यु भइसकेको छ । भारतमा १७ हजार ९५६ सङ्क्रमित व्यक्ति उपचारपछि निको भई घर फर्किएका छन् ।

त्यस्तै पाकिस्तानमा २७ हजार ४७४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ६१८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । पाकिस्तानमा सात हजार ७५६ व्यक्ति उपचारपछि निको भई घर फर्किएका छन् ।

अर्को बढी प्रभावित एशियाली मुलुक बङ्गलादेशमा शनिबारसम्म कोरोना भाइरसबाट १३ हजार ७७० जना संक्रमित भएका छन भने २१४ जनाको मृत्यु भएको छ । बङ्गलादेशमा दुई हजार ४१४ जना उपचारपछि निको भई घर फर्किएका छन् ।

लामो समयदेखि द्वन्द्वको कारण प्रभावित अफगानिस्तानमा चार हजार ३३ जना यस भाइरसकाकारण सङ्क्रमित भेटिएको छ भने यहाँ ११५ जनाकोे विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१० का कारण मृत्यु भएको छ । अफगानिस्तानमा संक्रमितमध्ये ५०२ जना निको भई घर फर्किएका छन् ।

यस्तै श्रीलंकामा ८४४ जना संक्रमित रहेका छन् भने ९ जनाको मृत्यु भएको छ । माल्दिभ्समा अहिलेसम्म कोरोना भाइरसबाट सङ्क्रमति हुनेहरुको सङ्ख्या ७६६ पुगेको छ भने तीन जनाको मृत्यु भएको छ । यहाँ २६० सङ्क्रमित निको भई घर फर्किएका छन् । यसैगरी नेपालमा हालसम्म १०९ जना र भुटानमा ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यहाँ कोभिड–१९ का कारण अहिलेसम्म मृत्यु भएको छैन ।

कोरोना भाइरसको विश्वव्यापी महामारीबाट हालसम्म ४० लाख ४४ हजार ८० भन्दा बढी मानिसहरु सङ्क्रमति बनेका छन् भने दुई लाख ७७ हजारभन्दा बढीले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन् । ––एएनआई/रासस

भारतले नेपाली भूमिमा निर्माण गरेको विवादित सडकका तस्वीरहरु

दार्चुला,मे ९

भारतको पिथौरागढ जिल्लाको गर्वाधारबाट शुरु भई नेपालको कालापानी लिपुलेक हुँदै चीनको मानसरोवर जोड्ने गरी भारतले निर्माण गरेको विवादित सडक । शुक्रबार उद्घाटन गरिएको कुल ७८ किलोमिटर लामो सो सडक नेपालको कालापानी, लिपुलेक र नावीढांग क्षेत्रमा पर्छ । यसबारे नेपाल सरकारले आफ्नो दूतावासमार्फत भारत सरकारबाट आधिकारिक विवरण खोजिरहेको छ । तस्वीरहरु : नरेन्द्रसिह कार्की/रासस

भारतले लिपुलेकको भुमि प्रयोग गरेकोमा नेपाल सरकारको कडा आपत्ति, परराष्ट्रले जारी गरयो विज्ञप्ति

काठमाडौं,मे ९

भारत सरकारका केन्द्रिय रक्षामन्त्रीले शुक्रबार लिपुलेकको भुमि हुँदै तिब्बतसम्मको सडक उदघाटन गरिसकेको तस्वीर टिविटरमार्फत सार्वजानिक गरेपछि नेपाल सरकार चनाखो भएको छ । शनिबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर लिपुलेक मात्र नभइ लिम्पियाधुरा र कालापानी समेत नेपालको भएको जनाएको छ ।

परराष्ट्र मन्त्रालयद्धारा जारी विज्ञप्तिमा १८१६ को सुगौली सन्धि बमोजिम सो क्षेत्र नेपालको रहेको भन्दैे भारत सरकारलाई नेपाली भूमिभित्र भएका गतिविधि रोक्न आग्रह गरिएको छ । ‘नेपाली भुभाग भित्र कुनै पनि गतिविधि नगर्न नेपाल सरकार नेपाल सरकार भारत सरकारलाई आग्रह गर्दछ’, विज्ञप्तिमा भनिएको छ । मन्त्रालयले ऐतिहासिक घटनाक्रमलाई जोड्दै उक्त भूमि नेपालको भएकाले त्यस्ता गतिविधि रोक्न आग्रह गरेको हो ।

लिपुलेकमा भारतले गरेको गतिविधिमा नेपालले यसअघि पनि दोहोरयाएको र सीमाका मुद्दा सम्वादमार्फत सल्टाउने प्रधानमन्त्री स्तरमा सहमति भएको स्मरण गराइएको छ ।

विज्ञप्तिमा ऐतिहासिक सन्धि, तथ्य, नक्सा र दस्तावेजका आधारमा दुई देशबीच घनिष्ठ र मैत्रीपूर्ण सम्बन्ध कायम राख्दै कुटनीतिक समाधान खोज्न नेपाल सरकार प्रतिवद्ध रहेको भन्दै सीमाका मुद्दा सम्वादमार्फत सल्टाउने प्रधानमन्त्री स्तरमा सहमति भएको स्मरण गराइएको छ ।

२०१५ मा भारत र चीन सरकारले लिपुलेकलाई दुई देशबीच व्यापारीक मार्गको रुपमा विकास गर्ने सम्झौता गर्दा नेपालले असहमति जनाएको पनि विज्ञप्तिमा स्मरण गराइएको छ । थाती रहेका सीमा मुद्दा दुई पक्षबीच कुटनीतिक माध्यमबाट समाधान गर्नकालागि नेपालले दुई पटकसम्म वार्ताको आह्वान गर्दा पनि भारतीय पक्षबाट प्रतिक्रिया नआएको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Nepal news headlines | breaking news kathmandu | national news of nepal live