NEWS

निदान अस्पतालको मुख्य ढोकामा सिलबन्दी

काठमाडौं,मे १३

आरोग्य फाउण्डेशनमा कार्यरत एक महिलामा कोभिड–१९ को संक्रमण देखिएसँगै निदान अस्पतालको मुख्य गेट सिल गरिएको छ । संक्रमित युवती अस्पतालमा गएर विभिन्न व्यक्तिसँग भेटेको हुनसक्ने आशंकामा अस्पतालमा सिल गरिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

आरोग्य फाउण्डेशन र निदान अस्पताल एउटै गेटभित्र रहेकाले मुख्य गेटमा नै सिलबन्दी गरिएको हो । दुवै संस्थाको पार्किङ र चमेनागृह एउटै पाइएको प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले बताउ । बिहान झण्डै ११ बजेदेखि प्रहरीले अस्पतालमा रहेका स्वास्थ्यकर्मी, कर्मचारी, बिरामी, कुरुवालगायत कसैलाई पनि भित्रबाट बाहिर निस्कन दिइएको छैन । स्वास्थ्य सेवा विभागको टोलीले ‘कन्ट्रयाक ट्रेसिङ’ शुरु गरिसकेको छ ।

उनले भने,“संक्रमितको संसर्गमा नगएकालाई विस्तार पठाउन सकिन्छ ।” अहिले पनि भित्र संसर्गमा आएको हुनसक्ने सम्भावित व्यक्ति र अरुलाई छुट्याएर राखिएको प्रहरी उपरीक्षक कार्कीले बताए । दुवै संस्थामा गरी झण्डै ३०० व्यक्ति रहेको प्रहरीले जनाएको छ । भक्तपुरकी ती युवतीमा मंगलबार संक्रमण पुष्टि भएको थियो ।––रासस

नेपालमा बुधबार थप दुईमा संक्रमण भेटियो, संक्रमित २१९ पुगे

काठमाडौं,मे १३

कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण आज दुईजनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले काभ्रेस्थित धुलिखेल अस्पतालमा परीक्षणका क्रममा बाँके नेपालगञ्ज–८ का ३६ वर्षीय पुरुषमा संक्रमण भएको पाइएको बताए ।

यसैगरी उनका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा कपिलवस्तु जिल्ला, कपिलवस्तु नगरपालिका–५ का २२ वर्षीया पुरुषमा संक्रमण देखिएको हो । योसँगै संक्रमितको संख्या २१९ जना पुगेको छ ।

मंगलबारमात्र नेपालमा एकैपटक ८३ जनामा संक्रमण देखिएको थियो । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीका अनुसार दुवै संक्रमित व्यक्तिको स्वास्थ्य अवस्था सामान्य छ ।––रासस

सीमामा सक्रिय बन्यो सशस्त्र प्रहरी

दार्चुृला,मे १३

महाकाली नदी तरेर धमाधम नेपाली घर फर्किन थालेपछि सशस्त्र प्रहरीले सीमामा निगरानी बढाएको छ । महाकाली नदीमा पौडिएर आउने तथा ट्युबमार्फत नदी तरेर आउने नेपालीलाई नियन्त्रणमा लिएर स्थानीय तहको क्वारेन्टाइनमा पठाइएको छ ।

लकडाउनले सीमा नाका बन्द भएपछि दार्चुलासँग सीमा जोडिएका भारतका विभिन्न ठाउँबाट नेपाली स्वदेश फर्कने क्रम जारी छ । सीमानाका बन्द हुँदा सशस्त्र प्रहरीको आँखा छलेर रातिको समयमा स्वदेश फर्कने क्रम जारी रहेपछि पछिल्लो समय निगरानी बढाएको हो ।

भारतमा लकडाउन खुुकुलो भएसँगै दिल्ली र पिथौरागढबाट धमाधम नेपाली सीमा पुगेर महाकाली तर्न थालेका छन् । भारतले नै नेपाली सीमासम्म गाडीमार्फत पु¥याउने गरेको मजदुरहरु बताउँछन् । महाकाली नदीमा ट्युब र पौडी खेलेर नेपाल फर्कने लेकम र लाली क्षेत्रबाट मङ्गलरबार ११ जनालाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखिएको सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्म दार्चुलाले जनाएको छ ।

लेकममा नदी तरेर आएका सात जनालाई कृष्ण स्नातक क्याम्पस लालीको क्वारेन्टाइनमा राखिएको छ । बैतडी पुच्र्यौडीका स्थानीय भारतको पिथौरागढबाट आएका हुन् भने लेकमका स्थानीय दिल्ली हरियानी क्षेत्रबाट फर्किएका हुन् । यसैगरी मालिकार्जुन गाउँपालिकाको उकु क्षेत्रमा महाकालीमा पौडी खेलेर आएका चार जनालाई पनि सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राख्न लगाएको छ ।

चैत ११ गतेदेखि लकडाउन शुरु भएसँगै भारतसँग सीमा जोडिएका क्षेत्रमा २४सै घण्टा सशस्त्र प्रहरी खटाएको छ । वैशाख १८ गते भारतीय क्वारेन्टाइनमा बसेका नेपाली स्वदेश फर्काए पनि अवैधरूपमा स्वदेश फर्कने क्रम नरोकिएको सशस्त्र प्रहरी नायब उपरीक्षक डम्मरबहादुर विष्टले बताउनुभयो । सीमामा सशस्त्र खटिएसँगै दुईवटा ट्युब पनि नियन्त्रणमा लिएको छ । अहिले लेकमको लालीबाट व्याससम्मका १० ठाउँमा सशस्त्र प्रहरीले सीमामा निगरानी बढाएको छ ।

ट्युबमार्पmत नेपाल आउने व्यक्तिले रु एक हजार ६०० देखि दुई हजार ५०० सम्म तिर्ने गरेका छन् । भारतले लकडाउन खुकुलो गरेर गाडी चल्न दिएपछि दैनिक सयौँ व्यक्ति दार्चुलाका सीमापारि आउन थालेका छन् । अर्काको देशमा रोग र भोक दुवैको समस्या भएपछि जोखिम मोलेर स्वदेश फर्किएको मालिकार्जुनका खिमसिंह धामीले बताए । अझै नदी तर्न नसकेर पारिपट्टि थुप्रै मान्छे रोकिएको उनले बताउनुभयो ।

अझै पनि सीमावर्ती क्षेत्रमा थुप्रै नेपाली स्वदेश फर्कने तयारीमा छन् । दार्चुलाको लाली, जौलजीवि, धार्चुला आसपासका क्षेत्रमा पनि स्वदेश फर्कनका लागि नेपाली सीमामा पुगेको र उनीहरुको रातिको समयमा स्वदेश फर्किने तयारी गरिरहेका छन् ।––रासस

लिपुलेक सुरक्षा : छाङरुमा बिओपी राख्न टोली त्यसतर्फ प्रस्थान

काठमाडौं,मे १३

लिपुलेक आसपासको सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बलको टोली तैनाथ गर्न काठमाडौँबाट आज टोली त्यसतर्फ प्रस्थान गरेको छ । दार्चुलाको व्यास गाउँपालिका–१ स्थित छाङरुमा सीमा निगरानी चौकी (बिओपी) स्थापनाका लागि काठमाडौँबाट टोली त्यसतर्फ गएको हो ।

भारतले एकतर्फी सडक बनाएर उद्घाटन गरेपछि त्यस क्षेत्रको सीमा सुरक्षाका लागि बुधवार नेपाली सेनाको हेलिकोप्टरमा सशस्त्र प्रहरीको टोली पठाइँदै छ । आज नेपाली सेनाको एमआई–१७ हेलिकोप्टर त्यहाँ टोली पु¥याउने छ । केही दिनअघि भारतको पिथौरागढबाट नेपालको कालापानीस्थित गुञ्जी हुँदै चीनको मानसरोवर जाने लिपुभञ्याङसम्मको सडक निर्माण गरी भारतले उदघाटन गरेको थियो । सीमारक्षाका लागि सरकारले तत्कालै त्यस क्षेत्रमा सशस्त्रको टोली पठाउन लागेको हो ।

सीमा निगरानी चौकीमा २५ जना सशस्त्र प्रहरी खटाइने जनाइएको छ । सशस्त्र प्रहरी बल नेपाल ५० नं गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक डम्बरबहादुर विष्टका अनुसार प्रहरी निरीक्षक मिलीबहादुर चन्दको नेतृत्वमा २५ जनाको टोली आज त्यसतर्फ गएको छ । सरकारले गत मङ्सिरमा नै यहाँ बिओपी राख्ने निर्णय गरेको भएपनि अहिलेसम्म स्थापना हुनसकेको थिएन ।

तत्कालीन अवस्थामा सीमा क्षेत्रमा सशस्त्र प्रहरीको १०७ बिओपी थियो । मङ्सिरमा सरकारले ११४ बिओपी स्थापना गर्ने निर्णय गरेको थियो । त्यसपछि जम्मा १३ स्थानमा मात्रै बिओपी स्थापना भएको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता प्रहरी नायब महानिरीक्षक प्रविणकुमार श्रेष्ठले जानकारी दिए । ––रासस

भारतीय कन्टेनरले महामारी फैलाउन सक्ने त्रास

भैरहवा,मे १३

खाद्यान्न, तरकारी र फलफूल बोकेर भारतबाट आउने कन्टेनरका कारण रुपन्देहीमा कोरोना संक्रमणको जोखिम बढेको छ । दैनिक करीब १६० भैरहवा भन्सार कार्यालयमा भित्रिने कन्टेनर तथा ट्रकका कारण महामारी फैलिने सक्ने भन्दै सीमा क्षेत्रका स्थानीयवासी त्रसित बनेका छन् ।

लुम्बिनी तथा मर्चवार क्षेत्रमा भेटिएका कोरोना संक्रमित युवाले भारतका विभिन्न स्थानबाट आउँदा नेपाल आउने मालवाहक ट्रक र कन्टेनरको प्रयोग गरेको बताएपछि त्रास बढेको हो । बन्दाबन्दीपछि भैरहवा भन्सार कार्यालय हुँदै ६ हजार ५०० बढी फलफूल, तरकारी र खाद्यान्नलगायत सामान बोकेर ट्रक तथा कन्टेनर प्रवेश गरेको भन्सार कार्यालयले जनाएको छ ।

यी सवारी साधनका चालक र सहचालक १३ हजारभन्दा बढी हुन आउँछ । सवारी साधन चालकले नेपालमा प्रवेशसँगै स्थानीय पसलमा सामान किन्ने, चिया पसलमा चिया खाने र सामान लोड अनलोड गर्दा धेरै मानिससँग सम्पर्क हुने भएकाले सीमाक्षेत्रमा त्रास देखिएको बेलहियाका इरफान वारिसले बताउनुभयो । भारतबाट आउने चालक तथा सहचालकबाट कोरोना संक्रमण फैलिन नदिन भन्सार एजेन्टसँंग स्थानीय नागरिकले छलफल गरे पनि कुनै निर्णय हुन नसकेको बेलहिया गाउँ समाजले जनाएको छ ।

जोखिम न्यूनीकरण गर्न प्रशासन तथा सरकारले ठोस निर्णय लिनुपर्ने गाउँ समाजका सदस्य रमेश थापाले बताए । भारतबाट आउने चालक तथा सहचालकलाई सामान्य स्वास्थ्य जाँच गर्ने र ट्रक तथा कन्टेनरमा स्यानिटाइजर छर्कने काम गरिए पनि अरु उपाय अवलम्बन गर्न नसकिएको भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी पुण्य लम्सालले जानकारी दिए । सीमा नाकामा अलपत्र नेपालीलाई सुरक्षितसाथ ल्याएर क्वारेन्टाइनमा राखी स्वास्थ्य जाँचको व्यवस्था मिलाउन र ट्रक तथा कन्टेनरलाई भन्सार विन्दुमै रोक्न स्थानीयवासीले माग गरेका छन् ।––रासस

नेकपा स्थायी कमिटी बैठक स्थगित

काठमाडौं,मे १३

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगन भएको छ । बिहान ११ बजे पार्टी मुख्यालयमा धूम्रबाराहीमा बस्ने भनिएको बैठक सदस्यहरुको कोरोना जाँचपछि मात्र बस्ने गरी स्थगन गरिएको पार्टी कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए ।

उनका अनुसार स्थायी कमिटीका ४५ सदस्य सबैको कोरोना भाइरस (कोभिड –१९)को परीक्षण गरेर मात्र बैठक बस्ने छ । अब बस्ने बैठक पार्टी एकतापछिको तेस्रो स्थायी कमिटी बैठक हुनेछ ।

“केही सांसद रहेका स्थायी कमिटी सदस्यको कोभिड –१९ परीक्षण गरिएको थियो ”, उनले भने, “तर केहीको बाँकी रहेकाले परीक्षण गरेर मात्र बैठक बस्ने भएको छ ।” बुधवार बस्ने भनिएको बैठकमा सरकारको नीति तथा कार्यक्रम, कोभिड –१९ र भारतद्वारा अतिक्रमित नेपाली भूमिका बारेमा छलफल गर्ने कार्यसूची थियो ।––रासस

मिचिएको भूमि फिर्ताकालागि पहल गर्न माग

काठमाडौं,मे १२

प्रतिनिधिसभा बैठकमा सांसदले भारतले नेपालको भूमि मिचेर लिपुलेकमा एकतर्फीरुपमा सडक निर्माण गरेको सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउँदै फिर्ताका लागि दीर्घकालीन पहल गर्न आग्रह गरेका छन् । प्रतिनिधिसभा बैठकको आजको शून्य समयमा उनीहरुले मिचिएको नेपाली भूमि फिर्ता ल्याउन र भारतसँगको सीमा समस्याको दीर्घकालीन समाधानका लागि उच्चस्तरमा कूटनीतिक पहल गर्न माग गरे । बैठकमा सांसद बालकृष्ण खाँण, दिव्यमणि राजभण्डारी, देवप्रसाद गुरुङ, देवेन्द्र पौडेल, धर्म्शिला चापागाईं, थममाया थापालगायतले भारतले नेपालको सिमाना मिचेर सडक निर्माण गरेको सम्बन्धमा भत्र्सना गर्दै फिर्ताका लागि पहल गर्न नेपाल सरकारको ध्यानाकर्षण गराए ।

यसैगरी सांसद प्रकाशमान सिंह र टेकबहादुर बस्नेतले कोरोनाका कारण मजदुर र निम्न वर्गका समुदाय बढी समस्यामा परेको बताउँदै समस्यामा परेकालाई उचित राहतका लागि सरकारको ध्यानाकर्षण गराए । सांसद डा डिला सङ्ग्रौला, तेजुलाल चौधरी र दीपकप्रकाश भट्टले कोरोनाले विदेशमा निधन भएका नेपालीको शव ल्याउन र कोरोनाका कारण भारतलगायत अन्य देशमा अप्ठ्यारोमा परेका नेपालीको उद्धारका लागि सरकारसँग आग्रह गरे ।

सांसद तिलबहादुर महत क्षेत्री र दामोदर भण्डारीले कोरोना सङ्क्रमण रोक्न सरकारले चालेको कदम प्रशंसनीय भएको उल्लेख गर्दै आगामी दिनमा परीक्षणको व्यवस्था सबै जिल्लामा पु¥याउन र सिमानामा कडाइ गर्न आग्रह गरे । सांसद दिलेन्द्रप्रसाद बडूले संसद्को बर्खे अधिवेशन प्रारम्भ भएदेखि प्रधानमन्त्री संसद्मा नदेखिएको बताउँदै उपस्थिति हुन नसक्नुका कारणबारे संसद्लाई जानकारी हुनुपर्ने धारणा व्यक्त गरे । सांसद दुर्गा पौडेलले किसानको मनोबल बढाउने गरी काम गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद देवप्रसाद तिमिल्सिनाले रौतहटमा आँधीबेहरीले किसानका बालीनालीमा पु¥याएको क्षतिबारेमा जानकारी गराउँदै राहतको उचित व्यवस्था गर्न माग गर्नुभयो । बैठकमा सांसद ध्रुवकुमार शाही, नन्दलाल रोका क्षेत्री, नवराज सिलवाल, नारायणप्रसाद मरासिनी, निरुदेवी पाल, पदम गिरी, पार्वता डिसी चौधरी, पवित्रा निरौला, पार्वतीकुमारी बिसुन्के, पुष्पाकुमारी कर्ण , पुष्पा भुसाल , पूर्णकुमारी सुवेदी, प्रकाश स्नेही , दुर्गाकुमारी विश्वकर्मा, दलबहादुर राना र दिलकुमारीले समसामयिक विषयमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए  सभामुख अग्निप्रसाद सापकोटाले बैठकमा सांसदहले बहुआयामिक विषय उठाएको उल्लेख गर्दै सांसदका प्रश्नमा सरकारको विशेष ध्यानाकर्षण गराए ।––रासस

काठमाडौँ र भक्तपुरमा देखिए कोरोना संक्रमित, एकैदिन ८३ जना थपिए, संक्रमितको संख्या २१७ पुग्यो

काठमाडौ.मे १२

नेपालमा मंगलबार बिहानदेखि बेलुका सम्ममा ८३ जना कोरोना संक्रमित थपिएका छन् । मंगलबार बिहान ५७ जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको थियो भने राती थप २६ जनामा पुष्टि भएको हो । यसैगरी एकै दिन कोरोना पुष्टि हुनेको संख्या ८३ पुगेको छ ।

मंगलबार एकै दिन ठूलो संख्यामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या २१७ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको पीसीआर नमुनाको परीक्षणमा मंगलबार ८३ जनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।

मंगलबार राती भेटिएका संक्रमित मध्ये ३ जना उपत्यकाभित्रका रहेका छन् । उपत्यकाभित्र काठमाडौमा १ , भक्तपुरमा  २ जना संक्रमित भेटिएका छन् । त्यसैगरि पर्सामा १८, महोत्तरीमा २, धनुषामा २ र सर्लाहीमा १ गरेर जम्मा २६ संक्रमित भेटिएका हुन्।–रासस

सरकारको नीति तथा कार्यक्रम शुक्रबार प्रस्तुत हुँदै

भारतको मुम्बईमा ७५० दैलेखी अलपत्र

दैलेख,मे १२

भारतको मुम्बई शहरमा रोजगारीको सिलसिलामा दैलेखबाट गएका ७५० मजदुर समस्यामा परेका छन् । काम गर्ने स्थानमा साहुले काम नहुने भन्दै जागिरबाट हटाएपछि आपतमा परेका व्यक्तिले सामाजिक सञ्जालमार्फत आफूहरुको उद्धार गरिदिन आग्रह गरेका छन् ।

‘भारत सरकारले हामीलाई कुनै प्रकारको सहयोग नगरेकाले नेपाल सरकारलाई सहयोग र समन्वय गरिदिन आग्रह गर्छौँ’, पीडितको भनाइ उद्धृत गर्दै सुर्खेतका पत्रकार चिन्तामणि शर्माले जानकारी दिए । पीडितले आफूलाई भाइबरमार्फत गुनासो गरेको शर्माले बताए ।

दैलेखको दुल्लू र भैरवी क्षेत्रका कामदार भारतमा अलपत्र परेको तथ्यांक नामसहित उल्लेख गरिएको छ । ‘हामीसँग भएको सबै खानेकुरा सकिएको छ, हाम्रो उद्धार गरी नेपाल फर्काउन पहल गरिदिनुप¥यो’ पीडितले आफूलाई फोन र सामाजिक सञ्जालमार्फत खबर गरेको दुल्लू नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले जानकारी दिए ।

नगरप्रमुख भण्डारीले केन्द्र सरकारले सीमानाकासम्म ल्याउन सहयोग गरिदिए गाउँ नै खाली गरेर भए पनि आफना पालिकाका जनतालाई राख्ने व्यवस्था मिलाउन सकिने बताए । जनता आपतमा परेको जानकारी पाउनेबित्तिकै उद्धार तथा अन्य सहयोगका लागि आफूले प्रदेश, केन्द्र सरकार र परराष्ट्र मन्त्रालयलाई पत्र पठाइसकेको नगरप्रमुख भण्डारीको भनाइ छ ।

तत्कालका लागि केन्द्र सरकारले भारतीय दूतावासमार्फत खाद्यान्नको जोहो मिलाउन पहल गरिदिनुपर्ने भैरवी गाउँपालिकाका अध्यक्ष प्रेम बुढाले बताए । “समस्यामा परेको जानकारी पाउनासाथ मन्त्रालयलाई चिठ्ठी लेखेको छु, निर्देशन हुनासाथ देशभित्र ल्याएर १४ दिन क्वारेन्टाइनमा राखिने छ”, प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले भने । नेपाल फिर्ता गर्न सम्भव नभए त्यहीँ खानेबस्ने व्यवस्था गरिदिन अलपत्र व्यक्तिहरुले माग गरेका छन् ।

दुल्लू नगरपालिकाका मदन बम, सन्तोष गिरी, वसन्त रोकाय, पुण्यराज रोकाय, ओम पोखरेल, वीरबहादुर भण्डारी, नेपाल जनसम्पर्क समितिका गोविन्द थापा, सुशील थापा, नरेश थापा, डिल्ली खनाल, गोविन्द नेपाली, अमर नेपाली, धर्म नेपाली, राजु नेपालीलगायत ७५० अलपत्र परेको भन्दै सामाजिक सञ्जालमा उनीहरुले सूची सार्वजनिक गरेका छन् । ––रासस

Nepal news headlines | breaking news kathmandu | national news of nepal live