NEWS

सिमानामा अलपत्र नेपालीलाई तत्काल स्वदेश फर्काऊ: काँग्रेस

काठमाडौं,मे १५

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले भारत सरकारले रेल र बसमार्फतको सुविधा दिएपछि भारतको विभिन्न शहरबाट सीमानाकामा आइपुगेका नेपालीलाई जोखिमरहित ढङ्गले प्रवेश गराउन नेपाल सरकारलाई तत्काल गम्भीरतासाथ पहल गर्न आग्रह गरेको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्तिमार्फत सीमानाकामा रहेका नेपालीलाई जोखिम रहित ढङ्गले प्रवेश गराउन सरकारले तत्काल पहल नगर्ने हो भने एकातर्फ उनीहरुलाई सिमानामा खान बस्न कठिनाइ हुने र अर्काेतर्फ लुकीछिपी नेपाल प्रवेश गर्ने कतिपयको प्रयत्नले कोरोना सङ्क्रमणको जोखिम झनै बढ्ने उल्लेख गरेका छन् ।

सीमानाकामा आइपुगेका सबै नेपालीलाई व्यवस्थित ढङ्गले प्रवेश गराउन तथा उचितक्वारेन्टाइनमा कडाइका साथ राखेर परीक्षणपश्चात् सुरक्षितरूपमा घर पु¥याउने प्रबन्ध गर्न काँग्रेसले सरकारलाई आग्रह गरेको छ । लुकीछिपी प्रवेशबाट यसबीचमा सङ्क्रमण फैलिन योगदान पुगेको परिदृश्य स्मरण गर्दै, सतर्कता र उच्च मानवीय भावना साथ सरकार हुनुको दायित्व निर्वाह गर्न प्रवक्ता शर्माले आग्रह गरेका छन् । –––रासस

भारतीय प्रहरीले नै सीमामा ल्याएर छाड्योः प्रवासी नेपाली

लुम्बिनी,मे १५

प्रवासी नेपालीलाई विभिन्न ठाउँबाट गाडी रिजर्भ गरेर भारतीय प्रहरीले सीमासम्म छाड्ने गरेको खुलेको छ । कोभिड –१९ का कारण जो जहाँ छ, त्यहीँ बस्नुपर्ने दुई देशीय सहमति भए पनि भारतीय पक्षले त्यसो नगरी सीमासम्म ल्याएर छाडिदिने गरेको भैरहवाका विभिन्न शैक्षिक प्रतिष्ठानमा बनाइएका क्वारेन्टाइनमा बसेका प्रवासी नेपालीले बताएका छन् ।

सीमामा अलपत्र परेकाहरुलाई दुई दिन अगाडि नेपाल ल्याइएको हो । लीलाराम मावि र भैरहवा नमूना माविको क्वारेन्टाइनमा बसेका प्रवासी नेपालीले भारतीय प्रहरीले नै गाडी व्यवस्था गरेर पठाएको बताए । नमूना माविको क्वारेन्टाइनमा बसेका कपिलवस्तु महाराजगञ्जका राजीव केवटले भने, “दिल्लीमा कपडा बनाउने ठाउँमा काम गथ्र्यौँ, बन्द भएपछि हिँड्यौँ । उतैबाट गाडीले नौतनवासम्म ल्याएर छाडिदिएको हो ।”

बम्बईमा काम गर्ने रुपन्देही, कोटहीमाई गाउँपालिकाका पिन्टु यादवले काम गर्ने कम्पनी बन्द भएपछि साइकलमा निस्किएको र भारतीय प्रहरीले ट्रक रोकाएर पठाएको बताए । क्वारेन्टाइनमा बसेका कञ्चनपुरका धिरु राना, नुवाकोट सूर्यगढीका वासुदेव लामिछाने, रुपन्देही गैडहवाका कोलन चाइलगायतले भारतीय प्रहरीको सहयोगमा नेपालको सीमासम्म आएको बताए ।

बिहीबार मात्रै प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले भारतीय पक्षले नेपालीलाई सीमामा ल्याएर छाड्नु विश्व स्वास्थ्य संगठनको मापदण्ड विपरीत भएको बताएका थिए । भारतीय सरकारले व्यवस्थापन गर्नाको साटो एक हजार किलोमिटर टाढाको गन्तव्यमा जबर्जस्ती पठाइरहेको छ । भारतमा बन्दाबन्दीमा रेल सेवासमेत शुरु भएपछि दैनिक हजारौँ नेपाली स्वदेश फर्किन थालेका छन् ।

रुपन्देही र कपिलवस्तुको सीमावर्ती क्षेत्रमा मात्रै चार हजारभन्दा बढी प्रवासी नेपाली स्वदेश प्रवेशको बाटो कुरेर बसेका छन् । स्थानीय प्रशासनले जिल्लाका विभिन्न पालिकाले तयार गरेका क्वारेन्टाइनमा उनीहरुलाई राखेको छ । बुधबार मात्रै ४९५ जना बेलहिया नाकाबाट नेपाल आएको रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले बताए ।

बेलहिया नाकासँग जोडिएको जिल्ला सदरमुकामसमेत रहेको सिद्धार्थनगरपालिका, भैरहवाका विभिन्न शैक्षिक प्रतिष्ठानमा प्रवासी नेपालीलाई राखिएको नगर प्रमुख हरिप्रसाद अधिकारीले बताए । नगरको शैक्षिक तालीम केन्द्रको क्वारेन्टाइनमा ५७, लीलाराम माविको क्वारेन्टाइनमा १८०, नमूना माविको क्वारेन्टाइनमा ६४ र प्रतिमान नीमा प्रतिष्ठानको क्वारेन्टाइनमा ८९ जना राखिएको छ ।––रासस

बाँकेको नरैनापुरमा  भेटिएका कोरोना संक्रमित आठै जना भारतबाट

राँझा(बाँके)

बाँकेको नरैनापुरमा  भेटिएका कोरोना संक्रमित आठै जना तीन दिनअघि अवैध नाकाबाट नेपाल भित्रिएको पाइएको छ । जिल्लाको राप्तीपारि दक्षिणपूर्व भारतसँग सीमा जोडिएको नरैनापुरको सीमामा भारतका विभिन्न शहरमा मजदूरी गर्न गएका स्थानीयवासी अलपत्र परेपछि गाउँपालिकाले उद्धार गरेर क्वारेन्टाइनमा राखेको थियो ।

गत बुधबार जिल्ला स्वास्थ्य कार्यालय नेपालगञ्जबाट खटिएको स्वास्थ्य टोलीले त्यहाँ शङ्कास्पद ४५ जनाको स्वाब नमूना संकलन गरी भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा नरैनापुर १, ३ र ५ निवासी १८, २०, २२, २५, २५, २७, ३२ र ३६ वर्षीय आठ पुरुषमा कोरोना देखिएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । उनका अनुसार संक्रमित सबै भारतबाट आएका हुन् । उनीहरुको यसअघि नेपालगञ्जमा भेटिएका संक्रमितसँग सम्पर्क नरहेको पाइएको छ । संक्रमितलाई उपचारका लागि नेपालगञ्ज ल्याउने तयारी गरिएको छ ।

हाल नरैनापुरमा ४४१ जना क्वारेन्टाइनमा छन् । सबै भारतबाट आएका हुन् । पछिल्लो समयमा भारतका विभिन्न ठाउँमा बाँके प्रवेश गर्नेमा नरैनापुरका बढी छन् । नरैनापुरमा एकै पटक आठ जनामा कोरोना पुष्टि भएकाले अझै सजगता आवश्यक देखिएको श्रेष्ठले बताए ।

नरैनापुर गाउँपालिकामा पछिल्लो तीन दिनमा मात्रै ४०७ जना भारतबाट भित्रिएको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले बताए । उनका अनुसार भारतका विभिन्न शहरमा मजदूरी गर्न गएका स्थानीयवासीलाई गाउँपालिकाले सीमाबाट उद्धार गरेर १० क्वारेन्टाइनमा राखेको छ । क्वारेन्टाइनमा आएर बसेकाहरुको पिसिआर परीक्षणका लागि स्वाब संकलन भइरहेको छ । ––रासस

दशगजा क्षेत्रमा घेराबेरा लगाइँदै

महोत्तरी,मे १५

लुकीछिपी सीमा नाघेर आवतजावत नरोकिएपछि महोत्तरी जिल्लाको भारतीय सीमावर्ती क्षेत्रमा घेराबेरा लगाउन थालिएको छ । जिल्लाको भारतसँग सीमा जोडिएको ३८.६ (३८ दशमलव ६) किलोमिटर दूरीभित्रबाट हुने आवागमन नियन्त्रण गर्न घेराबेरा लगाइन थालिएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको हो ।

सीमा क्षेत्रमा सुरक्षाकर्मी तैनाथ गरेर आवागमन रोक्न प्रयत्न हुँदै आए पनि दुवैतर्फ एकअर्कासँग जोडिएका बस्तीबीचबाट छिर्ने क्रम नरोकिएपछि बाँसका फट्टा र अन्य काठ ठड्याइएर घेराबेरा लगाइन थालिएको छ । जिल्लाका मटिहानी, जलेश्वर र मनराशिशवा नगरपालिका एवं एकडारा, सम्सी र सोनमासहित छ स्थानीय तहको सीमा भारतसँग जोडिएको छ । भारततर्फ सीमा क्षेत्रसँग मधुवनी र सीतामढी जिल्ला जोडिएका छन् ।

“मधुवनी र सीतामढीमा कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको समाचार छन्, भारतले रेलसेवा सञ्चालन गरेसँगै यता लुकिछिपी भित्रिनेको संख्या बढ्दै गएको जानकारी पाइएपछि घेराबेरा शुरु गरिएको हो”, महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले भने,“यो अस्थायी घेराबेराले पनि आवागमन नियन्त्रण गर्न सघाउने विश्वास छ ।”

सीमा क्षेत्रमा घेराबेरा थालिएसँगै सुरक्षा गस्ती पनि बढाइएको जिल्ला प्रशासनले जनाएको छ । पछिल्लोपटक महोत्तरी र धनुषामा पाइएका संक्रमितमध्ये केही भारतको मधुवनी र सीतामढीबाटै यता छिरेका पाइएको छ । जिल्लाको भारतसँगको सीमा क्षेत्रमा कतिपय ठाउँमा जोडिएका बस्ती, दोहोरो सामाजिक–सांस्कृतिक सम्बन्ध र कतिपय सीमा क्षेत्रका दुवैतर्फ रहेका सघन बगैँचाबाट लुकीछिपी आउने जानेलाई सजिलो बनेको देखिँदैछ । सीमाबाट भित्रिनेबारे हाम्रातिरका बस्तीमा सचेतना अपनाइएर क्वारेन्टाइन केन्द्रमा पु¥याउन सजिलो हुने भए पनि यसबारे त्यति चनाखोपन र सजगता नअपनाइँदा समस्या कायम नै रहेको राजनीतिक दल र सामाजिक क्षेत्रका कार्यकर्ता स्वीकार गर्छन् ।

स्थानीय तहका बस्तीबस्तीमा बाहिरबाट आउनेहरुबारे जानकारी लिने र यसमा कडाइ गरिए स्थिति सम्हाल्न सजिलो हुने सीमा क्षेत्रकै बासिन्दा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का जिल्ला सचिव सौखीलाल यादवले बताए । –––रासस

विश्व व्यापार संगठनका अध्यक्ष अजिभिडोद्वारा राजीनामा

जेनेभा,मे १५

विश्व व्यापार संगठन (डब्लुटिओ)का महानिर्देशक रोबर्टो अजिभिडोले आफ्नो कार्यकाल एक वर्ष बाँकी छँदै पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । अमेरिका–चीनबीच व्यापार तनाब जारी नै रहेको तथा कोरोना भाइरसका कारण विश्व अर्थतन्त्रमा व्यापक असर पारेकै अवस्थामा डब्लुटिओका प्रमुखले “व्यक्तिगत” कारण देखाउँदै विहिबार राजीनामा गरेका छन् ।

आगामी अगष्ट ३१ देखि लागु हुने गरि उनले आफ्नो पदबाट राजीनामा गरेका हुन् । उनी विगत सात वर्षदेखि डब्लुटिओको प्रमुखको रुपमा कार्यरत थिए । स्वीट्जरल्याण्डको जेनेभामा मुख्यालय रहेको डब्लुटिओ र यसको नेतृत्वको कार्यशैलीप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तिखो आलोचना गर्दै आएका थिए । उनले चीनसँगको व्यापार युद्धका क्रममा डब्लुटिओले चीनको पक्षमा बढी काम गरेको र अमेरिकी सरोकारका विषयमा विल्कुलै चासो नदिएको आरोप लगाएका थिए ।

डब्लुटिओको मुख्यालयमा संगठनका प्रतिनिधिहरुसँगको विशेष बैठकमा महानिर्देशक अजिभिडोले आफूले यस राजीनामालाई सामान्य रुपमा नलिएको बताउँदै आफ्नो राजीनामा पारिवारिक निर्णय र व्यक्तिगत निर्णय रहेको स्पष्ट गरे । आफ्नो राजीनामाले संगठनको सर्वोत्तम हितलाई पक्षपोषण गर्ने पनि उनले विश्वास व्यक्त गरे ।

डब्लुटिओ स्थापना भएको २५ वर्ष पुगेको छ, तर कुनै पनि महानिर्देशकले बीचमै पदत्याग गरेका थिएनन । संगठनको नियम बमोजिम अब नयाँ महानिर्देशकको नियुक्तीको प्रक्रिया शुरु हुनेछ । ब्राजिली अर्थशास्त्री अजिभिडोको नेतृत्वको डब्लुटिओ विरुद्ध ट्रम्प प्रशासनले निरन्तर आलोचना गरेको थियो । डब्लुटिओले चिनियाँ कैयौं व्यापार व्यवसायमा चीन सरकारले स्वीकृत नियम विपरीत दिइरहेको सरकारी अनुदानलाई आँखा चिम्लेको तथा बौद्धिक सम्पत्तिको सुरक्षाका मामिलामा डब्लुटिओले ढुलमुले नीति लिएको आरोप अमेरिकाको छ ।

पेन्सिलभेनिया प्रस्थान गर्नुअघि ह्वाइट हाउसमा पत्रकारहरुसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अजेभेडोको राजीनामा उपयुक्त निर्णय हो भन्ने प्रतिक्रिया दिए । “विश्व व्यापार संगठनले हामीलाई निकै नराम्रो व्यवहार गरेको थियो । मैले यो कुरा लामो समयदेखि भन्दै आएको छु । उनीहरुले चीनलाई विकासशील मुलुक ठान्छन, त्यसकारण चीनले त्यसको आडमा धेरै लाभ लिइरहेको छ तर अमेरिकाले केही पाएको छैन ।”

सन् २००१ मा चीनले डब्लुटिओको सदस्यता प्राप्त गरेको थियो । अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटीजरले अजिभिडोको उदाहरणीय सेवाप्रति धन्यवाद दिए । उनले भने, “डब्लुटिओका धेरै कमीकमजोरीका बाबजूद रोबर्टोले संस्थालाई महत्वपूर्ण नेतृत्व प्रदान गर्न सक्षम हुनुभएको थियो ।”

अजिभिडोको कार्यकालमा डब्लुटिओप्रति रुष्ट भएको संयुक्तराज्य अमेरिकाले अन्तराष्ट्रिय व्यापार विवादको सुनुवाई गर्ने पुनरावेदन अदालतको आकार घटाएको थियो । चिनियाँ पूँजीवादी–सामाजिक आर्थिक प्रणालीद्वारा सिर्जित नयाँ चुनौतीहरु सामना गर्न डब्लुटिओ असफल रहेको भन्दै अमेरिकाले डब्लुटिओमा नयाँ न्यायाधीशहरुको नियुक्ती रोकेको थियो ।

“नियम–आधारित अन्तर्रा्ष्ट्रिय व्यापार प्रणाली” को कार्यान्वयनका लागि अत्यावश्यक मानिएका न्यायाधीशको नियुक्तीमा भएका ढिलाइले ठूलो समस्या निम्त्याएको थियो । महानिर्देशक अजिभिडोले न्यायाधीशको नियुक्त संगठनको नियमित कार्य संचालनका लागि अपरिहार्य रहेको बताउँदै आएका थिए । ––एपी/रासस

नेपालमा शुक्रबार बिहान ९ संक्रमित थपिए, कोरोना संक्रमितको संख्या २५८ पुग्यो

काठमाडौं,मे १५

नेपालमा कोभिड १९ संक्रमितको संख्या दिनानुदिन बढदै गएको छ । शुक्रबार बिहान  पनि  ९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २५८ पुगेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र भेरी अस्पताल, नेपालगंजमा  गरिएको परीक्षणमा नयाँ ९ जनामा संक्रमण देखिएको हो ।

शुक्रबार थपिएका संक्रमित मध्ये मकवानपुर निवासी ३७ वर्षीय पुरुष,बाँके,नैनापुर१, ३ र ५ निवासी १८,२०,२२,२५,२७,३२ र ३६ वर्षीय पुरुष रहेका छन् । उनीहरुको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

सात वर्षीय बालकसहित तीन जनामा सङ्क्रमण

छाङरुमा सशस्त्र प्रहरीः दृढ संकल्पकासाथ सीतापुलबाट सीमा गस्ती

छारुंग (दार्चुला),मे १४

राज्यको कमजोर उपस्थिति रहेको दार्चुलाको विकट हिमाली क्षेत्र व्यास गाउँपालिका–१ स्थित भारतीय सीमा जोडिएको छाङरु (गागा) मा सीमा रक्षाको दृढ संकल्पकासाथ विहिबारदेखि सशस्त्र प्रहरीले गस्ती थालेको छ । मुलुकको इतिहास मै पहिलो पटक सरकारले जिल्ला सदरमुकाम खलङ्गास्थित सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्मबाट बुधबार यहाँको सीमा सुरक्षाका लागि सशस्त्रको टोली पठाएको हो ।

आफ्नो बन्दोबस्ती र गाँस, बास, कपासको जोहो गर्ने काम पूर्ण नहुँदै सशस्त्रले सीमा गस्तीलाई उच्च प्राथमिकता दिएर गस्ती नियमित गरेको हो । केही टोली दार्चुलाबाट आउँदै गर्दा अघिल्लो दिन आइपुगेका टोली सुरक्षामा खटिएको थियो ।

सुरक्षाकर्मीद्वारा महाकाली नदी किनारमा गस्ती/ नेपाल–भारत सीमा क्षेत्र दार्चुला जिल्लाको व्याँस गाउँपालिका–१ छाङ्रु (गागा) स्थित महाकाली नदी किनारमा गस्ती गर्दै सशस्त्र प्रहरीको टोली । बुधबार स्थापना भएको सशस्त्र प्रहरी बल नेपालको सीमा निगरानी चौकी (विओपी) बाट खटिएको टोलीले यहाँ बिहीबारदेखि गस्ती थालेको छ ।

टोलीले भारतसँग जोडिएको महत्वपूर्ण नाका सीतापुलबाट गस्ती थालेको हो । नेपाल र भारत आवागमनका लागि यहाँको सीमा क्षेत्रमा महाकाली नदीमाथि बनेको काठे कच्ची पुल छ । त्यही पुलबाट नेपालीहरु आवतजावत गर्ने गर्छन् । अहिले लकडाउनका कारण यहाँबाट आवतजावत ठप्प छ । यहाँको महत्वपूर्ण नाका मानिएको त्यही पुलबाट गस्ती थालिएको हो ।

सीतापुलको नेपालतर्फको भूभागमा नियमित ड्यूटीमा टोली परिचालन हुने सीमा निगरानी चौकी (बीओपी)का प्रमुख सशस्त्र प्रहरी निरीक्षक लिलीबहादुर चन्दले बताए । उनका अनुसार उक्त बीओपीले यहाँको छाङरु, कौवा, तिङ्कर, बुदी, नितिकुण्डालगायतको क्षेत्रका सुरक्षा गर्नेछ ।

छाङ्रुको सीमा क्षेत्रमा गस्ती शुरु/ नेपाल–भारत सीमा क्षेत्र दार्चुला जिल्लाको व्याँस गाउँपालिका -१ छाङ्रु (गागा) मा हालै स्थापना भएको सशस्त्र प्रहरी बल नेपालको सीमा निगरानी चौकी (विओपी) मा बिहीबार बिहान सीमा क्षेत्रमा गस्ती जाने तयारी गर्दै सशस्त्र प्रहरी ।

गस्ती शुरु गर्नुअघि सीमा अवलोकनका क्रममा गृह मन्त्रीका सुरक्षा सल्लाहकार प्रा डा ईन्द्रजीत राई र सशस्त्र प्रहरी निरीक्षक चन्दसँग सीमा सुरक्षामा खटिएको भारतीय एसएसबीका भुपेन्द्रकुमारले भेट गरेका थिए । उक्त अवसरमा नेपालले आफ्नो सुरक्षाका लागि टोली ल्याएको जानकारी दिँदै डा राईले अन्य विषयहरु सरकारबीच नै छलफल हुने भएकाले आपसी समन्वयमा काम गर्नुपर्ने सुझाव दिए ।

सुरक्षा सल्लाहकारसँग कुरा गर्दै भारतीय एसएसबी/ दार्चुला जिल्लाको व्याँस गाउँपालिका–१ छाङ्रु (गागा)स्थित नेपाल–भारत सीमा जोडिएको महाकाली नदीमाथिको काठेपुल (सीतापुल) मा गृहमन्त्रीका सुरक्षा सल्लाहकार प्राडा इन्द्रजित राईसँग कुरा गर्दै भारतीय एसएसबीका प्रतिनिधि । साथमा छाङ्रुस्थित सुरक्षा निगरानी पोष्टका प्रमुख सशस्त्र प्रहरी निरीक्षक लिलीबहादुर चन्द ।

नेपाल सरकारको निर्णयमा बुधबार यहाँ सीमा निगरानी चौकी (बीओपी) स्थापना गरिएको थियो । नेपाली सुरक्षा अधिकारीको झिनो उपस्थिति हुने गर्दथ्यो । दुई दिन हिँडेर पुग्ने हुम्लिङमा नेपाल प्रहरीको अस्थायी चौकी छ । तर छाङरु नजिकै नितिकुण्डामा रहेको प्रहरी चौकी भने गत मङ्सिरमा तल झरेपछि यहाँ सुरक्षाकर्मी शून्य थियो ।
स्थानीय बासिन्दासमेत जाडोका कारण तल झरेपछि मानवीय उपस्थिति शून्य थियो । यहाँका स्थानीय चिसोका कारण छ महिना तल झर्ने गर्छन् । मङ्सिर १४ गते सदरमुकाम झरेको नेपाल प्रहरी पनि विहिबारबाटै आफ्नो चौकीमा फर्किएका छन् ।

सशस्त्र प्रहरीको बीओपी भने स्थानीय जीतबहादुर बोहराको घर मासिक २५ हजार रुपैया तिर्ने गरी स्थापना गरिएको हो । नजिकै १५ रोपनी जग्गा व्यवस्थापन भएको छ । ११ करोड रुपैया बराबरको रकमसमेत सरकारले छुट्याइसकेको छ । भवन नबन्दासम्म सशस्त्र प्रहरी त्यही भाडाको घरमा बस्नेछ । चौकी स्थापनाका लागि गृहमन्त्रीका सुरक्षा सल्लाहकार तथा द्वन्द्व विशेषज्ञ प्रा डा राई, सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक नारायणबाबु थापालगायत पुगेका थिए ।

बुधबार त्यहाँ सात सशस्त्र प्रहरीलाई पु¥याइएको थियो । बाँकी १८ जना सशस्त्र प्रहरीको टोली र बन्दोबस्तीका सामान आज मात्रै पु¥याइएको हो । बुधबार सेनाको हेलिकोप्टरले केही मात्रै खाद्यान्न लगेकामा विहिबार बाँकी खाद्यान्नसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पु¥याएको थियो । सशस्त्र प्रहरीका अनुसार यहाँ उनीहरुलाई छ महिना पुग्ने खाद्यान्न र बन्दोबस्तीका सामान लगिएको छ । केही लत्ताकपडा र बन्दोबस्तीका सामान सेनाको हेलिकोप्टरमा काठमाडौँबाटै ल्याइएको हो ।

नेपाल–भारत सीमा क्षेत्र दार्चुला जिल्लाको छाङरु (गागा) मा सशस्त्र प्रहरी बल नेपालको सीमा सुरक्षा निगरानी चौकी (विओपी) का लागि आवश्यक सशस्त्र प्रहरीसहित खाद्यान्न र बन्दोबस्तीका सामान झार्दै नेपाली सेनाको हेलिकप्टर ।

केही दिनअघि पिथौरागढबाट गुञ्जी, कालापानी हुँदै चीनको मानसरोबर जाने लिपुभञ्याङसम्मको सडकको भारतले उद्घाटन गरेको थियो । त्यसैले सीमा रक्षाका लागि सरकारले तत्कालै यस क्षेत्रमा सशस्त्रको टोली पु¥याएको हो । गत मङ्सिरमा नै यहाँलगायत मुलुकका विभिन्न सीमा क्षेत्रमा ११४ बीओपी स्थापना गर्ने निर्णय भएको थियो । योसहित १४ स्थानमा मात्रै स्थापना भएको छ ।

नेपाल–भारत सीमा क्षेत्र दार्चुला जिल्लाको छाङरु (गागा) मा सशस्त्र प्रहरी बल नेपालको सीमा सुरक्षा निगरानी चौकी (विओपी) का लागि आवश्यक सशस्त्र प्रहरीसहित खाद्यान्न र बन्दोबस्तीका सामान झार्दै नेपाली सेनाको हेलिकप्टर ।

सकस छ छाङरु पुग्न

दार्चुला जिल्ला सदरमुकामबाट पारी भारतीय क्षेत्र धार्चुला पर्छ । पहिलेपहिले त्यही धार्चुलाबाट महाकाली नदी तिरैतिर भारतले बनाएको बाटो हुँदै नेपालीहरु यही सीतापुल तरेर छाङरु आउँथे । नेपालबाट यहाँ आउन बाटो छैन । खनीखोस्रो गरी र लहरा तथा डोरी समाउँदै हिँडेर आउन चारदेखि पाँच दिन लाग्छ ।

लकडाउनका कारण भारतले प्रवेश नदिएपछि छाङरु गाउँका ११५ घरधुरी अझै फर्किएका छैनन् । उनीहरु गत कात्तिक मङ्सिरमा बेँसी झरेका थिए । उनीहरु सदरमुकाम आसपास नै बसिरहेका छन् । गाउँमा मान्छे नुहँुँदा जग्गा जमिन बाँझो छ । यतिबेला फापर गहुँ लहलह हुने बेला थियो । केही ठाउँमा लसुन लगाएको देखिन्छ भने यहाँ स्याउले फूल खेल्न थालेको देखिन्छ । सबै घरमा ताला झुण्ड्याइएको छ । गाउँले नभएको र प्रहरीसमेत नहुँदा यहाँ नेपालीको उपस्थिति छैन । भारतले जे गर्दा पनि प्रतिवाद गर्ने कोही छैनन् ।

यहाँको व्यास–१ छाङरुमा ११५ घरधुरी छन् । दश किलोमिटर पर रहेको तिङकरमा ६८ घरधुरी छन् । यहाँ दुवै क्षेत्रमा गरेर एक हजार २२० जनसङ्ख्या रहेको प्रहरीको अभिलेखमा उल्लेख छ । यहाँबाट सुनसेरा (गाउँपालिका सदरमुकाम) पुग्न झण्डै दुई दिन लाग्छ ।

हतियारसहित बन्दोबस्तीका सामान/ नेपाल–भारत सीमा क्षेत्र दार्चुला जिल्लाको व्याँस गाउँपालिका–१ छाङ्रु (गागा) मा बुधबार स्थापना गरिएकोे सशस्त्र प्रहरी बल नेपालको सीमा निगरानी चौकी (विओपी) का लागि आवश्यक हतियार र बन्दोबस्तीका सामान ओसार्दै सशस्त्र प्रहरी । सेनाको हेलिकप्टरले केही माथि सामान झारेपछि उनीहरुले बोकेर सामान लगेका हुन् ।

यहाँबाट माथि कालापानी झण्डै १५ किलोमिटरको दूरीमा पर्छ भने तिङ्कर १० किलोमिटरमा पर्छ । तिङ्करबाट लिपुलेक अन्दाजी त्यही १० किलोमिटरको दूरीमा रहेको स्थानीय जीतबहादुर बोहराले बताउनुभयो । दार्चुलाबाट उत्तरपूर्वमा पर्ने छाङरुबाट लिपुलेक अन्दाजी २५ किलोमिटरको दूरीमा रहेको बताइन्छ । तर बाटो नभएकाले हिँडेर जान सकिने अवस्था छैन ।

यस्तो छ भौगोलिक अवस्था

छाङरुको पारी पट्टी अपिनाम्पा संरक्षण क्षेत्र छ । चारैतिर डाँडा सेताम्मे हिउँले भरिएका छन, तल खोँच (सानो उपत्यका जस्तो) स्थान गागा भन्ने ठाउँमा सशस्त्रको बीओपी स्थापना गरिएको छ । जीतबहादुरले रेष्टुरेन्ट बनाएको घरलाई भाडामा लिएर बसेको सशस्त्र प्रहरी नजिकै तिङ्कर नदी बग्छ । अर्काे कालापानी पट्टीबाट महाकाली नदी आउँछ । छाङरुस्थित सीतापुलमा दुई नदी मिसिन्छन् । त्यसैको दोभान क्षेत्र नै छाङरु हो । त्यो दोभानभन्दा ५०० मिटरमाथि छाङरु बस्ती छ ।

भारतीय सीमा क्षेत्र सीतापुलबाट भने एक किलोमिटरको दूरीमा पर्छ सशस्त्रको निगरानी चौकी । यहाँ जाडोका बेला नदीको पानी नै जम्ने र हिउँ नै हिउँले ढाक्ने हुन्छ त्यसैले मानिसहरु जाडोमा तल झर्ने गर्छन् ।

सबैभन्दा ठूलो समस्या सम्पर्क सञ्जाल र सडक

यहाँको सूचना आदानप्रदानका लागि सबैभन्दा ठूलो समस्या सम्पर्क सञ्जाल कै हो । छाङरु पुगेका जो कोहीको अवस्था थाहा पाउन सकिँदैन । त्यहाँ के भइरहेको छ भन्ने जानकारी ल्याउन कि भारतीय क्षेत्रमा पुग्नुपर्छ नत्र भने दार्चुला नै फर्कनु पर्छ । सशस्त्र प्रहरीलाई पनि टेलिफोनको समस्या हुनेछ । जसका कारण महत्वपूर्ण सूचना आदानप्रदानमा समस्या पर्नेछ ।

मलिन आवाजमा रेडियो बज्ने भएकाले मुलुकका केही खबर प्राप्त गर्न भने सकिन्छ । पहिले यहाँ स्काई फोन टिप्ने गरेको भए पनि अहिले पुरै बन्द भएको स्थानीय सुधा बोहराले बताइन उनले भनिन , “फोन र सडक भयो भने अरू हामीलाई केही चाहिँदैन ।”

सीतापुलमा बस्छ एसएसबी

सीमा क्षेत्र सीतापुलमा भारतीय एसएसबीको टोली तैनाथ छ । त्यससँगै अलि परको बस्ती गव्र्याङमा भारतको इन्डियन तिब्बत बोर्डर पुलिस फोर्स र एसएसबीको दुई टोली बस्छ । अलि पर रहेको छायाँलेकमा भारतीय सेना नै तैनाथ छ ।

विहिबार सीमा क्षेत्रमा भारतीय सेना, एसएसबीको टोली र उनीहरुका गाडी तथा अन्य गाडीहरु निर्बाध रुपमा हिँडिरहेका थिए । भारतको हेलिकप्टले दिनमै पाँच, सात पटक गस्ती गर्ने गरेको छ भने लिपुलेक क्षेत्रमा आवश्यक भौतिक निर्माणका लागि डोजर, स्काभेटरलगायतका सामग्रीसमेत ओसारपसार गर्दै आएको छ । तर नेपालतर्फ गतिविधि भने शून्य छ । महाकाली नदी किनारै किनार लिपुलेकसम्मै भारतले सडक बनाइसकेको छ । ––नारायण ढुंगाना /रासस

राहतको प्याकेज ल्याउन अर्थविदहरुको सुझाव

अर्थ समितिमा अर्थविदहरु

काठमाडौं,मे १४

लकडाउनका कारण अर्थतन्त्रमा परेको असरको समग्र अध्ययन गरी राहतको प्याकेज ल्याउन अर्थविद्हरुले सुझाव दिएका छन् । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिले कोरोना भाइरसले अर्थतन्त्रमा पारेको प्रभाव र आगामी बजेटको प्राथमिकता लगायतका विषयमा आयोजना गरेको छलफलमा सहभागी भएका अर्थविद्हरुले सरकारले अझैपनि अर्थतन्त्रमा परेको असरको अध्ययन गर्न नसकेको बताएका हुन् ।

अर्थतन्त्रको सुधारका लागि समस्टिगत अध्ययन नगरी राहतको व्यवस्था गर्दा उचित वितरण नहुने भएकाले सबैभन्दा पहिला अध्ययन हुनु आवश्यक रहेको अर्थविद्हरुले बताएका हुन् । पर्यटन क्षेत्र सबैभन्दा लामो समय सम्म प्रभावित हुने, उद्योग बन्द हुने, उत्पादन घट्ने, बजारमा माग घट्ने लगायतका समस्याले अर्थतन्त्रलाई कमजोर बनाउने भएकाले सरकारले समस्टिगत अध्ययन गरी बजेटका प्राथमिकता तयार गर्नुपर्नेमा उनीहरुले सुझाव दिएका हुन् ।

अर्थविद डा. चन्द्रमणि अधिकारीले हिजोको दिनमा रहेको रोजगारीको संख्या र लकडाउन पछि गुम्ने रोजगारीको अध्ययन हुनुपर्ने बताए । मानिसको स्वास्थ्य, र रोजगारी जोगाउनका लागि सरकारले उचित कदम चाल्न सके सबैभन्दा ठूलो राहत हुने अर्थविद् अधिकारीले बताए ।

उनले लकडाउनका कारण उठनै नसक्ने क्षेत्रमा राहत दिन नहुने समेत बताए । विश्वभर लकडाउन भएको र खर्च गर्ने क्षमता सबैको कम भएको अवस्थामा पर्यटनलाई पहिलो प्राथमिकतामा राखेर नीति कार्यक्रम र बजेट ल्याउन नहुने अधिकारीले बताए ।

अर्थविद् डा. गोविन्द नेपालले होटल र पर्यटन क्षेत्रमा सबैभन्दा लामो समय र सबैभन्दा धेरै असर पार्ने भएकाले यस क्षेत्रमा गुम्ने राजगारीको व्यवस्थापन चुनौतिपूर्ण भएको बताए । यस्तै निजी क्षेत्रबाट व्यवसायिक पिडाबाट राखेका सबै मागहरुलाई सम्बोधन गर्न र अर्थतन्त्रलाई सुचारु गर्नका लागि समस्टिगत अध्ययन हुनुपर्ने बताए । यस्तै सरकारका तीन वटै निकायमा समन्वय गरी सहलगानीको अवधारणाबाट काम गर्नुपर्ने बताउनुभयो । उहाँले कोभिड–१९ को नियन्त्रण र अर्थतन्त्रलाई चलायमान गराउन श्रोतको बाँडफाँडको फर्मुला नै परिवर्तन गर्नुपर्ने बताए ।

अर्थविद डा.विश्वम्बर प्याकुरेलले वित्तीय र मौद्रिक नीतिलाई समन्वय गरेर लैजान सके मुद्रास्फीति नियन्त्रण गर्न सकिने बताए । उत्पादन घट्ने, उद्योग बन्द हुने, पर्यटन क्षेत्र ठप्प हुँदा गिरावट आएको अर्थतन्त्रलाई ‘भि सेप’को रिकभरी दिन सरकारले प्याकेजहरु ल्याउनुपर्ने उनले बताए । तर अहिलेकै स्थितिमा अर्थतन्त्रको ‘भि सेप’ रिकभरी हुने ठाउँ नरहेको अर्थविद प्याकुरेलले उल्लेख गरे । यस्तै वैदेशिक रोजगारी समेत ठप्प हुँदा रेमिट्यान्स घट्न गई वैदेशिक मुद्राको समस्या बढ्नेतर्फ अर्थविद प्याकुरेलले ध्यानाकर्षण गराए । यस्तो अवस्थामा डलरको मूल्य बढ्न गई नेपाली रुपैयाँ कमजोर हुने र आयातमा आधारीत नेपालको अर्थतन्त्रमा ब्यालेन्स अफ पेमेन्ट डेफिसिट हुने र मुद्रास्फीति बढ्ने बताए ।

अर्थविद् डा. डिल्लीराज खनालले लकडाउनका कारण श्रम बजारमा उत्पन्न भएको समस्यालाई समाधान नगरे सामाजिक द्धन्द्ध उत्पन्न हुने बताए । उनले लकडाउनले ४०/४५ लाख मानिसहरु बेरोजगार भएको अवस्थामा अर्थतन्त्रमा गम्भिर असर पर्ने र त्यसका लागि सरकारले नीति तथा कार्यक्रम र बजेट मार्फत राहत ल्याउनुपर्ने बताए । उनले स्वास्थ्यलाई पहिलो प्राथमिकता दिई अर्थतन्त्रलाई चलायमान बनाउन ध्यान दिनुपर्ने बताए ।

अर्थविद् शंकर शर्माले स्वास्थ्य, राहत र रोजगारीमा केन्द्रीत भएर सरकारका कार्यक्रमहरु आउनुपर्ने बताए । उनले सबैभन्दा धेरै रोजगारी साना तथा घरेलु उद्योगमा गुम्ने भएकाले त्यस क्षेत्रमा श्रम गर्नेहरुको व्यवस्थापन उचित ढंगले गर्नुपर्ने बताए । उद्योग बन्द हुने, उत्पादन घट्ने र माग समेत घट्ने हुँदा रोजगारी कटौति हुने र अर्थतन्त्रमा ठूलो क्षति हुनेतर्फ ध्यानाकर्षण गराए । यस्तै धान उत्पादनका लागि मल र बीउ उपलब्ध गराउन सके अर्थतन्त्रका लागि सबैभन्दा ठूलो राहत हुने उनले सुझाव दिए ।

अर्थविद्हरुले लकडाउनका कारण गुम्ने रोजगारीलाई कम गर्न सके अर्थतन्त्र जोगाउन सकिने बताएका छन् । आयातित अर्थतन्त्रलाई उत्पादनमुखि अर्थतन्त्रमा रुपमान्तरण गर्न लकडाउन अवसर हुन सक्नेमा समेत अर्थविदहरुले जोड दिएका छन् ।

शेयर कारोबार बन्द

काठमाडौं,मे १४

लकडाउनका कारण ५०औँ दिनमा मंगलबार खुलेको शेयर बजार पुनः बन्द गर्न नेपाल धितोपत्र बोर्ड (सेवोन)ले नेपाल स्टक एक्सचेञ्जलाई निर्देशन दिएको छ । बोर्डको निर्णयका आधारमा नेप्सेले मंगलबार र बुधबार शेयर कारोवार गरेको थियो । दुई कारोवार दिनमा समेत बजार पूरा समय टिक्नै सकेन । दुई प्रतिशतभन्दा बढीले बजार ओरालो लागे पनि नेप्सेले सर्किट ब्रेक लगाएर बजार बन्द गरेको थियो ।

मंगलबार बजार झण्डै डेढ घण्टा टिकेको थियो भने बुधबार कारोवार शुरु भएको ४० मिनेटमा नै सर्किट लागेर बन्द भएको थियो । बोर्डले दुई प्रतिशतका आधारमा बजार उकालो लागे पनि वा ओरालो लागे पनि सर्किट ब्रेक लगाउने व्यवस्था गरेको थियो । लकडाउन जारी रहे पनि बजार सञ्चालन गर्ने निर्णयअनुसार खुलेको बजार आज पुनः बोर्डको निर्देशनअनुसार नै बन्द गरिएको नेप्सेले जनाएको छ ।

कोरोना भाइरसको जोखिम काठमाडौँ उपत्यकामा परेको र सरकारले यही जेठ ५ गतेसम्म लकडाउन जारी राखेका कारण त्यसलाई कडाइका साथ लागू गर्नुपर्ने भएकाले बजार बन्द गरिएको नेप्सेले जनाएको छ । लकडाउनलाई पूर्णरुपमा पालन गर्न र मानिसको आवतजावत गर्न सवारी पासमा समेत कडाइ गरेको र यस्तो अवस्थामा लगानीकर्ताको धितोपत्रको पहुँचमा असहजता हुने देखिएकाले लगानीकर्ताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर लकडाउन अवधिभर कारोवार स्थगन गर्न बोर्डले निर्देशन दिएको छ ।

बोर्डको निर्देशनअनुसार विहिबार बसेको नेपाल स्टक एक्सचेञ्ज सञ्चालक समितिको निर्णयअनुसार कारोवार स्थगन गरिएको हो । नेप्सेका उपप्रबन्धक प्रविन पान्दाकका अनुसार लकडाउन अवधिभर बजार अब बन्द रहनेछ ।–––रासस

Nepal news headlines | breaking news kathmandu | national news of nepal live