NEWS

चीनमा मङ्गलबार थप ३६ मा कोरोना भाइरस सङ्क्रमण देखियो

बेइजिंग,अप्रिल १

चीनमा थप ३६ जना व्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएको चिनियाँ स्वास्थ्य अधिकारीहरुले बुधवार जानकारी दिएका छन् । मंगलबारको चेकजाँचमा कोरोना भाइरस संक्रमित देखिएका ३६ जनामा ३५ चीनका नभएर बाहिरबाट आएका समाचारमा जनाइएको छ । संक्रमित मध्ये एक जना मात्र चीनको गुआङ्डोङ प्रान्तको भएको बताइएको छ ।

यसैगरी मङ्गबार कोरोना भाइरस सङ्क्रमणको कारण सात जनाको मृत्यु भएको जनाइएको छ । मृत्यु भएका सात व्यक्तिमा ६ जना हुबेई प्रान्तको एक जना शाघाईका रहेका छन् ।

चीनको हुबेइ प्रान्तको उहान शहरबाट गत डिसेम्बरको अन्त्यबाट शुरु भएको कोभिड–१९ बाट विश्वभरी बुधबार सम्म ४२ हजार ३४४ को मृत्यु भईसकेको छ ।
पछिल्लो विवरणअनुसार संंंसारभर आठ लाख ६० हजार १७८ जना कोरोना भाइरसबाट संक्रमित भएको विश्व स्वास्थ्य संगठनले बुधबार सार्वजनिक गरेकोे छ ।

यस प्रकोपबाट चीनमा ८१ हजार ५५४ कुल सङ्क्रमित भएका छन् भने, तीन हजार ३१२ को मृत्यु भएको छ । यसैबीच ७६ हजार २३८ निको भएर घर फर्किएका छन् ––रासस /सिन्ह्वा

निगमको वाइड बडी अस्ट्रेलियातर्फ उड्यो

काठमाडौं,अप्रिल १

नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)को वाइड बडी जहाज अस्ट्रेलिया उडेको छ । राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको वाइड बडी एयरबस ३३० जहाज बुधबार साँझ ६ः१२ मिनेटमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट गन्तव्यकालागि उडेको हो ।

निगमले मलेसियाको क्वालालम्पुर हुँदै अस्ट्रेलिया को शहर ब्रिश्वेन पुग्ने गरी बुधबार साँझ ५ः३० बजे उडान तालिका बनाएको थियो । निगमको उड्डयन इतिहास मै पहिलो पटक वाइड बडी जहाजले लामो गन्तब्यको उडान भर्न लागेको हो । मलेसिया ट्रान्जिट हुँदै अस्ट्रेलिया सम्मको यो उडान करिब १३ घण्टाको हुनेछ ।

आरए उडान नं ४१३१ को वाइड बडी जहाजले अस्ट्रेलिया र न्यूजिल्याण्डका नागरिकका निम्ति उद्धार उडान गर्न लागेको निगमका अपरेशन विभाग प्रमुख दिपु जहार्चनले बताए । उनले छ जना चालक दलसहित २४ जनाको सञ्चालन टोली र २५० यात्रुसहितको उक्त उडान फेरी क्वालालम्पुर हँुदै बिहीबार राति नेपाल अवतरण गर्ने तालिका रहेको जानकारी दिए ।

वाइड बडी जहाज बिहीबार राति १०ः५० बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । निगमले बिहिबार चीनको ग्वाङ्जाओ गन्तब्यमा कार्गो उडान गर्दैछ । चीनबाट कोभिड–१९ का लागि आवश्यक औषधि र उपकरण ल्याउन व्यवसायीले निगमको वाइड बडी जहाज चार्टर्ड गरेको बताइएको छ ।––रासस

कोरोनाभाइरस : विश्वमा ४२ हजार ३४४ को मृत्यु र आठ लाख ६० हजार १६६ संक्रमित (अपडेट)

एजेन्सी, अप्रिल १

कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको विश्वव्यापीे प्रकोपका कारण बुधबारसम्म विश्वभर मृत्यु हुनेको संख्या ४४ हजार १५० पुगेको छ । संंसारभर आठ लाख ८२ हजार ७८१ जना कोरोना भाइरसबाट संक्रमित बनेका विभिन्न मुलुकबाट एएनआईलाई प्राप्त तथ्याङ्कमा उल्लेख गरिएको छ ।

कोरोनाभाइरस संक्रमणबाट सर्वाधिक प्रभावित बनेको इटलीमा एक लाख ५ हजार ७९२ कुल संक्रमित भएका छन् भने १२ हजार ४२८ को मृत्यु भएको छ । यसैबीच १५ हजार ७२९ निको भएर फर्किएका छन् ।

स्पेनमा एक लाख दुई हजार १३६ कुल संक्रमित भएका छन् भने नौ हजार ५३ को मृत्यु भएको छ । यसैबीच १९ हजार २५९ निको भएर फर्किएका छन् ।

संयुक्तराज्य अमेरिकामा एक लाख ८८ हजार ८८१ कुल संक्रमित भएका छन् भने चार हजार ६६ को मृत्यु भएको छ भने सात हजार २५१ निको भएर फर्किएका छन् ।
चीनमा ८१ हजार ५५४ कुल संक्रमित भएका छन् भने तीन हजार ३१२ को मृत्यु भएको छ । यहाँ निको भएर घर फर्किनेको संख्या ७६ हजार २३८रहेका छन् ।

फ्रान्समा ५२ हजार १२८ कुल संक्रमित भएका छन् भने तीन हजार ५२३ को मृत्यु भएको छ । इरानमा ४७ हजार ५९३ कुल सङ्क्रमित भएका छन् भने तीन हजार व्यक्तिको मृत्यु भएको छ ।

बेलायतमा २९ हजार ४७४ कुल सङ्क्रमित भएका छन् भने, दुई हजार ३५२ को मृत्यु भएको छ । बेलायतमा निको भएर घर फर्किनेको सङ्ख्या १३५ मात्रै रहेको छ ।
जर्मनीमा ७३ हजार २१७ कुल सङ्क्रमित भएका छन् भने ८०२ को मृत्यु भएको छ । यसैबीच १६ हजार १०० निको भएको बताइएको छ ।

यस्तै दक्षिण एशियाली मुलुक पाकिस्तानमा दुई हजार ७१ जनामा संक्रमण रहेको छ भने भारतमा एक हजार ६३७ संक्रमित भएका छन् । भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ रहेको छ भने पाकिस्तानमा २६ जनाको मृत्यु भएको छ । अन्य दक्षिण एशियाली मुलुकमा भने संक्रमण संख्या न्यून देखिएको छ ।––एजेन्सी

डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर १० ले घट्यो

काठमाडौं,अप्रिल १

नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टीतेलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १०रुपैयाका दरले घटाएको छ । अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै निगमले पनि इन्धनको मूल्य घटाएको हो ।घटेको मूल्य बुधबार राति १२ः०० बजेदेखि लागू हुनेछ ।

निगमले डिजेल तथा मट्टीतेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर ८५ र पेट्रोलको बिक्री मूल्य प्रतिलिटर ९६ रुपैया तोकेको छ । हवाई इन्धन (आन्तरिक उडानतर्फ) प्रतिलिटर रु १५ ले मूल्य समायोजन गरिएको छ । निगमले आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर रु ७५ तोकेको छ ।

यस्तै बाह्य उडानतर्फ हवाई इन्धनको मूल्य ०.९५ अमेरिकी डलर तोकिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । एलपी ग्यासको मूल्य हाललाई यथावत राखिएको छ ।

भारतीय नागरिकलाई व्यवस्थित क्वारेन्टाइनमा

बुटबल,अप्रिल १

नेपालका विभिन्न क्षेत्रमा मजदूरी गरी बसेका भारतीय नागरिकलाई प्रशासनले उद्दार गरी क्वारेन्टाइनमा राखेको छ । महामारीका रुपमा विश्वभरनै फैलिएको  कोरोना भाइरस (कोभिड–१९) संक्रमण नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनका बेला निस्किएका भारतीय मजदूरलाई रुपन्देही जिल्ला प्रशासनले उद्दार गरी क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेको हो ।

भारतका विभिन्न क्षेत्रका स्थायी बासिन्दा रहेका १५० भन्दाबढी मजदूरलाई लकडाउनको समयमा भारततर्फ जाँदै गरेको अवस्थामा नेपाल–भारत सीमा क्षेत्रबाट उद्धार गरेर भैरहवास्थित निमा–प्रतिमा प्राविधिक शिक्षालयमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएको छ । उद्धार गरिएका मजदूरमा १४ जना महिला र अन्य पुरुष रहेका छन् ।
क्वारेन्टाइनमा प्रवेश गर्नु अघि उनीहरु सबैको स्वास्थ्य जाँच गरिएको थियो । उनीहरुको नियमित स्वास्थ्य जाँचका लागि क्वारेन्टाइनमा व्यवस्थासमेत गरिएको छ । तीन तलाको कलेज भवनका कोठामा उनीहरुलाई व्यवस्थित तरिकाले राखिएको प्रमुख जिल्ला अधिकारी महादेव पन्तले जानकारी दिए ।

क्वारेन्टाइनमा रहेका भारतीय नागरिकको सुरक्षासमेतलाई मध्यनजर राख्दै क्वारेन्टाइनमा नेपाली सेनालाई सुरक्षाको जिम्मा दिइएको प्रमुख जिल्ला अधिकारी पन्तले जानकारी दिए । त्यस्तै उनीहरुको सम्पूर्ण खानपिनको व्यवस्था सिद्धार्थनगर नगरपालिकाले व्यवस्थापन गरेको नगरपालिकाका कार्यकारी प्रमुख तुल्सीराम मरासिनीले जानकारी दिए ।

क्वारेन्टाइनमा बसेका भारत बिहारका रविन मोदीले आफु भारतबाट रेल चढेर नेपाल–भारत सीमादेखि झण्डै आठ किलोमिटर नौतनवा आएको र त्यहाँबाट पैदलै नेपालसम्म आउँदा प्रहरीले समातेर क्वारेन्टाइनमा ल्याएको बताए । उनले आफुलाई के कारणले क्वारेन्टाइनमा ल्याइयो भन्ने कुनै जानकारी नभए पनि यहाँको व्यवस्थापन र व्यवहार भने सन्तोषजनक रहेको बताए ।

यस्तै भारतको गोरखपुरका बाबुलाल साहानी काठमाडाँै बाफलस्थित गार्मेन्ट उद्योगमा कपडा सिलाउने काम गर्दै आएकामा सबै बन्द भएपछि घर जान काठमाडौँबाट पैदलै सीमा क्षेत्रमा पुग्दा सीमापार गर्न भारतीय सुरक्षाकर्मीले रोकेपछि नेपाल प्रहरीले उद्धार गरेर क्वारेन्टाइनमा ल्याएको बताए । साहानीसहित काठमाडौँमा सिलाइको काम गर्दै आएका २८ जनाको टोली पैदलै सीमाक्षेत्रमा आइपुगेको थियो । क्वारेन्टाइनमा आवास र खानपिनको व्यवस्थापन व्यवस्थित गरिएको उनीहरुको भनाइ छ ।

भैरहवास्थित एक फर्निचर कारखानामा रङ्गरोगनको काम गर्दै आएका भारत उत्तर प्रदेश देवरियाका साधु यादव आफुसँगै काम गर्ने अन्य दुई जना सहकर्मीसहित भारतस्थित घरमा जानलाग्दा रोकिएको बताउछन् । उक्त क्वारेन्टाइनमा राखिएका भारतीय नागरिकको अवस्था बारे बुधबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभाका प्रमुख सचेतक भुमिश्वर ढकालले निरीक्षण गरे । त्यस अवसरमा प्रमुख जिल्ला अधिकारी पन्तलगायत सुरक्षा निकायका अधिकारीको सहभागिता रहेको थियो ।

प्रमुख सचेतक ढकालले महामारीको संक्रमणका बेला नियन्त्रणका लागि भारतीय नागरिकलाई नेपालमा क्वारेन्टाइनमा रहँदासम्म सम्पूर्ण व्यवस्थापन नेपाल सरकारले गर्ने बताए । प्रजिअ अधिकारी पन्तले भारतीय नागरिकको सम्पूर्ण व्यवस्थापन, स्वास्थ्य र सुरक्षाको व्यवस्थापन गरिएको बताए ।––रासस

औषधिजन्य सामग्री ल्याउने कम्पनीसंँगको सम्झौता रद्द

काठमाडौं,अप्रिल १

सरकारले कोभिड १९ को रोकथाम र नियन्त्रणका लागि चीनबाट औषधिजन्य सामग्री ल्याउने भनिएको कम्पनीसँगको सम्झौता रद्द गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको पत्रकार सम्मेलनमा स्वास्थ्य विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले सम्झौतानुसार सामग्री ल्याउन नसक्ने भएपछि ओम्नी बिजनेस कर्पोरेट इन्टरनेशनल प्रालि (ओबिसिआई)संँगको सम्झौता रद्द गरिएको जानकारी दिए ।

‘हामीलाई उक्त कम्पनीले भनेको समयमा औषधिजन्य सामग्री ल्याउन नसक्ने जनाएको छ’, उनले भने, ‘त्यसैले उक्त कम्पनीसंँग औषधि ल्याउने सहमति रद्द गरिएको हो ।’ उहाँले सम्झौतानुसार उक्त कम्पनीले १८ प्रतिशत रकम खर्च गरेर १० प्रतिशत मात्र औषधि ल्याएको जानकारी दिए ।

उनले सहमतिअनुसार औषधि नल्याएको हुनाले उक्त कम्पनीको धरौटी जफत गर्नाका साथै कालोसूचीमा राख्नका लागि सम्बन्धित निकायलाई अनुरोधसमेत गरिने जानकारी दिए । महानिर्देशक श्रेष्ठले अहिले संकटका बेला उक्त कम्पनीमार्फत ल्याइएको सामग्रीमा २० प्रतिशतभन्दा बढी मूल्य परेकोसमेत स्वीकार गरे ।

उक्त कम्पनीसँंग केही दिनअघि मात्र द्रुतगतिमा औषधि ल्याइने सम्झौता भएको थियो । उक्त सम्झौतानुसार गत आइतबार कम्पनीले कोभिड १९ को रोकथाम र नियन्त्रणका लागि औषधिजन्य सामग्री ल्याएको थियो ।

उनले उक्त कम्पनीसँंगको सम्झौता रद्द गरेर पुनः बिहीबारदेखि अर्को सम्झौताका लागि प्रक्रिया थालिने जानकारी दिए । उनका अनुसार तीन दिनको बोलपत्र आह्वान निकालेर पाँच दिनभित्र औषधिजन्य सामग्री ल्याउने मन्त्रालयको तयारी छ । ‘अहिलेलाई हामीसंँग पर्याप्त मात्रामा पुग्ने औषधि रहेको छ’, उनले भने ,‘बिरामीको स्वास्थ्यको उपचार गर्न संलग्न चिकित्सक र स्वास्थ्यकर्मीलाई हामी प्रशस्त औषधिजन्य उपकरण दिन सक्छाँ।’

कोरोनाका १ हजार १ सय ३३ बिरामीको नमुना परीक्षण

काठमाडौं,अप्रिल १

कोभिड १९ को आशंकामा बुधबार सम्म १ हजार १ सय ३३ को नमुना परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रनालयका प्रवक्ता डाक्टर विकास देवकोटाले मुलुकभर अहिले सम्म १ हजार १ सय ३३ को नमुना परीक्षण गरिएको जानकारी दिए ।

उनले कोरोना भाइरसका पोजेटिभ केस सँग सम्पर्कमा रहेका तथा नजिकका आफन्तको पछिल्ला नमुना परीक्षण नेगेटिभ आएको बताए । उनले कोरोना संक्रमणको पोजेटिभ देखिएका केसको अहिले सम्म ८४ प्रतिशत काम सम्पन्न भएको पनि जानकारी गराए ।

डाक्टर देवकोटाका अनुसार, धनगढीको कोरोना पोजेटिभ देखिएका व्यक्तिको परिवार, नजिकको सम्पर्कमा रहेका व्यक्तिहरुको नमुना संकलन भईसकेको र परीक्षणको क्रममा रहेको छ । डाक्टर देवकोटाले महामारी नियन्त्रण तथा रोकथाममा कन्ट्रायाक्ट टे«ेसिङ अत्यन्तै महत्वपुर्ण भएकाले विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम पोजेटिभ देखिएका व्यक्तिको परिवार तथा नजिकको सम्पर्कमा रहेका व्यक्तिहरुलाई क्वारेन्टाईनमा राखेर आवश्यकता अनुसार नमुना परीक्षण गर्ने गरिएको उल्लेख गरे ।

उनले धनगढीको कोरोना पोजेटिभको केसमा संकलित १२ जनाको नमुना परीक्षणको क्रममा रहेको जानकारी दिए । देवकोटाले कोरोना भाइरसको आशंका गरिएका ९९ जना अहिले काठमाण्डौ लगायत विभिन्न प्रदेशका आइसोलेसन वार्डमा उपचाररत रहेको जानकारी पनि दिए ।

डाक्टर देवकोटाका अनुसार, काठमाण्डौ बाहिरको प्रयोगशाला विस्तारको काम तिब्र गतिमा भईरहेको छ । उनले पोखरामा परीक्षण सुरु भएको र ४ वटा परीक्षण रन भईरहेको , धरानमा १२ वटा नमुनाको परीक्षण रन भईरहेको तथा हेटौडामा बुधबार साझ सम्म परीक्षणको काम सुरु हुने बताए ।

उनले हाल सम्म मन्त्रालयको निशुल्क कल सेन्टरमा ६ हजार ९ सय भन्दा बढी कलहरु आएको तथा गत २४ घण्टामा आएका २ हजार ३ सय २३ वटा कलको सम्बोधन भईसकेको समेत जानकारी दिए ।

नेपाल ग्याँसको ६ स्थानबाट सिलिण्डर वितरण तयारी

काठमाडौं,मार्च ३१

कोरोना भाइरस संक्रमणलाई ध्यानमा राखी नेपाल ग्यास उद्योगले बुधबारदेखि ६ स्थानबाट ग्यास वितरण थालेको छ । नेपाल ग्यासको अभाव धेरै भएको गुनासो आएपछि उपभोक्ताको गुनासो सम्बोधन गर्दै बालाजु औद्योगिक क्षेत्रबाहेक नयाँ क्षेत्रमा ग्यास वितरणको तयारी भएको कम्पनीले जनाएको छ ।

नेपाल ग्यास कम्पनीका कार्यकारी निर्देशक गोकुल भण्डारीले उपभोक्ताको गुनासोलाइ मध्यनजर गर्दै अनुसार अतिरिक्त रुपमा आधा दर्जन स्थानमा तीन दिनसम्म ग्याँस वितरण गर्न लागिएको बताए । उनका अनुसार काठमाडौँ उपत्यकाका ६ स्थानमा मिलाएर तीन दिनसम्म ग्यास वितरण गरिनेछ ।

‘यस परिस्थितिमा अति आवश्यक रहेका तथा तोकिएका बिक्री केन्द्रमा जान नसकेका उपभोक्तालाई ध्यानमा राखी हामीले ग्यास वितरण गर्न लागेका हौँ’, उनले भने । ‘तीन दिनमा दुईदुई स्थानबाट एकैचोटि ग्यास वितरण गर्नैछौँ, दुई स्थानमा हामीले ५६० वटासम्म सिलिण्डर वितरणको तयारी गरेका छौँ ।’

बुधबार बिहान १० बजे सुरक्षाकर्मीका साथमा चाबहिल चोक र बाफल चोक, बिहीबार कोटेश्वर चोक र बानियाँटार चोक तथा शुक्रबार भनिमण्डल चोक र महाराजगञ्ज चोकवाट ग्यास सिलिण्डर वितरण गरिनेछ ।––रासस

पुर्नकर्जा कोषको सीमा बढ्यो, कोरोना प्रभाव कम गर्न केन्द्रीय बैंकले ल्यायो यस्तो सुविधा

काठमाडौं,मार्च ३०

पुर्नकर्जा कोषको सीमा बढेको छ । केन्द्रीय बैंकले कोरोनाको प्रभावका कारण मुलुकको अर्थव्यवस्थामा परेको प्रभावलाई न्यूनीकरण गर्ने लक्ष्यका साथ उक्त कोषको सीमा बढाएको हो । यसअघि पुर्नकर्जा कोष ५० अर्बको रहेकामा त्यसलाई १० अर्बले बढाएर ६० अर्ब रुपैया पु¥याइएको हो ।

‘गोरखा भूकम्प’को समयमा केन्द्रीय बैंकले पुर्नकर्जा कोष स्थापना गरेको थियो । कोरोनाको संक्रमणको जोखिमका कारण मुलुकको अर्थतन्त्रमा परेको प्रभावलाई कम गर्ने लक्ष्यका साथ केन्द्रीय बैंकले केही महत्वपूर्ण निर्णय गरेको छ । कोरोनाको असर कम गर्न र संक्रमण फैलन नदिन सरकारले साताव्यापी लकडाउन गरेको छ । भारतमा २१ दिनको लकडाउन छ ।

लकडाउनका कारण उद्योग व्यवसाय तथा समग्र क्षेत्रमा नै प्रभाव परेको छ । दैनिक ज्यालादारीदेखि आमनेपालीलाई समेत त्यसले प्रभाव पारेको छ । बैंकले विश्वव्यापी रुपमा फैलिएको कोरोनाको महामारीका कारण उत्पन्न असहज परिस्थितिबाट मुलुकको पर्यटन, उद्योग, व्यापार व्यवसाय तथा वित्तीय क्षेत्रसमेत प्रभावित भएकाले केही महत्वपूर्ण निर्णय गरेको हो । बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालका अनुसार क, ख र ग वर्गका बैंकले कायम गर्नुपर्ने अनिवार्य नगद मौज्दात कूल निक्षेप दायित्वको तीन प्रतिशत कायम गरिएको छ ।

यस्तै केन्द्रीय बैंकले इजाजत प्राप्त संस्थालाई प्रचलित ऐनमा भएको व्यवस्थाअनुसार उपलब्ध गराउने कर्जाको ब्याजदर पाँच प्रतिशत कायम गरिएको छ । यही चैत महिनामा असुल गर्नुपर्ने मासिक, त्रैमासिक किस्ताको भुक्तानी २०७७ असार मसान्तसम्म हुने व्यवस्था मिलाउन बैंकले सबै बैंक तथा वित्तीय संस्थालाई अनिवार्य निर्देशन दिएको छ । सो किस्ताको हकमा कुनै किसिमको थप शुल्क वा हर्जाना लिन पाइने छैन । किस्ता असुल नभएको कारणले कर्जालाई तल्लो वर्गमा वर्गीकरण गर्न पाइने छैन ।

यही महिनामा नवीकरण गर्नुपर्ने कर्जा नवीकरण नभएको आधारमा चैत मसान्तमा सूक्ष्म निगरानी वर्गको वर्गीकरण गर्न अनिवार्य नहुने व्यवस्थासमेत गरिएको छ । यही महिनामा भुक्तानी गर्नुपर्ने अल्पकालीन प्रकृतिका कर्जाको भुक्तानी अवधि ६० दिनसम्म थप गर्नुपर्ने छ । गत पुस मसान्तसम्म ब्याज तथा साँवा भुक्तानी गरिरहेका पर्यटन तथा यातायात क्षेत्रका ऋणिले अल्पकालीन कर्जाको माग गरेमा साँवा तथा ब्याज बक्यौता रहेता पनि आवश्यकतानुसार निश्चित सीमासम्म संक्षिप्त प्रक्रिया अपनाई पाँच दिनभित्र कर्जा प्रवाह गर्नुपर्नेछ । यस्तो सीमा स्वीकृत गर्दा ०.२५ प्रतिशतभन्दा बढी शुल्क लिन पाइने छैन ।

विद्युतीय कारोबारलाई थप प्रभावकारी बनाउन र बढीभन्दा बढी सेवाग्राहीको पहुँच बढाउनका लागि सेवा शुरु गर्ने, पासवर्ड परिवर्तन गर्ने, पिन नम्बर दिने तथा अन्य सुविधाका लागि अनलाइन कारोबार गर्न आवश्यक पर्ने कार्यका लागि जोखिम व्यवस्थापन गरी ग्राहकको टेलिफोन तथा इमेलमार्फत प्राप्त भएका अनुरोधलाई तत्काल स्वीकार गरी विद्युतीय माध्यमबाट हुने कारोबारलाई प्रोत्साहित गर्नुपर्नेछ । आगामी असार मसान्तसम्म यस्तो सेवा प्रदान गर्दा कुनै पनि शुल्क लिन पाइने छैन ।

बैंक तथा वित्तीय संस्थाले सङ्घ, प्रदेशमा स्थापना भएका कोरोना सङ्क्रमण रोगथाम, नियन्त्रण र उपचार कोषमा योगदान गरेको रकम सामाजिक उत्तरदायित्व कोषमा गणना गर्न सकिनेछ । यस्तै कोरोनाका कारण वित्तीय प्रणालीमा परेको प्रभावलाई मध्यनजर गरेर चैत महिनामा पालना गर्नुपर्ने केही नियमाकीय वा सुपरीवक्षेण अनुपात अनुपालना नभए पनि कुनै हर्जाना नलाग्ने व्यवस्था गरिएको छ ।

कोरोनाका कारण प्रभावित भएका साना तथा मझौला उद्यमीलाई पुर्नकर्जा प्रदान गर्नुपर्नेछ र त्यस्तो कर्जा दिँदा त्यस्ता उद्यमीलाई प्राथमिकता दिनुपर्नेछ । त्यस्तो सुविधा चालु पूँजीकर्जाका लागिसमेत उपलब्ध गराउनुपर्नेछ । वैदेशिक रोजगारमा जान अनुमति लिई जान नपाएका व्यक्तिले सङ्क्रमणको जोखिम समाप्त भएपछि सहुलियतपूर्णक कर्जा लिई उद्योग व्यवसाय सञ्चालन गर्न निवेदन दिएको सात दिनभित्र सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने व्यवस्था अनिवार्य गरिएको कार्यकारी निर्देशक ढकालले जानकारी दिए ।

भुटानमा पनि ‘लकडाउन’ को अवधि २१ दिने बनाइयो

थिम्पु,मार्च ३०

भुटानमा लकडाउनको अवधि बढाएर २१ दिने बनाइएको छ । सोमवार घोषणा गरेको २१ दिने लकडाउन मंगलवारदेखी लागु हुनेभएको छ।
भुटानका प्रधानमन्त्रीको आधिकारीक ट्वीटर एकाउन्टमा सरकारले २१ दिने लकडाउन गर्ने निर्णय गरेको उल्लेख छ । उच्च सर्तकताका लागि लकडाउन अत्यावश्यक बाध्यता बनेको प्रधानमन्त्रीको भनाइ छ ।

भुपरिवेष्ठित मुलुक भुटानमा कोरोना भाइरसको संक्रमण थप बढ्ने सम्भावनालाई मध्यनजर गर्दै २१ दिने लकडाउन घोषणा गरिएको हो ।भुटानमा सोमवारसम्म चार जनामा कोरोना भाइरसको संकमण पुष्टि भएको छ ।

अमेरिकाको जोन्स हकिन्स विश्वविद्यालयका अनुसार सबैभन्दा पहिलो बिरामी मार्च ५ मा भेटिएका थिए । ती व्यक्ति अमेरिकाका ७६ वर्षीय पर्यटक थिए । उनी भारतको आसामको समेत भ्रमण गरेर भुटान आएका थिए ।

Nepal news headlines | breaking news kathmandu | national news of nepal live