PROFILE

“त्यसबेला नोयडालाई मिनी नेपाल पनि भनिन्थ्यो”

एनआईबि संवाददाता, काठमाडौँ

सायद जिवनको अर्को नाम उत्साह हो। उत्साहले जिवन जिउन सकारात्मक उर्जा दिने भएकाले पनि जिवनमा उत्साह आवश्यक हुन्छ।

हामीले बाँची रहेको समयका शिक्षित युवा युवती देशमा केही गर्ने वातावरण नभएको भन्दै विदेशी रहेको अवस्थामा हामी माझ नै रहेर प्रतिकूलतालाई कसरी अनुकुलतामा परिणत गरेका मान्छे छन्। देशभित्रै केही उद्य्म गरेर आफूसँग समाजलाई रोजगारीको अवसर सिर्जना गर्ने प्रयास गर्ने मान्छे पनि यही छन्।

अथक मेहनत र जिवनप्रतिको उत्साहकै कारण ती व्यक्तिहरु अन्य व्यक्तिभन्दा पृथक छन्। यस्तै पृथक पात्रमध्ये कि हुन् उद्य्मी लक्ष्मी शर्मा।

हुर्कंदो उमेरमा जीवन यहाँसम्म पुग्ला भन्ने सायद सोचेकी थिइनन् लक्ष्मी शर्माले।

कहाँ दरबारकी सुसारे, कहाँ नारी जागरणकी अभियन्ता। तर साथ र संघर्षले फेरियो जीवन। उनीमात्र फेरिइनन्। बरु लागिन् सिंगो समाज बदल्नेतिर। अरु कसैले खनेको बाटोमा होइन आफैले बनाएको पथमा हिँडेकी हुन् उनी।

अहिले फर्केर हेर्दा आफै छक्क पर्छिन्– हिम्मत गरे मान्छेले जस्तोसुकै कहालीलाग्दो कठिनाइ पनि जित्दोरहेछ। यो त्यही परिवर्तनको कथा हो।

 

त्यसो त लक्ष्मीको जीवन नै बिब्ल्याँठाहरूको कथा हो। र, यो बिब्ल्याँठोको सुरुवात हुन्छ उनको जन्मसँगै।

देशमा प्रजातन्त्र आउनु भन्दा एक बर्ष अघि जन्मिइन् उनी काठमाडौं बसुन्धराको तामाङ परिवारमा। आमा अविवाहित नै थिइन्। कुमारी आमाकी छोरी भएर हुर्किइन् उनी। अविवाहित आमाको नामबाट नागरिकता दिन राज्यले अहिले पनि आनाकानी गरिरहेको छ भने त्यतिबेला उनकी आमाले कसरी हुर्काइन्, बढाइन् होला रु कल्पनामै कथा बुन्न सकिन्छ।

यसै त राज्यबाटै उपेक्षित तामाङ समुदाय। त्यसमा पनि कुमारी आमा। जुधिन् लक्ष्मीकी आमा समाजसँग, संसारसँग। मानिनन् हार। लक्ष्मी पाँच वर्षकी हुँदा बिहे गरिन् मगर केटासँग।

“लक्ष्मण थापा मगर थिए उनी”, धमिलो याद छ लक्ष्मीसँग।

सानो सपना थियो लक्ष्मीकी आमाको छोरीलाई पढाउने, लेखाउने। तर तीन दिनमै छुटाइदिइन् छोरीको पढाई। पढ्न पठाएकी छोरी साथीसँग पुतली खेल्न गएको भेटेपछि रिसाइन्। त्यतिमै रोकियो उनको पढाइ। सुन्दा अनौठो लाग्छ यो कथा। सानी छोरीले गुडिया खेल्दैमा पढाई नै त किन पो छुटाइन् होला र रु सायद थिए अरु केही कारण। बहाना पो त्यो त। तर, कहिल्यै सोधिनन् लक्ष्मीले आखिर के कारणले छुटाएकी थिइन् स्कुल रु सोध्ने मौकै पाइनन्। मौका हुने बेलामा त उनी दरबारमा थिइन्– तत्कालीन राजा त्रिभुवनकी बहिनी बुनुको दरबारमा।

 

६ वर्षकै उमेरमा स्कुले ढोका बन्द भएको थियो लक्ष्मीको। र खुलेको थियो दरबारको मुलद्वार। दरबारको चलन नै थियो, सानै उमेरदेखि केटीहरू भित्र्याउने र तालिम दिँदै जाने।

विद्यालयको ढोका बन्द हुँदा दरबारको खुलेको थियो। दरबारले केही त सिकाएको थियो। १६ वर्षे उमेरमा तत्कालीन अधिराजकुमारी बुनुको दरबारबाट निस्कँदा लक्ष्मीसामु अरु नभए पनि केही सीप थिए। सिकेकी थिइन् उनले ‘एलिट’ का घरको तौरतरिका। त्यही सीपलाई बजारमा पस्किइन् उनले।

विभिन्न देशका राजदूत र दुतावासका अधिकारीको घरमा घरेलु सहयोगी बन्न पुगिन् उनी। यो क्रम शुरू भएको थियो तत्कालीन रुसी कुटनीतिज्ञको घरबाट। मासिक ६० रुपैयाँ तलबमा लागेकी थिइन् काममा। ११ वर्षपछि यो काम छोड्दा उनी अमेरिकी दुतावासका अधिकारीको घरमा काम गर्दै थिइन्। त्यतिञ्जेल उनले बेलायत, फ्रान्स, इजरायल र इजिप्टका राजदूत वा दुतावासका अधिकारीको घरमा काम गरिसकेकी थिइन्।

यो संगतले उनलाई धेरथोक सिकायो। मान्छे चिनिन्। सम्बन्धहरू बने। सबभन्दा ठूलो उपलब्धि थियो भाषाको ज्ञान। अंग्रेजी राम्रै बुझ्ने, बोल्ने भइन् उनी। भाषाको यो ज्ञान अहिले खुब काम लागेको छ उनलाई।

लक्ष्मी भन्छिन्, “जुन सफलता मैले प्राप्त गरें, त्यो भाषाकै कारणले हो।”

 

पत्तै नपाई पहिलो
१० वर्ष दरबारमा। ११ वर्ष कुटनीतिज्ञका घरबारमा। २१ वर्ष त सक्किए अरुकै घरमा। उमेरले पनि २५ को नेटो काटिसकेको थियो।
“अब आफै केही गर्नुपर्छ भन्ने लाग्यो”, अतितको त्यो अठोट बडो गर्वले सुनाउँछिन् लक्ष्मी।

तर गर्ने के? सीप थिए केही। तर आफ्नो मालिक आफै हुनेगरी उभ्याउन पुग्दैनथ्यो। सीपको पूँजीले साथ नदिएपछि अलिअलि गरी जम्मा गरेको आर्थिक पूँजी प्रयोग गरिन्।

किनिन् टेम्पो। राखिन् एउटा ड्राईभर। अनि आफूले सिक्न थालिन् टेम्पो मर्मतको काम।
“टेम्पो मिस्त्री बन्ने सोचेकी थिएँ”, भन्दै गर्दा उनको अनुहार गर्वले उज्यालो हुन्छ। ड्राईभरले घोटाला गरेको थाहा पाएपछि मिस्त्री बन्ने सपना तुहियो।

“घोटाला गरेको थाहा पाएपछि आफैले चलाउन सिकेँ”, हाँस्दै सुनाइन् उनले, “म त एशियाकै पहिलो महिला टेम्पो चालक भइछु।”
आज काठमाडौं शहरमा करिब ६ सय महिला टेम्पो चलाइरहेका छन् र उदाहरण बनेका छन् दक्षिण एशियाभरि। यसको शुरूवात लक्ष्मीकै हिम्मतबाट भएको थियो। त्यसैले त पेशा छोडे पनि आफ्नो भूमिका बिर्सेकी छैनन् उनले। महिला टेम्पो चालकको हकहितका लागि विभिन्न मञ्चहरूमा लडिरहेकी हुन्छिन् उनी।

जे होस्, टेम्पो चालक भएपछि परिचय फेरियो लक्ष्मीको। पहिले उनी कसैको घरमा जागिरे थिइन्। अब आत्मनिर्भर महिला बनिन्। र बनिन् उदाहरण सबैको। केही समय त साथ दियो व्यवसायले पनि। एउटाबाट पाँच वटासम्म टेम्पो पुर्याइन। तर, पछि गएर टेम्पो व्यवसाय खासै फापेन। पुराना टेम्पो किनेकी थिइन्। पटक–पटक बिग्रिन थालेपछि खर्च ज्यादा आम्दानी कम भयो। ऋण लाग्न थाल्यो। अर्कोतर्पm छोरीहरूले पनि टेम्पो चालकको पेशा छोड्न आग्रह गरिरहन थाले।

“त्यो बेला मेरी माइली छोरी बुनु टेलिचलचित्र अभिनेत्री थिइन्, उनलाई कसैले तेरो आमा टेम्पो ड्राइभर हो भनेछ”, विगत सम्झदै उनी भन्छिन्, “सन्तानलाई आफू ठूलाबडाको सन्तान हुन पाए भन्ने लाग्नु स्वभाविक हो। छोरीकै आग्रहका कारण मैले टेम्पो व्यवसाय छाड्ने निधो गरेँ।”
टेम्पो व्यवसाय त छोडिन् तर केही न केही त गर्नु नै थियो। तीन छोरीको जिम्मेवारी जो थियो।

अधुरो साथ

सम्भवतः मान्छे युद्धमा परेको पर्खाल हो जहाँ गोलीले दिएका असंख्य चोट हुन्छन्। उसैगरी अनेकन् चोट बोकेर हिँडेको हुन्छ हरेक मान्छे। कति चोट गाढा हुन्छन्। कति फिका। कति चोटका कथा सुनाइन्छन्। कति लुकाइन्छन्। यस्तै एउटा चोट छ लक्ष्मीसँग पनि। चाहन्छिन् कसैले नकोट्याओस् त्यसको कथा। तर पनि छोडेकी छैनन् बोक्न त्यो चोट नाम पछाडि झुन्डिने थरमै भए पनि।

तामाङकी छोरी शर्मा कसरी रु प्रश्न त स्वभाविक नै थियो।

संक्षिप्त कथा सुनाइन् उनले सुनाउनै नपरे हुन्थ्यो जसरी। बिहे भयो काम गर्दागर्दै। तर दीर्घ रहेन त्यो साथ।

“जीवनमा सबै थोक बाँडे पनि मैले श्रीमान् बाँड्न सकिन”, लक्ष्मी भन्छिन्, “म बाहेक पनि अरु सम्बन्ध रहेको थाहा पाएपछि उनीसँग बस्नुको कुनै औचित्य देखिन मैले।”

यही संक्षिप्त वृतान्तमै थियो सिंगो महाभारत।

“श्रीमान छोडें, तर उनको एउटा चिनारी थर भने छोडिनँ”, यत्तिमै टुंगाइन् महाभारत।
त्यही अधुरो सम्बन्धले दिएका नासो थिए साथमा। पढाउनु थियो। हुर्काउनु थियो।

नयाँ पहिचानको जन्म

 

टेम्पो व्यवसायमै छँदा अमेरिकी दुतावासमा काम गर्दाताका चिनजान भएकी सुसेन नामकी महिला उनको सम्पर्कमा आइन्।

“उनको पद र पुरा नाम त मैले बिर्सिएँ, तर उनको  सहयोगले मैले भारतमा ८ महीना अवलोकन भ्रमण गर्ने मौका पाएँ”, लक्ष्मी सम्झन्छिन्।
भारतमा आठ महीना अध्ययन भ्रमण गरिन् उनले। त्यतिबेलै हस्तकलाका सामग्री कसरी बन्छन् भन्ने देखिन्।

“त्यो देखेपछि मनमा ठूलो उत्साह पलाएको थियो। नेपालमा पनि यो काम गर्न सकिन्छ भन्ने लाग्यो, एउटा उद्योगको जन्मकथा सुनाउँछिन् उनी।

शुरूमा सोचेकी थिइन् झारपात, काठबाट जे जस्तो सामग्री बन्छ, बनाउने, बेच्ने। तर साथीभाईले यसरी बनाएका समाग्री लामो समय नटिक्ने भएकाले वातावरणलाई असर नपुग्ने र लामो समयसम्म टिक्ने कच्चा पर्दाथको खोजी गर्न सुझाव दिए। साथीभाईको सुझाव मनासिब लाग्यो। त्यसैले योजना बनाइन् राँगा–भैंसीको हाड र सिङबाट टाँक बनाउने।

 

अनि जन्मियो– लक्ष्मी वुड एण्ड क्राफ्ट कम्पनी। ८ हजार रुपैयाँ ऋण लिएर थालेकी थिइन् उनले यो उद्योग।

उद्योग स्थापना गरेर मात्र पुग्दैनथ्यो। हरेक दिन कच्चा सामान चाहिन्थ्यो। तर कहाँबाट पाउनु सिङ र हाड रु धोबीखोला र विष्णुमती किनारमा फालिएका सिङ र हाड संकलन गर्न थालिन् उनले। उनी पो एक कदम अगाडि थिइन्, समाज त पछाडि नै थियो। पचाउँदैनथ्यो सजिलै। कुरा काट्थ्यो। त्यसमाथि प्रशासनको झमेला। रातिराति जान्थिन् उनी हाड बटुल्न।

“राति राति हाड संकलन गर्न जाँदा मानिसले पागल भइछ पनि भने, तर मैले हिम्मत हारिनँ”, संघर्षगाथा सुनाउँछिन् लक्ष्मी।

त्यहीँ संघर्षले उनलाई नयाँ पहिचान दियो। उनको उद्योगले उत्पादन गरेको टाँक विश्वभर फैलिन थाल्यो। र उनले पाइन् नयाँ नाम– टाँक रानी ९बटन क्विन०। सात हजारभन्दा बढी प्रकारका टाँक उत्पादन गरिसकेको छ उनको कम्पनिले।

कथा सुन्दा जति सहज छ, त्यति सहज थिएन व्यवसाय थाल्दा। उद्योग स्थापनाका लागि चाहिने आवश्यक पूँजी थिएन उनीसँग।

“ठूलो रकमका लागि बैंकले पत्याउने अवस्था थिएन। मसँग न घर थियो न जमिन। त्यसैले व्यक्तिगत ऋणमा व्यवसाय सञ्चालन गरें। यसरी लामो समय सञ्चालन गर्न अप्ठेरो हुने देखियो। पछि आमाले आधा रोपनीमा घर पनि भएको जमिन मेरो नाममा गरेपछि बैंकबाट ऋण पाउन केही सहज भयो”, सम्झन्छिन् उनी।

अटुट आँट र निरन्तरको मेहनतले सफल हुँदै गइन् लक्ष्मी। व्यवसायले लाभ दिन थालेपछि २०५५ सालमा उनले एउटा घर पनि बनाइन् महाराजगञ्जको दुई रोपनी जग्गामा। “यो घर मेरो कमाईको पहिलो उपलब्धि हो”, यसो भन्दै गर्दा गर्वले उज्यालो हुन्छ उनको अनुहार।

राजनीतिले गाँजेपछि

घर त बन्यो तर व्यवसायको ग्राफ ओरालो लाग्न थाल्यो।

 

“घर बनाएपछि शनिको कूदृष्टि म माथि पर्यो”, आफ्नो कमाईले बनाएको पहिलो घर देखाउँदै उनी भन्छिन्, “यो घर बनाएपछि व्यवसायमा ठूलो नोक्सानी व्यहोर्नु पर्यो।”

ओरालो लाग्नुको कारण थियो राजनीति। देशमा सशस्त्र द्वन्द्व चर्किएको थियो। कुरा हुन्थ्यो बन्दुकको भाषामा। हाल एक भएका दुई कम्युनिष्ट पार्टीका ट्रेड युनियनको आँखा लाग्यो उनको व्यवसायमा। लाखौं डलरको नोक्सानी व्यहोर्नुपर्यो उनले।

ती दिन सम्झँदा उनका आँखा रसाउँछन्। ट्रेड युनियनले पारेको नोक्सानी आजसम्म भरथेग गर्न सकेकी छैनन् उनले। बरु देख्छिन् उतिबेला मजदुर नेता भइखाएका एक अनुहार अहिले देशकै चर्चित भएका छन्। देशको आर्थिक विकासका लागि कलकारखानामा लगानी गर्नुपर्ने भाषण दिँदै हिँड्छन्। सञ्चारमाध्यममा उनका भाषण सुन्दा औडाहा हुन्छ लक्ष्मीलाई।

“किताब लेख्दैछु ती सबैको कथा लेख्नेछु”, वाचा गरेकी छन् उनले।

 

सशस्त्र द्वन्द्वले नेपालको उद्योग जगतलाई पारेको असरको जिउँदो प्रमाण हुन् लक्ष्मी। नेपालमा काम गर्ने वातावरण नभएकाले त्यतिबेला ८२ वटा उद्योग भारतको नोयडामा सरेको बताउँछिन् उनी।

“त्यसबेला नोयडालाई मिनी नेपाल पनि भनिन्थ्यो”, उनी सम्झन्छिन्।

त्यतिबेला लक्ष्मीले पनि भारतको जयपुरमा ‘लक्ष्मी वुड एण्ड क्राफ्ट उद्योग’ स्थापना गरेकी थिइन्। तर समयक्रममा उनले विश्वास गरेका व्यक्तिले धोका दिए। “अहिले त्यो उद्योगको नाम र सञ्चालक रिजाल थर भएका व्यक्ति छन्”, एउटा उदास सुस्केरा सहित भन्छिन्, “अझै पनि त्यो उद्योगको प्यान नंम्बर मेरै नाममा छ।”

राजनीतिले गाँजेको उद्योग उठ्न सकेको छैन, अझै। कुनै दिन २५० मजदुरको रोजीरोटीको माध्यम थियो, अहिले पाँच छ जना मात्र छन्।

हरेश भने खाएकी छैनन् लक्ष्मीले। बरु गर्वका साथ भन्छिन्, “आज ठमेलमा रहेको हस्तकलाको बजारको आधा हिस्सा हामीसँगै काम गरेका मानिसले लिएका छन्।”

हाड, सिङको काम गर्न पहिला जस्तो सजिलो नभएको लक्ष्मीको अनुभव छ। पहिला गोटाको हिसाबमा पाइने सामान आज टेन्डर गरेर लिनुपर्ने अवस्था छ। त्यसमाथि प्रशोधन केन्द्र पनि छैन। प्रशोधन गर्न भारत पठाउनुपर्छ। त्यही सामान प्रशोधनपछि नेपाल आउँदा लागत बढ्छ। यद्यपि जेनतेन उद्योग चलाइरहेकी छन्। बजारमा उनको उपस्थिति त्यतिसाह्रो कमजोर पनि छैन।

अभियन्ता अवतार

अब उद्यमी परिचयमा मात्र सिमित छैनिन् लक्ष्मी। देशविदेशबाट उनलाई विभिन्न कार्यक्रममा बोलाउन थालिएको छ। सबैको प्रेरणा स्रोत भएकी छन् उनी। आफ्ना अनुभव बाँड्न अमेरिका, थाइल्यान्ड, दक्षिण कोरिया लगायतका देशमा पुगिसकेकी छन् उनी।

 

भन्छिन्, “अब उद्यममा मात्र सिमित छैन। मेरो उद्योग विस्तारै सेवा क्षेत्रमा पनि हात बढाउँदै छ।” जिन्दगीका सारा हन्डर–ठक्कर खाएर बढेकोले होला असफलता जहिल्यै अल्पकालिन हुन्छ उनको निम्ति। सपना सजाउने र त्यसका लागि संघर्ष गर्ने त बानी जो परिसकेको छ।

नेपालमा भारतको आईटेक सहयोगको ५५ वर्ष

एनआईबि संवाददाता, नयाँ दिल्ली

भारतले नेपाललाइ प्राविधिक तथा आर्थिक सहयोग(आईटेक) दिन शुरु गरेको ५५वर्ष लागेछ । यही अवसरमा भारतीय दूतावासले काठमाडौंमा ५५ औं भारतीय प्राविधिक तथा आर्थिक सहकार्य दिवस मनाएको छ । काठमाडौंको नक्साल स्थित होटल मेरियटमा आयोजित एक कार्यक्रमकाबीच मनाइएको कार्यक्रममा नेपाल सरकारका तर्फबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित तथा नेपालकालागि भारतीय राजदूत मन्जीव पुरी उपस्थित थिए ।

आईटेक सहयोग अन्तर्गत भारतले नेपाल सरकारका विभिन्न मन्त्रालय तथा विभागका कर्मचारीहरुलाइ विभिन्न विषयहरुमा तालिम दिदै आएको छ । जस अन्तर्गत कम्प्युटर, इन्जिनियरिङ्ग, सूचना प्रविधि, पत्रकारिता, बैंकिङ्ग, कानून निर्माण, उर्जा, जनशक्ति अध्ययन, शिक्षा, महिला सशक्तिकरण, जलविज्ञान, कानून प्रर्वतन, व्यवसाय योजना तथा प्रवर्धन, लेखा र वाणिज्य जस्ता विषयहरु समावेश गरिएको छ ।

राजदूत पुरीले सरकारका विभिन्न मन्त्रालय तथा विभागका वरिष्ठ अधिकारी एवम् अन्य कर्मचारीहरुको सीप र क्षमता अभिवृद्धि तथा मानव संसाधनको विकासमा आइटेक कार्यक्रमले सहयोगी भुमिका खेलेको बताए । भारतका प्रमुख संस्थाहरुमा प्रशिक्षण दिने गरि कार्यक्रमको स्वरुप तयार गरिएको छ ।

यो कार्यक्रम अन्तर्गत यो वर्ष अर्थ मन्त्रालयका ६२ कर्मचारीले दिल्लीको सरकारी लेखा तथा वित्तिय संस्थान(आइएनजीएएफ)मा सार्वजानिक वित्त व्यवस्थापन विषया तालिम लिएका छन् । त्यसैगरि मार्चमा फरिदाबादस्थित भंसार, अप्रत्यक्ष कर तथा नार्कोटिक्स राष्ट्रिय एकेडेमी(एनएसीआईएन)मा नेपालका राजस्व अनुसंधान विभागका ५० कर्मचारीलाइ अनुसंधान तथा राजस्व चुहावट नियन्त्रण सम्बन्धी तालिम दिइएको थियो ।

यही संस्थामा ६० कर्मचारी ‘सम्पत्ति शुिद्धकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण’ बारे प्रशिक्षण लिइरहेका छन् । यसका साथै ३४ नेपाली जलस्रोत विज्ञहरु रुड्की स्थित आईआईटीमा सिंचाइ तथा जल व्यवस्थापन, जलविज्ञान, वैकल्पिक उर्जा र जलस्रोत विकास जस्ता प्राविधिक क्षेत्रहरुमा स्नातकोत्तर तहमा अध्ययन गरिरहेका छन् ।

नेपाल लगायत १सय६१ विकासशील राष्ट्रहरुमा भारत सरकारको ‘आइटेक कार्यक्रम’ सञ्चालित छ । समारोहमा आइटेकमा सहभागी भइसकेका १५० बढि पूर्व विद्यार्थीहरु सहभागी थिए ।

Nepal news headlines | breaking news kathmandu | national news of nepal live