NEPAL

युएईबाट १६८ स्वदेश फिर्ता

काठमाडौं, जुन ५

सरकारले म्यान्मासँगै शुक्रबार संयुक्त अरब इमिरेट्स (युएई) बाट पनि नागरिकको उद्धार गरेको छ । कोभिड–१९ को विश्वव्यापी सङ्मणका कारण उत्पन्न असहज अवस्थामा स्वदेश आउनैपर्ने परिस्थितिमा रहेका नेपालीलाई फर्काउने क्रममा शुक्रबार युएईमा अड्किएका १६८ नेपालीलाई स्वदेश फर्काएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका निर्देशक तथा प्रवक्ता देवचन्द्रलाल कर्णले उनीहरु एयर अरेबियाको एविवाई–१७५१ नम्बरको जहाजमार्फत साँझ ६ः०० बजे काठमाडौँ अवतरण गरेको जानकारी दिए । जहाजमा एउटा शवसमेत ल्याइएको छ ।

यसअघि शुक्रबार बिहान म्यान्माबाट त्यहीँका सेनाको एयरफोर्सको फोकर–६० को फ्लाइट नम्बर एमएएच–००३ बाट २६ नेपालीलाई स्वदेश फर्काएको थियो । उक्त विमानबाट दुई नेपालीसहित ४३ जना म्यान्मा गएका छन् ।

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसीएमसी) को समन्वयमा प्रभावित भएका नेपालीलाई प्राथमिकताका आधारमा नेपाल ल्याउन थालिएको हो । उनीहरुको आवश्यक व्यवस्थापन सिसीएमसीको निर्णयअनुसार हुन्छ ।

आज युएईबाट आएकामा प्रदेश नं १ का ४६, प्रदेश नं २ का २३, वाग्मती प्रदेशका ३७, गण्डकी प्रदेशका २३, प्रदेश नं ५ का २३, कर्णाली प्रदेशका चार र सुदूरपश्चिम प्रदेशका १२ जना रहेका छन् । उनीहरुलाई उपत्यकाको तोकिएको होल्डिङ सेन्टरमा लगिएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए ।

सरकारले काठमाडौँको यती पार्टी प्यालेस वसुन्धरा, स्काईजन पार्टी प्यालेस सुकेधारा र कुण्डलिनी पार्टी प्यालेस वसुन्धारालाई होल्डिङ सेन्टर बनाएको छ । जगेडाका रुपमा मिराकल पार्टी प्यालेस सुकेधारालाई तयारी अवस्थामा राखिएको छ । काठमाडौँमा रहेका होल्डिङ सेन्टरमा वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का नागरिकलाई छुट्टाछुट्टै रुपमा राखिनेछ ।

भक्तपुरमा एक हजार क्षमताका दुई पार्टी प्यालेसलाई होल्डिङ सेन्टर बनाइएको छ । जसमा सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित इम्पेरियर बैंक्वेट र मध्यपुरथिमि नगरपालिका–४ स्थित हेरिटेज बैंक्वेट रहेको छ । यहाँ प्रदेश नं १ र २ का नागरिकलाई छुट्टाछुट्टै रुपमा राखिने छ ।

ललितपुरमा ९०० जनाका लागि डिलाईट पार्टी भेन्यू महाक्ष्मीस्थान र मण्डला पार्टी भेन्यू खरिबोट ग्वार्काेमा होल्डिङ सेन्टर बनाइएको छ । जगेडाका रुपमा सिद्धार्थ कलेज धोबीघाट तयार पारिएको छ । यहाँ कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिक राखिने छन् ।

उद्धार गरिएकालाई प्रारम्भिक चरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जाँच गरेपछि उपत्यकाका तोकिएका ‘होल्डिङ सेन्टर’ मा राखिन्छ । त्यसपछि आवश्यक प्रक्रिया पूरा गरेर सम्बन्धित जिल्लाको क्वारेन्टिन वा सेल्फ क्वारेन्टिनमा पठाइन्छ । त्यसरी नजाँदासम्मका लागि सेन्टरमा उनीहरुको आवश्यक व्यवस्थापनको जिम्मा भने नेपाली सेनालाई दिइएको छ । उपत्यकाका तीन जिल्लामा झण्डै तीन हजार क्षमताका होल्डिङ सेन्टर निर्माण गरिएको छ ।

उद्धारका लागि प्रवेशाज्ञाको अवधि समाप्त भएका, रोजगारी गुमाएका विद्यार्थी, छोटो अवधिका लागि भ्रमणमा गएका व्यक्ति, तालीम तथा सेमिनारमा भाग लिन गएका कर्मचारी, आफन्तको मृत्यु भई काजकिरिया गर्न आउनुपर्ने व्यक्ति तथा उपचारका लागि गएका बिरामी, आममाफी पाएर आउन नपाएका, कोरोनाबाहेक अन्य कारणले अस्वस्थ रहेका, सुत्केरी तथा गर्भवती, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकतामा छन् ।––रासस

नेपालमा कोरोना भाइरसको औषधिको परीक्षण प्रक्रिया शुरु,विश्व स्वास्थ्य संगठनको चासो

हेटौडा,जुन ५

कोरोना भाइरसविरुद्ध औषधि तयार पारेको दाबी गर्ने त्रिभुवन विश्वविद्यालय, वन विज्ञान अध्ययन संस्थानका सहप्रा डा ललितकुमार दासले प्रदेशको सामाजिक विकास मन्त्रालयमार्फत आफूले तयार पारेको औषधिको परीक्षण प्रक्रिया थालेका छन् ।

उनले वाग्मती प्रदेशका सामाजिक विकास मन्त्रीको संयोजनमा शुक्रबारदेखि औषधिको औपचारिक तथा कानूनी परीक्षणको प्रक्रिया प्रारम्भ गरेका हुन । औषधिका सम्बन्धमा मन्त्री युवराज दुलालले आज प्रदेशका विज्ञ तथा देशका प्रतिष्ठित वैज्ञानिकसँग समेत छलफल गरेका थिए । छलफलपछि उक्त औषधिको औपचारिक परीक्षण प्रारम्भ गर्ने निर्णय भएको मन्त्री दुलालले जानकारी दिए ।

“अब नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मार्फत औषधिको परीक्षणलगायतको काम हुन्छ”, उनले भने । डा दासलाई प्रदेश सरकारको साथ रहने तथा सरकारका तर्फबाट सबै प्रकारको सहयोग रहने उनको भनाइ छ ।

आफूले तयार पारेको औषधिले कोरोना भाइरसविरुद्ध पूर्णरुपमा काम गर्ने जिकिर गर्ने डा दासका अनुसार उहाँले रोगको निदान गर्ने समूह र सङ्क्रमण हुन नदिने समूह गरी दुई भागमा नौ प्रकारका औषधि तयार पारेका हुन । सोमध्ये छ प्रकारका औषधिलाई संक्रमण लाग्न नदिन सुईका रुपमा प्रयोग गर्न सकिने तथा तीन प्रकारका औषधिलाई संक्रमण पछि उपचारका लागि र रोगको निदानका लागि प्रयोग गर्न सकिने उनको भनाइ छ ।

आफूले कोरोना भाइरसको बनावट त्यसका रसायनिक तथा अन्य गुणको अध्ययन गरेको र विभिन्न १५ प्रकारका वनस्पतिमार्फत त्यसलाई नष्ट गर्ने औषधि तयार पारेको उनको दाबी छ । डा दासले उक्त औषधिले कोरोना भाइरसको पहिलो पत्रमा हुने बोसो तथा प्रोटिनलाई समेत टुक्र्याउने र भाइरसलाई निष्क्रिय बनाउने बताए ।

द्रुत संक्रामक भाइरस भएकाले भाइरसलाई ल्याबमा ल्याएर परीक्षण नगरेको तर अन्य वैज्ञानिक परीक्षण गरेको उनको भनाइ छ । वर्षौंदेखि मानव जातिले विभिन्न तरिकामा प्रयोग गर्दै आएका वनस्पतिको प्रयोगबाट औषधि तयार भएकाले यसको प्रयोगबाट कुनै पनि प्रकारको ‘रियाक्सन’ नहुने तर कसैकसैमा सामान्य खालको एलर्जीसम्म हुनसक्ने डाक्टर दासको भनाइ छ ।

राससले पहिलोपटक समाचार प्रकाशन तथा प्रशारण गरेपछि डा दासको अनुसन्धान सार्वजनिक भएको थियो । समाचारपछि नेपालमै कोरोनाविरुद्ध औषधि पत्ता लागेको भन्दै देश विदेशमा चर्चा चलेको थियो । वनारस विश्वविद्यालयबाट रसायन शास्त्रमा विद्यावारिधि गरेका डा दास त्रिभुवन विश्वविद्यालय, वन विज्ञान अध्ययन संस्थान, हेटौँडा क्याम्पसमा प्राध्यापन गराउछन । बाराको कलैयाका स्थायी बासिन्दा डा दासले हेटौँडाकै मकवानपुर बहुमुखी क्याम्पस लगायतका शैक्षिक संस्थामा समेत अध्यापन गराउथे ।

यसैबीच, डा दासलार्ई विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओले कोरोनाविरुद्ध तयार पारेको औषधिलाई सुईमार्फत दिइने सुईका रुपमा मात्र नबनाएर खाने झोल सिरपका रुपमा समेत उत्पादन गर्न सुझाव दिएको छ । भिडियो कन्फेरेन्समार्फत कुराकानी गरेपछि स्वास्थ्य सङ्गठनले इमेलमार्फत उक्त सुझाव दिएको डाक्टर दासले जानकारी दिए । उनका अनुसार डब्लुएचओले १६ पृष्ठ लामो सुझाव तथा जिज्ञासा पठाएको छ ।

डा दासका सहयोगी अनुसान्धानकर्ता तथा संस्थानका प्राध्यापक वनस्पति शास्त्री दामोदर गैरेका अनुसार डब्लुएचओले सुईमार्फत औषधि दिँदा कतिपयलाई एलर्जी हुनसक्ने भएकाले खाने झोलका रुपमा तयार पार्न अनुरोध गरेको जानकारी दिए । गैरेका अनुसार डब्लुएचओले औषधिको कम्पोजिसनका बारेमा थाहा पाएपछि सकारात्मक प्रतिक्रिया दिएको छ । “डब्लुएचओले हामीलाई आवश्यक परे कति परिमाणमा औषधि तयार पार्न सक्छौँ भनेर समेत सोधेको छ”, उनले भने । –––रासस

लकडाउनमा पठनपाठनलाइ सहजीकरण बनाउन उच्चस्तरीय समिति र विज्ञहरुबीच छलफल

काठमाडौं,जुन ४

कोभिड १९(नोभल कोरोना भाइरस) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले बन्दाबन्दीमा पठनपाठनलाई पनि सहजिकरण गर्दै लैजाने सम्बन्धमा शिक्षा क्षेत्रका विज्ञ र सरोकारवालाहरुसंग परामर्श गरेको छ । विहिबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा भएको छलफलमा विज्ञहरुले बन्दाबन्दीमा अवरुद्ध भएको पठन पाठनका लागि विभिन्न विकल्प अघि बढाउन सुझाव दिएका छन् ।

जोखिमको स्तर हेरेर संभव हुने स्थानमा छिटो पठनपाठन सुचारु गराउने , संचालन गर्न नसकिने स्थानमा अनलाईन तथा टेलिभिजन क्लासको विकल्प खोज्न उनीहरुले सुझाव दिएका हुन् । उच्च माध्यमिक विद्यालय संघ हिसानका अध्यक्ष रमेश सिलवालले अवरुद्ध पठनपाठन संचालन, परीक्षा, भर्ना तथा भर्चुल क्लासका सम्बन्धमा नेपाली बैज्ञानिकले बनाएकानया आविश्कारलाई प्रमाणिकरण गर्न तथा खोज अनुसन्धानबाट आएका तथ्यांकलाई सम्पत्ति मानेर अगाडि बढाउन सुझाव दिएको बताए ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव नारायण प्रसाद विडारीले भर्चुल क्लास, विद्यार्थीको भौतिक उपस्थिति गराएर गरिने पठनपाठनका सम्बन्धमा सम्बन्धित क्षेत्रका विज्ञ र सरोकारवालाहरुबाट उच्चस्तरीय समितिले सुझाव लिएको बताए । उनले बन्दाबन्दीलाई व्यवस्थित गर्दै अनलाईन , टेलिभिजन, मोबाईलबाट पठनपाठन गर्नुको साथै मनोवैज्ञानिक प्रचार प्रशार गर्दै भौतिक उपस्थितिका साथ पठनपाठनको व्यवस्था मिलाउनुपर्ने सम्बन्धमा प्राप्त सुझावलाई लाई मस्यौदाको रुपमा मन्त्रीपरिषद् बैठकमा लगिने बताए ।

सरकारले लकडाउनको मोडल परिर्वतन गर्ने बताएसंगै केही दिन यता उच्चस्तरीय समितिले विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालासंग छलफल गर्दै आएको छ । समितिले यसअघि अर्थविद्, स्वास्थ्यकर्मी, उद्योगी व्यवसायी , विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतसंग छलफल गरिसकेको छ

नेपालीलाई फर्काउन एनआरएनएका सबै शाखा तयारी अवस्थामा

नेपालमा एकैदिनमा ३३४ मा संक्रमण, संक्रमितको संख्या २६सय३४, १० जनाको निधन

काठमाडौं,जुन ४

देशभरका विभिन्न स्वास्थ्य प्रयोगशालामा गरिएको पछिल्लो परीक्षणमा थप ३३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा थप ३३४ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । यो एकै दिनमा संक्रमण भएको अहिले सम्मकै बढी संख्या हो । यससँगै कुल संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेको छ ।

मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले पछिल्लो २४ घण्टामा २ हजार ४ सय ५० जना पुरुस र १ सय ८४ जना महिला गरी ३ सय ३४ जनामा संक्रमण देखिएको जानकारी दिए ।

यस्तै कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको छ । प्रवक्ता देवकोटाले पाच दिन अघि भारतबाट आएका पाल्पा जिल्ला पूर्वखोला गाउँपालिकाका एक जना पुरुसको तानसेन स्थिति मिसन अस्पतालमा जेठ २० गते मृत्यु भएको र स्वाब परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको बताए ।

मन्त्रालयका अनुसार अहिले सम्म कुल ८४ हजार १ सय ३४ पीसीआर टेस्ट र १ लाख २५ हजार ५ सय ६४ आरडीटी परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ८ सय ६७ पीसीआर परीक्षण र ५ हजार १ सय ८५ आरडिटी परीक्षण गरिएको छ ।

अहिले सम्म २ सय ९० जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा नारायणी अस्पताल विरगंजबाट ५ जना र कलैया अस्पतालबाट ७ जनागरी १२ जना संक्रमित निको भइ डिस्चार्ज भएका हुन् ।

विदेशबाट उद्धार गरिएकालाई राख्न उपत्यकामा सात ‘होल्डिङ सेन्टर’ तयार

काठमाडौं,जुन ४

विदेशबाट उद्धार गरेर ल्याइने नागरिकलाई राख्न उपत्यकामा सात ‘होल्डिङ सेन्टर’ तयार गरिएका छन् । दुई भने जगेडामा राखिएका छन् । विदशेबाट आएर सम्बन्धित जिल्लाको क्वारेन्टिन वा सेल्फ क्वारेन्टिनमा नजाँदासम्म बस्ने स्थान (होल्डिङ सेन्टर) झण्डै तीन हजार क्षमताको बनाइएको छ ।

सरकारले कोभिड–१९ को विश्वव्यापी संक्रमणका कारण उत्पन्न असहज अवस्थामा स्वदेश आउनैपर्ने परिस्थितिमा रहेका नेपाली शुक्रबारदेखि नेपाल फर्काउँदैछ ।
काठमाडौँमा तीन, ललितपुरमा दुई र भक्तपुरमा दुई सेन्टर निर्माण गरिएको छ । काठमाडौँ र ललितपुरमा दुई होल्डिङ सेन्टर आवश्यक पर्दा प्रयोग गर्ने गरी जगेडामा तयारी अवस्थामा राखिएको छ । काठमाडौँ र भक्तपुरमा एक/एक हजार क्षमताका बनाइएको छ भने ललितपुरमा ९०० क्षमताका छन् ।

सबै होल्डिङ सेन्टरको व्यवस्थापनको जिम्मेवारी भने नेपाली सेनालाई दिइएको छ । नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले सेन्टरको आवश्यक तयारी पुरा भइसकेको जानकारी दिए । अन्य निकायको सहयोगमा सेनाले विमानस्थलबाट आएदेखि होल्डिङसेन्टरमा राख्ने र सम्बन्धित प्रदेशमा नबुझाउँदासम्मको प्रक्रिया, सुरक्षा तथा अन्य व्यवस्थापनको काममा सेनाको महत्वपूर्ण भूमिका रहने उनले जानकारी दिए ।

सरकारले काठमाडौँको यती पार्टी प्यालेस बसुन्धरा, स्काईजन पार्टी प्यालेस सुकेधारा र कुण्डलिनी पार्टी प्यालेस बसुन्धारामा होल्डिङ सेन्टर तयार पारेको छ जगेडाका रुपमा मिराकल पार्टी प्यालेस सुकेधारालाई तयारी अवस्थामा राखिएको छ । काठमाडौँमा रहेको होल्डिङ सेन्टरमा बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का नागरिकलाई छुट्टाछुट्टै रुपमा राखिनेछ ।

भक्तपुरमा एक हजार क्षमताका दुई पार्टी प्यालेसलाई होल्डिङ सेन्टर बनाइएको छ । जसमा सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित इम्पेरियर बैंक्वेट र मध्यपुरथिमि नगरपालिका–४ स्थित हेरिटेज बैंक्वेट रहेको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिए ।

यहाँ प्रदेश नं १ र २ का नागरिकलाई छुट्टाछुट्टै रुपमा राखिने छ । प्रजिअ पाण्डेले भक्तपुरमा फोटोसहितको फर्म भर्ने व्यवस्था मिलाइएको तथा राति बस्नुपर्ने अबस्था हुन सक्ने भएकाले आवश्यक बेडको समेत व्यवस्थापन गरिएको राससलाई जानकारी दिए ।

ललितपुरमा ९०० जनाका लागि डिलाईट पार्टी भेन्यू महाक्ष्मीस्थान र मण्डला पार्टी भेन्यू खरिबोट ग्वार्काेमा होल्डिङ सेन्टर बनाइएको छ । यहाँ जगेडाका रुपमा सिद्धार्थ कलेज धोवीघाट तयार पारिएको छ ।

ललितपुरका प्रमुख जिल्ला अािधकारी नारायणप्रसाद भट्टले यहाँको होल्डिङस्थलमा आएका नागरिकलाई सरल र सुरक्षित रुपमा व्यवस्थापन गरेर सम्बन्धित क्षेत्रमा पु¥याउने विषयमा आवश्यक तयारीको काम पूरा गरिएको जानकारी दिनुभयो । यहाँको खाने बस्ने व्यवस्थापन भने सरकारले गर्नेछ ।

सबै होल्डिङ सेन्टरको अन्तर्राष्ट्रिय मापदण्डअनुसार वैज्ञानिक रुपमा व्यवस्थापन गरिएको छ । अभिलेख राख्नेदेखि स्वास्थ्य जाँच गर्ने, विश्राम गर्ने स्थानको समेत आवश्यक व्यवस्थापन गरिएको छ ।

सेन्टरमा विशेषज्ञ चिकित्सकसहिको टोली रहनेछ । विदेशमा रहेका नेपाली मध्ये पहिलो चरणमा शुक्रबार संयुक्त अरब इमिरेट्स (युएई) को सारजहाबाट १५० जनाभन्दा बढी नेपाली स्वदेश फर्कने निश्चित भएको छ ।

श्रम करारका साथै प्रवेशाज्ञाको अवधि समाप्त भएका, रोजगारी गुमाएका, विद्यार्थी, छोटो अवधिका लागि भ्रमणमा गएका व्यक्ति, तालिम तथा सेमिनारमा भाग लिन गएका कर्मचारी, आफन्तको मृत्यु भई काजकिरिया गर्न आउनुपर्ने व्यक्ति तथा उपचारका लागि गएका बिरामीको आगमनलाई प्राथमिकतामा राखिएको छ ।

त्यसैगरी आममाफी पाएर नेपाल आउन नपाएका, विभिन्न भिसामा गएका र नेपाल आउन नपाएका, कोरोनाबाहेक अन्य कारणले अस्वस्थ रहेका, सुत्केरी तथा गर्भवती, बालबालिका, ज्येष्ठ नागरिक र अपांगता भएकालाई पनि स्वदेश फर्काउने प्राथमिकताको सूचीमा समावेश गरिएको छ । ४० हजार हाराहारीका नागरिकले स्वदेश आउन चाहना राखेका छन् ।

होल्डिङ सेन्टर व्यवस्थापनमा नेपाली सेनाको भूमिका

समग्र होल्डिङ सेन्टरको व्यवस्थापनको जिम्मेवारी भने नेपाली सेनालाई दिइएको छ । अन्य काममा समेत सेनालाई सहयोगी भूमिकामा राखिएको छ । विमानस्थलबाट आउनेलाई होल्डिङ सेन्टर पु¥याउने र त्यसपछि होटल, क्वारेन्टिन, स्थानीय क्वारेन्टिनसम्म पु¥याउनका लागि नेपाली सेनासहित प्रशासन, स्थानीय तह, यातायात व्यवस्थापन विभाग र प्रहरीको भूमिका रहेको छ ।

क्वारेन्टिन इलाकाको सुरक्षा रेखदेखको पूर्ण जिम्मेवारी नेपाली सेनालाई दिइएको सेनाका प्रवक्ता पाण्डेले जानकारी दिनुभयो । त्यसमा गृह मन्त्रालय अन्तरगतका निकाय र स्थानीय तहको सहयोगी भूमिका हुन्छ । आएका व्यक्तिको हेल्थ फर्म भर्न लगाएर स्वास्थ्य जाँचको नेतृत्व स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्नेछ । त्यसमा नेपाली सेनाका चिकित्सकसहितको टोलीले सहयोग गर्नेछन् ।

नेपाल प्रवेश गरेकालाई स्थानीय तहको क्वारेन्टिनसम्म पु¥याउनका लागि प्रदेश र स्थानीय तहलगायत त्यहाँ रहेका स्थानीय कोभिड–१९ संकट व्यवस्थापन समितिले जिम्मेवारी लिनेछ । त्यसमा पनि सहयोगी भूमिका सेनाको रहनेछ ।

क्वारेन्टिनमा बसेकाको स्वास्थ्य परीक्षण सेनाको सहयोगमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्नेछ । विदेशबाट उद्धार गरेर ल्याईएकाको समग्र मूल व्यवस्थापनको जिम्मेवारी तथा सञ्चालन, अनुगमन भने कोभिड–१९ संकट व्यवस्थापन (सिसीएमसी) ले गर्नेछ भने नेपाली सेनाको सहयोगी भूमिका हुनेछ ।

कुन प्रदेशमा कुन मन्त्रीको जिम्मवारी

विदेशबाट आएका नागरिकलाई सम्बन्धित प्रदेशसम्म पु¥याउनका लागि आवश्यक समन्वय गर्न सरकारले सात मन्त्रीलाई जिम्मेवारी तोकिसकेको छ । जसअनुसार प्रदश नं १ को जिम्मेवारी भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ र प्रदेश नं २ को जिम्मेवारी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवलाई तोकिएको छ ।

वाग्मती प्रदेशको जिम्मेवारी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङ, गण्डकी प्रदेशको जिम्मेवारी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्याल, प्रदेश नं ५ को जिम्मेवारी ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, कर्णाली प्रदेशको जिम्मेवारी वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत र सुदूरपश्चिम प्रदेशको जिम्मेवारी खानेपानीमन्त्री बीना मगरलाई तोकिएको छ । –––रासस

काठमाण्डौ, ललितपुर र भक्तपुर सिडियो र व्यापारीबीच छलफल,व्यवसाय सञ्चालन गर्न लकडाउन खुकुलो बनाउनुपर्ने निष्कर्ष

काठमाडौं,जुन ४

लकडाउन जारी नै रहेको समयमा व्यापारीहरुले एकातर्फी रुपमा पसल सञ्चालन गर्न थालेपछि काठमाण्डौ उपत्यकाका प्रमुख जिल्ला अधिकारीले व्यवसायीका प्रतिनिधिहरुसंग छलफल गरेकाा छन् । जेठ ३२ सम्मका लागि सरकारले लकडाउन गरिरहेकै समयमा धमाधम बजार पसल खुल्न थालेपनि काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले विहिबार व्यापारीहरुसंग संयुक्त छलफल गरेका हुन् ।

जिल्ला समन्वय समिति काठमाण्डौको सभाकक्षमा विहिबार भएको संयुक्त छलफलले सामाजिक दुरी सहितको स्वास्थ्य सर्तकता कायम गरी बजार पसल सञ्चालन गर्ने अवस्था श्रृजना गराउने ढंगले लकडाउनलाई समन्वय गर्ने सम्बन्धमा सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ । काठमाण्डौका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले छलफलले व्यापारीहरुबाट प्राप्त सुझावका आधारमा व्यवसाय सञ्चालनका लागि विभिन्न मोडल तयार पार्दे सो मोडलमा व्यवसाय सञ्चालन गर्न लकडाउन खुकुलो बनाउनुपर्ने निष्कर्ष निकालेको बताए ।

साथै छलफलको निष्कर्ष सहित व्यवसाय सञ्चालनका लागि आवश्यक निर्देशिका तयार गरि लागु गर्न कोभिड १९ रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिलाई सिफारिको रुपमा पठाईने बताए ।

छलफलमा व्यवसायीहरुले बिहान ११ बजेदेखि सांझ साढे ५ बजे सम्म उद्योग तथा बजार पसल संञ्चालनको वातावरण मिलाउन सुझाव दिएका थिए । उनीहरुले दिन विराएर पालैपालो सबै किसिमको उद्योग व्यवसाय र पसल सञ्चालनको व्यवस्था मिलाउन सुझाव दिएका छन् ।

शिक्षण संस्थान, धार्मिक स्थल, सिनेमा हल, जिमखाना, खेलकुद लगायत क्षेत्र बाहेक अत्यावश्यक सामान, मल,कृषि, कुरियर, सरकारी कार्यालय, निजी संघ संस्था, उद्योग, निर्माण सम्बन्धी कामको साथै सामाजिक दुरी सहितको सिट व्यवस्थापन गरी जिल्ला भित्र आन्तरिक रुपमा सार्वजनिक यातायातको साधन सञ्चालन गर्ने व्यवस्था मिलाउन व्यवसायीले जोड दिएका छन् ।

लामो समयको लकडाउनले स्वास्थ्य चेतना र सर्तकताबारे व्यापक चेतना वृद्धि गरेकाले जीवनरक्षा मात्रै नभई जीवन यापनका लागि अर्थतन्त्रलाई चलायमान बनाउन सबै किसिमका व्यवसायलाई व्यवस्थित ढंगले संञ्चालनको प्रबन्ध गरिनुपर्ने बताए ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघको आव्हानमा विहिबार राजधानीका सबै प्रकारका पसल खुलेपछि काठमाण्डौ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले त्यसतर्फ चासो देखाउदै व्यवसायीलाई छलफलमा बोलाएका हुन् ।

प्रधानमन्त्री ओली र विज्ञहरु बीच चार घन्टा छलफल …

कर तिर्ने समय थप

नेपालमा कति पुग्यो कोरोना संक्रमितको संख्या..?

काठमाडौं,जुन ३

देशभरका विभिन्न स्वास्थ्य प्रयोगशालामा गरिएको पछिल्लो परीक्षणमा थप २०१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जनाएकोे छ । तीमध्ये १७९ पुरुष र २२ जना महिला छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या जम्मा दुई हजार ३०० पुगेको छ ।

यसैगरी कोरोनाका कारण दोलाखाका ७६ वर्षीय पुरुषको उपचारका क्रममा बुधबार निधन भएको मन्त्रालयले जनाएको छ । उनी यही जेठ १३ गते काठमाडौँ मेडिकल कलेज सिनामंगलमा उपचारका लागि भर्ना भएका थिए। ‘हेमोराइजिक स्ट्रोक’ देखिएपछि उनको अप्रेसन गरिएको थियो ।

साथै जेठ १५ गते स्वाब परीक्षणपश्चात कोरोना संक्रमण देखिएपछि थप उपचारका उनलाई त्रिवि शिक्षण अस्पताल लगिएको थियो । यो सँगै नेपालमा कोरोनाका कारण निधन हुनेको संख्या नौ पुगेको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

त्यस्तै बुधबार मात्रै १२ जना संक्रमित व्यक्ति कोरोनालाई जितेर घर फर्किएका छन् भने हालसम्म कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या २७८ पुगेको छ । पछिल्लो २४ घण्टामा मुलुकभर पिसिआर विधिबाट चार हजार ९२४ र आरडिटी विधिबाट चार हजार ३४ परीक्षण गरिएको उनले जानकारी दिए ।

हाल मुलुकभर एक लाख ५५ हजार ८६८ व्यक्ति विभिन्न क्वारेन्टिनमा छन् । नेपालमा हालसम्म ६४ जिल्लामा कोरोना संक्रमण फैलिएकोे छ ।

Nepal news headlines | breaking news kathmandu | national news of nepal live