NEPAL

कुवेतबाट फर्काइए १५० नेपाली

काठमाडौं,जुन ११

कोरोना महामारीका कारण कुवेतमा अलपत्र परेका १ सय ५० जना नेपाली बिहीबार काठमाडौं आइपुगेका छन् । वैदेशिक रोजगारीको शिलशिलामा कुवेत गएका उनीहरुलाइ कुवेत सरकारको पहलमा नेपाल फर्काइएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाली सेनाले साझा बसमार्फत उनीहरुलाई होल्डिङ सेन्टरमा पु¥याएको थियो । जजिरा एयरवेजको न्यारोबडी मार्फत उनीहरु स्वदेश फर्किएका हुन् ।

बिहीबार नै अर्को विमानबाट कुवेतबाट नेपालीहरु आउने समय तालिका तय भएको छ । कुवेतबाट २ हजार ९ सय ९१ जनाले नेपाल फर्किन चाहेका छन् । अन्यलाई चरणवद्ध रुपमा स्वदेश फर्काइने सरकारले जनाएको छ ।

अलपत्र परेका नेपाली ल्याउन नेपाल एयरलाइन्सले सार्वजानिक ग-यो उडान तालिका

काठमाडौं,जुन ११

विदेशमा अलपत्र परेका नेपाली ल्याउन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले आफ्ना उडानको कार्यतालिका सार्वजनिक गरेको छ । सरकारले विभिन्न मुलुकमा अलपत्र परेका करिब ३० हजार नेपाली जहाज चार्टर्ड गरेर ल्याउने निर्णय गरेसँगै निगमले जुन महिनाभर विभिन्न देशबाट गरिने चार्डर्ड उडानको कार्यतालिका बनाएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सरकारको निर्णयअनुरुप सरोकारवालासँग बुधबार छलफल गरी नेपाल एयरलाइन्सलाई २४ र हिमालय एयरलाइन्सलाई १९ उडान गर्नेगरी अनुमति दिएको थियो । त्यस्तै २४ वटासम्म विदेशी एयरलाइन्सलाई उडान दिने तालिका मन्त्रालयले तय गरेको छ ।

नेपाल एयरलाइन्सका दुई वाइडबडी र दुई न्यारोबडी गरी चार जहाजले उडान गर्नेछन् भने नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने निजी लगानीको हिमालय एयरलाइन्ससँग चार न्यारोबडी जहाज छन् । दुवै एयरलाइन्सले पूर्ण क्षमताका साथ विदेशबाट नेपाली बोक्नेछन् । नेपाल एयरलाइन्सको मात्रै चार जहाजले दैनिक एक हजार ६०० यात्रु ल्याउन सक्ने क्षमता छ । त्यस्तै हिमालयले करिब एक हजार यात्रु ल्याउन सक्छन् ।

विदेशस्थित कोभिड महामारीका कारण आफ्नो देश फर्कन चाहनेले अहिलेसम्म आ–आफ्नो देशस्थित राजदूतावासमा सम्पर्क गर्न अनुरोध गरिसकेको छ । निगमका अपरेशनल विभागका प्रमुख दीपु जुहार्जनका अनुसार नेपाल एयरलाइन्सले जुन महिनामा मात्रै दुई दर्जन उडान गर्दैछ ।
जसअनुरुप जुन १४ तारिखमा बङ्गलादेशको ढाका, जुन १५ मा माल्दिभ्सको माले र मलेशियाको क्वालालम्पुरमा उडान हुनेछ ।

त्यसैगरी जुन १६ मा दुबई र कतारको दोहा, जुन १७ मा अष्ट्रेलियाको सिङ्नी, थाइल्याण्डको बैंकक र बहराइनबाट नेपाली ल्याइनेछ । जुन १८ मा साउदी अरेबियाको रियाद र दुबइ, जुन १९ मा जापानको नारिता र कुवेत, जुन २० मा साइप्रस, क्वालालम्पुर र दोहा उडान हुनेछ ।

त्यसैगरी जुन २१ मा दक्षिण कोरियाको सोल र ओमानको मस्कट, जुन २२ मा सम्भावित मेल्बर्न, बैंकक, जुन २३ नारिता र माले, जुन २४ मा सम्भावित साउदी अरबको जेद्दह, कुवेत र जुन २५ तारिखका दिन सम्भावित अमेरिकाको लसएन्जल्स या डालस उडान गर्ने योजना रहेको निगमले उल्लेख गरेको छ । जुन महिनाका विभिन्न मितिमा हिमालय एयरलाइन्सले बङ्गलादेश, श्रीलङ्का, मलेशिया, कतार, साउदी अरब, युएई, कुवेतलगायत मुलुकबाट चार्टर्ड उडान गरी नेपाली स्वदेश ल्याउनेछ ।

हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले विदेशबाट नेपाली ल्याउन जहाज तयारी अवस्थामा रहेको जानकारी दिए । सरकारले गरेको निर्णयअनुरुप चार्टर्ड उडानका लागि सबैखाले तयारी थालिएको उनले उल्लेख गरे । ––रासस

एकतोला सुनको मूल्य करीब ९० हजार

काँग्रेसले असार २ गते सरकारको ध्यानाकर्षण गराउने

काठमाडौं,जुन ११

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना भाइरसको संक्रमणका कारण बनेको परिस्थितिबारे सरकारको ध्यानाकर्षण गराउन आगामी असार २ गते स्वदेश र विदेशबाट एक साथ कार्यक्रम गर्ने भएको छ । कोरोनाको महामारी रोकथाम र नियन्त्रण गर्न, यसका अल्पकालीन र दीर्घकालीन नकारात्मक प्रभाव न्यून गर्न, जनताको सरोकार र आवश्यकताका विषयलाई सम्बोधन गराउनका लागि नेपाल सरकारले तत्काल चाल्नुपर्ने कदमका सम्बन्धमा सामाजिक दूरी कायम गरी प्रधानमन्त्रीको ध्यानाकर्षण गराइने काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

सो कार्यक्रमअन्तर्गत काँग्रेस संघीय संसद, संसदीय दलका तर्फबाट प्रधानमन्त्रीसमक्ष, काँग्रेस प्रदेशसभा संसदीय दलका तर्फबाट प्रदेश सरकारसँग सम्बन्धित विषयवस्तुमा प्रदेश सरकारका मुख्यमन्त्रीसमक्ष र संघीय सरकारसँग सम्बन्धित विषयवस्तुमा प्रदेश सरकारका मुख्यमन्त्रीमार्फत प्रधानमन्त्रीसमक्ष ध्यानाकर्षण गराइने काँग्रेसले जनाएको छ ।

यसै गरी काँग्रेसका ७७ वटै जिल्ला कार्यसमितिले प्रमुख जिल्ला अधिकारीमार्फत र विदेशस्थित नेपाली जनसम्पर्क समितिका तर्फबाट नेपाली दूतावासमार्फत प्रधानमन्त्रीसमक्ष ध्यानाकर्षण गराइने कार्यक्रम गरेको उनले बताए ।

आमनागरिकमा सन्त्रास बढ्दै गएको, पिसिआर परीक्षण सुस्त गतिमा भएको, मापदण्ड विपरीतका क्वारेन्टिन निर्माण गरी क्वारेन्टाइननै संक्रमण बढाउने कारखाना बन्दै गएको, विपन्न नागरिक र श्रम गरेर जीविकोपार्जन गर्ने श्रमिक खानाका अभावमा भोकै परिसकेको आरोप कांग्रेसले लगाएको छ । काँग्रेसले कृषि, पर्यटन र उद्योग व्यवसायको पुनरुत्थानका लागि राहतको कुनै कार्यक्रम ल्याउन नसकेको, रोजगारी सिर्जनाका लागि खासै योजना, नीति तथा कार्यक्रम नल्याएको, श्रमिक, बेरोजगार, विद्यार्थी, अपाङ्गता भएका व्यक्ति, एकल महिला र गर्भवतीलाई राहत एवं कुनै पनि विशेष कार्ययोजना ल्याउन नसकेको टिप्पणी पनि गरेको छ ।

यही जेठ २६ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले निर्णय गरेबमोजिम पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा प्रतिनिधिमण्डलले प्रधानमन्त्रीलाई बुधबार ध्यानाकर्षणपत्र बुझाइसकेको छ । ––रासस

मन्त्रिपरिषद्को निर्णयः बजार खोल्न पाउने, गाडी चलाउन पाइने

काठमाडौं,जुन १०

लकडाउनको मोडालिटि परिवर्तन गर्दै सरकारले पसलहरु खोल्न दिने तथा जोरबिजोर प्रणालीमा निजी सवारी साधनलाई चल्न दिने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोनाको अवस्था सामान्य भएका क्षेत्रमा जोरबिजोर प्रणालीमा गाडी चल्न दिने निर्णय समेत गरेको बुझिएको छ ।

त्यसैगरी सुरक्षाका मापदण्ड अपनाएर पसल खोल्न दिने निर्णयसमेत मन्त्रिपरिषद् बैठकले गरेको छ । सरकारले छैठौ पटक सम्म लकडाउनको अवधि बढाएपछि भएको चौतर्फी आलोचना पछि बुधबार सरकारले यो निर्णय गरेको हो ।

लकडाउनले व्यापार व्यवसाय चौपट भएर आत्तिएका व्यापारी, व्यवसायीहरुले लकडाउनको मोडालिटि परिवर्तन गर्न सरकारलाइ सुझाव दिदै आएका थिए । सुरक्षाका मापदण्ड अपनाएर पसल खोल्न पाउनुपर्ने माँग गर्दै साना मझौला व्यापारीहरु प्रदर्शनमा समेत उत्रिएका थिए ।
सरकारले चैैत ११–१८ सम्म एक साताकोलागि पहिलो पटक लागु गरेदेखि पछिल्लो पटक जेठ ३२ गतेसम्मकालागि लकडाउन थप गरेको थियो । यसबीचमा सरकारले हप्तादेखि १५ दिनसम्मको अवधि थप्दै आठ पटक सम्म लकडाउन गरेको छ ।

लकडाउन लागु गरिएको ७९ औ दिनपछि सरकारले यो निर्णय गरेको हो । लकडाउन अवधिमा विहान ११ बजेसम्म अत्यावश्यक सेवा बाहेकका पसलहरु खोल्न पाइने निर्णय गरिएको थियो ।

मन्त्रीपरिषदको निर्णय औपचारिक रुपमा विहिबार सार्वजानिक गर्ने बुझिएको छ ।

२७९ जनामा संक्रमण, ९० जना डिस्चार्ज, संक्रमितको संख्या ४ हजार ३६४,क्वारेन्टाइनमा १ लाख ७२ हजार २६६

काठमाडौं,जुन १०

कोभिड १९ को संक्रमण बुधबार २७९ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा पुरुष २५७ र महिला २२ जनामा संक्रमण देखिएको बताए । नयाँसँगै संक्रमितको संख्या चार हजार ३६४ पुगेको छ । तीमध्ये पुरुष चार हजार ५५ र महिला ३०९ जना छन् ।

हालसम्म ६७४ जना डिस्चार्ज

कोभिड १९ को सङक्रमणबाट बुधबार ९० जना निको भएका छन् । विभिन्न अस्पतालमा ८८ पुरुष र दुई महिला पूर्णरुपमा निको भएको मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए । उनका अनुसार कोशी अस्पतालबाट एक महिला र पाँच पुरुष, सशस्त्र प्रहरीको बलम्बु अस्पतालबाट एक महिला, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १८ पुरुष, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट एक पुरुष, कोभिड १९ अस्पताल जनकपुरबाट ३७ पुरुष, सप्तरीको महेन्द्र गेनाई आइसोलेसनबाट २० पुरुष, कोरोना अस्पताल दाङबाट सात पुरुष छन्। हालसम्म ६७४ जना डिस्चार्ज भइसकेका छन् । तीमध्ये ५९५ पुरुष र ७९ महिला छन् ।

बुधबारसम्म पीसीआर विधिबाट १ लाख १० हजार ७ सय ४४ र आरडिटी विधिबाट १ लाख ७२ हजार ८ सय ८० जनाको परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ४ सय १४ र आरडिटी विधिबाट ६ हजार ७ सय २२ जनाको कोरोना परीक्षण भएको छ ।
अहिले देशभरी १ लाख ७२ हजार २ सय ६६ जना क्वारेन्टाइनमा रहेका छन् । आइसोलेसनमा ३ हजार ६ सय ७५ जना रहेका छन् । बुधबारसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ रहेको छ ।

उत्तर प्रदेशका मुख्यमन्त्रीलाइ संसदबाट प्रम ओलीको कडा जवाफ, ‘नेपाल हेपिन तयार छैन,योगी जीलाइ स्मरण गराउन चाहन्छु,’

काठमाडौं, जुन १०

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीले नेपाललाई धम्क्याउन खोजेको हो भने त्यो उचित नभएको बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद प्रेम सुवालले मुख्यमन्त्री योगीले नेपालले सीमा निर्धारण गर्दा परिणामबारे सोच्नुपर्ने र तिब्बतले गरेको गल्ती सम्झनुपर्ने धम्की किन दिए भनी माँगेको स्पष्टीकरणको जवाफ दिदै उनले यस्तो बताएका हुन ।

मुख्यमन्त्री आदित्यनाथले गत जुन ३ मा भारतीय स्वतन्त्र समाचार संस्था इण्डो एशियन न्यूज सर्भिस (आइएएनएस) लाइ दिएको विशेष अन्तवार्ताका क्रममा नेपालले तिब्बतको जस्तो गल्ती गर्न नहुने भन्दै सुझाव दिएका थिए । उनले नेपाल र भारत दुइ राजनीतिक संस्था भएपनि एक आत्मा भएको टिप्पणी गर्दै भनेका थिए । “दुई देशबीच सांस्कृतिक, ऐतिहासिक र पौराणिक सम्बन्ध छ जुन धेरै शताब्दीयौंदेखि भएको थियो र नेपालले यो याद गर्नुपर्दछ,“ आदित्यनाथको सो भनाइ नेपालमा धम्कीपूर्ण चेतावनीको रुपमा निकै आलोचित भएको थियो । त्यस्तो धम्कीबारे सांसद सुवालले स्पष्टिकरण मांगेका थिए ।

योगी आदित्यनाथ केन्द्रिय सरकारको निर्णायक व्यक्ति नभएको भन्दै प्रधानमन्त्री ओलीले स्पष्टिकरणमा थपे, “यदि त्यसरी बोलेको हो भने त्यो जायज होइन, नेपाललाई धम्क्याउन खोज्नुभएको हो भने त्यो उचित होइन, उहाँ भारतको केन्द्रीय सरकारको निर्णायक व्यक्ति पनि होइन, तैपनि मुख्यमन्त्रीका हिसाबले पनि बोलेको भए त्यो नबोलिनु पथ्र्याे ।”

यसलाइ नेपालको अवहेलनाको रुपमा लिइने बताउँदै ओलीले भने, ‘त्यसरी बोलेको भए त्यो आलोच्य र निन्दनीय विषय हो, त्यस्तो कुरालाई हामी नेपालमाथि अवहेलनाको रुपमा बुझ्छाँ।’

‘नेपाल हेपिन तयार छैन र हेपिन मान्दैन,योगीजीलाइ स्मरण गराउन चाहन्छु,’ प्रधानमन्त्री ओलीले थपे ।

भारतले कब्जा गरेको भुमिबारे प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीको जवाफ,‘समस्याको समाधान भनेको हाम्रो भुमि फिर्ता हुनुपरयो’

काठमाडौं, जुन १०

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र भारतले आफ्नो सेना राखेर कब्जा गरेको बताउँदै सरकारले तिनलाई कूटनीतिक माध्यमबाट फिर्ता लिने दृढता व्यक्त गरेका छन् । बुधबारको प्रतिनिधि सभाको बैठकमा सीमा फिर्ता ल्याउने सम्बन्धमा सोधिएको स्पष्टिकरणको जवाफका क्रममा प्रम ओलीले भुमि फिर्ता ल्याउन सरकार दृढ रहेको बताए ।

भुमि अतिक्रमण उचित भएन भनेर भारतलाइ भनिरहेको भन्दै प्रम ओलीले भने,’हामीबाट त्यो भुमि सेना राखेर छुट्याएर लगिएको छ । सेना नराख्दा सम्म हाम्रो भोगचलनमा छदै थियो । सेना राखेपछि हामी सेना भएका ठाउँमा पनि जान पाएनौं , त्यो भन्दा उतापनि जान पाएनौं, यसरी एक ढंगले भन्ने हो भने यो कब्जा हो त्यसकारण यो उचित भएन भनेर मित्रराष्ट्र भारतलाइ भनिरहेका छौ, ऐतिहासिक तथ्य प्रमाणका आधारमा यो हाम्रो भुमि हो, त्यसकारण यो फिर्ता गर्नुपर्छ ।’ ‘ हामीले भनेका छौ, हामी कुटनीतिक वार्ताका माध्यमबाट यो समस्याको समाधान खोज्छौं , समस्याको समाधान भनेको हाम्रो भुमि फिर्ता हुनुपरयो । यो सत्यले जित्छ,हाम्रो विश्वास हो, हामी फिर्ता लिन्छौं ।’,उनले दृढता व्यक्त गरे ।

भारतसँग अन्य स्थानमा यस किसिमको विवाद नभएको भन्दै उनले तथ्य प्रमाणका आधारमा अन्य कुनै स्थान अतिक्रमित देखिएमा त्यसबारे पनि भारतसँग वार्ता गर्ने बताए । प्रम ओलीले भने, ‘यदि तथ्य प्रमाणका आधारमा त्यस्तो कुनै भुभाग देखिने स्थिति छ भने हामी त्यस सम्बन्धमा पनि वार्ता गर्छौ । अरु स्थानका बारेमा पनि वार्ता भइरहेको छ । सुस्ताका बारेमा पनि वार्ता भइरहेको छ । तर सुस्ता लिम्पियाधुरा ,लिपुलेक र कालापानी जस्तो गरि हडपिएको , कब्जा गरिएको र  सेना राखेर हामीले भोगचलन गर्न नपाएको स्थिति होइन त्यसकारण हामीले बढि फोकस गरेको भनेको लिम्पियाधुरा ,लिपुलेक र कालापानी नै हो ।’

विनियोजन विधेयक, २०७७ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको बुधबार स्पष्टीकरण दिँदै उनले अरु कतिपय सीमा क्षेत्रमा देखिएका विवाद र नेपालमा डुबान हुने गरी भारतले सिमानामा निर्माण गरेका संरचनाका सम्बन्धमा पनि वार्ता गरिने जानकारी दिए ।

विनियोजन विधेयक, २०७७ पारित

संविधान संशोधन विधेयक स्वीकृत

Nepal news headlines | breaking news kathmandu | national news of nepal live