NEPAL

इजरायल सरकारद्धारा नेपाललाइ स्वास्थ्य सामग्री सहयोग

काठमाडौं,जुन १६

कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि इजरायल सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । नेपालका लागि इजरायलका राजदूत बेनी ओमेरले कोरोना रोकथामका लागि पीपीई सेट, थर्मोमिटर, पन्जा, सर्जिकल मास्क, स्यानिटाइजर, सोडियम डिसइन्फेक्टेड लगायतका सामग्री उपलब्ध गराएका छन् ।

राजदूत ओमेरले मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई उक्त सामग्रीहरु उपलब्ध गराएका हुन् । सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री ढकालले महामारीको चपेटामा रहेको बेला इजरायल सरकारले उपलब्ध गराएको स्वास्थ्य सामग्री नेपालका लागि महत्वपूर्ण हुने बताए । उनले अप्ठेरो अवस्थामा स्वास्थ्य सामग्री उपलब्ध गराएर कोभिड १९ को जोखिम न्यूनीकरण गर्न नेपाली जनताको साथमा इजरायल सरकार छ भन्ने सन्देश दिएको बताए ।

इजरायल सरकारले पीपीई सेट (सुट एण्ड ट्रउजर, फेससिल, गगल्स, मास्क र पञ्जा) ५० थान, पीपीई बडि कभर ५ सय थान, थर्मोमिटर ५० थान, पन्जा १ सय ३० थान, स्यानिटाइजर ५ लिटरको ४० जार, स्यानिटाइजर ५ सय एमएल २ सय ३० बोतल, सोडियम डिसइन्फेक्टेड १ सय जार, पन्जा ५ सय थान, सर्जिकल मास्क ५ सय थान र अन्य मास्क ४ हजार थान सहयोग रुवरुप उपलब्ध गराएको छ ।

सरकारी कार्यालयहरु खुले

काठमाडौँ ,जुन १५

सरकारी तथा गैरसरकारी कार्यालयहरु लक डाउनको ८३ दिनपछि खुलेका छन् । सरकारको निर्णय अनुसार दुई सिफ्टमा गरी सोमबारबाट सरकारी कार्यालयहरु खुलेका हुन् । विहान ८ बजेटबाट दिउँसो १ बजेसम्म र १ बजेटबाट साँझ ६ बजेसम्म गरी दुई सिफ्टमा कार्यालयहरु सञ्चालनमा आएका हुन् । सरकारी कार्यालयसँगै गैरसरकारी कार्यालय, बैंक तथा वित्तिय संस्थाहरु पनि सञ्चालनमा आएका छन् ।

लक डाउन खुकुलो बनेसँगै सडकमा सवारीको चाप पनि बढेको छ । सरकारले जोर विजोर प्रणालीअनुसार सवारी सञ्चालन गर्ने निर्णय गरेपनि कार्यालयहरु सञ्चालन भएसँगै सवारीको चाप बढेको छ । कार्यालय प्रवेश गर्नुअगाडी सामाजिक दुरी कायम गर्दै तापक्रम लिने गरिएको छ । हात धोएर कार्यालय भित्र समेत सामाजिक दुरी कायम गर्नुपर्ने बताइएको छ ।

सेवाग्राहीहरुले समेत सेवा लिँन जाँदा सामाजिक दुरी कायम गर्नुपर्ने छ । मन्त्रिपरिषद्को जेठ २८ गतेबसेको बैठकले आजबाट कार्यालयहरु दुई सिफ्टमा सञ्चालन गर्ने निर्णय गरेको थियो । लक डाउन खुकुलो भएपनि मानिसबो बढी भिडभाड हुने ठाउँ, शैक्षिक संस्था, अनुमति प्राप्त बाहेक सम्पूर्ण उडानहरु, सभा सम्मेलन सबै लगायतका क्षेत्र बन्द रहेका छन् । पैदल आवागमन भने खुला गरिएको छ ।

पशुपतिनाथ मन्दिर परिसरमा सरसफाईकालागि भारतको सहयोग

काठमाडौं,जुन १५

पशुपतिनाथको मन्दिर परिसरमा सरसफाइ सुविधाकालागि भारत सरकारले नेपाललाइ ३ करोड ७२लाख तीस हजार नेपाली रुपैया बराबरको अनुदान सहयोग गरेको छ । सोमबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, काठमाडौं महानगरपालिका र भारतीय दूतावासबीच सो सहयोग सम्बन्धि संझौता पत्रमा त्रिपक्षीय हस्ताक्षर गरिएको छ ।

सन् १९७९ देखि युनेस्कोको विश्व सम्पदा सूचीमा रहेको पशुपति परिसरमा सरसफाई सुविधाकालागि भारत सरकारद्वारा उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसिडिपी) अथवा पहिलेको साना विकास परियोजना(एसडिपीज) को रुपमा नेपाल–भारत मैत्रीः विकास साझेदारी अन्तर्गत अनुदान दिइने बताइएको छ ।

यस परियोजनामा सहयोगकालागि पशुपति क्षेत्र विकास कोष (पिएडिटी) ले भारतीय राजदूतावासलाई सन् २०१९ को अक्टोबर महिनामा प्रस्ताव पठाएको थियो । पशुपतिनाथ मन्दिरमा आउने तीर्थालु तथा धार्मिक पर्यटकहरुकालागि सरसफाई सुविधा प्रदान गर्न यस परियोजनाको कार्यान्वयन काठमाडौं महानगरपालिकाले नेपाल सरकारले तोकेको मापदण्ड अनुरुप गर्ने सहमति भएको छ । सहमति अनुसार १५ महिनामा निर्माण कार्य सम्पन्न गर्नकालागि महानगरपालिकाले बोलकबोल(टेन्डर) प्रक्रियामार्फत ठेकेदारको पहिचान गर्नेछ ।

काठमाडौंको गौशालामा अवस्थित पशुपतिनाथ मन्दिर हिन्दु धर्मावलम्बीहरुकालागि ठूलो आस्थाको केन्द्र हो । दैनिक हजारौंको संख्यामा तीर्थालु भक्तजनको आवागमन हुने यो मन्दिर भारतीयहरुकालागि पनि अत्यन्त महत्व राख्दछ । सन् २०१४ अगस्ट महिनामा दुवै सरकारले सहमति गरेको सरसफाई परियोजना अनुरुप पशुपतिनाथ मन्दिर परिसरमा सार्वजनिक सुविधाहरुको स्तरोन्नतिका लागि भारत सरकारले अनुदान सहयोग दिएको हो ।

link :

https://twitter.com/IndiaInNepal/status/1272507342282620928
https://www.indembkathmandu.gov.in/news_letter_detail/?id=100

नीजि प्रयोगशालामा पीसीआर परीक्षण

काठमाडौं,जुन १४

अब नीजि प्रयोगशालाले पनि कोरोना भाइरस (कोभिड—१९) को पीसीआर परीक्षण गर्न पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार आवश्यक प्रकृया पु¥याएर नीजि प्रयोगशालाहरुले पीसीआर परीक्षण गर्न पाउने भएका हुन् । परीक्षणको खर्च स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले व्यहोर्ने मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा उनले भने,‘मन्त्रालयको स्वीकृति लिएर लिइएका पीसीआर नमुना आवश्यक प्रकृया पुरा गरी नीजि प्रयोगशालालाई जाँच्न दिने व्यवस्था गरिएको छ । खर्च स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले व्यवस्था गरेको छ ।’ यसअघि सरकारले नै देशका विभिन्न ठाउँमा पीसीआर परीक्षण प्रयोगशाला निर्माण गरेपनि संकलन भएका नमुनाहरु लामो समय होल्ड हुने गरेका छन् ।

मन्त्रालयले विदेश जानका लागि आवश्यक पर्ने निरोगिताको प्रमाणपत्रका लागि गरिने नमुना संकलन उपत्यकाका तीन अस्पतालबाट हुने व्यवस्था गरेको छ । प्रवक्ता गौतमका अनुसार वीर अस्पताल, शिक्षण अस्पताल र पाटन अस्पतालको ल्याममा निरोगिताको प्रमाणपत्रका लागि नमुना संकन गरिनेछ ।

नेपालको संविधान विधेयक सर्वसम्मतिले स्वीकृत

काठमाडौं,जुन १४

राष्ट्रियसभाको बैठकले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । आइताबारको दोस्रो बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सो प्रस्ताव प्रस्तुत गरेकी थिइन ।

उक्त विधेयकमाथिको सैद्धान्तिक छलफल उठेका जिज्ञासामा उनले विधेयक प्रतिनिधिसभाबाट पारित भएसँगै ‘नेपालका सबै राजनीतिक दलहरु राष्ट्रियताका सवालमा एक हुन्छन्’ भन्ने पुष्टि भएको उल्लेख गरे । उनले संविधान संशोधनको विषय नेपालको आन्तरिक विषय भएको र यसमा छिमेकीले टिप्पणी नगर्दा राम्रो हुने बताए । उनले भने, “भारतसँग हामी सुमधुर सम्बन्ध राख्न चाहन्छौँ”, उनले अद्यावधिक नेपालको नक्साअनुसार संविधानको अनुसूची–३ सच्याउने अभिप्रायले ल्याइएको संविधानको दोस्रो संशोधनलाई समर्थन गरिदिन आग्रह गरे ।

यस अघि सो प्रस्ताव माथिको छलफलमा नेपाली काँग्रेसका प्रकाश पन्थले नयाँ नक्सा जारी भएपछि अब भूमि फिर्ता ल्याउन पहल गर्न आवश्यक रहेको बताए । नेकपाका सुमनराज प्याकुरेल, नेकपाका मायाप्रसाद शर्मा र गोपीबहादुर सार्की अछामीले अब गुमेको भूमि फिर्ता ल्याउन एकजुट हुन आग्रह गरे ।

नेपाली काँग्रेसका तारादेवी भट्टले सिमानामा बस्ने नेपालीले धेरै दुःख पाएका उल्लेख गर्दै पूर्वदेखि पश्चिमसम्मको मिचिएको भूमि फिर्ता ल्याएर आफ्नो तारबार गर्नुपर्नेमा जोड दिए । नेकपाका भगवती न्यौपानेले सरकारको ऐतिहासिक निर्णयले नेपाली नागरिक राष्ट्रियताको भावनाले ओतप्रोत भएको हुँदा नेपाली भूमि फिर्ता गर्ने राष्ट्रिय एकतालाई बलियो बनाउनुपर्ने धारणा राखे ।

सोही पार्टी नेकपाका जीवन बुढा, रामलखन चमार, दीपा गुरुङ र चक्रप्रसाद स्नेहीले नेपालको सीमारेखा स्पष्ट पारेर नक्सा पास गर्नु ऐतिहासिक काम भएको उल्लेख गर्दै भूमि फिर्ता लिन पनि एकताबद्ध भएर कूटनीतिक पहल गर्नुपर्छ भने ।

नेकपाका खीमकुमार विक र मेहशकुमार महराले सीमारक्षा गर्ने विषयमा राष्ट्रिय एकता भएको हुँदा नेपालको भूभाग भन्ने नेपालसँग स्पष्ट प्रमाण भएको हुनाले फिर्ता ल्याएर चलनभोग गर्नुपर्ने धारणा राखे ।

नेपाली काँग्रेसका रमेशजङ्ग रायमाझीले नेपालको भूभाग फिर्ता ल्याउने विषयमा पूर्णरूपमा समर्थन रहेको र कूटनीतिक वार्तामार्फत प्रमाणका आधारमा नेपालको भूमि भएको पुष्टि गर्नुपर्ने बेला आएको बताए । राष्ट्रियसभाको अर्को बैठक सोमबार ११ बजे बस्ने छ ।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुग्यो, संक्रमितको संख्या ५७६०

काठमाडौं,जुन १४

नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट मृत्यु हुनेको संख्या १९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गुल्मीको घुर्कोटका ३६ वर्षिय पुरुषको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार भारतबाट आएका ती पुरुषको जेठ १२ गते रुपन्देहीमा भएको परीक्षणमा कोरोना पोजिटिभ देखिएको थियो । आइसोलेसनमा उपचाररत उनको जेठ ३१ गते आइसोलेसनमै मृत्यु भएको हो । उनी क्यान्सरका विरामी भएको प्रवक्ता गौतमले बताए ।

आइतबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेको छ । आइतबार ४ सय २५ जना नयाँ संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेको हो । प्रवक्ता डा. गौतमका अनुसार विराटनगरमा भएको परीक्षणमा २७ जना, कोसी अस्पताल विराटनगर १० जना, नारायणी अस्पताल विरगञ्जमा ३४ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा २ जना र सेती अस्पताल कैलालीमा ६४ जना नयाँ संक्रमित थपिएका छन् ।

यस्तै भेरी अस्पताल बाँकेमा ७ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५६ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा १८ जना र धुलिखेल अस्पताल धुलिखेलमा २ जनामा संक्रमण देखिएको छ । यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा ४७ जना, प्रादेशिक अस्पताल सुर्खेत प्रयोगशालामा ६९ जना र हेटौडामा भएको परीक्षणमा २ जना जनामा संक्रमण देखिएको छ । यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु २५ जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ६२ जनामा संक्रमण देखिएको उनले बताए । संक्रमण ७३ जिल्लामा संक्रमण फैलिएको छ । आइतबार ६१ सहित जम्मा ९ सय ७४ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् ।

अहिलेसम्म देशभरी पीसीआर विधिबाट १ लाख ३३ हजार ३ सय ७७ जनाको नमुना परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ८९ जनाको परीक्षण भएको छ । यस्तै आइतबार आरडिटी विधिबाट २० हजार १ सय ३९ गरी अहिलेसम्म २ लाख १० हजार ७ सय २१ जनाको नमुना परीक्षण भएको छ । देशभरीका आइसोलनमा ४ हजार ७ सय ६७ जना आइसोलेसनमा उपचाररत रहेका छन् । १ लाख ४३ हजार ६ सय ४१ जना क्वारेन्टाइनमा छन् ।

सरकारले अब नीजि प्रयोगशालाहरुले पनि कोरोना परीक्षण गर्न पाउने बाटो खुला गरेको छ । पीसीआर परीक्षणका लागि आवश्यक प्रकृया पुरा गरी नीजि प्रयोगशालाले पनि परीक्षण गर्न पाउने प्रवक्ता गौतमले बताए ।

काठमाडौंका सपिङ मलहरु सोमबारदेखि खुल्ने

काठमाडौं,जुन १४

व्यवसायीहरुले असार १ गतेदेखि काठमाडौंमा रहेका सपिङ मलहरु खोल्ने भएका छन् । सरकारले सपिङ मलहरु अहिले नै नखुलाउने निर्णय गरेको छ तर व्यवसायीहरुले भने लामो समय बन्द हुँदा समस्यामा बढ्दै गएको भन्दै खुल्ला गर्ने निर्णय गरेका छन् ।

आर बि कम्प्लेक्स व्यापार संघ, पिपुल्स प्लाजा व्यापार संघ, विशालबजार, शिभिल मल, वल्र्ड ट्रेड सेन्टर लगायतका मलहरु सञ्चालन गर्ने तयारी व्यवसायीहरुले गरेका हुन् । लकडाउन लम्बिदै जाँदा घरभाडा, बैंकको ब्याजदर तथा राज्यलाई कर समेत तिर्न नसक्ने अवस्था आएकाले व्यवसाय खोल्नुको विकल्प नभएको भन्दै व्यवसायीहरुले मलहरु सञ्चालन गर्न लागेका हुन् ।

व्यसायीहरुले काममा फर्कनु पर्ने कुनै रहन नभई बाच्नको लागि बाध्यता भएको बताएका छन् । उनीहरुले सरकारले अन्य पसलहरु सञ्चालन गर्न दिने तर सपिङमलहरु सञ्चालन गर्न नदिने गरी गरेको निर्णयको विरोध गर्दै कोभिड १९ बाट बच्न न्यूनतम स्वास्थ्य सुरक्षा सतर्कता अपनाई मलहरु खोल्ने निर्णय गरेका हुन् ।

व्यवसायीहरुले व्यवसाय सञ्चालन गर्दा अनिवार्य रुपमा मास्क लगाउने, स्यानिटाइजको प्रयोग गर्ने, ज्वरो नाप्ने व्यवस्था मिलाउने बताएका छन् ।

राष्ट्रियताका पक्षमा राष्ट्रिय एकता ऐतिहासिक : काँग्रेस

संसद्ले लिपुलेक, कालापानी र लिम्पियाधुरा चिनेको दिन….

काठमाडौं,जुन १३

नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा भारतले लामो समयदेखि गर्दै आएको हस्तक्षेपको विरोध हुँदै आए पनि संविधानमै ती भूमि सूचीकृत हुने अवस्था पहिलो पटक मिलेको छ । शनिबार प्रतिनिधिसभाको बैठकबाट नेपालको वास्तविक नक्सा निशान छापमा समावेश गर्न प्रस्तुत नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ लाई एक मतले पारित भएपछि सूचीकृतको बलियो आधार खडा भएको हो । अब राष्ट्रियसभाबाट पारित गरी राष्ट्रपतिबाट प्रमाणित भएपछि आधिकारिकरुपमै मिचिएको भूभाग नेपालको हो भनेर कानूनले प्रमाणित गर्नेछ ।

उक्त कदमलाई लामो समयदेखि हुन नसकेको एउटा सार्थक कदमको शुरुआतका रुपमा आम समुदायले लिएका छन् । सरकारले महत्वपूर्ण निर्णय गरेको भन्दै राजनीतिज्ञ, सीमाविद् तथा नागरिक समाजले खुलेर प्रशंसा गरेको छ भने मुलुकभर दीपावली गरेर खुशियालीका साथ भव्य स्वागत गरिएको छ । राजनीतिक दलले ऐतिहासिक कदमका रुपमा लिँदै राष्ट्रिय मुद्दामा विगतमा झैँ एक हुने प्रतिबद्धतालाई पुनःस्मरण गरेका छन् । नेपालको सीमाका विषयमा अहिले सिङ्गो देश एक ढिक्का बन्न पुगेको छ ।

नक्सामा आएको भूमि व्यवहारमै फिर्ता ल्याई नेपाली भूमिमा कब्जा जमाएर बसेका भारतीय सुरक्षाकर्मीलाई फिर्ता पठाउने मुलुकको अबको प्रमुख मुद्दा हुनेछ । कूटनीतिक वा राजनीतिक तहमा हुने र गरिने छलफलले त्यसमा सार्थक निष्कर्ष निकाल्ने प्रतिबद्धता नेपाल सरकारले व्यक्त गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसद्बाट बाहिरिँदै गर्दा अबको प्रयास वार्तामा केन्द्रित हुने बताए ।
भारतसँग जोडिएका २६ मध्ये २३ जिल्लाका ७२ स्थानमा सीमा विवाद कायमै छ । त्यसमध्ये सबैभन्दा धेरै पेचिलो बनेको सीमा विवाद सुस्ता र कालापानी क्षेत्र हो । भारतले समेत ती दुई क्षेत्र विवादित भनेर स्वीकार गरिसकेको छ । सन् १८१६ को सुगौलीसन्धि मात्रै नभई सन् १९९६ फेब्रुअरी १२ मा नेपाल र भारतबीच भएको महाकाली सन्धिमा समेत महाकाली नदी सीमा भनेर स्पष्ट उल्लेख छ ।

सीमा समस्या सुल्झाउन नेपालले गरेको आग्रहलाई बेवास्ता गरेको भारतले आफैँले गरेका सम्झौता लत्याउँदै बल मिचाईको प्रवृत्ति दोहो¥याउँदै आएका बेला सरकारले पछिल्लो समयमा गरेको प्रयासले वार्ताका लागि सकारात्मक दबाब परेको कूटनीतिज्ञको ठम्याइ छ । सीमारक्षाका लागि पछिल्लो समयमा नेपाल सरकारले पनि सीमा क्षेत्रमा सशस्त्र प्रहरीको सुरक्षा चौकी बढाउँदै गएको छ ।

यहाँबाट बल्झिएको थियो समस्या

छिमेकी मुलुक चीन र भारतले सन् २०१५ मे १५ मा भारतको पिथौरागढ, गुञ्जी, कालापानी हुँदै लिपुभञ्ज्याङबाट चीनको मानसरोवर जोड्ने गरी व्यापारिक मार्ग बनाउने सहमति गरेका थिए । तत्कालीन अवस्थामा सहमतिको विरोध गर्दै सरकारले कूटनीतिक नोट पठाएको थियो । भारतले गत कात्तिकमा नेपालका लिम्पियाधुरा, लिपुलेक तथा कालापानी समेटेर नयाँ राजनीतिक नक्सा सार्वजनिक ग¥यो । त्यसपटक पनि सरकारले आपत्ति प्रकट गर्दै नोट पठाएइको थियो ।

नेपालको प्रस्तावको वास्ता नगरी बल मिच्याईको तरिकाले फेरि गत वैशाख २६ गते बन्दाबन्दीकै बेला भारतका रक्षामन्त्री राजनाथ सिंहले मानसरोवर जोड्ने उक्त सडक उद्घाटन ग¥यो । सरकारले पुनःकूटतीतिक नोट पठाएर पटकपटक वार्ताका लागि आह्वान गर्दै आएको छ तर भारतले समय दिने आवश्यकता ठानेन ।

त्यसको दुई हप्ता नबित्दै नेपाल सरकारले मुलुकको स्वाधीनताका पक्षमा ऐतिहासिक निर्णय गर्दै आफ्नो देशका भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानीसमेत समेटेर अद्यावधिक गरिएको राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक गरेको हो ।

भारतको कब्जामा रहेको भूभाग समेटिएको मुलुकको नयाँ अद्यावधिक राजनीतिक तथा प्रशासनिक नक्सा मन्त्रिपरिषद्बाट जेठ ५ गते पारित भएको थियो । जेठ ७ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले पारित नक्सा सार्वजनिक ग¥यो । झण्डै ४०० वर्गकिलोमिटर भूभागमा दार्चुलाका कुटी, नाभी, गुञ्जी गाउँ पर्छ ।

वार्ताको आह्वान गर्दा भारतले प्रतिक्रिया दिएको भए सीमा विवादको समाधान फरक तरिकाले हुने शनिबार प्रतिनिधिसभामा बोल्ने क्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुलाएका थिए । भारतले सन् १९६२ मा चीनको आक्रमणबाट आफ्नो भूमि जोगाउन भनी तत्कालीन राजाकोे अनुमतिमा नेपालका विभिन्न क्षेत्रमा १७ स्थानमा सेना ल्याएर राखेको बताइएको छ । त्यसबेला कालापानीभन्दा यता तिङ्करसम्मै भारतको सैनिक पोष्ट आएको थियो । त्यसपछि १५ ठाउँबाट सैनिक चौकी हटे पनि तिङ्करको भारतीय चौकी फर्किएर कालापानीमा गएर बसेको हो ।

सुगौली सन्धिको बुँदा नम्बर ५ मा महाकाली नदी नै नेपाल भारतको सीमा भनेर स्पष्ट उल्लेख गरिएको छ । काली नदीको शिर लिम्पियाधुरा हो । भारतले त्यसलाई लत्याएर लिपुलेकबाट आउने लिपुखोलालाई काली नदी बनाई नेपाली भूभाग अतिक्रमण गर्दै आएको छ ।

अब भूमि फिर्ताका लागि भारतसँग वार्ता हुन्छ : प्रधानमन्त्री

Nepal news headlines | breaking news kathmandu | national news of nepal live