INDIA

भारतीय क्वारेन्टाइनबाट स्वदेश फर्केका नेपाली हर्षित

बैतडी,मे ४

एक महिना बढी भारतीय क्वारेन्टाइनमा बसेर नेपाल फर्केकाहरु खुसी भएका छन् । कोरोनाको त्रासकाबीच जन्मभूमिमा आउन पाउँदा निकै खुसी लागेको बैतडी पुर्चौंडी नगरपालिका–८ का उत्तम बोहराले बताए । विदेशी भूमिको क्वारेन्टाइनमा बस्न निकै समस्या भएका बेला स्वदेश फर्कन पाउँदा आफूहरु हर्षित भएको उनको भनाइ थियो । उनले भने,“विपत्तिको बेला स्वदेश फर्कन पाउँदा निकै खुसी लागेको छ ।” भारत र नेपाल दुवै देशमा लकडाउन भएपछि भारतीय सीमा क्षेत्रमा हजारौँ नेपाली भारतीय क्वारेन्टाइनमा बसेका थिए । उनीहरुलाई बिहीबार मात्रै स्वदेश फर्काइएको हो ।

स्वदेश फर्कन पाउँदा खुसी लागेको डिलाशैनी गाउँपालिका–६ रमेशराम ओडले बताए । मातृभूमिमा पाइला टेक्न पाउँदा निकै खुसी लागेको र आफूहरुलाई स्वदेश ल्याउन पहल गर्ने सबैलाई उनले धन्यवाद व्यक्त गरेका छन् । बैतडीको पुर्चौैंडी नगरपालिका–८ का वीरेन्द्र पाठकले भने, “विदेशीभूमिमा बस्नुभन्दा स्वदेशको क्वारेन्टाइनमा बस्नु धेरै राम्रो छ ।”

झुलाघाट नाकाबाट र धारचुला नाकाबाट फर्केका नेपालीहरुलाई सम्बन्धित स्थानीय तहहरुले क्वारेन्टाइनमा राखेका छन् । झुलाघाट नाकाबाट बैतडीका ७९० जना फर्किएका थिए । झुलाघाट नाका पारी गत चैत १५ गतेदेखि नेपाली मजदूर बसेका थिए ।

क्वारेन्टाइन अनुगमनमा तीव्रता

सीमावर्ती भारतीय क्षेत्रबाट नेपाली स्वदेश फर्किएपछि बैतडीका स्थानीय तहमा निर्माण गरिएका क्वारेन्टाइनको अनुगमनमा तीव्रता दिइएको छ । गत बिहीबार भारतबाट फर्केका नागरिक क्वारेन्टाइनमा बसिरहेकाले त्यसको अवस्थाका बारेमा जानकारी लिनका सबै ठाउँमा अनुगमन गर्न थालिएको हो ।

अहिलेसम्म सिगास गाउँपालिका, दोगडाकेदार गाउँपालिका, सुर्नया गाउँपालिका र दशरथचन्द नगरपालिकामा क्वारेन्टाइन अनुगमन गरिएको क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए । उनले भने, “क्वारेन्टाइन कार्य्विधिअनुसार पालिकाहरुले क्वारेन्टाइन निर्माण गरेका र अपुग भएका ठाउँमा सुधारका लागि सुझाव दिइएको छ”।

दशरथचन्द नगरपालिकाको क्वारेन्टाइनमा केही सुधार गर्नुपर्ने देखिएकाले समितिले सुधार गर्न निर्देशन दिएको छ भने अन्य पालिकाका क्वारेन्टाइन राम्रा रहेको बताइएको छ । गत बिहीबार सीमा नाका झुलाघाट हुँदै एक हजार २९९ नागरिक स्वदेश फर्किएका थिए ।–रासस

दिल्लीमा सोमबारदेखि लकडाउन आंशिक रुपमा खोलिनेःमुख्यमन्त्री केजरीवाल

नयाँ दिल्ली,मे ३

नयाँ दिल्लीमा सोमबारदेखि आंशिक रुपमा लकडाउन खोलिने भएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीमा आंशिक रुपमा लकडाउन खोलिने बताएका छन् । कोरोनालाइ सँगै लिएर जिउने तयारी गनुृपर्ने भन्दै केजरीवालले बानी बसाल्नुपर्ने भन्दै उनले दिल्लीले यसकालागि तयारी गरिसकेको उनले बताए । समाचार संस्था एएनआई मार्फत उनले दिल्ली कोरोनालाइ संगै हिडन तयार रहेको बताए ।

उनले सबै सरकारी कार्यालय खोलिने जानकारी गराउँदै सरकारी कार्यालय तथा अत्यावश्यक कार्यालयमा सबै(शत प्रतिशत) कर्मचारी अनिवार्य उपस्थित हुने र नीजी संस्थाहरुमा ३३ प्रतिशत कर्मचारीले काम गर्ने बताए ।

साइकल,रिक्सा,ट्याक्सी सबै बन्द रहने छ भने कपाल काटने सैलुन समेत बन्द रहने छन् ।
स्कुल तथा सम्पूर्ण शिक्षण संस्था,होटल तथा रेष्टुरेन्ट,सिनेमा हल,मल,जिम बन्द रहने बताउँदै मुख्यमन्त्री केजरीवालले सामाजिक भेला तथा सम्मेलनमा लगाएको रोक यथावत रहेको जानकारी दिए ।

उनले भने, अति आवश्यक काम नपरेसम्म साँझ सात बजेदेखि बिहान सात बजे सम्म मानिसहरुलाइ बाहिर निस्कन रोक लगाइएको छ । बिरामी,वृद्ध तथा गर्भवती महिला तथा साना बच्चाहरुलाइ घर भित्रै बस्नुपर्ने छ ।

दिल्ली भारतको तेश्रो कोरोना प्रभावित राज्यमा रहेको छ । राजधानी नयाँदिल्लीमा ४ हजार १२२ जना संक्रमित भएका मध्ये ६४ जनाको ज्यान गएको छ । एक हजार २५६ जनाको उपचार गरिएको छ ।

भारतमा “श्रमिक विशेष रेलसेवा”को निर्देशिका जारी

नयाँदिल्ली, मे ३

भारतीय रेलसेवाले लकडाउनका बेला पनि चल्नेगरी “श्रमिक विशेष रेलसेवा” संचालनमा ल्याउन विशेष निर्दे्शिका जारी गरेको छ । विशेष गरेर कामदारहरु आवतजावत गर्न पाउने र उनीहरुलाई सम्बन्धित ठाउँमा पु¥याउने उद्देश्यले श्रमिक विशेष रेलसेवा शुरु गर्न लागिएको हो ।

यो विशेष रेलसेवाबाट कामदार, तिर्थयात्री, पर्यटक, विद्यार्थी र अन्यत्र जान नपाएर अलपत्र परेकाहरुलाई सेवा दिइने भएको छ । प्रदेश सरकारको प्रशासनको सिफारिसका आधारमा प्रदेशस्तरका रेलसेवा मात्रै सञ्चालन हुने अधिकारीहरुले जनाएका छन् । तर उनीहरुका लागि निर्दे्शिका भने केन्द्रीय सरकारले नै जारी गरेको छ ।

केन्द्रीय रेल मन्त्रालयले केही सर्त र मापदण्डहरु समेत उल्लेख गरेर निर्दे्शिका जारी गरेको समाचारमा जनाइएको छ । हरेक यात्रुले अनिवार्य रुपमा मास्क लगाउनु पर्ने, बढीमा १२ घण्टाको मात्रै यात्रा गर्न पाइने, एक छाक खाना रेलसेवाले नै उपलब्ध गराउने निर्दे्शिकामा उल्लेख गरिएको छ ।

त्यसैगरी हरेक यात्रुलाई प्रदेश सरकारले नै जिम्मा लिनु पर्नेे, प्रदेशले नै उनीहरुलाई आवश्यकता र अवस्था अनुसार स्वास्थ्य परीक्षण गर्नु पर्ने, क्वारेन्टाइन र बाँकी यात्राको व्यवस्था गर्नु पर्नेेछ । रेल तथा रेल स्टेशनहरुमा सामाजिक दुरीलगायतका स्वास्थ्य सतर्कता पूर्ण रुपमा अपनाउनु पर्ने शर्त पनि राखिएको छ ।

भारतमा सरकारले मे ३ अर्थात आइतबारदेखि सकिन लागेको लकडाउनको अवधि फेरि लम्ब्याएर यही मे १७ सम्म पु-याएको छ । अहिले मे ४ देखि लागू हुने गरी थप दुई साताको लागि तेस्रो चरणको लकडाउन गर्ने निर्णय शुक्रबार गरिएको हो । भारतमा पहिलो चरणको लकडाउन २४ मार्चमा लगाइएको थियो ।

कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न भन्दै लकडाउन घोषणा गर्ने ठूला देशहरुमध्ये भारत अग्रस्थानमा पर्दछ । भारतमा घोषणा गरिएको लकडयाउनलाई सबैभन्दा ठूलो र सबैभन्दा लामो अवधिको लकडाउन भनिएको छ ।––रासस / एएनआई

भारतलाई युएईद्वारा सात मेट्रिक टन चिकित्सा सामग्री सहयोग

नयाँ दिल्ली,मे २

कोभिड–१९ सङ्क्रमणको महामारीसँग जुझ्न संयुक्त अरब ईमिरेट्स (युएई) बाट शनिबार भारतमा सात मेट्रिक टन चिकित्सा सामग्री ल्याइएको छ ।“ भारतका लागि युएइका राजदूत डा अहमद अब्दुल रहमान अल्बन्नाले शनिबार सामान हस्तान्तरण गर्दै भने, “युएईले कोभिड–१९ महामारीसँग जुझ्न राष्ट्रहरूलाई सङ्कटका समय स्वास्थ्य क्षेत्रमा आवश्यक पर्ने सामग्री सहयोग गर्न प्रतिवद्ध छ । भारतलाई युएईको सहयोगले दुई देशबीच लामो समयदेखि रहँदै आएको सहकार्य र गहिरो भाईचारा सम्बन्धको निरन्तरता दिँदै चिकित्सा सामग्री सहयोग गरिएको हो ।”

अल्बन्नाले थपे,“कोभिड–१९ विरूद्धको लडाई अहिले वैश्विक चिन्ताको प्राथमिक विषय बनेको छ र भाइरस हुनसक्ने अन्य देशहरूको प्रयासलाई सुदृढ पार्नु अत्यावश्यक हो भन्ने कुरामा हामी विश्वस्त छौं ।”

हालसम्म युएईले ३४ भन्दा बढी देशहरूलाई तीन लाख ४८ हजार स्वास्थ्यकर्मीका लागि आवश्यक पर्ने ३४८ मेट्रिक टन भन्दा बढी सहयोग प्रदान गरिसकेको उनले बताए । कोभिड–१९ विरूद्धको लडाईमा चिकित्सकहरूको सुरक्षाका लागि आवश्यक पर्ने सामानको आपूर्ति गर्न यूएई इच्छुक रहेको उनले बताए ।

भारतमा हालसम्म ३७ हजार ३६६ व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ भने एक हजार २०० भन्दा बढीको मृत्यु भइसकेको छ । भारतमा सङ्क्रमितमध्ये करिब १० हजार व्यक्ति निको भई घर फर्किएका छन् भने २६ हजार १६७ जनाले देशभर विभिन्न अस्पतालहरूमा चिकित्सकको प्रत्यक्ष निगरानीमा उपचार सेवा लिइरहेका छन् ।

त्यस्तै यूएईमा १२ हजार ४८१ सङ्क्रमित भएका छन् भने १०५ जनाले कोरोना भाइरस सङ्क्रमणका कारण ज्यान गुमाएका छन् ।

कोभिड– १९ रोकथाम: सार्क राष्ट्रमा नेपालको अवस्था राम्रो

काठमाडौं,मे २

नेपालले कोरोना भाइरस कोभिड– १९ को रोकथाम र नियन्त्रणमा खेलेको भूमिका दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) देशमा राम्रो रहेको छ । सार्कमा कोभिड– १९ को रोकथाम र नियन्त्रणमा नेपालको भूमिमा भूटानपछि रहेको छ । नेपाल र भूटानमा अहिलेसम्म एक जना पनि व्यक्ति कोरोनाका कारणले ज्यान गुमाउनुपरेको छैन । ती देशमा सङ्क्रमण पनि कम रहेको छ । सार्कका आठ देशमध्ये छ देशमा सङ्क्रमणका कारणले मानिसको निधन भएको छ । माल्दिभ्समा एक जनाको निधन भए पनि कोभिड– १९ को परीक्षणको दायरामा भने नेपाल र भूटान जस्तै बढी नै रहेको छ ।

नेपालले समयमा नै आफ्नो सिमाना बन्दाबन्दी गर्नु र कोभिड– १९ को परीक्षणको दायरा बढाएकाले रोकथाम र नियन्त्रणमा राम्रो भूमिका निभाएको हो । नेपालले गत चैत ११ गतेदेखि अन्तरराष्ट्रिय सीमा बन्द गर्दै लकडाउन गर्दै आइरहेको छ । अहिलेसम्म भारतमा ८९ प्रतिशत भू–भागमा कोभिड– १९ को सङ्क्रमण देखिएको छ । भारतमा अहिले एक हजार २२३ व्यक्तिले ज्यान गुमाइसकेका छन् । यसैगरी पाकिस्तानमा ४१७, बङ्गलादेशमा १७५, अफगानिस्तानमा ७२, श्रीलङ्कामा सात र माल्दिभ्समा एक जनाको कोभिड– १९ ले निधन भइसकेको छ ।

नेपालसहित भूटान र माल्दिभ्समा परीक्षणको दायरा बढिरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिनुभयो । कोरोना रोकथाममा भूटान र माल्दिभ्सपछि नेपालको स्थिति रहेको उनले बताए । कोरोनाका कारणले एक जनाको निधन भएपछि माल्दिभ्समा परीक्षणको दायरा बढी नै रहेको छ । नेपालको प्रति १० लाखमा दुई हजार २९ जनाको परीक्षण गरिएको छ । यस्तै भूटानमा १३ हजार ९१ र माल्दिभ्समा १४ हजार ८१५ जनामा गरिएको छ । भूटान र माल्दिभ्स कम जनसङ्ख्या भएकाले १० लाखमा परीक्षणको दायरा बढी देखिएको हो ।

“जनसङ्ख्याको हिसाबले सबभन्दा बढी परीक्षण नेपालमा रहेको छ”, मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले भन्नुभयो, “तर भूटान र माल्दिभ्समा कम जनसङ्ख्या भएकाले १० लाखका हिसाबले परीक्षण गराउनेको सङ्ख्या बढी देखिएको हो, समग्रमा हामीले नै बढी परीक्षण गराएका छौँ ।”

नेपालसँग सीमा जोडिएको छिमेकी मुलुक भारतमा प्रति १० लाखमा ६५४ जनामा मात्र परीक्षण गरिएको छ । नेपालपछि श्रीलङ्कामा एक हजार ४७, पाकिस्तानमा ८२५, बङ्गलादेशमा ४२६, अफगानिस्तानमा २७२ जनामा परीक्षण गरिएको छ ।

दक्षिण एशियाली मुलुकमा नेपालमा पहिलो पटक कोभिड– १९ को सङ्क्रमण देखिएको थियो । नेपालमा गत माघ ९ गते चीनको वुहान शहरबाट आएका एक विद्यार्थीमा कोभिड– १९ को सङ्क्रमण देखिएको थियो ।
नेपालले कोभिड– १९ को परीक्षणको दायरालाई बढाएकाले सार्कका अन्य पाँच देशलाई उछिनेको हो । अहिले नेपालमा १६ स्थानमा पिसिआर र ७७ जिल्लामा आरडिटीबाट परीक्षण गरिएको छ । नेपालमा पिसिआरबाट १३ हजार ९८ र आरडिटीबाट ४८ हजार ५२९ मा परीक्षण गरी जम्मा ६१ हजार ६२७ जनामा परीक्षण गरिएको छ ।
विश्वमा अहिले ३२ लाख ३३ हजार १९९ व्यक्ति सङ्क्रमित भएका छन् भने दुई लाख २७ हजार ४८९ जनाको निधन भएको छ । सहप्रवक्ता डा अधिकारीले परीक्षणको दायरा बढाउन पिसिआर मेसिन अझै दुई÷तीन ठाउँमा जोडिन थालिएको बताए ।

नेपालमा काठमाडौँ, धादिङ, उदयपुर, झापा, बारा, पर्सा, सर्लाही, रौतहट, रुपन्देही, चितवन, बागलुङ, कैलाली, कञ्चनपुर, बाँके र भोजपुर गरी १५ जिल्लामा ५९ जनामा कोभिड– १९ को संक्रमण देखिएको छ । तीमध्ये अहिले विराटनगरमा ३१, वीरगञ्जमा आठ, चितवनमा एक, धनगढी एक, नेपालगञ्जमा एक र रुपन्देहीमा एक जनाको उपचार भइरहेको छ । अहिले प्रदेश नं ३, गण्डकी र कर्णाली प्रदेशमा कोभिड– १९ का सक्रिय बिरामी रहेका छैनन् ।

यहाँ ८१ वर्षीया र ६५ वर्षीया महिला कोभिड– १९ को सङ्क्रमणबाट पूर्णरुपमा स्वस्थ्य भई घर फर्किएका छन् । मन्त्रालयका विज्ञ स्वास्थ्य सल्लाहकार डा खेम कार्कीले सरकारको सक्रियताका कारणले कोभिड– १९ रोकथाम गर्न सकिएको बताए । उनले नेपालमा जटिल बिरामी नदेखिनु, कम्युनिटी ट्रान्समिसन हुन नदिनु र समयमा नै उपचारको व्यवस्था गर्नाका कारणले सार्कका अन्य देशको तुलनामा कोभिड– १९ नियन्त्रण गर्न राम्रो भूमिका निभाएको बताए । ––रासस

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दोश्रो चरणको राहतकालागि थाले छलफल

नयाँ दिल्ली,मे २

दुइ साताकालागि लकडाउनको अवधि थपेसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसबाट प्रभावित क्षेत्रमा दोस्रो चरणको राहत दिनका लागि सरकारमा रहेका केही प्रभावशाली मन्त्रीहरुसँग परामर्श थालेका छन् । मोदीले शनिबार साना र मझौला उद्योगहरुलाई राहत दिने विषयमा गृहमन्त्री अमित शाह, अर्थमन्त्री निर्मला सितारमण लगायसँग परामर्श गरेका हुन् ।

मोदीले राहत प्याकेजबारे शुक्रबार पनि उड्ययन र श्रम मन्त्रालयहरुर्सँ ग पनि कुराकानी गरेका थिए । मोदीले विहिबार वाणिज्य तथा साना तथा मझौला उद्योग मन्त्रालयसँग आन्तरिक तथा विदेशी लगानी आकर्षित गर्ने तथा साना व्यवसायहरुको पूर्नउत्थान गर्ने बारे छलफल गरेका थिए । यो बैठकमा मोदीसँग गृहमन्त्री शाह तथा वित्त मन्त्री सीतारमण समेत उपस्थित थिए । भारतीय सन्चारमाध्यमहरुका अनुसार भारत सरकारले आन्तरिक तथा बाह्य लगानीमा भएका साना खालका लगानीलाई पूर्नउत्थान गर्न विशेष खालको राहत योजना ल्याउने अनुमान छ ।

यस अघि लक डाउनबाट परेको प्रभावबाट मुलुकलाइ उकास्न सरकारले मार्च महिनाको अन्त्यमा १.७ लाख करोड बराबरको राहत प्याकेज घोषणा गरेको थियो। उक्त राहत गरिबहरुका लािग खाना पकाउने ग्यास र महिला तथा वृद्धका लागि नगद वितरण गरिएको थियो।

भारतमा लक डाउन दुई साताकालागि थपिएको छ ।

भारतमा कोभिड–१९’ संक्रमितको संख्या ३७ हजार नाघ्यो र १ हजार २१८ को मृत्यु

नयाँ दिल्ली,मे २

भारतमा ‘कोभिड–१९’ संक्रमितको संख्या ३७ हजार ३३६ पुगेको शनिबार जनाइएको छ । कोरोना भाइरस संक्रमणको कारण भारतभर गएको २४ घन्टायता ७१ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार २१८ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

गएको २४ घन्टायता भारतमा २ हजार २९३ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन । भारतभर गएको २४ घन्टायता संक्रमितको संख्या हालसम्मको नै सब भन्दा बढी भएको मन्त्रालयले जनाएको छ ।

यी संंक्रमितहरूमध्ये ९ हजार ९५१ जना भने उपचारपछि निको भएर फर्किएका छन् । मन्त्रालयले दिएको जानकारीअनुसार हाल यहाँ २७ हजार ३८५ कोरोनाका संक्रमित विरामी अस्पतालमा उपचाररत रहेका छन् ।

भारतको महाराष्ट्र कोरोना भाइरसबाट अत्यन्त प्रभावित राज्यको रूपमा रहेको यहाँँ मात्र संक्रमितहरूको संख्या ११ हजार ५०६ रहेको र ४८५ जनाले ज्यान गुमाएका छन् । एक हजार ८७९ उपचारपछि फर्किएका मन्त्रालयले जनाएको छ ।

महाराष्ट्रपछि गुजरात यस भाइरसको संक्रमण दोस्रो स्थानमा रहेको र यहाँ ४ हजार ७२१ संक्रमित रहेका छन् । यस राज्यमा ७३५ जना उपचारपछि घर फर्किएका छन् । गुजरातमा यस भाइरसको सक्रमणको कारण २३६ जनाको ज्यान गएको छ ।

गुजरातपछि यस भाइरसको संक्रमण तेस्रो स्थानमा दिल्ली रहेको छ । भारतको अन्य कैयौ राज्यमा कोरोना भाइरसको संक्रमण रहेको छ । त्यसैकारण भारतमा पुनः लकडाउन थपिएको छ ।

कोराना भाइरसको (कोभिड–१९ ) को संक्रमण फैलिने क्रम नरोकिएपछ भारत सरकारले देशव्यापी लकडाउनलाई थप दुइ साताको लागि लम्बाएको छ । भारतले शुक्रबार मे ४ देखि लागू हुने गरी थप दुइ साताको लागि तेस्रो चरणको लकडाउन गर्ने निर्णय गरेको छ । भारतमा पहिलो चरणको लकडाउन २४ मार्चमा लगाइएको थियो ।

दोस्रो लकडाउन १५ अप्रिलमा शुरु भएको थियो । दोस्रो लकडाउन मे ३ मा सकिदै थियो । कोरोना भाइरसको संक्रमण देशभरी बढ्दै गएपछि दोस्रो लकडाउन नसकिदै तेस्रो लकडाउनको घोषणा गरिएको छ ।–एएनआई रासस

दिल्ली प्रदेशका ११ जिल्ला उच्च जोखिममा

काठमाडौं,मे २

भारतको दिल्ली प्रदेशका ११ जिल्लालाई उच्च जोखिमको सूचि (रेड जोन) बाट तत्काल नहटाइने भएको छ । दिल्ली प्रदेशका स्वास्थ्य मन्त्री सत्येन्द्र जैनले यही मे १७ तारिखसम्म ११ जिल्लालाई उच्च जोखिमको सूचिबाट नहटाइने शनिबार जानकारी दिएका छन् ।

“दिल्लीका ११ जिल्लालाई हामीले यही मे १७ सम्म उच्च जोखिमका जिल्लाको सूचिमा राखिने छ,” उनले भने । कुनै पनि जिल्लामा कोरोनाभाइरसबाट संक्रमित विरामीको संख्या दशभन्दा बढी भएमा त्यस जिल्लालाई उच्च जोखिमको जिल्लाका रुपमा सूचिकृत गरिने व्यवस्था रहेको पनि उनले बताए ।

केन्द्रीय स्वास्थ्य मन्त्रीले पनि शुक्रबार देशभरका १३० जिल्ला उच्च जोखिमपूर्ण जिल्लाको सूचिमा रहेको बताउनु भएको थियो । यही मे ४ तारिखदेखि देशव्यापी लकडाउनको म्याद फेरी थप्ने निर्णय भएकैदिन उनले रेड जोनमा रहेका जिल्लाहरुको सूचि बनाइएको जानकारी दिएका हुन।

उनका अनुसार देशभरका २८४ जिल्लालाई “ओरेन्ज जोन” र ३१९ जिल्लालाई “ग्रिन जोन”का रुपमा सूचिकृत गरिएको छ । मन्त्री जैनले केन्द्रीय राजधानी प्रदेशमा कोरोनाभाइरसबाट संक्रमितको संख्या शनिबारसम्म तीन हजार ७३८ पुगेको जानकारी दिए ।

उनले भने, “अहिलेसम्म दिल्लीमा तीन हजार ७३८ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्, ती मध्ये २२३ जना त हिजो मात्रै थपिएका हुन् ।”उनका अनुसार कुल सङ्क्रमित मध्ये झण्डै ३२ प्रतिशत अर्थात एक हजार १६७ जना अहिले संक्रमणमुक्त भइसकेका छन् ।

देशभरी संक्रमितको संख्या भने ३७ हजार ३३६ पुगेको छ । कोरोना भाइरस संक्रमणको कारण भारतभर गएको २४ घन्टायता ७१ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार २१८ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

गएको २४ घन्टायता भारतमा २ हजार २९३ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन । भारतभर गएको २४ घन्टायता संक्रमितको संख्या हालसम्मको नै सब भन्दा बढी भएको मन्त्रालयले जनाएको छ ।

दैनिक रुपमा सङ्क्रमित हुने र मुत्यु हुनेको संख्यामा कमी नआएपछि सरकारले देशव्यापी लकडाउनलाई थप दुइ साताको लागि लम्बाएको छ । भारतले मे ४ देखि लागू हुने गरी थप दुइ साताको लागि तेस्रो चरणको लकडाउन गर्ने निर्णय गरेको हो । भारतमा पहिलो चरणको लकडाउन २४ मार्चमा लगाइएको थियो । ––रासस/एएनआई

भारतमा रोकिएका मजदुर घर फर्किन पाउँदा खुशी

घोडाघोडी,मे २

सुदूरपश्चिम प्रदेशको दार्चुलापारिको भारतीय सीमा धार्चुलामा एक महिना पाँच दिनदेखि अलपत्र रहेका कैलालीको घोडाघोडी नगरपालिकाका–११ शिसैयाका वीरसिहं विक नगरपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा प्रवेश गर्दा निकै खुशी थिए ।

“ओहो भगवान् आफ्नो ठाउँ पुगियो” भन्दै आकाशतिर हेर्दै खुशी व्यक्त गरिरहेका वीरसिंहका आँखाबाट खुशीका आँसु झरिरहेको थियो । उनी सरकारले आफ्ना नागरिकलाई सुरक्षित तरिकाले घरसम्म ल्याउने वातावरण बनाएकामा खुशी देखिएका थिए । “हामीले त आस मारिसकेका थियौँ घर फर्कन पाइन्छ भनेर तर सरकारले घर पु¥याइछाड्यो, सरकारले अभिभावक भएको कर्तव्य पूरा गरेको आभास भयो” उनले भने ।

“हामी नेपाली भूमि फर्कन चाहन्थ्यौँ, बरु आफ्नै देशका क्वारेन्टाइनमा बस्न तयार थियौँ, तर कुनै पनि अवस्थामा नेपाल आउन चाहन्थ्यौँ” धार्चुलाबाटै फर्कनुभएका घोडाघोडी नगरपालिका–९ का रामसिंह ऐडीले भने । तर सीमा बन्द र लकडाउन बढ्दै गएपछि घरमा रहेका दुई वर्षका छोरा र परिवारलाई सम्झेर रुँदै दिन काटेको उनले दुखेसो पाखे । “लामो समय क्वारेन्टाइनमा बस्दा घरको चिन्ताले सताउँथ्यो, आज आफ्नै गाउँ पुग्दा असाध्यै खुशी भएको छु”, ऐडीले भन्नुभयो । अब केही दिन यहाँ क्वारेन्टाइनमा बस्नुपर्छ भन्नुभएको छ, बस्छु त्यसपछि घर गएर छोरालाई खेलाउने एकदमै चाहना भएको उनको भनाइ थियो ।

धार्चुलामै अलपत्र परेर शुक्रबार घोडाघोडी पुग्नुभएकी घोडाघोडी–८ लठुवाकी ६५ वर्षीया लक्ष्मीदेवीले विक आफ्नो भूमि आउन पाइएला भन्ने कुरा सोच्न छाडिसकेको अवस्थामा आउन पाइएकाले संसारभरको खुशी प्राप्त भएझैँ लागिरहेको बताइन । आर्थिकरूपमा कमजोर भएका कारण कमाउन बूढाबूढी भारत गएको दुई महिनामै रोग फैलिएका कारण फर्कनुपरेको बताउँदै उनले भएको पैसा सकिएर झनै समस्या भएको पिडा पोखिन । सरकारले फर्काउलाजस्तो नलागे पनि आशा गरेर बसेका आफूजस्ता मजदुरलाई फर्काएकामा उनले खुशी व्यक्त गरिन ।

“जिन्दगीमा कहिलेकाहीँ नसोचेको पनि हुँदोरहेछ”, घोडाघोडी नगरपालिका –९ का श्याम चौधरीले भने, “नेपाल भारतको सीमामा अलपत्र परेका आफ्ना साथी महाकाली पौडिएर नेपाल आएको देख्दा लाग्थ्यो अब हाम्रो पनि यस्तै अवस्था आउँछ । तर मनमा सरकारले आफ्ना जनतालाई त्यसै मर्न कहाँ देला र ? आखिर हामीलाई हाम्रो सरकारले घरसम्म ल्याइदियो सरकारलाई धेरै–धेरै धन्यवाद छ ।”

विक, ऐडी, चौधरी मात्र होइन, कोभिड–१९ ले त्रसित बनाएपछि भारतमा मजदुरी गर्न गएका नेपालीहरु विगत एक महिनाभन्दा बढी भारतीय क्वारेन्टाइनमा बसेपछि शुक्रवार आफ्नो घर फर्किन पाउँदा निकै खुशी भएका थिए । –रासस

नेपाल–भारत पर्यटनलाई नयाँ गति दिइने

काठमाडौं,मे १

कोभिड–१९ को सङ्कट सकिएपछि नेपाल–भारत पर्यटनलाई नयाँ गति दिइने भएको छ । दुई देशबीचको पर्यटन प्रवद्र्धनलाई नयाँ दिशादिन सरोकारवाला निकायले छलफल अघि बढाएका हुन् । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मीले भारतका पर्यटन संघ–संस्थाका प्रमुसहरुसँग नेपाल–भारत पर्यटनलाई कोरोना सङ्कटपछि नयाँ गतिदिने विषयमा अनलाइन छलफल गरेको बोर्डले विज्ञप्तिमार्फत जनाएको छ ।

छलफलमा भारतीय पर्यटनका अगुवा ज्योति मयल, भारतीय ट्राभल एजेण्टस एशोसिएशनस अध्यक्ष पिपि खन्ना, भारतीय आन्तरिक पर्यटन टुर अपरेटर एशोसिएशनस अध्यक्ष क्याप्टेन स्वदेश कुमार, भारतीय एड्भेन्चर टुर अपरेटर एशोसिएशनस अध्यक्ष प्रदीप लुल्ला, भारतीय ट्राभल एजेण्टस फेडेरेसन र भारतीय आउटबाउण्ड टुर अपरेटर्स एशोसिएशन महेन्द्र भखारिया निर्वतमान अध्यक्ष सहभागी भएका थिए । भने बज भारतीय ट्राभलका प्रमुख सञ्चित जैनले छलफलको समन्वय गरेका थिए ।

बोर्डका कार्यकारी प्रमुख कार्यकारी अधिकृत डा रेग्मीले उक्त छलफलमा बोर्डले वर्तमान सङ्कटका समयमा नेपालमा भएका पर्यटकलाई आफ्नो देश फर्किन गरिएको कामका बारेमा जानकारी गराएका थिए । उनले नेपाली पर्यटन उद्योगको क्षति विवरणका लागि सर्भेक्षण गरिरहेको, नेपाल सरकारसँग पर्यटन उद्योगलाई राहत प्याकेजका लागि गरिरहेको पहलकदमीबारे अवगत गराएका थिए ।

त्यसैगरी नेपाली पर्यटन उद्योगलाई आगामी दिनमा आवश्यक हुने हाइजिन स्यानिटेशनको व्यवस्था, भारतीय बजार लक्षित हिलस्टेशन र मझौला पहाडी भागमा नयाँ पर्यटकिय गन्तब्यको विकासका साथै ती स्थानमा मनोरञ्जनका आयामका लागि बोर्डले गरिरहेको पहलबारेमा पनि जानकारी गराउ ।

छलफल कोरोना पछिका दिनमा भारतीय पर्यटकको नेपाल भ्रमणका लागि चाहिने आत्मविश्वासका लागि गरिनुपर्ने लगायत विविध अभियानका बारेमा केन्द्रित थियो । सबै सहभागी भारतीय पर्यटनका शीर्ष व्यक्तिले सङ्कटपश्चात् भारतीय पर्यटक भ्रमणमा सामाजिक दूरी र सुरक्षाका विषयमा बढी सचेत हुने बताउँदै नेपालले गन्तव्यमा यसको प्रबन्ध गर्न अनुरोध गरेका थिए । नेपालको यो सङ्कटमा हालसम्म शुून्य मृत्युको अवस्थाले आगामी दिनमा भारतीय बजारमा छुट्टै स्थान बनाउने र नेपालप्रतिको विश्वास अझ बढाउने सहभागीको भनाइ थियो ।

साथै छलफलका क्रममा नेपाली र भारतीय ट्राभल उद्योगले समन्वयमा काम गरी भारतीय पर्यटकलाई नयाँ आत्मविश्वास प्रदान गर्नुपर्ने आवश्यकता पनि औँल्यायो । नेपाली आतिथ्यता र सत्कारलाई नेपाली पर्यटनको आधार भएको मनन गरी नेपालको नयाँ परिचय स्थापित गराउने कार्यलाई तीव्रता दिन पनि सहभागीले विशेष अनुरोध गरेका थिए । बजारीकरण र प्रवद्र्धनका कार्यमा नेपाली र भारतीय समकक्षीको संयुक्त प्रयास गराउन भारतीय पर्यटन सङ्घ–संस्थाले आफ्नो सदस्यलाई सक्रिय गराउने विषय पनि छलफल भएको थियो ।

नेपाल–भारत पर्यटन टास्कफोर्स समिति बनाउन नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा रेग्मीले गरेको प्रस्तावलाई आगामी दिनमा छलफलले टुङ्ग्याउने सहमति भएको छ । बोर्डले आगामी दिनमा भारतीय समकक्षीसँगको छलफललाई तीव्रता दिने र यस किसिमको गन्तव्य वेभिनार संयुक्तरुपमा आयोजना गर्दै जाने निर्णय पनि सो अवसरमा सहमति भएको विज्ञप्तिमा उल्लेख छ ।–––रासस

Nepal news headlines | breaking news kathmandu | national news of nepal live