INDIA

भारतबाट आएका ६८ जनाको रिपोर्ट नेगेटिभ

गुल्मी,मे ८

भारतबाट जिल्ला आएका ६८ व्यक्तिको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । उनीहरु दुई साताअघि २८ दिनसम्म सुनौली नाकामा क्वारेन्टाइनमा बसेर स्वदेश फर्किएका हुन् । भारतबाट आएका सबैलाई स्थानीय पालिकाले १४ दिनसम्म क्वारेन्टाइनमा राखेका थिए ।

भैरहवास्थित प्रदेश प्रयोगशालामा किटको अभाव भएपछि पिसिआर टेष्टका लागि उनीहरुको स्वाब गण्डकी जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाइएको थियो । परीक्षणका लागि पठाइएका सबैको रिपोर्ट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी भरतराज शर्माले जानकारी दिए ।

भारतवाट आएका व्यक्तिको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएपछि क्वारेन्टाइनमा बसेका अधिकांश व्यक्ति बिहीबार घर फर्किसकेको र बाँकीलाई आज पठाउने तयारी गरिएको धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले बताए । उनीहरुको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएपछि स्थानीयवासीमा त्रास हटेको पोख्रेलको भनाइ छ ।

दुई सातासम्म सीमा नाकामा बसेकामध्ये धुर्कोटका ५, रेसुंगा नगरपालिकाका सात, मुसिकोटका तीन, चन्द्रकोट गाउँपालिकाका दुई तथा मदाने र रुरुक्षेत्र गाउँपालिकाका एकएक जना पालिकाका क्वारेन्टाइनमा बसेका थिए । जिल्लामा हालसम्म ७५ जनाको स्वाब परीक्षणका लागि पठाइएकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।––रासस

भारतमा मालबाहक रेलले किचेर १६ जनाको मृत्यु

औंरगाबाद, महाराष्ट्र , मे ८

महाराष्ट्र राज्यको औरंगाबादमा मालबाहक रेलगाडीले रेलको लिकमा आराम गरिरहेका प्रवासी मजदूरहरुको एक समूहलाई शुक्रबार बिहान ठक्कर दिँदा १६ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सवारी साधनको अभावमा हिँडेरै आआफ्ना घरतर्फ गइरहेका प्रवासी मजदूरको एक समूहलाई मालबाहक रेलले जालना र औरंगाबादबीच बिहान ६.३० बजे किचेको थियो । उक्त दुर्घटनामा अन्य केही मजदूर पनि घाइते भएका छन् ।

घाइतेहरुलाई औरंगाबादस्थित स्थानीय अस्पतालमा भर्ना गरिएको छ । घटनालगत्तै प्रहरी र उद्धारकर्मी घटनास्थल पुगेका थिए । भारतीय रेलवेले मजदूरहरु रेलमार्गमा आराम गरिरहेको समयमा दुर्घटना भएको जनाएको छ ।

भारतीय रेलमन्त्री पियुष गोयलले उक्त घटनाको जाँचको आदेश दिएका छन् । संचारमाध्यमहरुका अनुसार यी सबै मजदूर मध्यप्रदेशका थिए । प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले मृतक मजदुरका प्रत्येक परिवारलाई भारतीय रुपैयाँ पाँच लाख दिने घोषणा गरेका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले घटनालगत्तै ट्वीट गरी महाराष्ट्रको औरंगाबादमा भएको घटना अत्यन्त दुःखद भएको र आफू घटनाबाट मर्माहत भएको जनाउँदै आफूले रेलमन्त्रीलाई उक्त घटनाबाट पीडितलाई जतिसक्दो चाँडो सहयोग गर्न निर्देश दिएको बताएका छन् ।

भारतमा देशव्यापी लकडाउन घोषणा गरेपछि मुम्बई, नयाँ दिल्ली समेतका ठूला शहरबाट लाखौं मजदूर पैदलै हिँडेर आआफ्ना घर फर्किरहेका छन् । पछिल्लो पटक भारतमा भएको यो दुर्घटना लकडाउनको अवधिको सबैभन्दा भयानक हो ।––एनएनआई/रासस

दिल्लीमा पछिल्लो २४ घण्टामा हालसम्मकै उच्च संक्रमित, संक्रमितको संख्या…

नयाँ दिल्ली,मे ७

भारतमा कोरोना भाइरसबाट ५२ हजार भन्दा बढि मानिस संक्रमित भइसकेको छन् भने १७५० व्यक्तिको मृत्यु भइसकेको छ । यसैबीच राजधानी दिल्लीमा पछिल्लो २४ घण्टामा हालसम्मकै अधिक नयाँ संक्रमित थपिएका छन् ।

केजरीवाल सरकारले जारी गरेको ताजा तथ्याँक अनुसार दिल्लीमा वितेको २४ घण्टामा ४४८ नयाँ केस देखिएको हो । यो सँगै दिल्लीमा कोरोना भाइरसको ५९८० केस सामुन्ने आएको छ । हाल सम्म ६६ मानिसको ज्यान गइसकेको छ ।

त्यसैगरि पछिल्लो २४ घण्टामा ३८९ विरामी निको भएका छन् । २४ घण्टामा ठीक भएकाको हालसम्मको उच्च संख्या रहेको पनि दिल्ली सरकारले जनाएको छ । हाल सम्म दिल्लीमा कोरोना संक्रमित मध्ये १९३१ निको भएर फर्किएका छन् । दिल्लीको रिकभरी रेट ३२.२९ प्रतिशत रहेको छ ।

प्रधानमन्त्री मोदीद्धारा कोभिड १९ को उपचारमा संलग्न स्वास्थ्यकर्मीको प्रशंसा

नयाँ दिल्ली,मे ७

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको संघर्षमा लागिरहेका स्वास्थ्यकर्मीहरुको प्रसंशा गर्नुभएको छ । उहाँले चिकित्सक, नर्स तथा अस्पतालमा कार्यरत सबै कर्मचारीहरुले यस्तो महामारीको बेलामा पनि उच्च मनोबलका साथ काम गरेको बताएका छन् ।

उनले स्वास्थ्यकर्मीहरुले भगवान गौतम बुद्धले जस्तो सन्देश विश्वलाई नै दिएका पनि बताए । । भगवान गौतम बुद्ध जयन्तीका अवसरमा विहिबार दिएको सन्देशमा उनले सो कुरा बताएका हुन् ।

यसअघि पनि उनले कोरोना भाइरसका विरुद्धमा संघर्ष गरिरहेका भारतका स्वास्थ्यकर्मीहरुका साथमा समग्र भारतीय नागरिक र विश्व नै रहेको र उनीहरु एक्लो नभएको बताएका थिए ।

भारतमा लकडाउन जारी नै रहेको छ भने त्यहाँ दिन प्रतिदिन ठूलो संख्याका संक्रमितहरु थपिँदै गएका छन् । यस्तो अवस्थामा विहिबार गौतमबुद्ध पूर्णिमाको अवसरमा उनले सबै भारतीय जनता स्वास्थ्यकर्मीहरुको साथमा रहेका बताएका हुन् ।

उनले ती स्वास्थ्यकर्मीहरुका साथमा सबै भारतीय रहेका बताउँदै भने,‘कोरोना भाइरसविरुद्धको लडाईमा भारत पनि एक्लो छैन र भारत भित्र पनि कोही नागरिक एक्लो छैन । यो महामारीका विरुद्धमा संसार नै छ ।’

भगवान गौतम बुद्ध बलिदानको उच्चतम विन्दुको नाम हो भन्दै आज विश्वले नै उहाँलाई सेवा र बलिदानका पर्यायका रुपमा हेरिरहेको धारणा पनि राखे । आफ्नो दृढ इच्छाशक्तिका माध्यमबाट गौतम बुद्धले विश्वमा परिवर्तन ल्याउनुभएको र विश्वलाई नै शान्तिको मार्गमा हिँडाउन उच्चतम प्रयास गर्नुभएको सो सम्बोधनका क्रममा उनले बताएका हुन ।

उनले कोभिड १९ का विरुद्धमा लडिरहेका विश्वकै स्वास्थ्यकर्मी तथा सबैको प्रशंसा गरे । प्रधानमन्त्री मोदीले यो कुनै एक देश वा क्षेत्रको नभएर विश्वकै शत्रुका रुपमा देखापरिरहेको भन्दै यसका विरुद्ध लड्न विश्व नै एकताबद्ध रुपमा लाग्नुपर्नेमा जोड दिए ।

उनले यस महामारीका विरुद्धमा लड्न विश्वका सबै देशका नागरिक जस्तै एक अर्ब ३० करोड भारतीय नागरिक पनि एक साथ रहेको भनाई राखे ।
सबै नागरिक घरैमा बसेर महामारीबाट बाँच्न सकिने भन्दै यस महामारीको सबैभन्दा उत्तम उपचारको विधि पनि यही नै भएको धारणा समेत सो सन्देशमा राखे ।

उनले सो सन्देशमा यतिखेर भारतीय नागरिकले प्रदर्शन गरेको धैर्यता नै विश्वका अरु देशका लागि पनि उदाहरण भएको भन्दै यो महामारीलाई पूर्ण रुपमा नहराउँदासम्म भारत सरकारका निर्णयलाई साथ दिँदै सबैजना घरमै बस्न पनि उनले आग्रह गरे । ––एएनआई । रासस

भारतमा कोरोना संक्रमितको संख्या ४९ हजार नाघ्यो

नयाँदिल्ली, मे ६

भारतमा कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या विगत दुई दिनदेखि तिब्र गतिमा वृद्धि भएको छ । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार बिहानसम्ममा कोरोना संक्रमितको संख्या ४९ हजार ३९१ पुगेको जनाएको छ । मन्त्रालयले हालसम्म एक हजार ६९४ जनाको मृत्यु भएको पनि उल्लेख गरेको छ ।

भारतमा कूल संक्रमितमध्ये १४ हजार १८२ जना निको भएका छन् । उनीहरुलाई देशका विभिन्न अस्पतालबाट डिस्चार्ज गरिएको छ । कोरोना संक्रमितहरुमध्ये महाराष्ट्र, गुजरात र नयाँदिल्ली सर्वा्धिक प्रभावित क्षेत्र देखिएका छन् ।

महाराष्ट्रमा सबैभन्दा बढी १५ हजार ५२५ जना संक्रमित देखिएका छन् भने गुजरातमा ६ हजार २४५ जनामा कोरोनाको संक्रमण देखिएको छ । दिल्लीमा भने कोरोना संक्रमितको संख्या ५ हजार १०४ जना रहेको छ । यस्तै राजस्थानमा ३ हजार १९३ जनामा कोरोनाको संक्रमण देखिएको राज्य स्वास्थ्य विभागले जनाएको छ । ––एएनआई / रासस

महाराष्ट्र सरकारले उपचारका लागि केन्द्र सरकारसँग अपिल गयो

मुम्बई, मे ६

भारतको महाराष्ट्र सरकारले कोभिड १९ संक्रमणको उपचारका लागि अस्पतालहरु उपलब्ध गराइदिन भारतका केन्द्र सरकारलाई अपिल गरेको छ । महाराष्ट्रमा कोभिड १९ का विरामी बढ्दै गएपछि उनीहरुको उपचारका लागि आफ्नो राज्यमा रहेका अस्पतालहरु पर्याप्त नभएको भन्दै सो अपिल गरेको हो ।

महाराष्ट्र राज्यका मुख्यमन्त्री उद्धव ठाकरेको कार्यालयबाट बुधबार बिहान जारी भएको अपिलमा भारतको केन्द्रीय सरकारको मातहतमा रहेका स्वास्थ्य संस्था तथा अस्पताललाई उपलब्ध गराइदिन भनिएको छ ।

यसका लागि भारतको केन्द्र सरकारका विभिन्न निकाय तथा विभागहरुलाई आग्रह गरिएको छ । ती विभागहरुलाई आफ्नो राज्यमा विरामीहरुको संख्या अकल्पनीय रुपमा बढ्दै गएको र भोलिका दिनमा उपचारका लागि स्वास्थ्य संस्थाहरु नै उपलब्ध हुन सक्ने अवस्था पनि नरहन सक्ने भन्दै सो अपिल गरिएको बताइएको छ ।

यही मे महिनाभित्रै महाराष्ट्रमा अतिरिक्त आइसियु कक्षका साथै औषधि तथा स्वास्थ्यकर्मीहरुको संख्यामा पनि बृद्धि गर्नुपर्ने अवस्था रहेको सो अपिलमा भनिएको छ ।
यस राज्यमा भारतका अन्य राज्यको तुलनामा सबैभन्दा धेरै संक्रमित रहेका छन् । यहाँ दिन प्रतिदिन कोरोनाका संक्रमित थपिँदै गएका छन् । –एएनआई/रासस

महाराष्ट्रमा मात्रै लकडाउन उलंघन गर्ने १८ हजार पक्राउ

मुम्बई,मे ६

भारतको महाराष्ट्र राज्यबाट मात्रै लकडाउन सम्वन्धी नियम उलंघन गर्ने १८ हजार जना पक्राउ परेका छन् । भारतमा केन्द्रीय सरकारले देशव्यापी लकडाउन लागु गरेपनि उलंघन गर्नेहरुलाई स्थानीय प्रशासनले पक्राउ गर्ने गरेको छ ।

मन्त्रालयले १८ हजार ७२२ जना व्यक्तिलाई र अरु ५३ हजार ७१ ओटा यातायातका साधनहरु नियन्त्रणमा लिएको पनि जानकारी दिएको छ । लकडाउन उलंघन गर्नेहरुलाई जरिवाना तिराउदा झण्डै तीन करोड भारतीय रुपैया राजश्व संकलन भएको पनि मन्त्रालयले जनाएको छ ।

प्रदेशभरी गरेर दुई लाखभन्दा बढी मानिस अहिले पनि क्वारेन्टाइनमा रहेको र ६४२ जनाले क्वारेन्टाइनसम्वन्धी नियम उलंघन गरेको वक्तव्यमा लेखिएको छ । क्वारेन्टाइनको वा लकडाउनको नियम उलंघन गर्नेहरुका बारेमा १०० मा फोन गरेर जानकारी दिन प्रहरीले आग्रह गरेको छ । प्रहरीले अन्य कुनै गुनासो वा समस्याहरुका बारेमा समेत फोन गरेर जानकारी दिन सकिने बताएको छ ।–एएनआई /रासस

नेकपा सचिवालय बैठक बिना निष्कर्ष टुगिंयो : अध्यक्षद्वयको सल्लाहमा स्थायी कमिटी बैठकको टुङ्गो

काठमाडौं,मे ६

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले पार्टीको स्थायी कमिटी बैठक र त्यसको कार्यसूची तय गर्ने जिम्मा अध्यक्षद्वयलाई दिएको छ । स्थायी कमिटीका २० सदस्यले बैठक बोलाउन माग गरेपछि यसअघि बसेको सचिवालय बैठकले बिहीबारका लागि स्थायी कमिटी बैठक बोलाएको थियो । उक्त बैठकको कार्यसूचीलगायत आवश्यक तयारीका लागि बुधबार सचिवालय बैठक बसेको थियो । आवश्यक तयारी नपुगेपछि बैठक भोलि नै बस्ने या अर्काे दिनलाई सार्ने भन्ने कुरा निश्चित हुन सकेन ।

त्यसो हुँदा बुधबारको बैठक विना निष्कर्ष टुंगिएको छ । बिहीबार बस्ने भनिएको स्थायी कमिटि बैठकका एजेण्डा तयार पार्न बसेको सचिवालय बैठक विना निष्कर्ष टुंगिएको हो । सचिवालय बैठकले कुनै निर्णय गर्न नसक्दा बिहीबार बस्ने भनिएको स्थायी कमिटि बैठक समेत अनिश्चित बनेको छ ।

सचिवालयको वैशाख २० गतेको निष्कर्षको मर्मअनुरुप उक्त बैठकको कार्यसूची र प्रस्ताव तयार पार्ने प्रक्रियाका सम्बन्धमा दुई अध्यक्षद्वयले अझै गृहकार्य गर्न बाँकी रहेको बैठकलाई जानकारी गराउनुभएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । प्रवक्ता श्रेष्ठले बैठकपछि पत्रकारसँग भने, “अहिले पनि अध्यक्षद्वय छलफलमै हुनुहुन्छ, दुई जनाले सल्लाह गरेर स्थायी कमिटी बैठक र त्यसको कार्यसूचीका बारेमा निर्णय गर्नुहुने भएको छ ।”

पत्रकारले सोधेको अर्काे जिज्ञासामा उनले प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली आफ्नो व्यस्तता र शारीरिक कारणले बैठकमा पूरा समय दिन नसक्ने जानकारी गराएर बैठकबाट निस्कनुभएको तर अन्यथा केही नभएको प्रष्ट्याए । अध्यक्षद्वयबीच छलफल जारी रहेको समेत उनले जानकारी गराए । ––रासस

भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमित र मृत्यु हुनेको संख्या हाल सम्मकै उच्च

नयाँ दिल्ली,मे ५

पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमणबाट १९५ जना मानिसको निधन भएको छ भने ३९०० जना नयाँ संक्रमित भएका छन । भारतीय केन्द्रिय स्वास्थ्य मन्त्रालयका संयुक्त सचिव लव अग्रवालका अनुसार एक दिनमा कोविड–१९को नयाँ संक्रमित तथा निधन भएका व्यक्तिहरुको यो हाल सम्मको सबैभन्दा ठूलो आंकडा हो ।

पछिल्लो २४ घण्टामा भारतमा १०२० कोरोनाका विरामी स्वस्थ्य भएका छन् । स्वास्थ्य मन्त्रालयका अनु्सार २७.४ प्रतिशत मानिस ठीक भएका छन् । यससँगै भारतमा कोरोना संक्रमित विरामीको कुल संख्या ४५ हजार ४ सय ३३ पुगेको छ ।यसमा १५५३ जनाको संक्रमणका कारण मृत्यु भइसकेको छ ।

कोभिड–१९ बाट भारतमा ४२ हजार ६७० संक्रमित,करिब एक हजार ३९५ को मृत्यु

नयाँ दिल्ली,मे ४

भारतमा कोरोनाभाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या सोमबारसम्म ४२ हजार ६७० पुगेको छ । यसमध्ये निको भई घर फर्किएका व्यक्तिको संख्या ११ हजार ७८२ रहेको छ ।

कोभिड–१९ को संक्रमण पुष्टि भएकामध्ये एक हजार ३९५ जनाको मृत्यु भएको छ भने संक्रमणका कारण स्वास्थ्यकर्मीको निगरानीमा रहेर उपचार गराइरहेका व्यक्तिको संख्या २९ हजार ४९३ रहेको छ ।

महाराष्ट्रमा सबैभन्दा धेरै १२ हजार ९७४ जना संक्रमित रहेका छन् । त्यस्तै गुजरातमा पाँच हजार ४२८, दिल्लीमा चार हजार ५४९, तामिलनाडुमा तीन हजार २३, मध्यप्रदेशमा दुई हजार ९४२, राजस्थानमा दुई हजार ८८६, उत्तर प्रदेशमा दुई हजार ७४२, आन्ध्रप्रदेशमा एक हजार ६५०, पञ्जावमा एक हजार १०२ र तेलङ्गनामा एक हजार ८२ व्यक्ति संक्रमित रहेका छन् ।

पश्चिम बङ्गालमा ९६३, जम्मु–काश्मिरमा ७०१, कर्नाटकमा ६४२, बिहारमा ५१७, केरलामा ५००, हरियाणामा ४४२, उडिसामा १६३, झारखण्डमा ११५, चण्डिगढमा ९४ र उत्तराखण्डमा ६० व्यक्तिमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी छत्तिसगढमा ५७ असाममा ४३ लद्दाखमा ४१, हिमाञ्चललगायतका अन्य राज्यमा संक्रमितको संख्या ४० भन्दा कम रहेको छ । पर्यटकीय मुलुक गोवामा सात संक्रमित भएकामा सबै जना निको भई घर फर्किएका छन् । अन्य राज्यहरूमा भने संक्रमितको संख्या न्युन रहेको छ ।

कोभिड–१९ संक्रमित मृतकमध्ये सबैभन्दा बढी महाराष्ट्रमा ५४८ रहेका छन् । गुजरातमा २९०, मध्यप्रदेशमा १६५, राजस्थानमा ७१, दिल्लीमा ६४ र उत्तर प्रदेशमा ४५ व्यक्तिको मृत्यु भएको छ । आन्ध्रा प्रदेशमा ३६, पश्चिम बङ्गालमा ३५ र तामिलनाडुमा ३० जनाको मृत्यु भएको छ ।

अन्य प्रदेशमा मृत्यु हुनेको संख्या ३० भन्दा कम रहेको छ । विश्वव्यापीरूपमा कोरोना भाइरसका कारण सोमबारसम्मममा सङ्क्रमितको सङ्ख्या ३५ लाख ९२ हजार ६६१ रहेको छ भने दुई लाख ४९ हजार ८३ सङ्क्रमितको मृत्यु भएको छ । विश्वभर निको भई घर फर्किने कोभिड–१९ संक्रमितको संख्या ११ लाख ६५ हजार ९६६ रहेको छ ।––एएनआई । रासस

Nepal news headlines | breaking news kathmandu | national news of nepal live