INDIA

भारतीय प्रहरीले नै सीमामा ल्याएर छाड्योः प्रवासी नेपाली

लुम्बिनी,मे १५

प्रवासी नेपालीलाई विभिन्न ठाउँबाट गाडी रिजर्भ गरेर भारतीय प्रहरीले सीमासम्म छाड्ने गरेको खुलेको छ । कोभिड –१९ का कारण जो जहाँ छ, त्यहीँ बस्नुपर्ने दुई देशीय सहमति भए पनि भारतीय पक्षले त्यसो नगरी सीमासम्म ल्याएर छाडिदिने गरेको भैरहवाका विभिन्न शैक्षिक प्रतिष्ठानमा बनाइएका क्वारेन्टाइनमा बसेका प्रवासी नेपालीले बताएका छन् ।

सीमामा अलपत्र परेकाहरुलाई दुई दिन अगाडि नेपाल ल्याइएको हो । लीलाराम मावि र भैरहवा नमूना माविको क्वारेन्टाइनमा बसेका प्रवासी नेपालीले भारतीय प्रहरीले नै गाडी व्यवस्था गरेर पठाएको बताए । नमूना माविको क्वारेन्टाइनमा बसेका कपिलवस्तु महाराजगञ्जका राजीव केवटले भने, “दिल्लीमा कपडा बनाउने ठाउँमा काम गथ्र्यौँ, बन्द भएपछि हिँड्यौँ । उतैबाट गाडीले नौतनवासम्म ल्याएर छाडिदिएको हो ।”

बम्बईमा काम गर्ने रुपन्देही, कोटहीमाई गाउँपालिकाका पिन्टु यादवले काम गर्ने कम्पनी बन्द भएपछि साइकलमा निस्किएको र भारतीय प्रहरीले ट्रक रोकाएर पठाएको बताए । क्वारेन्टाइनमा बसेका कञ्चनपुरका धिरु राना, नुवाकोट सूर्यगढीका वासुदेव लामिछाने, रुपन्देही गैडहवाका कोलन चाइलगायतले भारतीय प्रहरीको सहयोगमा नेपालको सीमासम्म आएको बताए ।

बिहीबार मात्रै प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले भारतीय पक्षले नेपालीलाई सीमामा ल्याएर छाड्नु विश्व स्वास्थ्य संगठनको मापदण्ड विपरीत भएको बताएका थिए । भारतीय सरकारले व्यवस्थापन गर्नाको साटो एक हजार किलोमिटर टाढाको गन्तव्यमा जबर्जस्ती पठाइरहेको छ । भारतमा बन्दाबन्दीमा रेल सेवासमेत शुरु भएपछि दैनिक हजारौँ नेपाली स्वदेश फर्किन थालेका छन् ।

रुपन्देही र कपिलवस्तुको सीमावर्ती क्षेत्रमा मात्रै चार हजारभन्दा बढी प्रवासी नेपाली स्वदेश प्रवेशको बाटो कुरेर बसेका छन् । स्थानीय प्रशासनले जिल्लाका विभिन्न पालिकाले तयार गरेका क्वारेन्टाइनमा उनीहरुलाई राखेको छ । बुधबार मात्रै ४९५ जना बेलहिया नाकाबाट नेपाल आएको रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले बताए ।

बेलहिया नाकासँग जोडिएको जिल्ला सदरमुकामसमेत रहेको सिद्धार्थनगरपालिका, भैरहवाका विभिन्न शैक्षिक प्रतिष्ठानमा प्रवासी नेपालीलाई राखिएको नगर प्रमुख हरिप्रसाद अधिकारीले बताए । नगरको शैक्षिक तालीम केन्द्रको क्वारेन्टाइनमा ५७, लीलाराम माविको क्वारेन्टाइनमा १८०, नमूना माविको क्वारेन्टाइनमा ६४ र प्रतिमान नीमा प्रतिष्ठानको क्वारेन्टाइनमा ८९ जना राखिएको छ ।––रासस

दशगजा क्षेत्रमा घेराबेरा लगाइँदै

महोत्तरी,मे १५

लुकीछिपी सीमा नाघेर आवतजावत नरोकिएपछि महोत्तरी जिल्लाको भारतीय सीमावर्ती क्षेत्रमा घेराबेरा लगाउन थालिएको छ । जिल्लाको भारतसँग सीमा जोडिएको ३८.६ (३८ दशमलव ६) किलोमिटर दूरीभित्रबाट हुने आवागमन नियन्त्रण गर्न घेराबेरा लगाइन थालिएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको हो ।

सीमा क्षेत्रमा सुरक्षाकर्मी तैनाथ गरेर आवागमन रोक्न प्रयत्न हुँदै आए पनि दुवैतर्फ एकअर्कासँग जोडिएका बस्तीबीचबाट छिर्ने क्रम नरोकिएपछि बाँसका फट्टा र अन्य काठ ठड्याइएर घेराबेरा लगाइन थालिएको छ । जिल्लाका मटिहानी, जलेश्वर र मनराशिशवा नगरपालिका एवं एकडारा, सम्सी र सोनमासहित छ स्थानीय तहको सीमा भारतसँग जोडिएको छ । भारततर्फ सीमा क्षेत्रसँग मधुवनी र सीतामढी जिल्ला जोडिएका छन् ।

“मधुवनी र सीतामढीमा कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको समाचार छन्, भारतले रेलसेवा सञ्चालन गरेसँगै यता लुकिछिपी भित्रिनेको संख्या बढ्दै गएको जानकारी पाइएपछि घेराबेरा शुरु गरिएको हो”, महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले भने,“यो अस्थायी घेराबेराले पनि आवागमन नियन्त्रण गर्न सघाउने विश्वास छ ।”

सीमा क्षेत्रमा घेराबेरा थालिएसँगै सुरक्षा गस्ती पनि बढाइएको जिल्ला प्रशासनले जनाएको छ । पछिल्लोपटक महोत्तरी र धनुषामा पाइएका संक्रमितमध्ये केही भारतको मधुवनी र सीतामढीबाटै यता छिरेका पाइएको छ । जिल्लाको भारतसँगको सीमा क्षेत्रमा कतिपय ठाउँमा जोडिएका बस्ती, दोहोरो सामाजिक–सांस्कृतिक सम्बन्ध र कतिपय सीमा क्षेत्रका दुवैतर्फ रहेका सघन बगैँचाबाट लुकीछिपी आउने जानेलाई सजिलो बनेको देखिँदैछ । सीमाबाट भित्रिनेबारे हाम्रातिरका बस्तीमा सचेतना अपनाइएर क्वारेन्टाइन केन्द्रमा पु¥याउन सजिलो हुने भए पनि यसबारे त्यति चनाखोपन र सजगता नअपनाइँदा समस्या कायम नै रहेको राजनीतिक दल र सामाजिक क्षेत्रका कार्यकर्ता स्वीकार गर्छन् ।

स्थानीय तहका बस्तीबस्तीमा बाहिरबाट आउनेहरुबारे जानकारी लिने र यसमा कडाइ गरिए स्थिति सम्हाल्न सजिलो हुने सीमा क्षेत्रकै बासिन्दा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का जिल्ला सचिव सौखीलाल यादवले बताए । –––रासस

छाङरुमा सशस्त्र प्रहरीः दृढ संकल्पकासाथ सीतापुलबाट सीमा गस्ती

छारुंग (दार्चुला),मे १४

राज्यको कमजोर उपस्थिति रहेको दार्चुलाको विकट हिमाली क्षेत्र व्यास गाउँपालिका–१ स्थित भारतीय सीमा जोडिएको छाङरु (गागा) मा सीमा रक्षाको दृढ संकल्पकासाथ विहिबारदेखि सशस्त्र प्रहरीले गस्ती थालेको छ । मुलुकको इतिहास मै पहिलो पटक सरकारले जिल्ला सदरमुकाम खलङ्गास्थित सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्मबाट बुधबार यहाँको सीमा सुरक्षाका लागि सशस्त्रको टोली पठाएको हो ।

आफ्नो बन्दोबस्ती र गाँस, बास, कपासको जोहो गर्ने काम पूर्ण नहुँदै सशस्त्रले सीमा गस्तीलाई उच्च प्राथमिकता दिएर गस्ती नियमित गरेको हो । केही टोली दार्चुलाबाट आउँदै गर्दा अघिल्लो दिन आइपुगेका टोली सुरक्षामा खटिएको थियो ।

सुरक्षाकर्मीद्वारा महाकाली नदी किनारमा गस्ती/ नेपाल–भारत सीमा क्षेत्र दार्चुला जिल्लाको व्याँस गाउँपालिका–१ छाङ्रु (गागा) स्थित महाकाली नदी किनारमा गस्ती गर्दै सशस्त्र प्रहरीको टोली । बुधबार स्थापना भएको सशस्त्र प्रहरी बल नेपालको सीमा निगरानी चौकी (विओपी) बाट खटिएको टोलीले यहाँ बिहीबारदेखि गस्ती थालेको छ ।

टोलीले भारतसँग जोडिएको महत्वपूर्ण नाका सीतापुलबाट गस्ती थालेको हो । नेपाल र भारत आवागमनका लागि यहाँको सीमा क्षेत्रमा महाकाली नदीमाथि बनेको काठे कच्ची पुल छ । त्यही पुलबाट नेपालीहरु आवतजावत गर्ने गर्छन् । अहिले लकडाउनका कारण यहाँबाट आवतजावत ठप्प छ । यहाँको महत्वपूर्ण नाका मानिएको त्यही पुलबाट गस्ती थालिएको हो ।

सीतापुलको नेपालतर्फको भूभागमा नियमित ड्यूटीमा टोली परिचालन हुने सीमा निगरानी चौकी (बीओपी)का प्रमुख सशस्त्र प्रहरी निरीक्षक लिलीबहादुर चन्दले बताए । उनका अनुसार उक्त बीओपीले यहाँको छाङरु, कौवा, तिङ्कर, बुदी, नितिकुण्डालगायतको क्षेत्रका सुरक्षा गर्नेछ ।

छाङ्रुको सीमा क्षेत्रमा गस्ती शुरु/ नेपाल–भारत सीमा क्षेत्र दार्चुला जिल्लाको व्याँस गाउँपालिका -१ छाङ्रु (गागा) मा हालै स्थापना भएको सशस्त्र प्रहरी बल नेपालको सीमा निगरानी चौकी (विओपी) मा बिहीबार बिहान सीमा क्षेत्रमा गस्ती जाने तयारी गर्दै सशस्त्र प्रहरी ।

गस्ती शुरु गर्नुअघि सीमा अवलोकनका क्रममा गृह मन्त्रीका सुरक्षा सल्लाहकार प्रा डा ईन्द्रजीत राई र सशस्त्र प्रहरी निरीक्षक चन्दसँग सीमा सुरक्षामा खटिएको भारतीय एसएसबीका भुपेन्द्रकुमारले भेट गरेका थिए । उक्त अवसरमा नेपालले आफ्नो सुरक्षाका लागि टोली ल्याएको जानकारी दिँदै डा राईले अन्य विषयहरु सरकारबीच नै छलफल हुने भएकाले आपसी समन्वयमा काम गर्नुपर्ने सुझाव दिए ।

सुरक्षा सल्लाहकारसँग कुरा गर्दै भारतीय एसएसबी/ दार्चुला जिल्लाको व्याँस गाउँपालिका–१ छाङ्रु (गागा)स्थित नेपाल–भारत सीमा जोडिएको महाकाली नदीमाथिको काठेपुल (सीतापुल) मा गृहमन्त्रीका सुरक्षा सल्लाहकार प्राडा इन्द्रजित राईसँग कुरा गर्दै भारतीय एसएसबीका प्रतिनिधि । साथमा छाङ्रुस्थित सुरक्षा निगरानी पोष्टका प्रमुख सशस्त्र प्रहरी निरीक्षक लिलीबहादुर चन्द ।

नेपाल सरकारको निर्णयमा बुधबार यहाँ सीमा निगरानी चौकी (बीओपी) स्थापना गरिएको थियो । नेपाली सुरक्षा अधिकारीको झिनो उपस्थिति हुने गर्दथ्यो । दुई दिन हिँडेर पुग्ने हुम्लिङमा नेपाल प्रहरीको अस्थायी चौकी छ । तर छाङरु नजिकै नितिकुण्डामा रहेको प्रहरी चौकी भने गत मङ्सिरमा तल झरेपछि यहाँ सुरक्षाकर्मी शून्य थियो ।
स्थानीय बासिन्दासमेत जाडोका कारण तल झरेपछि मानवीय उपस्थिति शून्य थियो । यहाँका स्थानीय चिसोका कारण छ महिना तल झर्ने गर्छन् । मङ्सिर १४ गते सदरमुकाम झरेको नेपाल प्रहरी पनि विहिबारबाटै आफ्नो चौकीमा फर्किएका छन् ।

सशस्त्र प्रहरीको बीओपी भने स्थानीय जीतबहादुर बोहराको घर मासिक २५ हजार रुपैया तिर्ने गरी स्थापना गरिएको हो । नजिकै १५ रोपनी जग्गा व्यवस्थापन भएको छ । ११ करोड रुपैया बराबरको रकमसमेत सरकारले छुट्याइसकेको छ । भवन नबन्दासम्म सशस्त्र प्रहरी त्यही भाडाको घरमा बस्नेछ । चौकी स्थापनाका लागि गृहमन्त्रीका सुरक्षा सल्लाहकार तथा द्वन्द्व विशेषज्ञ प्रा डा राई, सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक नारायणबाबु थापालगायत पुगेका थिए ।

बुधबार त्यहाँ सात सशस्त्र प्रहरीलाई पु¥याइएको थियो । बाँकी १८ जना सशस्त्र प्रहरीको टोली र बन्दोबस्तीका सामान आज मात्रै पु¥याइएको हो । बुधबार सेनाको हेलिकोप्टरले केही मात्रै खाद्यान्न लगेकामा विहिबार बाँकी खाद्यान्नसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पु¥याएको थियो । सशस्त्र प्रहरीका अनुसार यहाँ उनीहरुलाई छ महिना पुग्ने खाद्यान्न र बन्दोबस्तीका सामान लगिएको छ । केही लत्ताकपडा र बन्दोबस्तीका सामान सेनाको हेलिकोप्टरमा काठमाडौँबाटै ल्याइएको हो ।

नेपाल–भारत सीमा क्षेत्र दार्चुला जिल्लाको छाङरु (गागा) मा सशस्त्र प्रहरी बल नेपालको सीमा सुरक्षा निगरानी चौकी (विओपी) का लागि आवश्यक सशस्त्र प्रहरीसहित खाद्यान्न र बन्दोबस्तीका सामान झार्दै नेपाली सेनाको हेलिकप्टर ।

केही दिनअघि पिथौरागढबाट गुञ्जी, कालापानी हुँदै चीनको मानसरोबर जाने लिपुभञ्याङसम्मको सडकको भारतले उद्घाटन गरेको थियो । त्यसैले सीमा रक्षाका लागि सरकारले तत्कालै यस क्षेत्रमा सशस्त्रको टोली पु¥याएको हो । गत मङ्सिरमा नै यहाँलगायत मुलुकका विभिन्न सीमा क्षेत्रमा ११४ बीओपी स्थापना गर्ने निर्णय भएको थियो । योसहित १४ स्थानमा मात्रै स्थापना भएको छ ।

नेपाल–भारत सीमा क्षेत्र दार्चुला जिल्लाको छाङरु (गागा) मा सशस्त्र प्रहरी बल नेपालको सीमा सुरक्षा निगरानी चौकी (विओपी) का लागि आवश्यक सशस्त्र प्रहरीसहित खाद्यान्न र बन्दोबस्तीका सामान झार्दै नेपाली सेनाको हेलिकप्टर ।

सकस छ छाङरु पुग्न

दार्चुला जिल्ला सदरमुकामबाट पारी भारतीय क्षेत्र धार्चुला पर्छ । पहिलेपहिले त्यही धार्चुलाबाट महाकाली नदी तिरैतिर भारतले बनाएको बाटो हुँदै नेपालीहरु यही सीतापुल तरेर छाङरु आउँथे । नेपालबाट यहाँ आउन बाटो छैन । खनीखोस्रो गरी र लहरा तथा डोरी समाउँदै हिँडेर आउन चारदेखि पाँच दिन लाग्छ ।

लकडाउनका कारण भारतले प्रवेश नदिएपछि छाङरु गाउँका ११५ घरधुरी अझै फर्किएका छैनन् । उनीहरु गत कात्तिक मङ्सिरमा बेँसी झरेका थिए । उनीहरु सदरमुकाम आसपास नै बसिरहेका छन् । गाउँमा मान्छे नुहँुँदा जग्गा जमिन बाँझो छ । यतिबेला फापर गहुँ लहलह हुने बेला थियो । केही ठाउँमा लसुन लगाएको देखिन्छ भने यहाँ स्याउले फूल खेल्न थालेको देखिन्छ । सबै घरमा ताला झुण्ड्याइएको छ । गाउँले नभएको र प्रहरीसमेत नहुँदा यहाँ नेपालीको उपस्थिति छैन । भारतले जे गर्दा पनि प्रतिवाद गर्ने कोही छैनन् ।

यहाँको व्यास–१ छाङरुमा ११५ घरधुरी छन् । दश किलोमिटर पर रहेको तिङकरमा ६८ घरधुरी छन् । यहाँ दुवै क्षेत्रमा गरेर एक हजार २२० जनसङ्ख्या रहेको प्रहरीको अभिलेखमा उल्लेख छ । यहाँबाट सुनसेरा (गाउँपालिका सदरमुकाम) पुग्न झण्डै दुई दिन लाग्छ ।

हतियारसहित बन्दोबस्तीका सामान/ नेपाल–भारत सीमा क्षेत्र दार्चुला जिल्लाको व्याँस गाउँपालिका–१ छाङ्रु (गागा) मा बुधबार स्थापना गरिएकोे सशस्त्र प्रहरी बल नेपालको सीमा निगरानी चौकी (विओपी) का लागि आवश्यक हतियार र बन्दोबस्तीका सामान ओसार्दै सशस्त्र प्रहरी । सेनाको हेलिकप्टरले केही माथि सामान झारेपछि उनीहरुले बोकेर सामान लगेका हुन् ।

यहाँबाट माथि कालापानी झण्डै १५ किलोमिटरको दूरीमा पर्छ भने तिङ्कर १० किलोमिटरमा पर्छ । तिङ्करबाट लिपुलेक अन्दाजी त्यही १० किलोमिटरको दूरीमा रहेको स्थानीय जीतबहादुर बोहराले बताउनुभयो । दार्चुलाबाट उत्तरपूर्वमा पर्ने छाङरुबाट लिपुलेक अन्दाजी २५ किलोमिटरको दूरीमा रहेको बताइन्छ । तर बाटो नभएकाले हिँडेर जान सकिने अवस्था छैन ।

यस्तो छ भौगोलिक अवस्था

छाङरुको पारी पट्टी अपिनाम्पा संरक्षण क्षेत्र छ । चारैतिर डाँडा सेताम्मे हिउँले भरिएका छन, तल खोँच (सानो उपत्यका जस्तो) स्थान गागा भन्ने ठाउँमा सशस्त्रको बीओपी स्थापना गरिएको छ । जीतबहादुरले रेष्टुरेन्ट बनाएको घरलाई भाडामा लिएर बसेको सशस्त्र प्रहरी नजिकै तिङ्कर नदी बग्छ । अर्काे कालापानी पट्टीबाट महाकाली नदी आउँछ । छाङरुस्थित सीतापुलमा दुई नदी मिसिन्छन् । त्यसैको दोभान क्षेत्र नै छाङरु हो । त्यो दोभानभन्दा ५०० मिटरमाथि छाङरु बस्ती छ ।

भारतीय सीमा क्षेत्र सीतापुलबाट भने एक किलोमिटरको दूरीमा पर्छ सशस्त्रको निगरानी चौकी । यहाँ जाडोका बेला नदीको पानी नै जम्ने र हिउँ नै हिउँले ढाक्ने हुन्छ त्यसैले मानिसहरु जाडोमा तल झर्ने गर्छन् ।

सबैभन्दा ठूलो समस्या सम्पर्क सञ्जाल र सडक

यहाँको सूचना आदानप्रदानका लागि सबैभन्दा ठूलो समस्या सम्पर्क सञ्जाल कै हो । छाङरु पुगेका जो कोहीको अवस्था थाहा पाउन सकिँदैन । त्यहाँ के भइरहेको छ भन्ने जानकारी ल्याउन कि भारतीय क्षेत्रमा पुग्नुपर्छ नत्र भने दार्चुला नै फर्कनु पर्छ । सशस्त्र प्रहरीलाई पनि टेलिफोनको समस्या हुनेछ । जसका कारण महत्वपूर्ण सूचना आदानप्रदानमा समस्या पर्नेछ ।

मलिन आवाजमा रेडियो बज्ने भएकाले मुलुकका केही खबर प्राप्त गर्न भने सकिन्छ । पहिले यहाँ स्काई फोन टिप्ने गरेको भए पनि अहिले पुरै बन्द भएको स्थानीय सुधा बोहराले बताइन उनले भनिन , “फोन र सडक भयो भने अरू हामीलाई केही चाहिँदैन ।”

सीतापुलमा बस्छ एसएसबी

सीमा क्षेत्र सीतापुलमा भारतीय एसएसबीको टोली तैनाथ छ । त्यससँगै अलि परको बस्ती गव्र्याङमा भारतको इन्डियन तिब्बत बोर्डर पुलिस फोर्स र एसएसबीको दुई टोली बस्छ । अलि पर रहेको छायाँलेकमा भारतीय सेना नै तैनाथ छ ।

विहिबार सीमा क्षेत्रमा भारतीय सेना, एसएसबीको टोली र उनीहरुका गाडी तथा अन्य गाडीहरु निर्बाध रुपमा हिँडिरहेका थिए । भारतको हेलिकप्टले दिनमै पाँच, सात पटक गस्ती गर्ने गरेको छ भने लिपुलेक क्षेत्रमा आवश्यक भौतिक निर्माणका लागि डोजर, स्काभेटरलगायतका सामग्रीसमेत ओसारपसार गर्दै आएको छ । तर नेपालतर्फ गतिविधि भने शून्य छ । महाकाली नदी किनारै किनार लिपुलेकसम्मै भारतले सडक बनाइसकेको छ । ––नारायण ढुंगाना /रासस

भारतमा कोरोना भाइरस संक्रमितको संख्या ७८ हजार नाघ्यो,दिल्लीमा संक्रमितको  संख्या ८ हजार बढी

नयाँ दिल्ली,मे १४

भारतमा बिहिवारसम्म कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ७८ हजार ३ जना पुगेको छ । गत २४ घण्टामा भारतमा थप ३ हजार ७२२ जना कोरोना भाइरस संक्रमित थपिएको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

भारतमा बुधबार एक दिनमा १३४ को मृत्यु भएको र यसपछि प्रकोपबाट मृत्यु हुनेहरुको सख्या २ हजार ५४९ जना पुगेको छ । यस संक्रमणबाट निको भएका बिरामीको संख्या २६ हजार २३५ जना रहेको पनि सो मन्त्रालयले जानकारी दिएको छ ।

भारतमा बिहीबार बिहानसम्मको तथ्यांक अनुसार कोरोनाबाट संक्रमित ४९ हजार २१९ जना अस्पतालमा उपचार गराइरहेका छन् ।

कोभिड–१९ बाट सबैभन्दा बढी महाराष्ट्रका नागरिक संक्रमित भएका छन् । महाराष्ट्रमा मात्र २५ हजार ९२२ नागरिक संक्रमित रहेका छन् ।

महाराष्ट्रपछि गुजरात दोस्रो स्थानमा रहेको छ । त्यहाँ ९ हजार २६७ जनामा कोरोना भाइरसको संक्रमण रहेका छन् भने तमिलनाडू ९ हजार २२७ संक्रमति रहेका छन् ।
दिल्लीमा कोरोना भाइरस संक्रमितको  संख्या ८ हजार नाघेको छ ।

कोराना भाइरसको (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारत सरकारले देशव्यापी लकडाउनलाई थप दुइ साताको लागि लम्बाएको थियो । भारतले गत मे ४ देखि लागू हुने गरी थप दुइ साताको लागि तेस्रो चरणको लकडाउन गर्ने निर्णय गरेको थियो ।

भारतमा पहिलो चरणको लकडाउन २४ मार्चमा लगाइएको थियो । दोस्रो लकडाउन १५ अप्रिलमा शुरु भएको थियो । दोस्रो लकडाउन मे ३ मा सकिदै थियो । कोरोना भाइरसको संक्रमण देशभरी बढ्दै गएपछि दोस्रो लकडाउन नसकिदै तेस्रो लकडाउन मे १७ सम्मको लागि घोषणा गरिएको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चौथो चरणको लकडाउन कस्तो प्रकारको हुने बारे केहि दिनमा सार्वजानिक गर्ने गत मंगलबारको सम्बोधनमा बताएका थिए ।

भारतीय कन्टेनरले महामारी फैलाउन सक्ने त्रास

भैरहवा,मे १३

खाद्यान्न, तरकारी र फलफूल बोकेर भारतबाट आउने कन्टेनरका कारण रुपन्देहीमा कोरोना संक्रमणको जोखिम बढेको छ । दैनिक करीब १६० भैरहवा भन्सार कार्यालयमा भित्रिने कन्टेनर तथा ट्रकका कारण महामारी फैलिने सक्ने भन्दै सीमा क्षेत्रका स्थानीयवासी त्रसित बनेका छन् ।

लुम्बिनी तथा मर्चवार क्षेत्रमा भेटिएका कोरोना संक्रमित युवाले भारतका विभिन्न स्थानबाट आउँदा नेपाल आउने मालवाहक ट्रक र कन्टेनरको प्रयोग गरेको बताएपछि त्रास बढेको हो । बन्दाबन्दीपछि भैरहवा भन्सार कार्यालय हुँदै ६ हजार ५०० बढी फलफूल, तरकारी र खाद्यान्नलगायत सामान बोकेर ट्रक तथा कन्टेनर प्रवेश गरेको भन्सार कार्यालयले जनाएको छ ।

यी सवारी साधनका चालक र सहचालक १३ हजारभन्दा बढी हुन आउँछ । सवारी साधन चालकले नेपालमा प्रवेशसँगै स्थानीय पसलमा सामान किन्ने, चिया पसलमा चिया खाने र सामान लोड अनलोड गर्दा धेरै मानिससँग सम्पर्क हुने भएकाले सीमाक्षेत्रमा त्रास देखिएको बेलहियाका इरफान वारिसले बताउनुभयो । भारतबाट आउने चालक तथा सहचालकबाट कोरोना संक्रमण फैलिन नदिन भन्सार एजेन्टसँंग स्थानीय नागरिकले छलफल गरे पनि कुनै निर्णय हुन नसकेको बेलहिया गाउँ समाजले जनाएको छ ।

जोखिम न्यूनीकरण गर्न प्रशासन तथा सरकारले ठोस निर्णय लिनुपर्ने गाउँ समाजका सदस्य रमेश थापाले बताए । भारतबाट आउने चालक तथा सहचालकलाई सामान्य स्वास्थ्य जाँच गर्ने र ट्रक तथा कन्टेनरमा स्यानिटाइजर छर्कने काम गरिए पनि अरु उपाय अवलम्बन गर्न नसकिएको भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी पुण्य लम्सालले जानकारी दिए । सीमा नाकामा अलपत्र नेपालीलाई सुरक्षितसाथ ल्याएर क्वारेन्टाइनमा राखी स्वास्थ्य जाँचको व्यवस्था मिलाउन र ट्रक तथा कन्टेनरलाई भन्सार विन्दुमै रोक्न स्थानीयवासीले माग गरेका छन् ।––रासस

भारतको मुम्बईमा ७५० दैलेखी अलपत्र

दैलेख,मे १२

भारतको मुम्बई शहरमा रोजगारीको सिलसिलामा दैलेखबाट गएका ७५० मजदुर समस्यामा परेका छन् । काम गर्ने स्थानमा साहुले काम नहुने भन्दै जागिरबाट हटाएपछि आपतमा परेका व्यक्तिले सामाजिक सञ्जालमार्फत आफूहरुको उद्धार गरिदिन आग्रह गरेका छन् ।

‘भारत सरकारले हामीलाई कुनै प्रकारको सहयोग नगरेकाले नेपाल सरकारलाई सहयोग र समन्वय गरिदिन आग्रह गर्छौँ’, पीडितको भनाइ उद्धृत गर्दै सुर्खेतका पत्रकार चिन्तामणि शर्माले जानकारी दिए । पीडितले आफूलाई भाइबरमार्फत गुनासो गरेको शर्माले बताए ।

दैलेखको दुल्लू र भैरवी क्षेत्रका कामदार भारतमा अलपत्र परेको तथ्यांक नामसहित उल्लेख गरिएको छ । ‘हामीसँग भएको सबै खानेकुरा सकिएको छ, हाम्रो उद्धार गरी नेपाल फर्काउन पहल गरिदिनुप¥यो’ पीडितले आफूलाई फोन र सामाजिक सञ्जालमार्फत खबर गरेको दुल्लू नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले जानकारी दिए ।

नगरप्रमुख भण्डारीले केन्द्र सरकारले सीमानाकासम्म ल्याउन सहयोग गरिदिए गाउँ नै खाली गरेर भए पनि आफना पालिकाका जनतालाई राख्ने व्यवस्था मिलाउन सकिने बताए । जनता आपतमा परेको जानकारी पाउनेबित्तिकै उद्धार तथा अन्य सहयोगका लागि आफूले प्रदेश, केन्द्र सरकार र परराष्ट्र मन्त्रालयलाई पत्र पठाइसकेको नगरप्रमुख भण्डारीको भनाइ छ ।

तत्कालका लागि केन्द्र सरकारले भारतीय दूतावासमार्फत खाद्यान्नको जोहो मिलाउन पहल गरिदिनुपर्ने भैरवी गाउँपालिकाका अध्यक्ष प्रेम बुढाले बताए । “समस्यामा परेको जानकारी पाउनासाथ मन्त्रालयलाई चिठ्ठी लेखेको छु, निर्देशन हुनासाथ देशभित्र ल्याएर १४ दिन क्वारेन्टाइनमा राखिने छ”, प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले भने । नेपाल फिर्ता गर्न सम्भव नभए त्यहीँ खानेबस्ने व्यवस्था गरिदिन अलपत्र व्यक्तिहरुले माग गरेका छन् ।

दुल्लू नगरपालिकाका मदन बम, सन्तोष गिरी, वसन्त रोकाय, पुण्यराज रोकाय, ओम पोखरेल, वीरबहादुर भण्डारी, नेपाल जनसम्पर्क समितिका गोविन्द थापा, सुशील थापा, नरेश थापा, डिल्ली खनाल, गोविन्द नेपाली, अमर नेपाली, धर्म नेपाली, राजु नेपालीलगायत ७५० अलपत्र परेको भन्दै सामाजिक सञ्जालमा उनीहरुले सूची सार्वजनिक गरेका छन् । ––रासस

भारत र चीन दुवै राष्ट्रसँग संवाद गर : काँग्रेस

काठमाडौं,मे ११

नेपाली काँग्रेसले कालापानी, लिम्पियाधुरा र लिपुलेक लगायतका नेपालको भूमिबारे पार्टीले विगतदेखि नै राख्दै आएको प्रष्ट दृष्टिकोणको जगमा सरकारलाई उच्च स्तरीय कूटनैतिक प्रक्रियामार्फत सो मुद्दा समाधान गर्नका लागि पहलकदमी लिन आग्रह गरेको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्तिमार्फत सन् १८१६ को सुगौली सन्धिले नेपालको पश्चिमी सिमाना महाकाली नदी किटान गरेको ऐतिहासिक तथ्य नै विद्यमान प्रकरण समाधानको मूल आधार भएको उल्लेख गरेका छन् । त्यसैले महाकाली नदी पूर्वको भू–भाग कालापानीबाट भारतीय सैनिक फिर्ता हुनुपर्ने र लिपुलेक एवं लिम्पियाधुरासम्मको नेपाली भूमिमा नेपालको अविच्छिन्न अधिकार निर्वाध रहनुपर्ने भन्ने पार्टीको धारणा उनले पुनः दोहो¥याएका छन् ।

“नेपाली भूमि अतिक्रमण गरेर सडक निर्माण, नेपालको स्वाधीनता माथिको ठाडो हस्तक्षेप हामीलाई अस्वीकार्य छ । भारतको पिथौरागढ हुँदै नेपालको लिपुलेक भएर चीनको मानसरोवर जोड्ने सडकको पृष्ठभूमिमा सन् २०१५ मे महिनाको भारत–चीन सहमति र काँग्रेस सभापति सुशील कोइराला नेतृत्वको सरकारले त्यो सहमतिप्रति कडा विरोध जनाउँदै दुवै देशलाई पठाएको ‘प्रोटेस्ट नोट’ स्मरण गर्दै यो विषयमा दुवै राष्ट्रसँग नेपालले गहन संवाद गर्न अत्यावश्यक रहेको औँल्याउन चाहन्छौँ”, विज्ञप्तिमा उल्लेख छ ।

प्रवक्ता शर्माले आफूहरुले संसारका हरेक मुलुकको सार्वभौमिकताको सम्मान गर्ने र नेपालबारे अरु राष्ट्रसँग पनि त्यही अपेक्षा राखेको उल्लेख गर्दै दुवै छिमेकी मित्र राष्ट्रसँग ‘प्रष्ट धारणा र ऐतिहासिक तथ्यका आधारमा दीर्घकालीन समाधान’ नेपालको अहिलेको परिपक्व रणनीति हुनुपर्ने औँल्याए ।

सामान्य वक्तव्य वा सामान्य नोट जारी गरेर नेपाल सरकारको दायित्व पूरा नहुने र दीर्घकालीन समाधानका लागि सुस्पष्ट ढङ्गले उच्चस्तरिय कूटनैतिक पहल गर्न काँग्रेसले नेपाल सरकारलाई आग्रह गरेको छ ।–––रासस

भारतलाई नेपालको ‘कूटनीतिक नोट’

सीमामा अलपत्र नेपालीलाई भित्रयाउन सांसदको माग

काठमाडौं,मे ११

प्रतिनिधिसभाको सोमबारको बैठकमा भारतको सीमामा अलपत्र नेपालीलाई भित्रयाउने सम्बन्धमा सरकारले गम्भीरताका साथ चासो दिनुपर्ने आवाज उठेको छ । बैठकको शून्य समयमा सांसदहरुले कोरोना भाइरसको जोखिम र मजदूरी कामसमेत प्रभावित भएका बेला स्वदेश फर्कन चाहने नेपालीलाई स्वास्थ्य परीक्षण गरी क्वारेन्टाइनमा राख्ने गरी नेपाल ल्याउन माग गरेका हुन् ।

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सांसद डा.अमरेशकुमार सिंहले प्रश्न गर्दै भने,“के सीमा बसेका नेपाली नागरिक होइनन् ? तिनलाई स्वदेश ल्याउनु सरकारको दायित्व होइन ?”

तर सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद खेमप्रसाद लोहनीले कोरोना रोकथाममा सरकारको प्रयास प्रशंसनीय भएकाले सीमा नाकामा अझै कडाई गर्नुपर्ने र विदेशमा रहेका नागरिकको उपचारमा आवश्यक पहल गर्न आवश्यक रहेको बताए ।

राष्ट्रिय जनता पार्टीका सांसद चन्दा चौधरीले भारतको विहार राज्यमा १४ दिन क्वारेन्टाइनमा बसिसकेका नेपालीलाई पनि नेपाली सीमामा आफ्ना नागरिकलाई आउन नदिनु कहाँको नियम हो भनी प्रश्न गरिन ।

काँग्रसका सांसद उमा रेग्मीले सीमामा आएका नेपालीलाई स्वास्थ्य जाँच गरेर स्वदेश फर्काउन माग गरे ।

नेपाली भूमिको रक्षामा एकताबद्ध हुन आग्रह

सत्तारुढ नेकपाका खगराज अधिकारीले नेपाली भूमि बारम्बर विदेशी हस्तक्षेपको सिकार भएकामा सरकारको ध्यानाकर्षण गराए । नेपाली भूमि लिपुलेकमा भारतले सडक बनाएकामा खेद व्यक्त गर्दै उनले यसका विरुद्ध सबै नेपाली एक भएर लड्नुपर्ने बताए । सोही पार्टीका गणेशकुमार पहाडीले पनि भारतले अतिक्रमण गरेको भूमिमा नेपालको राजनीतिक र प्रशासनिक भूमिका हुनुपर्ने बताए ।

सांसद गणेशसिंह ठगुन्नाले दार्चुलाको पौलामा सशस्त्र प्रहरीको क्याम्प तत्काल राख्न माग गरे । सांसद गङ्गा चौधरी सत्गौवाले नेपाली भूमि मिचिएकामा स्वाभिमानी नेपालीले सहन नसक्ने भन्दै भारतको यो व्यवहारविरुद्ध अन्तरराष्ट्रिय अदालतमा जानुपर्ने बताए ।

सांसद घनश्याम खतिवडाले जङ्गे पिलरका नामबाट पटकपटक भारतले नेपाली भूमि अतिक्रमण गरेको र अर्काे छिमेकी चीनले पनि यसमा उचित व्यवहार नगरेको बताए । सांसद जिपछिरिङ लामाले भारतले ठूलो भाइको शैलीले जहिल्यै पनि नेपाललाई हेप्दै आएको उल्लेख गर्दै सरकार र नेतालाई भारतीय मिचाहापूर्ण कार्यबारे थाहा छ कि छैन भनी प्रश्न गरे ।

सांसद उमाकान्त चौधरी सरकारले दुई अध्यादेश किन ल्याइयो र किन फिर्ता गरियो भन्ने थाहा हुनुपर्ने माग गरे । सांसद गजेन्द्रबहादुर महतले बन्दाबन्दीका समयमा प्रमुख जिल्ला अधिकारीले आफू्खुशी पास वितरण गरेको र सांसदहरुलाई समेत कठिनाइ सिर्जना गरेको गुनासो गरे ।

सांसद आशाकुमारी विकले गण्डकी प्रदेशसभा सदस्य कृष्णबहादुर थापाले जातीय विभेद उत्पन्न हुने गरी अभिव्यक्ति दिएकाले थापालाई कारवाही गर्न माग गरे । बैठकमा पूर्वबजेट छलफलअन्तर्गत आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) सम्बन्धमा छलफल शुरु भएको छ ।––रासस

भारतीय पूर्वप्रधानमन्त्री डा.मनमोहन सिंह अस्पताल भर्ना

नयाँ दिल्ली,मे ११

भारतका पूर्वप्रधानमन्त्री डा.मनमोहन सिंह अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा असहजता महसुस भएपछि उनलाई आइतबार राति नै भारतको राजधानी नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा भर्ना गरिएको बताइएको छ ।

उनी अस्पताल भर्ना भएको अस्पतालले पुष्टि गरेको छ । सो समाचारको भारतीय काँग्रेसले पनि पुष्टि गरेको छ । छाती दुखेर असहज महसुश भएपछि उनलाई भर्ना गरिएको अस्पतालले प्रकाशन गरेको विज्ञप्तिमा जानकारी दिइएको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार पूर्वप्रधानमन्त्री सिंहलाई मुटुरोगसम्बन्धी समस्या देखिएकोले सो अस्पतालको मुटु रोग विभागमा राखेर उपचार सुरु गरिएको छ । पूर्वप्रधानमन्त्री सिंहको प्रारम्भिक जाँचका क्रममा स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । उनी ८७ वर्षका छन् ।

पूर्वप्रधानमन्त्री सिंहको शारीरिक अवस्था सामान्य रहेको अस्पताल स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । यसअघि पनि डा.सिंहको मुटुको वाइपास सर्जरी गरिएको थियो । सन् २००९ मा उनको मुटुको वाइपास सर्जरी भएको सो अस्पतालले जानकारी दिएको छ ।

यसपटक छाती दुखेपछि उनलाई आइतबार राति अस्पताल ल्याइएको र अहिले स्वास्थ्य अवस्था सामान्य नै रहेको सो अस्पतालले सोमबार बिहान प्रकाशन गरेको विज्ञप्तिमा जानकारी दिइएको छ ।

भारतका एकजना प्रख्यात अर्थशास्त्री मानिएका डा.सिंह हाल राजस्थानबाट भारतीय संसदको माथिल्लो सदनका लागि सांसद छन् । उनले सन् २००४ देखि सन् २०१४ सम्म लगातार दुई पटकसम्म भारतको प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका हुन् ।

यसैबीच उनको स्वास्थ्यसम्बन्धमा दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले चासो व्यक्त गरेका छन् । उनले पूर्वप्रधानमन्त्री डा.सिंहको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । मुख्यमन्त्री केजरीवालले पूर्वप्रधानमन्त्री डा.सिंहको उपचारमा कुनै कमी हुन नदिन उक्त अस्पताललाई निर्देशन पनि दिएका भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।––एएनआई / रासस

Nepal news headlines | breaking news kathmandu | national news of nepal live