INDIA

नेपाल भारत सीमा बैठक फागुनमा

नेपाली संचारमाध्यमबाटः

२७जनवरी २०२०

कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा सीमा विवादबारे नेपाल र भारतका परराष्ट्रसचिवस्तरीय वार्ता फागुनमा हुने भएको छ । भारतीय नेतृत्वले विदेश मन्त्रालयमा नयाँ सचिव हर्षवद्र्धन श्रृंगलाले जिम्मेवारी लिएसँगै वार्ता हुने जनाउ दिएपछि परराष्ट्र मन्त्रालय त्यसको तयारीमा जुटेको हो। मिति भने तय भएको छैन।

दुई औपचारिक पत्र र पटक–पटक अनौपचारिक छलफलपछि नेपाल हेर्ने डेस्कले फागुन अन्त्यसम्ममा बैठक बस्ने जानकारी दिएको परराष्ट्र अधिकारीको भनाइ छ। भारतले सबै समस्या वार्ताबाट समाधान हुने भनेर कूटनीतिक नोटको उत्तर पठाएको एक महिनापछि त्यस्तो जानकारी दिएको हो।

यसअघि परराष्ट्रसचिव स्तरमा वार्ता गर्न आलटाल भइरहेको थियो। पछिल्लो समय संवादबाट विवाद समाधान गर्न भारत इच्छुक देखिएको परराष्ट्र अधिकारीको बुझाइ छ। यसअघि भारतले नेतृत्व आन्तरिक राजनीतिमा केन्द्रित हुनुपरेको, विदेश मन्त्रालयको संयन्त्र र नेपालमा राजदूत परिवर्तनजस्ता विषय देखाउँदै तत्काल वार्ता नगर्ने बताएको थियो।

भारतीय विदेशसचिव विजय गोखलेको कार्यकाल मंगलबार सकिँदै छ। त्यस स्थानमा श्रिंगला आउँदै छन्। अमेरिकामा राजदूत रहेका उनी नेपाली बोल्छन्। बैंकक र ढाकामा राजदूत भइसकेका उनले नेपाल–भारत सम्बन्धका विषयमा गम्भीर रूपले छलफल गर्ने संकेत दिएको कूटनीतिक स्रोतले बतायो।

उनले डीसीमा हुँदा कूटनीतिज्ञसँगको छलफलमा भन्ने गरेका थिए– ‘नेपाल–भारत समस्याको समाधान वार्ता नै हो।’ अमेरिकास्थित एक कूटनीतिज्ञले टेलिफोनमा भने, ‘नेपाललाई राम्ररी बुझेका व्यक्ति भारतमा बुधबारदेखि विदेशसचिव बन्दै हुनुहुन्छ। उहाँले पक्कै छलफल गरेर समस्या समाधानमा जोड दिनुहुनेछ।’

नयाँ सचिव र राजदूत आएपछि सीमाका विषयमा थप छलफल अघि बढ्ने परराष्ट्रसचिव शंकरदास वैरागीले बताए। ‘हामी छलफलका लागि पहल गरिरहेका छौं’, उनले भने, ‘भारतमा विदेश मन्त्रालयको नेतृत्व र नेपालका लागि राजदूत पनि परिवर्तनको अवस्था थियो, त्यसैले ढिलाइ भएको हो।’

सरकारले भारतलाई दुईपटक कूटनीतिक नोट पठाएर सीमाका विषयमा वार्ताको पहल गरेको थियो।….

आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।

link:

http://annapurnapost.com/news/146557

भारतको ७१औं गणतन्त्र दिवस दिल्लीको राजपथमा भव्य समारोहका बीच सम्पन्न

एनआईबि संवाददाता,नयाँ दिल्ली

२६जनवरी२०२०

भारतले आइतबार ७१ औं गणतन्त्र दिवस भव्य रुपमा मनाएको छ । भारतको राजधानी नयाँ दिल्लीको राजपथमा सम्पन्न भव्य समारोहमा राष्ट्रपति रामनाथ कोविंदले सेनाको सलामी लिएका थिए । जनरल अफिसर कमांडिंग हेडक्वार्टर दिल्ली एरियाद्धारा लेफ्टिनेन्ट जनरल असित मिस्त्रीले यो वर्षको गणतन्त्र दिवसको परेडको नेतृत्व गरेका थिए ।

  •  कार्यक्रमको शुरुवातमा पहिले राष्ट्रपति रामनाथ कोविंद तथा प्रधानमन्त्री मोदीले नयाँ दिल्लीको नेशनल वार मेमोरियलमा पुष्पचक्र अर्पित गरेर शहीद सैनिकलाइ श्रद्धान्जली दिएका थिए ।

  •  राष्ट्रगान तथा २१ बन्दुकको सलामीका साथ राष्ट्रपति कोविंदले तिरंगा फहराएका थिए । यस वर्षको मुख्य अतिथिको रुपमा ब्राजिलका राष्ट्रपति जेयर बोलसोनारोले मोदीसँगै बसेर भारतको समृद्ध विविधताको शानदार प्रदर्शन हेरेका थिए ।

  •  उनीहरुसँग चीफ अफ डिफेन्स स्टाफ विपिन रावत, आर्मी चीफ जनरल मुकुन्द नरवणे,नौसेना करमबीर सिंह तथा वायुसेना प्रुमुख एयर मार्शल आरकेएस भदौरिया थिए ।

    भगवा रंगको पगडी लगाएर प्रम मोदीले भारतको अखंडताको रक्षा गर्दै शहीद भएका सैनिकको अनमोल योगदानलाइ स्मरण गर्दै उनीहरुलाइ सलामी दिए ।

  •  मुलुकको साँस्कृतिक धरोहर तथा आर्थिक प्रगतिलाइ झल्काउने २२ झाँकी मध्ये १६ झांकी राज्य र केन्द्र शासित प्रदेशको थियो । अन्य ६ विभिन्न मन्त्रालय र विभागको झाँकी पनि प्रदर्शन गरिएको थियो । बिहान १० बजे शुरु भएको कार्यक्रम ९० मिनेट सम्म चलेको थियो ।

  •  यसैबीच भारतीय सेनाले आफ्नो शक्तिको सानो झलक समेत देखाएका थिए । गणतन्त्र दिवस समारोहमा पहिलो पटक महिला बाइकर्सले आफनो कला प्रदर्शन गरेका थिए । इन्सपेक्टर सीमा नागले गुडिरहेको मोटरसाइकलबाट सलामी दिइन । हेडकन्स्टेबल मीना चौधरीले गुडिरहेको मोटरसाइकलबाटै पेस्तोल चलाएर हवाइ फायरिंग गरेकी थिइन ।

  •  भारतीय वायुसेनाको कयौ लडाकु विमानले राजपथको आकाशमाथि आफ्ना उत्कृष्ट कलाबाजी प्रदर्शन गरेका थिए । यसैबीच ९०० किलोमिटर प्रति घण्टाको रफ्तारमा उडाइएको सुखोइ लडाकु विमान देखेर प्रधानमन्त्री नरेन्द्र मोदी पनि दंग थिए ।

  •  राजपथको आकाशमाथि ५ अपाचे हेलिकप्टरले उडान भरेका थिए । कार्यक्रममा राजस्थान छत्तीसगढ,तेलंगाना,असम,गोवा,हिमांचल प्रदेश,मध्य प्रदेश,ओडिशा,कर्नाटक,उत्तर प्रदेश,जम्मु कश्मीर समेत कैयौ राज्य ले आ–आफ्नो राज्यको कला संस्कृतिको झलक सहितको झाँकी प्रदर्शन गरेका थिए ।

  • कार्यक्रमको समापनपछि प्रम मोदीले राजपथमा पैदल हिडेर जनताको अभिवादन गरेका थिए । गणतन्त्र दिवसको समारोहमा केन्द्रिय गृहमन्त्री अमित शाह , रमेश पोखरियाल निशंक,रविशंकर प्रसाद,एस जयशंकर, थावारचंद गहलोत, नितिन गडकरी, उपराष्ट्रपति वैंकेया नायडु,पूर्व प्रधानमन्त्री मनमोहन सिंह,चीफ जस्टिस, शरद अरविंद बोबडे तथा अन्य क्षेत्रका विशिष्ट व्यक्तिहरु सहभागी भएका थिए ।

पाम आयाल प्रतिबन्धमा पूर्नविचार गर्न भारत सरकारलाइ नेपालको आग्रह

एनआईबि संवादादाता,नयाँ दिल्ली
२६जनवरी२०२०

नेपालले भारत सरकारलाइ पाम आयलको आयातमा लगाएको प्रतिबन्धमाथि नेपालकालागि पूर्नविचार गर्न आग्रह गरेको छ । नेपाल सरकारका अर्थमन्त्री डा.युवराज खतिवडाले भारतीय समाचार संस्था एएनआईसँग शनिबार गरेको कुराकानीमा यस्तो आग्रह गरेका हुन् ।

एनएनआईसँग कुराकानी गर्दै डा खतिवडाले भारत सरकारको यो निर्णय नेपालकालागि एउटा झटका भएको बताए । उनले भने,भन्दै उनले भने,‘नेपालको निर्यातको २५ प्रतिशत हिस्सा पाम आयल उद्योग सँग छ । यसमा लगाइएको प्रतिबन्धले हाम्रो उद्योगमा प्रतिकुल प्रभाव परेको छ । भारत सरकारको यो निर्णय हामीले सोचेकै थिएनौ । नेपालको लागि यो एउटा झटका भएको छ ।’

कुराकानीमा डा खतिवडाले भारत सरकारले आफने निर्णयमा नेपालकालागि पूर्नविचार गर्ने आशा व्यक्त गरे । उनले भारत सरकारसँग कुटनीतिक माध्यमबाट यस बारेमा कुराकानी भइरहेको बताउँदै आवश्यक परेको खण्डमा राजनीतिक माध्यमबाट पनि कुराकानी गर्न सकिने बताए ।

चालु आर्थिक वर्षमा नेपालले ११ अर्ब बराबरको रिफाइन्ड पाम आयल भारत निर्यात गरेको छ । नेपालबाट भारतमा निर्यात गरिने सबै भन्दा ठूलो आकारको उत्पादन हो ।

भारत सरकारले गत ८ जनवरीमा पाम आयलको आयातमा प्रतिबन्ध लगाएके थियो । भारतले मलेशिया र इण्डोनेसियाबाट ठूलो मात्रामा पाम आयल आयात गर्ने गरेको थियो । मलेशियाका प्रधानमन्त्री महाथिर मोहम्मदले भारतको आलोचना गरेपछि मोदी सरकारले मलेशियालाइ निशाना बनाउन चाहेको थियो । त्यसकारण यो प्रतिबन्ध लगाइएको भारतीय संचारमाध्यमहरुले जनाएका थिए ।

नेपालले गरयो भारत र पाकिस्तानबीच मध्यस्तताको प्रस्ताव

एनआईबि संवाददाता,नयाँ दिल्ली
२६जनवरी२०२०

भारत र पाकिस्तानबीच तनाव कम गर्न नेपालले मध्यस्तताको प्रस्ताव गरेको छ । कश्मीर तथा सीमापार आतंकवादको मुद्दामा नेपालले मध्यस्तताको प्रस्ताव गरेको हो । नेपाल सरकारको श्रोतको हवाला दिदै भारतीय समाचार संस्था पिटिआइको समाचारलाइ भारतीय संचारमाध्यमहरुले छापेका छन् ।

परमाणु सम्पन्न दुइ छिमेकी मुलुकबीच मध्यस्ताको प्रस्ताव राख्ने नेपाल दक्षिण एशियाको पहिलो मुलुक रहेको छ । समाचारमा भनिएको छ, ‘नेपाल सरकारको श्रोतका अनुसार आपसी विवाद समाधानकालागि दुवै मुलुकबीच कुराकानी हुनु अत्यन्त आवश्यक छ । यसबीच दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्कले पनि नयाँ जीवन पाउनेछ । ’

‘कुनै पनि समस्या समाधानकालागि वार्ता उत्तम तरीका हो यदि आवश्यक परेमा हामी मध्यस्तकर्ताको भुमिका निभाउन तयार छौं,’ श्रोतको हवाला दिदै समाचारमा लेखिएको छ ।

गत वर्ष अगस्तमा जम्मु कश्मीरको धारा ३७० खारेज गरेपछि भारत र पाकिस्तानबीचको तनाव चुलिएको थियो ।

यस अघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीच मध्यस्ताको प्रस्ताव गरिसकेका छन । तर यसलाइ भारतले अस्वीकार गरेको थियो ।

चार वर्षदेखि भएको छैन सार्क सम्मेलन

२०१४मा काठमाडौंमा सम्पन्न १८ औं सार्क शिखर सम्मेलन पछि सार्क निष्क्रिय छ । सो सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानका तात्कालिन प्रधानमन्त्री नवाज शरिफ दुवै सहभागी भएका थिए ।

त्यसपछि १५–१९नोभेम्बर २०१६ मा १९ औं सम्मेलन पाकिस्तानमा हुने तय भएको थियो तर उरीको पुलवामा भएको आक्रमण पछि भारतले पाकिस्तानमा हुने सम्मेलनमा सहभागी हुन अस्वीकार गरयो । पछि यो बैठक नै रद्द भयो ।

भारतमा ७१ औं गणतन्त्र दिवस मनाइदै

एनआईबि संवाददाता,नयाँ दिल्ली

२६ जनवरी २०२०

भारतमा आज ७१ औं गणतन्त्र दिवस मनाइदैछ । राजधानी नयाँ दिल्लीको राजपथ रोडमा आज राष्ट्रपति रामनाथ कोबिन्दलाइ परेडले सलामी दिनेछन र उनले झण्डा फहराउनेछन् । यही बीच भारतमा साँस्कृतिक विविधताका साथै सैन्य ताकतको प्रदर्शनी गरिनेछ । यस पटक गणतन्त्र दिवसमा ब्राजिलका राष्ट्रपति जेयर मेसियस बोल्सुनारो मुख्य अतिथि रहेका छन् ।

आज राजपथमा हुने सैन्य परेडमा अत्याधुनिक अपाचे हेलिकाप्टर पनि देखाइनेछ । यो हेलिकाप्टरलाइ हालैमा भारतीय वायुसेनामा भित्रयाइएको छ । यसका अलाबा चिनुक हेलिकप्टर र स्वदेशी धनुष तोप पनि प्रदर्शन गरिनेछ ।

गणतन्त्र दिवसको समारोहकालागि दिल्ली लगायत पुरै मुलुकमा हाई अलर्ट जारी गरिएको छ । दिल्लीमा मात्र २५ हजार सुरक्षा जवान तैनात गरिएको छ । यसका अलाबा दिल्लीको कयौ इलाकामा निगरानीकालागि ड्रोन क्यामेरा पनि प्रयोग गरिएको छ ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी,गृहमन्त्री अमित शाह लगायत राजपथ पुगिसकेका छन् । अमर जवानलाइ सलामी समेत दिइसकिएको छ ।

जम्मु कश्मीरमा २जी सेवा शुरु,सामाजिक संजालमा प्रतिबन्ध कायमै

एनआईबि संवाददाता
२५जनवरी२०२०

जम्मु कश्मीरमा करीब पाँच महिनापछि इन्टरनेट सेवा शुरु भएको छ । स्थानिय प्रशासनले २जी मोबाइल इन्टरनेट सेवा शुरु गरेपनि केहि कुराहरुमा प्रतिबन्ध कायमै राखेको छ । प्रशासनले जारी गरेको सुचना अनुसार घाटीका जनताले ३०१ वेवसाइट मात्र चलाउन पाउनेछन् । सामाजिक संजालमा प्रतिबन्ध जारी रहेको छ ।

भर्खरै सुप्रिम कोर्टले जम्मु–कश्मीरमा इन्टरनेट रोक तथा नजबंद नेताहरुका सम्बन्धमा दायर गरेको याचिकामा सुनुवाइ गर्दै केहि निर्णय गरेको थियो । कोर्टले केन्द्र सरकारलाइ एक साताभित्र सबै प्रतिबन्धका बारे समीक्षा गर्न आदेश दिएको थियो । इनटरनेट फ्रिडम आफ स्पिचको माध्यम भएको हुँदा यसमा प्रतिबन्ध न्यायिक समीक्षाको दायरामा पर्ने भन्दै एक साताभित्र समीक्षा गर्न आदेश दिएको थियो । अत्यावश्यक स्थानमा तत्काल इन्टरनेट सेवा शुरु गर्ने आदेश पनि दिएको थियो ।

केन्द्र सरकारले ५ अगस्त २०१९मा जम्मु–कश्मीरको विशेष दर्जा खारेज गर्दै केन्द्र शासित दुइ प्रदेशमा विभाजन गर्ने निर्णय गरेको थियो । जम्मु कश्मीरमा त्यतिबेलादेखि इन्टरनेट सेवा बन्द थियो । ब्राडबैन्ड सम्पर्कबाट नै काम चलाइराखिएको थियो । सरकारले लैन्डलाइन फोन तथा पोष्टपेड मोबाइल सेवा पनि हालै शुरु गरेको थियो । विपक्षी दलले जम्मु कश्मीरको हालातलाइ लिएर मोदी सरकारको लगातार विरोध गर्दै आएको छ ।

भारतीय अर्थव्यवस्थाको सुस्ती अस्थायी हुन सक्ने आइएमएफ प्रमुखको टिप्पणी

एनआईबि संवाददाता,नयाँ दिल्ली

अन्तराष्ट्रिय मुद्राकोषकी प्रमुख क्रिस्टलीना जार्जियाले भारतको अर्थव्यवस्थामा आएको सुस्ती अस्थायी रहेको हुन सक्ने टिप्पणी गरेकी छन् । शुक्रबार स्वीटजरल्याण्डको डाभोसमा आयोजित विश्व आर्थिक मंचको बैठकमा वैश्विक अर्थव्यवस्थामा आफ्नो विचार राख्दै उनले भारतीय अर्थव्यवस्थाको बारेमा यस्तो टिप्पणी दिएकी हुन् ।
आईएमएफ प्रमुखले भनिन, ‘अन्तराष्ट्रिय मुद्रा कोषले भारत आर्थिक वृद्धिदर बारे आफ्नो अनुमान घटाएका थियौं तर हामी यो पनि मान्दछौं कि यो अस्याथी हो । आगामी दिनमा स्थितिमा सुधार आउने आउने हामीले आशा गरेका छौं । ’

उदाउँदो अर्थव्यवस्था भएका मुलुकमा भारतका अलावा इण्डोनेसिया तथा भियतनाम जस्ता देशमा सुधारको संभावना रहेको उनले बताइन ।
विश्व अर्थव्यवस्था बारे गत अक्टोबरमा प्रतिवेदन सार्वजानिक गरेको कोषले २०१९को तुलनामा २०२०मा विश्व अर्थव्यवस्थामा सुधार आउने अनुमान गरेको छ । यो सुधारका पछाडि अमेरिका र चीन बीचको व्यापारिक तनावमा आएको कमी आउनु र करका दरहरुमा परिवर्तन हुनुलाइ मानिएको छ ।

कोषले भारतीय अर्थव्यवस्थाको वृद्धिदरको अनुमान पछिल्लो वर्ष तीन पटक सम्म घटाएको थियो । यसअघि सोही बैठकमा कोषकी मुख्य अर्थशास्त्री भारतीय मुलकी अमेरिकी गीता गोपीनाथले विश्व अर्थव्यवस्थामा आएको कमीमा भारतीय अर्थव्यवस्थाको ८० प्रतिशत हिस्सा रहेको प्रतिक्रिया दिएर चर्चामा आएकी थिइन् ।

कोषले विश्व अर्थव्यवस्थाको विकास दर सन् २०१९मा ३.३ प्रतिशत रहने अनुमान गरेको छ । विश्वको साथै भारतीय अर्थव्यवस्थाको सुस्ती प्रति पनि विश्व समुदायको चासो र चिन्ता गहिरो रहेको छ । यहि विषयमा डावोसमा सम्पन्न  विश्व आर्थिक मंचमा वृहत छलफल भएको थियो ।

ईपीजी प्रतिवेदन हस्तान्तरण हुन्छ: राजदूत आचार्य

एनआईबि संवाददाता,नयाँ दिल्ली

२५जनवरी२०२०

भारतकालागि नेपाली राजदूत नीलाम्बर आचार्यले प्रबुद्ध व्यक्ति समुह(ईपीजी)ले तयार पारेको संयुक्त प्रतिवेदन छिट्टै हस्तान्तरण हुने विश्वास व्यक्त गरेका छन् । शुक्रबार बारखम्बा स्थित नेपाली दूतावासमा नेपइनबिजसँग कुरा गर्दै राजदूत आचार्यले दुवै मुलुकलाइ प्रतिवेदन छिट्टै हस्तान्तरण गरिने विश्वास दोहरयाएका छन् ।

प्रतिवेदन तयार भएको डेढ वर्ष बढि समय बितिसक्दा हस्तान्तरण नै नहुने भन्ने आशंकाका बीच ईपीजीका तात्कालिन सदस्य समेत रहेका राजदूत आचार्यले भने, ईपीजी प्रतिवेदन छिट्टै हस्तान्तरण हुन्छ, केहि समय लागेको छ । तर आत्तिनु पर्ने अवस्था छैन। ’

विहिबार ईपीजीका भारतीय पक्षका तात्कालिन संयोजक तथा हालका महाराष्ट्रका गभर्नर भगतसिंह कोशियारीसँग नयाँ दिल्ली स्थित महाराष्ट्र सदनमा गरेको भेट पछि राजदूत आचार्यल उनले नेपइनपबिजसँग छोटो भिडियो कुराकानी गरेर यो कुरा बताएका छन् ।

नेपाल र भारतबीच भएको १९५०को मैत्री सन्धि तथा संझौता पूनरावलोकनकालागि सुझाव दिन सन् २०१६ फेब्रुअरीमा गठन भएको ईपीजीले दुईवर्षेको समय लगाएर नौवटा संयुक्त बैठक मार्फत गत वर्ष जुलाई(असार)मा ईपीजी प्रतिवेदनलाइ अन्तिम रुप दिएको थियो । भारतीय प्रधानमन्त्रीको व्यस्तता देखाएर प्रतिवेदन हस्तान्तरणमा भइरहेको ढिलाइले यो प्रतिवेदन त्यसै थन्किने त होइन भन्ने बढि मात्रामा नेपाल तर्फ चासो रहेको छ ।

‘सगरमाथा संवाद’ बारे अन्तरराष्ट्रिय सञ्चारमाध्यमलाई ‘ब्रिफिङ’

एनआईबि संवाददाता,काठमाडौं

२४जनवरी२०२०

नेपाल सरकारले आगामी अप्रिल(चैत्र)मा आयोजना गर्न लागेको अन्तराष्ट्रिय स्तरको पहिलो ‘सगरमाथा संवाद’ बारे भारत लगायत अन्तराष्ट्रिय संचारमाध्यमका प्रतिनिधिहरुलाइ बिस्तृत जानकारी गराएको छ । राष्ट्रिय, क्षेत्रीय, अन्तर्राष्ट्रिय तथा विश्वव्यापी समसाययिक तथा साझा चासोका विषयमा सघन बहस र छलफल गर्ने उद्देश्यले सरकारले आउँदो अप्रिल २देखि४ सम्म आयोजना गर्न लागेको ‘संवाद’ बारे शुक्रबार परराष्ट्र मन्त्रालयमा अन्तक्रिया गरियो ।

नेपालमा पहिलोपटक आयोजना गर्न लागिएको सो संवादका साथै नेपाल भ्रमण वर्षको समेत प्रचार प्रसार गर्ने उद्देश्यले सरकारको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतका वरिष्ठ पत्रकारहरूको टोलीलाई संवाद कार्यक्रमको आयोजना, औचित्य र सहभागितालगायत विषयबारे बिस्तृत जानकारी गराइएको थियो ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आफ्नै मन्त्रालयमा अन्तरराष्ट्रिय सञ्चारमाध्यमका नेपालस्थित प्रतिनिधि, राष्ट्रिय समाचार समिति र भ्रमणमा रहेका भारतका पत्रकारबीच अन्तक्र्रिया गर्दै सरकारले छिमेकी, दक्षिण एशियाली, बिमस्टेक, ठूला तथा जलवायु परिवर्तनले असर पारेका पर्वतीय र साना सामुद्रिक टापुका मुलुकलाई संवादमा सहभागी हुन आमन्त्रण गरिएको जानकारी गराए ।

प्रत्येक दुई वर्षमा आयोजना गरिने संवादको पहिलो संस्करणको शीर्षक ‘जलवायु परिवर्तन, पर्वतीय वातावरण र मानव जातिको भविष्य’ रहेको जानकारी दिँदै उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि आमन्त्रण गरिएको बताए । यद्यपि मोदीको सहभागिता बारे नयाँदिल्लीबाट जवाफ आइनसकेको पनि उनले जानकारी दिए ।

अन्तक्रियामा जलवायु परिवर्तनको प्रत्यक्ष चपेटामा पर्दै आएका पर्वतीय मुलुकहरू,सामुद्रिक टापुका मुलुक तथा हिन्दूकुश हिमालय जस्ता उच्च पर्वतमालामा उच्च अवस्थितिका कारण जलवायु परिवर्तनको असर पृथ्वीका अन्य क्षेत्रमा भन्दा चाँडो र तीव्रगतिमा परिरहेको यथार्थ मन्त्री ज्ञवालीले साझा गरेका थिए ।

विभिन्न मुलुकमा नेपाल सरकारका तर्फबाट तीन उच्च तहबाट निमन्त्रणा गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट सम्बन्धित देशका राष्ट्र प्रमुख र सरकार प्रमुखलाई छुट्टाछुट्टै निमन्त्रणा गरिएको छ । सगरमाथा संवादका संयोजक पराराष्ट्रमन्त्री ज्ञवालीका तर्फबाट पनि उनका समकक्षीका साथै अन्य विदेशी पाहुनालाई आमन्त्रण गरिएको छ ।

संवाद कार्यक्रममा नेपालले समेत सामना गर्नु परिरहेका वातावरणीय, सामाजिक, आर्थिक, सांस्कृतिक, प्राविधिक, जनजीवनलगायत विश्वव्यापी चासोका मामलाहरू एवं समस्याहरूबारे सरोकार राख्ने मुलुक, अन्तरराष्ट्रिय संस्था, नागरिक समाज, अनुसन्धाता तथा विज्ञ, प्राज्ञिक संस्था लगायतका सरोकारवालाहरुसँग छलफल गरिने छ ।

संवाद आयोजनाकालागि परराष्ट्रमन्त्रीकै अध्यक्षतामा २० सदस्यीय सगरमाथा संवाद आयोजक समिति गठन गरिएको छ भने राष्ट्रिय योजना आयोगका सदस्य डा ओलीको संयोजकत्वमा जलवायु परिवर्तन, पर्वतीय पर्यावरणलगायत सम्बन्धित क्षेत्रका विषयका जानकार सम्मिलित १३ सदस्यीय सगरमाथा विशेषज्ञ कार्यदल गठन भई त्यसले काम गरिरहेको छ । सगरमाथा संवाद आगामी चैत २० देखि २२(अप्रिल २–४) गतेसम्म काठमाडौँमा आयोजना हुनेछ ।

आईएमएफकी प्रमुख अर्थशास्त्री गीता भन्छिन, वैश्विक आर्थिक विकास दर घटनुमा भारत ८० प्रतिशत जिम्मेवार

एनआईबि संवाददाता,नयाँ दिल्ली

अन्तराष्ट्रिय मुद्राकोष (आईएमएफ)ले वैश्विक आर्थिक विकास दरको पछिल्लो अनुमानमा गरेको कटौतीको मुख्य जिम्मेबार भारतलाइ बताएको छ । भारत र अन्य उदाउँदो अर्थव्यवस्था भएका मुलुकहरुमा आएको सुस्तताका कारण आईएमएमफले गत अक्टुवरमा गरेको वैश्विक आर्थिक वृद्धि दरको अनुमानमा ०.१ प्रतिशतको कटौती गरेको छ ।

आईएमएफकी प्रमुख अर्थशास्त्री गीता गोपीनाथका अनुसार यो गिरावटमा ८० प्रतिशत जिम्मेबारी भारतीय अर्थव्यवस्थामा आएको सुस्ती रहेको छ । स्वीटरल्यान्डको डाभोसमा आयोजित विश्व आर्थिक मंच(वल्र्ड इकोनोमिक फोरम)को बैठकमा भाग लिन पुगेकी गोपीनाथले भारतीय संचारमाध्यम इन्डिया टुडे च्यानलसँगको कुराकानीमा यो कुरा बताइन ।

भारतीय मुलकी अमेरिकी नागरिक गीताले भनिन,‘हाम्रो अनुमान अनुसार २०१९मा वैश्विक आर्थिक विकास दर २.९ प्रतिशत रहनेछ । जबकि २०२०मा यो आंकडा ३.३ प्रतिशत पुग्न सक्छ । २०२०को आंकडा गत अक्टुबरमा गरिएको अनुमान भन्दा ०.१ प्रतिशतले कम रहेको छ ।

भारतीय अर्थव्यवस्थामा आएको सुस्तीले वैश्विक अनुमानमा असर परेको नै हो त ? भन्ने प्रश्नमा गोपीनाथने जवाफ दिइन ,‘सरल गणितले पनि बताउँछ कि यो ८० प्रतिशत भन्दा बढि हुन्छ ।’
ओरालो लागेको भारतीय अर्थव्यवस्थालाइ पटरीमा ल्याउने सन्दर्भमा उनले भनिन,‘आगामी आर्थिक वर्षमा महत्वपूर्ण सुधार हुन सक्छ । पुरा सिस्टममा उल्लेख्य मात्रामा नगद छ । कर्पोरेट ट्याक्समा छुट दिइएको छ । यो सारा कुराहरुले अर्थव्यवस्थालाइ उकास्न मदत गर्न सक्छ ।’

गोपीनाथका अनुसार भारतीय अर्थव्यवस्थाको हालको सबैभन्दा ठूलो समस्या भनेको नगद र उधारोको कमी हो । त्यसमा ध्यान दिनुपर्ने उनले सुझाएकी छन् । ‘यसलाइ उकास्नकालागि केहि नीतिहरु बनाउनुपर्छ । यसबीचमा अन्य एनपीए( नन परफरर्मिंग एसेट्स) सम्बन्धी समस्या आउनु हुँदैन । यही पहिलो कदम हुनुपर्छ ।’,उनले भनिन ।

आईएमएफको ताजा अनुमान अनुसार २०१९मा वैश्विक आर्थिक वृद्धिदरको अनुमान २.९ प्रतिशत रहने छ । भने २०२०मा ३.३ प्रतिशत र २०२१मा ३.४ प्रतिशत रहने अनुमान सार्वजानिक गरेको छ
मुद्राकोषले २०१९मा भारतको आर्थिक वृद्धिदर ४.८ प्रतिशत रहने अनुमान सार्वजानिक गरेको थियो । त्यसैगरि २०२०मा ५.८ र २०२१मा ६.५ प्रतिशत रहने अनुमान गरेको छ ।

भारतमा जन्मिएकी आईएमएफकी मुख्य अर्थशास्त्री गीता गोपीनाथले गैर बैकिंग वित्तिय क्षेत्रमा नरमपना तथा ग्रामिण क्षेत्रको आम्दानीमा भएको कमजोर वृद्धिका कारण भारतको आर्थिक वृद्धिदरको अनुमान घटेको बताइन । यो प्रतिक्रिया पछि उनी चर्चामा आएकी हुन् ।

गत डिसेम्बरमा भारतीय उद्योग वाणिज्य महासंघ(फिक्की)को ९२औं वार्षिक सम्मेलनमा भाग लिन नयाँ दिल्ली आएकी थिइन । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, वित्त मन्त्री निर्मला सीतारमण तथा रेलमन्त्री पियुष गोयल तथा आरबीआईका गर्वनरलाइ पनि भेट गरेकी थिइन ।

गीता आइएमएफको यो पदमा पुगेकी पहिलो भारतीय महिला अर्थशास्त्री हुन साथै दोश्रो भारतीय नागरिक हुन । उनी २०१९मा यो पदमा नियुक्त भएकी हुन । यस अघि भारतीय रिजर्भ बैंकका पूर्व गवर्नर रघुराम राजन यो पदमा पुगेका थिए ।

गीताले विनिमय दर, व्यापार तथा निवेश, अन्तराष्ट्रिय आर्थिक संकट,मौद्रिक नीति,ऋण तथा बजार संकटको समाधानका विषयमा ४० रिसर्च पेपर लेखिसकेकी छन् ।

आईएमएफ का प्रमुख क्रिस्टियन लगार्डे ले गीतालाइ विश्वको उत्कृष्ट अर्थशास्त्री भनेका छन् । उनले भनेका छन् ,‘शैक्षिक साख, बौद्धिक नेतृत्वको एउटा ट्रयाक रेकर्ड र पर्याप्त अनुभव बोकेकी गीता विश्वको उत्कृष्ट अर्थशास्त्री हुन् ।’

गीताको जन्म सन १९७१ पश्चिम बंगालको राजधानी कोलकातामा भएको थियो । उनले दिल्लीको श्रीराम कलेजबाट स्नातक सकेकी हुन । दिल्ली स्कुल अफ इकोनोमिक्स र वाशिंगटन युुनिवर्सिटि बाट दुइ पटक स्नातकोत्तरको डिग्री लिएकी छन् २००१म उनले प्रिंसटन युनिवर्सिटीबाट विद्यावारिधि पुरा गरेकी हुन् ।

हार्वड विश्वविद्यालयमा अन्तराष्ट्रिय अध्ययन तथा अर्थशास्त्रको प्रोफेसर रहीसकेकी गीता हार्वडमा अर्थशास्त्र विभागकी स्थायी सदस्य बनेकी तेश्रो महिला तथा दोश्रो भारतीय हुन् । उनी भन्दा अघि अमत्र्य सेन अर्थशास्त्र विभागको स्थायी सदस्य बनेका थिए ।

गीताले नेशनल इकोनोमिक रिब्यू की सह संपादक तथा नेशनल ब्यूरो अफ इकोनोमिक रिसर्च सेन्टरमा इन्टरनेशनल फाइनान्स एण्ड मेक्रो इकोनोमिक्स प्रोगामकी सहनिर्देशक पदमा पनि काम गरिसकेकी छन् ।

Nepal news headlines | breaking news kathmandu | national news of nepal live