INDIA

भारतीय नागरिकलाई व्यवस्थित क्वारेन्टाइनमा

बुटबल,अप्रिल १

नेपालका विभिन्न क्षेत्रमा मजदूरी गरी बसेका भारतीय नागरिकलाई प्रशासनले उद्दार गरी क्वारेन्टाइनमा राखेको छ । महामारीका रुपमा विश्वभरनै फैलिएको  कोरोना भाइरस (कोभिड–१९) संक्रमण नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनका बेला निस्किएका भारतीय मजदूरलाई रुपन्देही जिल्ला प्रशासनले उद्दार गरी क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेको हो ।

भारतका विभिन्न क्षेत्रका स्थायी बासिन्दा रहेका १५० भन्दाबढी मजदूरलाई लकडाउनको समयमा भारततर्फ जाँदै गरेको अवस्थामा नेपाल–भारत सीमा क्षेत्रबाट उद्धार गरेर भैरहवास्थित निमा–प्रतिमा प्राविधिक शिक्षालयमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएको छ । उद्धार गरिएका मजदूरमा १४ जना महिला र अन्य पुरुष रहेका छन् ।
क्वारेन्टाइनमा प्रवेश गर्नु अघि उनीहरु सबैको स्वास्थ्य जाँच गरिएको थियो । उनीहरुको नियमित स्वास्थ्य जाँचका लागि क्वारेन्टाइनमा व्यवस्थासमेत गरिएको छ । तीन तलाको कलेज भवनका कोठामा उनीहरुलाई व्यवस्थित तरिकाले राखिएको प्रमुख जिल्ला अधिकारी महादेव पन्तले जानकारी दिए ।

क्वारेन्टाइनमा रहेका भारतीय नागरिकको सुरक्षासमेतलाई मध्यनजर राख्दै क्वारेन्टाइनमा नेपाली सेनालाई सुरक्षाको जिम्मा दिइएको प्रमुख जिल्ला अधिकारी पन्तले जानकारी दिए । त्यस्तै उनीहरुको सम्पूर्ण खानपिनको व्यवस्था सिद्धार्थनगर नगरपालिकाले व्यवस्थापन गरेको नगरपालिकाका कार्यकारी प्रमुख तुल्सीराम मरासिनीले जानकारी दिए ।

क्वारेन्टाइनमा बसेका भारत बिहारका रविन मोदीले आफु भारतबाट रेल चढेर नेपाल–भारत सीमादेखि झण्डै आठ किलोमिटर नौतनवा आएको र त्यहाँबाट पैदलै नेपालसम्म आउँदा प्रहरीले समातेर क्वारेन्टाइनमा ल्याएको बताए । उनले आफुलाई के कारणले क्वारेन्टाइनमा ल्याइयो भन्ने कुनै जानकारी नभए पनि यहाँको व्यवस्थापन र व्यवहार भने सन्तोषजनक रहेको बताए ।

यस्तै भारतको गोरखपुरका बाबुलाल साहानी काठमाडाँै बाफलस्थित गार्मेन्ट उद्योगमा कपडा सिलाउने काम गर्दै आएकामा सबै बन्द भएपछि घर जान काठमाडौँबाट पैदलै सीमा क्षेत्रमा पुग्दा सीमापार गर्न भारतीय सुरक्षाकर्मीले रोकेपछि नेपाल प्रहरीले उद्धार गरेर क्वारेन्टाइनमा ल्याएको बताए । साहानीसहित काठमाडौँमा सिलाइको काम गर्दै आएका २८ जनाको टोली पैदलै सीमाक्षेत्रमा आइपुगेको थियो । क्वारेन्टाइनमा आवास र खानपिनको व्यवस्थापन व्यवस्थित गरिएको उनीहरुको भनाइ छ ।

भैरहवास्थित एक फर्निचर कारखानामा रङ्गरोगनको काम गर्दै आएका भारत उत्तर प्रदेश देवरियाका साधु यादव आफुसँगै काम गर्ने अन्य दुई जना सहकर्मीसहित भारतस्थित घरमा जानलाग्दा रोकिएको बताउछन् । उक्त क्वारेन्टाइनमा राखिएका भारतीय नागरिकको अवस्था बारे बुधबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभाका प्रमुख सचेतक भुमिश्वर ढकालले निरीक्षण गरे । त्यस अवसरमा प्रमुख जिल्ला अधिकारी पन्तलगायत सुरक्षा निकायका अधिकारीको सहभागिता रहेको थियो ।

प्रमुख सचेतक ढकालले महामारीको संक्रमणका बेला नियन्त्रणका लागि भारतीय नागरिकलाई नेपालमा क्वारेन्टाइनमा रहँदासम्म सम्पूर्ण व्यवस्थापन नेपाल सरकारले गर्ने बताए । प्रजिअ अधिकारी पन्तले भारतीय नागरिकको सम्पूर्ण व्यवस्थापन, स्वास्थ्य र सुरक्षाको व्यवस्थापन गरिएको बताए ।––रासस

लकडाउन बढाउने योजना छैन : भारत

नयाँ दिल्ली,मार्च ३०

भारतमा अहिले लागु भएको लकडाउन २१ दिनभन्दा बढी लम्ब्याउने योजना नरहेको सरकारले जनाएको छ । भारतले गत मङ्गलबारदेखि देशब्यापी लकडाउनको घोषणा गरेको हो । सूचना तथा प्रसारण मन्त्रालयको सञ्चार सूचना विभागले सामाजिक सञ्जाल ट्वीटरमा लेखे अनुसार अहिलेसम्म लकडाउन बढाउने योजना सरकारले नबनाएको उल्लेख गरिएको छ ।

सञ्चारमन्त्री राजीव गौबाले लकडाउनको म्याद थप्ने आशंकाको सोमबार खण्डन गरे । भारतमा कोरोना भाइरसको संक्रमण फैलिदै गएपछि सरकारले लगाएको देशव्यापी लकडाउन मंगलबार राति सकिन लागेको छ ।

सरकारले लकडाउन लम्ब्याउन लागेको हल्ला व्यापक चलेपछि सरकारको तर्फबाट सो हल्लाको खण्डन गरिएको हो । मन्त्री गौबाले भने,‘सरकारले २१ दिने लकडाउन लम्ब्याउन लागेको छ भनेर व्यापक हल्लाहरु भै राखेको छ, ति सबै हल्ला गलत हुन, तोकिएको मितिमा लकडाउन अन्त्य हुनेछ।’
भारतमा लकडाउन लागु गरिएपछि मजदूर तथा गरिव वर्गलाई नराम्ररी मर्का परेको भन्दै आलोचना भइरहेको छ ।––पीटीआई / रासस

कोरोना विरुद्धको लडाइमा टाटा समुहद्धारा ५०० करोड सहयोग

नयाँ दिल्ली, मार्च २९

भारतीय उद्योगपति रतन टाटाले कोरोना विरुद्ध जारी लडाइकालागि ५०० करोड रुपैयाको आर्थिक सहायता गर्ने घोषणा गरेका छन् । टाटा ट्रस्टबाट जारी विज्ञप्तिमा भारत र विश्वको वर्तमान चिन्ताजनक समयमा कोविड–१९ सँग लडनकालागि तत्काल आपतकालिन सहायताको आवश्यक्ता रहेको उल्लेख गरिएको छ ।

सबै समुदायलाइ सशक्त तथा सुरक्षित राख्ने आफ्नो प्रतिबद्धता दोहरयाउँदै ५०० करोड रुपैयाको सहयोग गर्ने वाचा गरेको विज्ञप्तिमा उल्लेख छ । सो सहयोग रकम फ्रन्टलाइनमा काम गरिरहेका स्वास्थ्यकर्मीहरुकालागि आवश्यक पर्ने चिकित्सा सामग्री,रेस्पिरेटरी सिस्टम,टेस्टिंग किटसको खरीद लगायत स्वास्थ्यकर्मीहरुको तालिममा खर्च गरिने पनि बताइएको छ ।

सशस्त्रको उच्च निगरानीमा सीमाक्षेत्र

भैरहवा,मार्च २८

कोरोना भाइरसका कारण नेपाल र भारत दुवै देशमा लकडाउन गरिएपछि सीमाक्षेत्र सिल गरेर सशस्त्र प्रहरी बल नेपाल रुपन्देहीले उच्च निगरानीमा राखेको छ । भारतसँग सीमा जोडिएको रुपन्देहीमा पर्ने ६० किलोमिटर क्षेत्रका नाकालाई पूर्णरुपमा शिल गरेर २४ सै घण्टा निगरानी गरिएको सशस्त्र प्रहरी बल रुपन्देहीले जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण रुपन्देहीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलले सीमा क्षेत्रमा २२ पिकेट र पाँच मोबाइल भ्यानले २४ सै घण्टा गस्ती गरिएको बताए । ‘सीमाक्षेत्रको अवस्था हाल अति संवेदशिल भएको छ । नेपालबाट खुला सिमाको कारण मानिसहरु भारत जान खोज्नु र भारतबाट नेपालतिर आउनेहरुलाई रोक्ने काम सशस्त्र प्रहरीले गरिरहेको छ’, सशस्त्र प्रहरी उपरीक्षक पोखरेलले भने ।

नेपाल भारत आवतजावतलाई जिल्ला प्रशासन कार्यालयको निर्देशनविना सशस्त्र प्रहरी बलले पूर्णरुपमा बन्द गरेको सशस्त्र प्रहरी बल नेपाल राजस्व भन्सार नम्बर ३८ गुल्म रुपन्देहीका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक मानबहादुर शाहीले जानकारी दिए । सीमाक्षेत्र मात्र नभएर सशस्त्र प्रहरी बलले लकडाउनलाई पूर्णरुपमा कार्यान्वयन गर्नका लागि जिल्लाकै बुटवल, भैरहवा, गंगोलिया,लुम्बिनी, मर्चवार र धकधई क्षेत्रमा समेत स्थानीय सरकारसँगको सहकार्यमा २४ सै घण्टा गस्ती गरिरहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण रुपन्देहीको सूचना शाखाले जनाएको छ ।

जिल्लाका सरकारी अस्पताल र आइसोलेशन क्षेत्रको समेत सशस्त्र प्रहरीले सुरक्षा दिइरहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण रुपन्देहीले बताएको छ । सशस्त्रले जिल्लामा रहेको आफ्नो न्यून जनशक्तिलाई अधिकतम प्रयोग गरेर सीमाक्षेत्र र बजार क्षेत्रमा प्रभावकारीरुपमा परिचालन गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण रुपन्देहीले जनाएको छ । सशस्त्र प्रहरी बलको रुपन्देहीका निकायहरुले सीमाक्षेत्र, बजार, आन्तरिक सुरक्षा र अस्पतालको सुरक्षा गरेको छ ।

कोभिड–१९ : भारत सरकारद्वारा गरिब, श्रमिकका लागि १.७ लाख करोड रूपैयाँको राहत प्याकेज घोषणा

नयाँ दिल्ली,मार्च २६

भारत सरकारले कोरोना भाइरस(कोभिड–१९)को महामारीको प्रभावलाइ कम गर्न गरीब तथा आप्रवासी श्रमिकहरुलाइ लक्षित गरेर १.७ लाख करोड रुपैया बराबरको राहत प्याकेजको घोषणा गरेको छ । भारतीय वित्तमन्त्री निर्मला सीतारमणले विहिबार कोरोना महामारीको रोकथामकालागि लगाइएको देशव्यापी २१ दिने लकडाउनमा गरिब र आप्रवासी श्रमिकका लागि लक्षित गरी राहत प्याकेजको घोषणा गरेकी हुन ।

“कोरोनाभाइरसको सङ्क्रमणविरूद्ध अग्रपङ्तीमा रहेका सरसफाइका क्षेत्रमा काम गर्ने कामदार, सामुदायिक स्वास्थ्य कार्यकर्ता, चिकित्सक, नर्स र प्यारामेडिकहरूका लागि प्रति व्यक्ति ५० लाखको बीमाको व्यवस्था गरिएको छ, भारतीय वित्तमन्त्री सीतारमणले भनिन् ।

सरकारले करिब ८० करोड गरीब अर्थात कूल जनसंख्याको दुई तिहाई व्यक्तिका लागि लकडाउन अवधिभरका लागि पाँच किलो चामल वा गहुँको पिठोको राहतको घोषणा गरिसकेकोमा अर्को पाँच किलो चामल वा गहुँ र एक किलो दाल सार्वजनिक वितरण प्रणाली मार्फत निःशुल्क दिने व्यवस्था गरेको छ ।

‘सरकारले कोरोना यस तालाबन्दीमा कुनै पनि व्यक्तिलाई खानाको अभाव हुनदिने छैन,’ उहाँले प्रधानमन्त्री गरीब कल्याण योजना बारे बताउँदै भनिन।

वित्तमन्त्रीले भनिन, ‘किसानहरूले अप्रिलको पहिलो हप्तामा दुई हजार रुपैयाँको पहिलो किस्ता प्राप्त गर्नेछन् । करिब आठ करोड ६९ लाख किसानहरूले यसबाट तत्काल फाइदा लिन सक्नेछन् ।”

वृद्धवृद्धा,पेंशनभोगी र विधवाका लागि अर्को तीन महिनामा दुई किस्तामा उपलब्ध हुने थप एक हजार रूपैयाँ आगामी तीन महिनामा दुई किस्तामा उपलब्ध गराइनेछ । यसले तीन करोड विधवा र जेष्ठ नागरिकलाई लाभान्वित गर्नेछ ।

महिला जनधन खाता खातावालाहरूका लागि आगामी तीन महिना प्रतिमहिना थप ५०० रूपैयाँ राहत स्वरूप दिइनेछ । यसले २० करोड महिलालाई फाइदा पु¥याउने विश्वास भारत सरकारले लिएको छ ।

भारतमा रहेका करिब ३.५ करोड निर्माण श्रमिकका लागि राज्य सरकारहरूलाई निर्माण र निर्माण मजदुरहरूको लागि कल्याण कोष प्रयोग गर्न निर्देशन गरिएको छ । जसमा २१ दिने तालाबन्दीका कारण आर्थिक अभावको सामना गरिरहेका मानिसहरूलाई सहयोग गर्न करीव ३१ हजार करोड रूपैयाँको व्यवस्था गरिएको छ ।

कोरोनाले जगाएको सार्कराष्ट्रबीचको एकता र साझेदारी

काठमाडौं,१६ मार्च

विश्वका १५० भन्दाबढी देशमा प्राणघातक ‘कोभिड–१९’ बाट नराम्ररी प्रभावित भइरहेका बेला दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का आठ सदस्य राष्ट्रका उच्च नेतृत्वबीच यो संक्रमणविरुद्ध साझा रणनीतिका साथ डटेर लड्न  आइतबार  साँझ  भिडियो कन्फ्रेन्स भएको छ ।

विविध कारणले लामो समयदेखि शीर्ष नेतृत्वतहमा संवाद हुन नसकेको क्षेत्रीय सङ्गठन सार्कमा कोरोनाको कहरले ३५ वर्ष पुरानो बहुपक्षीय यस संस्थामा प्राण भरेको महसुस गरिएको छ । ‘हरेक कालो बादलमा चाँदीको घेरा हुन्छ’ भनेझै सार्कलाई गतिशील र सक्रिय तुल्याएर विषम परिस्थितिको अन्त्यमा सफलता प्राप्त हुने अपेक्षा सार्क देशका नागरिकले गरेका छन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा भएको कन्फ्रेन्समा सबै सदस्य देशका राष्ट्राध्यक्ष÷सरकार प्रमुखले प्रधानमन्त्री मोदीको प्रयास र कोभिड १९ विरुद्धको स्थपाना गरिने आपतकालीन कोषको स्वागत गरे । भिडियो कन्फ्रेन्समा पाकिस्तानका स्वास्थ्य राज्यमन्त्री सहभागी भएका थिए ।

प्रधानमन्त्री एवं सार्कका अध्यक्ष केपी शर्मा ओलीले ‘कोभिड–१९’लाई परास्त गर्न सार्क सदस्य राष्ट्रबीच साझा एवं बुद्धिमत्तापूर्ण प्रयास अपरिहार्य भएको बताउँदै सुुदृढ र सबल रणनीतिको कार्यान्वयनबाटै सार्क क्षेत्रलाई कोभिडमुक्त तुल्याउन सकिने विचार व्यक्त गरे । उनले कोभिडविरुद्ध नेपाल सरकारले अवलम्बन गरेका रणनीति र अभियानबारे सक्षिप्त जानकारी दिँदै प्रधानमन्त्री मोदीसहित सदस्य राष्ट्रप्रति आभार व्यक्त गरे ।अर्थतन्त्रलाई पुनर्जीवन दिने, अन्तरक्षेत्रीय व्यापार, पर्यटन र सम्पर्क सञ्जालको निरन्तरता अहिलेको कठिन अवस्थामा महत्वपूर्ण हुने बताउँदै अध्यक्ष ओलीले आपत्कालीन कोषमा नेपालले पनि योगदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

अफगानिस्तानका राष्ट्रपति असरफ घानीले कोरोनाविरुद्ध लड्न पाँच प्रस्ताव प्रस्तुत गर्दै सीमा नाका बन्दगर्दा भूपरिवेष्टित देश अफगानिस्तानलाई औषधिलगायत अत्यवश्यक सामग्रीको आपूर्तिमा जटिलतता हुने भएकाले समन्वयात्मक ढङ्गले काम गर्नुपर्ने अवस्था उत्पन्न भएको बताए ।

बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले चिकित्साशास्त्र तथा जनस्वास्थ्य विज्ञहरूसँगको परामर्श, रोगको रोकथामका निम्ति निरन्तर संवाद तथा विचार आदान प्रदान आजको आवश्यकता भएको बताउँदै कोरोनाविरुद्धको अभियानलाई परास्त गर्न सार्क राष्ट्रबीच एकता र साझेदारीको विकल्प नभएको विचार व्यक्त गरे ।

भूटानका प्रधानमन्त्री लोटे छिरिङले आपत्कालीन कोष स्थापनाको स्वागत गर्दै सचेतना अभिवृद्धि, कोरोना फैलिन नदिन भएका प्रयास र स्वाथ्यकर्मीहरूबाट जारी अथक प्रयत्नको उनले सराहना गरे ।

मालदिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहले कुनै एक देशको प्रयासलेमात्र कोरानाबाट पारपाउन नसकिने र त्यसनिम्ति साझा प्रयत्न हुनुपर्ने तथा भारीमात्रामा स्रोत–साधन परिचालन गर्नुपर्नेमा जोड दिए ।

पाकिस्तानका स्वास्थ्य राज्यमन्त्री जफर मिर्जाले सार्क क्षेत्रमा कोरोना भाइरस फैलिन नदिन आफ्नो देश सचेत रहेको जानकारी दिँदै घना आवादी भएका विशाल शहरयुक्त दक्षिण एशियामा रोगको प्रवेश नहोस् भन्नेमा पनि उत्तिकै चिन्तित रहेको बताए ।

श्रीलङ्काका राष्ट्रपति गोताबाया राजपक्षले कोरोनाले सार्क क्षेत्रको अर्थतन्त्रमा असर पारेको र साना अर्थतन्त्र भएका देश नराम्ररी प्रभावित हुने जोखिम बढेको बताउँदै सार्क सदस्य राष्ट्रको अर्थव्यवस्थालाई सघाउन सार्क मन्त्रिस्तरीय संयन्त्र स्थापनाको सुझाव दिए ।

त्यसअघि प्रधानमन्त्री मोदीले सार्कका अध्यक्ष ओली मिर्गौलाको प्रत्यारोपणपछि स्वास्थ्य लाभ गरिरहेको र शीघ्र स्वास्थय लाभ एवं सुस्वास्थ्यको कामना गरेका थिए । भने सार्कका नयाँ महासचिवले यसैमहिनाको प्रारम्भदेखि कार्यभार सम्हालेकोमा स्वागत गर्दै शुभकामना व्यक्त गरेका थिए । –रासस

जनकपुर पटना चल्ने गाडी बन्द

जनकपुर, १६ मार्च

कोरोना भाइरस संक्रमणको त्रासले प्रदेश नं २ को राजधानी जनकपुरदेखि भारत विहारको राजधानी पटनासम्म चल्ने गाडी सेवा सोमबारदेखि बन्द भएको छ ।
कोरोना भाइरसले भारतमा असर देखाएको हुँदा जनकपुरबाट पटनासम्म चल्ने नेपाल–भारत मैत्री सेवा बस सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए ।

दुई वर्षअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले धनुषाको जनकपुरधामस्थित जानकी मन्दिरबाट संयुक्तरुपमा दैनिक यातायातका लागि जनकपुर पटना नेपाल–भारत मैत्री बस सेवाको उदघाटन गरेका थिए ।

कोरोना विरुद्ध सार्क राष्ट्रहरुबीच आपतकालिन कोष बनाउने भारतको प्रस्ताव

नेपइनबिज संवाददाता,
नयाँ दिल्ली,१५ मार्च

कोरोना महामारी विरुद्ध एकजुट भएर लडनकालागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिण एशियाली मुलुकहरुको साझा संगठन सार्कलाइ बिउँत्याएका छन् । पाकिस्तानसँगको सम्बन्ध तनावग्रस्त बनेपछि सार्कलाइ निष्क्रिय बनाएका मोदीले कोरोना महामारीसँग लडन सार्क पून ब्यूत्याएका हुन् ।

आइतबार साँझ दक्षिण एशियाली मुलुकहरुबीच कोभिड–१९ विरुद्ध लडन साझा रणनीति बनाउन सार्कका ८ सदस्य राष्ट्रहरुले गरेको भिडियो कन्फरेन्समा मोदीले आपतकालिन कोष खडा गर्ने प्रस्ताव राखेका छन् । यो कोषमा भारतले एक करोड डलर (लगभग ७४ करोड भारतीय रुपैया) बराबरको सहायता उपलब्ध गराउने घोषणा गरेका छन् ।

भिडियो कन्फरेन्समा भारतीय प्रधानमन्त्री मोदीले सो कोष सञ्चालनका लागि आफ्नो मुलुकका विदेश मन्त्रालयका सचिवले थप समन्वय गर्ने जानकारी दिँदै सार्क प्रकोप व्यवस्थापन केन्द्रलाई सक्रिय पार्न पनि प्रस्ताव गरे । उनले लड्न विज्ञ र चिकित्सकलाई तयारी अवस्थामा राख्न आग्रह गर्दै कोभिड १९को परीक्षणमा तदारुकता अपनाउन र यसको रोकथाममा लाग्ने टोलीलाई छिटो तालिम दिई क्षमतावृद्धि गर्नुपर्नेमा पनि जोड दिए । प्रधानमन्त्री मोदीले कोभिडको प्रभावबाट आर्थिक क्षेत्रमा पर्न सक्ने प्रभावबारे अध्ययन गर्न र आन्तरिक व्यापारलाई बढावालाई दिन पनि सुझाव दिए ।

हालसम्म सार्क मुलुकमा कोरोना भाइरसबाट संक्रमितको संख्या १५० पुगेको छ । जसमध्ये भारतमा मात्रै १०८ व्यक्ति संक्रमित रहेको भेटिएको छ । कन्फरेन्समा मोदीले भने,‘सार्क क्षेत्रमा १५० केस सामुन्ने आएको छ । हामीले सतर्क रहनु आवश्यक छ । तयार रहौं तर नआत्तियौं । यही हाम्रो मुलमन्त्र हो । ’ नेपालमा हालसम्म शंकास्पद केस भएपनि संक्रमित भएको तथ्याँक आएको छैन ।

भिडियो कन्फरेन्समा नेपालका प्रधानमन्त्री के.पी शर्मा ओली, श्रीलंकाका राष्ट्रपति गोटावाया राजापाक्षे,माल्द्धिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलिह,भुटानका प्रधानमन्त्री लोटे छिरिंग ,बंगलादेशका प्रधानमन्त्री शेख हसीना, अफगानिस्तानका राष्ट्रपति अशरफ गनीले आ–आफना मुलुकमा कोरोनाले पारेको प्रभाव र त्यसकालागि अपनाइएको सतर्कता जानकारी गराएका थिए ।

यो भिडियो कन्फरेन्समा पाकिस्तानको तर्फबाट स्वास्थ्य राज्य मन्त्री जाफर मिर्जा सहभागी भएका थिए । अन्य सबै सदस्य राष्ट्रहरुबाट राष्ट्र प्रमुख तथा सरकार प्रमुखको सहभागीता रहेको थियो । तर पाकिस्तानका तर्फबाट प्रधानमन्त्री इमरान खान भने सहभागी भएनन् । मिर्जाले १३८ बढि मुलुकलाइ प्रभावित बनाइसकेको कोरोनालाइ लिएर गैरजिम्मेवार हुन नसक्ने बताएका थिए । भिडियो कन्फरेन्सकै क्रममा मिर्जाले कश्मिरको मुद्दा उठाउँदै कोरोना भाइरससँग लडनकालागि जम्मु कश्मीरमाथिको प्रतिबन्ध हटाउनुपर्ने माँग समेत राखे ।

कोरोनाबाट विश्वमा एक लाख ६२ हजार ५सय ८८ व्यक्ति संक्रमित भइसकेका छन् । संक्रमणका कारण विश्वमा ६ हजार ६९ मानिसको ज्यान गइसकेको छ । सबैभन्दा बढि प्रभावित चीनमा मात्र ८० हजार बढि केस देखिएको छ । चीनमा मात्र तीन हजार एकसय बढिको मृत्यु भएको छ । दोश्रो प्रभावित मुलुकमा इटलीमा १४ सय बढिको ज्यान गइसकेको छ । कोरोनाका कारण अमेरिकामा समेत ६० जनाको मृत्यु भइसकेको छ ।

PM to be discharged in a week

हिंसा प्रभावित उत्तरपूर्वी दिल्लीका ९८ प्रतिशत विद्यार्थी परीक्षामा सहभागी

नयाँ दिल्ली,मार्च ६

माध्यमिक शिक्षा केन्द्रीय समिति (सीबीएसई) को शुक्रबार सञ्चालन भएको परीक्षामा हिंसा प्रभावित उत्तर–पूर्वी नयाँ दिल्लीका प्राय सबै विद्यार्थी सम्मिलित भएका छन् । सीबीएसईका अनुसार परीक्षामा हिंसा प्रभावित क्षेत्रबाट पनि ९८ प्रतिशत विद्यार्थीले सहभागिता जनाएका छन् ।

‘उत्तर–पूर्वी दिल्लीका ९८ प्रतिशत विद्यार्थीले परीक्षामा सहभागिता जनाएका छन् जसलाई हिंसाग्रस्त क्षेत्रमा पनि उत्साहजनक सहभागिताको रूपमा हेरिएको छ,’ सीबीएसईले एक विज्ञप्ति जारी गरी जनाएको छ ।

‘शुक्रबार भएको राजनीतिशास्त्र कक्षा १२ को परीक्षाका लागि एक लाख ९९ हजार ७६३ परीक्षार्थी रहेका छन् भने दिल्ली र विदेशमा गरी यसका लागि दुई हजार ६९८ केन्द्रको व्यवस्था गरिएको छ,’ समितिले जनाएको छ ।

‘त्यस्तै शुक्रबार नै भएको सीबीएसईको कक्षा १० को परीक्षा पनि विभिन्न ६० केन्द्रमा परीक्षा शान्तिपूर्णरूपमा सञ्चालन भएको छ,’ विज्ञप्तिमा भनिएको छ । उत्तर–पूर्वी दिल्लीमा नागरिकता कानूनलाई लिएर भएका प्रदर्शन र झडपमा ५३ जनाको मृत्यु भएको थियो भने कम्तीमा २०० जना गम्भीर घाइते भएका थिए । जसका कारण उत्तरपूर्वी दिल्लीको परीक्षा सारिएको थियो ।

Our Latest

Nepal news headlines | breaking news kathmandu | national news of nepal live