INDIA

अमेरिकी राष्ट्रपति ट्रम्प भारत भ्रमणमा

एनआईबि संवाददाता,नयाँ दिल्ली
२४ फरबरी २०२०

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफनो पहिलो भारत भ्रमणको क्रममा पहिलो चरणको निर्धारित कार्यक्रम अनुसार सोमबार अहमदाबाद पुगे । पत्नी मेलिनियाकासाथ राष्ट्रपति ट्रम्प एयर फोर्स वन विमान आएका छन् । ट्रम्प दम्पती अहमदाबादको सरदार बल्लभ भाई पटेल विमानस्थलमा बिहान ११ बजेर ३७ मिनेटमा उत्रिएका थिए ।

ट्रम्पको स्वागतकालागि प्रोटोकल तोडेर प्रधानमन्त्री नरेन्द्र मोदी आफै विमानस्थल पुगेका थिए । मोदीले ट्रम्पलाइ अंगालो हालेर नै स्वागत गरेका थिए । मोदीले ट्रम्प भारत पुग्नुअघि नै ट्वििट गर्दै लेखेका थिए , ‘हिन्दुस्तान तपाई भारत पुग्ने पर्खाइमा छ ।’

विमानस्थलबाट उनीहरु साबरमती आश्रम सम्म रोड सो गर्दै पुगेका थिए । आश्रममा ट्रम्प मोदीले महात्मा गान्धीको प्रतिमामा माल्यापर्ण गरेका थिए ।

ट्रम्प मेलेनियाले आश्रममा राखिएको चर्खा पनि चलाएका थिए । ट्रम्पले साबरमती आश्रमको आगन्तुक पुस्तिकामा सन्देश लेखेका छन् । सन्देशमा उत्तर भारत यात्राकोलागि महान मित्र प्रधानमन्त्री मोदीलाइ धन्यबाद दिएका छन् ।

उनको सन्देश अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओवामाले पनि सन् २०१०मा भारत यात्राको दौरान साबरमती आश्रम पुगेका थिए । गान्धीजीको जीवनमा जोडिएको खास स्थानको अवलोकन गर्ने सौभाग्य पाएर म आशा र प्रेरणाले भरिएको छु । उहाँ भारतका मात्र नभएर विश्वकै हिरो हुनुहुन्छ,’ उनले आफ्नो सन्देशमा लेखेका थिए ।

आगन्तुक पुस्तिकामा ट्रम्पले महात्मा गान्धीको बारेका एउटा शब्द पनि उल्लेख नगरेको भन्दै भारतीय संचारमाध्यमहरुले  आश्चर्य  प्रकट गरेका छन् ।

ट्रम्प अघि कुन कुन अमेरिकी राष्ट्रपतिले भारत भ्रमण गरे ?

एनआईबि संवाददाता,नयाँ दिल्ली,

काठमाडौँ ,२४ फरवरी २०२०

अमेरिकी राष्ट्रपति ट्रम्पको भारत भ्रमण अघि ६ राष्ट्रपतिले भारत भ्रमण गरेका छन् । ट्रम्प सातौं राष्ट्रपति हुनेछन् । वाराका ओवामा अघिका राष्ट्रपतिहरुले भारत भ्रमणका कार्यक्रम पाकिस्तान र अफगानिस्तानको भ्रमणसँगै तय गरेको देखिएको छ ।

कुनै राष्ट्रपतिले भारत भ्रमण गरेर पाकिस्तान अफगानिस्तानको भ्रमण गरेका थिए भने कोही पहिले नै भ्रमण सकाएर भारत आएका थिए । यसले अमेरिकाको भारतप्रतिको इन्ट्रेस्ट क्रमिक रुपमा बढदै गएको देखिन्छ ।

राष्ट्रपति ड्वििट डेभिड आइसनहवर

भारत स्वतन्त्र भएको १२ वर्षपछि अमेरिकाबाट पहिलो राष्ट्रपतिले भारत भ्रमण गरेका थिए । सन् १९५९ मा अमेरिकाका तात्कालिन राष्ट्रपति ड्वििट डेभिड आइसनहवरले स्वतन्त्र भारतको पहिलो भ्रमण गरेका थिए ।

दोश्रो विश्व युद्ध समाप्त भएको दुइ वर्षपछि सन् १९४७ मा ब्रिटिश शासनबाट स्वतन्त्र भएको भारत भ्रमण अघि आइसनहवरले डिसेम्बर ७ देखि ९ सम्म पाकिस्तान र अफगानिस्ताको भ्रमण सकाएर अन्त्यमा भारत आएका थिए ।

१९५९ डिसेम्बर ९ देखि १४ सम्म भारतको भ्रमणमा रहेका आइसनहवरले नयाँ दिल्ली र आगरामा समय बिताएका थिए । उनी अमेरिकाका ३४ औं राष्ट्रपति थिए । उनले दुइ पटकको कार्यकालमा दोश्रो कार्यकालको मध्यमा भारत भ्रमण गरेका थिए ।

उनको भारत भ्रमणको समयमा भारतमा राजेन्द्र प्रसाद राष्ट्रपति र जवाहरलाल नेहरु प्रधानमन्त्री थिए । उनले त्यतिबेला भारतको संसदलाइ समेत सम्बोधन गरेका थिए ।
राष्ट्रपति जान एफ केनेडि र लिण्डन बी जानसन

१९६१मा ३५औं राष्ट्रपति बनेका जान एफ केनेडिले भारत भ्रमण गरेनन् । राष्ट्रपति बनेको दुइ वर्षमै केनेडिको हत्या गरिएको थियो । उनको निधन पछि १९६३मा राष्ट्रपति बनेका लिण्डन बी जानसनले पनि भारत भ्रमण गरेनन । तर उनले पाकिस्तानको भ्रमण भने गरेका थिए । उनी डिसेम्बर २३ १९६७मा पाकिस्तान आएका थिए । उनले केनेडिको बाँकी रहेको दुइ वर्ष र त्यसपछि चारवर्षको कार्यकाल गरेर ६ वर्ष राष्ट्रपतिको जिम्मेबारी संभालेका थिए ।

राष्ट्रपति रिचार्ड निक्सन

आइसनहवर भारत आएको दश वर्षपछि सन् १९६९ जुलाइ ३१मा राष्ट्रपति रिचार्ड निक्सनले भारतको राजकीय भ्रमण गरेका थिए । जिम्मेबारी संभालेको ६ महिनाभित्रै उनी दुइ दिने भ्रमणका क्रममा भारत आएका थिए । उनले तात्कालिन राष्ट्रपति मोहम्मद हिदायातुल्लाहलाइ भेटेका थिए । इन्दिरा गान्धी त्यतिबेला भारतको प्रधानमन्त्री थिइन । भारत भ्रमण सके लगत्तै अगस्त १–२मा निक्सन दुइ दिने भ्रमणका क्रममा पाकिस्तान पनि पुगेका थिए ।

राष्ट्रपति जिम्मी कार्टर

जिम्मी कार्टरले सन् १९७८ जनवरी १–३ सम्म गरेको भारत भ्रमणका क्रममा उनले पनि भारतको संसदमा सम्बोधन गरेका थिए । निलम सन्जीव रेड्डी राष्ट्रपति र मोरारजी देसाइ प्रधानमन्त्री भएको समयमा कार्टरको भारत भ्रमण भएको थियो । उनले हरियाणा राज्यको भ्रमण समेत गरेका थिए ।

राष्ट्रपति बिल क्लिंगटन

सन् २०००मा राष्ट्रपति बिल क्लिंगटन पनि भारत आएका थिए । २०००मार्च १९देखि२५ सम्मको भ्रमणको तालिकामा २० तारिखमा उनले बंगलादेश पुगेर फेरि भारत फर्किएका थिए । उनले तात्कालिन भारतीय राष्ट्रपति के.आर. नारायणसँग भेट गरेका थिए । उनको भ्रमणका क्रममा उर्जा तथा वातावरण सम्बन्धी संयुक्त वक्तव्यमा हस्ताक्षर भएको थियो ।

२५ मार्चमा भारतबाट विदा भएर उनी पाकिस्तान हुँदै अमेरिका फर्किएका थिए ।

राष्ट्रपति जर्ज डब्लु बुस

सन २००१ देखि दुइ कार्यकाल राष्ट्रपति बनेका जर्ज डब्लु बुसले पनि आफ्नो दोश्रो कार्यकालको मध्यमा भारत भ्रमण गरेका थिए । उनले २००६ मार्च १–३ सम्म भारत भ्रमण गरेका थिए ।

तात्कालिन प्रधानमन्त्री डा. मनमोहन सिंहको कार्यकालमा भारत आएका बुसको भ्रमणका क्रममा भारतकोलागि उपलब्धि मानिएको अमेरिका–भारत न्यूक्लियर संझौतामा हस्ताक्षर भएको थियो ।

यही समयपछि भारत र अमेरिकाबीचको सम्बन्धमा न्यानोपना आउन शुरु भएको हो । भारत र अमेरिका सम्बन्धलाइ गति दिने प्रधानमन्त्रीको रुपमा मनमोहन सिंहको योगदान उल्लेख्य मानिन्छ ।

राष्ट्रपति वाराक ओवामा

त्यसपछिका राष्ट्रपति वाराक ओवामाले दुइ कार्यकालमा दुइ पटक भारतको भ्रमण गरेका थिए । २०१० नोभेम्बर६–९ मा पत्नी मिशेल ओवामाका साथ उनले पहिलो पटक मुम्बइ र दिल्लीको भ्रमण गरेका थिए । अमेरिका भारत व्यापार परिषद तथा उद्यमशीलता शिखर सम्मेलनमा सहभागी भएका ओवामाले मुम्बइको टाउन हलमा मुम्बईका विद्यार्थीहरुसँग छलफल गरेका थिए ।

तात्कालिन राष्ट्रपति प्रतिभा पाटिल र प्रधामन्त्री डा मनमोहन सिंह सँग ओवामाले भेटवार्ता गरेका थिए । उनले पनि भारतीय संसदलाइ सम्बोधन गरेका थिए । ओवामा दम्पतीले हुमायुको मकवरा तथा राजघाट समेत अवलोकन गरेका थिए ।

उनले दोश्रो पटक, प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो कार्यकालमा सन् २०१५ जनवरी २५–२७ मा भारत भ्रमण गरेका थिए । भारतीय गणतन्त्र दिवसको मुख्य अतिथिको रुपमा सहभागी भएका ओवामा , यो अवसरमा सहभागी हुने पहिलो अमेरिकी राष्ट्रपति थिए । त्यतिबेला पनि उनी अमेरिका भारत व्यापार परिषदले आयोजना गरेको छलफलमा सहभागी भएका थिए ।

भारतको भ्रमणमा आएका ओवामा छैठौं अमेरिकी राष्ट्रपति थिए । ती मध्ये सन् १९६९मा राष्ट्रपति रिचार्ड निक्सनले मात्र राजकीय स्तरको भ्रमण गरेका थिए । हालका राष्ट्रपति डोनाल्ड ट्रम्पले राजकीय स्तरको भ्रमण गर्ने भएका हुन् । उनी भारत भ्रमणमा आउने अमेरिकाका सातौं राष्ट्रपति हुनेछन् । भने राजकीय स्तरको भ्रमण गर्ने दोश्रो राष्ट्रपति ।

भारत नआएका अमेरिकी राष्ट्रपति

पछिल्लो ६ दशकमा अमेरिकामा १२ राष्ट्रपति चुनिए । जसमध्ये ६ राष्ट्रपतिले भारत भ्रमण गरे भने ट्रम्प सातौंं राष्ट्रपति हुनेछन् । भारत नआएका राष्ट्रपतिहरु जान एफ केनेडि, लिण्डन बी जानसन, गेराल्ड फोर्ड, जर्ज एच डब्लु बुस र रोनाल्ड रेगन हुन् ।

हाइलाइट
सन् २००६मा दुइ देशबीच भएको न्यूक्लियर संझौतापछि भारत अमेरिका सम्बन्धमा न्यानोपना शुरु भएको हो ।

भारतमा प्रधानमन्त्री डा मनमोहन सिंहको कार्यकालमा अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसले गरेको भारत भ्रमणका क्रममा भएको न्यूक्लियर संझौता पछि भारत–अमेरिका सम्बन्धले गति लिएको देखिन्छ ।

ट्रम्पकालागि भारतको स्वागत नारा : ‘नमस्ते ट्रम्प’

एनआईबि संवाददाता,नयाँ दिल्ली,

२२ फरबरी २०२०

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा अमेरिकाका राष्ट्रपति डोनाल्ड जे.ट्रम्प श्रीमती मेलिनियाका साथ भारतको दुइ दिने राजकीय भ्रमणकालागि यही फरबरी २४ (सोमबार) भारत आउँदैछन् । उनका साथ छोरी इबांका ट्रंप तथा ज्वाई जारेद कुश्नेर पनि भारत आउदैछन ।

ट्रम्पले आफ्नो कार्यकालको अन्तिम वर्ष भारतको भ्रमण गर्न लागेका हुन् । ट्रम्पको कार्यकाल २०२१ जनवरी २० मा सकिदैछ । उनले २०१७ जनवरी २०मा राष्ट्रपतिको पदभार ग्रहण गरेका थिए । अमेरिकी संविधान अनुसार राष्ट्रपतिको कार्यकाल चार वर्षको हुने व्यवस्था रहेको छ । अमेरिकामा आउँदो नोभेम्बर ३ मा राष्ट्रपतिको निर्वाचन हुने तय भएको छ । ट्रम्पले पहिलो पटक भारत भ्रमण गर्न लागेका हुन् ।

मोदी र ट्रम्पबीच पछिल्लो आठ महिनामा पाँचौ पटक भेट हुँदैछ । यस अघि उनीहरुबीच ओसाका, बायरिज, हयुस्टन र न्यूयोर्कमा चार पटक भेट भइसकेको छ भारतीय विदेश मन्त्रालयले यो भेटघाटलाइ भारत र अमेरिकाबीचको बढदो निकट सम्बन्धलाइ दर्शाएको उल्लेख गरेको छ ।

ट्रम्पको स्वागतकालागि भारत सरकार उत्सुक रहेको विदेश मन्त्रालयका प्रवक्ता रवीस कुमारले बताएका छन् । भारतीय विदेश मन्त्रालयको पत्रकार सम्मेलनमा रवीसले भने,‘हामी राष्ट्रपति डोनाल्ड ट्रम्पको यात्राकालागि उत्सुकताका साथ प्रतीक्षा गरिरहेका छौं । यसले हाम्रा वैश्विक सामरिक सम्बन्ध थप मजबुत हुनेछ ।’

सन् १९४७मा भारत स्वतन्त्र भएपछि भारत भ्रमणमा आउन लागेका ट्रम्प अमेरिकाका सातौं राष्ट्रपति हुन् । यस अघि पछिल्लो पटक तात्कालिन राष्ट्रपति बाराक ओवामाले २०१५जनवरी २५–२७मा तीन दिने भारत भ्रमण गरेका थिए । ओवामा आफनो दुवै कार्यकालमा भारत आएका थिए ।

ट्रम्पको निर्धारित कार्यक्रम तालिका

निर्धारित कार्यक्रम अनुसार राष्ट्रपति ट्रम्प सोमबार दिउँसो नयाँ दिल्ली आइपुग्नेछन् । त्यसपछि उनी प्रधानमन्त्री नरेन्द्र मोदीको गृहनगर गुजरात पुग्नेछन । अहमदाबादको सबैभन्दा ठूलो क्रिकेट स्टेडियम मोटेरा स्टेडियममा डिजाइन गरिएको ‘नमस्ते ट्रम्प’ कार्यक्रममा दुइ राष्ट्रध्यक्ष सहभागी हुने प्रवक्ता कुमारले बताएका छन् । यद्यपि भारतीय संचारमाध्यमहरुका अनुसार नमस्ते ट्रम्प कार्यक्रममा सहभागी हुनु अघि प्रधानमन्त्री मोदीले ट्रम्पलाइ साबरमती आश्रममा स्वागत गर्नेछन । दुवै राष्ट्राध्यक्ष पहिले सावरमती आश्रममा भेट गरेपछि नमस्ते ट्रम्प कार्यक्रममा सहभागी हुनेछन् ।

नमस्ते ट्रम्पको अवधारणा गत वर्षको जुनमा मोदीले अमेरिका भ्रमण गर्दा टेक्सासमा आयोजना गरिएको ‘हाउडी मोदी’ कार्यक्रमको जस्तै रहेको पनि विदेश मन्त्रालयले उल्लेख गरेको छ । हाउडी मोदी कार्यक्रममा राष्ट्रपति ट्रम्प सहभागी भएपछि दुइ राष्ट्राध्यक्षले प्रवासी भारतीय अमेरिकीहरुलाइ सम्बोधन गरेका थिए । स्मरणीय कुरा के भने ‘हाउडी मोदी’ भारत सरकारको सहयोगमा प्रवासी भारतीय अमेरिकीहरुले मोदीको सम्मानमा स्वतन्त्र रुपमा आयोजना गरिएको कार्यक्रम थियो । तर ‘नमस्ते ट्रम्प’ भने भारत सरकारले ट्रम्पको स्वागतमा आयोजना गर्न लागेको कार्यक्रम हो ।

अहमदाबाद विमानस्थलदेखि मोटेरा स्टेडियम सम्म मोदी र ट्रम्पको काफिलालाइ स्वागत गर्नकालागि लामो लाइन हुनेछ । ट्रम्प जुन जुन बाटो भएर गुज्रिनेछन त्यहाँ भारतको विभिन्न प्रान्तको झलक देखाउने २८ मन्च तयार पारिदैछ जसलाइ इण्डिया रोड सो को नाम दिइएको छ । ट्रम्प मार्गमा गान्धीको जीवन दर्शाउने विभिन्न दृश्य हुनेछन । मोदी र ट्रम्पले स्टेडियमा उपस्थित दर्शकदीर्घालाइ सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । मोदी–ट्रम्पको रोड सोमा दुइ लाख बढीको सहभागिता हुने अनुमान गरिएको छ । यस अघि ट्रम्पले सत्तरी लाखको सहभागीता हुने भन्दै ट्वििट गरेका थिए ।

अहमदाबादको कार्यक्रम पछि ट्रम्प श्रीमती मेलेनिया सहित आगरामा ताजमहल अवलोकन गर्न जानेछन । त्यहाँको कार्यक्रम एक घण्टाको हुनेछ ।

दोश्रो दिनको कार्यक्रम

भ्रमणको दोश्रो दिन मंगलबार ट्रम्प दिल्ली आउने कार्यक्रम रहेको छ । मंगलबार विहान राष्ट्रपति भवनको फोरकोर्टमा राजकीय सम्मान दिने कार्यक्रम रहेको छ। त्यसपछि ट्रम्प दम्पती महात्मा गान्धीको समाधिस्थल राजघाट पुग्ने श्रद्धासुमन अर्पण गर्ने कार्यक्रम रहेको छ ।

भारतीय विदेश सचिव हर्षबद्र्धन श्रृंगलाका अनुसार मंगलबार हैदराबाद हाउसमा मोदी र ट्रम्पबीच प्रतिनिधीमण्डलबीच रक्षा र व्यापार लगायत विभिन्न मुद्दामा व्यापक छलफल हुनेछ । उनका अनुसार यो छलफलमा रक्षा ,सुरक्षा, प्रति आतंकवादका साथै व्यापार उर्जा, जनताबीचको सम्बन्ध लगायत अन्य द्धिपक्षिय मुद्दाहरुमा व्यापक छलफल हुनेछ । क्षेत्रीय तथा वैश्विक मुद्दाहरुका विषयमा पनि छलफल हुने उनले उल्लेख गरेका छन् ।

यो भ्रमण मुख्य रुपमा हिन्द–प्रशान्त क्षेत्रमा शान्ति र रणनीतिक सहयोगको विषयमा केन्द्रित रहनेछ, श्रृंगलाले बताएका छन् । उनले अमेरिकी राष्ट्रपतिको भारत भ्रमणले दुइ देशबीचको अभुतपूर्व सम्बन्धलाइ थप मजबुती दिने विश्वास समेत व्यक्त गरेका छन् ।

भारत र अमेरिकाबीच द्धिपक्षीय संझौताको संभावना

राष्ट्रपति ट्रम्पले वाशिंगटनमा आफनो भारत भ्रमणबारे बताउँदै भनेका छन् , ‘म आगामी साता भारत भ्रमणकालागि जाँदैछु । हामी बीच व्यापारका कुरा हुनेछन् । भारतले हामीलाइ धेरै वर्षदेखि उच्च भंसार दरको मार दिएको छ । म प्रधानमन्त्री मोदीलाइ निकै मन पराउँछु । तर हामी थोरबहुत व्यापारका कुरा पनि गर्छौं । भारतले हामीलाइ विश्वको सबैभन्दा उच्च भंसार दरको प्रस्ताव गरेको छ ।’

ट्रम्पले भारतसँगको व्यापारमा देखाएको असंतुष्टि पहिलो पटक होइन । यस अघि पनि गत मंगलबार उनले नोभेम्बरको निर्वाचन अघि भारतसँग ठूलो व्यापारिक डिल संझौता हुन नसक्ने उल्लेख गरिसकेका छन् । ‘हामीबीच व्यापार संझौता हुनसक्छ तर ठूलो संझौता पछिकालागि राखेको छु । म प्रधानमन्त्री नरेन्द्र मोदीलाइ निकै मन पराउँछु तर भारतले हामीसँग एकदम राम्रो व्यवहार गरेको छैन,’ट्रम्पले वाशिंगटनमा पत्रकारहरुसँग भनेका छन् ।

यता भारतीय संचारमाध्यम द इन्डियन एक्सप्रेसले दिल्ली कुटनीतिक श्रोतलाइ उद्धृत गर्दै लेखे अनुसार भारत र अमेरिकाबीच अमेरिकी रक्षा कम्पनीसँग २४ बहुभुमिका भएको एन्टी सबमरिन(पनडुब्बी) हेलिकप्टर किन्ने संझौता हुन सक्छ ।

दिल्लीले अमेरिका भारतको सम्बन्धलाइ एकदम राम्रो प्रचार गरेपनि बारम्बारको ट्रम्पको अभिव्यक्तिले अमेरिकाको भारतसँगको गुनासो प्रष्ट देखिएको छ । यस अघि पनि ट्रम्पले भारतलाइ अमेरिकी उत्पादनमा लगाएको उच्च भंसार दरका कारण ‘ट्यारिफ किंग’को उपमा दिएका थिए ।

भारत र अमेरिका दीर्घकालिन हितलाइ ध्यानमा राखेर कुनै पनि संझौतालाइ अन्तिम रुप दिन चाहेको देखिएको छ । भारतीय विदेश सचिव श्रृंगलाले पनि यस बारेमा पछि कुराकानी हुन सक्ने बताएका छन् ।

ट्रम्प मंगलबार फर्किने

ट्रम्प मंगलबार अपराह्न भारत स्थित अमेरिकी दूतावासले आयोजना गर्ने नीजी कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ । त्यहाँ उनले उद्योगपतिहरुसँग राउण्ड टेबल छलफल गर्ने कार्यक्रम रहेको छ ।

अन्त्यमा राष्ट्रपति ट्रम्प भारतीय राष्ट्रपति रामनाथ कोबिन्दसँगको भेट र उनले ट्रम्पको सम्मानमा राष्ट्रपति भवनमा आयोजना गर्ने रात्रीभोजमा सहभागी भएर ट्रम्प दम्पती अमेरिका फर्किने कार्यक्रम रहेकोे छ । ट्रम्प दम्पतीले भारतमा लगभग ३६ घण्टा समय बिताउने गरी कार्यक्रम तय भएको विदेश मन्त्रालयले जनाएको छ ।

एमसिसी परिमार्जनसहित अनुमोदन हुन्छ :अध्यक्ष दाहाल

काठमाडौं, २२ फरबरी २०२०

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सरकारको सहायता कोष मिलेनियम च्यालेञ्ज कोअपरेसन (एमसिसी) परिमार्जनसहित अनुमोदन हुने बताएका छन् । शनिबार चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले एमसिसी अध्ययन गरेर परिमार्जनसहित अनुमोदन गरिने बताए ।

शुक्रबार एमसिसी अध्ययन गर्न बनेको नेकपाको कार्यदलले प्रतिवेदन बुझाएको बताउँदै यस विषयमा बिस्तृत अध्ययन गरी परिमार्जनसहित अनुमोदन हुने विश्वास दाहालले व्यक्त गरे । उनले भने,‘एमसिसी कुनै बाइवल होइन यसलाई परिमार्जन गरेर अघि बढाइनेछ’, प्रधानमन्त्रीले यस विषयमा अमेरिकी सरकारसँग पनि कुरा गरिसकेको उनले जानकारी दिए ।

अध्यक्ष दाहालले सरकारको कामका विषयमा शनिबारदेखि शुुरु हुने सचिवालय बैठकले समीक्षा गर्ने बताए । वर्तमान सरकारले गरेका धेरै राम्रा कामहरुलाई पनि केही नराम्रा कामले छोपेको भन्दै उनले यस विषयमा समीक्षा गरेर अघि बढ्ने बताए । फरक प्रसंगमा उनले नेकपाभित्र आन्तरिक विवाद नरहेको पनि स्पष्ट पारे । ––रासस

जडीबुटी जोगाउन आचार्य बालकृष्णको आग्रह

हेटौडा
१७ फरबरी २०२०

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र आयुर्वेदका ज्ञाता तथा पतञ्जलि योगपीठका आचार्य बालकृष्णबीच सोमबार भेटघाट भएको छ । मुख्यमन्त्री कार्यालय हेटौँडामा भएको भेटवार्ताका क्रममा मुख्यमन्त्री पौडेलले नेपालमा जन्मेर आयुर्वेदको क्षेत्रमा विश्वचर्चित बन्न सफल भएकोमा बधाई ज्ञापन गर्दै आचार्यप्रति आफूहरुले गर्व गर्ने गरेको बताए । पौडेलले आयुर्वेदको विद्वतालाई आफ्नो जन्मभूमिको समृद्धिमा समेत प्रयोग गर्न अनुरोध गरे ।

उनले वाग्मती प्रदेश सरकार प्रदेशको जडीबुटीको अध्ययन अनुसन्धान गरेर त्यसबाट लाभ लिन इच्छुक रहेको बताउँदै त्यसका लागि वातावरण निर्माण गर्न तयार रहेकाले लगानी भित्रयाउन अनुरोध गरे । ‘तपाईंहरुलाई आवश्यक पर्ने पूर्वाधार निर्माण गर्न र आवश्यक आधार तयार पार्न हामी तयार छौँ, तपाईंले प्राविधिक र अन्य सहयोग गर्नुप¥यो’ मुख्यमन्त्री पौडेलले भने ।

जवाफमा आचार्य बालकृष्णले नेपालमा रहेका बहुमूल्य जडीबुटी अन्यत्रबाटै किनेर त्यसबाट आफूहरुले दबाइ बनाएर नेपालमा नै पठाइरहेको बताउँदै नेपालमै उद्योग वा प्रशोधन केन्द्र खोल्नसके देशले बढी आम्दानी गर्नसक्ने उल्लेख गरे ।

उनले नेपालका बहुमूल्य जडीबुटीको अवैज्ञानिक दोहन भइरहेको समेत बताए । जडीबुटी उखेल्ने काम भएको तर त्यसको बदलामा वृक्षरोपण वा त्यसको वृद्धि विकासका कुनै पनि काम नभएको उनको भनाइ थियो । यसबाट अघिल्लो वर्ष प्रशस्त पाइरहेको जडीबुटी वर्षेनि कम हुँदै गएको पाइएकाले त्यसतर्फ बेलैमा सोच्न जरुरी रहेको उनले सुझाव दिए ।

नेपालमा उद्योग स्थापना र सञ्चालन गर्दा नेपालका बहुमूल्य जडीबुटीको लाभ स्वदेशमै हुन्छ भन्दै पतञ्जलिद्वारा नेपालमा सञ्चालन भएका उद्योगको मुनाफा पनि आफूहरुले नेपालकै समृद्धिका लागि खर्च गरिरहेको बताउनुभयो । योग गुरु रामदेवसमेत नेपालमा सञ्चालित पतञ्जलिका उद्योगका मुनाफा स्वदेशमै खर्च गर्ने पक्षमा रहेको उनले बताए ।
भेटवार्ताका क्रममा प्रदेशका अर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले नेपालको संविधान, ऐन, कानूनले दिएसम्मका अधिकारको प्रयोग गरेर सरकारले जडीबुटीका क्षेत्रमा पतञ्जलिसँग सहकार्य गरेर काम गर्ने बताए । सो अवसरमा वाग्मती प्रदेशका प्रदेश नीति तथा योजना आयोगका कार्यवाहक उपाध्यक्ष श्याम बस्नेतले नेपालका जडीबुटीको संरक्षण र सदुपयोगका लागि आयोग र प्रदेश सरकारले विशेष योजना बनाएर जाने बताए ।

केजरीवालद्वारा दिल्लीको मुख्यमन्त्रीमा तेस्रो कार्यकालको सपथ ग्रहण

एनआईबि संवाददाता,नयाँ दिल्ली
१६ फरबरी २०२०

आम आदमी पार्टीका नेता अरविन्द केजरीवालले आइतबार तेस्रो पटक दिल्लीको मुख्यमन्त्रीका रूपमा सपथ लिनुभएको छ । दिल्लीको रामलीला मैदानमा आयोजित सार्वजनिक कार्यक्रममा भ्रष्टचारविरोधी नेता केजरीवालले पद तथा गोपनियताको शपथ लिएका छन् । उनलाई दिल्लीका उपराज्यपाल अनिल बैजलले सपथ ग्रहण गराएका हुन् ।

आम आदमी पार्टीले शपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई निम्ता गरेको तर उनी आफ्नो व्यस्थताका कारण उपस्थित हुन नसकेको बताएका थिए । प्रधानमन्त्री मोदी आफ्नो संसदीय क्षेत्र वाराणसी पुगेका थिए । शपथ ग्रहणमा अन्य राज्यका मुख्यमन्त्रीलाई भने निम्ता नपठाइएको आप पार्टीले जनाएको छ । सभामा दिल्लीका सात जना सांसद, सबै निगम पार्षदहरू, भारतीय जनता पार्टी (भाजपा) र भारतीय कांग्रेसका प्रदेश अध्यक्षलाई आमन्त्रण गरिएको थियो ।

केजरीवालले दिल्लीका जनतालाई शपथ ग्रहणमा उपस्थित हुन मुख्यमन्त्रीले अपिल गरेअनुसार समारोहमा ठूलो संख्यामा सर्वसाधारण उपस्थित थिए । सपथ ग्रहणसँगै मुख्यमन्त्री केजरीवालले आफ्ना मतदाता तथा शुभेच्छुक सबैलाई सम्बोधन गरेका थिए । उनले आफूलाई फेरि एकपटक जिम्मेवारी दिएको भन्दै दिल्लीवासीलाई धन्यवाद दिएका थिए ।

यसैबीच, प्रतिपक्षी नेताहरूले दिल्लीमा केही निः शुल्क सेवा उपलब्ध गराइएकोमा गरेको आलोचनाप्रति टिप्पणी गर्दै यो दिल्लीवासीलाई दिएको मायाको उपहार भएको बताए । दिल्लीमा महिलालाई निःशुल्क बिजुली, पानी र बस सवारीबारे विपक्षीद्वारा उठाइएका प्रश्नप्रति उनले भने, ‘दिल्लीका नागरिकले आम आदमी पार्टी (आप) लाई गरेको प्रेमको बदलामा ती सुविधा दिइएको हो ।’

उनले भने,‘केही व्यक्ति भन्छन् कि केजरीवालले सबै चीज निःशुल्क दिइरहेछन् । प्रकृतिले विश्वका सबै बहुमूल्य चीजहरू निःशुल्क दिएको छ । आमाको प्रेम होस् वा बुबाको आशीर्वाद होस् अथवा श्रवणकुमारको समर्पण सबै निःशुल्क थिए । केजरीवालले आफ्ना नागरिकलाई माया गर्छन् त्यसैले केही सेवा निः शुल्क उपलब्ध गराइएको हो ।’

फरबरी ८ मा भएको दिल्ली विधानसभा चुनावको नतिजामा आपले ६२ सिट र भाजपाले आठ सिट जितेको थियो । सन् २०१५ जस्तै काँग्रेसले यो चुनावमा पनि खाता खोल्न सकेन ।

अरविन्द केजरीवालले सन् २०१३ मा काँग्रेसको समर्थनमा ४९ दिन सत्तामा रहेपछि राजीनामा दिनुभएको थियो । त्यसपछि सन् २०१५ मा भएको चुनावमा आम आदमी पार्टीले ७० मध्ये ६७ सिट जित्दा भाजपाले जम्मा तीन सिटमा विजय हासिल गरेको थियो ।

रतन टाटाको प्रेमकथाः अविवाहित छन भारतीय उद्योगपति रतन टाटा , किन हुन सकेन विवाह ?

एनआईबि संवाददाता,नयाँ दिल्ली
१४ फरबरी २०२०

सन् १९६०को शुरुतिरको कुरा हो । लस एंजिलिसमा कलेजको पढाइ पुरा गरेर रतन टाटा एउटा आर्किटेक्चर फर्ममा जागीर गर्न लागे । उनीसँग आफ्नो गाडी थियो र उनी आफ्नो जागीर इन्जोय गरिरहेका थिए । त्यतिबेला नै उनी प्रेममा परे ।

‘म कसैसँग प्रेम गर्न थाले, लगभग विवाह गर्ने पक्का भइसकेको थियो । त्यही समय मेरी हजुरआमा बिरामी पर्नुभयो, मेरी हजुरआमा पछिल्लो सात वर्षदेखि बिरामी हुनुहुन्थ्यो । मैले केहि समयकालागि भारत फर्किने निर्णय गरे । मलाइ विश्वास थियो, उनी पनि म सँगै भारत आउँछिन । तर १९६२मा भारत र चीन लडाईंका कारण उनको मातापिता भारत पठाउन तयार भएनन र हामी छुट्टियौं,’रतन टाटाले हयुमन्स अप बम्बेको फेसबुक र  इन्स्टाग्राम  पेजमा आफनो प्रेमकथा साझा गरेका छन् । त्यसपछि उनी आफ्नो कारोबारमा व्यस्त भए र अविवाहित नै रहे ।

उनले आफ्नो वाल्यकालका संझना समेत सो पेजमा साझा गरेका छन् । उनले त्यो समय निकै राम्रो रहेको भनेका छन् । उनले लेखेका छन्, मेरो बाल्यकाल निकै खुशहाल थियो । तर जब मेरो भाइ जिमी र म बढदैथ्यौं, हाम्रो आमा बाबुबीचको तलाकको तितो अनुभव गरयौं । जुन आजको समय जस्तै त्यतिबेला पनि सामान्य थिएन । सन् १९४६मा रतन टाटा १० वर्षको हुँदा उनका आमा बाबु अलग भएका थिए ।

View this post on Instagram

(1/3) “I had a happy childhood, but as my brother & I got older, we faced a fair bit of ragging & personal discomfort because of our parent’s divorce, which in those days wasn’t as common. But my grandmother brought us up in every way. Soon after when my mother remarried, the boys at school started saying all kinds of things about us–constantly & aggressively. But our grandmother taught us to retain dignity at all costs, a value that’s stayed with me until today. It involved walking away from these situations, which otherwise we would’ve fought back against. I remember, after WW2, she took my brother & I for summer holidays to London. It was there that the values were really hammered in. She’d tell us, ‘don’t say this’ or ‘keep quiet about that’ & that’s where ‘dignity above everything else’ really embedded in our minds. And she’s always been there for us. It’s difficult now to say who’s right or wrong. I wanted to learn to play the violin, my father insisted on the piano. I wanted to go to college in the US, he insisted on UK. I wanted to be an architect, he insisted on me becoming an engineer. If it weren’t for my grandmother, I wouldn’t have ended up at Cornell University in the US. It was because of her that even though I enrolled for mechanical engineering, I switched majors & graduated with a degree in architecture. My father was upset & there was a fair bit of rancour, but I was finally my own, independent person in college & it was my grandmother who taught me that courage to speak up can also be soft & dignified. After college, I landed a job at an architecture firm in LA, where I worked for 2 years. It was a great time–the weather was beautiful, I had my own car & loved my job. It was in LA that I fell in love & almost got married. But at the same time I’d made the decision to move back at least temporarily since I had been away from my grandmother who wasn’t keeping too well for almost 7 years. So I came back to visit her & thought that the person I wanted to marry would come to India with me, but because of the 1962 Indo-China war her parent’s weren’t okay with her making the move anymore & the relationship fell apart.”

A post shared by Humans of Bombay (@officialhumansofbombay) on

उनकी आमा सुनीले दोश्रो पटक विवाह गर्दा स्कुलमा उनका साथीहरुले कुरा काटथे । त्यो मुश्किल समयमा उनकी हजुरआमा नवाजबाई सेठ टाटाले दुइ भाइलाइ हुर्काएकी थिइन । ‘उहाँले नै हामीलाइ आफ्नो आत्मसम्मानलाइ जोगाएर राख्न सिकाउनुभएको थियो,त्यो मूल्य र मान्यता आज पनि म सँगै छ,’ टाटाले लेखेका छन् । सामाजिक संजालमा सक्रिय रतन टाटाको यो पोष्ट भाइरल भएको छ ।

भारतका गिनेचुनेका उद्योगपती मध्ये एक रतन टाटा टाटा समुहका अध्यक्ष हुन । ८२ वर्षीय टाटाको कम्पनीको मुख्य कार्यालय मुम्बइमा रहेको छ । यो समुहले विश्वका ६ महाद्धिपका एक सय बढि मुलुकमा आफनो व्यवसाय बिस्तार गरेको छ ।

सन् २०१८–१९मा समग्र टाटा कम्पनीहरुको आय ७ लाख ९२ हजार ७सय १० करोड भारतीय रुपैया रहेको थियो । कम्पनीले ७ लाख २० हजार बढिलाइ रोजगारी दिएको छ । सन् २०१९ मार्च सम्ममा कम्पनीको बजार पूँजीकरण ११ लाख १० हजार ३०८ करोड भारतीय रुपैया रहेको थियो । कम्पनीको इक्विटि शेयर पूजीको ६६ प्रतिशत हिस्सा परोपकारी कोषको रुपमा राखिएको छ,जसले शिक्षा,स्वास्थ्य,जीवनयापनकालागि कला तथा संस्कृतिको जर्गेनाकालागि खर्च गरिरहेको छ ।

टाटा समुह अन्तर्गतको टाटा सन्स होल्डिंग कम्पनी अन्तर्गत टाटा मोटर्स,टाटा स्टिल,टाटा केमिकल्स,टाटा कन्सल्टेन्सी सर्भिस,टाटा पावर, इन्डियन होटल्स,टाइटन,टाटा क्यापिटल्स,टाटा कम्यूनिकेसन्स लगायतका कम्पनी रहेका छन् ।

विदेशमन्त्री जयशंकर र इतिहासकार गुहाबीच ट्वीटर बहस

एनआईबि संवाददाता,नयाँ दिल्ली

१४ फरबरी २०२०

भारतका पहिलो गृहमन्त्री सरदार पटेललाइ लिएर सामाजिक संजालमा भारतीय विदेशमन्त्री एस जयशंकर र इतिहासकार रामचन्द्र गुहाबीच बहस भएको छ । बुधबार (१२ फरबरी)मा जयशंकरले विगतको राजनीतिको इतिहास लेख्न इमान्दारी चाहिने भन्दै ट्ीवीट गरेका थिए । बीपी मेननलाइ उद्धृत गर्दै उनले लेखे, सरदार पटेलको निधन हुँदा उनको स्मृति मिटाउनकालािग बृहत स्तरमा अभियान चलाइएको थियो । मलाइ यो थाहा छ, त्यो समयमा मैले यो देखेको छु म आफू पनि यसको शिकार भएको छु ।

१९४७ मा मुलुकका पहिलो प्रधानमन्त्री पंडित जवाहरलाल नेहरुले सरदार पटेललाइ आफ्नो मन्त्रीमण्डलको हिस्सा बनाउन चाहदैनथे, प्रारम्भिक मन्त्रीमण्डलको सुचीमा उनको नाम थिएन । यो निकै ठूलो बहसको विषय हो, मेननको जीवनीलाइ उद्धृत गर्दै विदेशमन्त्री जयशंकरले थप लेखेका छन् । यो रहस्योदघाटनकालागि लेखकले आफनो पक्ष राख्नु उल्लेखनीय भएको बताएका छन् ।

पूर्व कुटनीतिज्ञ तथा विदेशमन्त्री जयशंकर लेखक तथा इतिहासकार नारायणी बसुको वीपी मेननमाथि लेखिएको जीवनी विमोचन गर्न पुगेका थिए । उनले पुस्तक विमोचनको तस्वीर पनि साझा गरेका थिए । उनले पुस्तकमाथि प्रतिक्रिया दिदै लेखेका थिए,‘पटेलको मेनन र नेहरुको मेननबीच तीब्र विषमता देखियो वास्तवमा एउटा ऐतिहासिक व्यक्तिसँग बहुप्रतीक्षित न्याय भएको छ ।

यसैबीच पुस्तकमा गरिएको दाबी तथा जयशंकरको ट्वीटमा लेखक तथा इतिहासकार रामचन्द्र गुहाले प्रश्न उठाएका छन्। उनले लेखेका छन् ,‘यो सब एउटा काल्पनिक कुरा हो जसलाइ द प्रिन्ट(अनलाइन समाचार पोर्टल) मा प्रोफेसर श्रीनाथ राघवनले निकै तोडमरोड गरेर ध्वस्त बनाएका छन् । यसका अलाबा झुटो खबरलाइ बढावा दिनु र नेहरु र पटेलबीचको प्रतिस्पर्धाको झुटो खबरलाइ बढावा दिने काम आधुनिक भारतको बिल्डर्सको हो ना कि विदेशमन्त्रीको । यो सब भाजपाको आईटी सेल छोडिदिएको भए हुन्थ्यो ।’

गुहाको यो ट्वीटमा जयशंकरले पनि कटाक्ष सहितको प्रतिक्रिया दिएका छन् । उनले लेखेका छन् , कुनै कुनै विदेशमन्त्री किताब पढछन पनि । कोही प्रोफेसरकालागि पनि यो राम्रो बानी हुन सक्ला । उनले आफूले विमोचन गरेको मेननको जीवनी पुस्तक पढनकालागि सुझाव समेत दिएका छन् ।

विहिबार १३ फरबरीमा एउटा अर्को ट्वीट मार्फत गुहाले एउटा पत्र साझा गर्दै लेखेका छन्,‘अगस्तको एउटा पत्र जहाँ नेहरुले पटेललाइ स्वतन्त्र भारतको पहिलो मन्त्रीमण्डलमा सहभागी हुनकालागि निमन्त्रणा गरेका थिए । पत्रमा पटेललाइ सो मन्त्रीमण्डलको सबैभन्दा मजबुत स्तंभ भनिएको छ । कसैले यो विदेशमन्त्रीलाइ देखाउन सक्छ भन्दै गुहाले पून लेखेका छन् ।

गुहाले विदेशमन्त्रीको किताब पढने सुझाव प्रति पून कटाक्ष गर्दै प्रत्युत्तरमा लेखेका छन् , ‘सर किनकी तपाइ जेएनयूबाट विद्यावरिधि गर्नुभएको छ । स्वभाविक रुपमा म भन्दा धेरै पुस्तक अध्ययन गर्नुभएको होला । जसमा नेहरु र पटेलबीच पात्राचार भएको पनि परे होलान । जसमा लेखिएको थियो कि नेहरुले कसरी पटेललाइ आफ्नो मन्त्रीमण्डलको सबैभन्दा मजबुत स्तंभ बनाउन चाहन्थे । त्यो पुस्तकबाट फेरि सल्लाह लिनुस । ’

इन्फोसिसका सह संस्थापक नारायण मूर्तिका ज्वाईं ब्रिटेनका अर्थमन्त्री

नयाँ दिल्ली
१३ फरबरी २०२०

ब्रिटेनका प्रधानमन्त्री बोरिस जानसनले भारतीय मुलका नेता ऋषि सुनकलाइ नयाँ अर्थमन्त्री बनाएका छन् । सुनक भारतीय कम्पनी इन्फोसिसका सह संस्थापक नारायण मूर्तिका ज्वाईं हुन । उनी जानसन मन्त्रीमण्डलमा भारतीय मूलका दोश्रो उच्च मन्त्री हुन । भारतीय मूलकी प्रीति पटेल बेलायतकी गृहमन्त्री छिन् । यस अघि पाकिस्तानी मूलका साजिद जाविदले अर्थमन्त्रालय संभालेका थिए । उनले अप्रत्याशित रुपमा आफ्नो पदबाट राजीनामा दिएपछि सुनक अर्थमन्त्री बनाइएको भारतीय संचारमाध्यमहरुले समाचार प्रकाशित गरेका छन् ।

गत डिसेम्बरमा भएको आम चुनावमा जानसन नेतृत्वको कन्जरवेटिभ पार्टीले भारी सफलता हासिल गरेर दोश्रो पटक सत्तामा आएको हो । प्रधानमन्त्रीले यस पटक आफ्नो मन्त्रीमण्डलमा ठूलो फेरबदल गरेका छन् । सुनकले पछिल्लो समयसम्म जाविदको सहायकको रुपमा अर्थमन्त्रालयमा काम गर्दै आएका थिए ।

ब्रिटेनका प्रधानमन्त्री कार्यालयको बयानमा भनिएको छ , महारानी (एलिजाबेथ द्धितिय) ऋषि सुनकलाइ नयाँ वित्त मन्त्री बनाउने स्वीकृति दिएर उत्साहित हुनुहुन्छ । सुनकले अक्सफोर्ड विश्वविद्यालय र स्टनफोर्ड विश्वविद्यालयबाट दर्शन शास्त्र,राजनीति शास्त्र तथा एमबीए सकाएका छन् । उनी पहिलो पटक २०१५मा साँसद बनेका थिए । त्यसपछि उनले कन्जरवेटिभ पार्टीमा द्रुत गतिमा अघि बढेका थिए ।

राजनीतिमा आउनुअघि सुनक एक सफल कारोबारी पनि रहिसकेका छन् । उनी ब्रिटेनको साना कम्पनीमा लगानी गर्ने एक अर्ब पाउण्डको एक लगानी कम्पनीमा सह संस्थापक रहिसकेका छन् । सुनक ब्रेक्जिटका ठूलो समर्थक हुन र ब्रेक्जिटले ब्रिटेनका साना व्यवसायीहरुलाइ सहयोग पुग्ने उनको विश्वास रहेको छ ।

भारत सरकारको सहयोगमा निर्मित शैक्षिक संस्थाको उदघाटन

एनआईबि संवाददाता,काठमाडौं
१३ फरबरी २०२०

भुकम्प पश्चात पूननिर्माण परियोजना अन्तर्गत भारत सरकारले नुवाकोट जिल्लाको किस्पाङ्मा ऐँसेलुभूमे माध्यमिक विद्यालयको विद्यालय भवन निर्माण सम्पन्न गरेको छ । सो नवनिर्मित भवनको गत मंगलबार पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उदघाटन गरे । उद्घाटन समारोहमा उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन ‘अनन्त’ पनि उपस्थित थिए । भारतीय दूतावासको पूनर्निर्माण प्रभागका प्रथम सचिव श्रीमती सुचिता किशोरले दूतावासको प्रतिनिधित्व गरेकी थिइन ।
नेपाल सरकारको राष्ट्रिय परीक्षा बोर्डबाट सम्बन्धन प्राप्त यस विद्यालय सन् १९९० मा स्थापना भएको हो । यस विद्यालयले करिब ६सय ३७ विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गरिरहेको छ ।

भारत सरकारको तीन करोड ९५ लाख नेपाली रुपैया अनुदान सहयोगमा निर्मित यस नयाँ संरचनामा तीनवटा ब्लकहरु रहेका छन् । यस विद्यालयको तीन तल्ले शैक्षिक भवनमा ६ वटा कक्षा कोठा रहेका छन् भने दुई तल्ले शैक्षिक भवनमा ४ वटा कक्षा कोठाका साथै फर्निचर र छात्र छात्राका लागि छुट्टै शौचालयको सुविधा रहेको छ । नेपाल सरकार शिक्षा मन्त्रालयको केन्द्रिय आयोजना कार्यान्वयन इकाई (शिक्षा) ले सो परियोजनाको कार्यान्वयन गरेको हो ।

गुल्मीको चन्द्रकोट क्याम्पस उदघाटन

त्यसैगरि बुधबार गुल्मीको चन्द्रकोट क्याम्पस भवन र नुवाकोट जिल्लाको एक विद्यालयको समेत उदघाटन गरिएको छ । भारतीय सहयोगमा चन्द्रकोट गाउँपालिकामा निर्मित सो भवन स्थानिय जनताको पहलमा सन् २००८मा स्थापना भएको हो । शहरमा उच्च अध्ययन गर्न जान असमर्थ छात्रछात्राहरुलाइ लक्षित गरेर स्थापना गरिएको क्याम्पस त्रिभुवन विश्व विद्यालयबाट सम्बन्धन प्राप्त रहेको छ । क्याम्पसमा मानविकि,व्यवस्थापन तथा सामाजिक विज्ञान विषयको अध्यापन गराइन्छ । क्याम्पसमा ९० प्रतिशत बढि छात्राहरु रहेका छन् ।

भारत सरकारको चार करोड नौ लाख नेपाली रुपैया बराबरको लागतमा निर्माण गरिएको तीन तल्ले भवनमा १२ कक्षाकोठा रहेको छन् । गुल्मी जिल्ला समन्वय समितिले सो परियोजनाको कार्यान्वयन गरेको हो । उदघाटन समारोहमा भारतीय राजदूतावासका तर्फबाट विकास साझेदारी प्रभागका काउन्सिलर डा प्रफुल्ल शर्मा तथा चन्द्रकोट गाउँपालिकाका अध्यक्ष द्रोण बहादुर खत्री,जिल्ला समन्वय अधिकारी भक्तिराम मरासिनी लगायत सहभागी थिए ।

Nepal news headlines | breaking news kathmandu | national news of nepal live