ENTERTAINMENT

शान्त भए सुशान्त , बलिउडमा भाइभतिजावादको वहस

मुम्बई, जुन १५

बलिउडका चम्किला अभिनेता सुशान्त  शान्त भएका छन् । आइतबार आफ्नै निवासमा झुण्डिएर सदाकालागि भौतिक संसारबाट विदा लिएका सुशान्त सिंह राजपुतको  अन्तिम संस्कार पछि उनी सदाकालागि शान्त भएका हुन् । सोमबार मुम्बईको विले पार्लेको सेवा समाज घाटमा उनलाइ अन्तिम विदाइ दिइयो । उनका बुवा कृष्ण कुमार सिंहले मुखाग्नि दिएका थिए । यसका अलावा अन्तिम संस्कारमा उनका दिदी भिनाजु लगायत परिवारका अन्य सदस्यकासाथै नजिकका मित्रहरु सहभागी भएका थिए ।

पंचतत्वमा विलिन भएका सुशांतको मृत्यु साँस रोकिएको कारणले भएको पोष्टमार्टम रिपोर्टले देखाएको बताइएको छ । उनी आइतबार मुम्बईको वान्द्रास्थित आफ्नै फ्ल्याटमा झुन्डिएको अवस्थामा फेला परेका थिए । उनी पछिल्लो ६ महिनादेखि डिप्रेसनको औषधि सेवन गरिरहेको प्रहरीले बताएका छन् । मुम्वई क्राइम ब्रांचले सुशांतको मृत्यु बारे जाँच गरिरहेको छ ।

सुशांतको निधनले एकातिर बलिउडमा शोकको लहर छाएको छ भने अर्कोतिर पून एकपटक बाहिरबाट संघर्ष गरेर आउने अथवा गडफादर नहुने कलाकारहरुसँग हुने भेदभावबारे बहस छेडिएको छ ।

बलिउड अभिनेत्री कंगना रनावतले सुशांतलाइ आत्महत्या गर्न फिल्म जगतमा हुने गरेको नेपोटिज्म(भाइभतिजावाद)ले उक्साएको आरोप लगाएकी छन् । उनले पून निर्माता निर्देशक करण जौहरलाइ लक्षित गरेर पछिल्लो फिल्म ड्राइभमा सुशांतको रोल नै सीमित पारिदिएको आरोप लगाइन । उनले करणले आफूलाइ पनि उंगली भन्ने फिल्ममा शुरुमा ४५ मिनेटको रोल दिएर १०–१५ मिनेटमा भुमिकमा सिमित गरिदिएको खुलासा गरिन ।

त्यसैगरि सुशांतको निधनपछि प्रख्यात फिल्ममेकर शेखर कपुरले पनि ट्वििट गर्दै कटाक्षपूर्ण टिप्पणी गरेका छन् । ‘तिमी कुन पिडाबाट गुज्रिरहेका थियौं, मैले बुझेको थिए । मलाइ ती मानिसहरुको कहानी पनि थाहा छ जसका कारण तिमी यति नराम्रोसँग टुटेको थियौ र मेरो काँधमा शिर राखेर रोएका थियौं, काश म पछिल्लो ६ महिना तिम्रा वरिपरि नै भएको भए हुन्थ्यो, काश तिमी म नजीक नै आएको भए हुन्थयो । जुन तिमीसँग घटयो त्यो तिम्रो होइन,उनीहरुको कर्म हो ’, शेखरले सुशांतलाइ संझिदै लेखेका छन् ।

शेखर कपुरको महत्वकांक्षी फिल्म पानीको मुख्य भुमिकामा सुशांतले अभिनय गर्ने तय भएको थियो । यशराज फिल्मसको ब्यानरमा बन्ने भनिएको यो फिल्म विभिन्न कारणवश बन्द भयो । पछिल्लो सात वर्ष यही फिल्मका कारण सुशांतले अन्य फिल्म अस्वीकार गरेका थिए । यो फिल्म नबन्ने भएपछि पनि उनी डिप्रेसनमा गएको हुन सक्ने अनुमान गरिएको छ ।

त्यसैगरि फिल्ममेकर मुकेश भट्टले पनि उनले सुशांतलाइ पछिल्लो समय भेटदा उनी सामान्य नरहेको खुलासा गरेका छन् । डेढ वर्ष अघि सडक २ को कास्टिंगको क्रममा मिटिंगको दौरान उनले सुशांतसँग भएको कुराकानी संझदै सुशांतलाइ एक विचलित व्यक्तिको रुपमा पाएको बताए ।

३४ वर्षका सुशांतको पछिल्लो उत्कृष्ट फिल्म छिचोरे निकै मन पराइएको थियो । फिल्ममा असफल हुँदा आत्महत्या सही समाधान नहुने संदेश दिएको यो रिल लाइफका मुख्य अभिनेताले नै रियल लाइफमा संदेश मनन गर्न सकेनन । तर सोमबार पंचतत्वमा विलिन भइसकेका सुशांतले एउटा प्रश्न छोडेर गए, उनी जीवनसँग हारे तर किन ?

अलविदा सुशान्त !!!

‘मेरो प्यारो सुशांत सिंह राजपूत आखिर किन ? किन?’

मुम्बई,जुन १४

‘सफलता पछिको योजना त सबैसँग हुन्छ तर गल्तीले असफल भएमा जिन्दगीलाइ कसरी ह्याण्डल गर्ने त्यसको बारेमा कसैले चर्चा गदैनन,’ यही संदेश दिएका थियो नौ महिना अघि प्रदर्शित फिल्म छिचोरेले । तर यो फिल्मका अभिनेता सुशांत सिंह राजपूतले नै यो सन्देशलाइ मनन गर्न सकेनन । ३४ वर्षको युवा उमेरमै जिन्दगीमा कहाँ चुके उनी, जिन्दगीबाट हार माने । आफ्नो जिन्दगी बचाउन असफल भए । बलिउडका युवा तथा प्रतिभावान अभिनेता सुशांतले आइतबार आफ्नै घरको पंखामा झुन्डिएर आत्महत्या गरेका छ्न ।

उनले मुम्बईको बान्द्रा स्थित आफ्नो घरमा पंखामा झुण्डिएर आत्महत्या गरेको मुम्बइ पुलिसले जानकारी दिएको भारतीय संचारमाध्यमहरुले जनाएको छ । संचारमाध्यमा सुशांतले आत्महत्या गरेको हो वा होइन यकीन कारण बाहिरिएको छैन ।

घरमा काम गर्ने व्यक्तिले पुलिसलाइ फोन गरेर सुचित गरेपछि यो खबर बाहिरिएको हो । पंखामा झुण्डिएको उनको पार्थिव शरीरलाइ प्रहरीले निकालेर जाँच प्रकृया शुरु गरिसकेको छ ।
पछिल्लो केहि समयदेखि उनी डिप्रेसनमा रहेको बताइएको छ । सन् २००२मा उनको आमाको निधन भएको थियो । उनी भावनात्मक रुपमा आमासँग निकै नजीक थिए। आफनो अन्तवार्ताहरुमा पछिल्लो समयमा उनले आफ्नाी आमालाइ निकै संझिरहेको फिल्म समीक्षक कोमल नाहटाले प्रतिक्रिया दिए ।

‘काय पो चे’ फिल्मबाट बलिउडमा डेब्यु गरेका अभिनेताले मनोरंजन जगतमा स्टार प्लसबाट प्रसारित ‘किस देश मे मेरा दिल’ सिरियलबाट प्रवेश गरेका थिए । तर टेलिसिरियल क्वीन मानिएकी एकता कपुरको ‘पवित्र रिश्ता’ सिरियलबाट सुशांत चिनिएका थिए । बलिउडमा उनले वाणी कपुर र परिणीधि चोपडासँग ‘शुद्ध देसी रोमांस’मा काम गरे । तर प्रख्यात क्रिकेटर महेन्द्रसिंह धोनीको जीवनीमा आधारित ‘एम एस धोनी’ फिल्मबाट उनले निकै चर्चा कमाएका थिए । उनको अभिनयको प्रशंसा भएको थियो ।

सानो पर्दा र ठूलो पर्दामा उत्कृष्ट अभिनेताको अवार्ड पाइसकेका सुशांतले पवित्र रिश्ताबाट मोस्ट पपुलर टीभी एक्टर अवार्डका साथै एम एस धोनी फिल्मबाट बेस्ट एक्टर फिल्मफेयर अवार्ड,आइफा अवार्ड,जी सिने अवार्ड पाइसकेका सुशांतले पहिलो फिल्म काइ पो चे फिल्मबाट समेत बेस्ट डेब्यु अवार्ड जितेका थिए ।

बिहारको पटनामा जन्मिएका सुशांत पूर्णिया जिल्लाका वासिन्दा थिए । आमिर खानको सफल फिल्म ‘पिके’मा समेत सहायक अभिनेताको भुमिका निभाएका सुशांतले सो फिल्ममा आफनो सशक्त अभिनयको छाप छोडेका थिए । केदारनाथ,राब्ता , सोनचिरैया, डिटेक्टिभ ब्योमकेस वक्शी, जस्ता फिल्म खेलेका सुशांत युवा पुस्ताका प्रतिभावान अभिनेतामा गनिन्थे । उनको आगामी फिल्म ‘चंदा मामा दुरके’ बजेटको अभावमा रोकिएको थियो ।

सुशांतको निधनले मायानगरी मात्र नभएर राजनीतिज्ञहरुलाइ समेत झटका लागेको छ । ३४ वर्षको अल्पायुमै भएको उनको देहावसनले उनका परिवार, बलिउड तथा उनका प्रशंसकहरुलाइ दुखी बनाएको छ । प्रधानमन्त्री नरेन्द्रसिंह मोदीले समेत उनको निधनमा दुख व्यक्त गरेका छन् । उनले सामाजिक संजालमा भने, उज्जवल अभिनेता निकै छिटो गए ।

त्यसैगरि करण जौहर, अक्षय कुमार, अजय देवगण,अभिषेक बच्चन, सोनु सुद, फिल्म समीक्षक कोमल नाहटा, शाहिद कपुर, जेकलिन फर्नान्डिस,फरहान अख्तर, संजय दत्त, कियारा आडवानी , रिचा चड्डा लगायतका कलाकारहरुले उनको निधनमा दुख व्यक्त गरेका छन् । त्यसैगरि क्रिकेटर, सचिन तेन्दुलकर, इरफान पठान,वीराट कोहलीले समेत दुख व्यक्त गरेका छन् ।

जस्तो कदम उठाएकोमा एमएस धोनी फिल्ममा सुशांतको बुबाको भुमिका निभाएका अनुपम खेरले निकै दुखी हुँदै सामाजिक संजालमा लेखेका छन्, ‘मेरो प्यारो सुशांत सिंह राजपूत आखिर किन ? किन?’

हार्दिक श्रद्धान्जली सुशांत

रहेनन बलिउडका वासु दा

मुम्बई, जुन ४

निर्माण गरेका फिल्म मेकर,पटकथा लेखक तथा निर्देशक वासु चटर्जीको विहिबार ९३ वर्षको उमेरमा निधन भएको छ । फिल्म मेकर अशोक पंडित ले ट्वििट गर्दै चटर्जीको निधनको खबर साझा गरेका थिए । मुम्बइमा निधन भएका उनको विहिबार नै दाहसंस्कार गरिएको छ । बलिउडमा उनी वासु दाका नामले चिनिन्थे ।

यंग एंग्री म्यानको वरिपरि केन्द्रित रहेर द्धन्दात्मक चलचित्र निर्माण हुने सत्तरीको दशकमा अमोल पालेकरलाइ लिएर रजनीगंधा, छोटी सी बात, चितचोर जस्ता यादगार हिन्दि सिनेमा बनाएर चर्चा कमाएका वासु दा मध्यमवर्गीय परिवार भित्र मौलाउने माया प्रेमका कथावस्तु पस्केर अलग पहिचान बनाउन सफल भएका थिए ।

भारतमा ब्रिटेनको शासनकालमा राजस्थानको अजमेरमा १० जनवरी १९३० मा जन्मिएका थिए बासु दा । फिल्म जगतमा आउनु अघि उनी तात्कालिन बम्बे(हाल मुम्बई)बाट प्रकाशित हुने साप्ताहिक ट्याब्लोइड ब्लिजमा १८ वर्ष चित्रकार(कार्टुनिष्ट)को रुपमा काम गरे ।

सन् १९६६मा राष्ट्रिय पुरस्कारबाट सम्मानित बासु भट्टाचार्यद्धारा निर्देशित तिसरी कसममा सहायक निर्देशकबाट करियर शुरु गरेका बासु दाले १९६९मा सारा आकाश सिनेमा पहिलो पटक निर्देशन गरे । जसले फिल्मफेयर बेस्ट स्किनप्ले अवार्ड पाएको थियो ।

सात पटक फिल्म फेयर अवार्ड तथा भारतीय फिल्म जगतमा पुरयाएको योगदानकालागि राष्ट्रिय पुरस्कारबाट समेत सम्मानित भएका थिए । सन् १९६९बाट फिल्मी दुनियाँमा भित्रिएका उनी २०११ सम्म सक्रिय रुपमा हिन्दि तथा बंगाली चलचित्र, सिरियल बनाउन व्यस्त रहे ।

टेलिसिरियल विधामा पनि वासु दाको योगदान अविस्मरणीय रहेको छ । अस्सी र नब्बेको दशकमा निर्माण गरिएको रजनी तथा ब्योमकेश वक्शीले निकै चर्चा कमाएको थियो ।
१९८५मा दुरदर्शन टेलिभिजनबाट प्रसारित महिला प्रधान टेलिसिरियल रजनी भारतीय समाजमा छुट्टै छाप छोडन सफल भएको थियो । बंगाली समाजको चित्रण सहित उनले १९९३मा बनाएको जासुसी सिरियल ब्योमकेस वक्शीले पनि अलग्गै पहिचान बनाएको थियो ।

वासु दाका दुइ छोरी सोनाली भट्टाचार्य तथा रुपाली गुहा छन् ।

जुन महिनामा कोरोना संक्रमणको समीक्षा पछि भारतका सिनेमा हलहरु खोल्ने विषयमा निर्णय गरिनेछः केन्द्रिय मन्त्री जावडेकर

मुम्बई, जुन ४

कोराना कहरका कारण इतिहासमै पहिलो पटक लामो समयसम्म सिनेमा हलहरु बन्द भएका छन् । भारतका फिल्म निर्माताहरु सिनेमा हल खुल्ने व्यग्र प्रतीक्षामा छन् । ताकि उनीहरुका फिल्महरु रिलिज गर्न सकुन । कोरोनासँगै जीवनपद्धति सुचारु गर्न भारतमा चरणबद्ध रुपमा मंगलबारदेखि भारतमा लकडाउन हटाएर अनलक फस्र्ट लागु गरिसकिएको छ ।

यसैबीच केन्द्रिय सुचना तथा प्रसारण मन्त्री प्रकाश जावडेकरले जुन महिनाभित्र कोविड १९ महामारीको स्थितिलाइ गम्भीरतापूर्वक समीक्षा गरेपछि सिनेमा हल खोल्ने माँगको विषयमा जाँच गरिने बताएका छन् । मन्त्री जावडेकरले फिल्म निर्माता,सिनेमा हल संचालक तथा फिल्म उद्योग जगतका प्रतिनिधिहरुसँग भिडियो कन्फरेन्स मार्फत यो जानकारी साझा गरे ।

बैठकमा मन्त्री जावडेकरले महामारीका कारण चलचित्र उद्योगमा आइपरेका सबै समस्याका बारेमा छलफल गरे । मन्त्रीले उद्योगीहरुले गरेकोे तलब अनुदान, तीन वर्षकोलागि बिना ब्याज ऋण, कर छुट र औधोगिक दरमा विद्युत र न्यूनतम माँग शुल्क माफीको माँगलाइ सकारात्म ढंगबाट लिएको बताए ।

जावडेकरले उद्योगका माँगहरु सम्बन्धित अधिकारीहरुसँगै बुझ्ने आश्वासन पनि दिए । भारतमा रहेका ९५०० सिनेमा हलहरुमा टिकट बिक्रिबाट मात्र दैनिक ३० करोड रुपैयाको हाराहारीमा व्यापार हुने गरेको तथ्याँक छ । –समाचार श्रोत : भारतीय मनोरंजन अनलाइन

चलचित्र तथा टेलिसिरियल शुटिंगकालागि महाराष्ट्र सरकारले जारी गरेको गाइडलाइनमा केहि बुँदा संसोधन गर्न आग्रह

मुम्बई, महाराष्ट्र, जुन ३

भारतीय फिल्म तथा टेलिभिजन निर्देशक संघले महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेलाइ पत्र लखेर शुटिंगकालागि जारी गरिएको नयाँ गाइडलाइनको दुइ बुँदामा परिवर्तन गर्न आग्रह गरेको छ । संघले ६५ वर्ष उमेरभन्दा बढि उमेरका व्यक्तिलाइ शुटिंग स्थलमा आउन रोक लगाइएको बुँदा तथा शुटिंग परिसरमा चिकित्सक तथा नर्सको अनिवार्य बुँदामा परिवर्तन गर्न आग्रह गरेको हो ।

पत्रमा बलिउडमा ६५ वर्ष काटेका कलाकार, निर्देशक,फिल्म निर्माता तथा लेखकहरु सक्रिय रुपमा काम गरिरहेको उल्लेख गर्दै सुझाव दिइएको छ । पत्रमा मुख्यमन्त्रीलाइ सम्बोधन गर्दै भनिएको छ,‘लिजेन्डरी कलाकार अमिताभ बच्चन,अनुपम खेर, परेव रावल,नसिरुद्दिन शाह,पंकज कपुर जैकी श्राफ,डेनी डेन्जोंक्पा,दिलिप ताहिल,टीनु आनन्द , राकेश वेदी, कबिर वेदी, निर्माता निर्देशक तथा लेखकमा अनिल शर्मा,डेविड धवन,सुभाष घई, श्याम बेनेगल,मनिरत्नम, प्रकाश झा,शेखर कपुर, विधुविनोद चोपडा, महेश भट्ट, प्रियदर्शन,गुलजार,जावेद अख्तर लगायत सक्रिय रुपमा काम गरिरहेका छन् । त्यसैले यो बुँदा अव्यहवारिक रहेको र यसले यी महान कलाकारहरुलाइ काम गर्न रोकेको छ ।’

त्यस्तै संघले शुटिंगस्थलमा चिकित्सक तथा नर्सको उपस्थितिकोे बुँदालाइ संसोधन गर्नुपर्ने सुझाव दिएका छन् । ‘राज्यले पहिलेदेखि नै बढदो कोरोना संक्रमितको उपचारकालागि चिकित्सक तथा नर्सको अभाव झेलिरहेको छ । त्यसैले प्रत्येक शुटिंगस्थलमा चिकित्सक तथा नर्सहरुको अनिवार्य उपस्थिति व्यवहारिक देखिदैन । यसको विकल्पमा शुटिंग लोकेसन क्षेत्रमा चिकित्सक तथा नर्स उपलब्ध गराउँदा राम्रो हुने सुझाव रहेको छ। ’

महाराष्ट्र सरकारद्धारा जारी गाइडलाइनमा के छ ?

कोरोना संक्रमण फैलिन नदिनकालागि लगाइएको लकडाउनका कारण बलिउडका फिल्म तथा हिन्दि टेलिभिजन सोको शुटिंग लकडाउन शुरुभएदेखि नै बन्द रहेको थियो । जसका कारण चलचित्र रिलिजदेखि सोका शुटिंग सबै बन्द रहेका छन् । मनोरंजन उद्योग भारी नोक्सानीमा पुगेको छ ।

भारत सरकारले जुन १ बाट लकडाउनको स्वरुप परिवर्तन गरेर अनलक फस्र्ट लागु गरिसकेपछि महाराष्ट्र सरकारले पनि नयाँ गाइडलाइन जारी गर्दै फिल्म तथा टीभी सोहरुको शुटिंग शुरु गर्न अनुमति दिएको छ ।

जारी नयाँ गाइडलाइन अनुसार ६५ वर्ष भन्दा बढि उमेरका व्यक्ति तथा गर्भवती महिला,कलाकार तथा कर्मचारीहरुलाइ शुटिंगस्थलमा आउन रोक लगाइएको छ ।
त्यसैगरि सेटमा चिकित्सक अनिवार्य रुपमा राखिनुपर्ने तथा कोरोना संक्रमित व्यक्तिको तुरुन्त उपचार गरिनुपर्ने छ । शुटिंग सेटमा हात मिलाउने, अंगालो मार्न रोक लगाइएको छ ।

अन्य कलाकारका मेकअप प्रयोग गर्न नपाइने, फोहोर कपडा प्रत्येक दिन धुनुपर्ने, सेटमा सफासुग्घर राख्नुपर्ने, एउटा टेन्टमा पाँच जना बढि मान्छे बस्न नपाउने लगायत फिल्म अथवा सिरियलमा विवाह,समारोह जस्ता सिक्वेन्स गर्न नपाउनुका साथै सबैभन्दा महत्वपूर्ण सामाजिक दुरीलाइ कडाइका साथ पालना गर्नुपर्ने अनिवार्यता राखेको छ ।

यसका अलाबा शुटिंगस्थलमा सकेसम्म ३३ प्रतिशत कर्मचारी राखिनुपर्ने ,सकेसम्म कास्टिंग, लुक टेस्ट तथा मिटिंग भिडियो कल तथा भिडियो कन्फरेन्स , स्काइपबाट गरिनुपर्ने तथा कलाकारहरुकालागि खाना समेत घरबाट ल्याउनुपर्ने भनिएको छ । त्यसैगरि मेकअपमा सेनिटाइजेसनको प्रयोग लाइ ध्यानमा राखिनुपर्ने भनिएको छ ।

नयाँ गाइडलाइन जारी भएसँगै संजयलीला भंसाली निर्देशित तथा आलिया भट्ट अनुबंधित गंगुबाइ कथियावाडी चलचित्रको शुटिंग शुरु हुने भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

भारतमा कोरोना संक्रमित राज्यमा महाराष्ट्र पहिलो रहेको छ । ताजा तथ्याँक अनुसार महाराष्ट्रमा ७०हजार बढि संक्रमित रहेको छ भने २३६२ जनाको कोरोना संक्रमणका कारण निधन भइसकेको छ ।

मनिषा किन व्यग्र थिइन नेपाल फर्कन ?

काठमाडौं, जुन २

चलचित्र अभिनेत्री मनिषा कोइराला मंगलबार रुपन्देहीको सीमानाका भैरहवाको बेलहियाबाट नेपाल प्रवेश गरेकी छन् । परिवारका सदस्यसहित बेलहिया नाकाबाट स्वदेश प्रवेश गरेपछि उनी काठमाडौँ प्रस्थान गरिन । उनलाई नेपाली सेनाको सहयोगमा काठमाडौं सम्म पुरयाउने व्यवस्था गरिएको हो । उनीसँगै नीजी गाडीमा उनका बुबा प्रकाश कोइराला तथा आमा सुषमा कोइराला पनि रहेको बताइएको छ ।

भारतीय भूमिबाट नेपाल प्रवेश गर्नु पहिले सीमामा स्वास्थ्यकर्मीले अभिनेत्री कोइराला र उनका परिवारका सदस्यको स्वास्थ्य परीक्षण गरेका थिए । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले भने, ‘उहाँ बेलहिया नाकाबाट नेपाल आउनुभएको जानकारी पाएको हुँ तर कहाँ बस्नुभएको छ भन्ने जानकारी छैन ।’

नेपाली सेना पश्चिम पृतनाका प्रवक्ता प्रेम थापाले सेनालाई अभिनेत्री कोइराला सहितको परिवारको आगमन विषयमा कुनै जानकारी नभएको तर उहाँहरु काठमाडौँ प्रस्थान गरेको सूचना भने पाएको जानकारी दिए । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले पनि कोइराला परिवार नेपाल प्रवेश गरेको पुष्टि गरे ।

नेपाल भारत सीमा विवाद चलेका बेला नेपाली राष्ट्रियताका पक्षमा सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिले नेपालमा उनको प्रशंसा भइरहेको छ भने अधिकाँश भारतीय टेलिभिजन च्यानलहरुकालागि मसाला बनेको थियो ।

नेपाल सरकारको मन्त्रीपरिषदले लिम्पियाधुरा,लिपुलेक र कालापानीको भुभागलाइ समेटेर नयाँ नक्सा प्रकाशित गर्ने निर्णय गरेपछि मे १८मा मनिषाले प्रतिक्रिया दिएकी थिइन । त्यसैको फलस्वरुप भारतीय टेलिभिजन च्यानलहरुमा उनको आलोचना तथा सामाजिक संजालहरुमा अभद्र टिप्पणि समेत आए । भारतको खाने चीनको गाउने सम्मको आलोचना उनले खेपिन ।

टिप्पणी पछि मुम्बईमै रहेकी मनिषा मानसिक तनाव तथा दबाबमा समेत  परेको  उनी निकट एक जानकारले बताए । कोरोनाका कारण लकडाउनमा मुम्बईमै अडकिएकी मनिषा त्यसपछि नेपाल फर्कन हतारिएकी थिइन । जानकारका अनुसार उनले नयाँ दिल्ली स्थित भारतकालागि नेपाली राजदूत निलाम्बर आचार्यलाइ समेत नेपाल फर्कन सहयोग गर्न आग्रह गरेकी थिइन । उनी हवाइ जहाज चार्टड गरेर समेत नेपाल आउन चाहेकी थिइन ।

तर भारतमा आन्तरिक हवाइ यातायात सुचारु भएपछि उनी मंगलबार स्पाइस जेटको जहाजबाट दिउँसो करीब एक बजे गोरखपुर विमानस्थल अवतरण गरेर बेलहिया नाका हुँदै नेपाल छिरेकी हुन । नेपाली सेनाले उनलाइ काठमाडौं सम्म पुरयाउने व्यवस्था पहिले नै मिलाइसकिएको थियो ।

मनिषाको त्यो ट्वििट जसले भारतीय मिडियालाइ हल्लाइदियो

भारतीय अभिनेता ऋषि कपुरको निधन

नयाँ दिल्ली,अप्रिल ३०

बलिउडका दिग्गज अभिनेता ऋषि कपुरको ६७ वर्षको उमेरमा निधन भएको छ । मुम्बईको एचएन रिलायंस फाउन्डेसन अस्पतालमा निधन भएको हो ।

भारतीय संचारमाध्यमहरुलाइ उनका भाई रणधीर कपुरले दिएको जानकारी अनुसार बुधबार श्वास प्रश्वासमा समस्या भएपछि ऋषिलाइ अस्पताल भर्ना गरिएको थियो । उनको स्वास्थ्य अवस्था स्थिर रहेको रणधीरले बताएका थिए । यस अघि फरबरीमा पनि ऋषिलाइ अस्पताल भर्ति गरिएको थियो ।

अभिनेता राजकपुरका माहिला छोरा ऋषिले बालकालकारको रुपमा ‘श्री ४२०’ र मेरा नाम जोकर चलचित्रबाट अभिनय शुरु गरेका थिए । सन् १९७३मा खेलेको ‘बाबी’ चलचित्रबाट उनी रातारात स्टार बनेका थिए ।

बलिउड अभिनेता अमिताभ बच्चनले उनको निधनको खबर पहिलो पटक टिविट गर्दै सार्वजानिक गरेका थिए । सामाजिक संजालमा सक्रिय रहने ऋषिले अप्रिल २ पछि कुनै पनि टिविट गरेका थिएनन।

भारतीय चलचित्रकर्मी इरफान खानको निधन

नयाँदिल्ली, अप्रिल २९

भारतीय चलचित्र अभिनेता इरफान खानको निधन भएको छ । उनको ५४ वर्षको उमेरमा क्यान्सर रोगको उपचारकै क्रममा मुम्बईस्थित एक अस्पतालमा बुधबार निधन भएको हो । खानका प्रवक्ताका अनुसार इरफानको मृत्यु मुम्बइस्थित कोकिलाबेन धिरुभाइ अम्बानी अस्पतालमा निधन भएको हो ।

सन् १९८८ मा एकाडेमी अवार्डमा मनोनयनमा पर्न सफल “सलाम बम्बे” बाट इरफान चलचित्र क्षेत्रमा प्रवेश गरेका थिए । यो चलचित्र मुम्बईका सडक बालबालिकाको कथामा आधारित थियो ।

इरफान खान मुम्बईमा मात्र सीमित भएनन् । उनले अस्कर अवार्ड विजेता तथा ख्याती कमाएको “स्लमडग मिलेनियर” लगायत “जुरासिक वल्र्ड”, “दी अमेजिङ स्पाइडर–म्यान” र “लाइफ अफ पाई” जस्ता हलिउडका चलचित्रमा समेत काम गरेका थिए ।

उहाँले सुप्रसिद्ध चलचित्र निर्देशकहरु मिरा नायर, वेस एन्डरसन र आङ ली सँग काम गरेका थिए । सन् २०१८ मा इरफानलाई क्यान्सर भएको पत्ता लागेको थियो । त्यसपछि उनको उपचार बेलायतमा गरिएको थियो । खानको अल्पायूमै भएको निधनप्रति भारतीय चलचित्र क्षेत्रका व्यक्तित्वहरुले दुःख प्रकट गरेका छन् ।

राष्ट्रपति भण्डारीसँगको तस्वीर साझा गर्दै आशा भोंसलेले भनिन….

एनआईबि संवाददाता,काठमाडौं

राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेट पछि तस्वीर साझा गर्दै भारतकी प्रख्यात गायिका आशा भोंसलेले आफूलाइ राष्ट्रपति भवनमा भेट दिएकोमा धन्यवाद व्यक्त गरेकी छन् । उनले राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार भएको भेट पछि आफ्नो आधिकारिक टिविटर मार्फत राष्ट्रपति भण्डारीसँगको तस्वीर साझा गर्दै यस्तो लेखेकि छन् ।

सो भेटमा राष्ट्रपति भण्डारीले भोसले नेपाली संगीत उद्योगमा पुरयाएको उल्लेखनिय योगदानको सराहना गरेको राष्ट्रपतिलाइ उद्धृत गर्दै साधना कला केन्द्रका संस्थापक निर्देशक मिलन मोक्तानले जानकारी दिए । राष्ट्रपति भण्डारी भोसलेको गीतबाट प्रभावित हुनुहुँदो रहेछ, मोक्तानले भने । यो भेटमा नेपालको समकालिन परिदृश्यको बारेमा समेत कुराकानी भएको मोक्तानले बताए ।

मोक्तानका अनुसार ८० वर्षीय गायिकाले राष्ट्रपतिा भण्डारी समक्ष आफूलाइ नेपालमा गरिएको स्वागतले निकै खुशी भएको भावना साझा गरेकी थिइन । राष्ट्रपतिसँग काठमाडौंको विमानस्थलमा उनलाइ गरिएको पारम्परिक स्वागतले विशेष खुशी भएको भोसलेको भनाइ उद्धृत गर्दै मोक्तानले भने ।

साधना कलाकेन्द्रको निमन्त्रणमा वुधबार काठमाडौं पुगेकी भोसलले शनिबार एक कार्यक्रममा आफ्नो प्रस्तुति दिने कार्यक्रम रहेको छ । जसमा उनलाइ नेपालका ३५ कलाकारहरुले साथ दिनेछन् ।

एकल साँगीतिक प्रस्तुतिकालागि आशा भोंसले काठमाडौंमा, पाँच दिने नेपाल बसाइ

एनआईबि संवाददाता,काठमाडौं

साधना कला केन्द्र पुतलीसडकको निमन्त्रणामा भारतकी प्रसिद्ध गायिका आशा भोंसले बुधबार साँझ काठमाडौं आइपुगेकी छन् । त्रिभुवन विमानस्थलमा कलाकेन्द्रका विद्याथीहरुले झाँकीसहित उनलाइ स्वागत गरेका थिए । भाेंसलेकोे स्वागतका लागि केही वरिष्ठ कलाकार पनि विमानस्थल पुगेका थिए ।

काठमाडौंमा शुक्रबार र शनिबार उनको दुइ साँगीतिक कार्यक्रम हुनेछ । शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने रन्जीत गजमेरको एकल साँगीतिक कार्यक्रममा उनी प्रमुख अतिथिको रुपमा सहभागी हुनेछिन् । यो कार्यक्रममा उनले गजमेरको संगीतमा गाएका तीन चार वटा गीतको प्रस्तुति दिने कार्यक्रम रहेको छ । भोंसलेले गजमेरको संगीतमा झझल्को लिएर आएछ सावन, साउने झरीमा, नयाँ नयाँ सजाऔँ है संसार, के सोचेँ मैले के भयो लगायतका गीत गाएकी छन् ।

शनिबार सोल्टी होटलमा आयोजना गर्न लागिएको एकल सांगीतिक कार्यक्रम उनको यो यात्राको मुख्य कार्यक्रम रहेको छ । शनिबार हुने कार्यक्रममा उनलाइ नेपालका वरिष्ठ गायक,संगीतकारहरुले साथ दिनेछन । “उहाँलाई नेपालका ३५ जना कलाकारले पनि साथ दिनुहुने छ”, साधाना कला केन्द्रका संस्थापक निर्देशक मिलन मोक्तानले भने ।

संगीतकार रन्जीत गजमेरको साँगीतिक कार्यक्रमकालागि भोंसले काठमाडौं आएकी हुन् । भोंसलेको पाँच दिने नेपाल बसाइक क्रममा बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गर्ने र रेडियो नेपाल जाने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

उनले शनिबार संगीतकार रणजीत गजमेरको संगीतमा तीनचार गीत प्रस्तुत गर्ने केन्द्रका संस्थापक निर्देशक मिलन मोक्तानले जानकारी दिए । भोसलेले पशुपतिनाथ,मुक्तिनाथ,लुम्बिनी लगायतका स्थानको दर्शन समेत गर्ने कार्यक्रम रहेको छ ।

यसअघि केन्द्रको निमन्त्रणामा अनुराधा पौडवाल, सञ्जीवनी, दीपानारायण झा, साधना सरगम, इन्द्रजीत मिजारलगायत कलाकार नेपाल आइसेकका छन् ।

गजमेरको संगीतमा झझल्को लिएर आएछ सावन उनको पहिलो नेपाली गीत मानिन्छ भने उनले डेनी डेन्जोग्पासँग आगे आगे तोपैको गोला , पछि पछि मशिनगन बरर नेपाली बोलको गीत गाइसकेकी थिइन ।

यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर, म प्यार बेचिदिन्छु, गैरीखेतको शिरै हान्यो, मोहनी लाग्ला है, झझल्को लिएर आएछ सावन, साउने झरीमा, नयाँ नयाँ सजाऔँ है संसार, के सोचेँ मैले के भयो अहिले, किन बढ्दै छ ढुकढुकी मुटुको, पहाडको माथिमाथि, तिम्रो मनमा लुकेको कुरा, टाढा भइ नजाऊ कहिल्यै लगायत चचिएत नेपाली गीत गाएकी छिन् । ।

आशाले ६० भन्दा बढी व्यवसायिक नेपाली चलचित्रहरुका गीतमा आफ्नो आवाज दिएकी छन् । ‘नेपाल भ्रमण वर्षलाई प्रवद्र्धन गर्न गायिका भोस्लेको नेपाल आगमनले ठूलो योगदान दिने छ’, मोक्तानले भने ।

Nepal news headlines | breaking news kathmandu | national news of nepal live