ECO-POLITICLE

गणतन्त्र दिवसको अवसर पारेर भारत सरकारद्धारा ३० एम्बुलेन्स सहयोग

काठमाडौंमा भारतीय गणतन्त्र दिवस

एनआईबि संवाददाता,काठमाडौं

२६ जनवरी २०२०

भारतको ७१औं गणतन्त्र दिवस काठमाडौंमा एक समारोहको आयोजना गरेर मनाइएको छ । भारतीय दूतावास लैनचौरमा आयोजित समारोहमा कार्यवाहक राजदूत डा. अजय कुमारले राष्ट्रिय झण्डाको झण्डोत्तोलन गर्दै भारतका राष्ट्रपति रामनाथ कोविंदको सन्देश पढेर सुनाए ।

सो समारोहमा कार्यवाहक राजदूतले १ वीर नारी, ८ एकल महिला र मृतक सैनिकका ५ जना निकटतम नातेदारलाई ५.९७ करोड नेपाली रुपैयाँ नगद तथा कम्मल वितरण गरी सम्मान गरे।

सो अवसरमा नेपालको सामाजिक आर्थिक विकासतर्फको यात्रामा नेपालसँग हातेमालो गर्ने भारतको प्रतिबद्वतालाई दोहोरयाउँदै दूतावासले नेपालका विभिन्न अस्पताल तथा गैरनाफामूलक परोपकारी संस्थालाई ३० वटा एम्बुलेन्स तथा शैक्षिक संस्थाहरुलाई ६ वटा बस पनि वितरण गरयो । त्यसैगरि दूतावासले नेपालका सबै प्रदेशमा रहेका विभिन्न ५१ पुस्तकालय तथा शैक्षिक संस्थाहरुलाई पुस्तक प्रदान गरेको छ।

हालसम्म भारत सरकारले नेपालका ७७ जिल्लाका विभिन्न अस्पताल, गैरनाफामूलक परोपकारी संस्था र शैक्षिक संस्थाहरुलाई ७८२ एम्बुलेन्स तथा १५४ बस प्रदान गरेको छ ।

उक्त समारोहमा दूतावासका अधिकारी तथा उनीहरुको परिवारका साथै नेपालमा रहेका भारतीय समुदायका सदस्यहरु तथा शुभेच्छुकहरुको उपस्थिति थियो । कार्यक्रममा केन्द्रीय विद्यालय, मोडर्न इन्डियन स्कुल तथा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र काठमाडौंका विद्यार्थीले गीतहरु प्रस्तुत गरेका थिए।

आइतबार नै कार्यवाहक राजदूतले इंडिया हाउसमा स्वागत समारोहको आयोजना गरेका थिए । सो समारोहमा नेपालका उपराष्ट्रपति नन्द बहादुर पुन मुख्य अतिथि रहेका थिए ।

कार्यक्रमका केहि क्लिक :

पाम आयाल प्रतिबन्धमा पूर्नविचार गर्न भारत सरकारलाइ नेपालको आग्रह

एनआईबि संवादादाता,नयाँ दिल्ली
२६जनवरी२०२०

नेपालले भारत सरकारलाइ पाम आयलको आयातमा लगाएको प्रतिबन्धमाथि नेपालकालागि पूर्नविचार गर्न आग्रह गरेको छ । नेपाल सरकारका अर्थमन्त्री डा.युवराज खतिवडाले भारतीय समाचार संस्था एएनआईसँग शनिबार गरेको कुराकानीमा यस्तो आग्रह गरेका हुन् ।

एनएनआईसँग कुराकानी गर्दै डा खतिवडाले भारत सरकारको यो निर्णय नेपालकालागि एउटा झटका भएको बताए । उनले भने,भन्दै उनले भने,‘नेपालको निर्यातको २५ प्रतिशत हिस्सा पाम आयल उद्योग सँग छ । यसमा लगाइएको प्रतिबन्धले हाम्रो उद्योगमा प्रतिकुल प्रभाव परेको छ । भारत सरकारको यो निर्णय हामीले सोचेकै थिएनौ । नेपालको लागि यो एउटा झटका भएको छ ।’

कुराकानीमा डा खतिवडाले भारत सरकारले आफने निर्णयमा नेपालकालागि पूर्नविचार गर्ने आशा व्यक्त गरे । उनले भारत सरकारसँग कुटनीतिक माध्यमबाट यस बारेमा कुराकानी भइरहेको बताउँदै आवश्यक परेको खण्डमा राजनीतिक माध्यमबाट पनि कुराकानी गर्न सकिने बताए ।

चालु आर्थिक वर्षमा नेपालले ११ अर्ब बराबरको रिफाइन्ड पाम आयल भारत निर्यात गरेको छ । नेपालबाट भारतमा निर्यात गरिने सबै भन्दा ठूलो आकारको उत्पादन हो ।

भारत सरकारले गत ८ जनवरीमा पाम आयलको आयातमा प्रतिबन्ध लगाएके थियो । भारतले मलेशिया र इण्डोनेसियाबाट ठूलो मात्रामा पाम आयल आयात गर्ने गरेको थियो । मलेशियाका प्रधानमन्त्री महाथिर मोहम्मदले भारतको आलोचना गरेपछि मोदी सरकारले मलेशियालाइ निशाना बनाउन चाहेको थियो । त्यसकारण यो प्रतिबन्ध लगाइएको भारतीय संचारमाध्यमहरुले जनाएका थिए ।

नेपालले गरयो भारत र पाकिस्तानबीच मध्यस्तताको प्रस्ताव

एनआईबि संवाददाता,नयाँ दिल्ली
२६जनवरी२०२०

भारत र पाकिस्तानबीच तनाव कम गर्न नेपालले मध्यस्तताको प्रस्ताव गरेको छ । कश्मीर तथा सीमापार आतंकवादको मुद्दामा नेपालले मध्यस्तताको प्रस्ताव गरेको हो । नेपाल सरकारको श्रोतको हवाला दिदै भारतीय समाचार संस्था पिटिआइको समाचारलाइ भारतीय संचारमाध्यमहरुले छापेका छन् ।

परमाणु सम्पन्न दुइ छिमेकी मुलुकबीच मध्यस्ताको प्रस्ताव राख्ने नेपाल दक्षिण एशियाको पहिलो मुलुक रहेको छ । समाचारमा भनिएको छ, ‘नेपाल सरकारको श्रोतका अनुसार आपसी विवाद समाधानकालागि दुवै मुलुकबीच कुराकानी हुनु अत्यन्त आवश्यक छ । यसबीच दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्कले पनि नयाँ जीवन पाउनेछ । ’

‘कुनै पनि समस्या समाधानकालागि वार्ता उत्तम तरीका हो यदि आवश्यक परेमा हामी मध्यस्तकर्ताको भुमिका निभाउन तयार छौं,’ श्रोतको हवाला दिदै समाचारमा लेखिएको छ ।

गत वर्ष अगस्तमा जम्मु कश्मीरको धारा ३७० खारेज गरेपछि भारत र पाकिस्तानबीचको तनाव चुलिएको थियो ।

यस अघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीच मध्यस्ताको प्रस्ताव गरिसकेका छन । तर यसलाइ भारतले अस्वीकार गरेको थियो ।

चार वर्षदेखि भएको छैन सार्क सम्मेलन

२०१४मा काठमाडौंमा सम्पन्न १८ औं सार्क शिखर सम्मेलन पछि सार्क निष्क्रिय छ । सो सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानका तात्कालिन प्रधानमन्त्री नवाज शरिफ दुवै सहभागी भएका थिए ।

त्यसपछि १५–१९नोभेम्बर २०१६ मा १९ औं सम्मेलन पाकिस्तानमा हुने तय भएको थियो तर उरीको पुलवामा भएको आक्रमण पछि भारतले पाकिस्तानमा हुने सम्मेलनमा सहभागी हुन अस्वीकार गरयो । पछि यो बैठक नै रद्द भयो ।

भारतीय अर्थव्यवस्थाको सुस्ती अस्थायी हुन सक्ने आइएमएफ प्रमुखको टिप्पणी

एनआईबि संवाददाता,नयाँ दिल्ली

अन्तराष्ट्रिय मुद्राकोषकी प्रमुख क्रिस्टलीना जार्जियाले भारतको अर्थव्यवस्थामा आएको सुस्ती अस्थायी रहेको हुन सक्ने टिप्पणी गरेकी छन् । शुक्रबार स्वीटजरल्याण्डको डाभोसमा आयोजित विश्व आर्थिक मंचको बैठकमा वैश्विक अर्थव्यवस्थामा आफ्नो विचार राख्दै उनले भारतीय अर्थव्यवस्थाको बारेमा यस्तो टिप्पणी दिएकी हुन् ।
आईएमएफ प्रमुखले भनिन, ‘अन्तराष्ट्रिय मुद्रा कोषले भारत आर्थिक वृद्धिदर बारे आफ्नो अनुमान घटाएका थियौं तर हामी यो पनि मान्दछौं कि यो अस्याथी हो । आगामी दिनमा स्थितिमा सुधार आउने आउने हामीले आशा गरेका छौं । ’

उदाउँदो अर्थव्यवस्था भएका मुलुकमा भारतका अलावा इण्डोनेसिया तथा भियतनाम जस्ता देशमा सुधारको संभावना रहेको उनले बताइन ।
विश्व अर्थव्यवस्था बारे गत अक्टोबरमा प्रतिवेदन सार्वजानिक गरेको कोषले २०१९को तुलनामा २०२०मा विश्व अर्थव्यवस्थामा सुधार आउने अनुमान गरेको छ । यो सुधारका पछाडि अमेरिका र चीन बीचको व्यापारिक तनावमा आएको कमी आउनु र करका दरहरुमा परिवर्तन हुनुलाइ मानिएको छ ।

कोषले भारतीय अर्थव्यवस्थाको वृद्धिदरको अनुमान पछिल्लो वर्ष तीन पटक सम्म घटाएको थियो । यसअघि सोही बैठकमा कोषकी मुख्य अर्थशास्त्री भारतीय मुलकी अमेरिकी गीता गोपीनाथले विश्व अर्थव्यवस्थामा आएको कमीमा भारतीय अर्थव्यवस्थाको ८० प्रतिशत हिस्सा रहेको प्रतिक्रिया दिएर चर्चामा आएकी थिइन् ।

कोषले विश्व अर्थव्यवस्थाको विकास दर सन् २०१९मा ३.३ प्रतिशत रहने अनुमान गरेको छ । विश्वको साथै भारतीय अर्थव्यवस्थाको सुस्ती प्रति पनि विश्व समुदायको चासो र चिन्ता गहिरो रहेको छ । यहि विषयमा डावोसमा सम्पन्न  विश्व आर्थिक मंचमा वृहत छलफल भएको थियो ।

ईपीजी प्रतिवेदन हस्तान्तरण हुन्छ: राजदूत आचार्य

एनआईबि संवाददाता,नयाँ दिल्ली

२५जनवरी२०२०

भारतकालागि नेपाली राजदूत नीलाम्बर आचार्यले प्रबुद्ध व्यक्ति समुह(ईपीजी)ले तयार पारेको संयुक्त प्रतिवेदन छिट्टै हस्तान्तरण हुने विश्वास व्यक्त गरेका छन् । शुक्रबार बारखम्बा स्थित नेपाली दूतावासमा नेपइनबिजसँग कुरा गर्दै राजदूत आचार्यले दुवै मुलुकलाइ प्रतिवेदन छिट्टै हस्तान्तरण गरिने विश्वास दोहरयाएका छन् ।

प्रतिवेदन तयार भएको डेढ वर्ष बढि समय बितिसक्दा हस्तान्तरण नै नहुने भन्ने आशंकाका बीच ईपीजीका तात्कालिन सदस्य समेत रहेका राजदूत आचार्यले भने, ईपीजी प्रतिवेदन छिट्टै हस्तान्तरण हुन्छ, केहि समय लागेको छ । तर आत्तिनु पर्ने अवस्था छैन। ’

विहिबार ईपीजीका भारतीय पक्षका तात्कालिन संयोजक तथा हालका महाराष्ट्रका गभर्नर भगतसिंह कोशियारीसँग नयाँ दिल्ली स्थित महाराष्ट्र सदनमा गरेको भेट पछि राजदूत आचार्यल उनले नेपइनपबिजसँग छोटो भिडियो कुराकानी गरेर यो कुरा बताएका छन् ।

नेपाल र भारतबीच भएको १९५०को मैत्री सन्धि तथा संझौता पूनरावलोकनकालागि सुझाव दिन सन् २०१६ फेब्रुअरीमा गठन भएको ईपीजीले दुईवर्षेको समय लगाएर नौवटा संयुक्त बैठक मार्फत गत वर्ष जुलाई(असार)मा ईपीजी प्रतिवेदनलाइ अन्तिम रुप दिएको थियो । भारतीय प्रधानमन्त्रीको व्यस्तता देखाएर प्रतिवेदन हस्तान्तरणमा भइरहेको ढिलाइले यो प्रतिवेदन त्यसै थन्किने त होइन भन्ने बढि मात्रामा नेपाल तर्फ चासो रहेको छ ।

भ्रष्टाचार गर्ने सूचीमा नेपाल सुधारोन्मुख, कम भ्रष्टाचार गर्नेमा दक्षिण एशियामा भूटान अगाडि

२३ जनवरी २०२०

भ्रष्टाचार गर्ने देशको सूचीमा नेपालले आफ्नो स्थान सुधार गरेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले शुक्रबार सार्वजानिक गरेको ‘भ्रष्टाचार अवधारणा सूचकांक–२०१९’ अनुसार नेपाल तीन स्थान माथि उक्लिएको छ ।

नेपाल विश्वका १८० देशहरुको सूचीमा कूल १०० अंकमध्ये ३४ अंक प्राप्त गरेर ११३औँ स्थानमा परेको हो । सन् २०१८ मा ३१ अंकसहित नेपाल १२४औँ स्थानमा थियो ।

विश्व बैंक, वल्र्ड इकोनोमिक फोरम, ग्लोबल इनसाइट, बर्टेल्सम्यान फाउन्डेसन, वल्र्ड जस्टिस प्रोजेक्ट र भिडिइउम समेत गरी छ संस्थाका सर्वेक्षणका आधारमा नेपालको सुधार देखिएको हो ।

ट्रान्सपरेन्सी इन्टरनेशनलका अध्यक्ष डेलिया फरेरा रुवियोका अनुसार सरकारी तहमा हुने भ्रष्टचारबाट आजित जनतामा राज्यका निकायप्रतिको घटदो विश्वास घटाउन राजनीतिक सदाचारतर्फ उन्मुख हुनुपर्ने देखिएको छ ।

दलको चुनावी खर्चमा चन्दा र सहयोगबाट सिर्जना हुने भ्रष्टाचार तथा राजनीतिक व्यवस्थामा पर्ने पैसाको प्रभाव अन्त्य गर्नुपर्ने देखिएको सो अवधारणामा उल्लेख छ ।

दक्षिण एशियामा भुटान अगाडि

दक्षिण एशियामा सबैभन्दा कम भ्रष्टाचार गर्ने देशमा भूटान परेको छ । ६८ अंक प्राप्त गरी भूटान २५औँ स्थानमा छ । यस्तै श्रीलङ्का ३८ अंक प्राप्त गरी ९३औँ स्थानमा, माल्दिभ्स २९ अंक प्राप्त गरी १३० औँ स्थानमा र अफगानिस्तान १६ अंक प्राप्त गरी १७३औँ स्थानमा छ । भारत र चीन समान ४१ अंक प्राप्त गरी ८०औँ स्थानमा परेका छन् ।

सबैभन्दा कम र बढी भ्रष्टाचार गर्ने  मुलुक

सन् २०१९ मा विश्वमा सबैभन्दा कम भ्रष्टाचार हुने देशमा डेनमार्क रहेको छ भने सो राष्ट्रले ८७ अंक प्राप्त गरेको छ । विश्वमा सबैभन्दा बढी भ्रष्टाचार हुने देश सोमालिया रहेको छ । सो राष्ट्रले नौ अंक प्राप्त गरेको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका महासचिव मुकुन्द प्रधानका अनुसार सार्वजनिक पदको दुरुपयोगमा भ्रष्टचार विरोधी निकायको कारवाही, न्यायपालिकाका काम कारवाही, कर असुली सम्बन्धित विषय, सुरक्षा निकाय खासगरी नेपाली सेनामा सदाचारको पहल लगायत सार्वजनिक सरोकारका विषयमा नागरिक संस्थाको भूमिकाजस्ता कारणले नेपालको भ्रष्टाचार प्रवृतिमा केही सुधार आएको सर्वेक्षणले देखाएको छ ।

भारतीय सहयोगमा निर्मित विद्यालय उद्घाटन

एनआईबि संवाददाता,काठमाडौं

भारत सरकारको सहयोगमा काठमाडौं, थानकोट स्थित अरविन्द आश्रम विद्यालयको नव निर्मित विद्यालय भवनको औपचारिक उद्घाटन गरिएको छ । भारतीय राजदूतावासका कार्यवाहक राजदूत डा. अजय कुमारले बुधबार नवनिर्मित विद्यालय भवनको उदघाटन गरेका छन् ।

नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्डबाट सम्बन्धन प्राप्त यस आवासीय विद्यालय सन् १९९३ मा श्री अरविन्द योग मन्दिरले स्थापना गरेको हो । यस विद्यालयले करिब २६० विद्यार्थीलाई माध्यमिक तहको शिक्षा प्रदान गरिरहेकाृे छ जसमध्ये ५३ प्रतिशत भन्दा बढी छात्रा रहेका छन् । अधिकांश विद्यार्थीहरु गरिब, विपन्न र अनाथ छन् जसका लागि विद्यालयले निःशुल्क शिक्षा तथा छात्रावासको व्यवस्था गरेको छ । शहरी विकास तथा भवन निर्माण विभागले उक्त परियोजनाको कार्यान्वयन गरेको हो ।

भारत सरकारको २करोड ८२लाख नेपाली रुपैया बराबरका अनुदान सहयोगमा निर्मित तीन तल्ले नयाँ संरचनामा ११ वटा कक्षा कोठा, तीनवटा प्रयोगशाला, चारवटा भण्डार कक्ष तथा दुई कर्मचारी कक्ष रहेका छन् । यसका अतिरिक्त लेखा, प्रशासन, रेकर्ड, पुस्तकालय, प्रधानाध्यापक, व्यक्तिगत सहायक, परीक्षा, बहुउद्धेश्यीय हल र फर्निचरका लागि एक–एक कोठाको व्यवस्था रहेको छ ।

शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणि राम गेलाल लगायत राजनीतिक, सामुदायिक नेतृत्वकर्मीले सो समारोहमा सहभागीता जनाएका थिए ।

यस नवनिर्मित संरचनाले विद्यार्थीहरुको सिकाई वातावरणलाई अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ । नेपाल सरकारको शिक्षाको क्षेत्रमा पूर्वाधार बिस्तार गर्ने परियोजनामा भारत सरकारले सहयोग गरेको हो । यस अघि पनि भारत सरकारले राजधानी लगायत विभिन्न जिल्लाका विद्यालयहरुको पूर्वाधार निर्माणमा सहयोग गर्दै आएको छ ।

‘सगरमाथा संवाद’मा भारतीय प्रधानमन्त्रीको सहभागीताको आशा गरेका छौंः राजदूत आचार्य

एनआईबि संवाददाता,नयाँ दिल्ली

विराटनगर स्थित एकीकृत जाँच चौकीको मंगलबारको संयुक्त उदघाटनका अवसरमा नेपाल सरकारका तर्फबाट सहभागी भएका भारतकालागि नेपाली राजदूत निलाम्बर आचार्यले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग संक्षिप्त कुराकानी भएको बताएका छ्न। उनले एनआईबि संवाददातासँग कुरा गर्दै भने, ‘मोदीजी सँग प्रत्यक्ष अभिवादन साटन पाएँ । छोटो कुराकानीमा उहाँले नेपाल भारत मैत्री सम्बन्ध अगाडि बढेको भन्दै सम्बन्धलाइ थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँको नेपाल प्रतिको आत्मियता सम्बोधनमा मात्र थिएन । प्रत्यक्ष कुराकानीमा पनि अनुभव मैले अनुभव गरे । ’

सगरमाथा संवादमा सहभागी हुने संभावनाबारे आचार्यले भने, ‘नेपाल सरकारले आयोजना गर्न लागेको पहिलो सगरमाथा संवाद कार्यक्रममा उहाँ सहभागी भइदिनुस भन्ने हामीले आशा अपेक्षा गरेका छौं, त्यसमा पनि हुन सक्छ , अथवा त्यसभन्दा पछि पनि हुन सक्छ । अहिले यसै भन्न सकिदैन ।’

तर भारतीय प्रधानमन्त्रीले सम्बोधनमा आफैले यो वर्षमा पक्का नेपाल भ्रमण गर्ने भनेको उल्लेख गर्दै राजदूत आचार्यले भने,‘आफ्नो सम्बोधन मै उहाँले २०२० मा पक्का नेपाल भ्रमण गर्ने भन्नुभएको छ । कहिले भन्ने कुरा उहाँको अनुकुलतामा तय हुने हो । फेरि पनि हाम्रो प्रयास छिट्टै भ्रमण होस भन्ने रहेको छ ।’

भिडियो कन्फरेन्स मार्फत गत सेप्टेम्बरमा दुवै मुलुकमा प्रधानमन्त्रीद्धयले गरेको दक्षिण एशियाकै पहिलो पेट्रोलियम पाइपलाइन उदघाटन कार्यक्रममा पनि राजदूत आचार्य सहभागी थिए । उनी दोश्रो पटक मंगलबार गरिएको आइसीपी उदघाटनमा सहभागी भएका हुन् । राजदूत आचार्यले उदघाटनमा सहभागी भएपश्चात भारतीय प्रधानमन्त्री मोदीसँग संक्षिप्त कुराकानी राम्रो लागेको अनुभव ट्वििटरमा साझा गरेका थिए ।

भारतीय प्रधानमन्त्री कार्यालयबाट गरिएको यो उदघाटन कार्यक्रममा मोदीसँगै भारतीय सुरक्षा सल्लाहकार अजित दोभाल, विदेश सचिव विजय कुमार गोखले तथा राजदूत आचार्य बसेका थिए ।

सोही अवसरमा प्रधानमन्त्रीद्धयले भारत सरकारको सहयोगमा गोर्खा तथा नुवाकोट जिल्लामा आवासीय पूनर्निर्माण परियोजनाको अवलोकन गरेका थिए । २०१५ मा नेपालमा आएको शक्तिशाली भुकंप पछि भारतले गोरखा र नुवाकोट जिल्लामा ५० हजार आवास गृह निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरेको थियो । जसमध्ये ४५ हजार घर निर्माण सम्पन्न भइसकेको छ ।

भारतसँगका थाती रहेका विषय टुङ्गो लगाउने समय आएको छ : ओली

एनआईबि संवाददाता,काठमाडौं
२१जनवरी२०२०

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतबीचका थाती रहेका द्विपक्षीय विषय कूटनीतिक संवादबाट टुङ्गो लगाउने समय आएको बताएका छन् । विराटनगरस्थित एकीकृत भन्सार जांच  चौकीको मंगलबार भारतीय समकक्षी नरेन्द्र मोदीसँगै भिडियो कन्फरेन्समार्फत उदघाटन गरेका ओलीले आफ्नो सम्बोधनमा आपसी सम्बन्ध नयाँ उचाइमा पुगेकाले यसका आधारमा आपसी सहमति र साझेदारीका विषयलाई ‘एक्सन’मा उतार्ने समय आएको बताए ।

त्यसकालागि सम्बन्धित मन्त्री र मन्त्रालयले कार्यसूची तय गर्ने जनाउँदै प्रधानमन्त्री ओलीले नेपाल र भारत इतिहास, भूगोल र संस्कृतिका हिसाबले नजीकका छिमेकी भएका नाताले आपसी सहकार्यलाई बढाउनुपर्नेमा जोड दिए । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सम्बोधनका क्रममा ओलीले नेपाल सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ जस्तै भारतीय प्रधानमन्त्री मोदीको ‘सबका साथ, सबका विश्वास’ को नारा रहेको उल्लेख गर्दै विगतमा आफू भारत भ्रमणमा जाँदा वीरगञ्जस्थित एकीकृत जाँच चौकी तथा पाँच महिनाअघि मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाको संयुक्त उदघाटन गरिएको स्मरण गरे ।

ओलीले भूकम्पछिको पुनःनिर्माण तथा हाल गोरखा र नुवाकोटमा निजी भवनको निर्माणमा गरिएको सहयोगकालागि भारत सरकारलाई धन्यवाद दिए । प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यस्थितिबारे चासो दिई शीघ्र लाभको कामना गरेकामा पनि भारतीय समकक्षीलाई धन्यवाद दिँदै आफ्नो स्वास्थ्य सुध्रँदै गएको जानकारी गराए । भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणमा आउन पुनःनिमन्त्रणा दिँदै उनले आफूहरु स्वागत गर्न तत्पर रहेको बताए ।

जवाफमा भारतीय प्रधानमन्त्री मोदीले सो एकीकृत जाँचचौकीको सञ्चालन दुई देशबीचको तीव्र विकासको प्रतीक भएको जनाउँदै यसले सम्पर्क सञ्जाल विस्तार गर्नाका साथै कामलाई सरल बनाउने बताए । रक्सौल र जोगबनीमा यसअघि नै यस्तो जाँचचौकी सञ्चालन भएको र गत वर्ष वीरगञ्जमा सञ्चालन गरिएको स्मरण गर्दै उनले आगामी दिन पनि अन्य स्थलमा पनि एकीकृत जाँचचौकीको निमार्ण गरिने बताए ।

गोरखा भूकम्पमा नेपालीले भोग्नुपरेको दर्द र त्रासदीमा पहिलो उद्धारकका रुपमा भारतले सघाएको स्मरण गर्दै उनले हाल निर्माणाधीन भवनहरु बलियो हुने अपेक्षा व्यक्त गरे ।––रासस

ओलीको मायाले मोदीलाइ नेपाल बोलाउँदै , मोेदी यो वर्ष पक्का नेपाल आउने

एनआईबि संवाददाता,नयाँ दिल्ली
२१जनवरी२०२०

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो वर्ष पक्का नेपाल भ्रमण गर्ने भएका छन् ।  मोदी आफैले यो कुरा बोलेका छन् । मंगलवार विराटनगर स्थित  एकीकृत भन्सार  जाँच चौकीको  संयुक्त  भिडियो उदघाटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाइ सम्बोधन गर्दै मोदीले यो वर्ष पक्का नेपाल आउने बताए । प्रम ओलीले दिएको पटक पटकको निम्तोलाइ स्वीकार गरेका मोदीले  यो वर्ष पक्का नेपाल आउने बताएका छन् । उनले ओलीले दिएको मायालु निमन्त्रणाले आफूलाइ नेपाल बोलाइरहेको पनि उल्लेख गरे ।

सम्बोधनको अन्त्यमा मोदीले ओलीलाइ सम्बोधित गर्दै भने,‘तपाईले मलाइ नेपाल आउन बारम्बार दिइरहनु भएको निमन्त्रणालाइ मैले गर्वको रुपमा लिएको छु । एउटा मित्रको नाताले तपाईको र नेपाली जनताले दिएको मायाले मलाइ नेपाल बोलाइरहेको छ । त्यसैले म यो वर्ष पक्का कार्यक्रम बनाउँदैछु, म अवश्य तपाइसँग समय विताउन आउँछु र मैले नेपाली जनताको दर्शन गर्ने सौभाग्य पनि पाउँछु ।’

मोदीको यो प्रतिवद्धता पछि उनी आगामी मार्चमा नेपाल सरकारले आयोजना गर्न लागेको सगरमाथा संवाद सहभागी हुने सम्भावना बढाएको छ । नेपाल सरकारका तर्फबाट संवादमा सम्माननीय मुख्य वक्ता(अनररी कि नोट स्पिकर)को रुपमा सहभागी हुन मोदीलाइ कुटनीतिक माध्यमबाट पत्राचार गरिसकिएको श्रोतले जनाएको छ । संवादमा मोदीलाइ सहभागी गराउन कुटनीतिक प्रयास पनि भइरहेको छ ।

सम्बोधनकै क्रममा उनले ओलीको सकुशल स्वास्थ्यको कामना समेत गरेका थिए । ओलीले मोदीले दोश्रो कार्यभार संभालेदेखि नै नेपाल भ्रमणकालागि निम्तो दिदै आएका छन् ।

Nepal news headlines | breaking news kathmandu | national news of nepal live