ECO-POLITICLE

नेपाल–भारत पर्यटनलाई नयाँ गति दिइने

काठमाडौं,मे १

कोभिड–१९ को सङ्कट सकिएपछि नेपाल–भारत पर्यटनलाई नयाँ गति दिइने भएको छ । दुई देशबीचको पर्यटन प्रवद्र्धनलाई नयाँ दिशादिन सरोकारवाला निकायले छलफल अघि बढाएका हुन् । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मीले भारतका पर्यटन संघ–संस्थाका प्रमुसहरुसँग नेपाल–भारत पर्यटनलाई कोरोना सङ्कटपछि नयाँ गतिदिने विषयमा अनलाइन छलफल गरेको बोर्डले विज्ञप्तिमार्फत जनाएको छ ।

छलफलमा भारतीय पर्यटनका अगुवा ज्योति मयल, भारतीय ट्राभल एजेण्टस एशोसिएशनस अध्यक्ष पिपि खन्ना, भारतीय आन्तरिक पर्यटन टुर अपरेटर एशोसिएशनस अध्यक्ष क्याप्टेन स्वदेश कुमार, भारतीय एड्भेन्चर टुर अपरेटर एशोसिएशनस अध्यक्ष प्रदीप लुल्ला, भारतीय ट्राभल एजेण्टस फेडेरेसन र भारतीय आउटबाउण्ड टुर अपरेटर्स एशोसिएशन महेन्द्र भखारिया निर्वतमान अध्यक्ष सहभागी भएका थिए । भने बज भारतीय ट्राभलका प्रमुख सञ्चित जैनले छलफलको समन्वय गरेका थिए ।

बोर्डका कार्यकारी प्रमुख कार्यकारी अधिकृत डा रेग्मीले उक्त छलफलमा बोर्डले वर्तमान सङ्कटका समयमा नेपालमा भएका पर्यटकलाई आफ्नो देश फर्किन गरिएको कामका बारेमा जानकारी गराएका थिए । उनले नेपाली पर्यटन उद्योगको क्षति विवरणका लागि सर्भेक्षण गरिरहेको, नेपाल सरकारसँग पर्यटन उद्योगलाई राहत प्याकेजका लागि गरिरहेको पहलकदमीबारे अवगत गराएका थिए ।

त्यसैगरी नेपाली पर्यटन उद्योगलाई आगामी दिनमा आवश्यक हुने हाइजिन स्यानिटेशनको व्यवस्था, भारतीय बजार लक्षित हिलस्टेशन र मझौला पहाडी भागमा नयाँ पर्यटकिय गन्तब्यको विकासका साथै ती स्थानमा मनोरञ्जनका आयामका लागि बोर्डले गरिरहेको पहलबारेमा पनि जानकारी गराउ ।

छलफल कोरोना पछिका दिनमा भारतीय पर्यटकको नेपाल भ्रमणका लागि चाहिने आत्मविश्वासका लागि गरिनुपर्ने लगायत विविध अभियानका बारेमा केन्द्रित थियो । सबै सहभागी भारतीय पर्यटनका शीर्ष व्यक्तिले सङ्कटपश्चात् भारतीय पर्यटक भ्रमणमा सामाजिक दूरी र सुरक्षाका विषयमा बढी सचेत हुने बताउँदै नेपालले गन्तव्यमा यसको प्रबन्ध गर्न अनुरोध गरेका थिए । नेपालको यो सङ्कटमा हालसम्म शुून्य मृत्युको अवस्थाले आगामी दिनमा भारतीय बजारमा छुट्टै स्थान बनाउने र नेपालप्रतिको विश्वास अझ बढाउने सहभागीको भनाइ थियो ।

साथै छलफलका क्रममा नेपाली र भारतीय ट्राभल उद्योगले समन्वयमा काम गरी भारतीय पर्यटकलाई नयाँ आत्मविश्वास प्रदान गर्नुपर्ने आवश्यकता पनि औँल्यायो । नेपाली आतिथ्यता र सत्कारलाई नेपाली पर्यटनको आधार भएको मनन गरी नेपालको नयाँ परिचय स्थापित गराउने कार्यलाई तीव्रता दिन पनि सहभागीले विशेष अनुरोध गरेका थिए । बजारीकरण र प्रवद्र्धनका कार्यमा नेपाली र भारतीय समकक्षीको संयुक्त प्रयास गराउन भारतीय पर्यटन सङ्घ–संस्थाले आफ्नो सदस्यलाई सक्रिय गराउने विषय पनि छलफल भएको थियो ।

नेपाल–भारत पर्यटन टास्कफोर्स समिति बनाउन नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा रेग्मीले गरेको प्रस्तावलाई आगामी दिनमा छलफलले टुङ्ग्याउने सहमति भएको छ । बोर्डले आगामी दिनमा भारतीय समकक्षीसँगको छलफललाई तीव्रता दिने र यस किसिमको गन्तव्य वेभिनार संयुक्तरुपमा आयोजना गर्दै जाने निर्णय पनि सो अवसरमा सहमति भएको विज्ञप्तिमा उल्लेख छ ।–––रासस

अर्थविदहरुसँग कांग्रेसको छलफल

काठमाडौं,अप्रिल २८

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंगलबार अर्थविद र पार्टीका पूर्व अर्थमन्त्रीहरुसँग छलफल गरेको छ । कोरोना भाइरस नियन्त्रणपछि नेपाली अर्थतन्त्रमा पर्न सक्ने प्रभावका विषयमा पार्टी पदाधिकारी, अर्थविद र पार्टीका पूर्व अर्थमन्त्रीहरुसँग कांग्रेसले छलफल गरेको हो ।

कोरोना भाइरसले नेपालको पर्यटन क्षेत्रमा पार्ने प्रभाव, कृषि क्षेत्र र औद्योगिक क्षेत्रको उत्पादनमा आउने कमिले पर्ने असरका विषयमा छलफल भएको प्रवक्ता विश्वप्रकाश शर्माले बताए। कोरोनाको विश्वव्यापी असरका कारण विदेशमा रहेका नेपालीहरुको रोजगारी गुम्न सक्ने खतरा र त्यसले नेपाली रेमिट्यान्समा पार्ने प्रभावका विषयमा पनि छलफल भएको उनले बताए ।

अहिले सरकारले उपलब्ध गराएको राहत, त्यसको व्यवहारिकताका विषयमा पनि छलफल भएको छ । यस्तै प्रतिपक्षी दलले राहत वितरणमा कसरी सहजिकरण गर्न सक्छ र सरकार कसरी अगाडी बढ्दा उचित हुन्छ भन्ने विषयमा पनि छलफल भएको प्रवक्ता शर्माले बताए। कांग्रेसले कोरोना महामारीको विषम् परिस्थितिमा विभिन्न क्षेत्रका विज्ञहरुसँग छलफल गरिरहेको छ । पार्टीका पूर्वस्वास्थ्यमन्त्री र चिकित्सकहरुसँग छलफल गरेको थियो । बुधबार कांग्रेसले पार्टीको केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।

यसरी ल्याउँदैछ नेपाली सेनाले स्वास्थ्य सामग्री

काठमाडौं,अप्रिल २६

कोभिड–१९ को सङ्क्रमणसँग जुध्न आवश्यक पर्ने स्वास्थ्य सामग्री खरिद गरी ल्याउने विषयमा आवश्यक प्रक्रिया द्रुतगतिमा अगाडि बढिरहेको नेपाली सेनाले जनाएको छ । सरकारको निर्देशनमा सेनाले चीन र भारतबाट अत्यावश्यक स्वास्थ्य सामग्री खरिदका लागि सरकार–सरकार (जिटुजी) मार्फत प्रक्रिया अगाडि बढाएको हो ।

तत्कालका लागि आवश्यक पर्ने अत्यावश्यक सामग्री हवाई माध्यमबाट ल्याउने तयारी गरिएको छ । यस्तै केही सामान भने स्थलमार्गबाट ल्याउने तयारी भइरहेको छ । छिटोभन्दा छिटो सामग्री ल्याउनका लागि गरिएको पहलअनुसार नै काम भइरहेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए । कोभिड–१९ क्राइसिस म्यानजेमेन्ट सेन्टर (सिसीएमसी)ले आइतबार छाउनीस्थित नेपाली सेनाको रेञ्जर गणमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता पाण्डेले सामान आयातका लागि विभिन्न ११ संस्था इच्छुक देखिएको जानकारी दिए ।

उनीहरुको निवेदनअनुसार छनोट प्रक्रिया जारी रहेको छ । गत शुक्रबार तीनदिने म्याद राखेर गरिएको आह्वानमा इच्छुक देखिएकाहरुको छनोट गरी सामान आयातको जिम्मा दिन लागिएको उनको भनाइ छ । सेनाले चिनियाँ पक्षसँग खरिद सम्झौता सम्पन्न भई रकमसमेत भुक्तानी भइसकेकाले खरिद प्रक्रिया टुङ्गिएको जनाएको हो ।
पैसा पठाएको सातदेखि १० दिनभित्र चीनबाट सामान उपलब्ध गराउने जानकारी आएको बताउँदै उनले ढुवानीका लागि लाग्ने रकमका सम्बन्धमा रक्षा मन्त्रालय हुँदै अर्थ मन्त्रालयमा आग्रह गरिएको बताए । अत्यावश्यक सामान खरिदका लागि सेनाले एक करोड ८४ लाख ४१ हजार ७०६.३५ अमेरिकी डलर भुक्तानी गरिसकेको छ । त्यसमा ढुवानी भाडा भने जोडिएको थिएन । नेपालले भुक्तानी गरेको रकम पाइसकेको पनि चिनियाँ पक्षले जानकारी दिइसकेको उनले बताउनुभयो ।

चीनबाट ३४२ टन स्वास्थ्य सामग्री जिटुजी प्रक्रियाबाट खरिद गर्न लागिएको हो । कूल ६७ प्रकारका स्वास्थ्य सामग्री खरिदका लागि सेनाले सोमबार नै चिनियाँ पक्षलाई रकम भुक्तानी गरिसकेको हो । स्वास्थ्य उपकरण खरिदका लागि चीन सरकारको स्वामित्वमा रहेको चाइना साइनोफार्म इन्टरनेशनल कर्पोरेशनसँग सम्झौता भएको हो । दुई देशबीच भएको सम्झौतामा रकम भुक्तानी गरेको एक साताभित्र सबै सामग्री चिनियाँ पक्षले ग्वान्जाओमा जम्मा गरिदिने जनाएको छ । ती सामानमध्ये अत्यावश्यक सामान आयातका लागि हवाईजहाज पठाइनेछ । जहाजबाट तीन खेपमा सामान ल्याउने तयारी छ ।

यस्तै स्थलमार्गबाट आउने सामान भने ग्वान्जाओबाट सात दिन लगाएर नेपालको तातोपानी आइपुग्नेछ । भन्सार जाँच प्रक्रियाका लागि दुई दिन लाग्ने जनाइएको छ । अत्यावश्यक सामग्री हवाईमार्गबाट ल्याउने विषयमा हवाईसेवा प्रदायकसँग छलफल भइरहेको उनले जानकारी दिए ।“हामीले नेपाल एयरलाइन्स र श्रीएयरसँग छलफल गरिरहेका छौँ”, उनले भने, “ग्वान्जाओमा सामग्री जम्मा भएपछि निष्कर्षमा पुगिनेछ ।”

अत्यावश्यक बाहेकका सामग्री सडक मार्गबाट ढुवानीका लागि छलफल भइरहेको उनले जानकारी दिए । बेइजिङस्थित नेपाली दूतावास तथा ग्वान्जाओस्थित महावाणिज्य दूतावासमार्फत पनि चिनियाँ ढुवानीकर्तासँग नियमित छलफल भइरहेको छ । अत्यावश्यक सामग्री तातोपानी नाकामा ल्याएर अर्को गाडी राखेर नेपाल ल्याउनेभन्दा पनि सकभर चिनियाँ ढुवानीकर्ताको साधनबाट एकैचोटी डिपोमा ल्याउने तवरले कुराकानी भएको छ ।

चीन सरकारले नेपाललाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन प्राथमिकता दिएको छ । कोरोनाले विश्वव्यापी महामारीको रूप लिएसँगै प्रभावित मुलुकमा चीनले स्वास्थ्य सामग्री आपूर्ति गरिरहेको छ । प्रवक्ता पाण्डेले महामारीको अवस्थामा चीनबाट स्वास्थ्य सामग्री खरिद गर्ने मुलुकको सूचीमा नेपाल ८१औँ स्थानमा रहे पनि चिनियाँ पक्षले नेपाललाई जतिसक्दो चाँडो आवश्यक सामग्री उपलब्ध गराइदिने बचनबद्धता व्यक्त गरेको पनि जानकारी दिए ।

व्यक्तिगत सुरक्षाका सामग्री (पिपिइ), मास्क, कोरोना परीक्षणका लागि आवश्यक कीटलगायत अत्यावश्यक सामग्री हवाई र अन्य सामग्री सडकमार्ग हुँदै ल्याउने तयारी गरिएको छ । प्रवक्ता पाण्डेले भारतबाट कोभिड–१९ का बिरामीलाई दिइने औषधि खरिद गर्ने विषयमा पनि छलफल भइरहेको बताए ।

भारतबाट ५३ प्रकारको औषधि ल्याउने तयारी

सरकारले भारतबाट ५३ प्रकारको औषधि ल्याउने तयारी गरेको छ । “हामीले नेपाललाई आवश्यक पर्ने औषधिको सूची पठाएका छौँ, भारतीय पक्षसँग औषधि खरिदपछि भुक्तानी गरे पनि हुने जनाएको छ । भारतको विपिपिआइसँग औषधि खरीदका लागि सम्झौता भएको छ । कूल ५३ प्रकारको औषधि भारतबाट ल्याउन लागिएको हो ।
यस्तै स्वास्थ्य सेवा विभागले बोलपत्रमार्फत खरिद गरेका स्वास्थ्य सामग्री पनि केही आयात भइसकेको र केही आउने क्रममा रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । “अत्यावश्यक सामग्री खरिदका लागि भएको प्रयासअनुसार नै काम भएको छ । केही सामान आइसकेको छ भने केही आउने क्रममा छन”, उनले भने ।

आइतबार छाउनीमा भएको पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटा सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिँदै ।

यस्तै यही चैत १० गते चीन सरकारले सहयोगस्वरुप पिसीआर मेसिन दुई, पिसीआर रिजेन्ट २० हजार, भिटिएम २० हजार र पिपिइ १० हजार प्रदान गरेको छ । साथै सिङ्गापुरबाट यही चैत १२ गते १० हजार थान पिसीआर परीक्षण किट प्राप्त भएको छ । देशभर नै पिपिइ, परीक्षण किट, औषधि र औषधिजन्य सामग्रीलगायत कोभिड–१९ सङ्क्रमण तथा रोकथामका लागि आवश्यक पर्ने वस्तु पर्याप्त मात्रामा मौज्दात राख्नका लागि ३० आपूर्तिकर्तालाई स्वास्थ्य सेवा विभागमार्फत २० लाख एक हजार ३५६ अमेरिकी डलर बराबरको सटही सुविधा प्रदान गरिएको प्रवक्ता डा देवकोटाले जानकारी दिए ।–––रासस

श्रमिकको ज्यालामा ५० प्रतिशत थप गरिदिन उद्योगीको माग

काठमाडौं,अप्रिल २३

निजी क्षेत्रले कोभिड–१९ महामारी तथा लकडाउनका कारण अर्थ व्यवस्थामा परेको प्रभाव तथा त्यसबाट सिर्जित असरका बारेमा सरकारको ध्यानाकर्षण गराएको छ । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ तथा नेपाल चेम्बर अफ कमर्शका पदाधिकारीले विहिबार मुख्यसचिव लोकदर्शन रेग्मीसँग गरेको छलफलमा कोरोनाको महामारीबाट उद्योग तथा व्यवसायलाई बचाउन ध्यानाकर्षण गराएका हुन् ।

लकडाउनका कारण मुलुकका उद्योग, कलकारखाना बन्द प्रायः छन् । आपूर्ति व्यवस्थासमेत प्रतिकूल असर परिरहेको छ । कोरोनाका कारण मुलुकको अर्थ व्यवस्था नाजुक बन्दै गइरहेको भन्दै निजी क्षेत्रले आर्थिक क्षेत्रलाई चलायमान हुने वातावरण निर्माण गरिदिन आग्रह गरेको हो । निजी क्षेत्रले वित्तिय नीतिमार्फत गरिब, अनौपचारिक क्षेत्रमा काम गर्ने तथा स्वरोजगारहरुलाई सहयोग गर्न सरकारलाई सुझाव दिएको छ ।

यसैगरी मौद्रिक नीतिमार्फत औद्योगिक तथा व्यावसायिक क्षेत्रलाई सहयोग गर्न निजी क्षेत्रको आग्रह छ । छलफलमा निजी क्षेत्रका प्रतिनिधिले लकडाउनका कारण उद्योग व्यवसाय बन्द रहेका भन्दै कर्मचारीको तलब तथा ज्याला भुक्तानी गर्न कठिनाई भएको बताएका थिए । उद्योग बन्द रहेको अवधिका लागि ५० प्रतिशत ज्याला भुक्तानी गर्न सक्ने र बाँकी ५० प्रतिशत सरकारले अनुदानमार्फत दिनुपर्ने उनीहरुको भनाइ थियो ।

सो अवसरमा मुख्यसचिव रेग्मीले नेपालको अर्थ व्यवस्थाको ७० प्रतिशत प्रत्यक्षरुपमा निजी क्षेत्रको योगदान रहेको सरकारलाई ज्ञात रहेकाले यसतर्फ सरकारले गम्भीर ध्यान दिएको बताए । “नेपाल सरकार निजी क्षेत्रको चाहाना बुझेर त्यस अनुसारनै नीतिहरु तय गरिरहेको छ, उद्योग व्यवसायलाई धरासायी हुन हामी दिदैनौँ”, उनले भने ।––रासस

भाइरसविरुद्धको सहकार्य सशक्त बनाउन प्रधानमन्त्री ओली र मोदीबीच संवाद

काठमाडौँ ,अप्रिल १०

प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच कोरोना भाइरसविद्धको सहकार्यलाई अझ सशक्त बनाउँदै एक अर्काको मुलुकमा लकडाउनका कारण रोकिएका नागरिकलाई आ–आफ्नो देशमा राम्रो हेरचाह गर्ने विषयमा संवाद भएको छ ।

प्रधानमन्त्री ओली शुक्रबार टेलिफोन संवाद गरी भारतीय समकक्षी मोदीलाई सो आग्रह गरेका हुन । ओली र मोदी ले ट्वििटमार्फत सो जानकारी गराएका छन् ।

उनले लेखेका छन् ,’आज मैले भारतका प्रधानमन्त्री श्री नेरन्द्र मोदीजीसँग टेलिफोन संवाद गरें । कोरोना भाइरसका विरुद्धको सहकार्यलाई अझ सशक्त बनाउने विषयमा हामी सहमत भयौं । लकडाउनको कारण एक अर्काको मुलुकमा रोकिएका नागरिकलाई आ–आफ्नो देशमा राम्रो हेरचाह गर्ने विषयमा जोड दियौं ।’

https://twitter.com/_PMO_Nepal/status/1248509986314977280

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार दुइ समकक्षीबीच आपूर्ति व्यवस्थालाई निरन्तर कायम राख्न र थप सहज एवं सुचारु राख्न पनि छलफल भएको छ । प्रधानमन्त्री ओलीले भारत सरकारले उपलब्ध गराउने औषधिलगायतको सहयोगका लागि मोदीलाई धन्यवाद दिएका थिए ।

नेपाल भारत सीमानाकामा थप कडाइ

बिरगंज, अप्रिल ६

कोरोना भाइरस (कोभिड –१९ )को जोखिम हुन नदिन प्रदेश २ प्रहरी कार्यालयले नेपाल भारत सीमानाकामा थप कडाइ गरेको छ । यसका लागि आठ जिल्लाका १०६ सीमानाकामा पाँचहजार ७३० प्रहरी परिचालन गरिएको कार्यालयले जनाएको छ । सीमानाकाबाट नेपाल प्रवेशलाई पूर्ण रोक लगाइएको कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक तिलक सुनारले जानकारी दिए ।

लकडाउनका समयमा नाकाबाट लुकिछिपि स्वदेश फर्किनेक्रम नरोकिएपछि प्रहरीले सीमामा थप कडाइ गरेको हो । भारतबाट स्वदेश फर्किनेको प्रहरीले स्थानीय तहको सहयोगमा खोजी कार्य जारी राखेको छ । प्रहरीले नाकाबाट लुकिछिपि नेपाल प्रवेश गर्ने ४६ जना भारतीयलाई पक्राउ गरी क्वारेन्टाइनमा राखेको जनाएको छ ।

लकडाउनलाई प्रदेशका आववटै जिल्लामा प्रभावकारी कार्यान्वयन भइराखेको छ । कोरोना भाइरस सङक्रमणको आशंका गरिएका विरामीलाई परीक्षण गर्न प्रदेश २ मा १४ वटा अस्पतालमा १७६ श्यया, १७ वटा अस्पतालमा १६२ आइसोलेसन श्यया र १९ वटा क्वारेन्टाइन स्थापना गरिएको छ । –––रासस

कोलकात्ताका महावाणिज्यदूत अर्यालले काठमाडौं महानगरपालिकाको पदभार संभाले

काठमाडौं,अप्रिल ६

काठमाडौँ महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत पदमा एकनारायण अर्यालले सोमबार पदबहाली गरेका छन् । नेपाल सरकार, मन्त्रिपरिषद्को गत फागुन १८ गते बसेको बैठकले उनँलाई प्रशासन सेवातर्फ राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गरेर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा पदस्थापन गर्ने निर्णय गरेको थियो ।
यसअघि अर्याल नेपाली महावाणिज्य दूतावास कोलकत्तामा महावाणिज्यदूत थिए । महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत केदार न्यौपाने करीब एक महिनाअघि नै भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा भएर गएपछि सहसचिव राजेश्वर ज्ञवालीले निमित्त प्रमुख प्रशासकीय अधिकृतका रुपमा काम गर्दै आएका थिए ।
अर्याल विसं २०७२ को भूकम्पको समयमा काठमाडौँको प्रमुख जिल्ला अधिकारी थिए । पदबहाली गर्दै प्रमुख प्रशासकीय अधिकृत अर्यालले भने,‘चुस्त सेवा र भ्रष्टाचारमा शून्य सहनशीलता मेरा प्रमुख बाटा हुन् ।’ जनताका आवश्यकता र जनप्रतिनिधिका योजनालाई सूचना प्रविधिको माध्यमबाट व्यवस्थित गराउने उनको भनाइ छ ।––रासस

कोलकत्ताकालागि इश्वरराज पौडेल नेपाली महावाणिज्यदूत नियुक्त

नेपइनबिज संवाददाता
नयाँ दिल्ली,मार्च ६

नेपाल सरकारले भारतको कोलकत्तास्थित महावाणिज्य दुतावासकालागि  इश्वरराज पौडेललाइ नेपाली महावाणिज्यदूतमा नियुक्त गरेको छ । मन्त्रीपरिषदको गत आइतबार(फागुन १८) बसेको बैठकले पौडेललाइ महावाणिज्यदूतमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यस अघि एकनारायण अर्याल महावाणिज्यदूतको जिम्मेवारीमा थिए । उनलाइ नेपाल सरकारले २०७२ साल फागुनमा कोलकात्ताको महावाणिज्यदूतमा नियुक्त गरेको थियो । २०७३ असारमा कोलकात्तास्थित महावाणिज्य दूतावासमा उनले कार्यभार संभालेका थिए । अर्याल चैतको पहिलो साता स्वदेश फर्किदैछन् ।

Cabinet

ओहोदाको प्रमाणपत्र बुझाए लगत्तै भारतीय राजदूत क्वात्रा सक्रिय, उपराष्ट्रपति,रक्षामन्त्री र परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट

नेपइनबिज संवाददाता
काठमाडौं, मार्च ५

नेपालकालागि भारतीय राजदूत विनय मोहन क्वात्राले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष ओहोदाको प्रमाणपत्र बुझाएका छन् । राजदूतको जिम्मेबारी संभाल्न गत आइतबार काठमाडौं आएका राजदूत क्वात्राले पाँचौ दिन राष्ट्रपति भण्डारी समक्ष विहिबार ओहोदाको प्रमाणपत्र बुझाएका हुन् ।

प्रमाणपत्र बुझाए लगत्तै राजदूत क्वात्राले उपराष्ट्रपति नन्दबहादुर पुन, उपप्रधानमन्त्री ईश्वर पोखरेल र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग बेग्लाबेग्लै शिष्टाचार भेट गरेका छन् । उनले सबैभन्दा पहिला उपराष्ट्रपति नन्दबहादुर पुनसँग भेटघाट गरेका थिए ।

त्यसपछि उपप्रधानमन्त्री तथा रक्षामन्त्री पोखरेललाई भेट्न सिंहदरबार पुगेका थिए । सिंहदरबारस्थित उपप्रधानमन्त्रीको कार्यकक्षमै पुगेर क्वात्राले पोखरेलसँग भेटघाट गरेका थिए ।

भेटमा क्वात्राले पोखरेललाइ ‘ह्वाट गान्धी मिन्स टु मि’ पुस्तक उपहार दिएका थिए भने नेपालका तर्फबाट रक्षामन्त्री पोखरेलले ‘द नेपाल आर्मी’ नामक पुस्तक र हिमालको पेन्टिङ उपहार दिएका थिए ।

त्यसपछि उनले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग पनि शिष्टाचार भेटघाट गरे ।

यसअघि फ्रान्सका लाग भारतीय राजदूत रहिसकेका क्वात्रालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष चाहनामा नेपाल पठाइएका हुन । यसअघि मञ्जिवसिंह पुरी नेपालका लागि भारतीय राजदूत थिए ।

सार्कका महासचिवले कार्यभार सम्हाले

काठमाडौं,मार्च ३

दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का चौधौँ महासचिवका रुपमा श्रीलंकाका वरिष्ठ कूटनीतिज्ञ इसाला रुवान विराकुनले कार्यभार सम्हालेका छन् । सार्कको महासचिवमा नियुक्त हुनुअघि उनी श्रीलंकाली राष्ट्रपति गोटावाया राजापाक्षेका वरिष्ठ अतिरिक्त सचिव थिए ।

श्रीलंकाको परराष्ट्र सेवामा ३२ वर्ष बिताएका महासचिव विराकुनले त्यहाँको परराष्ट्र र पर्यटन विकास मन्त्रालयको सचिवको जिम्मेवारीमा समेत कार्य गरेका थिए । लण्डन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका उनले भारतका लागि श्रीलंकाको उच्चायुक्त र नर्वेमा राजदूतका रुपमा सेवा गरिसकेका छन् ।

विराकुनले राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, सार्कका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र परराष्ट्र सचिव शंकरदास वैरागीसँग अनुकूल समयमा बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको सार्क सचिवालयले जनाएको छ ।

Nepal news headlines | breaking news kathmandu | national news of nepal live