POLITICAL NEWS

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

काठमाडौं,मे १३

प्रधानमन्त्री के.पी.शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । बुधबार ४.३० बजे प्रधानमन्त्रीको सरकारी निवासमा बस्ने प्रमका राजनीतिक सल्लाहकार विष्णु रिमालले जनाएका छन् । रिमालले टिविट गर्दै सो जानकारी गराएका हुन् ।

बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुख र पूर्व प्रधानमन्त्रीहरुलाई बोलाइएको छ । बैठकमा नेपाल भारत सीमा विवाद, कोरोना लगायत पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा छलफल हुने बुझिएको छ ।

नेपाल–भारत सीमा क्षेत्रमा तारबार लगाउन माग

काठमाडौं,मे १३

भारतले पटक–पटक नेपालको सीमा अतिक्रमण गरी दुःख दिएको र नेपालको सावैभौमसत्तामाथि नै प्रश्न खडा हुने गरी गतिविधि गरेको भन्दै सांसदहरुले तत्काल दुई देशबीचको सीमा व्यवस्थापन गर्ने गरी तारबार लगाउन माग गरेका छन् ।

कोरोनाको संक्रमण फैलन नदिन लकडाउन जारी रहेको बेला पछिल्लोपटक नेपालको भूमि अतिक्रमण गरी सडक निर्माण गरेको र नेपालको अस्मितामाथि नै हमला गरेकाले सीमा क्षेत्रमा तत्काल तारबार गर्न उनीहरुले सरकारको ध्यानाकर्षण गरे । राष्ट्रियसभाको बुधवारको बैठकको शून्य समयमा सीमा अतिक्रमणविरुद्ध सरकारले कूटनीतिक पहल गर्नुपर्ने र आफ्नो भूमि एक इन्च पनि नछाड्ने गरी प्रक्रिया अगाडि बढाउन सांसदले माग गरे ।

केही सांसदले त सीमा क्षेत्रमा तारबार लगाउने निर्णय भएको खण्डमा आफूले पाउने पारिश्रमिक समेत उपलब्ध गराउने प्रतिबद्धता जनाए । भारतले पछिल्लोपटक यही वैशाख २६ गते नेपाली भूमि अतिक्रमण गरी निर्माण भएको धार्चुला हुँदै मानसरोवर जाने सडक उदघाटन गरेको हो । भारतको उक्त कमदका विरुद्ध नेपाल सरकारले भारत सरकारलाई यहाँस्थित राजदूतमार्फत कूटनीतिक नोटसमेत उपलब्ध गराइसकेको छ ।

भारतले मित्रवतको व्यवहार नगरेको, नेपाली भूमिमाथि नजर लगाएको, अनाधिकृतरूपमा सडक निर्माण गरी दुःख दिएकाले सरकारले कूटनीतिक राजनीतिक दुवै प्रयासका अलावा अन्य पहल गर्नसमेत आग्रह गरे । सांसद अनिता देवकोटाले सीमा क्षेत्रमा भारतले निर्माण गरिरहेकोे सडकको बारेमा सरकारलाई जानकारी नै थिएन भनेर सरकारी पक्षबाट आएको धारणा गलत रहेको भन्दै तत्काल प्रष्ट्याउन माग गरे ।

सांसद इन्दु कडरियाले नेपालीको घर आँगनमा नै भारतीयले आएर दुःख दिएको र सीमा अतिक्रमण गरेर दुःख दिएकाले पूर्वदेखि पश्चिमसम्म सीमा निर्धारण गरी काँडेतार लगाउन माग गरिन । उनले सीमा व्यवस्थित गर्ने पहल सरकारले गरेको खण्डमा आफूले पाउने एक वर्षको सेवा सुविधा उपलब्ध गराउने प्रतिबद्धता जनाइन । सांसद उदयाशर्मा पौडेलले नेपालको भूमिमाथि भारतले पटक–पटक अतिक्रमण गरेर दुःख दिएकाले कहिल्यै समस्या नबल्झने गरी निरुपण गर्नुपर्ने धारणा राखिन ।

सांसद कविता बोगटीले हात्तीको दुई वटा दाँत हुन्छ भनेजस्तै गरेर भारतले मिचाहा प्रवृत्ति देखाएको र हामीले सधैँ सहेर बस्नुपर्ने अवस्थाको अन्त्य गर्न माग गरिन । उनले भनिन, “हामीले नगरे कसले गर्ने, अहिले नगरे कहिले गर्ने भन्ने मान्यताका साथ काम गर्नुपर्छ ।”

सांसद गङ्गाकुमारी बेलवासेले कालापानी नदी हाम्रो सीमा नदी भए पनि भारतले नक्कली कालीनदी र पोखरी बनाएर नेपाली सीमा मिचेको भन्दै सिमानाको सुरक्षामा कुनै पनि सम्झौता नगर्न सरकारको ध्यानकर्षण गराइन । सांसद तारादेवी भट्टले भारततर्फ रहेका नेपालीको उचित व्यवस्थापन गर्न र खाडी मुलुकमा रहेका नेपालीसमेत खान नपाएर मर्ने अवस्था आएको भन्दै उनीहरुको तत्काल उद्धार गर्न माग गरिन ।

सांसद कोमल वलीले पछिल्ला दिनमा कोरोनाको संक्रमण ह्वात्तै बढेकाले तत्काल लकडाउनलाई थप व्यवस्थित गर्न आग्रह गरिन । उनले भारतको सिमानामा बसेका नेपालीलाई व्यवस्थितरूपमा घर ल्याउने प्रबन्ध गरी उनीहरुलाई क्वारेन्टाइनमा राख्ने प्रबन्ध गर्नुपर्नेमा जोड दिइन । सांसद वलीले कोरोना सङ्क्रमण फैलिएको स्थानमा समुदाय सिल गरेर कोरोना नियन्त्रणमा लाग्नुपर्ने र अत्यावश्यक सामग्रीको प्रबन्ध गर्न आग्रह गरिन ।––रासस

सीमामा सक्रिय बन्यो सशस्त्र प्रहरी

दार्चुृला,मे १३

महाकाली नदी तरेर धमाधम नेपाली घर फर्किन थालेपछि सशस्त्र प्रहरीले सीमामा निगरानी बढाएको छ । महाकाली नदीमा पौडिएर आउने तथा ट्युबमार्फत नदी तरेर आउने नेपालीलाई नियन्त्रणमा लिएर स्थानीय तहको क्वारेन्टाइनमा पठाइएको छ ।

लकडाउनले सीमा नाका बन्द भएपछि दार्चुलासँग सीमा जोडिएका भारतका विभिन्न ठाउँबाट नेपाली स्वदेश फर्कने क्रम जारी छ । सीमानाका बन्द हुँदा सशस्त्र प्रहरीको आँखा छलेर रातिको समयमा स्वदेश फर्कने क्रम जारी रहेपछि पछिल्लो समय निगरानी बढाएको हो ।

भारतमा लकडाउन खुुकुलो भएसँगै दिल्ली र पिथौरागढबाट धमाधम नेपाली सीमा पुगेर महाकाली तर्न थालेका छन् । भारतले नै नेपाली सीमासम्म गाडीमार्फत पु¥याउने गरेको मजदुरहरु बताउँछन् । महाकाली नदीमा ट्युब र पौडी खेलेर नेपाल फर्कने लेकम र लाली क्षेत्रबाट मङ्गलरबार ११ जनालाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखिएको सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्म दार्चुलाले जनाएको छ ।

लेकममा नदी तरेर आएका सात जनालाई कृष्ण स्नातक क्याम्पस लालीको क्वारेन्टाइनमा राखिएको छ । बैतडी पुच्र्यौडीका स्थानीय भारतको पिथौरागढबाट आएका हुन् भने लेकमका स्थानीय दिल्ली हरियानी क्षेत्रबाट फर्किएका हुन् । यसैगरी मालिकार्जुन गाउँपालिकाको उकु क्षेत्रमा महाकालीमा पौडी खेलेर आएका चार जनालाई पनि सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राख्न लगाएको छ ।

चैत ११ गतेदेखि लकडाउन शुरु भएसँगै भारतसँग सीमा जोडिएका क्षेत्रमा २४सै घण्टा सशस्त्र प्रहरी खटाएको छ । वैशाख १८ गते भारतीय क्वारेन्टाइनमा बसेका नेपाली स्वदेश फर्काए पनि अवैधरूपमा स्वदेश फर्कने क्रम नरोकिएको सशस्त्र प्रहरी नायब उपरीक्षक डम्मरबहादुर विष्टले बताउनुभयो । सीमामा सशस्त्र खटिएसँगै दुईवटा ट्युब पनि नियन्त्रणमा लिएको छ । अहिले लेकमको लालीबाट व्याससम्मका १० ठाउँमा सशस्त्र प्रहरीले सीमामा निगरानी बढाएको छ ।

ट्युबमार्पmत नेपाल आउने व्यक्तिले रु एक हजार ६०० देखि दुई हजार ५०० सम्म तिर्ने गरेका छन् । भारतले लकडाउन खुकुलो गरेर गाडी चल्न दिएपछि दैनिक सयौँ व्यक्ति दार्चुलाका सीमापारि आउन थालेका छन् । अर्काको देशमा रोग र भोक दुवैको समस्या भएपछि जोखिम मोलेर स्वदेश फर्किएको मालिकार्जुनका खिमसिंह धामीले बताए । अझै नदी तर्न नसकेर पारिपट्टि थुप्रै मान्छे रोकिएको उनले बताउनुभयो ।

अझै पनि सीमावर्ती क्षेत्रमा थुप्रै नेपाली स्वदेश फर्कने तयारीमा छन् । दार्चुलाको लाली, जौलजीवि, धार्चुला आसपासका क्षेत्रमा पनि स्वदेश फर्कनका लागि नेपाली सीमामा पुगेको र उनीहरुको रातिको समयमा स्वदेश फर्किने तयारी गरिरहेका छन् ।––रासस

लिपुलेक सुरक्षा : छाङरुमा बिओपी राख्न टोली त्यसतर्फ प्रस्थान

काठमाडौं,मे १३

लिपुलेक आसपासको सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बलको टोली तैनाथ गर्न काठमाडौँबाट आज टोली त्यसतर्फ प्रस्थान गरेको छ । दार्चुलाको व्यास गाउँपालिका–१ स्थित छाङरुमा सीमा निगरानी चौकी (बिओपी) स्थापनाका लागि काठमाडौँबाट टोली त्यसतर्फ गएको हो ।

भारतले एकतर्फी सडक बनाएर उद्घाटन गरेपछि त्यस क्षेत्रको सीमा सुरक्षाका लागि बुधवार नेपाली सेनाको हेलिकोप्टरमा सशस्त्र प्रहरीको टोली पठाइँदै छ । आज नेपाली सेनाको एमआई–१७ हेलिकोप्टर त्यहाँ टोली पु¥याउने छ । केही दिनअघि भारतको पिथौरागढबाट नेपालको कालापानीस्थित गुञ्जी हुँदै चीनको मानसरोवर जाने लिपुभञ्याङसम्मको सडक निर्माण गरी भारतले उदघाटन गरेको थियो । सीमारक्षाका लागि सरकारले तत्कालै त्यस क्षेत्रमा सशस्त्रको टोली पठाउन लागेको हो ।

सीमा निगरानी चौकीमा २५ जना सशस्त्र प्रहरी खटाइने जनाइएको छ । सशस्त्र प्रहरी बल नेपाल ५० नं गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक डम्बरबहादुर विष्टका अनुसार प्रहरी निरीक्षक मिलीबहादुर चन्दको नेतृत्वमा २५ जनाको टोली आज त्यसतर्फ गएको छ । सरकारले गत मङ्सिरमा नै यहाँ बिओपी राख्ने निर्णय गरेको भएपनि अहिलेसम्म स्थापना हुनसकेको थिएन ।

तत्कालीन अवस्थामा सीमा क्षेत्रमा सशस्त्र प्रहरीको १०७ बिओपी थियो । मङ्सिरमा सरकारले ११४ बिओपी स्थापना गर्ने निर्णय गरेको थियो । त्यसपछि जम्मा १३ स्थानमा मात्रै बिओपी स्थापना भएको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता प्रहरी नायब महानिरीक्षक प्रविणकुमार श्रेष्ठले जानकारी दिए । ––रासस

नेकपा स्थायी कमिटी बैठक स्थगित

काठमाडौं,मे १३

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगन भएको छ । बिहान ११ बजे पार्टी मुख्यालयमा धूम्रबाराहीमा बस्ने भनिएको बैठक सदस्यहरुको कोरोना जाँचपछि मात्र बस्ने गरी स्थगन गरिएको पार्टी कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए ।

उनका अनुसार स्थायी कमिटीका ४५ सदस्य सबैको कोरोना भाइरस (कोभिड –१९)को परीक्षण गरेर मात्र बैठक बस्ने छ । अब बस्ने बैठक पार्टी एकतापछिको तेस्रो स्थायी कमिटी बैठक हुनेछ ।

“केही सांसद रहेका स्थायी कमिटी सदस्यको कोभिड –१९ परीक्षण गरिएको थियो ”, उनले भने, “तर केहीको बाँकी रहेकाले परीक्षण गरेर मात्र बैठक बस्ने भएको छ ।” बुधवार बस्ने भनिएको बैठकमा सरकारको नीति तथा कार्यक्रम, कोभिड –१९ र भारतद्वारा अतिक्रमित नेपाली भूमिका बारेमा छलफल गर्ने कार्यसूची थियो ।––रासस

मिचिएको भूमि फिर्ताकालागि पहल गर्न माग

काठमाडौं,मे १२

प्रतिनिधिसभा बैठकमा सांसदले भारतले नेपालको भूमि मिचेर लिपुलेकमा एकतर्फीरुपमा सडक निर्माण गरेको सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउँदै फिर्ताका लागि दीर्घकालीन पहल गर्न आग्रह गरेका छन् । प्रतिनिधिसभा बैठकको आजको शून्य समयमा उनीहरुले मिचिएको नेपाली भूमि फिर्ता ल्याउन र भारतसँगको सीमा समस्याको दीर्घकालीन समाधानका लागि उच्चस्तरमा कूटनीतिक पहल गर्न माग गरे । बैठकमा सांसद बालकृष्ण खाँण, दिव्यमणि राजभण्डारी, देवप्रसाद गुरुङ, देवेन्द्र पौडेल, धर्म्शिला चापागाईं, थममाया थापालगायतले भारतले नेपालको सिमाना मिचेर सडक निर्माण गरेको सम्बन्धमा भत्र्सना गर्दै फिर्ताका लागि पहल गर्न नेपाल सरकारको ध्यानाकर्षण गराए ।

यसैगरी सांसद प्रकाशमान सिंह र टेकबहादुर बस्नेतले कोरोनाका कारण मजदुर र निम्न वर्गका समुदाय बढी समस्यामा परेको बताउँदै समस्यामा परेकालाई उचित राहतका लागि सरकारको ध्यानाकर्षण गराए । सांसद डा डिला सङ्ग्रौला, तेजुलाल चौधरी र दीपकप्रकाश भट्टले कोरोनाले विदेशमा निधन भएका नेपालीको शव ल्याउन र कोरोनाका कारण भारतलगायत अन्य देशमा अप्ठ्यारोमा परेका नेपालीको उद्धारका लागि सरकारसँग आग्रह गरे ।

सांसद तिलबहादुर महत क्षेत्री र दामोदर भण्डारीले कोरोना सङ्क्रमण रोक्न सरकारले चालेको कदम प्रशंसनीय भएको उल्लेख गर्दै आगामी दिनमा परीक्षणको व्यवस्था सबै जिल्लामा पु¥याउन र सिमानामा कडाइ गर्न आग्रह गरे । सांसद दिलेन्द्रप्रसाद बडूले संसद्को बर्खे अधिवेशन प्रारम्भ भएदेखि प्रधानमन्त्री संसद्मा नदेखिएको बताउँदै उपस्थिति हुन नसक्नुका कारणबारे संसद्लाई जानकारी हुनुपर्ने धारणा व्यक्त गरे । सांसद दुर्गा पौडेलले किसानको मनोबल बढाउने गरी काम गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद देवप्रसाद तिमिल्सिनाले रौतहटमा आँधीबेहरीले किसानका बालीनालीमा पु¥याएको क्षतिबारेमा जानकारी गराउँदै राहतको उचित व्यवस्था गर्न माग गर्नुभयो । बैठकमा सांसद ध्रुवकुमार शाही, नन्दलाल रोका क्षेत्री, नवराज सिलवाल, नारायणप्रसाद मरासिनी, निरुदेवी पाल, पदम गिरी, पार्वता डिसी चौधरी, पवित्रा निरौला, पार्वतीकुमारी बिसुन्के, पुष्पाकुमारी कर्ण , पुष्पा भुसाल , पूर्णकुमारी सुवेदी, प्रकाश स्नेही , दुर्गाकुमारी विश्वकर्मा, दलबहादुर राना र दिलकुमारीले समसामयिक विषयमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए  सभामुख अग्निप्रसाद सापकोटाले बैठकमा सांसदहले बहुआयामिक विषय उठाएको उल्लेख गर्दै सांसदका प्रश्नमा सरकारको विशेष ध्यानाकर्षण गराए ।––रासस

सरकारको नीति तथा कार्यक्रम शुक्रबार प्रस्तुत हुँदै

नेपालमा मंगलबार एकैपटक ५७ नयाँ संक्रमित भेटिए,कोरोना बिरामीको संख्या १९१ पुग्यो

काठमाडौं, मे १२

मंगलबार नेपालका विभिन्न जिल्लामा गरेर  थप ५७ जनामा कोभिड–१९ संक्रमण भएको पुष्टि भएको छ । संक्रमित मध्ये सबैभन्दा बढी पर्सामा ३९ जना छन् । पहिलोपटक नेपालमा यति धेरै संख्यामा संक्रमण देखिएको हो । यसअघि हिजो एकैपटक २४ जनामा संक्रमण देखिएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा उनीहरुमा संक्रमण देखिएको बताए । यससँगै हालसम्म संक्रमितको संख्या १९१ पुगेको छ ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ बाट मंगलबार रुपन्देहीमा नौ, पर्सामा ३९, कपिलवस्तुमा आठ र बारा जिल्लामा एकजनामा संक्रमण देखिएको हो । यसअघि सोमबार १३४ जना संक्रमित भेटिएका थिए ।

सहप्रवक्ता डा अधिकारीका अनुसार सबै संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ । नेपालमा पहिलोपटक चीनको वुहान शहरबाट आएका एक विद्यार्थीमा माघ ९ गते संक्रमण देखिएको थियो । अहिलेसम्म ३३ जना कोभिड–१९ का संक्रमित निको भई घर फर्किसकेका छन् ।

सहप्रवक्ता डा अधिकारीले भारतबाट आउने क्रम बढेसँगै शंकास्पद व्यक्तिलाई परीक्षण गर्दा यति धेरैको संख्यामा संक्रमित पहिलोपटक भेटिएको बताए । ‘‘पहिलाभन्दा अहिले भारतबाट मानिस पनि आवतजावत गरिरहेका छन्”,उनले भने,‘‘क्वारेन्टाइनमा बसेकालाई पनि हामीले बढी परीक्षण गरिरहेको हुनाले सङ्क्रमति फेला परेका हुन् ।” उनले धमाधम संक्रमित भेटिरहेकाले निगरानी बढाउन आवश्यक रहेको बताए ।

मन्त्रालयले अहिले दैनिक एक हजारमा पिसिआर र करिब दुई हजारमा आरडिटी परीक्षण गरिरहेको छ । मुलुकभरि पिसिआर १९ ठाउँमा र आरडिटी ७७ जिल्लामा भइरहेको छ । ––रासस

भारत र चीन दुवै राष्ट्रसँग संवाद गर : काँग्रेस

काठमाडौं,मे ११

नेपाली काँग्रेसले कालापानी, लिम्पियाधुरा र लिपुलेक लगायतका नेपालको भूमिबारे पार्टीले विगतदेखि नै राख्दै आएको प्रष्ट दृष्टिकोणको जगमा सरकारलाई उच्च स्तरीय कूटनैतिक प्रक्रियामार्फत सो मुद्दा समाधान गर्नका लागि पहलकदमी लिन आग्रह गरेको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्तिमार्फत सन् १८१६ को सुगौली सन्धिले नेपालको पश्चिमी सिमाना महाकाली नदी किटान गरेको ऐतिहासिक तथ्य नै विद्यमान प्रकरण समाधानको मूल आधार भएको उल्लेख गरेका छन् । त्यसैले महाकाली नदी पूर्वको भू–भाग कालापानीबाट भारतीय सैनिक फिर्ता हुनुपर्ने र लिपुलेक एवं लिम्पियाधुरासम्मको नेपाली भूमिमा नेपालको अविच्छिन्न अधिकार निर्वाध रहनुपर्ने भन्ने पार्टीको धारणा उनले पुनः दोहो¥याएका छन् ।

“नेपाली भूमि अतिक्रमण गरेर सडक निर्माण, नेपालको स्वाधीनता माथिको ठाडो हस्तक्षेप हामीलाई अस्वीकार्य छ । भारतको पिथौरागढ हुँदै नेपालको लिपुलेक भएर चीनको मानसरोवर जोड्ने सडकको पृष्ठभूमिमा सन् २०१५ मे महिनाको भारत–चीन सहमति र काँग्रेस सभापति सुशील कोइराला नेतृत्वको सरकारले त्यो सहमतिप्रति कडा विरोध जनाउँदै दुवै देशलाई पठाएको ‘प्रोटेस्ट नोट’ स्मरण गर्दै यो विषयमा दुवै राष्ट्रसँग नेपालले गहन संवाद गर्न अत्यावश्यक रहेको औँल्याउन चाहन्छौँ”, विज्ञप्तिमा उल्लेख छ ।

प्रवक्ता शर्माले आफूहरुले संसारका हरेक मुलुकको सार्वभौमिकताको सम्मान गर्ने र नेपालबारे अरु राष्ट्रसँग पनि त्यही अपेक्षा राखेको उल्लेख गर्दै दुवै छिमेकी मित्र राष्ट्रसँग ‘प्रष्ट धारणा र ऐतिहासिक तथ्यका आधारमा दीर्घकालीन समाधान’ नेपालको अहिलेको परिपक्व रणनीति हुनुपर्ने औँल्याए ।

सामान्य वक्तव्य वा सामान्य नोट जारी गरेर नेपाल सरकारको दायित्व पूरा नहुने र दीर्घकालीन समाधानका लागि सुस्पष्ट ढङ्गले उच्चस्तरिय कूटनैतिक पहल गर्न काँग्रेसले नेपाल सरकारलाई आग्रह गरेको छ ।–––रासस

भारतलाई नेपालको ‘कूटनीतिक नोट’

Nepal news headlines | breaking news kathmandu | national news of nepal live