POLITICAL NEWS

लकडाउन बढाउने विषयमा उच्चस्तरिय समितिमा छलफल

काठमाडौं,मे ४

कोभिड—१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समन्वय समितिले लक डाउनको मोडालिटीका विषयमा छलफल गरेको छ । सिंहदरबारमा सोमबार बसेको समन्वय समिति बैठकमा बैशाख २५ गतेपछि लक डाउनको मोडालिटी कस्तो हुने भन्ने विषयमा छलफल भएको हो ।

पछिल्ला दिनहरुमा तराईका जिल्लामा संक्रमणको बढ्दो अवस्थामा रहेको र परीक्षण पनि ब्यापक भइरहेको अवस्थालाई मध्यनजर गर्दै २५ गतेपछि लक डाउन कस्तो हुने भन्ने विषयमा बैठकमा छलफल भएको छ । प्रधानमन्त्री तथा मन्त्तिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद विडारीले कोभिड—१९ रोकथामका लागि अहिलेसम्म भएका प्रयास र आगामी दिनमा लक डाउनको अवस्था कस्तो हुने भन्ने विषयमा छलफल भएको बताए । स्थानीय तहहरुसँग समन्वय गरी अब कसरी जाने भन्ने विषयमा मंगलबारको बैठकले निर्णय गर्न सक्ने उनले बताए ।

अहिले लक डाउनका विषयमा आन्तरिक गृहकार्य र विश्लेषण्को कार्य जारी रहेको उल्लेख गर्दै सचिव विडारीले मंगलबार समितिले लक डाउनको मोडालिटीका विषयमा मस्यौदा तयारी गरी सरकारलाई दिन सक्ने बताए । समितिको मस्यौदा अध्ययन गरी सरकारले निर्णय लिने उनको भनाई छ । सरकारले पछिल्लो समय थप गरेको लक डाउनको अवधि बैशाख १५ गते सकिँदैछ ।

दिल्लीमा सोमबारदेखि लकडाउन आंशिक रुपमा खोलिनेःमुख्यमन्त्री केजरीवाल

नयाँ दिल्ली,मे ३

नयाँ दिल्लीमा सोमबारदेखि आंशिक रुपमा लकडाउन खोलिने भएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीमा आंशिक रुपमा लकडाउन खोलिने बताएका छन् । कोरोनालाइ सँगै लिएर जिउने तयारी गनुृपर्ने भन्दै केजरीवालले बानी बसाल्नुपर्ने भन्दै उनले दिल्लीले यसकालागि तयारी गरिसकेको उनले बताए । समाचार संस्था एएनआई मार्फत उनले दिल्ली कोरोनालाइ संगै हिडन तयार रहेको बताए ।

उनले सबै सरकारी कार्यालय खोलिने जानकारी गराउँदै सरकारी कार्यालय तथा अत्यावश्यक कार्यालयमा सबै(शत प्रतिशत) कर्मचारी अनिवार्य उपस्थित हुने र नीजी संस्थाहरुमा ३३ प्रतिशत कर्मचारीले काम गर्ने बताए ।

साइकल,रिक्सा,ट्याक्सी सबै बन्द रहने छ भने कपाल काटने सैलुन समेत बन्द रहने छन् ।
स्कुल तथा सम्पूर्ण शिक्षण संस्था,होटल तथा रेष्टुरेन्ट,सिनेमा हल,मल,जिम बन्द रहने बताउँदै मुख्यमन्त्री केजरीवालले सामाजिक भेला तथा सम्मेलनमा लगाएको रोक यथावत रहेको जानकारी दिए ।

उनले भने, अति आवश्यक काम नपरेसम्म साँझ सात बजेदेखि बिहान सात बजे सम्म मानिसहरुलाइ बाहिर निस्कन रोक लगाइएको छ । बिरामी,वृद्ध तथा गर्भवती महिला तथा साना बच्चाहरुलाइ घर भित्रै बस्नुपर्ने छ ।

दिल्ली भारतको तेश्रो कोरोना प्रभावित राज्यमा रहेको छ । राजधानी नयाँदिल्लीमा ४ हजार १२२ जना संक्रमित भएका मध्ये ६४ जनाको ज्यान गएको छ । एक हजार २५६ जनाको उपचार गरिएको छ ।

वामदेव गौतम प्रतिनिधि सभामा जाने पक्का :नेकपा सचिवालय बैठकको निर्णय

काठमाडौं,मे २

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले बैशाख २५ गते स्थायी कमिटि बैठक बोलाउने निर्णय गरेको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले बैशाख २५ गते स्थायी कमिटि बैठक बोलाउने निर्णय गरेको हो ।

सचिवालय बैठकले निकालेका निष्कर्ष, पार्टीको अहिलको अवस्था र आगामी कार्यदिशाका बारेमा स्थायी कमिटि बैठकमा गम्भिर छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । त्यसअघि बैशाख २४ गते दिउँसो ३ बजे सचिवालय बैठक बोलाइएको छ ।

सचिवालय बैठकले पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई प्रतिनिधिसभामा लैजाने निर्णय पनि गरेको छ । उपयुक्त समय हेरेर उपाध्यक्ष गौतमलाई प्रतिनिधिसभामा लैजाने निर्णय पनि बैठकले गरेको प्रवक्ता श्रेष्ठले बताए । ‘‘सचिवालयले पार्टीका उपाध्यक्ष गौतमलाई उपयुक्त, समयमा प्रतिनिधिसभा उम्मेदवार बनाउने र प्रतिनिधिसभामा लैजान पहल गर्ने निर्णय गरेको छ’’, प्रवक्ता श्रेष्ठले भने ।

गौतमलाई प्रतिनिधिसभामा लैजाने निर्णय सचिवालयले गरेपनि पार्टीमा वरिष्ठ नेता माधव कुमार नेपाललाई तेस्रो अध्यक्षका रुपमा अगाडी बढाउने प्रधामन्त्री ओलीको प्रस्तावमा भने कुनै निर्णय भएन् । नेता नेपाल नै उक्त प्रस्तावमा असहमत भएकाले कुनै निर्णय नभएको प्रवक्ता श्रेष्ठले बताए ।

पार्टीभित्र देखिएका समस्या र संकटलार्ई समाधान गर्ने गरी एकतावद्ध भएर पार्टीएकताको पक्षमा दृढ रहने संकल्प बैठकले गरेको छ । बैठकले पार्टीलाई कमजोर पार्ने र गुटलाई बलियो बनाउने कुनै पनि कुरामा सामेल नहुन पार्टीका सम्पूर्ण सदस्यलाई सचिवालयले निर्देशन दिएको उनले बताए । उनले पार्टीलाई एकतावद्ध गरेर नीति र विधिअनुसार अगाडी बढ्ने विषयमा सचिवालय सदस्यहरु एकमत भएको बताए ।

पार्टीको नीति, निर्देशन र मार्गचित्र अनुसार सरकार सञ्चालन गर्नुपर्ने र सरकारले गर्ने हरेक निर्णयहरुका विषयमा पार्टीभित्र छलफल हुनुपर्ने कुरामा पनि सचिवालय सदस्यहरु एकमत भएका छन् । बैठकमा प्रधानमन्त्री ओली, अध्यक्ष प्रचण्ड लगायत सचिवालय सदस्यले आफ्ना कमि कमजोरी सच्याएर आगाडी बढ्नेगरी आत्मालोचना गरेको उनले बताए ।

अहिलेसम्म पार्टी र सरकार सञ्चालनमा भएका कमि कमजोरी सच्याएर अगाडी बढ्ने विषयमा प्रधानमन्त्री सकारात्मक हुनुभएको प्रवक्ता श्रेष्ठले बताए । सबै नेताहरु आफ्नो जिम्मेवारी अनुसार सकारात्मक ढंगले अगाडी बढ्ने संकल्प लिएको उनले बताए । ‘‘यसै क्रममा पार्टी, सरकार वा सम्बन्धित क्षेत्रहरुमा जेजति कमिकमजोरी भएका छन् ती कमिकमजोरीहरुमा आफ्नो हकको जिम्मेवारीका लागि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आत्मलोचना गर्नुभएको छ । त्यस्तै अध्यक्ष कमरेड प्रचण्ड र अरु कमरेडहरुले पनि त्यही अनुसार आत्मालोचित हुँदै अगाडी बढ्ने संकल्प गरेका छन्’’, उनले भने ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको बजेट अधिवेशन छिट्टै बोलाउने विषयमा पनि जानकारी गराएका थिए । सरकारले आगामी वर्षका लागि प्रस्तुत गर्ने नीति तथा कार्यक्रम र बजेटका विषयमा पनि पार्टीभित्र छलफल गर्ने र जनादेश अनुसार सरकार अगाडी बढ्नुपर्ने निष्कर्ष पनि बैठकले निकाले उनले बताए । सचिवालय बैठकले देश कोरोना महामारीसँग लडिरहेको सन्दर्भमा सम्पूर्ण राजनीतिक दल र पार्टीका नेताहरुलाई एकजुट भएर अगाडी बढ्न आग्रह गर्ने पनि निर्णय गरेको छ ।

दिल्ली प्रदेशका ११ जिल्ला उच्च जोखिममा

काठमाडौं,मे २

भारतको दिल्ली प्रदेशका ११ जिल्लालाई उच्च जोखिमको सूचि (रेड जोन) बाट तत्काल नहटाइने भएको छ । दिल्ली प्रदेशका स्वास्थ्य मन्त्री सत्येन्द्र जैनले यही मे १७ तारिखसम्म ११ जिल्लालाई उच्च जोखिमको सूचिबाट नहटाइने शनिबार जानकारी दिएका छन् ।

“दिल्लीका ११ जिल्लालाई हामीले यही मे १७ सम्म उच्च जोखिमका जिल्लाको सूचिमा राखिने छ,” उनले भने । कुनै पनि जिल्लामा कोरोनाभाइरसबाट संक्रमित विरामीको संख्या दशभन्दा बढी भएमा त्यस जिल्लालाई उच्च जोखिमको जिल्लाका रुपमा सूचिकृत गरिने व्यवस्था रहेको पनि उनले बताए ।

केन्द्रीय स्वास्थ्य मन्त्रीले पनि शुक्रबार देशभरका १३० जिल्ला उच्च जोखिमपूर्ण जिल्लाको सूचिमा रहेको बताउनु भएको थियो । यही मे ४ तारिखदेखि देशव्यापी लकडाउनको म्याद फेरी थप्ने निर्णय भएकैदिन उनले रेड जोनमा रहेका जिल्लाहरुको सूचि बनाइएको जानकारी दिएका हुन।

उनका अनुसार देशभरका २८४ जिल्लालाई “ओरेन्ज जोन” र ३१९ जिल्लालाई “ग्रिन जोन”का रुपमा सूचिकृत गरिएको छ । मन्त्री जैनले केन्द्रीय राजधानी प्रदेशमा कोरोनाभाइरसबाट संक्रमितको संख्या शनिबारसम्म तीन हजार ७३८ पुगेको जानकारी दिए ।

उनले भने, “अहिलेसम्म दिल्लीमा तीन हजार ७३८ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्, ती मध्ये २२३ जना त हिजो मात्रै थपिएका हुन् ।”उनका अनुसार कुल सङ्क्रमित मध्ये झण्डै ३२ प्रतिशत अर्थात एक हजार १६७ जना अहिले संक्रमणमुक्त भइसकेका छन् ।

देशभरी संक्रमितको संख्या भने ३७ हजार ३३६ पुगेको छ । कोरोना भाइरस संक्रमणको कारण भारतभर गएको २४ घन्टायता ७१ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार २१८ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

गएको २४ घन्टायता भारतमा २ हजार २९३ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन । भारतभर गएको २४ घन्टायता संक्रमितको संख्या हालसम्मको नै सब भन्दा बढी भएको मन्त्रालयले जनाएको छ ।

दैनिक रुपमा सङ्क्रमित हुने र मुत्यु हुनेको संख्यामा कमी नआएपछि सरकारले देशव्यापी लकडाउनलाई थप दुइ साताको लागि लम्बाएको छ । भारतले मे ४ देखि लागू हुने गरी थप दुइ साताको लागि तेस्रो चरणको लकडाउन गर्ने निर्णय गरेको हो । भारतमा पहिलो चरणको लकडाउन २४ मार्चमा लगाइएको थियो । ––रासस/एएनआई

दार्चुला–टिकर सडक खण्डको ८७ किलोमिटर ट्रयाक सेनालाइ दिने मन्त्रिपरिषदको निर्णय

काठमाडौं, अप्रिल ३०

सरकारले महाकाली लोकमार्ग अन्तर्गत दार्चुला–टिकर सडक खण्डको ८७ किलोमिटर ट्रयाक निर्माण गर्ने जिम्मा नेपाली सेनालाई दिएको छ । मन्त्रिपरिषदको जेठ १४ गतेको बैठकले कूल १ सय ३४ किलोमिटर मध्ये ठेक्का हुन बाँकी घाँटीबगर देखि टिकर खण्डको ८७ किलोमिटर सडकको ट्रयाक खोल्ने जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको हो ।

बिहीबार अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा.युवराज खतिवडाले मन्त्रिपरिषद्का बैठकका निर्णयहरु सार्वजनिक गर्दै उक्त सडक खण्ड नेपाली सेनाले निर्माण गर्ने बताएको होे । यस्तै मन्त्रिपरिषद्ले सार्वजनिक खरिद नियमावलीको दशौं संशोधन समेत स्वीकृत गरेको छ । जसमा २०७६ जेठ २३ पछि २०७७ वैशाख १४ गते सम्म ठेक्का सम्झौता भई काम अघि नबढेका तर सम्पन्न हुन नसकेका आयोजनाहरुको हकमा २१ दिन भित्र म्याद थपको निवेदन दिई कार्य प्रगतिको आधारमा १ वर्ष समय थप गर्ने विषय संशोधन गरिएको मन्त्री खतिवडाले बताए ।

यसबाहेक हरित जलवायु कोष तथा विश्व खाद्य तथा कृषि संगठनको सहयोगमा वन तथा वातावरण मन्त्रालयबाट कार्यान्वयन गर्ने गरी ३९ दशमलव ३ मिलयिन अमेरिकी डलर अर्थात करिब ४ अर्ब ७९ करोड रुपैयाँ अनुदान सहायता स्वीकार गर्ने निर्णय समेत मन्त्रिपरिषद्को बैठकले गरेको छ । त्यसका लागि अर्थ मन्त्रालयका सचिव वा सहसचिवलाई हस्ताक्षर गर्न अख्तियारी प्रदान गर्ने निर्णय समेत मन्त्रिपरिषद्ले गरेको छ । यस्तै कोभिड–१९को संक्रमण रोकथाम, नियन्त्रण र उपचार तथा सोको कारणबाट अर्थतन्त्रमा पर्नसक्ने क्षति न्यूनीकरण गर्न आवश्यक स्रोत व्यवस्थापन गर्न थप अन्तर्राष्ट्रिय सहायता परिचालन गर्ने विषयमा अर्थमन्त्रालयलाई स्वीकृति समेत दिएको छ ।

इपिएस प्रणालीबाट कोरिया काम गर्न जानेहरुलाई चार्टर्ट उडानबाट जान स्वीकृति दिने निणर्य समेत भएकोछ । यसबाहेक लोकसेवा आयोगबाट भएको विज्ञापनअनुसार परीक्षा सञ्चालन हुन बाँकी रहेका र पदपूर्तिका लागि विज्ञापन आह्वान गर्न बाँकी रहेका सम्पूर्ण पदपूर्तिसम्बन्धी काम अर्को व्यवस्था नहुँदा सम्मका लागि स्थागित गर्न आयोगलाई अनुरोध गर्ने निणर्य पनि मन्त्रिपरिषद्ले गरेको छ । संघ, प्रदेश र स्थानीय तहको संगठन तथा व्यवस्थापन सर्वेक्षण ओ एण्ड एम सर्भे अत्यावश्यक बाहेक अन्यको हकमा स्थगित गर्ने निर्णय पनि गरेको छ ।

यस्तै कोरोना भाइरस उपचारका लागि अस्पतालहरुलाई अनुदान उपलब्ध गराउने आदेश २०७७, कोभिड–१९ युनिफाईड अस्पताल सञ्चालन आदेश, २०७७, कोरोना भाइरस (कोभिड–१९) को उपचारमा संलग्न जनशक्तिको जोखिम भत्ता व्यवस्थापन आदेश २०७७ स्वीकृत गर्ने निर्णय समेत मन्त्रिपरिषद्ले गरेको छ ।

राष्ट्रपति भण्डारी र चिनियाँ राष्ट्रपति सीबीच टेलिफोन संवाद

काठमाडौं,अप्रिल २७

राष्ट्रपति विद्यादेवी भण्डारी र उनका चिनियाँ समकक्षी सी चिनफिङबीच हाल विद्यमान विश्वव्यापी महामारी कोभिड –१९ विरुद्धको लडाइँबारे विचार आदानप्रदान भएको छ । उनीहरुबीच सोमबार साँझ भएको टेलिफोन संवादमा विश्वले अनुभव गरेको यसको प्रभाव र दुवै देशका सकारहरुले यसविरुद्ध चालेका उपायहरुबारे पनि छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सो अवसरमा राष्ट्रपति भण्डारीले चीनले कोभिड १९रोकथाम र नियन्त्रणका लागि चालेका सुदृढ कदम र विश्वका अन्य देशलाई यसविरुद्धको लडाइँमा गरेको सहयोगको प्रशंसा गरिन । उनले चिनियाँ सरकार र जनताले नेपाललाई स्वास्थ सामग्री उपलब्ध गराएकामा पनि सराहना गरिन ।

प्रत्युत्तरमा राष्ट्रपति सीले नेपालले कोरोना भाइरस फैलन नदिन गरेको शीघ्र र साहसी कार्यको प्रशंसा गर्दै यस सम्बन्धमा नेपाललाई सहयोग गरिने विश्वास दिलाए । चिनियाँ राष्ट्रपतिले प्रधानमन्त्री केपी शर्मा ओली मिर्गाैला प्रत्यारोपणपछि पुनः आफ्नो काममा फर्कनुभएकामा खुशी व्यक्त गर्दै उहाँको सुस्वास्थ्य र सुखको पनि कामना गरेको मन्त्रालयको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

चिनियाँ राष्ट्रपतिले राष्ट्रपति भण्डारीलाई टेलिफोन संवादका लागि धन्यवाद दिँदै कोरोना भाइरस महामारीका समय र कोरोनाबाट निधन भएकाहरुको श्रद्धाञ्जलिका लागिआयोजित राष्ट्रिय शोकसभामा चिनियाँ सरकार र जनताप्रति व्यक्त गरेको ऐक्यबद्धता र समर्थनका लागि सराहना गरे ।

दुवै राष्ट्रपतिले दुई देशबीच विद्यमान उत्कृष्ट द्विपक्षीय सम्बन्धप्रति सन्तोष व्यक्त गर्दै यसलाई आगामी दिनमा दुई देशका उच्चस्तरीय भ्रमणहरुमा गरिएका समझदारी र हिमालय सीमापार बहुआयामिक सम्पर्क सञ्जालसँग सम्बन्धित परियोजनाहरुको कार्यान्वयनका माध्यमबाट अझ सुदृढ गर्ने सहमति पनि भएको छ ।

दुवै राष्ट्रपति अवस्था सामान्य भएपछि ती आयोजनाहरुको शीघ्र कार्यान्वयन गर्ने विषयमा सहमत पनि हुनुभएको छ । टेलिफोन संवादमा चिनियाँ राष्ट्रपति सीको गत वर्ष अक्टोबरमा नेपालमा भएको सुखद् भ्रमणको पनि स्मरण गरिएको थियो ।

Press Release on Telephone Conversation between the Presidents of Nepal and PR China

चीनका लागि नेपालका आवासीय राजदूत पाण्डेबाट शपथ

कोरोना विरुद्धको लडाई जनताको नेतृत्वमा छ: मोदी

नयाँ दिल्ली,अप्रिल २६

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा भइरहेको कोरोनाभाइरस विरुद्धको लडाई भारतीय जनताले नेतृत्व गरिरहेको बताएका छन् । लडाईमा जनताका विभिन्न समूह र प्रशासनले आम नागरिकलाई सघाइरहेको प्रधानमन्त्री मोदीले आइतबार बताएका हुन् ।

आम नागरिकले चालकको काम गरिरहेका र प्रशासन र अन्य विभिन्न सहयोगी समूहहरुले चक्काको काम गरिरहेको उनको भनाइ थियो । प्रधानमन्त्री मोदीले भने, “हरेक नागरिक यस लडाईमा कोरोनाभाइरस विरुद्धको लडाकू हुनु भएको छ ।”

मासिक रुपमा सहभागिता जनाउने कार्यक्रम “मन की बात”मा बोल्दै मोदीले विशाल भारतमा यस्तो लडाई धेरै कठिन भएको पनि उल्लेख गरे । कोरोनाभाइरससँगै आफूहरु गरिबीका विरुद्धमा पनि लडेर देश विकास गर्नु पर्नेमा उनले जोड दिए ।

“कोरोनाभाइरस विरुद्धको जनताको लडाई सकिएपछि हामीले भारतलाई नयाँ अवस्थामा पु¥याउने छौँ,” प्रधानमन्त्री मोदीले भने ।

उनले मुस्लिम समुदायका जनतालाइ रमजानको अवसरमा धेरै प्रार्थना गर्न आग्रह गरेका थिए । उनले भने, मुस्लिम समुदायले पहिले भन्दा बढि प्रार्थना गर्नु जसले गर्दा विश्व ईद भन्दा अघि नै कोरोना भाइरसको प्रकोपबाट मुक्त हुन सकोस ।––रासस/ एएनआई

सांसद अपहरणको मुद्दा दर्ता भएन

काठमाडौं,अप्रिल २६

महानगरीय प्रहरी परिसर काठमाडौंले सांसद अपहरण सम्बन्धी कसुरमा संलग्नमाथि मुद्दाको जाहेरी लिन अस्वीकार गरेको आरोप जनता समाजवादी पार्टी (जसपा) ले लगाएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसदहरु महेश बस्नेत, किसान श्रेष्ठ र पूर्व प्रहरी निरीक्षक सर्वेन्द्र खनाल विरुद्ध मुद्दाको जाहेरी लिन प्रहरीले अस्वीकार गरेको आरोप जसपाले लगाएको हो ।

जसपाका सांसद सुरेन्द्र पाण्डे पार्टीका अन्य नेतासहित आफुलाई अपहरण गरेको भन्दै आइतबार महानगरीय प्रहरी परिसर टेकुमा जाहेरी दिन पुग्नुभएको थियो । प्रहरीले जाहेरी नलिएपछि नव गठित जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले जाहेरी दर्ता नलिनुले राज्य नै अपराधिकरणमा गइसकेपछि नागरिकको जीवन रक्षा कसरी हुन्छ भन्ने गम्भिर प्रश्न उठेको बताए ।उनले देशमा घटेको ठूलो घटना जुन सरकारवादी मुद्दा बन्छ उक्त विषय दर्ता समेत हुन नसक्नुले आफ्नो भन्नु केही नरहेको बताए ।

उनले भने,‘‘देशमा यति ठूलो घटना अहिलेको बहालवाला प्रतिनिधि सभा सदस्य सांसदलाई सरकार र देशका कार्यकारी प्रमुखको निकट रहेका मानिसहरु र पूर्व प्रहरी प्रमुखको स.लग्नतामा जुन अपहरण जस्तो अत्यन्त जघन्य प्रकृतिको घटना घट्यो त्यो स्वतह नै हाम्रो कानून अनुसार सरकारावी मुद्दा बन्छ र प्रथम दृष्टिमा नै स्वतः नै यति चर्चा परिचर्चा भइसकेपछि त्यसबारे कुनै जाहेरी नलिइकन राज्य आफैले यो विषयमा मुद्दा अगाडि बढाउन सक्छ । सामानय तरिका त्यो हो । तर त्यस्तो हुन्थ्यो भने यो समस्या नै आउँदैनथ्यो । यो अहिले हामी प्रहरीलाई दोशारोपण गर्न चाहँदैनौं। वहाँहरुको बाध्यता छ । वहाँहरुलाई आदेश छ । जुन यो ओलीतन्त्र छ । जसले लोकतन्त्रका मूल्य मान्यता विधान संविधान कानून सबै ल्याएको छ । र राज्यको अपराधिकरण गरेको छ । आफै संलग्न भएर अपहरण जस्ता काण्डहरुमा मुछिएको छ । त्यसले सम्पूर्ण कर्मचारी प्रहरी प्रशासनलाई पनि आतंकित पारेको छ । त्यसैले वहाहरुले बुझ्दा बुझ्दै पनि कानूनको पालना गर्न सकिराख्नु भएको छैन । त्यसैले यो घटना अझ गम्भिर बनेर गएको छ ।’’

अपहरणमा परेका सांसद यादवले घटना घटेपछि नजिकको प्रहरी चौकिमा गएर जानकारी गराउनुपर्ने भएपनि आफुहरु जाहेरी दिन आउँदा दर्ता नगरिएको बताए । उनले प्रधानमन्त्री ओली नै घटनामा संलग्न भएकाले जाहेरी दर्ता नभएको बताए ।

प्रहरी परिसरले यादवको घटना महोत्तरीमा भएको भन्दै महोत्तरी प्रहरी कार्यालयमा जाहेरी दिन वा कानूनले दिएका अन्य उपायहरु अवलम्बन गर्न आग्रह गरेको वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बताए ।

नेपालमा लकडाउन मे ७ सम्म थपियो

काठमाडौं,अप्रिल २६

सरकारले जारी लक डाउनको समय १० दिन थप गर्ने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले लकडाउनको समय १० दिन थप गर्दै वैशाख २५(७ मे) गतेसम्म जारी राख्ने निर्णय गरेको हो ।

पछिल्लो पटक थप भएको समय वैशाख १५(२७ अप्रिल) गते सोमबार सकिँदै थियो । पूर्वनिर्धारित लक डाउनको समय सकिनु एक दिन अगाडी नै सरकारले १० अझ लम्ब्याउने निर्णय गरेको हो । पहिलो पटक सरकारले चैत ११(मार्च २४) गतेबाट लागु हुनेगरी एक हप्ताका लागि लक डाउन घोषणा गरेको थियो । त्यपछि पटक पटक समय थप हुँदै वैशाख १५ गतेसम्म पु¥याइएको थियो ।

आइतबार नै बैठकले अन्तर्राष्टिय सीमानाकाहरु वैशाख ३१(मे १३) गतेसम्म बन्द नै राख्ने निर्णय गरेको छ । बाह्य जगतबाट कोरोनाको जोखिम अझै रहेकाले सीमानाकाहरु वैशाख ३१ गतेसम्म बन्द गर्ने निर्णय बैठकले गरेको सरकारका प्रवक्ता समेत रहेका अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले बताए । इपिएस अन्तरर्गत कोरिया जाने श्रमिकहरुलाई दुई देशको आपसी सल्लाह र सहमतिमा कोरिया लैजाने अनुमति दिने निर्णय पनि बैठकले गरेको छ ।

Our Latest

Nepal news headlines | breaking news kathmandu | national news of nepal live