POLITICAL NEWS

प्रधानमन्त्री मोदीद्धारा कोभिड १९ को उपचारमा संलग्न स्वास्थ्यकर्मीको प्रशंसा

नयाँ दिल्ली,मे ७

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको संघर्षमा लागिरहेका स्वास्थ्यकर्मीहरुको प्रसंशा गर्नुभएको छ । उहाँले चिकित्सक, नर्स तथा अस्पतालमा कार्यरत सबै कर्मचारीहरुले यस्तो महामारीको बेलामा पनि उच्च मनोबलका साथ काम गरेको बताएका छन् ।

उनले स्वास्थ्यकर्मीहरुले भगवान गौतम बुद्धले जस्तो सन्देश विश्वलाई नै दिएका पनि बताए । । भगवान गौतम बुद्ध जयन्तीका अवसरमा विहिबार दिएको सन्देशमा उनले सो कुरा बताएका हुन् ।

यसअघि पनि उनले कोरोना भाइरसका विरुद्धमा संघर्ष गरिरहेका भारतका स्वास्थ्यकर्मीहरुका साथमा समग्र भारतीय नागरिक र विश्व नै रहेको र उनीहरु एक्लो नभएको बताएका थिए ।

भारतमा लकडाउन जारी नै रहेको छ भने त्यहाँ दिन प्रतिदिन ठूलो संख्याका संक्रमितहरु थपिँदै गएका छन् । यस्तो अवस्थामा विहिबार गौतमबुद्ध पूर्णिमाको अवसरमा उनले सबै भारतीय जनता स्वास्थ्यकर्मीहरुको साथमा रहेका बताएका हुन् ।

उनले ती स्वास्थ्यकर्मीहरुका साथमा सबै भारतीय रहेका बताउँदै भने,‘कोरोना भाइरसविरुद्धको लडाईमा भारत पनि एक्लो छैन र भारत भित्र पनि कोही नागरिक एक्लो छैन । यो महामारीका विरुद्धमा संसार नै छ ।’

भगवान गौतम बुद्ध बलिदानको उच्चतम विन्दुको नाम हो भन्दै आज विश्वले नै उहाँलाई सेवा र बलिदानका पर्यायका रुपमा हेरिरहेको धारणा पनि राखे । आफ्नो दृढ इच्छाशक्तिका माध्यमबाट गौतम बुद्धले विश्वमा परिवर्तन ल्याउनुभएको र विश्वलाई नै शान्तिको मार्गमा हिँडाउन उच्चतम प्रयास गर्नुभएको सो सम्बोधनका क्रममा उनले बताएका हुन ।

उनले कोभिड १९ का विरुद्धमा लडिरहेका विश्वकै स्वास्थ्यकर्मी तथा सबैको प्रशंसा गरे । प्रधानमन्त्री मोदीले यो कुनै एक देश वा क्षेत्रको नभएर विश्वकै शत्रुका रुपमा देखापरिरहेको भन्दै यसका विरुद्ध लड्न विश्व नै एकताबद्ध रुपमा लाग्नुपर्नेमा जोड दिए ।

उनले यस महामारीका विरुद्धमा लड्न विश्वका सबै देशका नागरिक जस्तै एक अर्ब ३० करोड भारतीय नागरिक पनि एक साथ रहेको भनाई राखे ।
सबै नागरिक घरैमा बसेर महामारीबाट बाँच्न सकिने भन्दै यस महामारीको सबैभन्दा उत्तम उपचारको विधि पनि यही नै भएको धारणा समेत सो सन्देशमा राखे ।

उनले सो सन्देशमा यतिखेर भारतीय नागरिकले प्रदर्शन गरेको धैर्यता नै विश्वका अरु देशका लागि पनि उदाहरण भएको भन्दै यो महामारीलाई पूर्ण रुपमा नहराउँदासम्म भारत सरकारका निर्णयलाई साथ दिँदै सबैजना घरमै बस्न पनि उनले आग्रह गरे । ––एएनआई । रासस

आन्तरिक गृहकार्य नपुगेकोले बैठक बस्न सकेन: प्रचण्ड

काठमाडौं,मे ७

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटि बैठक स्थगित भएपछि पहिलो पटक प्रतिक्रिया दिएका छन् । विहिबारकालागि बोलाइएको बैठक स्थगित भएपछि अध्यक्ष दाहालले पहिलो पटक बैठक स्थगित भएको विषयमा औपचारिक प्रतिकृया दिएका हुन ।

अध्यक्ष प्रचण्डले आन्तरिक गृहकार्य नपुगेकाले बैठक बस्न नसकेको बताए । उनले अहिले दुई अध्यक्षबीच छलफल जारी रहेको बताएका छन् । अध्यक्ष प्रचण्डले प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलसकिएपछि २ दिनभित्र स्थायी कमिटी बैठक बोलाउने तयारी भएको बताए । संसद भवन नयाँ बानेश्वरमा कोरोना परीक्षणका लागि स्वाव दिएपछि बोल्दै अध्यक्ष प्रचण्डले भने, ‘अलि गृहकार्य नपुगेकै हो । दुबै अध्यक्षले बैठक एक दुई दिन भित्र बोलाउँछौँ ।’

स्थायी कमिटी बैठकका एजेण्डा तय गर्न हिजो बोलाइएको सचिवालय बैठकमा सहमति जुट्न नसकेपछि स्थायी कमिटी बैठक अनिश्चित बनेको छ । अध्यक्ष प्रचण्डले विहिबार नै संसद सभाहलको अनुगमन पनि गरेका छन् ।

अनुगमनका क्रममा प्रचण्डले बैठक ढुक्कसँग बस्न सक्ने वातावरण बनेको बताए । ‘‘पहिले एक सिट छोडेर बस्ने भन्ने थियो तर अहिले दुई सिट छोडेर बस्न मिल्ने बनाइएको छ । प्रधानमन्त्रीका लागि २ वटा रो नै छोड्ने र माथि पनि प्रयोग गर्ने बनाउनुभएको छ । स्यानिटाइजेसन गरेर राम्रोसँग स्वास्थ्य सुरक्षाका उपाय अपनाइएको छ । ढुक्कसँग बैठक बस्ने वातावरण बनेको छ ।’’

विहिबार संघीय संसद सांसदहरु र कर्मचारीहरुको स्वाव पीसीआर परीक्षणका लागि संकलन गरीएको छ । संसद बैठक बस्नुअघि परीक्षणका लागि स्वाव संकलन गरिएको थियो ।

सांसदहरुको कोरोना परीक्षणः स्वाब संकलन गरियो

काठमाडौं,मे ७

शुक्रबारदेखि सुरु हुने संघीय संसदको बजेट अधिवेशन अघि प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुको कोरोना भाइरस परीक्षण सुरु गरिएको छ । सांसदहरुको कोरोना भाइरस संक्रमण भए–नभएको परीक्षण पीसीआर प्रविधिबाट हुने छ ।

त्यसका लागि बिहीबार (आज) बिहान १० बजेदेखि राष्ट्रिय सभा सांसदहरुको र ११ बजेदेखि ३ बजेसम्म प्रतिनिधि सभा सांसदहरुको स्वाब संकलन गरियो । स्वाब संकलन संघीय संसद भवन परिसर बानेश्वरमा गरिएको हो ।

राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले सबै सांसदहरुको महत्वपूर्ण काम भएको र हाउस सञ्चालन गर्नुपर्ने अवस्थामा सबै जिल्लाबाट आएका सांसदहरु हुने भएकाले स्वाब परीक्षण आवश्यक रहेको बताए । उनले सुरुमा प्रभावित क्षेत्रका सांसदहरुको मात्रै परीक्षण गर्ने भनिएपनि प्राविधिकहरुको सुझावका आधारमा सबै सांसदहरुको परीक्षण गर्न लागिएको बताए । उनले परीक्षण नगरी संसद सञ्चालन गर्दा कारणबस संक्रमण फेला परेमा हाउस बन्द हुने र महत्वपूर्ण कार्य नै बन्द हुने अवस्था आउने भएकाले परीक्षण गरिएको बताए ।

कार्यव्यवस्था परामर्श समितिले पनि संसद भवन छिर्नेहरु सबैको कोरोना भइरस परीक्षण सहित स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेको थियो । संसद बैठक स्थलमा पनि सांसदहरु बीचको दुरी कायम गरिने गरी व्यवस्था मिलाइएको छ भने संसद प्रवेश गर्नेहरुले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने र ज्वरो जाँच गर्नुपर्ने व्यवस्था गरिएको छ ।

बिहीबार राष्ट्रियसभा र प्रतिनिधिसभाका २१२ सांसदसँगै अन्य कर्मचारी गरेर ४४१ नमुना जनाको स्वाब संकलन गरिएको हो । विहिबार सबै मन्त्री र प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्षसहित पूर्वप्रधानमन्त्रीहरु माधव नेपाल, झलनाथ, शेरबहादुर देउवा र बाबुराम भट्टराईको स्वाब संकलन गरिएको छ ।

विहिबार संकलित सबै स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ। सबै स्वाबको रिपोर्ट २४ घण्टाभित्र आउने सचिवालयले जनाएको छ । रिपोर्ट आएपछि त्यो देखाएर मात्र सांसदले बैठक कक्षमा प्रवेश पाउने बुझिएको छ ।

तस्विर : रासस

महामारीविरुद्ध जुध्न बुद्धजयन्तीले थप प्रेरित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं,मे ७

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस महामारीविरुद्ध जुध्न र मानवताको पक्षमा ऐक्यबद्धता प्रदर्शन गर्न बुद्धजयन्तीले थप प्रेरित गरिरहेको समेत उल्लेख गरेका छन् । विहिबार २५६४औँ बुद्धजयन्तीका अवसरमा शुभकामना सन्देश दिँदै उनले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा, प्रख्याति र पर्यटन विकासमा लुम्बिनीको विशेष महत्व रहेको पनि बताए ।

संयुक्त राष्ट्रसंघको संलग्नतामा तर्जुमा गरिएको लुम्बिनी विकास गुरुयोजनाको कार्यान्वयन भइरहेको जनाउँदै उनले विश्व शान्ति, मानव कल्याण र अहिंसाका प्रणेता गौतमबुद्धप्रति सम्मानसमेत व्यक्त गरेका छन् । सिङ्गो विश्व कोरोना भाइरसको सङ्क्रमण र महामारीबाट प्रभावित नभएको भए अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको भव्य आयोजना गरिरहेका हुने थियो भन्दै प्रधानमन्त्री ओलीले त्यस अवसर र सफलताबाट हामी बञ्चित हुनुपरेको उल्लेख गरेका छन् ।

“गत साल भियतनामको हनोइबाट यसको घोषणा गरेबमोजिम अन्तर्रा्ष्ट्रिय वैशाख दिवसको तयारीमा लागिरहेका हुनेथियौँ । नेपाल भ्रमण वर्ष २०२० को एउटा महत्वपूर्ण कार्यक्रमका रूपमा लुम्बिनी चहलपहलमय हुने थियो”, उनले सन्देशमा भने , “भैरहवाको नयाँ अन्तर्राष्ट्रिय एयरपोर्टमा कतिपय चार्टर्ड फ्लाइट अवतरण भइरहेका हुने थिए । बुद्धजयन्तीसँगै आयोजना हुने विभिन्न अन्तर्रा्ष्ट्रिय कार्यक्रमले विश्व समुदायमाझ लुम्बिनी र नेपालको विशेष ध्यान खिचिएको अवस्था हुने थियो ।”

लुम्बिनी विश्व शान्ति शहरको परिकल्पनालाई साकार रूप दिन सार्थक प्रयास जारी रहेको उल्लेख गर्दै सन्देशमा भनिएको छ, “हामीले आकर्षक पूर्वाधार विकासको माध्यमबाट संसारभरिका बुद्धमार्गीसँगै पर्यटकको आकर्षणको केन्द्रका रूपमा लुम्बिनीको विकासमा उच्च महत्व दिइरहेका छौँ ।”

प्रधानमन्त्री ओलीले लुम्बिनी सिद्धार्थ गौतमबुद्धको जन्मस्थलसँगै बुद्ध दर्शनको उद्गमस्थल रहेकाले विश्वको ध्यान जानु जरुरी रहेको बताउँदै सिद्धार्थ गौतमको योगदान, बुद्ध दर्शनको महत्व र यसले विश्व शान्तिमा पु¥याएको योगदानलाई मनन गरी सन् १९९९ मा यस दिनलाई संयुक्त राष्ट्रसङ्घले अन्तर्रा्ष्ट्रिय वैशाख दिवस (द डे अफ भेसाक) का रूपमा मनाउने घोषणा गरेको उल्लेख गरे ।

उनले यस वर्षको बुद्धजयन्ती राष्ट्रव्यापी लकडाउन भइरहेको र अन्तर्रा्ष्ट्रिय उडान आवागमनसमेत रोकिएको बन्दप्रायः अवस्थामा मनाउनुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको बताए । ––रासस

मन्त्रिपरिषद् निर्णय : लकडाउन कायम रहे पनि विकास निर्माणका काम अघि बढ्ने

मन्त्रिपरिषद् निर्णय 

काठमाडौं,मे ६

सरकारले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्नका लागि आगामी जेठ ५ गतेसम्म लकडाउनलाई कायम गरेपनि विकास निर्माणका काम खुल्ला गर्ने निर्णय गरेको छ । बालुवाटारमा बुधबार आज बसेको मन्त्रिपरिषद्को बैठकका बारेमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सरकारले गरेको निर्णयका बारेमा जानकारी दिँदै अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले सो जानकारी दिए । सरकारले कोरोना भाइरस फैलिने सम्भावना देखिएकाले आगामी जेठ ५ गते सोमबार मध्यरातिसम्म लागू हुने गरी लकडाउन कायम गर्ने निर्णयसमेत गरेको छ ।

सरकारले कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहन छिमेकी मित्र राष्ट्रहरु र अन्य राष्ट्रहरुले चालेको कदमको अनुभवबाट सिक्दै सबैलाई सुरक्षित राख्न अन्तराष्ट्रिय नाका, खुल्ला सिमाना र अन्तराष्ट्रिय उडान आगामी जेठ १८ गते आइतबार मध्यरातिसम्म यात्रुको आवागमन स्थगित गर्ने निर्णय गरेको छ । घोषित लकडाउन उल्लंघन गर्नेलाई कानूनबमोजिम कारबाही गर्ने समेत निर्णय भएको छ ।

बैठकले नेपाली जनताको जीवन रक्षाका लागि गरिएको लकडाउनको पालना गर्ने सबै नेपालीलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि त्यसको पालना गर्न अनुरोध गरेको छ । सरकारले लकडाउनका अवधिमा औषधि, स्वास्थ्य सामाग्रीजस्ता अतिआवश्यक बस्तुको उत्पादन तथा विक्रीवितरण, खाद्य, कृषिजन्य, पशुजन्य उत्पादन तथा विक्रीवितरण, औद्योगिक बस्तुको उत्पादन तथा विक्रीवितरण गर्न भने दिने भएको छ ।

साथै, विकास आयोजनाको सञ्चालनका लागि आवश्यक पर्ने ढुङगा, गिटी र बालुवालगायतको निर्माण सामाग्रीको ढुवानी र न्यूनतम बैङ्किङ तथा वित्तीय संस्था सञ्चालन गर्न केन्द्रीय कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर र प्रदेशस्तरीय कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरसँग आवश्यक समन्वय गरी सम्बन्धित जिल्लाको कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरले संक्रमणको जोखिमको अवस्थाको मुल्याङन गरी, स्वास्थ्य सुरक्षाको पालना गरी सामाजिक दुरी कायम गरी निम्न कार्यहरु गर्न दिने निर्णय गरेको हो । सरकारले सञ्चालन गर्न अनुमति दिएका क्षेत्रहरु निम्न छन् :

कृषि तथा पशुपन्छीसम्बन्धी :

सरकारले खाद्य बस्तु र बाली लगाउने, पाकेको बाली भित्र्याउने कार्य, पशुपन्छीपालन, माछा, कुखुरापालन र विक्रीविरतण, फलफूल तरकारी उत्पादन तथा विक्री विरतण, दुग्धजन्य बस्तुको उत्पादन, संकलन, भण्डारण र विक्रीवितरण, नर्सरीबाट बिरुवा उत्पादन, घाँस तथा दाना उत्पादन र विक्रीविरतण, कृषि बीउविजन उत्पादन, भण्डारण र विक्री वितरण गर्न पाउने व्यवस्था गरेको छ ।

स्वास्थ्यसम्बन्धी :

सरकारी तथा निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य संस्थाहरु अस्पताल, नर्सिङ होम, पोलिक्लिनिक, ल्याव, डायग्नेस्टिक सेन्टर, सबैप्रकारका खोप, अक्सीजनको उत्पादन तथा विक्रीवितरण, औषधि पसल, आयुवेर्दिक र होमियोप्याथिक सञ्चालन, एग्रोभेट र भेटेनरी सञ्चालन खोल्न अनुमति दिने निर्णय गरेको छ । त्यसैगरी, जनक शिक्षासामाग्री केन्द्र लिमिटेडबाट पाठ्यपुस्तक विक्रीवितरण गर्न अनुमति लिएका पुस्तक पसलहरु खोल्ने दिने निर्णय भएको छ ।

ढुवानी सेवा :

सरकारले भन्सार बिन्दु र उद्योग व्यवसायीले निसंक्रमित गरी सञ्चालकले सञ्चालन गर्नुपर्ने निर्णय गरेको छ । कृषि तथा पशुपन्छीजन्य, स्वास्थ्य सेवासँग सम्बन्धि ढुवानी साधन, भन्सारबाट जाँचपास भई आएका उद्योग मालसामान बोक्न अनुमति दिइएको छ ।

त्यस्तै, पानी, ग्यास, पेट्रोलियम पदार्थ, औधोगिक कच्चा पदार्थ र तयारी मालवस्तु, विकास आयोजनामा प्रयोग हुने उपकारण लाने र ल्याउने, कृषि सामाग्री एव्म प्राङ्गारिक मल बोकेका साधन, एम्बुलेन्स सेवा, जनक शिक्षा सामाग्रीले अनुमति दिएका विद्यालयका पाठ्यपुस्तक ढुवानी गर्ने अनुमित दिइएको छ ।

उपत्यका प्रवेश गर्ने मालबाहक सवारीमा यात्रु राख्न नपाइने :

सरकारले काठमाडौँ उपत्यका प्रवेश गर्ने मालबाहक सवारीमा यात्रु राख्न नपाउने निर्र्णय गरेको छ । प्रवेश बिन्दुमा त्यस्ता सवारी साधन चालकको नाम, सहयोगीको नाम, जन्म मिति, काठमाडौ प्रवेश गरेको मिति र फर्केको तथ्याङ्क राख्ने र फर्कदा त्यही व्यक्तिहरु भए नभएको जाँच गर्ने, झुटा विवरण दिई यात्रा गरेको पाइएमा कानून बमोजिम कारबाही गर्ने निर्णय गरेको छ ।

अनधिकृत व्यक्ति मालबाहक सवारीमा काठमाडौँ प्रवेश गर्न नपाउन भनेर सरकारले उक्त निर्णय गरेको हो । एम्बुलेन्स दुरुपयोग गर्ने व्यक्तिलाई पनि कारबाही गर्ने निर्णय भएको छ । अतिआवश्यक कामका लागि दिने सवारी पास न्यूनतम संख्यामा जारी गर्न सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय भएको छ ।

विकास/आयोजनासम्बन्धी :

सरकारले राष्ट्रिय गौरवका आयोजनाहरु सरकारी तथा निजी क्षेत्रबाट सञ्चालन भएका जलविद्युत, सिञ्चाई, खानेपानी, विमानस्थल, सडक र पूल, सरकारी भवन निर्माण र सवलीकरण गर्न अनुमति दिएको छ ।

ती कार्य गर्न एकस्थानमा अधिकतम १० जनाभन्दा नबढ्ने गरी काम गराउने, दैनिक अनिवार्य स्वास्थ्य परीक्षण गर्ने, एकै ठाउँमा बस्ने व्यवस्था मिलाउने, श्रमिकलाई कार्यस्थलमै खाना खाजाको व्यवस्था मिलाउने निर्णय भएको छ । स्थानको अभाव भएमा सार्वजनिक, सरकारी र निजी विद्यालयको खाली भवन प्रयोग गर्न सकिने तर स्थानीयसँग सम्पर्क नहुने गरी सुरक्षित आवासको व्यवस्था मिलाउने, सो सम्बन्धी सम्पूर्ण व्यवस्थाको खर्च सम्बन्धित निर्माण व्यवसायीले नै मिलाउनुपर्ने निर्णय भएको छ ।

ढुङ्गा, गिटी र बालुवा उत्दान र वितरणसम्बन्धी:

सरकारले ढुङगा, गिट्टी र बालुवा उत्पादन, संकलन र विक्री वितरण गर्न पाउने निर्णय गरेको छ ।
सिमेट उद्योग सञ्चालन गर्न पाउने र आवश्यक सामाग्री उत्पादन गर्न दिने, नदी नियन्त्रणसँग सम्बन्धित कार्य गर्न सकिने र आवासस्थलदेखि निर्माणस्थलसम्म आवतजावत गर्न सुरक्षित तरिकाले श्रमिकलाई आवतजावत गर्ने व्यवस्था उद्योग सञ्चालकले मिलाउनुपर्ने छ ।

सार्वजनिक सेवासम्बन्धी :

सरकारले बैक तथा वित्तीय संस्थाहरु बिमा, धितोपत्र, सरकारी संस्थामार्फत अति आवश्यक पर्ने कर्मचारीमध्ये एकतिहाई कर्मचारीबाट आलोपालो गरी सेवा सञ्चालन गर्ने र अतिआवश्यक पर्ने सेवा प्रदान गर्ने सरकारी तथा सार्वजनिक संस्थानले आवश्यक न्यूनतम कर्मचारीबाट आलोपालो प्रणालीबाट सुरक्षित रुपमा सेवा सुचारु गर्ने निर्णय गरेको छ ।
सार्वजनिक सेवा सञ्चालन गर्नका लागि काठमाडौ उपत्यकाका सम्बन्धित मन्त्रालयको सचिव वा सम्बन्धित निकायका प्रमुखबाट कूल सवारी साधनमध्ये एक चौथाईबाट नबढने गरी पासको व्यवस्था मिलाउनुपर्ने छ ।

औद्यौगिक उत्पादनसम्बन्धी :

सरकारले औद्योगिक उत्पादनमा लकडाउनको अवधिभर श्रमिकलाई छुट्टै स्थानमा राख्ने, सम्बन्धित स्थानीय तहसँग समन्वय गरी सरकारी भवनमा बस्ने व्यवस्था गनुपर्ने निर्णय गरेको छ ।

सुरक्षित आवास र खानाको व्यवस्था गर्ने, स्वास्थ्य मापदण्ड पालना गर्ने, कार्यस्थललाई अनिवार्य स्यानीटाइज गर्नुपर्ने छ । चामल, दात, पाउरोटी, पिठोलगायतका खाद्य सामाग्री र सिमेट उद्योग सञ्चालन गर्ने निर्णय भएको छ ।

साना तथा घरेलु उद्योग, निर्माणजन्य उद्योग, विशेष आर्थिक क्षेत्रमा सञ्चालित विकाससम्बन्धी, सिमेन्ट उद्योग खोल्ने दिने, बढीमा पाँचजना मानिस कामदार रहने गरी सवारी साधन मर्मत गर्ने वर्क सप, ईन्टरनेट सेवा र इलेक्ट्रोनिक सेवा सञ्चान गर्न दिने निर्णय भएको छ ।

राजमार्ग होटल र रेष्टुराँ खोल्न दिने:

सरकारले ढुवानी साधनका चालक तथा अतिआवश्यकीय काममा हिँड्ने व्यक्तिलाई खानका लागि राजमार्गमा होटल र रेष्टुरेन्ट खोल्न दिने निर्णय गरेको छ । त्यसका लागि स्थानीय प्रशासनले राजमार्ग र सहायक राजमार्गमा कम्तीमा ५० किमिको दुरीमा स्थानीय तहले तोकेको स्थानमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वीकृत गरेको मापदण्ड अवलम्बन गर्नुपर्नेछ । तोकिएबमोजिम सवारी चालकले सवारी साधन मर्मत गर्ने वर्कसप, पेट्रोल पम्पमा रोक्न र होटलबाट खानाको प्याकेट लिन सक्ने गरी निर्धा्रित समय र स्थानमा रोक्न पाउने निर्णय भएको छ ।

देशभरका स्थानीय प्रशासनले आवागमन सहजीकरण गर्ने व्यवस्था मिलाउने, सामाजिक दूरी कायम गर्ने, एक स्थानमा पाँचजना भन्दा बढी रहेर काम नगर्ने निर्णय भएको छ । बैठकले प्रतिनिधिसभा, राष्ट्रियसभा र संसदीय समितिका बैठकहरु स्वास्थ्यको मापदण्डहरु पूरा गरी सञ्चालन गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ ।

पूर्णरुपमा बन्द रहने स्थलहरु:

सरकारले विश्वविद्यालय, क्याम्पसलगायत सबै शैक्षिक संस्था, तालिम तथा प्रशिक्षण केन्द्र, गैरखाद्यवस्तु विक्री विरतण गर्ने व्यवसायिक मलहरु, होटल, बार, रेष्टुरन्ट स्टोर, सिनेमा हल, धार्मिक संस्था, फन पार्क, पार्टी प्यालेस, सार्वजनिक भेला, रंगशाला, जिमसेन्टर, ब्युटी पार्लर सञ्चालन गर्न नपाइने निर्णय गरेको छ । स्थानीय प्रशासनबाट पास बिना सवारी साधन चलाउने नपाउने व्यवथा समेत सरकारले गरेको छ ।

त्यस्तै, १२ वर्षमुनिका बालबालिका, ७० वर्ष पुगेका ज्येष्ठ नागरिक, गर्भवती महिलाले घुमघाम गर्न पाउने छैनन् । आन्तरिक तथा अन्तराष्ट्रिय व्यवसायिक यात्रुवाहक हवाई उडान गर्न पाईने छैन । केवलकार र रेलसेवा सञ्चालनमा पनि रोक लगाइएको छ ।

नेपालको कुनै पनि भूभागमा संक्रमणको जोखिम बढी देखिएमा माथि उल्लेख गरिएका व्यवस्थाहरु स्थानीय प्रशासनले निश्चित अवधिसम्म सञ्चालनमा रोक लगाउन सक्नेछ ।–––रासस

महाराष्ट्र सरकारले उपचारका लागि केन्द्र सरकारसँग अपिल गयो

मुम्बई, मे ६

भारतको महाराष्ट्र सरकारले कोभिड १९ संक्रमणको उपचारका लागि अस्पतालहरु उपलब्ध गराइदिन भारतका केन्द्र सरकारलाई अपिल गरेको छ । महाराष्ट्रमा कोभिड १९ का विरामी बढ्दै गएपछि उनीहरुको उपचारका लागि आफ्नो राज्यमा रहेका अस्पतालहरु पर्याप्त नभएको भन्दै सो अपिल गरेको हो ।

महाराष्ट्र राज्यका मुख्यमन्त्री उद्धव ठाकरेको कार्यालयबाट बुधबार बिहान जारी भएको अपिलमा भारतको केन्द्रीय सरकारको मातहतमा रहेका स्वास्थ्य संस्था तथा अस्पताललाई उपलब्ध गराइदिन भनिएको छ ।

यसका लागि भारतको केन्द्र सरकारका विभिन्न निकाय तथा विभागहरुलाई आग्रह गरिएको छ । ती विभागहरुलाई आफ्नो राज्यमा विरामीहरुको संख्या अकल्पनीय रुपमा बढ्दै गएको र भोलिका दिनमा उपचारका लागि स्वास्थ्य संस्थाहरु नै उपलब्ध हुन सक्ने अवस्था पनि नरहन सक्ने भन्दै सो अपिल गरिएको बताइएको छ ।

यही मे महिनाभित्रै महाराष्ट्रमा अतिरिक्त आइसियु कक्षका साथै औषधि तथा स्वास्थ्यकर्मीहरुको संख्यामा पनि बृद्धि गर्नुपर्ने अवस्था रहेको सो अपिलमा भनिएको छ ।
यस राज्यमा भारतका अन्य राज्यको तुलनामा सबैभन्दा धेरै संक्रमित रहेका छन् । यहाँ दिन प्रतिदिन कोरोनाका संक्रमित थपिँदै गएका छन् । –एएनआई/रासस

बेलायतमा कोरोनाबाट युरोपकै धेरै नागरिकको मृत्यु

लण्डन,मे ६

कोरोना भाइरस कोभिड १९ बाट बेलायतमा युरोपका अरु देशको तुलनामा सबैभन्दा धेरैको ज्यान गएको बताइएको छ । बेलायतमा यस संक्रमणबाट मृत्यु हुनेको संख्या यूरोपका अन्य राष्ट्रभन्दा बढी देखिएको छ । बेलायतको सरकारी निकायको तथ्यांकअनुसार बेलायतमा बुधबार बिहानसम्म कोभिड–१९ को संक्रमणले २९ हजार ४२७ जनाको मृत्यु भएको छ ।

यो युरोपमा अहिलेसम्म सबैभन्दा धेरैको ज्यान गएको हो । बेलायत सबैभन्दा धेरै ज्यान गएको इटालीभन्दा पनि अघि बढेको छ । इटालीमा यस प्रकोपबाट ज्यान जानेको संख्या २९ हजार ३०० रहेको छ । बुधबार दैनिक पत्रकार भेटघाटका क्रममा यहाँका विदेशमन्त्री डोमिनिक राबले बेलायतले छोटो अवधिमा यति धेरै संख्यामा बेलायती नागरिकको मृत्यु होला भन्ने नसोचेको बताएका थिए । उनले आफूले आफ्नो देशको इतिहासमा यति धेरै व्यक्तिको मृत्यु हुने घटना कहिल्यै नदेखेको प्रतिक्रिया पनि दिए ।

बेलायतमा विश्वका अन्य राष्ट्रहरुको अपेक्षा कोभिड–१९ संक्रमितको मृत्युदर पनि बढी छ । इटालीमा कोभिड–१९ को संक्रमणले हालसम्म २९ हजार ३१५ जनाको मृत्यु भएको हो । जुन बेलायतभन्दा कम छ । तर इटालीभन्दा बेलायतमा संक्रमण दर र मृत्यु दर पनि बढी रहेको देखिएको छ ।

बेलायतमा परीक्षण दर पनि कम रहेको बताइएको छ । बेलायतमा बुधबार सम्म १३ लाख ८३ हजार ८४२ जनामा कोरोना भाइरसको परीक्षण गरिएको छ । बुधबार बिहानसम्म बेलायतमा कोरोना भाइरसको संक्रमितको संख्या एक लाख ९६ हजार पुगेको देखिएको छ । यसरी हेर्दा बेलायत विश्वमा कारोनाबाट सबैभन्दा धेरै नागरिकको ज्यान जाने देश अमेरिकापछिको दोस्रोमा रहेको पाइएको छ ।––रासस

नेकपा सचिवालय बैठक बिना निष्कर्ष टुगिंयो : अध्यक्षद्वयको सल्लाहमा स्थायी कमिटी बैठकको टुङ्गो

काठमाडौं,मे ६

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले पार्टीको स्थायी कमिटी बैठक र त्यसको कार्यसूची तय गर्ने जिम्मा अध्यक्षद्वयलाई दिएको छ । स्थायी कमिटीका २० सदस्यले बैठक बोलाउन माग गरेपछि यसअघि बसेको सचिवालय बैठकले बिहीबारका लागि स्थायी कमिटी बैठक बोलाएको थियो । उक्त बैठकको कार्यसूचीलगायत आवश्यक तयारीका लागि बुधबार सचिवालय बैठक बसेको थियो । आवश्यक तयारी नपुगेपछि बैठक भोलि नै बस्ने या अर्काे दिनलाई सार्ने भन्ने कुरा निश्चित हुन सकेन ।

त्यसो हुँदा बुधबारको बैठक विना निष्कर्ष टुंगिएको छ । बिहीबार बस्ने भनिएको स्थायी कमिटि बैठकका एजेण्डा तयार पार्न बसेको सचिवालय बैठक विना निष्कर्ष टुंगिएको हो । सचिवालय बैठकले कुनै निर्णय गर्न नसक्दा बिहीबार बस्ने भनिएको स्थायी कमिटि बैठक समेत अनिश्चित बनेको छ ।

सचिवालयको वैशाख २० गतेको निष्कर्षको मर्मअनुरुप उक्त बैठकको कार्यसूची र प्रस्ताव तयार पार्ने प्रक्रियाका सम्बन्धमा दुई अध्यक्षद्वयले अझै गृहकार्य गर्न बाँकी रहेको बैठकलाई जानकारी गराउनुभएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । प्रवक्ता श्रेष्ठले बैठकपछि पत्रकारसँग भने, “अहिले पनि अध्यक्षद्वय छलफलमै हुनुहुन्छ, दुई जनाले सल्लाह गरेर स्थायी कमिटी बैठक र त्यसको कार्यसूचीका बारेमा निर्णय गर्नुहुने भएको छ ।”

पत्रकारले सोधेको अर्काे जिज्ञासामा उनले प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली आफ्नो व्यस्तता र शारीरिक कारणले बैठकमा पूरा समय दिन नसक्ने जानकारी गराएर बैठकबाट निस्कनुभएको तर अन्यथा केही नभएको प्रष्ट्याए । अध्यक्षद्वयबीच छलफल जारी रहेको समेत उनले जानकारी गराए । ––रासस

लकडाउन लम्बिने उच्चस्तरीय समन्वय समितिको संकेत

काठमाडौं,मे ५

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समन्वय समितिले लक डाउनको अवधि थपिन सक्ने संकेत गरेको छ । मंगलबार बालुवाटारमा बसेको समन्वय समिति बैठकले कति दिन लक डाउन बढाउने भन्ने निर्णय नगरेपनि बढ्न सक्ने संकेत गरेको हो । अहिलेसम्म सरकारले लिएका नीतिले संक्रमण रोकथाममा सफलता प्राप्त भएको निष्कर्ष बैठकले निकालेको छ ।

बैठकपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव नारायणप्रसाद विडारीले आर्थिक, सामाजिक, स्वास्थ्य सुरक्षा र नागरिकको जनजीवनका सवालमा सरकारी निर्णयहरु सहि रहेको निष्कर्ष बैठकले निकालेको बताए । लक डाउन कति समय थप हुन्छ भन्ने विषयमा केही नभनेपनि उनले ‘लक डाउन लम्बिन सक्छ’ भन्ने संकेत दिए ।

नागरिकको जिउज्यानको सुरक्षा गरी संक्रमणलाई नियन्त्रणमा राख्न सफल भएको निष्कर्ष बैठकले निकाल्दै यसलाई अझै निरन्तरता दिनुपर्ने विषयमा छलफल भएको उनले बताए । मन्त्रिपरिषद् बैठकमा लक डाउनका विषयमा थप छलफल हुने उल्लेख गर्दै उनले भने,‘‘अहिले अख्तियार गरिएका नीति कोरोना रोग र यसको संक्रमण तथा रोकथामका लागि भएका सबै प्रयास र संक्रमणको अवस्थाका विषयमा छलफल भएको छ । लक डाउनका कारण नागरिकको जिउज्यानको सुरक्षा गरी संक्रमणलाई नियन्त्रणमा राख्न सफल भएका छौँ भन्ने निष्कर्ष बेठकले निकालेको छ । यसको विषयमा मन्त्रिपरिषद्ले निर्णय गर्नेछ ।’’

प्रधानमन्त्री केपी शर्मा ओली समेतको सहभागितामा समन्वय समितिको बैठक बसेको हो ।

विश्व एकजुट भए कोरोनाविरुद्धको लडाइँ जित्न सकिन्छ : प्रधानमन्त्री ओली

नामको अनलाइन सम्मेलन

काठमाडौं,मे ४

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व विभाजित भए कोरोना भाइरसले पराजित गर्ने र एकजुट भएमा कोरोनाविरुद्धको लडाइँ जित्न सकिने बताएका छन् । सिंहदरबारस्थित एक्सन कक्षबाट असंलग्न आन्दोलन (नाम) को सम्पर्क समूहको अनलाइन शिखर सम्मेलनमा सहभागी भई नेपालका तर्फबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भाइरसलाई पराजित गर्नुबाहेक हामीसँग अरू कुनै विकल्प नभएको स्पष्ट पारे ।

उनले यस संकटको घडीमा असंलग्न राष्ट्रहरु एकताबद्ध हुनुर्ने र कोभिड–१९ लाई पराजित गर्न तथा शान्ति, स्थायित्व र समृद्धिको साझा आकांक्षा प्राप्तिमा सहयोग पु¥याउन बहुपक्षीयता र विश्वव्यापी सहयोगलाई समर्थन गर्नुपर्नेमा जोड दिए । कोभिड –१९ विरुद्ध एकताको विषय दिइएको सो सम्मेलनमा प्रस्ताव गरिएको कोरोनाविरुद्ध असंलग्न राष्ट्रका आवश्यकता समावेश गरी तथ्याङ्कीय आधार निर्माण गर्न असंलग्न राष्ट्रहरुको कार्यटोली गठनको प्रस्तावलाई समर्थन गर्दै प्रधानमन्त्री ओलीले असंलग्न आन्दोलनले सदस्य मुलुकका सहयोगी कार्यमा समन्वय गर्न र विश्वव्यापी ऐक्यबद्धताको भावनानुरूप विश्वभरिका गरीब तथा अति जोखिमयुक्त जनसंख्याको आवाजलाई एकीकृत पार्न आह्वान गरे ।

विश्व सामान्य अवस्थामा फर्किने विषय सुनिश्चित गर्न असंलग्न्न राष्ट्रहरुले आफ्नो भूमिका निर्वाह गर्नुपर्छ भन्दै उहाँले विश्वव्यापी एकतालाई सुढृढ गर्न अनुभवको साटासाट एवं प्रविधि, औषधिजन्य सामग्री तथा उपकरणको आदानप्रदानको माध्यमबाट दक्षिण दक्षिण सहयोगलाई अभिवृद्धि गर्न आग्रह गरे । सम्भावित आर्थिक मन्दीलाई सम्बोधन गर्न अन्तरराष्ट्रिय समुदायलाई एक बलियो पुनःस्थापना प्याकेज प्रदान गर्ने कार्यमा असंलग्न राष्ट्रलाई सहकार्य र वकालत गर्न प्रस्ताव गर्दै प्रधानमन्त्री ओलीले विशेषतः अतिकम विकसित, भूपरिवेष्ठित तथा साना विकासोन्मुख टापु राष्ट्रमा यसका प्रभाव असीमित भएकाले यो संकटले विकासोन्मुख राष्ट्रप्रतिको विद्यमान प्रतिबद्धताबाट पछि हट्ने बहाना कदापि प्रदान गर्न नहुने विचार राखे ।

विश्वका १२० मुलुक आबद्ध नामले क्षेत्रीय पहलहरुलाई विश्वव्यापी प्रयासको स्तम्भका रुपमा गरीबी, अस्वस्थता र अल्पविकसित अवस्थाविरुद्धको लडाइँमा सिङ्गो मानव समुदाय एकै स्थानमा उभाउनुपर्नेमा जोड दिँदै उनले यो विद्रोह तथा लडाइँमा संलग्न हुने समय होइन भन्नुभयो । उहाँले संयुक्त राष्ट्र सङ्घका महासचिवद्वारा विश्वव्यापी युद्धविरामका लागि गरिएको अनुरोधलाई नेपाल समर्थन गर्ने पनि स्पष्ट गरे ।

“यो महामारीले हाम्रो जीवनकालमा नभोगेको तहमा संसारलाई हल्लाएको छ । साथै, यसले हाम्रो भाग्य एकापसमा कसरी जोडिएको छ भन्ने तथ्यलाई पनि स्मरण गराएको छ । अहिले मानवता जोखिममा छ ”, प्रधानमन्त्री ओलीले भने ।

झण्डै दुई लाख पचास हजार जनाको मृत्यु भइसकेको र हाम्रा स्वास्थ्य सुविधामा थामिनसक्नु बोझ बढेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यस भाइरसले हाम्रो क्षमताको परीक्षण गरेको र हाम्रो निरीहता उदाङ्गो तुल्याएको पनि उल्लेख गरे ।

कोरोना संकटका कारण रोजगारी गुमेको, शैक्षिक प्रणाली भत्केको र लाखौंँ मानिस गरीबीमा धकेलिंँदै गएकाले दिगो विकासका लक्ष्य हासिल गर्ने कार्य झन् कठिन बन्दै गएको जनाउँदै प्रधानमन्त्री ओलीले भने,“अहिले हामी साझा तर अदृश्य शत्रुसँग लडिरहेका छौंँ । यस्तो अवस्थामा, मानव जीवनको रक्षा गर्नु र मानवताको संरक्षण गर्नुभन्दा महत्वपूर्ण अर्को काम केही हुँदैन । यो सरकारहरुको सर्वोच्च कर्तव्य पनि हो ।”

आर्थिक क्षतिको पुनस्थापन गर्न सकिने, प्रविधि नयाँ आविष्कार गर्न सकिने तथा समृद्ध समाज निर्माण गर्न सकिने तर खेर गएको अमूल्य मानव जीवनलाई पुनःप्राप्ति गर्न सकिन्न बताउँदै उहाँले मानवता जोगाउने विषय पहिलो प्राथमिकतामा पर्नुपर्नेमा जोड दिए । उनले नेपालले आफ्नो क्षमताभित्रका सबै राजनीतिक, आर्थिक, मानवीय र प्राविधिक स्रोत भाइरस संक्रमण विस्तार हुन नदिनमा लगाएको अवगत गराए । “हाम्रो मुख्य जोड महामारीको रोकथाम र शमन गर्नेतर्फ छ । हामीले संघीय, प्रदेश र स्थानीय तहका सबै स्रोत र राज्य संयन्त्र यो संकटलाई संगतिपूर्ण रूपमा व्यवस्थापन र सम्बोधन गर्नमा परिचालन गरेका छौंँ ।”

प्रधानमन्त्रीले नेपालको अनुभव विश्व समुदायलाई सुनाउँदै भन्नुभयो, “हाम्रा स्वास्थ्य सुविधाको स्तरोन्नति गरेका छौंँ, स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहित तुल्याएका छौंँ र सबैको पहुँचमा स्वास्थ्य सेवा सुनिश्चित गरेका छौंँ । क्वारेन्टाइन र अलग्गै बस्नका लागि आवश्यक पूर्वाधार निर्माण गरेका छौंँ । अन्तराराष्ट्रय हवाइ उडान स्थगन, सीमापार आवतजावत नियन्त्रणजस्ता अस्थायी कदमहरु समेत लागू गरेका छौंँ ।”

कोरोनाविरुद्धको सामूहिक लडाइँका लागि सम्पर्क समूह स्थापनामा अध्यक्ष इल्हम अलियेबले गर्नुभएको पहललाई नेपालका तर्फबाट स्वागत गर्दै प्रधानमन्त्री ओलीले नामका सदस्य राष्ट्र सबैलाई एक ठाउँमा ल्याउन गर्नुभएको पहलका लागि उहाँलाई धन्यवाद दिएका थिए ।

सम्मेलनको उद्घाटन अजरबैजानका राष्ट्रपति एवं नामका अध्यक्ष अलियेभले गरेका थिए । संवादमा विश्वव्यापी महामारी कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि जारी पहल र विश्व समुदायको साझा दायित्व तथा नामको भूमिकाबारे विचारविमर्श भएको थियो ।

सो अवसरमा प्रधानमन्त्रीका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उनका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमालसहित उच्चपदस्थ अधिकारी सहभागी भएका थिए । नाम विश्वका कुनै पनि शक्ति पक्षसँग संलग्न नभएका १२० मुलुकको साझा मञ्च हो । संयुक्त राष्ट्र सङ्घपछि विश्वमा यो दोस्रो ठूलो राष्ट्रहरुको मञ्च मानिन्छ । यसको स्थापना सन् १९६१ मा भएको थियो ।––रासस

Nepal news headlines | breaking news kathmandu | national news of nepal live