BUSINESS NEWS

डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर १० ले घट्यो

काठमाडौं,अप्रिल १

नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टीतेलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १०रुपैयाका दरले घटाएको छ । अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै निगमले पनि इन्धनको मूल्य घटाएको हो ।घटेको मूल्य बुधबार राति १२ः०० बजेदेखि लागू हुनेछ ।

निगमले डिजेल तथा मट्टीतेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर ८५ र पेट्रोलको बिक्री मूल्य प्रतिलिटर ९६ रुपैया तोकेको छ । हवाई इन्धन (आन्तरिक उडानतर्फ) प्रतिलिटर रु १५ ले मूल्य समायोजन गरिएको छ । निगमले आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर रु ७५ तोकेको छ ।

यस्तै बाह्य उडानतर्फ हवाई इन्धनको मूल्य ०.९५ अमेरिकी डलर तोकिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । एलपी ग्यासको मूल्य हाललाई यथावत राखिएको छ ।

नेपाल ग्याँसको ६ स्थानबाट सिलिण्डर वितरण तयारी

काठमाडौं,मार्च ३१

कोरोना भाइरस संक्रमणलाई ध्यानमा राखी नेपाल ग्यास उद्योगले बुधबारदेखि ६ स्थानबाट ग्यास वितरण थालेको छ । नेपाल ग्यासको अभाव धेरै भएको गुनासो आएपछि उपभोक्ताको गुनासो सम्बोधन गर्दै बालाजु औद्योगिक क्षेत्रबाहेक नयाँ क्षेत्रमा ग्यास वितरणको तयारी भएको कम्पनीले जनाएको छ ।

नेपाल ग्यास कम्पनीका कार्यकारी निर्देशक गोकुल भण्डारीले उपभोक्ताको गुनासोलाइ मध्यनजर गर्दै अनुसार अतिरिक्त रुपमा आधा दर्जन स्थानमा तीन दिनसम्म ग्याँस वितरण गर्न लागिएको बताए । उनका अनुसार काठमाडौँ उपत्यकाका ६ स्थानमा मिलाएर तीन दिनसम्म ग्यास वितरण गरिनेछ ।

‘यस परिस्थितिमा अति आवश्यक रहेका तथा तोकिएका बिक्री केन्द्रमा जान नसकेका उपभोक्तालाई ध्यानमा राखी हामीले ग्यास वितरण गर्न लागेका हौँ’, उनले भने । ‘तीन दिनमा दुईदुई स्थानबाट एकैचोटि ग्यास वितरण गर्नैछौँ, दुई स्थानमा हामीले ५६० वटासम्म सिलिण्डर वितरणको तयारी गरेका छौँ ।’

बुधबार बिहान १० बजे सुरक्षाकर्मीका साथमा चाबहिल चोक र बाफल चोक, बिहीबार कोटेश्वर चोक र बानियाँटार चोक तथा शुक्रबार भनिमण्डल चोक र महाराजगञ्ज चोकवाट ग्यास सिलिण्डर वितरण गरिनेछ ।––रासस

पुर्नकर्जा कोषको सीमा बढ्यो, कोरोना प्रभाव कम गर्न केन्द्रीय बैंकले ल्यायो यस्तो सुविधा

काठमाडौं,मार्च ३०

पुर्नकर्जा कोषको सीमा बढेको छ । केन्द्रीय बैंकले कोरोनाको प्रभावका कारण मुलुकको अर्थव्यवस्थामा परेको प्रभावलाई न्यूनीकरण गर्ने लक्ष्यका साथ उक्त कोषको सीमा बढाएको हो । यसअघि पुर्नकर्जा कोष ५० अर्बको रहेकामा त्यसलाई १० अर्बले बढाएर ६० अर्ब रुपैया पु¥याइएको हो ।

‘गोरखा भूकम्प’को समयमा केन्द्रीय बैंकले पुर्नकर्जा कोष स्थापना गरेको थियो । कोरोनाको संक्रमणको जोखिमका कारण मुलुकको अर्थतन्त्रमा परेको प्रभावलाई कम गर्ने लक्ष्यका साथ केन्द्रीय बैंकले केही महत्वपूर्ण निर्णय गरेको छ । कोरोनाको असर कम गर्न र संक्रमण फैलन नदिन सरकारले साताव्यापी लकडाउन गरेको छ । भारतमा २१ दिनको लकडाउन छ ।

लकडाउनका कारण उद्योग व्यवसाय तथा समग्र क्षेत्रमा नै प्रभाव परेको छ । दैनिक ज्यालादारीदेखि आमनेपालीलाई समेत त्यसले प्रभाव पारेको छ । बैंकले विश्वव्यापी रुपमा फैलिएको कोरोनाको महामारीका कारण उत्पन्न असहज परिस्थितिबाट मुलुकको पर्यटन, उद्योग, व्यापार व्यवसाय तथा वित्तीय क्षेत्रसमेत प्रभावित भएकाले केही महत्वपूर्ण निर्णय गरेको हो । बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालका अनुसार क, ख र ग वर्गका बैंकले कायम गर्नुपर्ने अनिवार्य नगद मौज्दात कूल निक्षेप दायित्वको तीन प्रतिशत कायम गरिएको छ ।

यस्तै केन्द्रीय बैंकले इजाजत प्राप्त संस्थालाई प्रचलित ऐनमा भएको व्यवस्थाअनुसार उपलब्ध गराउने कर्जाको ब्याजदर पाँच प्रतिशत कायम गरिएको छ । यही चैत महिनामा असुल गर्नुपर्ने मासिक, त्रैमासिक किस्ताको भुक्तानी २०७७ असार मसान्तसम्म हुने व्यवस्था मिलाउन बैंकले सबै बैंक तथा वित्तीय संस्थालाई अनिवार्य निर्देशन दिएको छ । सो किस्ताको हकमा कुनै किसिमको थप शुल्क वा हर्जाना लिन पाइने छैन । किस्ता असुल नभएको कारणले कर्जालाई तल्लो वर्गमा वर्गीकरण गर्न पाइने छैन ।

यही महिनामा नवीकरण गर्नुपर्ने कर्जा नवीकरण नभएको आधारमा चैत मसान्तमा सूक्ष्म निगरानी वर्गको वर्गीकरण गर्न अनिवार्य नहुने व्यवस्थासमेत गरिएको छ । यही महिनामा भुक्तानी गर्नुपर्ने अल्पकालीन प्रकृतिका कर्जाको भुक्तानी अवधि ६० दिनसम्म थप गर्नुपर्ने छ । गत पुस मसान्तसम्म ब्याज तथा साँवा भुक्तानी गरिरहेका पर्यटन तथा यातायात क्षेत्रका ऋणिले अल्पकालीन कर्जाको माग गरेमा साँवा तथा ब्याज बक्यौता रहेता पनि आवश्यकतानुसार निश्चित सीमासम्म संक्षिप्त प्रक्रिया अपनाई पाँच दिनभित्र कर्जा प्रवाह गर्नुपर्नेछ । यस्तो सीमा स्वीकृत गर्दा ०.२५ प्रतिशतभन्दा बढी शुल्क लिन पाइने छैन ।

विद्युतीय कारोबारलाई थप प्रभावकारी बनाउन र बढीभन्दा बढी सेवाग्राहीको पहुँच बढाउनका लागि सेवा शुरु गर्ने, पासवर्ड परिवर्तन गर्ने, पिन नम्बर दिने तथा अन्य सुविधाका लागि अनलाइन कारोबार गर्न आवश्यक पर्ने कार्यका लागि जोखिम व्यवस्थापन गरी ग्राहकको टेलिफोन तथा इमेलमार्फत प्राप्त भएका अनुरोधलाई तत्काल स्वीकार गरी विद्युतीय माध्यमबाट हुने कारोबारलाई प्रोत्साहित गर्नुपर्नेछ । आगामी असार मसान्तसम्म यस्तो सेवा प्रदान गर्दा कुनै पनि शुल्क लिन पाइने छैन ।

बैंक तथा वित्तीय संस्थाले सङ्घ, प्रदेशमा स्थापना भएका कोरोना सङ्क्रमण रोगथाम, नियन्त्रण र उपचार कोषमा योगदान गरेको रकम सामाजिक उत्तरदायित्व कोषमा गणना गर्न सकिनेछ । यस्तै कोरोनाका कारण वित्तीय प्रणालीमा परेको प्रभावलाई मध्यनजर गरेर चैत महिनामा पालना गर्नुपर्ने केही नियमाकीय वा सुपरीवक्षेण अनुपात अनुपालना नभए पनि कुनै हर्जाना नलाग्ने व्यवस्था गरिएको छ ।

कोरोनाका कारण प्रभावित भएका साना तथा मझौला उद्यमीलाई पुर्नकर्जा प्रदान गर्नुपर्नेछ र त्यस्तो कर्जा दिँदा त्यस्ता उद्यमीलाई प्राथमिकता दिनुपर्नेछ । त्यस्तो सुविधा चालु पूँजीकर्जाका लागिसमेत उपलब्ध गराउनुपर्नेछ । वैदेशिक रोजगारमा जान अनुमति लिई जान नपाएका व्यक्तिले सङ्क्रमणको जोखिम समाप्त भएपछि सहुलियतपूर्णक कर्जा लिई उद्योग व्यवसाय सञ्चालन गर्न निवेदन दिएको सात दिनभित्र सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने व्यवस्था अनिवार्य गरिएको कार्यकारी निर्देशक ढकालले जानकारी दिए ।

अति समस्यामा परेका ग्राहकले नेपाल ग्यास पाउने

काठमाडौं,मार्च २९

कोभिड–१९ का कारण सरकारले लगाएको लकडाउनले बजारमा ग्याँसको अभाव हुन लागेको छ । उपभोक्ताले अतिसंचिति गरेका कारण बजारमा खाना पकाउने ग्याँस अभाव हुन थालेको छ । यसैबीच उपत्यकामा धेरै उपभोक्ता रहेको नेपाल ग्यास कम्पनीले अत्यावश्यक अवस्थाका उपभोक्तालाई सोमबारदेखि बालाजुस्थित औद्योगिक क्षेत्रबाट ग्यास वितरण गरिने जनाएको छ । बिहान ९ः३० देखि अपराह्न १ः३० बजेसम्म उद्योग बाहिर औद्योगिक क्षेत्रको गेटबाट ग्यासको बिक्री वितरण गरिने कम्पनीले जनाएको छ ।

नेपाल आयल निगमले आजदेखि ७.१ किलोग्राम ग्यास भरिएको सिलिण्डरमात्र बिक्री वितरण गर्न सम्पूर्ण ग्यास बिक्रेतालाई निर्देशन दिएको छ । निगमले उद्योगीसँगको छलफलपछि आधा ग्यास (७.१ किलो) भरिएको सिलिण्डर बजारमा पठाउन निर्देशन दिएको थियो । अब उप्रान्त १४.२ किलो ग्यास भएको सिलिण्डर बिक्री वितरण गरेको पाइएमा सिलिण्डर बिक्रेता तथा वितरकमाथि कारवाही हुने निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । पूरा तौल भएको केही सिलिण्डर बिक्रेताले लुकाएको आशंका गरिएको छ ।

नेपाल आयल निगमले पछिल्लो महिनामा झण्डै ४५ हजार मेट्रिकटन ग्यास आयात गरिएको जनाएको छ । त्यसअघि उच्च माग भएको अवस्थामा पनि नेपाली बजारमा मासिक ३८ हजार मेट्रिक ग्यासको खपत हुँदै आएको थियो । ग्यासको बढ्दो अभावसँगै सरकारको निर्देशनमा ग्यास उद्योगीले ७.१ किलोग्राम ग्यास तौल भएको सिलिण्डर आइतबारदेखि बजारमा ल्याइसकेका छन् । तर पनि ग्यासको अभाव हट्न सकेको छैन ।

निगमले पूरा तौल भएको सिलिण्डरको मौज्दात रहेमा सम्बन्धित उद्योगमा फिर्ता गर्न पनि निर्देशन दिएको छ । त्यसैगरी सम्पूर्ण ग्यास बिक्रेता, वितरकले दैनिक शुरुआती मौज्दात र निजको प्राप्त भएको ग्यासको विवरण सर्वसाधारणले देख्ने गरी बिक्री स्थलमा टाँस्न पनि निगमले निर्देशन दिएको छ । ग्यास वितरणलाई पारदर्शी बनाउन सम्पूर्ण उद्योगीलाई दैनिक ग्यास बिक्री वितरणको योजना निगममा पेश गर्न पनि यसअघि नै निर्देशन दिइसकेको छ ।

कोरोना विरुद्धको लडाइमा टाटा समुहद्धारा ५०० करोड सहयोग

नयाँ दिल्ली, मार्च २९

भारतीय उद्योगपति रतन टाटाले कोरोना विरुद्ध जारी लडाइकालागि ५०० करोड रुपैयाको आर्थिक सहायता गर्ने घोषणा गरेका छन् । टाटा ट्रस्टबाट जारी विज्ञप्तिमा भारत र विश्वको वर्तमान चिन्ताजनक समयमा कोविड–१९ सँग लडनकालागि तत्काल आपतकालिन सहायताको आवश्यक्ता रहेको उल्लेख गरिएको छ ।

सबै समुदायलाइ सशक्त तथा सुरक्षित राख्ने आफ्नो प्रतिबद्धता दोहरयाउँदै ५०० करोड रुपैयाको सहयोग गर्ने वाचा गरेको विज्ञप्तिमा उल्लेख छ । सो सहयोग रकम फ्रन्टलाइनमा काम गरिरहेका स्वास्थ्यकर्मीहरुकालागि आवश्यक पर्ने चिकित्सा सामग्री,रेस्पिरेटरी सिस्टम,टेस्टिंग किटसको खरीद लगायत स्वास्थ्यकर्मीहरुको तालिममा खर्च गरिने पनि बताइएको छ ।

पेट्रोलियम पदार्थको मूल्य सस्तियो

काठमाडौं, १७ मार्च
नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको साविक खुद्रा बिक्री मूल्यमा प्रतिलिटर दुई रुपैँया घटाएको छ । आन्तरिक उडानमा प्रयोग गरिने हवाई इन्धनमा भने निगमले प्रतिलिटर चार रुपैँया ५० पैसा घटाएको छ । पेट्रयोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि अनुसार सोमबार रातिदेखि लागू हुने गरी उक्त मूल्य घटाइएको निगमद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।

निगमका अनुसार, काठमाडौँमा पेट्रोलको खुद्रा बिक्री मूल्य १०६ रुपैया प्रतिलिटर तथा डिजेल र मट्टीतेलको मूल्य ९५ रुपैया प्रतिलिटर कायम गरिएको छ । पर्यटन तथा हवाई क्षेत्रमा पर्न गएको असरलाई न्यूनीकरण गर्न देशभर आन्तरिक उडानमा प्रयोग गरिने हवाई इन्धनमा प्रतिलिटर ४ रुपैँया ५० पैसा घटाएको जनाइएको छ । निगमका अनुसार हवाई इन्धन प्रतिलिटर ९० रुपैया कायम हुनेछ ।

आवश्यक्ता भन्दा अधिक ग्याँसको संचिति नगर्न ग्याँस उद्योग संघको उपभोक्तालाइ आग्रह

बजारमा ग्याँसको अभाव छैन : संघ

काठमाडौं,१६ मार्च

नेपाल एलपी ग्यास उद्योग संघले बजारमा ग्यास अभाव नरहेको जनाएको छ । विगतभन्दा बढी मात्रामा आयात भइरहेको बताउँदै संघले अहिले बजारमा ग्यास अभाव नरहेको जनाएको हो । संघले सोमबार पत्रकार सम्मेलन गर्दै साधारण खपत भन्दा बढी ग्यास आयात भइरहेकोले अभाव नहुने बताएको हो ।

कोरोना भाइरसको प्रभाव नेपालमा पनि पर्न सक्ने त्रासले उपभोक्ताहरुले आवश्यकता भन्दा बढी ग्यास भरेर राखेकाले केही समस्या सिर्जना भएको संघले जनाएको छ । ग्यासको आयात विगतभन्दा बढी भएकाले उपभोक्ताहरुले धैर्य गरी आवश्यकता भन्दा बढी ग्यास सञ्चय नगर्न पनि आग्रह गरेको छ ।

संघका अध्यक्ष गोकुल भण्डारीले कोरोनाको प्रभाव नेपाल परेपछि के हुने हो भन्ने त्रासका कारण केही उपभोक्ताले ग्यास सञ्चय गरेको र अन्य केही उपभोक्तले तत्काल पाउन नसकेका कारण यो अवस्था आएको बताए ।

एलपी ग्यास उद्योग संघ र ग्यास विक्रेता महासंघ नेपालले संयुक्त विज्ञप्ती जारी गर्दै घरमा भएको खाली सिलिण्डरलाई मात्र ग्यास दिन र नयाँ सिलिण्डर (ग्यास सहितको सिलिण्डर) विक्रि वितरण नगर्न पनि विक्रेताहरुलाई आग्रह गरेको छ । आम उपभोक्तको हितलाई ध्यानमा राख्दै आपूर्ति व्यवस्था सहज राख्ने प्रतिवद्धता पनि उनीहरुले जनाएका छन् ।

होलीका कारण एलपी ग्यास आयात एक साता बन्द भएको थियो । फागुसँगै कोभिड –१९ को अनावश्यक हल्लाका कारण केही ढिलाए भए पनि नियमित रूपमा ग्यास आयात भएको हुँदा मौज्दात नराख्न ग्यास बिक्रेता महासङ्घका अध्यक्ष महेश्वर श्रेष्ठले आग्रह गरे ।

जनकपुर पटना चल्ने गाडी बन्द

जनकपुर, १६ मार्च

कोरोना भाइरस संक्रमणको त्रासले प्रदेश नं २ को राजधानी जनकपुरदेखि भारत विहारको राजधानी पटनासम्म चल्ने गाडी सेवा सोमबारदेखि बन्द भएको छ ।
कोरोना भाइरसले भारतमा असर देखाएको हुँदा जनकपुरबाट पटनासम्म चल्ने नेपाल–भारत मैत्री सेवा बस सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए ।

दुई वर्षअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले धनुषाको जनकपुरधामस्थित जानकी मन्दिरबाट संयुक्तरुपमा दैनिक यातायातका लागि जनकपुर पटना नेपाल–भारत मैत्री बस सेवाको उदघाटन गरेका थिए ।

स्टील उत्पादनमा तीन प्रतिशत कमी

नेपइनबिज संवाददाता,
नयाँ दिल्ली,मार्च ४

भारतमा सन् २०२० को जनवरीमा कच्चा स्टील उत्पादन कूल ९० लाख २८ हजार ८०० टनमा झरेको विश्व स्टील संघले जनाएको छ । यो अघिल्लो वर्षको जनवरीको तुलनामा ३.२६ प्रतिशतले कमी हो ।

भारतले अघिल्लो वर्षको सोही अवधिमा ९० लाख ५९ हजार १०० टन कच्चा स्टील (इस्पात) उत्पादन गरेको स्टीलको अन्तर्राष्ट्रिय निकायले सार्वजनिक गरेको पछिल्लो रिपोर्टमा उल्लेख छ ।

स्टील तथा फलामको आपूर्ति गर्ने विभिन्न ६४ मुलुक आवद्ध संघलाई उपलब्ध गराइएको तथ्यांक अनुसार सन् २०२० को सुरूको महिनामा १५ करोड ५४ लाख चार हजार टन स्टील उत्पादन भएको छ जुन अघिल्लो वर्षको जनवरीको तुलनामा २.१ प्रतिशतले बढी हो ।

विश्वको सबैभन्दा बढी स्टील उत्पादक मुलुक चीनमा उक्त अवधिमा स्टीलको उत्पादनमा भने वृद्धि देखिएको छ । अमेरिका–चीन व्यापार विवादबीच पनि चीनले गत वर्ष आठ करोड ४० लाख तीन हजार टन स्टील उत्पादन गरेको छ । यो अघिल्लो वर्षको जनवरीको तुलनामा ७.२ प्रतिशतको वृद्धि हो ।

यो समयमा जापानले ८० लाख २० हजार टन उत्पादन गरेको छ । अघिल्लो वर्षको तुलनामा यो १.३ प्रतिशतले वृद्धि हो । त्यसैगरी अर्को एशियाली मुलुक दक्षिण कोरियाले उक्त अवधिमा ५० लाख ८० हजार टन स्टील उत्पादन गरेको छ । यो अघिल्लो वर्षभन्दा आठ प्रतिशत कम उत्पादन हो ।

वर्ल्ड स्टीलमा आवद्ध सदस्य राष्ट्रहरूका १६० कम्पनी र विश्वका ठूला १० स्टील कम्पनीमध्ये नौ स्टील कम्पनी आवद्ध यस संघमा राष्ट्रिय तथा क्षेत्रीय स्टील संघ तथा स्टीलबारे अनुसन्धान गर्ने संस्थाहरू जोडिएका छन् ।

नेपाल र भारतका सीमा स्तम्भ स्तरोन्नति गरिँदै

कैलाली, मार्च ४

कैलालीमा नेपाल र भारतसँग सीमा जोडिएका सीमा स्तम्भको स्तरोन्नति कार्य शुरु भएको छ । नेपाल–भारत संयुक्त सीमा सर्भे टोलीले सीमा क्षेत्रका स्तम्भको स्तरोन्नति कार्य सुरु गरेको हो ।

सीमा स्तम्भ मर्मतका लागि नेपाली टोलीमा सर्वेक्षण टोली नं ४ का नापीप्रमुख सुदर्शन सिंह धामीको नेतृत्वमा छ जनाको टोलीले काम शुरु गरेको छ । उता भारततर्फ भारतीय टोलीका सर्भेयर नेत्र सिंह सहितको टोलीले संयुक्त रुपमा काम थालेको छ ।

सीमा स्तम्भ स्तरोन्नतिका लागि कैलालीको भजनी नगरपालिकाअन्तर्गत ७०९ मुख्य पिलरका सहायक पिल्लर १, २, ३, ४, ५, ६, ७ र ८ नं र टीकापुर नगरपालिकाअन्तर्गत ७०३ मुख्य पिलरका सहायक पिल्लर १, २, ३ र ४ को स्तरोन्नति भइरहेको नापी प्रमुख सुदर्शन सिंह धामीले बताए ।

‘बिजोर पिल्लर हामीले बनाइरहेका छौँ, जोर पिल्लर भारतले बनाउने गरेको छ’, नापीप्रमुख धामीले भने,‘नेपालले बनाउने पिल्लर स्तरोन्नतिको खर्च नेपालले र भारतले बनाउने पिल्लरको स्तरोन्नतिको खर्च भारतले नै गर्ने गरेको छ ।’ ‘हामीले संयुक्त सर्वेक्षण गरेर काम गरिरहेका छौँ’, धामीले भने ‘असमान खालका पिलर पनि समान बनाउन थालेका छौँ । आगामी जेठ सम्म काम सक्ने योजना छ ।’

उनले पुराना पिलर साना आकारका भएकाले बर्खामा बाढी र कटानले हराउने समस्या हुन थालेपछि स्तरोन्नति आवश्यक भएको बताए । स्तम्भ सुरक्षित भएमा सीमामा प्रहरीलाई सुरक्षा गर्न सहज हुने धामीले बताए ।

नापी टोलीले नदीमा रहेका पिल्लर भने अहिले मर्मत नगर्ने भएको छ । नेपाल–भारतका १३ सीमा स्तम्भ कर्णाली र मोहना नदीको कटानमा परेका छन्। टीकापुर नगरपालिकाअन्तर्गत पर्ने नेपाल–भारत सीमा क्षेत्रका १३ सीमा स्तम्भ(पिलर )हरु कर्णाली र मोहना नदीको कटानमा परेका छन् ।

नगरपालिकाको नेपाल–भारत सीमा क्षेत्रमा जम्मा ३१ सीमा पिलर छन् त्यसमा १३ वटा विगत केही वर्षदेखि नदीमा आउने बाढी र कटानमा परेको स्थानीय बासिन्दाले बताएका छन् । ती पिलरका लागि थप सर्भे आवश्यक रहेको धामी बताउछन् ।

खक्रौलास्थित बोडर आउट पोष्टका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक चन्द्रदेव भट्टले जोर अंकका पिलर भारतले र बिजोर अंकका पिलरको नेपालले स्तरोन्नति गर्ने कार्य गरिरहेको बताए । टीकापुर नगरपालिकाको क्षेत्रमा मुख्य पिलरहरु ७००, ७०१, ७०२, ७०३, ७०४, ७०५ र ७०६ मुख्य सीमा पिलर रहेकामा ७०१, ७०३ र ७०६ मुख्य सीमा पिल्लरहरु अहिले कर्णाली र मोहना नदीमा परेका छन् ।

यस्तै सहायक सीमा पिरमा ७०२/२, ७०२/३, ७०२/४, ७०२/५, ७०२/६, ७०२/७, ७०४/३, ७०४/४, ७०४/६, ७०५/३ कर्णाली र मोहना नदीको कटानमा परेका छन् । ‘विगत केही वर्षदेखि नदीमा आउने बाढी पछिको कटानका कारण सीमा पिलर नदीमा परेका छन’, टीकापुर नगरपालिका–८ का वडाध्यक्ष तथा नगर कार्यपालिकाका प्रवक्ता दीर्घबहादुर ठकुल्लाले भने, ‘हाल नदीले कटान गरेका सीमा पिलरलाई सर्वे नक्शाले देखाएअनुसार प्रहरीले सुरक्षा गरिरहेको छ ।’––रासस

Nepal news headlines | breaking news kathmandu | national news of nepal live