BUSINESS NEWS

राहतको प्याकेज ल्याउन अर्थविदहरुको सुझाव

अर्थ समितिमा अर्थविदहरु

काठमाडौं,मे १४

लकडाउनका कारण अर्थतन्त्रमा परेको असरको समग्र अध्ययन गरी राहतको प्याकेज ल्याउन अर्थविद्हरुले सुझाव दिएका छन् । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिले कोरोना भाइरसले अर्थतन्त्रमा पारेको प्रभाव र आगामी बजेटको प्राथमिकता लगायतका विषयमा आयोजना गरेको छलफलमा सहभागी भएका अर्थविद्हरुले सरकारले अझैपनि अर्थतन्त्रमा परेको असरको अध्ययन गर्न नसकेको बताएका हुन् ।

अर्थतन्त्रको सुधारका लागि समस्टिगत अध्ययन नगरी राहतको व्यवस्था गर्दा उचित वितरण नहुने भएकाले सबैभन्दा पहिला अध्ययन हुनु आवश्यक रहेको अर्थविद्हरुले बताएका हुन् । पर्यटन क्षेत्र सबैभन्दा लामो समय सम्म प्रभावित हुने, उद्योग बन्द हुने, उत्पादन घट्ने, बजारमा माग घट्ने लगायतका समस्याले अर्थतन्त्रलाई कमजोर बनाउने भएकाले सरकारले समस्टिगत अध्ययन गरी बजेटका प्राथमिकता तयार गर्नुपर्नेमा उनीहरुले सुझाव दिएका हुन् ।

अर्थविद डा. चन्द्रमणि अधिकारीले हिजोको दिनमा रहेको रोजगारीको संख्या र लकडाउन पछि गुम्ने रोजगारीको अध्ययन हुनुपर्ने बताए । मानिसको स्वास्थ्य, र रोजगारी जोगाउनका लागि सरकारले उचित कदम चाल्न सके सबैभन्दा ठूलो राहत हुने अर्थविद् अधिकारीले बताए ।

उनले लकडाउनका कारण उठनै नसक्ने क्षेत्रमा राहत दिन नहुने समेत बताए । विश्वभर लकडाउन भएको र खर्च गर्ने क्षमता सबैको कम भएको अवस्थामा पर्यटनलाई पहिलो प्राथमिकतामा राखेर नीति कार्यक्रम र बजेट ल्याउन नहुने अधिकारीले बताए ।

अर्थविद् डा. गोविन्द नेपालले होटल र पर्यटन क्षेत्रमा सबैभन्दा लामो समय र सबैभन्दा धेरै असर पार्ने भएकाले यस क्षेत्रमा गुम्ने राजगारीको व्यवस्थापन चुनौतिपूर्ण भएको बताए । यस्तै निजी क्षेत्रबाट व्यवसायिक पिडाबाट राखेका सबै मागहरुलाई सम्बोधन गर्न र अर्थतन्त्रलाई सुचारु गर्नका लागि समस्टिगत अध्ययन हुनुपर्ने बताए । यस्तै सरकारका तीन वटै निकायमा समन्वय गरी सहलगानीको अवधारणाबाट काम गर्नुपर्ने बताउनुभयो । उहाँले कोभिड–१९ को नियन्त्रण र अर्थतन्त्रलाई चलायमान गराउन श्रोतको बाँडफाँडको फर्मुला नै परिवर्तन गर्नुपर्ने बताए ।

अर्थविद डा.विश्वम्बर प्याकुरेलले वित्तीय र मौद्रिक नीतिलाई समन्वय गरेर लैजान सके मुद्रास्फीति नियन्त्रण गर्न सकिने बताए । उत्पादन घट्ने, उद्योग बन्द हुने, पर्यटन क्षेत्र ठप्प हुँदा गिरावट आएको अर्थतन्त्रलाई ‘भि सेप’को रिकभरी दिन सरकारले प्याकेजहरु ल्याउनुपर्ने उनले बताए । तर अहिलेकै स्थितिमा अर्थतन्त्रको ‘भि सेप’ रिकभरी हुने ठाउँ नरहेको अर्थविद प्याकुरेलले उल्लेख गरे । यस्तै वैदेशिक रोजगारी समेत ठप्प हुँदा रेमिट्यान्स घट्न गई वैदेशिक मुद्राको समस्या बढ्नेतर्फ अर्थविद प्याकुरेलले ध्यानाकर्षण गराए । यस्तो अवस्थामा डलरको मूल्य बढ्न गई नेपाली रुपैयाँ कमजोर हुने र आयातमा आधारीत नेपालको अर्थतन्त्रमा ब्यालेन्स अफ पेमेन्ट डेफिसिट हुने र मुद्रास्फीति बढ्ने बताए ।

अर्थविद् डा. डिल्लीराज खनालले लकडाउनका कारण श्रम बजारमा उत्पन्न भएको समस्यालाई समाधान नगरे सामाजिक द्धन्द्ध उत्पन्न हुने बताए । उनले लकडाउनले ४०/४५ लाख मानिसहरु बेरोजगार भएको अवस्थामा अर्थतन्त्रमा गम्भिर असर पर्ने र त्यसका लागि सरकारले नीति तथा कार्यक्रम र बजेट मार्फत राहत ल्याउनुपर्ने बताए । उनले स्वास्थ्यलाई पहिलो प्राथमिकता दिई अर्थतन्त्रलाई चलायमान बनाउन ध्यान दिनुपर्ने बताए ।

अर्थविद् शंकर शर्माले स्वास्थ्य, राहत र रोजगारीमा केन्द्रीत भएर सरकारका कार्यक्रमहरु आउनुपर्ने बताए । उनले सबैभन्दा धेरै रोजगारी साना तथा घरेलु उद्योगमा गुम्ने भएकाले त्यस क्षेत्रमा श्रम गर्नेहरुको व्यवस्थापन उचित ढंगले गर्नुपर्ने बताए । उद्योग बन्द हुने, उत्पादन घट्ने र माग समेत घट्ने हुँदा रोजगारी कटौति हुने र अर्थतन्त्रमा ठूलो क्षति हुनेतर्फ ध्यानाकर्षण गराए । यस्तै धान उत्पादनका लागि मल र बीउ उपलब्ध गराउन सके अर्थतन्त्रका लागि सबैभन्दा ठूलो राहत हुने उनले सुझाव दिए ।

अर्थविद्हरुले लकडाउनका कारण गुम्ने रोजगारीलाई कम गर्न सके अर्थतन्त्र जोगाउन सकिने बताएका छन् । आयातित अर्थतन्त्रलाई उत्पादनमुखि अर्थतन्त्रमा रुपमान्तरण गर्न लकडाउन अवसर हुन सक्नेमा समेत अर्थविदहरुले जोड दिएका छन् ।

शेयर कारोबार बन्द

काठमाडौं,मे १४

लकडाउनका कारण ५०औँ दिनमा मंगलबार खुलेको शेयर बजार पुनः बन्द गर्न नेपाल धितोपत्र बोर्ड (सेवोन)ले नेपाल स्टक एक्सचेञ्जलाई निर्देशन दिएको छ । बोर्डको निर्णयका आधारमा नेप्सेले मंगलबार र बुधबार शेयर कारोवार गरेको थियो । दुई कारोवार दिनमा समेत बजार पूरा समय टिक्नै सकेन । दुई प्रतिशतभन्दा बढीले बजार ओरालो लागे पनि नेप्सेले सर्किट ब्रेक लगाएर बजार बन्द गरेको थियो ।

मंगलबार बजार झण्डै डेढ घण्टा टिकेको थियो भने बुधबार कारोवार शुरु भएको ४० मिनेटमा नै सर्किट लागेर बन्द भएको थियो । बोर्डले दुई प्रतिशतका आधारमा बजार उकालो लागे पनि वा ओरालो लागे पनि सर्किट ब्रेक लगाउने व्यवस्था गरेको थियो । लकडाउन जारी रहे पनि बजार सञ्चालन गर्ने निर्णयअनुसार खुलेको बजार आज पुनः बोर्डको निर्देशनअनुसार नै बन्द गरिएको नेप्सेले जनाएको छ ।

कोरोना भाइरसको जोखिम काठमाडौँ उपत्यकामा परेको र सरकारले यही जेठ ५ गतेसम्म लकडाउन जारी राखेका कारण त्यसलाई कडाइका साथ लागू गर्नुपर्ने भएकाले बजार बन्द गरिएको नेप्सेले जनाएको छ । लकडाउनलाई पूर्णरुपमा पालन गर्न र मानिसको आवतजावत गर्न सवारी पासमा समेत कडाइ गरेको र यस्तो अवस्थामा लगानीकर्ताको धितोपत्रको पहुँचमा असहजता हुने देखिएकाले लगानीकर्ताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर लकडाउन अवधिभर कारोवार स्थगन गर्न बोर्डले निर्देशन दिएको छ ।

बोर्डको निर्देशनअनुसार विहिबार बसेको नेपाल स्टक एक्सचेञ्ज सञ्चालक समितिको निर्णयअनुसार कारोवार स्थगन गरिएको हो । नेप्सेका उपप्रबन्धक प्रविन पान्दाकका अनुसार लकडाउन अवधिभर बजार अब बन्द रहनेछ ।–––रासस

भारतीय कन्टेनरले महामारी फैलाउन सक्ने त्रास

भैरहवा,मे १३

खाद्यान्न, तरकारी र फलफूल बोकेर भारतबाट आउने कन्टेनरका कारण रुपन्देहीमा कोरोना संक्रमणको जोखिम बढेको छ । दैनिक करीब १६० भैरहवा भन्सार कार्यालयमा भित्रिने कन्टेनर तथा ट्रकका कारण महामारी फैलिने सक्ने भन्दै सीमा क्षेत्रका स्थानीयवासी त्रसित बनेका छन् ।

लुम्बिनी तथा मर्चवार क्षेत्रमा भेटिएका कोरोना संक्रमित युवाले भारतका विभिन्न स्थानबाट आउँदा नेपाल आउने मालवाहक ट्रक र कन्टेनरको प्रयोग गरेको बताएपछि त्रास बढेको हो । बन्दाबन्दीपछि भैरहवा भन्सार कार्यालय हुँदै ६ हजार ५०० बढी फलफूल, तरकारी र खाद्यान्नलगायत सामान बोकेर ट्रक तथा कन्टेनर प्रवेश गरेको भन्सार कार्यालयले जनाएको छ ।

यी सवारी साधनका चालक र सहचालक १३ हजारभन्दा बढी हुन आउँछ । सवारी साधन चालकले नेपालमा प्रवेशसँगै स्थानीय पसलमा सामान किन्ने, चिया पसलमा चिया खाने र सामान लोड अनलोड गर्दा धेरै मानिससँग सम्पर्क हुने भएकाले सीमाक्षेत्रमा त्रास देखिएको बेलहियाका इरफान वारिसले बताउनुभयो । भारतबाट आउने चालक तथा सहचालकबाट कोरोना संक्रमण फैलिन नदिन भन्सार एजेन्टसँंग स्थानीय नागरिकले छलफल गरे पनि कुनै निर्णय हुन नसकेको बेलहिया गाउँ समाजले जनाएको छ ।

जोखिम न्यूनीकरण गर्न प्रशासन तथा सरकारले ठोस निर्णय लिनुपर्ने गाउँ समाजका सदस्य रमेश थापाले बताए । भारतबाट आउने चालक तथा सहचालकलाई सामान्य स्वास्थ्य जाँच गर्ने र ट्रक तथा कन्टेनरमा स्यानिटाइजर छर्कने काम गरिए पनि अरु उपाय अवलम्बन गर्न नसकिएको भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी पुण्य लम्सालले जानकारी दिए । सीमा नाकामा अलपत्र नेपालीलाई सुरक्षितसाथ ल्याएर क्वारेन्टाइनमा राखी स्वास्थ्य जाँचको व्यवस्था मिलाउन र ट्रक तथा कन्टेनरलाई भन्सार विन्दुमै रोक्न स्थानीयवासीले माग गरेका छन् ।––रासस

कोभिड १९ : अर्थतन्त्रमा परेको प्रभाव न्यूनीकरणका लागि केन्द्रीय बैंकको पहल

काठमाडौं,मे ८

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ ले अर्थतन्त्रमा पारेको नकारात्मक प्रभावलाई न्यूनीकरणका निम्ति आफूहरु प्रयत्नशील रहेको बताएका छन् । केन्द्रीय बैंकले शुक्रबार आयोजना गरेको श्रव्यदृश्य (भर्चुअल) बैठकमा उनले सरोकार भएका निकायको सहयोग एवं सुझावका आधारमा आफूहरुले ठोस कार्ययोजना बनाई लागू गर्ने प्रतिबद्धता जनाए ।

प्राप्त सुझावका आधारमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६९ को उपदफा (४) बमोजिम नेपाल सरकारसमक्ष पूर्वबजेटकालीन समीक्षा प्रतिवेदन पेश गरिने उनले जानकारी दिए । आर्थिक वर्ष २०७७/७८ को बजेट तथा कार्यक्रम तर्जुमाका निम्ति सुझाव सङ्कलन गर्ने उद्देश्यका साथ केन्द्रीय बैंकले आज भर्चुअल छलफल गरेको हो ।
विगतका वर्षहरूमा नेपाल राष्ट्र बैंकले प्रत्यक्षरूपमा पूर्वबजेटकालीन अन्तक्र्रिया कार्यक्रम आयोजना गर्दै आएकामा हाल विश्वव्यापीरूपमा देखापरेको कोभिड–१९ जोखिमका कारण मुलुक बन्दाबन्दीमा रहेको र सामाजिक दूरी कायम गर्नुपर्ने भएकाले भर्चुअल छलफल गरिएको जनाएको छ ।

छलफलमा बैंक तथा वित्तीय संस्था, पूँजी बजार, उद्योग, वाणिज्य, कृषि, पर्यटन, निर्यात व्यवसायी, सहकारी, घरेलु तथा साना उद्योगलगायत आर्थिक क्षेत्रसँग सम्बद्ध संस्थाका प्रतिनिधि एवं अर्थ्विज्ञ सहभागी थिए । बैंकले पूर्वबजेटकालीन प्रतिवेदनका सुझाव सङ्कलन गरेको हो । सो अवसरमा बैंकका प्रवक्ता एवं अनुसन्धान विभागका कार्यकारी निर्देशक डा गुणाकर भट्टले अन्तक्र्रियाको उद्देश्य प्रष्ट्याउँदै सहजीकरण गरेका थिए ।

कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष, त्रिभुवन विश्वविद्यालय, अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख, नेपाल उद्योग वाणिज्य महासंघ नेपाल उद्योग परिसंघ,होटल एशोसिएशन अफ नेपाल, नेपाल चेम्बर अफ कमर्स, नेपाल पोल्ट्री व्यवसायी महासंघ, नेपाल निर्यात परिषद्, नेपाल बैंकर्स एशोसिएशन, डेभलपमेन्ट बैंकर्स एशोसिएशन अफ नेपाल, नेपाल वित्तीय संस्था संघ, नेपाल लघुवित्त बैंकर्स संघ, नेपाल घरेलु तथा साना उद्योग महासङ्घ, नेपाल इन्भेष्टमेन्ट फोरम, नेपाल सुनचाँदी व्यवसायी संघ लगायतका विभिन्न संघ संस्थाका प्रतिनिधिको सहभागिता रहेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सहभागीले आ–आफ्नो क्षेत्रसँग सम्बन्धित विषयमा धारणा राख्दै कोभिड–१९ को परिस्थितिका कारण आफ्नो क्षेत्रमा परेको असर न्यूनीकरणका लागि आगामी आर्थिक वर्ष २०७७/७८ बजेटले समेट्नुपर्ने नीतिगत सुझाव दिएका थिए । अन्तक्र्रियामा बैंकका डेपुटी गभर्नरद्वय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठका साथै बैंकका विभिन्न विभागका विभागीय प्रमुखहरूको समेत सहभागिता रहेको थियो । –––रासस

file:///D:/nep%20in%20biz%20matter/2020/MAY%202020/may%208/NRB.pdf

तातोपानीबाट आवतजावत हुने सवारीको निर्मलीकरण शुरु

मेलम्ची,मे ८

कोरोना भाइरसको सम्भावित संक्रमणलाई न्यूनीकरण गर्न नेपाल रेडक्रस सोसाइटीले तातोपानी नाका हुँदै नेपालमा आवतजावत हुने सवारी साधनको निर्मलीकरण शुरु गरेको छ । कोरोना भाइरस विश्वभर फैलिएपछि तातोपानी नाका केही समययता खुलेपछि स्थानीयवासी त्रासमा थिए । जिल्ला संकट व्यस्थापन समिति सिन्धुपाल्चोकको निर्णय र स्थानीय निकायसँगको समन्वयमा रेडक्रसले यो कार्यक्रमको शुरुआत गरेको हो ।

भोटेकोशी गाउँपालिका–२ का वडाध्यक्ष दीपेन्द्रकुमार श्रेष्ठले सवारी साधनको निर्मलीकरणको शुरुआत गर्दै रेडक्रसका गतिविधिमा स्थानीय निकाय सधैँ समन्वय गर्न तयार भएको र मानवरक्षाका लागि रेडक्रसले सबै निकायसँग समन्वय गरी प्रभावकारी भूमिका निर्वाह गर्नपर्ने बताए ।

नाकामा आवतजावत हुने सवारी साधनको निर्मलीकरणलगायत सङ्क्रमणको रोकथामका गतिविधि सञ्चालन गर्नेसम्बन्धी तातोपानीमा बिहीबार भएको बैठकमा नाका संवेदनशील हुने र स्थानीय निकायले सङ्क्रमण सुरक्षा नीतिलाई व्यवहारमा कार्यान्वय गर्न समन्वयकारी भूमिका निर्वाह गरिने भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले बताए ।

कोरोना भाइरसको प्रकृतिअनुसार सवारी साधनमार्फत समुदायसम्म सङ्क्रमण फैलन नदिन सबै निकाय सजग हुनपर्ने हुँदा सवारी साधन तथा चालक र सहचालकले अपनाउनुपर्ने सुरक्षा नीति पूर्णपालना गर्न/गराउन उक्त बैठकले सरोकारवाला निकायमा अनुरोध गरेको छ । सुरक्षा नीति पूर्णपालना गर्न गराउन भोटेकोशी गाउँपालिका–२ का वडाध्यक्ष श्रेष्ठको संयोजकत्वमा सुरक्षा निकाय, रेडक्रसकर्मी, स्थानीय क्लब र समाजसेवी रहेको समन्वय समिति निर्माण गरिएको छ ।

मानवरक्षाका लागि समुदायमा सञ्चालन गरिने हरेक गतिविधिमा नेपाल सरकारसँगको समन्वयमा नेपाल रेडक्रसले सहयोगी भूमिका निर्वाह गर्दै आएको जिल्ला शाखाका सभापति राजेन्द्रमान ताल्चाभडेलले बताउनुभयो । सोसाइटीका मन्त्री कमलचरण कक्षपतिले सहजीकरण गरिएको छलफलमा पालिका प्रमुखलगायत स्थानीय जनप्रतिनिधि, सुरक्षा निकाय, स्थानीय क्लब तथा रेडक्रस स्वयंसेवीको भूमिका निर्वाह गर्नुपर्ने बताए । ––रासस

शुक्रबारदेखि संघीय संसद्को बजेट अधिवेशन शुरु

काठमाडौं,मे ७

संघीय संसद्को छैटौँ अधिवेशन शुक्रबारदेखि शुरु हुँदैछ । शुक्रबार अपराह्न ४ः०० बजे संघीय संसद्को बैठक बस्ने तयारी गरिएको छ । बजेट अधिवेशनका रुपमा समेत लिइने यस अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र राजश्व तथा व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ ।

शुक्रबारको बैठकमा छैटौँ अधिवेशन प्रारम्भसम्बन्धी पत्र तथा राष्ट्रपतिबाट संघीय संसद् दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेसम्बन्धी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची तय गरिएको छ । संघीय संसद्का महासचिव डा भरतराज गौतमका अनुसार शुक्रबारको बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुले अधिवेशन प्रारम्भ भएको अवसरमा मन्तव्य दिनेलगायतका कार्यसूची तय गरिएको छ ।

आगामी जेठ ४ गते प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका तय भएको संघीय संसद् सचिवालयले जनाएको छ ।

आगामी जेठ १३ गते आर्थिक वर्ष २०७६÷७७ को आर्थिक सर्वेक्षण पेश गर्ने सम्भावित कार्यतालिका छ । यसैगरी जेठ १५ गते दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ । राष्ट्रपतिले यही वैशाख २१ गते प्रधानमन्त्रीको सिफारिसमा संघीय संसद्को छैटौँ अधिवेशन शुक्रबारका लागि आह्वान गरेकी थिइन । ––रासस

श्रमिकहरुलाई कामबाट निकाल्न नपाइनेः पर्यटनमन्त्री

काठमाडौं,मे ७

संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले कुनैपनि पर्यटन व्यवसायीले श्रमिकहरुलाई कामबाट निकाल्न नपाउने बताएका छन् । कोरोना भाइरसको नियन्त्रण रोकथामका लागि लकडाउन लागू गरिएपछि होटल संघ नेपाल (हान)ले होटल बन्द गर्ने र कर्मचारीलाई केही प्रतिशत रकम पारिश्रमिक दिने निर्णय गरेपछि मन्त्री भट्टराईले कसैले पनि श्रमिकलाई कामबाट हटाउन नपाउने बताएका हुन् ।

पर्यटन मन्त्री भट्टराईले बिहीबार पत्रकारहरुसँगको भेटमा कुनैपनि व्यवसायीहरुले श्रमिकहरुलाई कामबाट निकाल्न (बेदखल) गर्न नपाउने बताएका हुन् । उनले भने, ‘श्रमिकहरुको हकमा हामीले भनेका छौं, कुनैपनि व्यवसायीले श्रमिकहरुलाई अहिले बेदखल गर्न पाइदैन् । किन भने वहाँहरुको सामाजिक सुरक्षा कोष पनि छ साथै होटल र अन्य कतिपय व्यवसायबाट प्राप्त गर्नुपर्ने विशेष सुविधाहरु पनि छन । त्यस्तै सरकारले पनि त्यसमा हेर्छ । त्यसैले अहिले श्रमिकहरुलाई बेदखल गर्ने करा गलत हो । त्यो गर्न पाइदैन भनेर हामीले भनेका छौं र त्यसमा सरकारले आफ्ना केही आर्थिक प्याकेजहरु पनि दिने नै छ ।’

उनले कोरोना भाइरसबाट परेको प्रभावलाई कम गर्नका लागि व्यवसायीहरु र श्रमिकहरुको हितमा केही पुनःस्थापना प्याकेजहरु अगाडि सार्ने सोचका साथ मन्त्रालय अगाडि बढेको बताए । मन्त्रालयले निश्चित रकम सम्म व्यवसाय सुचारु गर्नका लागि बिना धितो सहुलियत दरको कर्जा उपलब्ध गराउने, पुरानो ऋणको पुर्नतालिकिकरण गर्ने, भ्याट तथा ट्याक्समा छुट दिने लगायतका विषयमा सहयोग गर्ने मन्त्री भट्टराईले बताए ।–रासस

पर्यटन दशकका रुपमा अघि बढाइँदै : पर्यटनमन्त्री

काठमाडौं,मे ७

सरकारले कोभिड–१९ बाट प्रभावित बनेको मुलुकको पर्यटन क्षेत्रको पुनःस्थापनाका लागि आगामी आर्थिक वर्षमा पर्यटन दशकसम्बन्धी विशेष कार्यक्रम ल्याउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले कोभिड–१९ बाट थलिएको पर्यटन क्षेत्रलाई पुर्नजीवित गर्न १० वर्षे रणनीतिक अवधारणा ल्याइने जानकारी दिए ।

सिंहदरबारमा आज आयोजित कोभिड–१९ पछिको पर्यटन र आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति कार्यक्रममा समेटिने पर्यटन विकासका योजना कार्यक्रमबारे सञ्चारकर्मीसँगको अन्तक्र्रियामा उनले सन् २०२१ देखि २०३० सम्मको अवधिलाई पर्यटन दशकका रुपमा अघि बढाइने बताए ।

उनले पूर्वघोषित नेपाल भ्रमण वर्ष–२०२० कार्यक्रम पनि कोभिड–१९ का कारण स्थगित भइसकेको सन्दर्भमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा १० वर्षे पर्यटन रणनीतिलाई प्राथमिकताका साथ अघि बढाइने बताउनुभयो ।

“आगामी आवको नीति कार्यक्रममा नेपालको पर्यटनको १० वर्षे रणनीति (सन् २०१६ देखि २०२५ सम्म) कोलाई समेत मध्यनजर दिएर सन् २०२१ देखि २०३० सम्मको अवधिलाई पर्यटन दशकका रुपमा मनाउनेगरी प्रस्ताव अघि बढाएका छौँ, यसको विस्तृत कार्यक्रम छिट्टै सार्वजनिक गर्नेछौँ”, मन्त्री भट्टराईले भने ।

उनका अनुसार सामान्यतः सन् २०२० ‘सर्भाइबल’ वर्ष हुनेछ भने सन् २०२१ ‘रिभाइबल’ र सन् २०२२ देखि पर्यटन सामान्य अवस्थामा फर्कने आँकलनसहित रणनीति बनाइएको छ । यो भनेको सन् २०३० सम्मको अवधिमा कुनै न कुनै विधालाई प्राथमिकता दिएर पर्यटकीय गतिविधि सञ्चालन गरिनेछ ।

पर्वतीय पर्यटन, पर्या पर्यटन, जल पर्यटन, धार्मिक पर्यटन, खेलकुद पर्यटन, स्वास्थ्य पर्यटन र शिक्षा पर्यटनलाई प्रवद्र्धन गर्नेगरी नीति तथा कार्यक्रममा समेटिनेछ । साथै कोभिड–१९ बाट प्रभावित श्रमिक तथा व्यवसायीको हितमा पुनःस्थापनाका प्याकेजल्याइने जनाइएको छ ।

लुम्बिनी विकास प्राधिकरण स्थापना गरिने

लुम्बिनी क्षेत्रको बृहत्तर विकासको निम्ति लुम्बिनी विकास प्राधिकरण स्थापना गरिने पर्यटनमन्त्री भट्टराईले जानकारी दिए । उनका अनुसार लुम्बिनीस्थित मायादेवी क्षेत्र, रामग्राम, तिलौराकोट, देवदह, कपिलवस्तु, रुपन्देही क्षेत्रमा पर्ने बुद्धसँग सम्बन्धित स्थललाई एकअर्कासँग जोडेर बृहत्तर लुम्बिनी विकासको अवधारणा अघि बढाइनेछ ।
उक्त प्राधिकरणमार्फत पूर्वाधारमा लगानी गर्न सार्वजनिक साझेदारी रणनीतिका साथ विदेशी लगानीलाई समेत उपयोग गर्ने गरी अघि बढ्ने छ । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रदायकको रुपमा सङ्गठन पुनःसंरचनाको कामलाई पछि छिट्टै पूर्णता दिइने जनाइएको छ ।

हाल संसद्मा रहेको प्राधिकरण विभाजनसम्बन्धी विधेयकलाई शुक्रबारदेखि शुरु हुने बजेट अधिवेशनको दौरानमा यो विधेयकलाई अघि बढाउने छ ।नेपालको पर्यटन नीतिअनुरुप पर्यटनसम्बन्धी कानून निर्माणलाई अन्तिम रुप दिइनेछ । त्यस्तै नेपालको पर्यटनलाई बाह्रै महिना गतिविधि सञ्चालन गर्न ‘अल सिजन टुरिज्म’ को अवधारणाका रुपमा विकास गरिनेछ । पर्यटकीय तथ्याङ्क व्यवस्थापनलाई विशेष प्राथमिकता दिइनेछ ।

राष्ट्रिय ध्वजाबाहक वायु सेवा निगम (नेपाल एयरलाइन्स) लाई सार्वजनिक कम्पनीका रुपमा विकास गरिने भएको छ । मन्त्री भट्टराईले निगमको वित्तीय व्यवस्थापन र व्यवस्थापकीय सुधार गरी हालको ऋणभारलाई समेत कम हुने गरी रणनीतिक सुधारको थालनी आगामी आर्थिक वर्ष्भित्रै गरिने बताउनुभयो ।

बारामा प्रस्तावित दोस्रो निजगढ अन्तर्रा्ष्ट्रिय विमानस्थलको आगामी आव निर्माण कार्य शुरु गरिने उनले बताए । उनले निजगढ विमानस्थल चालू आवमै निर्माण शुरु गर्ने लक्ष्य रहे पनि विभिन्न परिस्थितिले असम्भव रहेको बताए । अहिले विमानस्थल निर्माणका लागि पूर्वाधार तयारीस्वरुप रुख कटानको प्रक्रिया शुरु हुने क्रममा छ । मुआब्जा वितरणको काम भइरहेको छ ।

उनले विदेशी लगानी नजुटे पनि सरकार आफँैले उपयुक्त ढाँचामा निजगढ विमानस्थल निर्माण गर्ने सोच बनाएको बताए । उनले आगामी वर्षमा २०७७/०७८ को बजेट तथा नीति कार्यक्रममा समेटिनुपर्ने पर्यटन क्षेत्रको विषयबारे सरोकारवाला निकाय, सांसदसँग चरणबद्ध छलफल गरिसकेका छन् । यसै सन्दर्भमा विभिन्न सञ्चारमाध्यमका पर्यटन विषयमा लेख्ने सञ्चारकर्मीसँग अन्तक्र्रिया गरी राय सुझाव लिएका छन् । ––रासस

भारतमा कोरोना संक्रमितको संख्या ४९ हजार नाघ्यो

नयाँदिल्ली, मे ६

भारतमा कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या विगत दुई दिनदेखि तिब्र गतिमा वृद्धि भएको छ । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार बिहानसम्ममा कोरोना संक्रमितको संख्या ४९ हजार ३९१ पुगेको जनाएको छ । मन्त्रालयले हालसम्म एक हजार ६९४ जनाको मृत्यु भएको पनि उल्लेख गरेको छ ।

भारतमा कूल संक्रमितमध्ये १४ हजार १८२ जना निको भएका छन् । उनीहरुलाई देशका विभिन्न अस्पतालबाट डिस्चार्ज गरिएको छ । कोरोना संक्रमितहरुमध्ये महाराष्ट्र, गुजरात र नयाँदिल्ली सर्वा्धिक प्रभावित क्षेत्र देखिएका छन् ।

महाराष्ट्रमा सबैभन्दा बढी १५ हजार ५२५ जना संक्रमित देखिएका छन् भने गुजरातमा ६ हजार २४५ जनामा कोरोनाको संक्रमण देखिएको छ । दिल्लीमा भने कोरोना संक्रमितको संख्या ५ हजार १०४ जना रहेको छ । यस्तै राजस्थानमा ३ हजार १९३ जनामा कोरोनाको संक्रमण देखिएको राज्य स्वास्थ्य विभागले जनाएको छ । ––एएनआई / रासस

सिड्नी उड्यो नेपाल एयरलाइन्स

काठमाडौं,मे ६

राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले २८१ विदेशी नागरिक बोकेर अष्ट्रेलिया उडेको छ । लकडाउनका कारण नेपालमा रोकिएका १७ बालबालिकासहित २८१ अष्ट्रेलियन नागरिक बोकेर निगमको वाइड बडी जहाज सिड्नीका लागि उडान भरेको त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलले जनाएको छ ।

अष्ट्रेलियाले निगमको वाइड बडी जहाज चार्टर्ड गरी आफ्ना नागरिक स्वदेश फिर्ता लगेको हो । नेपालस्थित अष्ट्रेलियन दूतावासले चार्टर्ड गरेको यो जहाजमा अष्ट्रेलियन र केही न्यूजिल्याण्डका नागरिक रहेको जनाइएको छ । काठमाडौँ विमानस्थलबाट दिउँसो सिड्नी उडेको वाइड बडी जहाजले मलेसियाको क्वालालम्पुर ट्रान्जिट हुँदै साढे १२ घण्टाको उडान तय गरी गन्तव्यमा पुग्नेछ । निगमको वाइड बडी जहाज बिहीबार साँझ काठमाडौँ विमानस्थलमा अवतरण गर्नेछ ।

निगमको अष्ट्रेलियामा चार्टर्ड उडान दोस्रो हो । यसअघि चैत १९ गते अष्ट्रेलियाको ब्रिश्वेनमा चार्टर्ड उडन गरेको थियो । मलेसिया ट्रान्जिट हुँदै अष्टे«लियासम्मको उक्त उडान करिब १३ घण्टाको थियो । निगमको अर्को वाइड बडी जहाजले आजै चीनको राजधानी बेइजिङमा कार्गो उडान गर्दैछ । साँझ ५ः३० बजे बेइजिङ उड्ने जहाज बिहीबार काठमाडौँ फर्कने तालिका छ । निजी व्यवसायीले अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन निगमको वाइड बडी जहाज चार्टर्ड गरेको बताइएको छ ।

हिमालय एयरलाइन्सले ग्वाङ्जाओबाट स्वास्थ्य सामग्री ल्यायो

नेपालको निजी क्षेत्र र चीनको संयुक्त लगानी रहेको हिमालय एयरलाइन्सले चीनको ग्वाङ्जाओबाट अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएको छ । हिमालयको न्यारोबडी जहाजले आज ग्वाङ्जाओबाट ६ हजार ६०० केजी स्वास्थ्य सामग्री ल्याएको विमानस्थलले जनाएको छ । यसअघि वैशाख १८ गते चीनको चाङ्साबाट र वैशाख १४ गते ग्वाङ्जाओबाटै हिमालय एयरलाइन्सले जहाजले स्वास्थ्य सामग्री ल्याएको थियो ।–रासस

Nepal news headlines | breaking news kathmandu | national news of nepal live