BUSINESS NEWS

चौध अन्तर्राष्ट्रिय उडान :बाह्र सय नेपाली स्वदेश फिर्ता

काठमाडौं,जुन २४

त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा बुधबार पनि एकैदिन आन्तरिक र अन्तर्राष्ट्रिय गरी २४ उडान भएका छन् । ती मध्ये अन्तर्राष्ट्रियतर्फ सर्वाधिक १४ उडान भएको विमानस्थल कार्यालयले जनाएको छ । आन्तरिकमा पनि बुधबार १० उडान भएका छन् ।

मंगलबार पनि अन्तर्राष्ट्रियतर्फ १४ उडान भएको थियो । यी सबै उडान यात्रु चार्टर्ड तथा कार्गो हुन् । विभिन्न मुलुकबाट उद्धार उडानमार्फत आज एक हजार २०० भन्दा बढी नेपाली स्वदेश फर्किएका छन् ।

विभिन्न एयरलाइन्सले विदेशमा अलपत्र परेका नेपालीलाई धमाधम चार्टर्ड उडान गरी काठमाडौँ ल्याइरहेका हुन् । बुधबार नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जेधाहबाट २२५ यात्रु र एक शव नेपाल ल्याएको छ । सोही एयरलाइन्सको जहाजले जापानको नारिताबाट १९ यात्रु ल्याएको छ । पुनः कुवेतबाट नेपाली ल्याउन त्यसतर्फ उडेको विमानस्थलले जनाएको छ ।

त्यस्तै हिमालय एयरलाइन्सले कुवेतबाट १५५, अबुधाबीबाट दुई उडान गरी क्रमशः १४९ यात्रु र तीन बच्चा र दुई यात्रु, दमामबाट १५४ र दोहाबाट २८२ यात्रु काठमाडौँ ल्याएको छ । श्री एयरलाइन्सले म्यान्माको यंगुनबाट नौ यात्रु र एक बच्चा ल्याएको छ भने दोस्रो चार्टर्ड उडानका लागि उक्त एयरलाइन्स म्यान्मा उडेको विमानस्थलले जनाएको छ ।

टर्किस एयरलाइन्सले स्तान्बुलबाट दुई चार्टर्ड उडानमा क्रमशः २८० र २८२ यात्रु काठमाडौँ ल्याएको छ । त्यसैगरी मलेसियन एयरलाइन्सले क्वालालम्पुरबाट दुई उडानमा क्रमशः सात र चार नेपालीको उद्धार गरी काठमाडौँ ल्याएको छ । बिहीबार पनि अन्तर्राष्ट्रियतर्फ १३ उडान हुने कार्यतालिका सार्वजनिक गरेको छ । दोहा, दमाम, यङ्गुन, अबुधाबी, बहराइन, क्वालालम्पुर र जापानको नारितामा चार्टर्ड उडान हुने विमानस्थलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

आन्तरिकतर्फ विभिन्न एयरलाइन्सका १० उडान भएका छन् । मनाङ र सिम्रिक एयरका हेलिकप्टरले ओखलढुङ्गा, सोलुखुम्बु, वीरगञ्ज र गोर्खामा उडान भरेका छन् भने तारा एयरको जहाजले नेपालगञ्जमा दुई उडान गरेको छ ।

एक खर्ब ८५ अर्ब बढीका सात परियोजना स्वीकृत

भारतीय पेन्सनधारी नेपालीलाई पेन्सन बुझ्न समस्या

बैतडी,जुन १६

करिब तीन महिनादेखि सीमानाका बन्दा हुँदा भारतीय पेन्सनधारी नेपाली नागरिकलाई समस्या भएको छ । भारतीय सेनाबाट सेवानिवृत्त भएका र अन्य भारतीय सरकारी कार्यालयबाट निवृत्त भएका नेपाली नागरिकलाई पेन्सनको रकम प्राप्त गर्न समस्या भएको हो । भारतीय पेन्सनधारीको पेन्सनवापतको पैसा भारतीय बैंकमै आउने गर्दछ ।

जारी लकडाउनका कारण सीमानाका बन्द भएपछि गएको तीन महिनायता पेन्सन नपाएको डिलाशैनी–६ का रतनसिंह मालले बताए । सीमानाका बन्द हुँदा धेरै समस्या भएको उहाँले बताउनुभयो । उनले भने, “कोरोना भाइरसका कारण सीमानाका बन्द हुँदा पेन्सन बुझ्न भारतीय बैंकमा जान पाएको छैन ।”

सीमानाका बन्द हुँदा पेन्सन बुझ्न नपाएको र यसले दैनिक घरधन्दा चलाउन नै मुस्किल भएको डिलाशैनी–६ कै जयबहादुर मालले बताए । उनले भने,“मासिक आउने पेन्सनले घरपरिवार चलाइरहेको थिएँ, लकडाउनले सीमापुल बन्द भएपछि निकै समस्या भएको छ ।”

बैतडी भारतसँग सीमा जोडिएको जिल्ला भएकाले यो जिल्लाका धेरै नागरिक भारतीय सेनाबाट निवृत्त भएका छन् । उनीहरुले मासिकरूपमा पेन्सन पाउँदै आएका भए पनि लकडाउनका कारण पछिल्लो तीन महिनायता पेन्सन पाउन सकेका छैनन् ।

भारतबाट पेन्सन बुझ्ने नेपालीहरुलाई नाकाबाट प्रवेश गराई समस्या समाधानका लागि भारतको पिथौरागढ जिल्लाका डिएमसँग आफूले कुराकानी र समन्वय गरिरहेको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए । “सीमानाका दुई देशको सहमतिले खुल्ने कुरा हो हामीले चाहेर मात्रै सक्दैनौँ”, उनले भने,“भारतीय पक्षले सहमति जनाएपछि हाम्रोतर्फबाट नि तयारी गर्छौँ ।”

बैतडीबाट मात्रै करिब दुई हजार बढी नागरिकले भारतको झुलाघाटबाट पेन्सन बुझ्ने गरेका छन् । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण गत चैत ११ गतेदखि सीमानाका बन्द छन् ।––रासस

पशुपतिनाथ मन्दिर परिसरमा सरसफाईकालागि भारतको सहयोग

काठमाडौं,जुन १५

पशुपतिनाथको मन्दिर परिसरमा सरसफाइ सुविधाकालागि भारत सरकारले नेपाललाइ ३ करोड ७२लाख तीस हजार नेपाली रुपैया बराबरको अनुदान सहयोग गरेको छ । सोमबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, काठमाडौं महानगरपालिका र भारतीय दूतावासबीच सो सहयोग सम्बन्धि संझौता पत्रमा त्रिपक्षीय हस्ताक्षर गरिएको छ ।

सन् १९७९ देखि युनेस्कोको विश्व सम्पदा सूचीमा रहेको पशुपति परिसरमा सरसफाई सुविधाकालागि भारत सरकारद्वारा उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसिडिपी) अथवा पहिलेको साना विकास परियोजना(एसडिपीज) को रुपमा नेपाल–भारत मैत्रीः विकास साझेदारी अन्तर्गत अनुदान दिइने बताइएको छ ।

यस परियोजनामा सहयोगकालागि पशुपति क्षेत्र विकास कोष (पिएडिटी) ले भारतीय राजदूतावासलाई सन् २०१९ को अक्टोबर महिनामा प्रस्ताव पठाएको थियो । पशुपतिनाथ मन्दिरमा आउने तीर्थालु तथा धार्मिक पर्यटकहरुकालागि सरसफाई सुविधा प्रदान गर्न यस परियोजनाको कार्यान्वयन काठमाडौं महानगरपालिकाले नेपाल सरकारले तोकेको मापदण्ड अनुरुप गर्ने सहमति भएको छ । सहमति अनुसार १५ महिनामा निर्माण कार्य सम्पन्न गर्नकालागि महानगरपालिकाले बोलकबोल(टेन्डर) प्रक्रियामार्फत ठेकेदारको पहिचान गर्नेछ ।

काठमाडौंको गौशालामा अवस्थित पशुपतिनाथ मन्दिर हिन्दु धर्मावलम्बीहरुकालागि ठूलो आस्थाको केन्द्र हो । दैनिक हजारौंको संख्यामा तीर्थालु भक्तजनको आवागमन हुने यो मन्दिर भारतीयहरुकालागि पनि अत्यन्त महत्व राख्दछ । सन् २०१४ अगस्ट महिनामा दुवै सरकारले सहमति गरेको सरसफाई परियोजना अनुरुप पशुपतिनाथ मन्दिर परिसरमा सार्वजनिक सुविधाहरुको स्तरोन्नतिका लागि भारत सरकारले अनुदान सहयोग दिएको हो ।

link :

https://twitter.com/IndiaInNepal/status/1272507342282620928
https://www.indembkathmandu.gov.in/news_letter_detail/?id=100

काठमाडौंका सपिङ मलहरु सोमबारदेखि खुल्ने

काठमाडौं,जुन १४

व्यवसायीहरुले असार १ गतेदेखि काठमाडौंमा रहेका सपिङ मलहरु खोल्ने भएका छन् । सरकारले सपिङ मलहरु अहिले नै नखुलाउने निर्णय गरेको छ तर व्यवसायीहरुले भने लामो समय बन्द हुँदा समस्यामा बढ्दै गएको भन्दै खुल्ला गर्ने निर्णय गरेका छन् ।

आर बि कम्प्लेक्स व्यापार संघ, पिपुल्स प्लाजा व्यापार संघ, विशालबजार, शिभिल मल, वल्र्ड ट्रेड सेन्टर लगायतका मलहरु सञ्चालन गर्ने तयारी व्यवसायीहरुले गरेका हुन् । लकडाउन लम्बिदै जाँदा घरभाडा, बैंकको ब्याजदर तथा राज्यलाई कर समेत तिर्न नसक्ने अवस्था आएकाले व्यवसाय खोल्नुको विकल्प नभएको भन्दै व्यवसायीहरुले मलहरु सञ्चालन गर्न लागेका हुन् ।

व्यसायीहरुले काममा फर्कनु पर्ने कुनै रहन नभई बाच्नको लागि बाध्यता भएको बताएका छन् । उनीहरुले सरकारले अन्य पसलहरु सञ्चालन गर्न दिने तर सपिङमलहरु सञ्चालन गर्न नदिने गरी गरेको निर्णयको विरोध गर्दै कोभिड १९ बाट बच्न न्यूनतम स्वास्थ्य सुरक्षा सतर्कता अपनाई मलहरु खोल्ने निर्णय गरेका हुन् ।

व्यवसायीहरुले व्यवसाय सञ्चालन गर्दा अनिवार्य रुपमा मास्क लगाउने, स्यानिटाइजको प्रयोग गर्ने, ज्वरो नाप्ने व्यवस्था मिलाउने बताएका छन् ।

कुवेतबाट फर्काइए १५० नेपाली

काठमाडौं,जुन ११

कोरोना महामारीका कारण कुवेतमा अलपत्र परेका १ सय ५० जना नेपाली बिहीबार काठमाडौं आइपुगेका छन् । वैदेशिक रोजगारीको शिलशिलामा कुवेत गएका उनीहरुलाइ कुवेत सरकारको पहलमा नेपाल फर्काइएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाली सेनाले साझा बसमार्फत उनीहरुलाई होल्डिङ सेन्टरमा पु¥याएको थियो । जजिरा एयरवेजको न्यारोबडी मार्फत उनीहरु स्वदेश फर्किएका हुन् ।

बिहीबार नै अर्को विमानबाट कुवेतबाट नेपालीहरु आउने समय तालिका तय भएको छ । कुवेतबाट २ हजार ९ सय ९१ जनाले नेपाल फर्किन चाहेका छन् । अन्यलाई चरणवद्ध रुपमा स्वदेश फर्काइने सरकारले जनाएको छ ।

अलपत्र परेका नेपाली ल्याउन नेपाल एयरलाइन्सले सार्वजानिक ग-यो उडान तालिका

काठमाडौं,जुन ११

विदेशमा अलपत्र परेका नेपाली ल्याउन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले आफ्ना उडानको कार्यतालिका सार्वजनिक गरेको छ । सरकारले विभिन्न मुलुकमा अलपत्र परेका करिब ३० हजार नेपाली जहाज चार्टर्ड गरेर ल्याउने निर्णय गरेसँगै निगमले जुन महिनाभर विभिन्न देशबाट गरिने चार्डर्ड उडानको कार्यतालिका बनाएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सरकारको निर्णयअनुरुप सरोकारवालासँग बुधबार छलफल गरी नेपाल एयरलाइन्सलाई २४ र हिमालय एयरलाइन्सलाई १९ उडान गर्नेगरी अनुमति दिएको थियो । त्यस्तै २४ वटासम्म विदेशी एयरलाइन्सलाई उडान दिने तालिका मन्त्रालयले तय गरेको छ ।

नेपाल एयरलाइन्सका दुई वाइडबडी र दुई न्यारोबडी गरी चार जहाजले उडान गर्नेछन् भने नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने निजी लगानीको हिमालय एयरलाइन्ससँग चार न्यारोबडी जहाज छन् । दुवै एयरलाइन्सले पूर्ण क्षमताका साथ विदेशबाट नेपाली बोक्नेछन् । नेपाल एयरलाइन्सको मात्रै चार जहाजले दैनिक एक हजार ६०० यात्रु ल्याउन सक्ने क्षमता छ । त्यस्तै हिमालयले करिब एक हजार यात्रु ल्याउन सक्छन् ।

विदेशस्थित कोभिड महामारीका कारण आफ्नो देश फर्कन चाहनेले अहिलेसम्म आ–आफ्नो देशस्थित राजदूतावासमा सम्पर्क गर्न अनुरोध गरिसकेको छ । निगमका अपरेशनल विभागका प्रमुख दीपु जुहार्जनका अनुसार नेपाल एयरलाइन्सले जुन महिनामा मात्रै दुई दर्जन उडान गर्दैछ ।
जसअनुरुप जुन १४ तारिखमा बङ्गलादेशको ढाका, जुन १५ मा माल्दिभ्सको माले र मलेशियाको क्वालालम्पुरमा उडान हुनेछ ।

त्यसैगरी जुन १६ मा दुबई र कतारको दोहा, जुन १७ मा अष्ट्रेलियाको सिङ्नी, थाइल्याण्डको बैंकक र बहराइनबाट नेपाली ल्याइनेछ । जुन १८ मा साउदी अरेबियाको रियाद र दुबइ, जुन १९ मा जापानको नारिता र कुवेत, जुन २० मा साइप्रस, क्वालालम्पुर र दोहा उडान हुनेछ ।

त्यसैगरी जुन २१ मा दक्षिण कोरियाको सोल र ओमानको मस्कट, जुन २२ मा सम्भावित मेल्बर्न, बैंकक, जुन २३ नारिता र माले, जुन २४ मा सम्भावित साउदी अरबको जेद्दह, कुवेत र जुन २५ तारिखका दिन सम्भावित अमेरिकाको लसएन्जल्स या डालस उडान गर्ने योजना रहेको निगमले उल्लेख गरेको छ । जुन महिनाका विभिन्न मितिमा हिमालय एयरलाइन्सले बङ्गलादेश, श्रीलङ्का, मलेशिया, कतार, साउदी अरब, युएई, कुवेतलगायत मुलुकबाट चार्टर्ड उडान गरी नेपाली स्वदेश ल्याउनेछ ।

हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले विदेशबाट नेपाली ल्याउन जहाज तयारी अवस्थामा रहेको जानकारी दिए । सरकारले गरेको निर्णयअनुरुप चार्टर्ड उडानका लागि सबैखाले तयारी थालिएको उनले उल्लेख गरे । ––रासस

एकतोला सुनको मूल्य करीब ९० हजार

पर्यटन क्षेत्रको पूर्नउत्थानकालागि ५० अर्बको कोष

काठमाडौं,जुन ८

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले कोभिड–१९ का कारण थला परेको पर्यटन क्षेत्रलाई राहत एवं पुनरुत्थानका लागि आगामी आर्थिक वर्षको बजेटमा एक खर्बको पुर्नउत्थान कर्जाका साथै ५० अर्बको पुर्नउत्थान कोषको व्यवस्था गरिएको बताएका छन् । विनियोजन विधेयक, २०७७ अन्तर्गत मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले कर एवं व्याजदरमा छुटका साथै पर्यटन क्षेत्रमा निजी क्षेत्रबाट सञ्चालित उद्योगी तथा पर्यटन व्यवसायीले उक्त कोषबाट राहत लिन सक्ने बताए ।

बजेटले पर्यटन क्षेत्रका कर्मचारी (श्रमिक)को सामाजिक सुरक्षा कोषको भुक्तानीमा योगदान गरेको उल्लेख गर्दै उनले पर्यटन व्यवसायमा पाँच प्रतिशत व्याजमा सहुलियतपूर्ण ऋण उपलब्ध गराइने बताए । कोभिड–१९ का कारण अप्ठ्यारोमा परेका हवाई उद्योगलाई राहत दिन इन्धनमा पूर्वाधार कर हटाइएको तथा हवाइजहाजको ल्याण्डिङ र पार्किङ शुल्कमा छुट दिइएको उनले बताए ।

नेपालको अनुकूल मौसमी अवस्था र जैविक एवं प्राकृतिक विविधताबाट प्रचुर लाभ लिन प्रदेशमा हिल स्टेशन निर्माणका लागि बजेट विनियोजन गरिएको उनले बताए । उनले पर्यटकीय गतिविधिलाई चलायमान गराउन आन्तरिक पर्यटन प्रवद्र्धनमा विशेष जोड दिइएको तथा पर्यटन प्रवद्र्धनमार्फत घरबास कार्यक्रम नियमित सञ्चालनमा जोड दिने नीति लिइएको बताए ।

पर्यटनसँग सम्बन्धित नीति र नेपालको राष्ट्रिय पर्यटन रणनीतिक योजना (सन् २०१६–२०२५) ले निर्दिष्ट गरेबमोजिम नेपाललाई यस क्षेत्रकै एक प्रमुख पर्यटकीय गन्तव्यका रुपमा स्थापित गरी अर्थतन्त्रमा योगदान पु¥याउने उद्देश्यका साथ सांस्कृतिक सम्पदाको पहिचान, विकास, पर्यटन पूर्वाधार विकासमार्फत गन्तव्य सुधार एवं विविधीकरणमा जोड दिइने उनले बताए ।

हरेक प्रदेशमा न्यूनतम एक प्रमुख पर्यटकीय गन्तव्य निर्माणका साथै स्थानीय तहमा समेत पर्यटन पूर्वाधार र पर्यटकीय उपज निर्माणका लािग साझेदारी कार्यक्रम अघि बढाइने उनले उल्लेख गरे । साझेदारी कार्यक्रमतर्फ ७९ करोड विनियोजन गरिएको उनले बताए ।

पर्यटन तथा संस्कृति क्षेत्रतर्फ पाँच अर्ब २७ करोड र हवाई क्षेत्रतर्फ २० अर्ब ४५ करोड तथा नेपाल नागरिक उड्डयन प्राधिकरणको आन्तरिकतर्फ १० अर्ब विनियोजन गरिएको जनाइएको छ । संघीयता र विकेन्द्रीकरणको भावना र मर्मबमोजिम आगामी आवमा प्रदेश र स्थानीयस्तरमा समानुपातिक र समावेशी अवधारणाबमोजिम बजेट तथा कार्यक्रम तयार गरिएको उनले जानकारी दिए ।

सोअन्तर्गत प्रदेश नं १ का लागि ४० करोड ५६ लाख, प्रदेश नं २ का लागि ५६ करोड ६३ लाख, वाग्मती प्रदेशका लागि ४६ करोड ७८ लाख, गण्डकी प्रदेशका लागि ४५ करोड ४६, प्रदेश नं ५ का लागि ३८ करोड ५३ लाख, कर्णाली प्रदेशका लागि २७ करोड ८६ लाख र सुदूरपश्चिम प्रदेशका लािग १९ करोड १५ लाख विनियोजन गरिएको छ ।

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल तथा भैरहवा र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि उच्च प्राथमिकतामा राखी आवश्यक बजेट विनियोजन गरिएको बताउँदै मन्त्री भट्टराईले आगामी आर्थिक वर्षमा दुवै विमानस्थल निर्माण सम्पन्न भई सञ्चालनमा आउने विश्वास दिलाए । त्यस्तै निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण शुरु गरिने उनको भनाइ थियो ।

आर्थिक रुपमा कमजोर बनेको राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को संस्थागत सुधारलाइ प्राथमिकता दिइएको उनले बताए । निगमले वार्षिक चार अर्ब ब्याज तिर्दै आएको छ । दुई वाइड बडी र दुई न्यारो बडी जहाज खरीदका क्रममा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिएको थियो । वाइड बडी जहाजका लागि २४ अर्ब र न्यारो बडीका लागि २० अर्ब ऋण लिइएको थियो ।

पर्यटनमन्त्री भट्टराईले निगम सुधारका लागि रणनीतिक साझेदार खोजी तथा सार्वजनिक कम्पनीका रुपमा लगेर संस्थाको खर्च कटौती गर्ने दिशातर्फ निगम अघि बढेको बताए । सरकारले आगामी आर्थिक वर्षका लागि हवाई क्षेत्रको पूर्वाधार विस्तारका लागि लागि१९ अर्ब ४२ करोड बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री डा युवराज खतिवडाले यही जेठ १५ गते संघीय संसद्को संयुक्त वैठकमा आव२०७७÷०७८ कोे आयव्ययको अनुमानित विवरण (बजेट) प्रस्तुत गर्दै पर्यटन हवाई पूर्वाधार विकासका लागि बजेट घोषणा गरेका थिए ।

अन्तरराष्ट्रिय विमानस्थलको निर्माण तथा स्तरोन्नतिका लागि सो बजेट खर्च गरिनेछ । अन्तर प्रदेश हवाई सम्पर्क विस्तार र अन्तरराष्ट्रिय हवाई सेवा बढाउन बजेट छुट्याइएको छ ।

हवाई सेवालाई गुणस्तरीय र प्रतिस्पर्धी बनाउन नयाँ हवाई नीति ल्याउने जनाइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण पुनःसंरचना गरी नियामक र सेवा प्रदायकका रुपमा छुट्टाछुट्टै संस्थाका रुपमा विकास गरिने बजेटमा उल्लेख छ ।––रासस

कूटनीतिक बाहेक सबै चार्टर्ड उडानमा रोक, नेपाल एयरलाइन्सलाइ असर

काठमाडौं,जुन ७

नागरिक उड्डयन प्राधिकरण (क्यान) ले कूटनीतिक माध्यमबाट हुने चार्टर्ड उडानबाहेक सबै उडानमाथि रोक लगाएको छ । प्राधिकरणको सो निर्णयले सबैभन्दा बढी असर राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को चार्टर्ड उडानलाई असर पु¥याएको जनाइएको छ । निगमले बन्दाबन्दीको अवस्थामा दैनिकजसो चार्टर्ड उडान गर्दै आएको थियो ।

विपद्को अवस्थामा चार्टर्ड उडानको नाममा वायुसेवा कम्पनी तथा ट्राभल एजेन्सीले यात्रुसँग मनोमानी भाडा असुल्न थालेपछि प्राधिकरणले आइतबारदेखि चार्टर्ड उडानमा रोक लगाएको हो । प्राधिकरणले शनिबार राति जरुरी सूचना जारी गर्दै कूटनीतिकबाहेकका उडान रोकिएको जानकारी गराएको छ । नेपालबाट सबै प्रकारका व्यावसायिक यात्रु उडान प्रतिबन्ध गरिएको अवस्थामा कूटनीतिक माध्यमबाट हुने उडानलाई मात्रै उडान अनुमति दिइने सूचनामा भनिएको छ ।

निगमको पूर्वनिर्धारित चार्टर्ड उडानमा भने असर नपर्ने निगमले उल्लेख गरेको छ । निगमको यात्रु चार्टर्ड गरिएको वाइडबडी जहाज आइतबार बेलुका ९ बजे जापानको नारिता र सोमबार अष्ट्रेलियाको क्यानबेरामा चार्टर्ड उडान गर्ने तालिका रहेको छ । बन्दाबन्दीमा नेपालबाट अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्ने वायुसेवा कम्पनीमध्ये निगमले सर्वाधिक चार्टर्ड उडान गरेको छ । नेपालबाट तीन नेपालीसहित ३० वायुसेवा प्रदायक कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् ।

बन्दाबन्दीको समयमा चार्टर्ड उडानले पछिल्लो समय वित्तीय सङ्कट बेहोरिरहेको नेपाल एयरलाइन्सलाई आर्थिकरूपमा पनि केही राहत मिलेको थियो । विपद्को उडान सारथी बनिरहेको नेपाल एयरलाइन्सले यात्रु चार्टर्ड र कार्गो चार्टर्ड उडान गर्दै आएको थियो । प्राधिकरणको निर्णयले अब कार्गो उडान मात्र गर्न पाउनेछ । व्यावसायिक चार्टर्ड उडान गर्न पाइँदैन । नेपाल एयरलाइन्सपछि कतार एयरले सबैभन्दा धेरै चार्टर्ड उडान गरेको थियो ।
निगमका एक उच्च अधिकारीका अनुसार प्राधिकरणको निर्णयले निगमलाई सबैभन्दा मार पुगेको छ । उनले “बन्दाबन्दीको अवधिमा चार्टर्ड उडानको अभिभारा बोकेको निगमलाई पछिल्लो प्राधिकरणको निर्णयले सबैभन्दा बढी असर गरेको छ, किनकि पछिल्लो समय उल्लेख्य संख्यामा हँुदै आएका चार्टर्ड उडान अब गर्न नपाइने भएको छ ।”

निगमले बन्दाबन्दीको अवधिमा नौ कार्गोसहित २३ अन्तर्राष्ट्रिय चार्टर्ड उडान तथा आन्तरिकतर्फ ११ चार्टर्ड उडान गरेको जनाएको छ । निगमले अन्य मुलुकमा पनि चार्टर्ड उडानका लागि पहल गरिरहेको थियो । प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले व्यावसायिक प्रकृतिका चार्टर्ड उडान प्रतिबन्ध गरिएको तर कूटनीतिक माध्यमबाट हुने चार्टर्ड उडान भने यथावत रहने जानकारी दिए ।

सरकारले गत चैत ९ गतेदेखि लागू हुने गरी नेपालमा अन्तर्राष्ट्रिय उडान भर्ने सबै वायुसेवा प्रदायक कम्पनीको उडान स्थगन गरेको थियो । त्यस्तै चैत ११ देखि आन्तरिक उडान पनि स्थगन गरिएको थियो । कोभिड–१९ महामारी नियन्त्रण गर्न सरकारले चैत ११ गतेदेखि देशभर बन्दाबन्दी गरेको छ । पछिल्लोपटक जेठ समान्तसम्म बन्दाबन्दीलाई निरन्तरता दिइएको छ । आगामी असार १६ सम्म हवाई उडान स्थगन गरिएको छ ।

सरकारसँग अनुमति नलिइ टिकट बिक्री गर्दै यात्रु चार्टर्ड हुन थालेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रायलले शनिबार प्राधिकरणलाई चार्टर्ड उडानमा कडाइ गर्न निर्देशन दिएको थियो । चैत १० देखि जेठ २४ सम्म ११० अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।––रासस

Nepal news headlines | breaking news kathmandu | national news of nepal live