Nepinbiz Team

पहिरोका कारण नारायणगढ—मुग्लिङ सडकखण्ड अवरुद्ध

काठमाडौं,जुन १७

लगातारको वर्षापछि आएको पहिरोले नारायणगढ—मुग्लिङ सडकखण्ड अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाँउपालिका वडा नम्बर ६ मा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । इच्छाकामना गाउँपालिकाको वडा नम्बर ६ चार किलोमा पहिरो खस्दा बुधबार बिहान करिब साढे ३ बजेबाट सडक अवरुद्ध भएको हो ।

सडक विस्तारको क्रममा उच्च जोखियुक्त क्षेत्र निर्धारण भएको उक्त क्षेत्रमा पहिरो रोकथामको काम भइरहेको थियो । पहिरो रोकथामको काम भइरहेको स्थानमा नै पहिरो खसेर सडक नै अवरुद्ध भएको हो । पहिरोले गर्दा रोकथामको लागि जडान तयार गरिएको स्काफफोल्फिङ समेत भत्काएको ईन्जिनियर शिव खनालले बताए ।

सडक अवरुद्ध हुदाँ सयौं मालबाहक तथा निजी सवारीसाधन अलपत्र परेका छन् । लोडर लगायतको तिनवटा मेसिन प्रयोग गरेर पहिरो हटाउने प्रयास भएपनि अहिलेसम्म सडक सुचारु हुन सकेको छैन । पहिरो ठूलो भएकाले पहिरो हटाउन समय लागेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुग्यो, संक्रमितको संख्या ७१७७

काठमाडौं,जुन १७

नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या २० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँके बैजनाथ—६ की ४६ वर्षिया महिलाको कोरोनाका कारण मृत्यु भएको हो ।

मृगौला सम्बन्धि समस्याका कारण जेठ ३० गते नेपालगञ्ज मेडकल कलेज शिक्षण अस्पतालमा भर्ना भएकी ती महिलाको असार १ गते साँझ मृत्यु भएको थियो । १ गते नै कोरोना परीक्षणका लागि उनको स्वाव संकलन गरिएपनि २ गते मात्रै रिपोर्ट आएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

पीसीआर विधिबाट १ लाख ४९ हजार ७ सय ७२ र पछिल्लो २४ घण्टामा ६ हजार ३७ जनाको कोरोना परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट २ लाख ३३ हजार ५ सय ४३ र पछिल्लो २४ घण्टामा १० हजार २४ परीक्षण भएको छ । अहिले देशभरीका क्वारेन्टाइनमा १ लाख २५ हजार ७ सय ९८ जना रहेका छन् । ५ हजार ९ सय ९० जना विभिन्न अस्पतालका आइसोलेनमा उपचाररत रहेका छन् । बुधबारसम्म १ हजार १ सय ६७ कोरोना संक्रमित उपचारपछि निको भएर डिस्चार्ज भएका छन् ।

नेपालमा बुधबार अहिलेसम्मकै ठूलो संख्यामा कोरोना संक्रमितहरु थपिएका छन् । मन्त्रालयका अनुसार आज ५ सय ८६ जना नयाँ संक्रमित थपिएका छन् । मन्त्रालय प्रवक्ता डा. गौतमका अनुसार नेपालमा संक्रमितको संख्या ७ हजार १ सय ७७ पुगेको छ ।

धरानमा भएको परीक्षणमा ५ जना, विराटनगरमा भएको परीक्षणमा ११ जना, जनकपुरमा भएको परीक्षणमा २७ जना, विरगञ्जमा भएको परीक्षणमा ६ जना, टेकुमा भएको परीक्षणमा २ सय ६५ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।

भरतपुर अस्पतालमा भएको परीक्षणमा ३, धुलिखेल अस्पतालमा ९९ जनाको पोजिटिभ आएको छ । यस्तै शिक्षण अस्पतालमा भएको परीक्षणमा १, पोखरामा भएको परीक्षण्मा २० जना, रुपन्देहीमा भएको परीक्षणमा ५९ जना, भेरी अस्पतालमा भएको परीक्षणमा ३२ जना, दाङमा भएको परीक्षणमा ३३ जना र सुर्खेतमा भएको परीक्षणमा ४ जनामा पोजिटिभ देखिएको छ । त्यसैगरी जुम्लामा भएको परीक्षणमा १४ जना, कैलालीमा भएको परीक्षण्मा ७ जनाको पोजिटिभ देखिएको छ ।

भारत चीनबीचको सीमामा भएको हिंसाप्रति संयुक्त राष्ट्रसंघको चासो

नयाँ दिल्ली,जुन १७

भारत र चीनबीचको सीमामा भएको हिंसाप्रति संयुक्त राष्ट्रसंघको चासो व्यक्त गरेको बताइएको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले सो विषयमा चासो व्यक्त गरेको हो । भारत र चीनबीचको सीमामा भएको विवाद र सैनिक झडपमा परी २० जना भारतीय सैनिकको ज्यान गएको बताइएको थियो ।

साथै संयुक्त राष्ट्रसंघका महासचिवले सो विषयमा वार्ताको माध्यमबाट विवादको समाधान खोज्नका लागि पनि आह्वान गर्नुभएको बताइएको छ ।संयुक्त राष्ट्रसंघका महासचिव गुटर्रेसकोतर्फबाट सहायक प्रवक्ताद्धारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ‘भारत र चीनबीचको सो विवादमा केही सैनिक हताहत भएको समाचार पनि हामीले सुनेका छौँ, हामीले परिस्थितिलाई थप उत्तेजक नबनाइ वार्ताको माध्यमबाट समाधान खोज्न दुवै पक्षलाई आग्रह गर्दछौँ ।’

भारत र चीनबीच ग्वालन उपत्यकास्थित लदाखमा यही जुन १५ को राति भारत र चीनका सीमा सुरक्षा सैनिकबीच झडप भएको बताइएको छ ।सो झडपमा परेर भारतका कम्तीमा पनि २० जना सैनिकको ज्यान गएको भारतले जनाएको छ । त्यस्तै चीनले पनि आफ्ना सैनिक मारिएको जनाएको छ ।

चीनका उप विदेशमन्त्री लुओ जाहोइ र चीनका लागि भारतका राजदूत विक्रम मिश्रीबीच बुधबार चीनको राजधानी बेइजिङमा भेटवार्ता भएको बताइएको छ ।
चीन र भारतबीचको यो तनावले विश्वको ध्यान दक्षिण एशियाको विकसित राजनीतिक घटनाक्रमप्रति खिचिएको छ ।

काँग्रेसद्वारा १२० स्थानबाट सरकारलाई विशेष ज्ञापनपत्र

काठमाडौं,जुन १६

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना भाइरस संक्रमण महामारी विरुद्धको संघर्षमा देखिएको अर्कमण्यता, भ्रष्टाचार र गैरजिम्मेवार प्रवृत्तिका विरुद्ध मंगलबार स्वदेश र विदेशका १२० स्थानबाट प्रधानमन्त्रीलाई विशेष ज्ञापनपत्र बुझाएको छ ।

प्रतिकुल परिस्थितिमा पनि काँंग्रेसले कोरोना विरुद्धको संघर्षमा समस्त नेपाली जनताको असन्तुष्टि, सुझाव र आग्रहलाई सरकार एवं प्रधानमन्त्री समक्ष प्रस्तुत गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

काँग्रेसले सामाजिक दुरी कायम गर्दै संघीय संसद, संसदीय दलको तर्फबाट प्रधानमन्त्री समक्ष, काँग्रेस प्रदेशसभा संसदीय दलको तर्फबाट प्रदेश सरकारसँग सम्बन्धित विषयवस्तुमा प्रदेश सरकारको मुख्यमन्त्री समक्ष र सङ्घीय सरकारसँग सम्बन्धित विषयवस्तुमा प्रदेश सरकारका मुख्यमन्त्रीमार्फत् प्रधानमन्त्री समक्ष विशेष ज्ञापन पत्र बुझाएको हो । यसैगरी काँग्रेसका ७७ वटै जिल्ला कार्यसमितिले प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीसमक्ष, विदेशस्थित नेपाली जनसम्पर्क समितिको तर्फबाट नेपाली दूतावासमार्फत् प्रधानमन्त्री समक्ष ज्ञापन पत्र बुझाएको मुख्यसचिव पौडेलले बताए ।

कोरोनाका कारण विकराल बन्दै गएको परिस्थिति बारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै बुझाइएको विशेष ज्ञापनपत्रमार्फत आरडिटी परीक्षण तत्काल रोकेर पिसीआर परीक्षणको दायरा व्यापक बढाइनुपर्ने, स्वास्थ सामग्रीको अपर्याप्तस्थिति तत्काल अन्त्य गरेर अत्यावश्यक स्वास्थ्य सामग्रीको पर्याप्त व्यवस्थापन गरिनुपर्ने माग गरिएको छ । यसैगरी क्वारेन्टिनमा मृत्युदेखि बलात्कारसम्मको घटनालाई गम्भीरतापूर्वक लिएर दोषीलाई कारवाही गर्दै तत्काल देशव्यापी रूपमा क्वारेन्टिनहरुलाई मापदण्डयुक्त बनाइनुपर्ने, श्रमिक, बेरोजगार, विद्यार्थी, अपाङ्गता भएका व्यक्ति र एकल महिलाका लागि विशेष राहत प्रबन्ध गरिनुपर्ने काँग्रेसले माग गरेको छ ।

बिदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई उद्धार गर्ने क्रममा निर्धारित अत्यन्तै महङ्गो हवाई भाडा फिर्ता लिइ खर्च हाल्न नसक्ने स्थितिमा पुगेका श्रमिकलाई निःशुल्क उद्धार गर्नुपर्ने, स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचारका दोषीलाई कारवाही र यस बीचमा भएको भनिएको दश अर्ब रकमको हिसाब सार्वजनिक गरिनुपर्ने ज्ञापन पत्रमा माग गरिएको छ ।

लकडाउनका कारण बन्द विद्यार्थीको पठनपाठन सुचारु गर्न राष्ट्रिय विमर्श साथ उनीहरुको शैक्षिक भविष्य सुरक्षाका लागि विशेष कार्य योजना यथाशिघ्र निर्माण गरिनुपर्ने, खेतीको मौसमलाई ध्यानमा राखेर कृषि उत्पादनका सम्बन्धमा मल, बीउदेखि आवश्यक प्रोत्साहन सम्मको, समन्वयमा सम्बन्धित निकायहरुले तीब्र रुपले कार्य गर्नुपर्ने, साना–ठूला व्यवसायीले भोग्नु परेको आर्थिक चुनौती सामना गर्न आवश्यक राहत योजना निर्माण गर्दै लकडाउन खुलेपछि मात्रै कर तिर्ने सहुलियतपूर्ण व्यवस्थापन गरिनुपर्ने र औद्योगिक उत्पादनमा सरिक श्रमिकदेखि श्रमजीवी पत्रकारसम्मको रोजगार सुरक्षा गर्दै, मिडिया हाउससम्मलाई राहत योजना ल्याइनुपर्ने काँग्रेसको माग छ ।

लद्दाकमा भारत र चीनका सैनिकबीच भएको झडपमा तीन भारतीय सैनिक मारिए,गोलीबारी भएन

नयाँ दिल्ली,जुन १६

लद्दाको गलवान घाटीमा चीनी सेनाका साथ भएको झडपमा तीन भारतीय सैनिक मारिएका छन् । झडपमा मारिएका तीन मध्ये एक कर्नल र दुइ जवान भएको जनाइएको छ । लद्दाक क्षेत्रमा सन् १९६२ पछि पहिलो पटक भारतीय सैनिक मारिएको हो ।

चीनी सैनिकको पनि भारी नोक्सान भएको सेनाले जनाएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । यसैबीच चीनका पनि सैनिक हताहत भएको चीनका विदेश मन्त्रालयले जनाएको छ ।  अर्कोतर्फ  ग्लोबल टाइम्सका अनुसार चीनको पनि पाँच सैनिक मारिएको हो ।

जानकारी अनुसार दुवै तर्फको सेना सीमाबाट पछि हटिरहेका थिए त्यहिबेला चीनी सैनिकको तर्फबाट भएको आक्रमणमा भारतीय सैनिक मारिएको भारतीय पक्षको भनाइ छ ।

यसैबीच चीनको विदेश मन्त्रालयले भनेको छ, भारतले यदि एकतर्फी कदम उठाउँछ भने यस किसिमका समस्या आउँछन् । चीनले आरोप लगाएको छ कि भारतीय सेना उनीहरुको सीमा क्याम्पमा पसेका थिए । यो घटना पछि दुइ मुलुकबीच अविश्वास उत्पन्न भएको छ ।

दुवै तर्फका सेनाले यो सीमामा तोप तथा अन्य सामग्री जमा गर्न थालेका छन् । युद्धको माहौल बनेको जस्तो भएको छ । साथै सैनिकको संख्या पनि बढाइएको छ । यसैबीच दुवै तर्फका सैन्य अधिकारीबीच उच्चस्तरीय बैठक जारी छ ।

यता भारतीय रक्षामन्त्रीले सैन्य अधिकारीहरुसँग मिटिंग गरेर प्रधानमन्त्री नरेन्द्र मोदीलाइ ब्रिफिंग गरेका छन् । रक्षामन्त्रीले घटनाबारे पत्रकारलाइ जानकारी गराउनेछन् ।

दुवै मुलुकबीच लद्दाको सीमा लाइन अफ कन्ट्रोललाइ लिएर आधिकारिक रुपमा बटवारा भएको छैन् । लद्दाकमा भारतीय सेनाले निर्माण कार्य गरिरहेको छ जसलाइ लिएर चीनले आपत्ति जनाउँदै आएको छ । चीनको भनाइ अनुसार भारतले उसको सीमा क्षेत्रमा निर्माण कार्य जारी राखेको हो ।

लद्दाक क्षेत्रको पेन्गांग क्षेत्रमा गत मे ५ मा भएको हिंसक झडप पछि भारत र चीनको सैनिकबीच गतिरोध चल्दै आएको थियो । पेंगान्ग सो झील नजीक फिंगर इलाकामा भारतले निर्माण गरेको सडकमा चीनले कडा आपत्ति गरेको थियो । यसका अलावा गलवान घाटीमा दरबुक–शायोक–दौलत बेग ओल्डी रोड जोडने सडक निर्माणमा पनि चीनले आपत्ति जनाएको थियो । यसपछि दुवै देशका सेना आमुन्ने सामुन्ने खडा भएका छन् ।

जुन ६मा भएको सैन्य स्तरीय वार्तामा भारत र चीन २०१८मा बुहानमा भएको शिखर बैठकमा दुवै देशका शीर्ष नेताबीच बनेको सहमतिको आधारमा फैसला गर्नेमा सहमत भएका थिए । ६ जुनमा लेहको १४ औं कोर जनरल अफिसर कमांडिंग लेफ्टिनेन्ट जनरल हरिंदर सिंह तथा तिब्बती सैन्य जिल्लाका कमान्डर मेजर जनरल लिउ लिनबीच समग्र बैठक भएको थियो ।

भारतीय पेन्सनधारी नेपालीलाई पेन्सन बुझ्न समस्या

बैतडी,जुन १६

करिब तीन महिनादेखि सीमानाका बन्दा हुँदा भारतीय पेन्सनधारी नेपाली नागरिकलाई समस्या भएको छ । भारतीय सेनाबाट सेवानिवृत्त भएका र अन्य भारतीय सरकारी कार्यालयबाट निवृत्त भएका नेपाली नागरिकलाई पेन्सनको रकम प्राप्त गर्न समस्या भएको हो । भारतीय पेन्सनधारीको पेन्सनवापतको पैसा भारतीय बैंकमै आउने गर्दछ ।

जारी लकडाउनका कारण सीमानाका बन्द भएपछि गएको तीन महिनायता पेन्सन नपाएको डिलाशैनी–६ का रतनसिंह मालले बताए । सीमानाका बन्द हुँदा धेरै समस्या भएको उहाँले बताउनुभयो । उनले भने, “कोरोना भाइरसका कारण सीमानाका बन्द हुँदा पेन्सन बुझ्न भारतीय बैंकमा जान पाएको छैन ।”

सीमानाका बन्द हुँदा पेन्सन बुझ्न नपाएको र यसले दैनिक घरधन्दा चलाउन नै मुस्किल भएको डिलाशैनी–६ कै जयबहादुर मालले बताए । उनले भने,“मासिक आउने पेन्सनले घरपरिवार चलाइरहेको थिएँ, लकडाउनले सीमापुल बन्द भएपछि निकै समस्या भएको छ ।”

बैतडी भारतसँग सीमा जोडिएको जिल्ला भएकाले यो जिल्लाका धेरै नागरिक भारतीय सेनाबाट निवृत्त भएका छन् । उनीहरुले मासिकरूपमा पेन्सन पाउँदै आएका भए पनि लकडाउनका कारण पछिल्लो तीन महिनायता पेन्सन पाउन सकेका छैनन् ।

भारतबाट पेन्सन बुझ्ने नेपालीहरुलाई नाकाबाट प्रवेश गराई समस्या समाधानका लागि भारतको पिथौरागढ जिल्लाका डिएमसँग आफूले कुराकानी र समन्वय गरिरहेको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए । “सीमानाका दुई देशको सहमतिले खुल्ने कुरा हो हामीले चाहेर मात्रै सक्दैनौँ”, उनले भने,“भारतीय पक्षले सहमति जनाएपछि हाम्रोतर्फबाट नि तयारी गर्छौँ ।”

बैतडीबाट मात्रै करिब दुई हजार बढी नागरिकले भारतको झुलाघाटबाट पेन्सन बुझ्ने गरेका छन् । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण गत चैत ११ गतेदखि सीमानाका बन्द छन् ।––रासस

इजरायल सरकारद्धारा नेपाललाइ स्वास्थ्य सामग्री सहयोग

काठमाडौं,जुन १६

कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि इजरायल सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । नेपालका लागि इजरायलका राजदूत बेनी ओमेरले कोरोना रोकथामका लागि पीपीई सेट, थर्मोमिटर, पन्जा, सर्जिकल मास्क, स्यानिटाइजर, सोडियम डिसइन्फेक्टेड लगायतका सामग्री उपलब्ध गराएका छन् ।

राजदूत ओमेरले मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई उक्त सामग्रीहरु उपलब्ध गराएका हुन् । सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री ढकालले महामारीको चपेटामा रहेको बेला इजरायल सरकारले उपलब्ध गराएको स्वास्थ्य सामग्री नेपालका लागि महत्वपूर्ण हुने बताए । उनले अप्ठेरो अवस्थामा स्वास्थ्य सामग्री उपलब्ध गराएर कोभिड १९ को जोखिम न्यूनीकरण गर्न नेपाली जनताको साथमा इजरायल सरकार छ भन्ने सन्देश दिएको बताए ।

इजरायल सरकारले पीपीई सेट (सुट एण्ड ट्रउजर, फेससिल, गगल्स, मास्क र पञ्जा) ५० थान, पीपीई बडि कभर ५ सय थान, थर्मोमिटर ५० थान, पन्जा १ सय ३० थान, स्यानिटाइजर ५ लिटरको ४० जार, स्यानिटाइजर ५ सय एमएल २ सय ३० बोतल, सोडियम डिसइन्फेक्टेड १ सय जार, पन्जा ५ सय थान, सर्जिकल मास्क ५ सय थान र अन्य मास्क ४ हजार थान सहयोग रुवरुप उपलब्ध गराएको छ ।

शान्त भए सुशान्त , बलिउडमा भाइभतिजावादको वहस

मुम्बई, जुन १५

बलिउडका चम्किला अभिनेता सुशान्त  शान्त भएका छन् । आइतबार आफ्नै निवासमा झुण्डिएर सदाकालागि भौतिक संसारबाट विदा लिएका सुशान्त सिंह राजपुतको  अन्तिम संस्कार पछि उनी सदाकालागि शान्त भएका हुन् । सोमबार मुम्बईको विले पार्लेको सेवा समाज घाटमा उनलाइ अन्तिम विदाइ दिइयो । उनका बुवा कृष्ण कुमार सिंहले मुखाग्नि दिएका थिए । यसका अलावा अन्तिम संस्कारमा उनका दिदी भिनाजु लगायत परिवारका अन्य सदस्यकासाथै नजिकका मित्रहरु सहभागी भएका थिए ।

पंचतत्वमा विलिन भएका सुशांतको मृत्यु साँस रोकिएको कारणले भएको पोष्टमार्टम रिपोर्टले देखाएको बताइएको छ । उनी आइतबार मुम्बईको वान्द्रास्थित आफ्नै फ्ल्याटमा झुन्डिएको अवस्थामा फेला परेका थिए । उनी पछिल्लो ६ महिनादेखि डिप्रेसनको औषधि सेवन गरिरहेको प्रहरीले बताएका छन् । मुम्वई क्राइम ब्रांचले सुशांतको मृत्यु बारे जाँच गरिरहेको छ ।

सुशांतको निधनले एकातिर बलिउडमा शोकको लहर छाएको छ भने अर्कोतिर पून एकपटक बाहिरबाट संघर्ष गरेर आउने अथवा गडफादर नहुने कलाकारहरुसँग हुने भेदभावबारे बहस छेडिएको छ ।

बलिउड अभिनेत्री कंगना रनावतले सुशांतलाइ आत्महत्या गर्न फिल्म जगतमा हुने गरेको नेपोटिज्म(भाइभतिजावाद)ले उक्साएको आरोप लगाएकी छन् । उनले पून निर्माता निर्देशक करण जौहरलाइ लक्षित गरेर पछिल्लो फिल्म ड्राइभमा सुशांतको रोल नै सीमित पारिदिएको आरोप लगाइन । उनले करणले आफूलाइ पनि उंगली भन्ने फिल्ममा शुरुमा ४५ मिनेटको रोल दिएर १०–१५ मिनेटमा भुमिकमा सिमित गरिदिएको खुलासा गरिन ।

त्यसैगरि सुशांतको निधनपछि प्रख्यात फिल्ममेकर शेखर कपुरले पनि ट्वििट गर्दै कटाक्षपूर्ण टिप्पणी गरेका छन् । ‘तिमी कुन पिडाबाट गुज्रिरहेका थियौं, मैले बुझेको थिए । मलाइ ती मानिसहरुको कहानी पनि थाहा छ जसका कारण तिमी यति नराम्रोसँग टुटेको थियौ र मेरो काँधमा शिर राखेर रोएका थियौं, काश म पछिल्लो ६ महिना तिम्रा वरिपरि नै भएको भए हुन्थ्यो, काश तिमी म नजीक नै आएको भए हुन्थयो । जुन तिमीसँग घटयो त्यो तिम्रो होइन,उनीहरुको कर्म हो ’, शेखरले सुशांतलाइ संझिदै लेखेका छन् ।

शेखर कपुरको महत्वकांक्षी फिल्म पानीको मुख्य भुमिकामा सुशांतले अभिनय गर्ने तय भएको थियो । यशराज फिल्मसको ब्यानरमा बन्ने भनिएको यो फिल्म विभिन्न कारणवश बन्द भयो । पछिल्लो सात वर्ष यही फिल्मका कारण सुशांतले अन्य फिल्म अस्वीकार गरेका थिए । यो फिल्म नबन्ने भएपछि पनि उनी डिप्रेसनमा गएको हुन सक्ने अनुमान गरिएको छ ।

त्यसैगरि फिल्ममेकर मुकेश भट्टले पनि उनले सुशांतलाइ पछिल्लो समय भेटदा उनी सामान्य नरहेको खुलासा गरेका छन् । डेढ वर्ष अघि सडक २ को कास्टिंगको क्रममा मिटिंगको दौरान उनले सुशांतसँग भएको कुराकानी संझदै सुशांतलाइ एक विचलित व्यक्तिको रुपमा पाएको बताए ।

३४ वर्षका सुशांतको पछिल्लो उत्कृष्ट फिल्म छिचोरे निकै मन पराइएको थियो । फिल्ममा असफल हुँदा आत्महत्या सही समाधान नहुने संदेश दिएको यो रिल लाइफका मुख्य अभिनेताले नै रियल लाइफमा संदेश मनन गर्न सकेनन । तर सोमबार पंचतत्वमा विलिन भइसकेका सुशांतले एउटा प्रश्न छोडेर गए, उनी जीवनसँग हारे तर किन ?

अलविदा सुशान्त !!!

सरकारी कार्यालयहरु खुले

काठमाडौँ ,जुन १५

सरकारी तथा गैरसरकारी कार्यालयहरु लक डाउनको ८३ दिनपछि खुलेका छन् । सरकारको निर्णय अनुसार दुई सिफ्टमा गरी सोमबारबाट सरकारी कार्यालयहरु खुलेका हुन् । विहान ८ बजेटबाट दिउँसो १ बजेसम्म र १ बजेटबाट साँझ ६ बजेसम्म गरी दुई सिफ्टमा कार्यालयहरु सञ्चालनमा आएका हुन् । सरकारी कार्यालयसँगै गैरसरकारी कार्यालय, बैंक तथा वित्तिय संस्थाहरु पनि सञ्चालनमा आएका छन् ।

लक डाउन खुकुलो बनेसँगै सडकमा सवारीको चाप पनि बढेको छ । सरकारले जोर विजोर प्रणालीअनुसार सवारी सञ्चालन गर्ने निर्णय गरेपनि कार्यालयहरु सञ्चालन भएसँगै सवारीको चाप बढेको छ । कार्यालय प्रवेश गर्नुअगाडी सामाजिक दुरी कायम गर्दै तापक्रम लिने गरिएको छ । हात धोएर कार्यालय भित्र समेत सामाजिक दुरी कायम गर्नुपर्ने बताइएको छ ।

सेवाग्राहीहरुले समेत सेवा लिँन जाँदा सामाजिक दुरी कायम गर्नुपर्ने छ । मन्त्रिपरिषद्को जेठ २८ गतेबसेको बैठकले आजबाट कार्यालयहरु दुई सिफ्टमा सञ्चालन गर्ने निर्णय गरेको थियो । लक डाउन खुकुलो भएपनि मानिसबो बढी भिडभाड हुने ठाउँ, शैक्षिक संस्था, अनुमति प्राप्त बाहेक सम्पूर्ण उडानहरु, सभा सम्मेलन सबै लगायतका क्षेत्र बन्द रहेका छन् । पैदल आवागमन भने खुला गरिएको छ ।

पशुपतिनाथ मन्दिर परिसरमा सरसफाईकालागि भारतको सहयोग

काठमाडौं,जुन १५

पशुपतिनाथको मन्दिर परिसरमा सरसफाइ सुविधाकालागि भारत सरकारले नेपाललाइ ३ करोड ७२लाख तीस हजार नेपाली रुपैया बराबरको अनुदान सहयोग गरेको छ । सोमबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, काठमाडौं महानगरपालिका र भारतीय दूतावासबीच सो सहयोग सम्बन्धि संझौता पत्रमा त्रिपक्षीय हस्ताक्षर गरिएको छ ।

सन् १९७९ देखि युनेस्कोको विश्व सम्पदा सूचीमा रहेको पशुपति परिसरमा सरसफाई सुविधाकालागि भारत सरकारद्वारा उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसिडिपी) अथवा पहिलेको साना विकास परियोजना(एसडिपीज) को रुपमा नेपाल–भारत मैत्रीः विकास साझेदारी अन्तर्गत अनुदान दिइने बताइएको छ ।

यस परियोजनामा सहयोगकालागि पशुपति क्षेत्र विकास कोष (पिएडिटी) ले भारतीय राजदूतावासलाई सन् २०१९ को अक्टोबर महिनामा प्रस्ताव पठाएको थियो । पशुपतिनाथ मन्दिरमा आउने तीर्थालु तथा धार्मिक पर्यटकहरुकालागि सरसफाई सुविधा प्रदान गर्न यस परियोजनाको कार्यान्वयन काठमाडौं महानगरपालिकाले नेपाल सरकारले तोकेको मापदण्ड अनुरुप गर्ने सहमति भएको छ । सहमति अनुसार १५ महिनामा निर्माण कार्य सम्पन्न गर्नकालागि महानगरपालिकाले बोलकबोल(टेन्डर) प्रक्रियामार्फत ठेकेदारको पहिचान गर्नेछ ।

काठमाडौंको गौशालामा अवस्थित पशुपतिनाथ मन्दिर हिन्दु धर्मावलम्बीहरुकालागि ठूलो आस्थाको केन्द्र हो । दैनिक हजारौंको संख्यामा तीर्थालु भक्तजनको आवागमन हुने यो मन्दिर भारतीयहरुकालागि पनि अत्यन्त महत्व राख्दछ । सन् २०१४ अगस्ट महिनामा दुवै सरकारले सहमति गरेको सरसफाई परियोजना अनुरुप पशुपतिनाथ मन्दिर परिसरमा सार्वजनिक सुविधाहरुको स्तरोन्नतिका लागि भारत सरकारले अनुदान सहयोग दिएको हो ।

link :

https://twitter.com/IndiaInNepal/status/1272507342282620928
https://www.indembkathmandu.gov.in/news_letter_detail/?id=100
Nepal news headlines | breaking news kathmandu | national news of nepal live