Nepinbiz Team

अमेरिकी राष्ट्रपति ट्रम्प भारत भ्रमणमा

एनआईबि संवाददाता,नयाँ दिल्ली
२४ फरबरी २०२०

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफनो पहिलो भारत भ्रमणको क्रममा पहिलो चरणको निर्धारित कार्यक्रम अनुसार सोमबार अहमदाबाद पुगे । पत्नी मेलिनियाकासाथ राष्ट्रपति ट्रम्प एयर फोर्स वन विमान आएका छन् । ट्रम्प दम्पती अहमदाबादको सरदार बल्लभ भाई पटेल विमानस्थलमा बिहान ११ बजेर ३७ मिनेटमा उत्रिएका थिए ।

ट्रम्पको स्वागतकालागि प्रोटोकल तोडेर प्रधानमन्त्री नरेन्द्र मोदी आफै विमानस्थल पुगेका थिए । मोदीले ट्रम्पलाइ अंगालो हालेर नै स्वागत गरेका थिए । मोदीले ट्रम्प भारत पुग्नुअघि नै ट्वििट गर्दै लेखेका थिए , ‘हिन्दुस्तान तपाई भारत पुग्ने पर्खाइमा छ ।’

विमानस्थलबाट उनीहरु साबरमती आश्रम सम्म रोड सो गर्दै पुगेका थिए । आश्रममा ट्रम्प मोदीले महात्मा गान्धीको प्रतिमामा माल्यापर्ण गरेका थिए ।

ट्रम्प मेलेनियाले आश्रममा राखिएको चर्खा पनि चलाएका थिए । ट्रम्पले साबरमती आश्रमको आगन्तुक पुस्तिकामा सन्देश लेखेका छन् । सन्देशमा उत्तर भारत यात्राकोलागि महान मित्र प्रधानमन्त्री मोदीलाइ धन्यबाद दिएका छन् ।

उनको सन्देश अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओवामाले पनि सन् २०१०मा भारत यात्राको दौरान साबरमती आश्रम पुगेका थिए । गान्धीजीको जीवनमा जोडिएको खास स्थानको अवलोकन गर्ने सौभाग्य पाएर म आशा र प्रेरणाले भरिएको छु । उहाँ भारतका मात्र नभएर विश्वकै हिरो हुनुहुन्छ,’ उनले आफ्नो सन्देशमा लेखेका थिए ।

आगन्तुक पुस्तिकामा ट्रम्पले महात्मा गान्धीको बारेका एउटा शब्द पनि उल्लेख नगरेको भन्दै भारतीय संचारमाध्यमहरुले  आश्चर्य  प्रकट गरेका छन् ।

ट्रम्प अघि कुन कुन अमेरिकी राष्ट्रपतिले भारत भ्रमण गरे ?

एनआईबि संवाददाता,नयाँ दिल्ली,

काठमाडौँ ,२४ फरवरी २०२०

अमेरिकी राष्ट्रपति ट्रम्पको भारत भ्रमण अघि ६ राष्ट्रपतिले भारत भ्रमण गरेका छन् । ट्रम्प सातौं राष्ट्रपति हुनेछन् । वाराका ओवामा अघिका राष्ट्रपतिहरुले भारत भ्रमणका कार्यक्रम पाकिस्तान र अफगानिस्तानको भ्रमणसँगै तय गरेको देखिएको छ ।

कुनै राष्ट्रपतिले भारत भ्रमण गरेर पाकिस्तान अफगानिस्तानको भ्रमण गरेका थिए भने कोही पहिले नै भ्रमण सकाएर भारत आएका थिए । यसले अमेरिकाको भारतप्रतिको इन्ट्रेस्ट क्रमिक रुपमा बढदै गएको देखिन्छ ।

राष्ट्रपति ड्वििट डेभिड आइसनहवर

भारत स्वतन्त्र भएको १२ वर्षपछि अमेरिकाबाट पहिलो राष्ट्रपतिले भारत भ्रमण गरेका थिए । सन् १९५९ मा अमेरिकाका तात्कालिन राष्ट्रपति ड्वििट डेभिड आइसनहवरले स्वतन्त्र भारतको पहिलो भ्रमण गरेका थिए ।

दोश्रो विश्व युद्ध समाप्त भएको दुइ वर्षपछि सन् १९४७ मा ब्रिटिश शासनबाट स्वतन्त्र भएको भारत भ्रमण अघि आइसनहवरले डिसेम्बर ७ देखि ९ सम्म पाकिस्तान र अफगानिस्ताको भ्रमण सकाएर अन्त्यमा भारत आएका थिए ।

१९५९ डिसेम्बर ९ देखि १४ सम्म भारतको भ्रमणमा रहेका आइसनहवरले नयाँ दिल्ली र आगरामा समय बिताएका थिए । उनी अमेरिकाका ३४ औं राष्ट्रपति थिए । उनले दुइ पटकको कार्यकालमा दोश्रो कार्यकालको मध्यमा भारत भ्रमण गरेका थिए ।

उनको भारत भ्रमणको समयमा भारतमा राजेन्द्र प्रसाद राष्ट्रपति र जवाहरलाल नेहरु प्रधानमन्त्री थिए । उनले त्यतिबेला भारतको संसदलाइ समेत सम्बोधन गरेका थिए ।
राष्ट्रपति जान एफ केनेडि र लिण्डन बी जानसन

१९६१मा ३५औं राष्ट्रपति बनेका जान एफ केनेडिले भारत भ्रमण गरेनन् । राष्ट्रपति बनेको दुइ वर्षमै केनेडिको हत्या गरिएको थियो । उनको निधन पछि १९६३मा राष्ट्रपति बनेका लिण्डन बी जानसनले पनि भारत भ्रमण गरेनन । तर उनले पाकिस्तानको भ्रमण भने गरेका थिए । उनी डिसेम्बर २३ १९६७मा पाकिस्तान आएका थिए । उनले केनेडिको बाँकी रहेको दुइ वर्ष र त्यसपछि चारवर्षको कार्यकाल गरेर ६ वर्ष राष्ट्रपतिको जिम्मेबारी संभालेका थिए ।

राष्ट्रपति रिचार्ड निक्सन

आइसनहवर भारत आएको दश वर्षपछि सन् १९६९ जुलाइ ३१मा राष्ट्रपति रिचार्ड निक्सनले भारतको राजकीय भ्रमण गरेका थिए । जिम्मेबारी संभालेको ६ महिनाभित्रै उनी दुइ दिने भ्रमणका क्रममा भारत आएका थिए । उनले तात्कालिन राष्ट्रपति मोहम्मद हिदायातुल्लाहलाइ भेटेका थिए । इन्दिरा गान्धी त्यतिबेला भारतको प्रधानमन्त्री थिइन । भारत भ्रमण सके लगत्तै अगस्त १–२मा निक्सन दुइ दिने भ्रमणका क्रममा पाकिस्तान पनि पुगेका थिए ।

राष्ट्रपति जिम्मी कार्टर

जिम्मी कार्टरले सन् १९७८ जनवरी १–३ सम्म गरेको भारत भ्रमणका क्रममा उनले पनि भारतको संसदमा सम्बोधन गरेका थिए । निलम सन्जीव रेड्डी राष्ट्रपति र मोरारजी देसाइ प्रधानमन्त्री भएको समयमा कार्टरको भारत भ्रमण भएको थियो । उनले हरियाणा राज्यको भ्रमण समेत गरेका थिए ।

राष्ट्रपति बिल क्लिंगटन

सन् २०००मा राष्ट्रपति बिल क्लिंगटन पनि भारत आएका थिए । २०००मार्च १९देखि२५ सम्मको भ्रमणको तालिकामा २० तारिखमा उनले बंगलादेश पुगेर फेरि भारत फर्किएका थिए । उनले तात्कालिन भारतीय राष्ट्रपति के.आर. नारायणसँग भेट गरेका थिए । उनको भ्रमणका क्रममा उर्जा तथा वातावरण सम्बन्धी संयुक्त वक्तव्यमा हस्ताक्षर भएको थियो ।

२५ मार्चमा भारतबाट विदा भएर उनी पाकिस्तान हुँदै अमेरिका फर्किएका थिए ।

राष्ट्रपति जर्ज डब्लु बुस

सन २००१ देखि दुइ कार्यकाल राष्ट्रपति बनेका जर्ज डब्लु बुसले पनि आफ्नो दोश्रो कार्यकालको मध्यमा भारत भ्रमण गरेका थिए । उनले २००६ मार्च १–३ सम्म भारत भ्रमण गरेका थिए ।

तात्कालिन प्रधानमन्त्री डा. मनमोहन सिंहको कार्यकालमा भारत आएका बुसको भ्रमणका क्रममा भारतकोलागि उपलब्धि मानिएको अमेरिका–भारत न्यूक्लियर संझौतामा हस्ताक्षर भएको थियो ।

यही समयपछि भारत र अमेरिकाबीचको सम्बन्धमा न्यानोपना आउन शुरु भएको हो । भारत र अमेरिका सम्बन्धलाइ गति दिने प्रधानमन्त्रीको रुपमा मनमोहन सिंहको योगदान उल्लेख्य मानिन्छ ।

राष्ट्रपति वाराक ओवामा

त्यसपछिका राष्ट्रपति वाराक ओवामाले दुइ कार्यकालमा दुइ पटक भारतको भ्रमण गरेका थिए । २०१० नोभेम्बर६–९ मा पत्नी मिशेल ओवामाका साथ उनले पहिलो पटक मुम्बइ र दिल्लीको भ्रमण गरेका थिए । अमेरिका भारत व्यापार परिषद तथा उद्यमशीलता शिखर सम्मेलनमा सहभागी भएका ओवामाले मुम्बइको टाउन हलमा मुम्बईका विद्यार्थीहरुसँग छलफल गरेका थिए ।

तात्कालिन राष्ट्रपति प्रतिभा पाटिल र प्रधामन्त्री डा मनमोहन सिंह सँग ओवामाले भेटवार्ता गरेका थिए । उनले पनि भारतीय संसदलाइ सम्बोधन गरेका थिए । ओवामा दम्पतीले हुमायुको मकवरा तथा राजघाट समेत अवलोकन गरेका थिए ।

उनले दोश्रो पटक, प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो कार्यकालमा सन् २०१५ जनवरी २५–२७ मा भारत भ्रमण गरेका थिए । भारतीय गणतन्त्र दिवसको मुख्य अतिथिको रुपमा सहभागी भएका ओवामा , यो अवसरमा सहभागी हुने पहिलो अमेरिकी राष्ट्रपति थिए । त्यतिबेला पनि उनी अमेरिका भारत व्यापार परिषदले आयोजना गरेको छलफलमा सहभागी भएका थिए ।

भारतको भ्रमणमा आएका ओवामा छैठौं अमेरिकी राष्ट्रपति थिए । ती मध्ये सन् १९६९मा राष्ट्रपति रिचार्ड निक्सनले मात्र राजकीय स्तरको भ्रमण गरेका थिए । हालका राष्ट्रपति डोनाल्ड ट्रम्पले राजकीय स्तरको भ्रमण गर्ने भएका हुन् । उनी भारत भ्रमणमा आउने अमेरिकाका सातौं राष्ट्रपति हुनेछन् । भने राजकीय स्तरको भ्रमण गर्ने दोश्रो राष्ट्रपति ।

भारत नआएका अमेरिकी राष्ट्रपति

पछिल्लो ६ दशकमा अमेरिकामा १२ राष्ट्रपति चुनिए । जसमध्ये ६ राष्ट्रपतिले भारत भ्रमण गरे भने ट्रम्प सातौंं राष्ट्रपति हुनेछन् । भारत नआएका राष्ट्रपतिहरु जान एफ केनेडि, लिण्डन बी जानसन, गेराल्ड फोर्ड, जर्ज एच डब्लु बुस र रोनाल्ड रेगन हुन् ।

हाइलाइट
सन् २००६मा दुइ देशबीच भएको न्यूक्लियर संझौतापछि भारत अमेरिका सम्बन्धमा न्यानोपना शुरु भएको हो ।

भारतमा प्रधानमन्त्री डा मनमोहन सिंहको कार्यकालमा अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसले गरेको भारत भ्रमणका क्रममा भएको न्यूक्लियर संझौता पछि भारत–अमेरिका सम्बन्धले गति लिएको देखिन्छ ।

ट्रम्पकालागि भारतको स्वागत नारा : ‘नमस्ते ट्रम्प’

एनआईबि संवाददाता,नयाँ दिल्ली,

२२ फरबरी २०२०

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा अमेरिकाका राष्ट्रपति डोनाल्ड जे.ट्रम्प श्रीमती मेलिनियाका साथ भारतको दुइ दिने राजकीय भ्रमणकालागि यही फरबरी २४ (सोमबार) भारत आउँदैछन् । उनका साथ छोरी इबांका ट्रंप तथा ज्वाई जारेद कुश्नेर पनि भारत आउदैछन ।

ट्रम्पले आफ्नो कार्यकालको अन्तिम वर्ष भारतको भ्रमण गर्न लागेका हुन् । ट्रम्पको कार्यकाल २०२१ जनवरी २० मा सकिदैछ । उनले २०१७ जनवरी २०मा राष्ट्रपतिको पदभार ग्रहण गरेका थिए । अमेरिकी संविधान अनुसार राष्ट्रपतिको कार्यकाल चार वर्षको हुने व्यवस्था रहेको छ । अमेरिकामा आउँदो नोभेम्बर ३ मा राष्ट्रपतिको निर्वाचन हुने तय भएको छ । ट्रम्पले पहिलो पटक भारत भ्रमण गर्न लागेका हुन् ।

मोदी र ट्रम्पबीच पछिल्लो आठ महिनामा पाँचौ पटक भेट हुँदैछ । यस अघि उनीहरुबीच ओसाका, बायरिज, हयुस्टन र न्यूयोर्कमा चार पटक भेट भइसकेको छ भारतीय विदेश मन्त्रालयले यो भेटघाटलाइ भारत र अमेरिकाबीचको बढदो निकट सम्बन्धलाइ दर्शाएको उल्लेख गरेको छ ।

ट्रम्पको स्वागतकालागि भारत सरकार उत्सुक रहेको विदेश मन्त्रालयका प्रवक्ता रवीस कुमारले बताएका छन् । भारतीय विदेश मन्त्रालयको पत्रकार सम्मेलनमा रवीसले भने,‘हामी राष्ट्रपति डोनाल्ड ट्रम्पको यात्राकालागि उत्सुकताका साथ प्रतीक्षा गरिरहेका छौं । यसले हाम्रा वैश्विक सामरिक सम्बन्ध थप मजबुत हुनेछ ।’

सन् १९४७मा भारत स्वतन्त्र भएपछि भारत भ्रमणमा आउन लागेका ट्रम्प अमेरिकाका सातौं राष्ट्रपति हुन् । यस अघि पछिल्लो पटक तात्कालिन राष्ट्रपति बाराक ओवामाले २०१५जनवरी २५–२७मा तीन दिने भारत भ्रमण गरेका थिए । ओवामा आफनो दुवै कार्यकालमा भारत आएका थिए ।

ट्रम्पको निर्धारित कार्यक्रम तालिका

निर्धारित कार्यक्रम अनुसार राष्ट्रपति ट्रम्प सोमबार दिउँसो नयाँ दिल्ली आइपुग्नेछन् । त्यसपछि उनी प्रधानमन्त्री नरेन्द्र मोदीको गृहनगर गुजरात पुग्नेछन । अहमदाबादको सबैभन्दा ठूलो क्रिकेट स्टेडियम मोटेरा स्टेडियममा डिजाइन गरिएको ‘नमस्ते ट्रम्प’ कार्यक्रममा दुइ राष्ट्रध्यक्ष सहभागी हुने प्रवक्ता कुमारले बताएका छन् । यद्यपि भारतीय संचारमाध्यमहरुका अनुसार नमस्ते ट्रम्प कार्यक्रममा सहभागी हुनु अघि प्रधानमन्त्री मोदीले ट्रम्पलाइ साबरमती आश्रममा स्वागत गर्नेछन । दुवै राष्ट्राध्यक्ष पहिले सावरमती आश्रममा भेट गरेपछि नमस्ते ट्रम्प कार्यक्रममा सहभागी हुनेछन् ।

नमस्ते ट्रम्पको अवधारणा गत वर्षको जुनमा मोदीले अमेरिका भ्रमण गर्दा टेक्सासमा आयोजना गरिएको ‘हाउडी मोदी’ कार्यक्रमको जस्तै रहेको पनि विदेश मन्त्रालयले उल्लेख गरेको छ । हाउडी मोदी कार्यक्रममा राष्ट्रपति ट्रम्प सहभागी भएपछि दुइ राष्ट्राध्यक्षले प्रवासी भारतीय अमेरिकीहरुलाइ सम्बोधन गरेका थिए । स्मरणीय कुरा के भने ‘हाउडी मोदी’ भारत सरकारको सहयोगमा प्रवासी भारतीय अमेरिकीहरुले मोदीको सम्मानमा स्वतन्त्र रुपमा आयोजना गरिएको कार्यक्रम थियो । तर ‘नमस्ते ट्रम्प’ भने भारत सरकारले ट्रम्पको स्वागतमा आयोजना गर्न लागेको कार्यक्रम हो ।

अहमदाबाद विमानस्थलदेखि मोटेरा स्टेडियम सम्म मोदी र ट्रम्पको काफिलालाइ स्वागत गर्नकालागि लामो लाइन हुनेछ । ट्रम्प जुन जुन बाटो भएर गुज्रिनेछन त्यहाँ भारतको विभिन्न प्रान्तको झलक देखाउने २८ मन्च तयार पारिदैछ जसलाइ इण्डिया रोड सो को नाम दिइएको छ । ट्रम्प मार्गमा गान्धीको जीवन दर्शाउने विभिन्न दृश्य हुनेछन । मोदी र ट्रम्पले स्टेडियमा उपस्थित दर्शकदीर्घालाइ सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । मोदी–ट्रम्पको रोड सोमा दुइ लाख बढीको सहभागिता हुने अनुमान गरिएको छ । यस अघि ट्रम्पले सत्तरी लाखको सहभागीता हुने भन्दै ट्वििट गरेका थिए ।

अहमदाबादको कार्यक्रम पछि ट्रम्प श्रीमती मेलेनिया सहित आगरामा ताजमहल अवलोकन गर्न जानेछन । त्यहाँको कार्यक्रम एक घण्टाको हुनेछ ।

दोश्रो दिनको कार्यक्रम

भ्रमणको दोश्रो दिन मंगलबार ट्रम्प दिल्ली आउने कार्यक्रम रहेको छ । मंगलबार विहान राष्ट्रपति भवनको फोरकोर्टमा राजकीय सम्मान दिने कार्यक्रम रहेको छ। त्यसपछि ट्रम्प दम्पती महात्मा गान्धीको समाधिस्थल राजघाट पुग्ने श्रद्धासुमन अर्पण गर्ने कार्यक्रम रहेको छ ।

भारतीय विदेश सचिव हर्षबद्र्धन श्रृंगलाका अनुसार मंगलबार हैदराबाद हाउसमा मोदी र ट्रम्पबीच प्रतिनिधीमण्डलबीच रक्षा र व्यापार लगायत विभिन्न मुद्दामा व्यापक छलफल हुनेछ । उनका अनुसार यो छलफलमा रक्षा ,सुरक्षा, प्रति आतंकवादका साथै व्यापार उर्जा, जनताबीचको सम्बन्ध लगायत अन्य द्धिपक्षिय मुद्दाहरुमा व्यापक छलफल हुनेछ । क्षेत्रीय तथा वैश्विक मुद्दाहरुका विषयमा पनि छलफल हुने उनले उल्लेख गरेका छन् ।

यो भ्रमण मुख्य रुपमा हिन्द–प्रशान्त क्षेत्रमा शान्ति र रणनीतिक सहयोगको विषयमा केन्द्रित रहनेछ, श्रृंगलाले बताएका छन् । उनले अमेरिकी राष्ट्रपतिको भारत भ्रमणले दुइ देशबीचको अभुतपूर्व सम्बन्धलाइ थप मजबुती दिने विश्वास समेत व्यक्त गरेका छन् ।

भारत र अमेरिकाबीच द्धिपक्षीय संझौताको संभावना

राष्ट्रपति ट्रम्पले वाशिंगटनमा आफनो भारत भ्रमणबारे बताउँदै भनेका छन् , ‘म आगामी साता भारत भ्रमणकालागि जाँदैछु । हामी बीच व्यापारका कुरा हुनेछन् । भारतले हामीलाइ धेरै वर्षदेखि उच्च भंसार दरको मार दिएको छ । म प्रधानमन्त्री मोदीलाइ निकै मन पराउँछु । तर हामी थोरबहुत व्यापारका कुरा पनि गर्छौं । भारतले हामीलाइ विश्वको सबैभन्दा उच्च भंसार दरको प्रस्ताव गरेको छ ।’

ट्रम्पले भारतसँगको व्यापारमा देखाएको असंतुष्टि पहिलो पटक होइन । यस अघि पनि गत मंगलबार उनले नोभेम्बरको निर्वाचन अघि भारतसँग ठूलो व्यापारिक डिल संझौता हुन नसक्ने उल्लेख गरिसकेका छन् । ‘हामीबीच व्यापार संझौता हुनसक्छ तर ठूलो संझौता पछिकालागि राखेको छु । म प्रधानमन्त्री नरेन्द्र मोदीलाइ निकै मन पराउँछु तर भारतले हामीसँग एकदम राम्रो व्यवहार गरेको छैन,’ट्रम्पले वाशिंगटनमा पत्रकारहरुसँग भनेका छन् ।

यता भारतीय संचारमाध्यम द इन्डियन एक्सप्रेसले दिल्ली कुटनीतिक श्रोतलाइ उद्धृत गर्दै लेखे अनुसार भारत र अमेरिकाबीच अमेरिकी रक्षा कम्पनीसँग २४ बहुभुमिका भएको एन्टी सबमरिन(पनडुब्बी) हेलिकप्टर किन्ने संझौता हुन सक्छ ।

दिल्लीले अमेरिका भारतको सम्बन्धलाइ एकदम राम्रो प्रचार गरेपनि बारम्बारको ट्रम्पको अभिव्यक्तिले अमेरिकाको भारतसँगको गुनासो प्रष्ट देखिएको छ । यस अघि पनि ट्रम्पले भारतलाइ अमेरिकी उत्पादनमा लगाएको उच्च भंसार दरका कारण ‘ट्यारिफ किंग’को उपमा दिएका थिए ।

भारत र अमेरिका दीर्घकालिन हितलाइ ध्यानमा राखेर कुनै पनि संझौतालाइ अन्तिम रुप दिन चाहेको देखिएको छ । भारतीय विदेश सचिव श्रृंगलाले पनि यस बारेमा पछि कुराकानी हुन सक्ने बताएका छन् ।

ट्रम्प मंगलबार फर्किने

ट्रम्प मंगलबार अपराह्न भारत स्थित अमेरिकी दूतावासले आयोजना गर्ने नीजी कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ । त्यहाँ उनले उद्योगपतिहरुसँग राउण्ड टेबल छलफल गर्ने कार्यक्रम रहेको छ ।

अन्त्यमा राष्ट्रपति ट्रम्प भारतीय राष्ट्रपति रामनाथ कोबिन्दसँगको भेट र उनले ट्रम्पको सम्मानमा राष्ट्रपति भवनमा आयोजना गर्ने रात्रीभोजमा सहभागी भएर ट्रम्प दम्पती अमेरिका फर्किने कार्यक्रम रहेकोे छ । ट्रम्प दम्पतीले भारतमा लगभग ३६ घण्टा समय बिताउने गरी कार्यक्रम तय भएको विदेश मन्त्रालयले जनाएको छ ।

एमसिसी परिमार्जनसहित अनुमोदन हुन्छ :अध्यक्ष दाहाल

काठमाडौं, २२ फरबरी २०२०

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सरकारको सहायता कोष मिलेनियम च्यालेञ्ज कोअपरेसन (एमसिसी) परिमार्जनसहित अनुमोदन हुने बताएका छन् । शनिबार चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले एमसिसी अध्ययन गरेर परिमार्जनसहित अनुमोदन गरिने बताए ।

शुक्रबार एमसिसी अध्ययन गर्न बनेको नेकपाको कार्यदलले प्रतिवेदन बुझाएको बताउँदै यस विषयमा बिस्तृत अध्ययन गरी परिमार्जनसहित अनुमोदन हुने विश्वास दाहालले व्यक्त गरे । उनले भने,‘एमसिसी कुनै बाइवल होइन यसलाई परिमार्जन गरेर अघि बढाइनेछ’, प्रधानमन्त्रीले यस विषयमा अमेरिकी सरकारसँग पनि कुरा गरिसकेको उनले जानकारी दिए ।

अध्यक्ष दाहालले सरकारको कामका विषयमा शनिबारदेखि शुुरु हुने सचिवालय बैठकले समीक्षा गर्ने बताए । वर्तमान सरकारले गरेका धेरै राम्रा कामहरुलाई पनि केही नराम्रा कामले छोपेको भन्दै उनले यस विषयमा समीक्षा गरेर अघि बढ्ने बताए । फरक प्रसंगमा उनले नेकपाभित्र आन्तरिक विवाद नरहेको पनि स्पष्ट पारे । ––रासस

एमसिसी कार्यदलले बुझायो प्रतिवेदन

एनआईबि सम्वाददाता

काठमाडौं, २१ फरबरी २०२०

मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)को अध्ययन गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले गठन गरेको कार्यदलले शुक्रबार साँझ अध्यक्षद्वय समक्ष आफ्नो प्रतिवेदन बुझाएको छ । कार्यदलका संयोजक एवं नेकपा वरिष्ठ नेता झलनाथ खनाल तथा सदस्यद्वय भीमबहादुर रावल र प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उक्त अध्ययन प्रतिवेदन बुझाएका हुन् ।

नेकपाको गत माघ १५ देखि १९ गते सञ्चालन भएको केन्द्रीय कमिटी बैठकले एमसिसी सम्झौताबारे अध्ययन गर्न वरिष्ठ नेता खनालको संयोजकत्वमा स्थायी कमिटीका सदस्य रावल र परराष्ट्रमन्त्री ज्ञवाली रहेको कार्यदल गठन गरेको थियो ।

दश दिनको समयसीमा तोकेर प्रतिवेदन बुझाउने निर्णय गरे पनि कार्यदलले उक्त समयसीमामा प्रतिवेदन बुझाउन नसकिने जनाई थप दश दिन माग गरेको थियो । कार्यदलको गत माघ २९ गते नै समय सकिएको थियो । पछि नेकपाले थप दश दिनको समय थपेको थियो ।

कार्यदलले एमसिसीलाइ यथास्थितिमा पारित गर्न नहुने सुझाव सहितको प्रतिवेदन बुझाएको हो ।

सत्तामा पुगेपछि विचलित हुने विश्व कम्युनिष्ट इतिहास

काठमाडौं, २१ फरबरी २०२०

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता बाहिर रहँदा जनताको मन जित्ने कम्युनिष्टहरु शासन सत्ता हातमा आएपछि आदर्शबाट विचलित भई बिग्रिने विश्व इतिहासको संकेत नेपालमा पनि देखिन थालेको बताएका छन् । नेकपाका संस्थापक नारायणविलास जोशीको स्मृतिमा उनको वासस्थान मध्यपुरथिमि शंखधर चोकस्थित जनआदर्श क्याम्पस परिसरमा निर्माण हुन लागेको नारायणविलास जोशी स्मृति प्रतिष्ठान भवनको शुक्रबार शिलान्यास गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘कम्युनिष्ट पार्टी सत्ता बाहिर आन्दोलन र क्रान्तिमा हुँदा निकै ठूलो त्याग र तपस्या गर्न सक्छन्, जनतासँग बसेर जनताले जे खान्छन् त्यही खाएर जनताको मन जित्न सक्छन् तर सत्ता प्राप्त गरिसकेपछि कहीँ न कहीँ त्यो आदर्शबाट विचलित हुने र बिग्रने गरेको थुप्रै विश्व इतिहास रहेको छ, अचेल नेपालमा पनि त्यसका संकेत र लक्षण देखापर्न थालेका छन् ।’

विश्वको कम्युनिष्ट इतिहासमा सत्तामा पुगेपछि आफूले आफँैलाई सिध्याएको उदाहरण धेरै रहेको स्मरण गर्दै अध्यक्ष दाहालले देशको विकृति, विसंगति र भ्रष्टाचारको अन्त्य गर्दै, गल्ती कमजोरीलाई सच्याउने, त्यस्तो गर्नेलाई कारवाही गर्ने, पार्टीको शुद्धीकरण र सुदृढीकरण गर्ने, जनतासँगको सम्बन्धलाई बलियो बनाउने तथा राम्रा काम गर्नेतिर उद्दत हँुदै पार्टीलाई मजबुत बनाउनेतर्फ लाग्नुपर्नेमा जोड दिए ।

जनतालाई सामान्य राजनीतिमा लाग्ने छुट समेत नभएको राणादेखि सामन्ती वर्गविरुद्ध लाग्दै पुष्पलालसँग नेकपा स्थापनामा लाग्ने जोशीको स्मृतिमा भवन निर्माण हुन लाग्नु ठूलो विषय भएको उनले बताए । ––रासस

परराष्ट्रमन्त्री जेनेभा प्रस्थान, द्वन्द्वकालीन मुद्दा निरुपणमा नेपालको पूर्ण प्रतिबद्धता व्यक्त हुँदै

काठमाडौं,फरबरी २१

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली यही फागुन १२(फरबरी २४) गतेदेखि जेनेभामा हुने संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ४३औँ उच्चस्तरीय बैठकमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार साँझ त्यसतर्फ प्रस्थान गरेका छन् ।

जेनेभा प्रस्थान गर्नुअघि रासससँग सङ्क्षिप्त कुरा गर्दै यही फागुन १३(फरबरी २५)गते हुने उक्त बैठकमा आफूले मानवअधिकार प्रवद्र्धन र संरक्षणप्रति नेपाल सरकारको पूर्ण प्रतिबद्धता, नेपालको संविधान र प्रचलित ऐन कानूनबमोजिम बालअधिकारको रक्षा, जातीय, लिंग विभेदको अन्त्य, मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय कानुनको अक्षरशः पालनाका साथै मानवअधिकार, बालअधिकारको प्रत्याभूति र प्रवद्र्धनमा नेपालले हासिल गरेका उपलब्धि प्रस्तुत गरिने जानकारी दिए ।

यो वर्ष बालअधिकारसम्बन्धी सन्धि भएको २५औँ वार्षिकोत्सवका सन्दर्भमा नेपालले बालअधिकारको रक्षा, बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण, मनोरञ्जन, खेलकूदलगायत सबै किसिमका अधिकारको रक्षामा नेपालले निर्वाह गरेका प्रवद्र्धनात्मक भूमिकाबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने मन्त्री ज्ञवालीले बताए ।
सत्य निरुपण तथा मेलमिलाप आयोग, बेपत्ता छानबिन आयोगलगायत द्वन्द्वकालीन मुद्दाको निरुपणप्रतिको नेपालको पूर्ण प्रतिबद्धता पनि बैठकमा दोहो¥याइने उनले बताए ।

जेनभा रहँदा मन्त्री ज्ञवालीले त्यहाँस्थित संयुक्त राष्ट्रसंघकालागि नेपालका स्थायी प्रतिनिधि मणिप्रसाद भट्टराईले आयोजना गर्ने स्वागत समारोहमा कूटनीतिक समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । जेनेभामा रहँदा उनले राष्ट्रसंघीय मानवाधिकार उच्चायुक्तसँग भेटवार्ता गर्ने तथा विभिन्न देशका आफ्ना समकक्षीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ ।

परराष्ट्रमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरु छन् । मन्त्री ज्ञवाली फागुन १६(फरबरी २८) गते स्वदेश फर्किने कार्यक्रम रहेको छ । मन्त्री ज्ञवालीलाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागी र उक्त मन्त्रालयका उच्च अधिकारीले बिदाई गरेका थिए। ––रासस

भ्रष्टाचार गर्ने छुट कसैलाई छैन: प्रधानमन्त्री

एनआईबि संवाददाता
काठमाडौं,२० फरबरी २०२०

प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्ने छुट कसैलाई नभएको बताएका छन् । प्रधानमन्त्री ओलीले स्वच्छता र पारदर्शीताको सम्बन्धमा अलिकति मात्रै पनि प्रश्न उठेमा कसैको अनुहार पनि नहेर्ने बताएका छन् ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले लेखेको पुस्तक ‘मुलुक आर्थिक समृद्धिको यात्रामा’ विमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीले सुशासनका लागि चाल्ने कदममा आफु नहिचकिचाउने बताए । जनप्रतिनिधिलाई रुलिङ पोजिसनमा पु¥याउनुको अर्थ लुटकालागि नभएको उल्लेख गर्दै ओलीले भने,‘हामी यस्तो प्रणाली भित्र छौँ की कहाँ कसरी शासक शासनमा गयो ।जनप्रतिनिधिलाई पु¥यायो भने रुलिङ पोजिसनमा पु¥याउनुको अर्थ लुटिङ फ्यासलिटी दिएको होइन् ।’ ओलीले अहिले विकासका लागि उपयुक्त वातावरण भएकाले लुटको सुविधा नहुने बताए ।

प्रधानमन्त्री ओलीले यहि चालले अघि बढ्यो भने प्रधानमन्त्री पद धरापमा पर्ला भनेर धेरैले भन्ने गरेको उल्लेख गर्दै भने,‘मलाई त्यसको चिन्ता छैन् । प्रधानमन्त्री पद धरापमा पर्छ पर्दैन भन्ने होइन्, एउटा सिस्टम बसाउने हो । हजार वर्ष कसैले पनि रुल गर्दैन । जतिसुकै सफल भएपनि प्रकृतिले धेरै लामो समय रुल गर्न दिँदैन, मान्दैन् ।’ प्रधानमन्त्री ओलीले लामो समय शासन गर्न खोज्दा परिणाम राम्रो नहुने बताए ।

सञ्चारमन्त्रीको राजीनामा माग गर्दै प्रतिपक्षीद्वारा राष्ट्रियसभा बैठक अवरुद्ध

काठमाडौं,२०फरबरी२०२०

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई बर्खास्त गरी सञ्चारमाध्यममार्फत सार्वजनिक भएको उनको श्रव्य सामग्री छानबिन गर्न माग गरेको छ ।

सोही माग राखी पार्टीका सांसदले राष्ट्रियसभाको आजको बैठक अवरुद्ध गर्नुभयो । सभाको विहिबारको बैठक शुरु हुनेबित्तिकै काँग्रेस सांसदले उठेर विरोध जनाएका थिए । सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले सांसदलाई बस्न पटकपटक आग्रह गरे पनि उठेर विरोध जनाएपछि अध्यक्ष तिमल्सिनाले दिएको समयमा काँग्रेसका जीतेन्द्रनारायण देवले ‘प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्ध शून्य सहनशील हुने प्रतिबद्धता जनाए पनि उहाँ निकटका मन्त्री एवं सरकारको प्रवक्तासमेत रहनुभएका बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद प्रक्रियामा रु ७० करोडदेखि ७५ करोडसम्म कमिशन मागेको’ भन्दै त्यसको निष्पक्ष छानबिन नभएसम्म संसद् चल्न नसक्ने बताएका थिए ।

काँग्रेसले अविलम्ब सञ्चारमन्त्रीलाई बर्खास्त गरी निष्पक्ष छानबिन गरेन र सो घटनाका विषयमा संसद्लाई जानकारी गराउन प्रधानमन्त्रीसँग माग गरेको छ । अध्यक्ष तिमल्सिनाले पटकपटक बस्न आग्रह गरे पनि काँग्रेस सांसदले उठेर विरोध जनाएपछि बैठक यही फागुन १५ गते बिहीबार अपराह्न १ बजेसम्मका लागि स्थगन भएको छ ।––रासस

संचारमन्त्री बाँस्कोटाले प्रधानमन्त्री ओलीलाइ बुझाए राजीनामा,ट्वििट गर्दै दिए जानकारी

काठमाडौं, २० फरबरी २०२०

सञ्चारमन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्री के.पी.शर्मा ओली समक्ष राजीनामा दिएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणको अडियो सार्वजानिक भएपछि उनले राजीनामा दिएका हुन् । विहिबार आफ्नो आधिकारिक ट्वििटर मार्फत उनले प्रधानमन्त्री ओली समक्ष राजीनामा बुझाएको जानकारी दिएका छन् ।

यस अघि संसद बैठकमा सभामुख अग्नि प्रसाद सापकोटाले बाँस्कोटाले राजीनामा दिएको आफूले अनौपचारिक जानकारी पाएको बताएका थिए । नेपाली कांग्रेसका सांसदले संसद बैठक अवरुद्ध गरेपछि सभामुख सापकोटाले मन्त्री बास्कोटाले राजीनामा दिएको कुरा जानकारी गराएका थिए ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा सञ्चारमन्त्री गोकुल बास्कोटाले ७० करोड कमिसन मागेको अडिओ बिहीबार नै सार्वजनिक भएको थियो ।

Nepal news headlines | breaking news kathmandu | national news of nepal live