Main News

Trending News

A homepage section

किट अभावले सुदुरपश्चिममा कोराना परीक्षण रोकियो

भीमदत्तनगर,मे ८

सुदूरपश्चिम प्रदेशमा हुँदै आएको कोरोना भाइरसको परीक्षण बिहीबारदेखि प्रभावित बनेको छ । पिसिआर विधिबाट परीक्षणका लागि किट सकिएपछि शंकास्पद बिरामीको कोरोना परीक्षण रोकिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए । “संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट पठाउने कुरो छ ।” उनले भने, “आज रातिसम्म आइपुग्ला ।”

किट अभावकै कारण धनगढीस्थित पशुपक्षी अन्वेशण प्रयोगशालामा केही समयअघि स्थापना गरिएको आरटी–पिसिआर मेशिनमार्फत हुने कोरोना परीक्षण हुँदै आएको थियो ।“किट अभावका कारण प्रयोगशालामा ल्याइएका ५५ वटा स्वाबको जाँचसमेत हुन सकेको छैन ।” निर्देशनालयका सम्पर्क व्यक्ति जोशीले भने,“हाल सुदूरपश्चिम प्रदेशमा पिसिआर प्रविधिबाट धनगढीमा मात्रै परीक्षण हुँदै आएको छ ।”

सुदूरपश्चिम प्रदेश सरकारले यहाँको पहाडी जिल्ला बैतडी र डोटीमा समेत पिसिआर मेशिनमार्फत कोरोना जाँच गर्ने निर्णय गरेको थियो । “पहाडका ती दुई जिल्लामा सम्भाव्यता अध्ययनको काम सकिएको छ ।” उहाँले भन्नुभयो, “प्रदेश सरकारले त्यहाँबाट पनि जाँच गर्ने गृहकार्य गरेको छ ।”

बिहीबारसम्म सुदूरपश्चिममा दुई हजार ९२३ जनाको स्वाब परीक्षणका लागि संकलन गरिएको छ । जसमा ५५ जनाको किट अभावले परीक्षण भएको छैन भने पाँचजनाको कोरोना पोजेटिभ र बाँकी सबैको नतिजा नेगेटिभ आएको थियो ।

संक्रमित पाँचमध्ये चारजना निको भएर घर फर्किसकेको निर्देशनालयले जनाएको छ । “परीक्षणका लागि यसअघि सुदूरपश्चिमा एक हजार किट केन्द्रबाट आएको थियो ।” जोशीले भने,“अहिले अरु स्वास्थ्य सामग्रीको अभाव छैन ।”

उनले मास्क, पिपिइलगायत स्वास्थ्य सामग्री मौज्दात रहेको बताए । “१४ दिन क्वारेन्टाइन बसेपछि कोरोना जाँच गर्ने निर्देशिकामा भनिएको छ ।” उनले भने,“उनले किट नहुँदा समस्या भएको बताए ।

किट अभाव हुँदा परीक्षणदेखि नमूना संकलनको कामसमेत प्रभावित बन्न पुगेको छ । पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा पिसिआर किट र आरएनए एक्पेक्सन किट आवश्यक पर्छ ।

सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लामा गरी पिसिआर र ¥यापिट टेष्टबाट हालसम्म १७ हजार ५२४ जनाको कोरोना परीक्षण गरिएको छ । सुदूरपश्चिमका नौवटै जिल्लामा स्थानीय तहले सञ्चालनमा ल्याएका ३९१ क्वारेन्टाइनमा बिहीबारसम्म तीन हजार ३७४ जना बसिरहेको निर्देशनालयले जनाएको छ ।

“क्वारेन्टाइनमा बसेकाहरुको स्वाब लिएर परीक्षण गर्न बाँकी छ ।” जोशीले भने,“पहाडी जिल्लामा क्वारेन्टाइनमा थपिने क्रम बढिरहेको छ ।”––रासस

सांसद तथा कर्मचारीको रिपोर्ट नेगेटिभ

काठमाडौं,मे ८

संघीय संसद प्रतिनिधिसभा÷राष्ट्रियसभा)का सांसद तथा कर्मचारीको कोभिड–१९ को स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले बिहीबार परीक्षण गराएका सबै ४३४ को रिपोर्ट नेगेटिभ आएको जानकारी दिए ।
ती मध्ये २१२ सांसद र बाँकी संसद् सचिवालयका कर्मचारी थिए ।

उनीहरु सबैको संसद् भवन नयाँ बानेश्वरमा स्वाब सङ्कलन गरी पिसिआर परीक्षण गरिएको थियो । शुक्रबारबाट संघीय संसद्को बजेट अधिवेशन शुरु हुँदैछ ।

कोरोनोको जोखिम हुन नदिन सांसद र कर्मचारीको अनिवार्य पिसिआर परीक्षण गरिएको थियो ।महाशाखा निर्देशक डा पाण्डेका अनुसार बिहीबार परीक्षण नभएका सांसदको आज पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।––रासस

आज पनि सांसदहरुको स्वाब संकलन गरियो

काठमाडौं,मे ८

शुक्रबार पनि प्रतिनिधिसभा र राष्ट्रिसभाका ६३ जना सांसदहरुको पिसिआर परीक्षणका लागि थ्रोट स्वाव संकलन गरिएको छ । शुक्रबार प्रतिनिधिसभाका ५३ र राष्ट्रियसाका १० गरी ६३ जनाको स्वाव संकलन गरिएको हो ।

बजेट अधिवेशन सुरु हुनुअघि हिजोबाट सांसदहरुको स्वाव संकलन भइरहेको छ । हिजो २ सय १२ जना सांसदहरु स्वाव संकलन गरिएको थियो । हिजो प्रतिनिधिसभाका १७९ र राष्ट्रियसभाका ३३ जना गरी जम्मा २ सय १२ जना सांसदहरुको स्वाव संकलन गरिएको थियो ।

अहिलेसम्म प्रतिनिधिसभातर्फ २ सय ३२ र राष्ट्रियसभातर्फ ४३ जनाको स्वाव संकलन गरिएको छ । बजेट अधिवेशन सुरु हुनुअघि सांसदहरुको स्वास्थ्य परीक्षण गरिएको हो । अहिलेसम्म संघीय संसदका सांसद, कर्मचारी, मर्यादापालक र सुरक्षाकर्मी गरी ६ सय ९२ जनाको स्वाव संकलन भएको छ ।

हिजो ४ सय ४१ र आज २ सय ५१ जनाको स्वाव संकलन भएको संसद सचिवालयले जनाएको छ । अझै ५४ जना सांसदहरुको स्वाव संकलन हुन बाकी रहेको छ । शुक्रबारबाटै संसदको बजेट अधिवेशन सुरु हुँदैछ । अधिवेशन सुरु हुनुअघि नै सांसदरुको रिपोर्ट आउने छ । स्वास्थ्य रिपोर्ट देखाएर मात्रै संसद भवनमा सांसद, कर्मचारी र सुरक्षाकर्मीलाई प्रवेश दिइनेछ ।

तातोपानीबाट आवतजावत हुने सवारीको निर्मलीकरण शुरु

मेलम्ची,मे ८

कोरोना भाइरसको सम्भावित संक्रमणलाई न्यूनीकरण गर्न नेपाल रेडक्रस सोसाइटीले तातोपानी नाका हुँदै नेपालमा आवतजावत हुने सवारी साधनको निर्मलीकरण शुरु गरेको छ । कोरोना भाइरस विश्वभर फैलिएपछि तातोपानी नाका केही समययता खुलेपछि स्थानीयवासी त्रासमा थिए । जिल्ला संकट व्यस्थापन समिति सिन्धुपाल्चोकको निर्णय र स्थानीय निकायसँगको समन्वयमा रेडक्रसले यो कार्यक्रमको शुरुआत गरेको हो ।

भोटेकोशी गाउँपालिका–२ का वडाध्यक्ष दीपेन्द्रकुमार श्रेष्ठले सवारी साधनको निर्मलीकरणको शुरुआत गर्दै रेडक्रसका गतिविधिमा स्थानीय निकाय सधैँ समन्वय गर्न तयार भएको र मानवरक्षाका लागि रेडक्रसले सबै निकायसँग समन्वय गरी प्रभावकारी भूमिका निर्वाह गर्नपर्ने बताए ।

नाकामा आवतजावत हुने सवारी साधनको निर्मलीकरणलगायत सङ्क्रमणको रोकथामका गतिविधि सञ्चालन गर्नेसम्बन्धी तातोपानीमा बिहीबार भएको बैठकमा नाका संवेदनशील हुने र स्थानीय निकायले सङ्क्रमण सुरक्षा नीतिलाई व्यवहारमा कार्यान्वय गर्न समन्वयकारी भूमिका निर्वाह गरिने भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले बताए ।

कोरोना भाइरसको प्रकृतिअनुसार सवारी साधनमार्फत समुदायसम्म सङ्क्रमण फैलन नदिन सबै निकाय सजग हुनपर्ने हुँदा सवारी साधन तथा चालक र सहचालकले अपनाउनुपर्ने सुरक्षा नीति पूर्णपालना गर्न/गराउन उक्त बैठकले सरोकारवाला निकायमा अनुरोध गरेको छ । सुरक्षा नीति पूर्णपालना गर्न गराउन भोटेकोशी गाउँपालिका–२ का वडाध्यक्ष श्रेष्ठको संयोजकत्वमा सुरक्षा निकाय, रेडक्रसकर्मी, स्थानीय क्लब र समाजसेवी रहेको समन्वय समिति निर्माण गरिएको छ ।

मानवरक्षाका लागि समुदायमा सञ्चालन गरिने हरेक गतिविधिमा नेपाल सरकारसँगको समन्वयमा नेपाल रेडक्रसले सहयोगी भूमिका निर्वाह गर्दै आएको जिल्ला शाखाका सभापति राजेन्द्रमान ताल्चाभडेलले बताउनुभयो । सोसाइटीका मन्त्री कमलचरण कक्षपतिले सहजीकरण गरिएको छलफलमा पालिका प्रमुखलगायत स्थानीय जनप्रतिनिधि, सुरक्षा निकाय, स्थानीय क्लब तथा रेडक्रस स्वयंसेवीको भूमिका निर्वाह गर्नुपर्ने बताए । ––रासस

भारतबाट आएका ६८ जनाको रिपोर्ट नेगेटिभ

गुल्मी,मे ८

भारतबाट जिल्ला आएका ६८ व्यक्तिको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । उनीहरु दुई साताअघि २८ दिनसम्म सुनौली नाकामा क्वारेन्टाइनमा बसेर स्वदेश फर्किएका हुन् । भारतबाट आएका सबैलाई स्थानीय पालिकाले १४ दिनसम्म क्वारेन्टाइनमा राखेका थिए ।

भैरहवास्थित प्रदेश प्रयोगशालामा किटको अभाव भएपछि पिसिआर टेष्टका लागि उनीहरुको स्वाब गण्डकी जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाइएको थियो । परीक्षणका लागि पठाइएका सबैको रिपोर्ट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी भरतराज शर्माले जानकारी दिए ।

भारतवाट आएका व्यक्तिको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएपछि क्वारेन्टाइनमा बसेका अधिकांश व्यक्ति बिहीबार घर फर्किसकेको र बाँकीलाई आज पठाउने तयारी गरिएको धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले बताए । उनीहरुको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएपछि स्थानीयवासीमा त्रास हटेको पोख्रेलको भनाइ छ ।

दुई सातासम्म सीमा नाकामा बसेकामध्ये धुर्कोटका ५, रेसुंगा नगरपालिकाका सात, मुसिकोटका तीन, चन्द्रकोट गाउँपालिकाका दुई तथा मदाने र रुरुक्षेत्र गाउँपालिकाका एकएक जना पालिकाका क्वारेन्टाइनमा बसेका थिए । जिल्लामा हालसम्म ७५ जनाको स्वाब परीक्षणका लागि पठाइएकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।––रासस

भारतमा कोरोना संक्रमितको संख्या ५६ हजार नाघ्यो

नयाँ दिल्ली,मे ८

भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या शुक्रबारसम्म ५६ हजार ३४२ जना पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । शुक्रबार बिहानको तथ्यांक अनुसार यस संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८८६ जना पुगेको छ ।

संक्रमणबाट निको भएका विरामीको संख्या १६ हजा ५३९ जना रहेको पनि सो मन्त्रालयले जानकारी दिएको छ । भारतमा शुक्रबार बिहानसम्मको तथ्यांक अनुसार हाल यो रोगका ३७ हजार ९१६ जना संक्रमितहरु अस्पतालमा उपचार गराइरहेका छन् ।

कोभिड–१९ बाट सबैभन्दा बढी महाराष्ट्रका नागरिक संक्रमित भएका छन् । यहाँमात्र १८ हजार १२० नागरिक कोरोना संक्रमित रहेका छन् । महाराष्ट्रपछि गुजरात दोस्रो स्थानमा रहेको छ । त्यहाँ ७ हजार १३ जनामा कोरोना भाइरसको संक्रमण रहेको छ । दिल्लीमा कोरोना भाइरसको संक्रमणबाट ५ हजार ९८० जना विरामी छन्।

कोराना भाइरसको (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारत सरकारले देशव्यापी लकडाउनलाई थप दुइ साताको लागि लम्ब्याएको छ । भारतले शुक्रबार मे ४ देखि लागू हुने गरी थप दुइ साताको लागि तेस्रो चरणको लकडाउन गर्ने निर्णय गरेको थियो ।

भारतमा पहिलो चरणको लकडाउन २४ मार्चमा लगाइएको थियो । दोस्रो लकडाउन १५ अप्रिलमा शुरु भएको थियो । दोस्रो लकडाउन मे ३ मा सकिदै थियो । कोरोना भाइरसको संक्रमण देशभरी बढ्दै गएपछि दोस्रो लकडाउन नसकिदै तेस्रो लकडाउन मे १७ सम्मको लागि घोषणा गरिएको थियो ।––एएनआई/रासस

भारतमा मालबाहक रेलले किचेर १६ जनाको मृत्यु

औंरगाबाद, महाराष्ट्र , मे ८

महाराष्ट्र राज्यको औरंगाबादमा मालबाहक रेलगाडीले रेलको लिकमा आराम गरिरहेका प्रवासी मजदूरहरुको एक समूहलाई शुक्रबार बिहान ठक्कर दिँदा १६ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सवारी साधनको अभावमा हिँडेरै आआफ्ना घरतर्फ गइरहेका प्रवासी मजदूरको एक समूहलाई मालबाहक रेलले जालना र औरंगाबादबीच बिहान ६.३० बजे किचेको थियो । उक्त दुर्घटनामा अन्य केही मजदूर पनि घाइते भएका छन् ।

घाइतेहरुलाई औरंगाबादस्थित स्थानीय अस्पतालमा भर्ना गरिएको छ । घटनालगत्तै प्रहरी र उद्धारकर्मी घटनास्थल पुगेका थिए । भारतीय रेलवेले मजदूरहरु रेलमार्गमा आराम गरिरहेको समयमा दुर्घटना भएको जनाएको छ ।

भारतीय रेलमन्त्री पियुष गोयलले उक्त घटनाको जाँचको आदेश दिएका छन् । संचारमाध्यमहरुका अनुसार यी सबै मजदूर मध्यप्रदेशका थिए । प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले मृतक मजदुरका प्रत्येक परिवारलाई भारतीय रुपैयाँ पाँच लाख दिने घोषणा गरेका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले घटनालगत्तै ट्वीट गरी महाराष्ट्रको औरंगाबादमा भएको घटना अत्यन्त दुःखद भएको र आफू घटनाबाट मर्माहत भएको जनाउँदै आफूले रेलमन्त्रीलाई उक्त घटनाबाट पीडितलाई जतिसक्दो चाँडो सहयोग गर्न निर्देश दिएको बताएका छन् ।

भारतमा देशव्यापी लकडाउन घोषणा गरेपछि मुम्बई, नयाँ दिल्ली समेतका ठूला शहरबाट लाखौं मजदूर पैदलै हिँडेर आआफ्ना घर फर्किरहेका छन् । पछिल्लो पटक भारतमा भएको यो दुर्घटना लकडाउनको अवधिको सबैभन्दा भयानक हो ।––एनएनआई/रासस

दिल्लीमा पछिल्लो २४ घण्टामा हालसम्मकै उच्च संक्रमित, संक्रमितको संख्या…

नयाँ दिल्ली,मे ७

भारतमा कोरोना भाइरसबाट ५२ हजार भन्दा बढि मानिस संक्रमित भइसकेको छन् भने १७५० व्यक्तिको मृत्यु भइसकेको छ । यसैबीच राजधानी दिल्लीमा पछिल्लो २४ घण्टामा हालसम्मकै अधिक नयाँ संक्रमित थपिएका छन् ।

केजरीवाल सरकारले जारी गरेको ताजा तथ्याँक अनुसार दिल्लीमा वितेको २४ घण्टामा ४४८ नयाँ केस देखिएको हो । यो सँगै दिल्लीमा कोरोना भाइरसको ५९८० केस सामुन्ने आएको छ । हाल सम्म ६६ मानिसको ज्यान गइसकेको छ ।

त्यसैगरि पछिल्लो २४ घण्टामा ३८९ विरामी निको भएका छन् । २४ घण्टामा ठीक भएकाको हालसम्मको उच्च संख्या रहेको पनि दिल्ली सरकारले जनाएको छ । हाल सम्म दिल्लीमा कोरोना संक्रमित मध्ये १९३१ निको भएर फर्किएका छन् । दिल्लीको रिकभरी रेट ३२.२९ प्रतिशत रहेको छ ।

थप दुई संक्रमितसहित नेपालमा कोरोना संक्रमितको संख्या १०१ पुग्यो

काठमाडौं,मे ७

कोभिड–१९ को संक्रमण विहिबार थप दुई जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा कपिलबस्तु का १६ वर्षीय र २२ वर्षीय पुरुषमा संक्रमण देखिएको हो ।

योसँगै संक्रमितको संख्या १०१ पुगेको छ । बुधबार एकै दिन १७ जनामा संक्रमण देखिएको थियो । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीका अनुसार संक्रमितको अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् ।––रासस

शुक्रबारदेखि संघीय संसद्को बजेट अधिवेशन शुरु

काठमाडौं,मे ७

संघीय संसद्को छैटौँ अधिवेशन शुक्रबारदेखि शुरु हुँदैछ । शुक्रबार अपराह्न ४ः०० बजे संघीय संसद्को बैठक बस्ने तयारी गरिएको छ । बजेट अधिवेशनका रुपमा समेत लिइने यस अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र राजश्व तथा व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ ।

शुक्रबारको बैठकमा छैटौँ अधिवेशन प्रारम्भसम्बन्धी पत्र तथा राष्ट्रपतिबाट संघीय संसद् दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेसम्बन्धी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची तय गरिएको छ । संघीय संसद्का महासचिव डा भरतराज गौतमका अनुसार शुक्रबारको बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुले अधिवेशन प्रारम्भ भएको अवसरमा मन्तव्य दिनेलगायतका कार्यसूची तय गरिएको छ ।

आगामी जेठ ४ गते प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका तय भएको संघीय संसद् सचिवालयले जनाएको छ ।

आगामी जेठ १३ गते आर्थिक वर्ष २०७६÷७७ को आर्थिक सर्वेक्षण पेश गर्ने सम्भावित कार्यतालिका छ । यसैगरी जेठ १५ गते दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ । राष्ट्रपतिले यही वैशाख २१ गते प्रधानमन्त्रीको सिफारिसमा संघीय संसद्को छैटौँ अधिवेशन शुक्रबारका लागि आह्वान गरेकी थिइन । ––रासस

Nepal news headlines | breaking news kathmandu | national news of nepal live