Main News

Trending News

A homepage section

पाँच हजार स्वाब संकलन गर्न सामग्रीसहित सेनाको स्वास्थ्य टोली पठाइयो

काठमाडौं,मे ८

आवश्यकता तथा प्राथमिकताका आधारमा पाँच हजार ३०० स्वाब सङ्कलन गरी कोरोना परस्क्षण गर्ने योजनाअनुसार विभिन्न प्रदेशमा आवश्यक स्वास्थ्य सामग्रीसहित टोली पठाइएको छ ।

नेपाली सेनाको छाउनीस्थित कोभिड–१९ विपद् व्यवस्थापन केन्द्रको संयोजनमा आवश्यक स्वास्थ्य सामग्री तथा उपकरणसहित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त स्वास्थ्य टोलीलाई आज प्रदेश नं १, प्रदेश नं २, गण्डकी प्रदेश र प्रदेश नं ५ का विभिन्न जिल्लामा पठाइएको हो ।

उक्त प्रदेशका उदयपुर, बारा, पर्सा, रौतहट, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, अर्घाखाची, रुपन्देही, गुल्मी, कपिलवस्तु, प्युठान, दाङ, बाँके र बर्दियामा सङ्क्रमणको जोखिमलाई मध्यनजर गरी यही वैशाख २८ गते सम्ममा स्वाब संकलन गरी परिक्षणका लागि पठाउने कार्यक्रम रहेको छ ।––रासस

नेपालमा थप एकजनामा कोरोना संक्रमित, संक्रमितको संख्या १०२

काठमाडौं,मे ८

नेपालमा थप एकजनामा कोरोना भाइरस पोजेटिभ देखिएसँगै कुल संक्रमण भएका व्यक्तिहरुको संख्या १ सय २ पुगेको छ । नेपालगंजमा रहेको भेरी अस्पतालमा पीसीआर प्रविधिबाट गरिएको परीक्षणमा शुक्रबार एकजनाको संक्रमण पोजेटिभ देखिएपछि कुल संक्रमितको संख्या १ सय २ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता डा. विकास देवकोटाले बताए ।

मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता देवकोटाले संक्रमित भएका व्यक्ति १६ वर्षीय पुरुष रहेका छन् । अहिले सम्म संक्रमित हुनेमा ७४ जा पुरुष र २८ जना माहिला रहेका छन् ।

कोशी अस्पतालबाट ८ जना डिस्चार्ज

यस्तै कोशी अस्पतालमा उपचार भइरहेका ८ जना संक्रमितको रिपोर्ट नेगेटिभ आएपछि शुक्रबार डिस्चार्ज गरिएको उनले बताए । यससँगै कुल डिस्चार्ज हुने बिरामीको संख्या ३० पुगेको छ ।

विभिन्न प्रदेशमा उपचार भइरहेका कोरोना संक्रमितको संख्या

अहिले रुपन्देहीमा ३ जना, नेपालगंजमा २४ जना, धनगढीमा १ जना, भरतपुरमा १ जना, विरगंजमा २६ जना र विराटनगरमा १७ जना बिरामीहरुको उपचार भइराखेको प्रवक्ता देवकोटाले बताए । प्रदेश अनुसार प्रदेश १ मा ३१ जना, प्रदेश २ मा ३० जना, बागमती प्रदेशमा ७ जना, गण्डकी प्रदेशमा २ जना, प्रदेश ५ मा २७ जना, र सूदुरपश्चिम प्रदेशमा ५ जना संक्रमित रहेका छन् ।

देशभरिका क्वारेन्टाइनमा कति छन् ?

अहिले सम्म देशभर १५ हजार ६ सय २४ जना क्वारेन्टाइनमा रहेका छन् । यसमध्ये प्रदेश १ मा १ हजार ६ सय ४५ जना, प्रदेश २ मा १ हजार २ सय ९१जना, बागमती प्रदेशमा २ सय ७२ जना, गण्डकी प्रदेशमा ५ सय ११ जना, प्रदेश ५ मा ५ हजार ८ सय ७ जना, कर्णाली प्रदेशमा २ हजार ७ सय ५ जना र सूदुरपश्चिम प्रदेशमा ३ हजार ३ सय ९३जना क्वारेन्टाइनमा रेका छन् । यस्तै आइसोलेसनमा १ सय ३५ जना रहेका छन् । यसमध्ये ३ जना काठमाडौं उपत्यकामा रहेका छन भने उपत्यका बाहिर १ सय ३२ जना रहेका छन् ।

पिसिआर प्रविधिबाट जाँच भएकाको संख्या ?

अहिले सम्म कुल पीसीआर प्रविधिबाट गरिएको परीक्षणको संख्या १५ हजार ४ सय ९२ पुगेको छ । यस्तै आरडिटी विधिबाट गरिएको परिक्षणको संख्या ५४ हजार ५ सय ३१ पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार ८ सय ५९ आरडीटी परीक्षण गरिएको छ । प्रदेश १ मा ६ हजार ८ सय ४९ परीक्षण भएको छ भने प्रदेश २ मा ५ हजार ३ सय ५६, बागमती प्रदेशमा ९ हजार ६०, गण्डकी प्रदेशमा ६ हजार ३ सय ७७, प्रदेश ५ मा ६ हजार ९९, कर्णाली प्रदेशमा ६ हजार १ सय ७४, र सूदुरपश्चिम प्रदेशमा १४ हजार ६ सय १६ परीक्षण भएको छ ।

लिपुलेक हुँदै चीन जोड्ने सडक उदघाटन

दार्चुला,मे ८

भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको धार्मिकस्थल मानसरोवर जाने सडक मार्ग खोलेको छ । भारतका रक्षामन्त्री राजनाथ सिंहले चीनको भूमिसँग जोड्ने गरी निर्माण गरेको गर्वाधार लिपुलेक सडकको शुक्रबार उद्घाटन गरेको उनको ट्विटरबाट थाहा भएको छ ।

कैलाश मानसरोवर जोड्ने गरी निर्माण गरिएको बहुप्रतिष्ठित सडकको शुक्रबार भिडियो कन्फ्रेन्समार्फत रक्षामन्त्री सिंहले उदघाटन गरेका हुन् । मानसरोवर यात्राको लिंकरोडको उदघाटन गर्न पाउँदा खुशी छु’, उनले ट्वििट गरेका छन् , ‘बिआरओ (बोर्डर रोड अर्गनाइजेशन) ले धार्चुलादेखि लिपुलेक चीन सीमासम्म कैलाश मानसरोवर यात्रा मार्गको रूपमा चिनिने सडक जोडेको छ ।’रक्षामन्त्री सिंहले सीमासम्म सडक जोड्नु भारतको ठूलो उपलब्धि भएको उल्लेख गरेका छन्  यो सडकले स्थानीय र व्यापारीलाई सुविधा पुग्ने उनको विश्वास छ ।

https://twitter.com/rajnathsingh/status/1258632431365533696

भारत चीनबीच व्यापारका लागि यो सडक मार्ग महत्वपूर्ण रहेको भारतीय अनलाइन संस्करण अमर उजालाले उल्लेख गरेको छ ।

नेपाल भारत लिपुलेकका विषयमा विवाद टुङ्गिन नपाउँदै भारतले लिपुलेकसम्मको सडकको उद्घाटन गरेको हो । कुटी, कालापानी, नाभीढाङ हुँदै लिपुलेक क्षेत्र नेपाली भूमि हो । सीमा अतिक्रमणको विषय टुङ्गिन नपाउँदै भारतले नेपाली भूमि मिचेर सडक निर्माण गरेपछि विरोधसमेत भइरहेको छ ।

चीनको सीमा क्षेत्रसम्म निर्माण गरिएको यो सडक व्यापारिक दृष्टिकोणले समेत प्रभावकारी भएको बताइएको छ । यसअघि भारतको तावाघाटदेखि व्यापारी र स्थानीयवासीले खच्चर र भरियामार्फत सामान ढुवानी हुँदै आएको थियो । अब सडक निर्माणसँगै व्यापारीले पैदल हिँड्नुपर्ने अवस्थाको अन्त्य भएको उल्लेख गरिएको छ ।

भारतीय व्यापारीले चीनको सामान आयातनिर्यातका लागि तावाघाटबाट गुञ्जीसम्म पैदल हिँड्नुपर्ने बाध्यता हटेको छ । यसअघि धार्चुलादेखि गर्वाधारसम्म ४५ किलोमिटर दूरीमा मात्र सवारीसाधन चल्ने गरेको थियो । त्यसभन्दा माथिल्लो क्षेत्रमा व्यापारी र सर्वसाधारणको पैदलयात्रा तय गर्नुपर्ने बाध्यता थियो ।

भारत पिथौरागढको धार्चुला गर्वाधारदेखि माल्पा १० किलोमिटर, माल्पाबाट बुँदी नौ किलोमिटर, बुदीबाट गुंँजी १८ किलोमिटर, गुंजीबाट कालापानी आठ किलोमिटर र कालापानीबाट नाभीढांग आठ किलोमिटरसम्म स्थानीयवासीको पैदलयात्रा हुने गरेको थियो भने नाभीढांगबाट चीनको ताक्लाकोट पुग्न २५ किलोमिटर दूरी छ । भारतले कूल ७८ किलोमिटर सडकको ट्र्याक खुलाएको हो । भारतले चीनको सीमासँग जोड्ने गरी सडक निर्माण गरेको यो पहिलो सडक हो ।

तावाघाटदेखि लिपुलेकसम्मको सडकको ट्र्याक खुलेसँगै अब भारतीयको पैदलयात्राको अन्त्य भएको भारतीय अनलाइन संस्करणले जनाएका छन् । उता चीनले लिपुलेकसम्म सन् २००८ मा सडक पु¥याएको छ ट्र्याक खुलेसँगै व्यापारमा सहजता आउने धार्चुलाका वरिष्ठ व्यापारी खिमानन्द भट्टले बताए । उनले भने,‘सडकको ट्रयाक खुलेसँगै चीनसँगको कारोवार बढ्ने विश्वास छ । ’

धार्चुलाका एसडिएम अनिलकुमार शुक्लाले यस वर्ष सडक खुले पनि कोरोना भाइरसका कारण चीनसँगको व्यापार हुने सम्भावना नरहेको बताए । भारतबाट चीनसम्म गुड़, मिश्री, दन, कालीन, सलाइ, आल्मोनियमका भाँडाकुँडा, बाँसका डन्डा, पिठोलगायत निर्यात हुने गरेको छ ।

यो सडक खुलेसँगै भारतीयलाई मात्र नभई नेपाली नागरिकलाई समेत व्यासको छांगरु तिंकर पुग्न सहज हुनेछ । दार्चुला, व्यास गाउँपालिका–१ का बासिन्दा नेपालतिर बाटो नहुँदा विसं २०६० यता भारतीय भूमिको प्रयोग गर्दै आवतजावत गर्ने गर्छन् । दार्चुला –तिंकर सडक निर्माण एक दशकदेखि ढिलाइ हुँदा नेपाली भूमि भएर जाने बाटो निर्माण अवरुद्ध छ ।

विसं २०६५–०६६ देखि निर्माण शुरु गरिएको दार्चुला –तिंकर सडक हालसम्म ४० किमी मात्रै ट्रयाक खुलेको छ । हालै मात्र नेपाल सरकारले दार्चुला –तिंकर सडकको ७८ किमी सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको छ ।

व्यासवासी योगेश बोहरा चीनले यसअघि नै सडक पु¥याइसकेका अवस्थामा भारतले अहिले आएर सडक निर्माण गरेको बताउछन् । ‘चीनले सीमासम्म सडक पु¥याइसकेको छ’, उनले भने, ‘अहिले हाम्रो विवादित भूमि हुँदै भारतले पनि लिपुलेक नजीकै सडक पु¥याएको हो ।’ हाम्रोतिर सडक निर्माण हुन नसकेका बेला भारतले एकतर्फी सडक निर्माणको भने दार्चुलावासीले समेत असन्तुष्टि जनाएका छन् ।––रासस

भारतमा स्थगित कक्षा १० र १२ को परीक्षा जुलाई १ देखि हुने

नयाँ दिल्ली,मे ८

भारतमा कोरोनाभाइरस संक्रमणका कारण अवरुद्ध भएको कक्षा १० र १२ को परीक्षा आगामी जुलाई १ देखि हुनेभएको छ । केन्द्रीय माध्यामिक शिक्षा बोर्ड अन्तर्गतको सो परीक्षा आगामी जुलाई १५ सम्ममा सम्पन्न गरिने तय भएको छ ।

केन्द्रीय सरकार अन्तर्गत रहेर लिइने केन्द्रीयस्तरको यो परीक्षा सार्वजनिक तथा निजी दुवैथरी विद्यालयका छात्रछात्राहरुकालागि महत्वपूर्ण मानिने गर्छ । “विद्यार्थीहरुको अत्यधिक चासो र चिन्ताको विषय बनेको यो परीक्षा सञ्चालन गर्ने निर्णय गरिएको छ,” केन्द्रीय जनशक्ति मन्त्री रमेश पोख्रियाले शुक्रबार भने ।

कोरोनाभाइरसको संक्रमण फैलिन थालेपछि सरकारले देशव्यापी लकडाउनको घोषणा गरेकाले यसअघि परीक्षा हुन सकेको थिएन । भारतमा अहिले पनि देशव्यापी लकडाउन कायमै छ ।––एएनआई । रासस

कोभिड १९ : अर्थतन्त्रमा परेको प्रभाव न्यूनीकरणका लागि केन्द्रीय बैंकको पहल

काठमाडौं,मे ८

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ ले अर्थतन्त्रमा पारेको नकारात्मक प्रभावलाई न्यूनीकरणका निम्ति आफूहरु प्रयत्नशील रहेको बताएका छन् । केन्द्रीय बैंकले शुक्रबार आयोजना गरेको श्रव्यदृश्य (भर्चुअल) बैठकमा उनले सरोकार भएका निकायको सहयोग एवं सुझावका आधारमा आफूहरुले ठोस कार्ययोजना बनाई लागू गर्ने प्रतिबद्धता जनाए ।

प्राप्त सुझावका आधारमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६९ को उपदफा (४) बमोजिम नेपाल सरकारसमक्ष पूर्वबजेटकालीन समीक्षा प्रतिवेदन पेश गरिने उनले जानकारी दिए । आर्थिक वर्ष २०७७/७८ को बजेट तथा कार्यक्रम तर्जुमाका निम्ति सुझाव सङ्कलन गर्ने उद्देश्यका साथ केन्द्रीय बैंकले आज भर्चुअल छलफल गरेको हो ।
विगतका वर्षहरूमा नेपाल राष्ट्र बैंकले प्रत्यक्षरूपमा पूर्वबजेटकालीन अन्तक्र्रिया कार्यक्रम आयोजना गर्दै आएकामा हाल विश्वव्यापीरूपमा देखापरेको कोभिड–१९ जोखिमका कारण मुलुक बन्दाबन्दीमा रहेको र सामाजिक दूरी कायम गर्नुपर्ने भएकाले भर्चुअल छलफल गरिएको जनाएको छ ।

छलफलमा बैंक तथा वित्तीय संस्था, पूँजी बजार, उद्योग, वाणिज्य, कृषि, पर्यटन, निर्यात व्यवसायी, सहकारी, घरेलु तथा साना उद्योगलगायत आर्थिक क्षेत्रसँग सम्बद्ध संस्थाका प्रतिनिधि एवं अर्थ्विज्ञ सहभागी थिए । बैंकले पूर्वबजेटकालीन प्रतिवेदनका सुझाव सङ्कलन गरेको हो । सो अवसरमा बैंकका प्रवक्ता एवं अनुसन्धान विभागका कार्यकारी निर्देशक डा गुणाकर भट्टले अन्तक्र्रियाको उद्देश्य प्रष्ट्याउँदै सहजीकरण गरेका थिए ।

कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष, त्रिभुवन विश्वविद्यालय, अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख, नेपाल उद्योग वाणिज्य महासंघ नेपाल उद्योग परिसंघ,होटल एशोसिएशन अफ नेपाल, नेपाल चेम्बर अफ कमर्स, नेपाल पोल्ट्री व्यवसायी महासंघ, नेपाल निर्यात परिषद्, नेपाल बैंकर्स एशोसिएशन, डेभलपमेन्ट बैंकर्स एशोसिएशन अफ नेपाल, नेपाल वित्तीय संस्था संघ, नेपाल लघुवित्त बैंकर्स संघ, नेपाल घरेलु तथा साना उद्योग महासङ्घ, नेपाल इन्भेष्टमेन्ट फोरम, नेपाल सुनचाँदी व्यवसायी संघ लगायतका विभिन्न संघ संस्थाका प्रतिनिधिको सहभागिता रहेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सहभागीले आ–आफ्नो क्षेत्रसँग सम्बन्धित विषयमा धारणा राख्दै कोभिड–१९ को परिस्थितिका कारण आफ्नो क्षेत्रमा परेको असर न्यूनीकरणका लागि आगामी आर्थिक वर्ष २०७७/७८ बजेटले समेट्नुपर्ने नीतिगत सुझाव दिएका थिए । अन्तक्र्रियामा बैंकका डेपुटी गभर्नरद्वय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठका साथै बैंकका विभिन्न विभागका विभागीय प्रमुखहरूको समेत सहभागिता रहेको थियो । –––रासस

file:///D:/nep%20in%20biz%20matter/2020/MAY%202020/may%208/NRB.pdf

‘विदेशमा अलपत्र नागरिकलाई उद्धार गर्न सरकारले कुनै कसर बाँकी राख्दैन’

काठमाडौं,मे ८

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले विश्वका जुनसुकै क्षेत्रमा अलपत्र परेका नेपाली नागरिकलाई सरकारले उद्धार गर्ने बताएका छन् । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनले अलपत्र नागरिकलाई उद्धार नगर्ने भन्ने सरकारको कुनै मनसाय नरहेको पनि प्रष्ट पारे ।

“हामी नेपाली हौँ, कुनै पनि नेपाली देश वा विदेशमा अलपत्रमा परेको छ भने हामी संवेदशनीलताका साथ उनीहरुलाई उद्धार गर्छौं”, अलपत्र नेपालीलाई उद्धार गर्ने मावनीय विषय भएको उल्लेख गर्दै उनले भने, “अलपत्र नेपालीलाई स्वेदश ल्याउन सरकारको तर्फबाट कुनै कसर बाँकी राखिँदैन ।”

सर्वोच्च अदालतको परमादेशलाई सरकारले सकारात्मक रुपमा लिएको बताउँदै उनले कोरोना प्रभावित मुलुकबाट उद्धार गरेर ल्याउँदा अन्य नागरिकलाई असर नपर्ने गरी ल्याउने तयारी भइरहेको बताए । “नेपाललाई सुरक्षित राख्नुपर्छ, विदेशबाट नेपाली ल्याउँदा भावनामा बगेर मात्रै हुँदैन”, मन्त्री यादवले भने, “नेपालमा सङ्क्रमण फैलने अवस्था आउन नदिन उनीहरुलाई सम्बन्धित मुलुकमा नै स्वास्थ्य परीक्षण गरी कोभिड–१९ संक्रमण नभएको सुनिश्चित गरेर भित्रियाउनुपर्छ ।”

विदेशमा कति नागरिक छन् भन्ने एकीन तथ्यांक नहुँदा समस्या भइरहेको भन्दै उनले विदेशमा रहेका सबै श्रमिकको दर्ता गर्ने कामको थालनी गरिएको बताए । “कुन देशका कहिले गएको हो, के काम गर्ने हो ? उनीहरुको रहदानीदेखि नागरिकता नम्बरसम्म विवरण रहेका प्रश्नावली बनाएर पठाएका छौँ”, उनले भने, “उसको सीप के हो ? कति दिन देखि काम गरेको हो, कोरोनाबाट सङ्क्रमित भएको हो वा होइन भन्ने सबै विवरण भर्न मिल्ने गरी फारम बनाएका छौँ ।” परराष्ट्र मन्त्रालय मार्फत श्रमिकको दर्ता गर्ने प्रक्रिया शुरु भएको उनले जानकारी दिए ।

बैठकमा समितिका सदस्य देवेन्द्र पौडेलले परराष्ट्र र श्रम मन्त्रालयले विदेशमा रहेका नेपाली नागरिकलाई नेपाल सरकार हाम्रो साथमा छ भनेर विश्वस्त पार्न सक्नुपर्ने बताए । “खाडी र अन्य मुलुकमा त्रास कायमै छ, नेपाली आतङ्कित भएको खबर सार्वजनिक भइरहेका छन”, उनले भने, “अहिल्यै सबै नागरिक फिर्ता ल्याउन सकिँदैन तर सम्बन्धित मुलुकसँग कूटनीतिक पहल गरेर आपतमा परेका नागरिकलाई स्वदेश फर्काउने ढङ्गबाट काम गर्नुपर्छ ।”

सांसद बिन्दा पाण्डेले कोभिड–१९ का कारण अलपत्र परेर नेपाल आउन चाहनेको यकिन तथ्याङ्क कुनै पनि निकायले दिन नसक्दा जोखिमपूर्ण अवस्थामा कति नागरिक छन् भनेर भन्न नसकिएको बताइन ।

विदेशमा अलपत्र गर्भवती, बच्चाका आमा, अवैधानिक बसोबास गरिरहेका, बिरामी तथा विद्यार्थीको तथ्याङ्क तत्काल संकलन गर्नुपर्नेमा जोड दिँदै उनले सम्बन्धित मुलुकमा रहेको नेपाली नियोग र गैरआवासीय नेपाली संघले जोखिमम रहेको नागरिकको पहिचान गर्नुपर्ने बताए ।

सांसद सुजाता परियारले विदेशमा रहेका नेपालीको सही तथ्यांक सरकारले दिन जरुरी रहेको भन्दै अलपत्र नागरिकलाई स्वदेश फर्काउन सरकारको तर्फबाट कस्तो पहल भइरहेको भन्दै जिज्ञासा राखेका थिए । विदेशमा रहेका कतिपय नागरिक कोरोना संक्रमित भए पनि उपचार पाउन नसकेको गुनासो आइरहेको भन्दै उनले तत्काल कूटनीतिक पहल गरी उपचारको व्यवस्था मिलाउन आग्रह गरे । ––रासस

निषेधित क्षेत्र तोड्ने चिनियाँ पक्राउ

काठमाडौं,मे ८

स्वदेश फिर्ता हुन पाउनुपर्ने माग गर्दै सिंह दरबार अगाडि प्रदर्शन गर्न पुगेका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ । झडपमा परी महानगरीय प्रहरी वृत सिंहदरबारका डीएसपी हरिबहादुर बस्नेत र एक प्रहरी जवान घाइते भएका छन् । यस्तै ६ जना चिनियाँ नागरिक पनि घाइते भएका छन् ।

लकडाउन उलङ्घन गरी निषेधित क्षेत्रमा प्रदर्शन गर्न थालेपछि प्रहरीले नियन्त्रणमा लिन खोज्ने क्रममा झडप भएको सिंहदरबार प्रहरी वृत्तका प्रहरी निरीक्षक वेद पौडेलले जानकारी दिए । सिंहदरबार अगाडिबाट साढे ३ बजे करीब २५ चिनियाँलाई पक्राउ गरिएको हो । उनले निषेधित क्षेत्र तोडे सिंहदरबार आएर प्रहरीमाथि नै आक्रमण गरेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको बताए ।

ती नागरिकहरु घर फर्किन पाउनुपर्ने माग राख्दै ‘वी वान्ट टु गो ब्यााक होम’ प्ले कार्ड बोकेर निषेधित क्षेत्र तोडी सिंहदरबारतर्फ आएका थिए । “उनीहरु निषेधित क्षेत्रतर्फ आउन थालेपछि हामीले रोक्यौँ तर उनीहरु नमानेर सिंहदरबारसम्म आए”, उनले भने, “सिंहदरबार आएर पनि हामीमाथि आक्रमण गरेपछि हामीले तिनीहरुलाई नियन्त्रण लिएका हौँ ।”

उनीहरुले प्रहरीको लाठी खोसेर तिनलाई नै हिर्काएका थिए । त्यसको जवाफमा प्रहरीले पनि उनीहरुमाथि लाठी हानेको थियो । लाठीबाट प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतको टाउकामा चोट लागेको हो ।

प्रहरी निरीक्षक पौडेलका अनुसार बस्नेतसहित नेपाल प्रहरीका पाँच र उनीहरुतर्फ ६ घाइते भएका छन् । पक्राउ गरी तिनीहरुलाई भुकृटीमण्डपस्थित नेपाल पुलिस क्लबमा राखिएको उनले जानकारी दिए । प्रहरीले भद्रकालीबाट नै प्रवेश गर्न नदिए पनि उनीहरु ठेलमठेल गर्दै सिंहदरबार पुगेका थिए । पर्यटक राहदानीमा घुम्न आएका ती चिनियाँ ठमेलबाट रानीपोखरी, रत्नपार्क हुँदै सिंहदरबारतर्फको निषेधित क्षेत्रतर्फ आएका हुन् ।

उनीहरुले यसअघि पनि स्वदेश फिर्ता हुन पाउनुपर्ने भन्दै चिनिया दूतावाससँग आग्रह गरेका थिए भने पर्यटन वोर्डमा समेत पुगेका थिए ।

अलपत्र नेपालीलाई तत्काल स्वदेश फर्काउने व्यवस्था मिलाउन निर्देशन

काठमाडौं, मे ८

प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले विभिन्न मुलुकमा अलपत्र परेका र विदेशबाट फर्कन चाहेका नेपालीलाई तत्कालै स्वदेश फर्काउने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

समितिको शुक्रबार बसेको बैठकले नेपाल फर्काएपछि उनीहरुलाई नेपालमा कहाँ कसरी राख्ने सोसम्बन्धी कार्य अविलम्ब गर्न पनि निर्देशन दिएको छ । विदेशमा अलपत्र परेका नेपाली नागरिकलाई सुरक्षित तबरबाट तत्काल नेपाल फर्काउन सर्वोच्च अदालतले दिएको परमादेशको परिपालना गर्न पनि सरकारलाई निर्देशन दिएको समितिका सभापति विमल श्रीवास्तवले जानकारी दिए ।

यसैगरी बैठकले लकडाउनको समयमा स्वदेशभित्र रहेका मजदूरले भोग्नुपरेको समाधान गर्न र ती मजदूरलाई आवश्यक सहयोग उनीहरुको खाना तथा बस्ने प्रबन्ध मिलाउ पनि निर्देशन दिएको छ । –––रासस

भारतबाट ६ हजार भित्रिए, एक हजारको मात्रै परीक्षण

बैतडी,मे ८

आरडिटी किट अभाव हुँदा बैतडीमा कोरोना परीक्षण गर्न सकिएको छैन । जिल्लामा ६ हजारभन्दा बढी नागरिक भारतबाट भित्रिएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार बैतडीमा भारतबाट अहिलेसम्म ६ हजार ९१ जना भित्रिएका छन् ।

गएको चैत महिनादेखि अहिलेसम्म विभिन्न नाकाबाट ६ हजार ९१ जना जिल्ला भित्रिएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिनुभयो । तीमध्ये अहिलेसम्म एक हजार १२० जनाको मात्रै कोरोना परीक्षण गरिएको छ ।

४३० जनाको थ्रोट स्वाब संकलन गरेर कोरोना परीक्षण गरिएको हो भने ७९० जनाको द्रुत परीक्षण गरिएको हो । कोरोना जाँच गरिएका सबैको रिपोर्ट भने नेगेटिभ आएको छ ।जिल्लामा भारतबाट फर्किएका सबै नागरिकको कोरोना परीक्षण गर्ने कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण जिल्ला संयन्त्रको बैठकले निर्णय गरेको भए पनि आरडिटी किटको अभावमा सबैको परीक्षण गर्न नसकिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । उनले भने, “जिल्लाका सबै स्थानीय तहमा भारतबाट फर्केका नागरिकको दु्रत परीक्षणबाट कोरोना जाँच गर्ने भनिएको भए पनि किटको अभावमा सो कार्य अघि बढ्न सकेको छैन् ।”

लकडाउनपछि मात्रै भारतबाट दुई हजार ९२ जना जिल्ला भित्रिएका छन् । कतिपयलाई प्रशासन आफँैले सीमानाकाबाट उद्धार गरेको हो भने केही नागरिक ट्युबमार्फत महाकाली तरेर जिल्ला भित्रिएका हुन् । लकडाउनपछि जिल्ला भित्रिएकामध्ये पनि एक हजारभन्दा बढी नागरिकको कोरोना परीक्षण बाँकी नै छ । यद्यपि ती नागरिक क्वारेन्टाइनमा बसिरहेको सहायक प्रमुख जिल्ला अधिकारी नेगीको भनाइ छ ।

भारतबाट फर्केका नागरिकको आरडिटी गर्ने वा थ्रोट स्वाब संकलन गर्ने भन्ने अहिलेसम्म टुङ्गो लागेको छैन । यही वैशाख १८ गते उद्धार गरिएका नागरिक क्वारेन्टाइनमा बसेको एक हप्ता हुँदासम्म पनि कोरोना परीक्षण कसरी गर्ने भन्ने टुङ्गो लागेको छैन । क्वारेन्टाइनमा बसेका नागरिकले भने आफूहरुको छिटो जाँच गर्नुपर्ने बताएका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा रहेका क्वारेन्टाइनमा अहिले पनि एक हजार ३२४ जना बसिरहेका छन् ।

जिल्लामा आरडिटी किटको अभाव भएकाले प्रदेश सरकारसँग माग गरिएको छ तर त्यहाँ पनि किटको अभाव रहेको बताइएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण योजनाअन्तर्गत जिल्ला संयन्त्रको बैठकले भारतबाट फर्केका नागरिकको आरडिटी गर्ने निर्णय गरेको थियो । तर किटको अभावमा सो निर्णय कार्यान्वयनमा समस्या भएको स्वास्थ्य कार्यालयले जनाएको छ । ––रासस

बजेट अधिवेशन सुरु

काठमाडौं,मे ८

संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन शुक्रबारबाट सुरु भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट अधिवेशन आह्वान सम्बन्धि पत्र पढे लगत्तै अभिवेशन प्रारम्भ भएको हो ।

बैशाख २१ को मन्त्रिपरिषद्को निर्णय अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबारका लागि संसदको छैठौं अधिवेशन आह्वान गरेकी थिइन । जेठ १५ गतेभित्र बजेट ल्याउनुपर्ने सैवैधानिक व्यवस्थाका कारण कोरोना भाइरसको महामारीका बीच पनि अधिवेशन सुरु भएको हो ।

अधिवेशन सुरु हुनुअघि स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपायहरु अपनाइएको छ । बजेट ल्याउनु अघि संसदमा सरकारले नीति तथा कार्यक्रम पेश गर्नुपर्ने छ । बजेटको सिद्धान्त र प्राथमिकता (प्रि बजेट) माथि समेत संसदमा छलफल हुनेछ ।

त्यस्तै सरकारले आगामी वर्षको आर्थिक सर्वेक्षण पनि प्रस्तुत गर्ने छ भने जेठ १५ गते बजेट पेशगर्ने छ । संघीय संसदको पाँचौं (हिउँदे) अधिवेशन गत चैत २४ गते अन्त्य भएको थियो । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले देशभर लकडाउन लागु गरेपछि हिउँदे अधिवेशन छिटै अन्त्य गरिएको थियो ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार बैशाख २८ गते अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटका सिद्धान्त र प्राथमिकता (प्रि बजेट) प्रस्तुत गर्ने कार्यक्रम छ । जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन । त्यसपछि नीति तथा कार्यक्रममाथि छलफल हुनेछ । यसैगरी जेठ १३ गते अर्थमन्त्री खतिवडाले आगामी आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत कार्यक्रम रहेको छ ।

सांसदहरुको तापक्रम (ज्वरु) नापेर मात्रै संसद भवनभित्र पस्न दिइएको छ । गेटमा छिर्नुभन्दा पहिले सांसदहरुले औषधि राखेको फर्ममाथि कुल्चेर भित्र छिरेका छन् । भित्र छिर्नु अघि सांसदहरुलाई स्यानिटाइजर दिइएको छ । सांसदहरुले मास्क र पञ्जा लगाएका छन् ।

Nepal news headlines | breaking news kathmandu | national news of nepal live