Main News

Trending News

A homepage section

चालु शैक्षिक सत्रमा शुल्क बृद्धि नगर्न आग्रह

महाराष्ट्र,मे ९

भारतको महाराष्ट्र प्रदेशका शैक्षिक संस्थाहरुलाई चालु शैक्षिक सत्रमा शैक्षिक शुल्क बृद्धि नगर्न आग्रह गरिएको छ । महाराष्ट्र शिक्षा विभागले शैक्षिक सत्र २०२०–२१ मा शैक्षिक शुल्क बृद्धि नगर्न शनिबार आग्रह गरेको हो ।

अविभावकहरुले यसअघि निर्धारण गरिएको शैक्षिक शुल्क तिर्न पनि गाह्रो हुने अवस्था रहेकाले थप बृद्धि गर्नु उपयुक्त देखिदैन, विभागले भनेको छ । उनीहरुलाई तत्काल शुल्क तिर्न बाध्य नपार्न वा दवाव नदिन पनि विभागले आग्रह गरेको समाचारमा जनाइएको छ ।

कोरोनाभाइरसको संक्रमण फैलिन थालेपछि भारतमा अहिले पनि देशव्यापी लकडाउन कायमै रहेको छ । लकडाउनका कारण शैक्षिक संस्थाहरु बन्द भएकाले विद्यार्थीले पढ्न पाएका छैनन भने अविभावकहरुको आम्दानी पनि घटेको छ ।

अहिले आम्दानी नभएकाले उनीहरुलाई शुल्क तिर्नका लागि मासिक वा चौमासिकमा तिर्न मिल्ने व्यवस्था गर्न पनि विभागले आग्रह गरेको छ । भारतमा पटक पटक थप्दै लम्ब्याउदै गरिएको देशव्यापी लकडाउन अहिले यही मे १७ तारिखसम्मका लागि तय गरिएको छ ।––एएनआई/रासस

लिपुलेक भुभाग मिचेको नेपाल सरकारको आपत्तिमा भारत सरकारको जवाफ

नयाँ दिल्ली , मे ९

भारतले नेपाली भुभागभित्र पर्ने लिपुलेपको भुमि मिचेकोमा आपत्ति जनाउँदै परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेपछि भारत सरकारले त्यसमा प्रतिक्रिया दिएको छ । भारतीय विदेश मन्त्रालयले यस बारेमा सोधिएको एक जिज्ञासाको जवाफ दिदै सो सडकखण्ड भारतीय भुभागमा नै परेको दाबी गरेको छ ।

मन्त्रालयले दिएको जवाफमा भनिएको छ , ‘हामीले भारतको सडक उदघाटन सम्बन्धमा नेपालको परराष्ट्र मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्ति देख्यौं। उत्तराखण्ड राज्यको पिथौरागढ़ जिल्लामा भर्खरै उद्घाटन गरिएको सडक खण्ड पूर्ण रूपमा भारतको इलाकामा अवस्थित छ । सडक कैलास मानसरोवर यात्राका तीर्थयात्रीहरूले प्रयोग गरेको पूर्व अवस्थित मार्ग अनुसरण गर्दछ । हालको परियोजना अन्तर्गत, तीर्थयात्रा, स्थानीय र व्यापारीहरूको सहज र सुविधाको लागि सोही सडक पक्का गरिएको हो ।

भारत र नेपालले सबै सीमानाका मामिलाहरूका बारेमा कुराकानीकालागि संयन्त्र स्थापना गरेका छन्। नेपालसँग सीमा रेखाचित्र अभ्यास चलिरहेको छ। कूटनीतिक वार्ताबाट र नेपालसँगको हाम्रो घनिष्ट र मैत्री द्विपक्षीय सम्बन्धको भावनामा उल्लेखनीय सीमा समस्याहरूको समाधान गर्न भारत प्रतिबद्ध छ।

दुबै पक्ष विदेश सचिवस्तरीय वार्ताको तालिका बनाउने प्रक्रियामा छन् जुन दुई समाज र सरकारहरूले कोविड १९ emergency को आपतकालिन चुनौतीको सफलतापूर्वक सामना गरे पछि दुवै पक्षबीच मितिहरू तय भएपछि हुनेछ ।

In response to queries on inauguration of road on 8th May in Pithoragarh district, Uttarakhand, the Official Spokesperson stated the following:

We have seen the Press Release dated 9th May 2020 issued by the Ministry of Foreign Affairs of Nepal pertaining to the inauguration of a road in India.

The recently inaugurated road section in Pithoragarh district in the State of Uttarakhand lies completely within the territory of India. The road follows the pre-existing route used by the pilgrims of the Kailash Mansarovar Yatra. Under the present project, the same road has been made pliable for the ease and convenience of pilgrims, locals and traders.

India and Nepal have established mechanism to deal with all boundary matters. The boundary delineation exercise with Nepal is ongoing. India is committed to resolving outstanding boundary issues through diplomatic dialogue and in the spirit of our close and friendly bilateral relations with Nepal.

Both sides are also in the process of scheduling Foreign Secretary level talks which will be held once the dates are finalised between the two sides after the two societies and governments have successfully dealt with the challenge of COVID 19 emergency.

New Delhi
May 09, 2020

https://mea.gov.in/response-to-queries.htm?dtl/32677/Official+Spokespersons+response+to+media+queries+on+inauguration+of+road+on+8th+May+in+Pithoragarh+district+Uttarakhand

कोभिड–१९ःसार्कमा कोरोना सङ्क्रमितको सङ्ख्या एक लाख सात हजार पुग्यो

काडमाडौं,मे ९

दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मुलुकहरुमा कोरोनाभाइरसबाट एक लाखभन्दा बढी व्यक्ति संक्रमित भएका छन् । दक्षिण एसियाका यी आठ देशमा हालसम्म कोरोना सङ्क्रमित सङ्ख्या एक लाख सात हजार ४८४ पुगेको छ भने दुई हजार ९४९ जनाको मृत्यु भएको छ ।

दक्षिण एशियाली मुलुकमध्ये भारतमा सबैभन्दा बढी संक्रमित रहेका छन् । शनिबारसम्ममा भारतमा ५९ हजार ८८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने एक हजार ९९० जनाको मृत्यु भइसकेको छ । भारतमा १७ हजार ९५६ सङ्क्रमित व्यक्ति उपचारपछि निको भई घर फर्किएका छन् ।

त्यस्तै पाकिस्तानमा २७ हजार ४७४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ६१८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । पाकिस्तानमा सात हजार ७५६ व्यक्ति उपचारपछि निको भई घर फर्किएका छन् ।

अर्को बढी प्रभावित एशियाली मुलुक बङ्गलादेशमा शनिबारसम्म कोरोना भाइरसबाट १३ हजार ७७० जना संक्रमित भएका छन भने २१४ जनाको मृत्यु भएको छ । बङ्गलादेशमा दुई हजार ४१४ जना उपचारपछि निको भई घर फर्किएका छन् ।

लामो समयदेखि द्वन्द्वको कारण प्रभावित अफगानिस्तानमा चार हजार ३३ जना यस भाइरसकाकारण सङ्क्रमित भेटिएको छ भने यहाँ ११५ जनाकोे विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१० का कारण मृत्यु भएको छ । अफगानिस्तानमा संक्रमितमध्ये ५०२ जना निको भई घर फर्किएका छन् ।

यस्तै श्रीलंकामा ८४४ जना संक्रमित रहेका छन् भने ९ जनाको मृत्यु भएको छ । माल्दिभ्समा अहिलेसम्म कोरोना भाइरसबाट सङ्क्रमति हुनेहरुको सङ्ख्या ७६६ पुगेको छ भने तीन जनाको मृत्यु भएको छ । यहाँ २६० सङ्क्रमित निको भई घर फर्किएका छन् । यसैगरी नेपालमा हालसम्म १०९ जना र भुटानमा ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यहाँ कोभिड–१९ का कारण अहिलेसम्म मृत्यु भएको छैन ।

कोरोना भाइरसको विश्वव्यापी महामारीबाट हालसम्म ४० लाख ४४ हजार ८० भन्दा बढी मानिसहरु सङ्क्रमति बनेका छन् भने दुई लाख ७७ हजारभन्दा बढीले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन् । ––एएनआई/रासस

भारतले नेपाली भूमिमा निर्माण गरेको विवादित सडकका तस्वीरहरु

दार्चुला,मे ९

भारतको पिथौरागढ जिल्लाको गर्वाधारबाट शुरु भई नेपालको कालापानी लिपुलेक हुँदै चीनको मानसरोवर जोड्ने गरी भारतले निर्माण गरेको विवादित सडक । शुक्रबार उद्घाटन गरिएको कुल ७८ किलोमिटर लामो सो सडक नेपालको कालापानी, लिपुलेक र नावीढांग क्षेत्रमा पर्छ । यसबारे नेपाल सरकारले आफ्नो दूतावासमार्फत भारत सरकारबाट आधिकारिक विवरण खोजिरहेको छ । तस्वीरहरु : नरेन्द्रसिह कार्की/रासस

भारतले लिपुलेकको भुमि प्रयोग गरेकोमा नेपाल सरकारको कडा आपत्ति, परराष्ट्रले जारी गरयो विज्ञप्ति

काठमाडौं,मे ९

भारत सरकारका केन्द्रिय रक्षामन्त्रीले शुक्रबार लिपुलेकको भुमि हुँदै तिब्बतसम्मको सडक उदघाटन गरिसकेको तस्वीर टिविटरमार्फत सार्वजानिक गरेपछि नेपाल सरकार चनाखो भएको छ । शनिबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर लिपुलेक मात्र नभइ लिम्पियाधुरा र कालापानी समेत नेपालको भएको जनाएको छ ।

परराष्ट्र मन्त्रालयद्धारा जारी विज्ञप्तिमा १८१६ को सुगौली सन्धि बमोजिम सो क्षेत्र नेपालको रहेको भन्दैे भारत सरकारलाई नेपाली भूमिभित्र भएका गतिविधि रोक्न आग्रह गरिएको छ । ‘नेपाली भुभाग भित्र कुनै पनि गतिविधि नगर्न नेपाल सरकार नेपाल सरकार भारत सरकारलाई आग्रह गर्दछ’, विज्ञप्तिमा भनिएको छ । मन्त्रालयले ऐतिहासिक घटनाक्रमलाई जोड्दै उक्त भूमि नेपालको भएकाले त्यस्ता गतिविधि रोक्न आग्रह गरेको हो ।

लिपुलेकमा भारतले गरेको गतिविधिमा नेपालले यसअघि पनि दोहोरयाएको र सीमाका मुद्दा सम्वादमार्फत सल्टाउने प्रधानमन्त्री स्तरमा सहमति भएको स्मरण गराइएको छ ।

विज्ञप्तिमा ऐतिहासिक सन्धि, तथ्य, नक्सा र दस्तावेजका आधारमा दुई देशबीच घनिष्ठ र मैत्रीपूर्ण सम्बन्ध कायम राख्दै कुटनीतिक समाधान खोज्न नेपाल सरकार प्रतिवद्ध रहेको भन्दै सीमाका मुद्दा सम्वादमार्फत सल्टाउने प्रधानमन्त्री स्तरमा सहमति भएको स्मरण गराइएको छ ।

२०१५ मा भारत र चीन सरकारले लिपुलेकलाई दुई देशबीच व्यापारीक मार्गको रुपमा विकास गर्ने सम्झौता गर्दा नेपालले असहमति जनाएको पनि विज्ञप्तिमा स्मरण गराइएको छ । थाती रहेका सीमा मुद्दा दुई पक्षबीच कुटनीतिक माध्यमबाट समाधान गर्नकालागि नेपालले दुई पटकसम्म वार्ताको आह्वान गर्दा पनि भारतीय पक्षबाट प्रतिक्रिया नआएको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेपाली भूमि अतिक्रणविरुद्ध तत्काल कदम चाल्नुपर्छ: प्रवक्ता श्रेष्ठ

काठमाडौं,मे ९

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाली भूमिमा भारतले सडक बनाएको विषयमा सरकारले तत्काल कदम चाल्नुपर्ने बताएका छन् । पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका प्रवक्ता श्रेष्ठले भारतले अनाधिकृतरुपमा कब्जा गरेको र आफँले समेत विवादित भनी स्वीकार गरेको पश्चिम सीमाक्षेत्रमा सडक बनाएकामा आपत्ति प्रकट गर्दै सो माग  गरेका हुन् ।

सामाजिक सञ्जाल ट्वीटरमा शनिबार ट्वीट गर्दै प्रवक्ता श्रेष्ठले भने,“नेपाली भूमिमा सडक बनाई शुक्रबार उद्घाटन गरेको कार्यप्रति घोर आपत्ति प्रकट गर्दै भत्र्सना गर्दछु ।” उनले हामी सबै कोरोनाविरुद्ध लडिरहेको अवस्थामा गरिएको यो अतिक्रमणविरुद्ध सरकारले तत्काल कदम चाल्नुपर्ने धारणा व्यक्त गरेका हुन् ।

भारतले एकतर्फीरूपमा नेपालको भूगोलमा रहेको लिम्पियाधुरा, लिपुलेक र कालापानीबाट चीनको स्वशासित क्षेत्र तिब्बतको मानसरोवर जोड्ने सडक ट्र्याकको उद्घाटन गरेको समाचारले दुई मित्रराष्ट्रबीच थाती रहेको लिपुलेक कालापानी विवादलाई नयाँ चरणमा प्रवेश गराएको छ ।

भारतका संघीय रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार ट्वीट गर्दै अब भारतीय तीर्थयात्रीलाई मानसरोवरको यात्रा गर्न सहज हुने भन्दै प्रसन्नता व्यक्त गरेका थिए । नेपाल सरकारले नेपाली भूमिमा सडक निर्माण गरिएकोबारे स्पष्ट विवरण नदिन दूतावासमार्फत आग्रह गरिएको स्पष्ट पारेको छ । यसैविषयमा शनिबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर नेपाली भुमिमा गतिविधि नगर्न भारत सरकारलाइ आग्रह समेत गरेको छ ।

यसअघि भारत सरकारले नेपालको दार्चुला जिल्लामा पर्ने लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा विभिन्न सैनिक असैनिक गतिविधि गरिआएको छ । भारतले सो क्षेत्रलाई आफ्नो क्षेत्रमा गाभी नक्सा सार्र्वजनिक गरेपछि सरकारले केहीअघि आपत्ति जनाएको थियो ।––रासस

https://twitter.com/nksthaprakash/status/1258960050971987974

भारतले लिपुलेक र कालापानीमा सडक बनाएको विरोधमा दूतावास अगाडि प्रदर्शन गर्ने ३३ विद्यार्थी पक्राउ

काठमाडौं,मे ८

नेपाली भूमिमा भारतले सडक बनाएको भन्दै त्यसको विरोधमा यहाँस्थित भारतीय दूतावास अगाडि प्रदर्शनमा उत्रिएका ३३ विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । लकडाउन उल्लङ्घन गरेकाले उनीहरुलाई आज पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिए । विद्यार्थी राष्ट्रिय झण्डासहित प्लेकार्ड बोकेर सो दूतावास अगाडि प्रदर्शन गर्न पुगेका थिए ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थीले यसरी प्रदर्शन गरेको जनाइएको छ । सोही क्रममा विद्यार्थी नेता सुदेश पराजुली, यशु लामा, महेश श्रेष्ठ, अशोक थापा, मेघनाथ चापागाईंलगायत पक्राउ परेका हुन् । नेपालको भूगोलमा रहेका लिपुलेक, कालापानीबाट चीनको स्वशासित क्षेत्र तिब्बतको मानसरोवर जोड्ने सडक ट्र्याकको शुक्रबार उद्घाटन गरेको समाचार भारतका संघीय रक्षामन्त्री राजनाथ सिंहले ट्वीटमार्फत सार्वजनिक गरेका थिए ।

यसबारे परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विभिन्न सञ्चारमाध्यमबाट सो क्षेत्रमा पछिल्लो भारतीय गतिविधिबारे जानकारी पाएको र यसबारे स्पष्ट विवरण दिन भारतीय दूतावासमार्फत भारत सरकारसमक्ष माग गरिएको बताएका थिए ।

माइतीघरमा प्रदर्शन

त्यसैगरि विरोध प्रदर्शनका क्रममा माइतीघरमा समेत प्रदर्शन गरिएको छ । भारत सरकारको उक्त कदम विरुद्ध प्रदर्शन गर्न माइतीघर पुगेको युवाहरुको समूहलाई प्रहरीले पक्राउ गरेको छ । नाराबाजी गर्दै माइतिघर पुगेका युवाहरुलाई त्यहाँ नपुग्दै प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले ‘ओली सरकार राजिनामा दे, हाम्रो भूमि प्राणभन्दा प्यारो छ । भारतीय विस्तारबाद मुर्दावाद, लिपुलेक हाम्रै हो भन्दै नाराबाजी’ गरेका थिए । ––रासस

भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या ५९ हजार ५०० नाघ्यो

नयाँदिल्ली,मे ९

भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमितको संख्या शनिबारसम्म ५९ हजार ६६२ जना पुगेको छ । गत २४ घण्टामा भारतमा थप ३ हजार ३२० जना कोरोना भाइरस संक्रमित भएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा भारतमा कोरोना भाइरसको संक्रमणबाट ९५ जनाको मृत्यु भएको र यससँगै भारतमा यस प्रकोपबाट. मृत्यु हुनेहरुको सख्या १ हजार ९८१ जना पुगेको छ ।
यस संक्रमणबाट निको भएका विरामीको संख्या १७ हजार ८४७ जना रहेको पनि सो मन्त्रालयले जानकारी दिएको छ । भारतमा शनिबार बिहानसम्मको तथ्यांक अनुसार हाल यो रोगका ३९ हजार ८३४ जना संक्रमितहरु अस्पतालमा उपचार गराइरहेका छन् ।

कोभिड–१९ बाट सबैभन्दा बढी महाराष्ट्रका नागरिक संक्रमित भएका छन् । यहाँमात्र १९ हजार ६३ नागरिक कोरोना भाइरस संक्रमित रहेका छन् । महाराष्ट्रपछि गुजरात दोस्रो स्थानमा रहेको छ । त्यहाँ ७ हजार ४०२ जनामा कोरोना भाइरसको संक्रमण रहेको छ । दिल्लीमा कोरोना भाइरसको संक्रमणबाट ६ हजार ३१८ जना विरामी छन्।

कोराना भाइरसको (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारत सरकारले देशव्यापी लकडाउनलाई थप दुइ साताको लागि लम्बाएको छ । भारतले शुक्रबार मे ४ देखि लागू हुने गरी थप दुइ साताको लागि तेस्रो चरणको लकडाउन गर्ने निर्णय गरेको थियो ।

भारतमा पहिलो चरणको लकडाउन २४ मार्चमा लगाइएको थियो । दोस्रो लकडाउन १५ अप्रिलमा शुरु भएको थियो । दोस्रो लकडाउन मे ३ मा सकिदै थियो । कोरोना भाइरसको संक्रमण देशभरी बढ्दै गएपछि दोस्रो लकडाउन नसकिदै तेस्रो लकडाउन मे १७ सम्मको लागि घोषणा गरिएको थियो ।––एएनआई/रासस

थप सात जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १०९ पुग्यो

काठमाडौं, मे ९

शनिबार थप सात जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार नयाँ सात जनामा कोरोना पुष्टि भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं, कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा पुष्टि भएका कोरोना संक्रमितहरु उदयपुर, कपिलवस्तु र पर्साका हुन् ।

उदयपुर भुल्के निवासी १८, ४५ र ५६ वर्षीया महिला र कपिलवस्तुका १७ वर्षका एक, १८ वर्षका दुई पुरुषसँगै पर्साको छपकैयाका ६२ वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको हो ।

लिपुलेक कालापानीबारे सरकार सजग छ: परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं,मे ८

भारतले एकतर्फी रूपमा नेपालको भूगोलमा रहेको लिपुलेक कालापानीबाट चीनको स्वशासित क्षेत्र तिब्बतको मानसरोवर जोड्ने सडक ट्रयाकको उद्घाटन गरेको समाचारले दुई मित्रराष्ट्र बीच थाती रहेको लिपुलेक कालापानी विवादलाई नयाँ चरणमा प्रवेश गराएको छ । भारतका संघीय रक्षामन्त्री राजनाथ सिंहले आज ट्विट गर्दै अब भारतीय तीर्थयात्रीलाई मानसरोवरको यात्रा गर्न सहज हुने भन्दै प्रसन्नता व्यक्त गरेका थिए ।

नेपाल सरकार यसबारे जानकार रहे नरहेको र आगामी कदम के हुने भन्नेबारे राससको प्रश्नमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल सरकारले विभिन्न सञ्चारमाध्यमबाट सो क्षेत्रमा पछिल्लो भारतीय गतिविधिबारे जानकारी पाएको र यसबारे स्पष्ट विवरण दिन भारतीय दूतावासमार्फत भारत सरकारसमक्ष आग्रह गरिएको बताए । मन्त्री ज्ञवालीले भने, ‘ लिपुलेक कालापानीबारे सरकार सजग छ, भारत सरकारबाट स्पष्ट विवरण आएपछि नेपाल सरकारले केकस्तो प्रतिक्रिया दिने भन्ने आधिकारिक धारणा सार्वजनिक गर्नेछ ।’

यसअघि भारत सरकारले नेपालको दार्चुला जिल्लामा पर्ने लिपुलेक कालापानी क्षेत्रमा विभिन्न सैनिक असैनिक गतिविधि गरिआएको छ । भारतले सो क्षेत्रलाई आफ्नो क्षेत्रमा गाभी नक्शा सार्वजानिक गरेपछि नेपाल सरकारले केही अघि आपत्ति जनाएको थियो ।––रासस

Nepal news headlines | breaking news kathmandu | national news of nepal live