विप्लवको नेपाल बन्द फिर्ता

एनआइबि संवाददाता, काठमाडौं
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले घोषणा गरेको नेपाल बन्द तत्कालकालागि फिर्ता लिएको छ । पार्टीले सोमबार विज्ञप्ति जारी गर्दै चैत १६(शनिबार) गतेको नेपाल बन्दको कार्यक्रम फिर्ता लिने निर्णय गरेको जनाएको छ । सरकारले पार्टीमाथि प्रतिबन्ध लगाउने तथा आफ्ना कार्यकर्ताहरुलाइ धरपकड गर्ने निर्णय गरेपछि पहिलो पटक सोमबार बसेको स्थायी समिति बैठकले नेपाल बन्द लगायत चरणबन्द आन्दोलनको घोषणा गरेको थियो।
नेपाल बन्द घोषणा गरेकै दिन नेपाल बार एसोसिएसनको चुनाव र एसईईको परीक्षा परेको हुँदा विप्लव पार्टीले बन्द फिर्ता लिने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ । बार एशोसिएसन,राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले बन्द फिर्ता लिन पार्टीलाइ आग्रह गरेका थिए।
संघर्षका अन्य कार्यक्रम भने यथावतै रहेको पनि पार्टीले विज्ञप्तिमा उल्लेख गरेको छ । संर्घषका कार्यक्रम अन्तर्गत चैत १३ गते देशभर चोक जुलुस,१४ गते देशभर कोणसभा,१५ गते मशाल जुलुस,१६ गते शनिबार नेपाल बन्द,१९ गते देशभर अन्तरक्रिया, २१ गते जनवर्गीय सङ्गठनका विरोध प्रदर्शन, २२ र २३ गते कालो झन्डा प्रदर्शन, तथा चैत २४ देशव्यापी जनप्रदर्शन र जनसभा गर्ने उल्लेख थियो । तत्कालकालागि बन्द फिर्ता लिएपनि उचित समयमा सरकारलाइ जवाफ दिने चेतावनी पनि विज्ञप्तिमा उल्लेख छ ।