दिल्लीको तालकटोरा स्टेडियममा तीजको रमाइलो

तस्वीरःएनआईबि
एनआईबि संवाददाता,नयाँ दिल्ली
हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीज प्रवासमा रहेका महिला दिदीबहिनीहरुले पनि मनाईरहेका छन । यसै अवसरमा आइतबार नयाँ दिल्लीको तालकटोरा स्टेडियममा पनि नाच,गान र रमाइलो गरेर तीजको भव्य कार्यक्रम सम्पन्न गरियो । भारतीय नेपालीहरुको संस्था हाम्रो स्वाभिमान ट्रष्टले आयोजना गरेको कार्यक्रममा परम्परागत कला र संस्कृति झल्किने रातो पहिरनमा सजिएका महिलाहरुले विभिन्न कार्यक्रम प्रस्तुत गरेका थिए । नेपालका ख्याति प्राप्त लोक तथा दोहोरी गायक रामजी खाँड र गायिका सुनिता दुलालको प्रस्तुतिले दर्शकदीर्घालाइ नचाएको थियो ।
कार्यक्रममा विशेष अतिथि भारतीय जनता पार्टीका लोकसभा सांसद राजु विष्टले समग्र महिलाहरुलाइ तीजको शुभकामना दिदैं भर्खरै भारत सरकारद्धारा असम राज्यमा जारी गरिएको राष्ट्रीय नागरिक दर्ता(एनआरसी) सुचीले कुनै नेपाली र गोर्खालीहरुलाई असर नपर्ने आश्वासन दिए । त्यसैगरि आफु दार्जी्लिङको छुट्टै राज्यको मुद्धा उठाएर संसदमा पुगेको भन्दै विष्टले आगामी पाँच वर्षभित्र यसको स्थायी समाधान निकाल्ने दाबी समेत गरे ।
कार्यक्रममा आचार्य बालकृष्णको उपस्थिति रहने भनिएतापनि कार्यव्यस्तताका कारण उनी उपस्थित हुन सकेनन् । हाम्रो स्वाभीमान ट्रस्ट आचार्य बालकृष्णको संरक्षकत्वमा संचालित सामाजिक संस्था हो । नेपाली मुलका आचार्य बालकृष्णले भारतमा रहेका नेपाली भाषीहरुको उत्थानकालागि यो ट्रस्टलाइ संरक्षकत्व प्रदान गर्दै आएका छन् ।
ट्रष्टले प्रत्येक वर्ष हरितालिका तीज भव्य समारोहको आयोजना गरेर मनाउँदै आएको छ । २०१४ देखि मनाउन शुरु गरेको तीजको यस वर्षको कार्यक्रममा झण्डै तीन हजार नेपालीहरुको सहभागिता रहयो । मध्यान्ह १२ बजेपछि शुरु गरिएको कार्यक्रममा साँझ सम्पन्न भएको थियो । समारोहमा स्थानिय कलाकारहरुले पनि बेजोड प्रस्तुती दिएका थिए ।