विश्व बैंकले नेपाललाइ १६ अर्ब बढिको ऋण सहयोग गर्ने
एनआईबि संवाददाता,काठमाडौं
विश्व बैंकले युवा रोजगारी र विद्यालय क्षेत्र विकासका लागि १६ अर्ब ३७ करोड १३ लाख रुपैया बराबरको ऋण सहयोग गर्ने भएको छ । युवा रोजगारीका लागि रूपान्तरण परियोजना कार्यान्वयन गर्न १३ अर्ब ६३ करोड तथा विद्यालय क्षेत्र विकास कार्यक्रम सञ्चालनका लागि दुई अर्ब ७४ करोड १३ लाख सहयोग गर्न लागेको हो ।
अर्थमन्त्रायलमा बुधबार आयोजित एक कार्यक्रममा अर्थसचिव राजन खनाल र बैँकका नेपाल स्थित देशीय प्रबन्धक फारिस हडाड जेर्भोसले ऋण सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे । युवा रोजगारी रूपान्तरण प्रयास परियोजनाले ७ सय ५३ वटै स्थानीय तहमा रोजगारी सेवा केन्द्रबाट रोजगारीमा पहुँच वृद्धि गर्नेछ ।
उक्त परियोजना प्रधानमन्त्री रोजगार कार्यक्रम तथा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संयुक्तरूपमा कार्यान्वयन गर्नेछन् । उक्त कार्यक्रममार्फत मुलुकको भौतिक पूर्वाधार परियोजनामा अस्थायी रोजगारीका अवसर सिर्जना गर्ने विश्वास छ भने युवा तथा महिलालाई ५० दिन रोजगारीको अवसर उपलब्ध गराइने छ ।