आगामी वर्ष इस्लामाबादमा सार्क शिखर सम्मेलन हुने पाकिस्तानको दाबी

न्यूयोर्क सार्क विदेशमन्त्री स्तरीय साइडलाइन बैठक
एनआईबि संवाददाता,नयाँ दिल्ली
पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैशीले आगामी वर्ष इस्लामाबादमा सार्क शिखर सम्मेलन आयोजना हुने दाबी गरेका छन् । न्युयोर्कमा संयुक्त राष्ट्रसंघीय महासभाको साइडलाइनमा बसेको सार्क विदेशमन्त्री स्तरीय बैठकपछि कुरैशीले पाकिस्तानले आउँदो वर्ष इस्लामाबादमा सार्क सम्मेलन आयोजना गर्नकालागि सदस्य राष्ट्रहरुको सहमति पाइसकेको बताएको भारतीय दैनिक अखबार दि हिन्दूकी कुटनीतिक सम्पादक सुहासिनी हैदरले लेखेकी छन् ।
यद्यपि सो बैठकका क्रममा भारतीय विदेश मन्त्री एस जयशंकर र पाकिस्तानी विदेशमन्त्री कुरैशीबीच आमना सामना नभएको पनि हैदरले लेखेकी छन् । ‘भारतलाइ उ सार्क सदस्य हो भन्ने लाग्छ भने सम्मेलनमा सहभागी हुनकालागि धेरै स्वागत छ ।’,कुरैशीको भनाइलाइ उद्धृत गर्दै हैदरले लेखेकी छन् ।
यता पाकिस्तानको विदेशमन्त्रालयले पनि ट्वििट गर्दै सार्क सम्मेलन चाँडै नै आयोजना हुने बताएको छ । पाकिस्तानी विदेशमन्त्रालयका प्रवक्ता डा. मोहम्मद फैजलले ट्वििट गर्दै यो जानकारी गराएका छन् । उनको टिविटमा लेखेका छन् , निकै ढिलो भइसकेको १९ औं सार्क शिखर सम्मेलन चाँडै नै आयोजना हुन्छ । न्यूयोर्कमा भेला भएका सार्कका विदेशमन्त्रीहरु सिद्धान्तत यसमा सहमत छन् । पाकिस्तानले मिति घोषणा गरेपछि सार्क अन्तत अगाडि बढछ ।
The much delayed 19th SAARC Summit to be held in Islamabad soon. SAARC Foreign Ministers meet in NY agrees, in principle. Pakistan to convey the dates. SAARC to finally move forward.
— Dr Mohammad Faisal (@ForeignOfficePk) September 26, 2019
भारत पाकिस्तानबीचको तिक्ततापूर्ण सम्बन्धका कारण न्यूयोर्कमा दक्षिण एशियाली क्षेत्रीय संगठन सार्क साइड लाइन बैठक अपुरो भयो । बैठकमा भारत र पाकिस्तानका विदेशमन्त्रीको आमना सामना भएन । बैठकमा भारतीय विदेशमन्त्री जयशंकरले मन्तव्य दिने क्रममा पाकिस्तानी विदेशमन्त्री कुरैशीले भारतीय विदेशमन्त्रीको भाषण नसुन्ने घोषणा गरे । बैठकमा उपस्थित हुने अन्तिम समयमा विदेशमन्त्री स्तरीय दिवाभोजमा समेत सहभागी नहुने निर्णय सुनाए ,त्यतिबेला जयशंकर बोलिरहेका थिए, हैदरले लेखेकी छन् , जयशंकर आफनो भनाइ राखेर बाहिरिएपछि पाकिस्तानी विदेशमन्त्री बैठकमा सहभागी भए ।
बैठकबाट बाहिरिएपछि जयशंकरले संचारमाध्यममा कुनै प्रतिक्रिया दिएनन् । उता बैठकमा प्रवेश गर्ने क्रममा पाकिस्तानी विदेशमन्त्री कुरैशीले भने कश्मीरको हत्याराहरुसँग बसेर कुरा गर्न सकिदैन भनेर प्रतिक्रिया दिएको हैदरले लेखेकी छन् ।
कुरैशीको भनाइलाइ बैठक शुरु भएको २० मिनेटभित्रै पाकिस्तानको सत्तारुढ पाटी पीटीआईले टिविट गर्दै पाकिस्तान तबसम्म भारतसँग जोडिदैन जब सम्म कश्मीरमा घेरावन्दी लगाएर गरिएको अत्याचार बन्द गरिदैन भनेर लेखेको थियो ।
भारतीय विदेशमन्त्रीले मन्तव्य दिने क्रममा बैठकमा पाकिस्तानी विदेशमन्त्रालयका प्रवक्ता फैजलले पाकिस्तानको तर्फबाट प्रतिनिधित्व गरेका थिए ।
दुइ देशका विदेशमन्त्री बाहिरिएपनि निर्धारित तालिका अनुसार अध्यक्ष राष्ट्र नेपालका साथै सार्कका अन्य सदस्य राष्ट्रहरु(माल्द्धिभ्स, भुटान, बंगलादेश, श्रीलंका)का विदेशमन्त्रीहरु आ–आफ्ना मन्तव्य राख्दै दिवा भोजमा सहभागी भएको सुहासिनीले लेखेकी छन् ।