चलचित्र तथा टेलिसिरियल शुटिंगकालागि महाराष्ट्र सरकारले जारी गरेको गाइडलाइनमा केहि बुँदा संसोधन गर्न आग्रह

मुम्बई, महाराष्ट्र, जुन ३
भारतीय फिल्म तथा टेलिभिजन निर्देशक संघले महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेलाइ पत्र लखेर शुटिंगकालागि जारी गरिएको नयाँ गाइडलाइनको दुइ बुँदामा परिवर्तन गर्न आग्रह गरेको छ । संघले ६५ वर्ष उमेरभन्दा बढि उमेरका व्यक्तिलाइ शुटिंग स्थलमा आउन रोक लगाइएको बुँदा तथा शुटिंग परिसरमा चिकित्सक तथा नर्सको अनिवार्य बुँदामा परिवर्तन गर्न आग्रह गरेको हो ।
पत्रमा बलिउडमा ६५ वर्ष काटेका कलाकार, निर्देशक,फिल्म निर्माता तथा लेखकहरु सक्रिय रुपमा काम गरिरहेको उल्लेख गर्दै सुझाव दिइएको छ । पत्रमा मुख्यमन्त्रीलाइ सम्बोधन गर्दै भनिएको छ,‘लिजेन्डरी कलाकार अमिताभ बच्चन,अनुपम खेर, परेव रावल,नसिरुद्दिन शाह,पंकज कपुर जैकी श्राफ,डेनी डेन्जोंक्पा,दिलिप ताहिल,टीनु आनन्द , राकेश वेदी, कबिर वेदी, निर्माता निर्देशक तथा लेखकमा अनिल शर्मा,डेविड धवन,सुभाष घई, श्याम बेनेगल,मनिरत्नम, प्रकाश झा,शेखर कपुर, विधुविनोद चोपडा, महेश भट्ट, प्रियदर्शन,गुलजार,जावेद अख्तर लगायत सक्रिय रुपमा काम गरिरहेका छन् । त्यसैले यो बुँदा अव्यहवारिक रहेको र यसले यी महान कलाकारहरुलाइ काम गर्न रोकेको छ ।’
त्यस्तै संघले शुटिंगस्थलमा चिकित्सक तथा नर्सको उपस्थितिकोे बुँदालाइ संसोधन गर्नुपर्ने सुझाव दिएका छन् । ‘राज्यले पहिलेदेखि नै बढदो कोरोना संक्रमितको उपचारकालागि चिकित्सक तथा नर्सको अभाव झेलिरहेको छ । त्यसैले प्रत्येक शुटिंगस्थलमा चिकित्सक तथा नर्सहरुको अनिवार्य उपस्थिति व्यवहारिक देखिदैन । यसको विकल्पमा शुटिंग लोकेसन क्षेत्रमा चिकित्सक तथा नर्स उपलब्ध गराउँदा राम्रो हुने सुझाव रहेको छ। ’
महाराष्ट्र सरकारद्धारा जारी गाइडलाइनमा के छ ?
कोरोना संक्रमण फैलिन नदिनकालागि लगाइएको लकडाउनका कारण बलिउडका फिल्म तथा हिन्दि टेलिभिजन सोको शुटिंग लकडाउन शुरुभएदेखि नै बन्द रहेको थियो । जसका कारण चलचित्र रिलिजदेखि सोका शुटिंग सबै बन्द रहेका छन् । मनोरंजन उद्योग भारी नोक्सानीमा पुगेको छ ।
भारत सरकारले जुन १ बाट लकडाउनको स्वरुप परिवर्तन गरेर अनलक फस्र्ट लागु गरिसकेपछि महाराष्ट्र सरकारले पनि नयाँ गाइडलाइन जारी गर्दै फिल्म तथा टीभी सोहरुको शुटिंग शुरु गर्न अनुमति दिएको छ ।
जारी नयाँ गाइडलाइन अनुसार ६५ वर्ष भन्दा बढि उमेरका व्यक्ति तथा गर्भवती महिला,कलाकार तथा कर्मचारीहरुलाइ शुटिंगस्थलमा आउन रोक लगाइएको छ ।
त्यसैगरि सेटमा चिकित्सक अनिवार्य रुपमा राखिनुपर्ने तथा कोरोना संक्रमित व्यक्तिको तुरुन्त उपचार गरिनुपर्ने छ । शुटिंग सेटमा हात मिलाउने, अंगालो मार्न रोक लगाइएको छ ।
अन्य कलाकारका मेकअप प्रयोग गर्न नपाइने, फोहोर कपडा प्रत्येक दिन धुनुपर्ने, सेटमा सफासुग्घर राख्नुपर्ने, एउटा टेन्टमा पाँच जना बढि मान्छे बस्न नपाउने लगायत फिल्म अथवा सिरियलमा विवाह,समारोह जस्ता सिक्वेन्स गर्न नपाउनुका साथै सबैभन्दा महत्वपूर्ण सामाजिक दुरीलाइ कडाइका साथ पालना गर्नुपर्ने अनिवार्यता राखेको छ ।
यसका अलाबा शुटिंगस्थलमा सकेसम्म ३३ प्रतिशत कर्मचारी राखिनुपर्ने ,सकेसम्म कास्टिंग, लुक टेस्ट तथा मिटिंग भिडियो कल तथा भिडियो कन्फरेन्स , स्काइपबाट गरिनुपर्ने तथा कलाकारहरुकालागि खाना समेत घरबाट ल्याउनुपर्ने भनिएको छ । त्यसैगरि मेकअपमा सेनिटाइजेसनको प्रयोग लाइ ध्यानमा राखिनुपर्ने भनिएको छ ।
नयाँ गाइडलाइन जारी भएसँगै संजयलीला भंसाली निर्देशित तथा आलिया भट्ट अनुबंधित गंगुबाइ कथियावाडी चलचित्रको शुटिंग शुरु हुने भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।
भारतमा कोरोना संक्रमित राज्यमा महाराष्ट्र पहिलो रहेको छ । ताजा तथ्याँक अनुसार महाराष्ट्रमा ७०हजार बढि संक्रमित रहेको छ भने २३६२ जनाको कोरोना संक्रमणका कारण निधन भइसकेको छ ।