समकक्षी मोदीको सपथमा सहभागी भए प्रधानमन्त्री ओली

एनआइबि संवाददाता,नयाँ दिल्ली
प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ समारोहमा सहभागि हुन विहिबार दिल्ली आएका प्रधानमन्त्री के.पी. ओली र समकक्षी मोदी बीच शुक्रबार बिहान हैदरावाद हाउसमा शिष्टाचार भेट हुँदैछ । दुइ प्रधानमन्त्रीबीच कुराकानीकालगि छोटो समय मात्र हुने दूतावासले जनाएको छ । प्रम ओलीलाइ बधाइ दिनकालागि आएको हुँदा द्धिपक्षिय हितका विषयमा सामान्य छलफल मात्र हुने बुझिएको छ । श्रोतको जानकारी अनुसार यो भेटघाटमा द्धिपक्षिय विषयका मुद्दाहरुलाइ नउठाउनकालागि भारतीय पक्षले विशेष आग्रह गरेको छ । भेटमा ओलीले आफ्ना समकक्षीलाइ नेपाल भ्रमणको निम्तो समेत गर्ने बुझिएको छ ।
विहिबार साँझ प्रम मोदीको सपथ समारोहमा सहभागी भएका प्रधानमन्त्री ओली समारोह लगत्तै मोदीले विदेशी राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरुको सम्मानमा आयोजना गरेको रात्रीभोजमा सरिक भए ।
शुक्रबार नै प्रम ओली भारत स्थित नेपाली दूतावास आउने कार्यक्रम रहेको छ । विहान दूतावासमा ब्रेकफास्ट छलफल हुने बुझिएको छ । विहिबार दिउँसो दिल्ली आइपुगेका प्रम ओलीलाइ विमानस्थलमा नेपाली राजदूत निलाम्बर आचार्य लगायत भारतीय विदेशमन्त्रलायका सचिव(पश्चिम)ए.गितेश शर्माले स्वागत गरेका थिए। प्रम अोलीका साथमा पत्नी राधिका शाक्य, विदेश मामिला सल्लाहकार डा. राजन भट्टराइ , परराष्ट्र सचिव शंकर वैरागी लगायतको टोली रहेको छ । भारत सरकारको निमन्त्रणामा दिल्ली आएका प्रधानमन्त्री ओली चाणक्यपुरीको डिप्लोमेटिभ इन्क्लेभस्थित ताज प्यालेसमा बसेका छन् । शुक्रबार दिउँसो नेपाल एयरलायन्सको ३.५५को नियमित उडानबाट प्रम ओली स्वदेश फर्किने कार्यक्रम रहेको छ ।