सिंगापुरमा रहेका प्रम ओली र मन्त्रीपरिषद सदस्यबीच दोश्रो पटक भिडियो कन्फरेन्स

तस्वीर श्रोतः विष्णु रिमालको ट्वििट
एनआईबि संवाददाता,काठमाडौं
उपचारकालागि सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले दोश्रो पटक टेलिप्रिन्सेज प्रविधि मार्फत मन्त्रिपरिषद्का सदस्यहरुसँग सरकारको काम बारे छलफल गरेका छन् । प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालका अनुसार मन्त्रिपरिषद्का सदस्यले टेलिप्रिजेन्स प्रविधिमार्फत दोस्रो पटक प्रधामन्त्री ओलीसँग छलफल गरेका हुन् । प्रधानमन्त्रीले आफ्नो स्वास्थ्यमा सुधार आइरहेको जानकारी गराए भने यताबाट मन्त्रिपरिषद् सदस्यले सरकारका कामबारे जानकारी गराएका छन् । टिविट गर्दै रिमालले ‘सम्माननीय प्रम केपी शर्मा ओलीले सिंगापुरबाट टेलिप्रिजेन्स प्रविधिमार्फत आज दोस्रो चोटी आफ्नो क्याविनेटका सदस्यहरूसँग सरकारका कामको बारेमा छलफल गर्नुभयो’, जानकारी गराए ।
प्रधानमन्त्री ओलीले पहिलो पटक भदौ ९ गते मन्त्रिपरिषद् सदस्यसँग टेलिप्रिजेन्स प्रविधिमार्फत् कुराकानी गरेका थिए। सो भिडियो कन्फरेन्सको वैधानिकता माथि नै प्रश्न चिन्ह खडा भएको थियो । सुरुमा प्रम स्वयं र सल्लाहकार रिमालले मन्त्रीपरिषद बैठक भनेर भनेपछि भिडियो कन्फरेन्सबाटै प्रधानमन्त्रीले मन्त्रिपरिषद बैठकको अध्यक्षता गरेको भनेर प्रतिपक्षी काँग्रेसले विरोध गरेपछि यो विषय विवादमा तानिएको थियो।
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बिहीबार प्रतिनिधिसभाको बैठकमा समेत प्रधानमन्त्री केपी शर्मा ओलीसँग भिडियो कन्फ्रेन्स मात्रै भएको दाबी गरेका थिए।
भदौ ९ गते ओलीको अफिसियल ट्विटमा भने भिडियो कन्फरेन्सबाट मन्त्रिपरिषद् बैठक भनेर लेखिएको थियो। ‘प्रविधि र प्राविधिकलाई धन्यवाद दिन चाहन्छु । आज पहिलो चोटी सिंगापुरबाट टेलिप्रिजेन्समार्फÞत मन्त्रिपरिषदको बैठक बस्न सकियो’, प्रधानमन्त्रीको ट्वििटमा लेखिएको थियो ।