मोदी सरकारको गल्तीका कारण आर्थिक मन्दी आएको पूर्व प्रधानमन्त्री मनमोहन सिंहको आरोप

तस्वीर श्रोतःमनमोहन सिंह ट्वििटर
एनआईबि संवाददाता,नयाँ दिल्ली
भारतीय पूर्व प्रधानमन्त्री तथा काँग्रेसका वरिष्ठ नेता डा.मनमोहन सिंहले भारतीय अर्थव्यवस्थाको अवस्था अति चिन्ताजनक रहेको बताएका छन् । उनले मोदी सरकारको चारैतिरको अव्यवस्थापनका कारण आर्थिक मन्दी आएको बताए । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा भारतको आर्थिक वृद्धिदर ५ प्रतिशतमा सिमित हुने संकेत रहेको भन्दै सिंहले आर्थिक वृद्धिदर लगातार ओरालो लाग्नु भारतकोलागि अत्यन्त कठिन स्थिति हुने बताए । पछिल्लो आर्थिक वृद्धिदर ५.८प्रतिशत रहेको थियो ।
भारतमा डा मनमोहन सिंहको दुरदर्शी अर्थशास्त्रीको रुपमा पृथक छबी छ । सन् २००७÷२००८ मा विश्व आर्थिक मन्दीको समयमा भारतको अर्थव्यवस्थालाइ संतुलित राख्न सिंहको भुमिका विश्वमै प्रशंसनीय मानिन्छ । अर्थव्यवस्थाको वृद्धिदर पछिल्लो ६ वर्षमा सबैभन्दा न्यून आएपछि सिंहले यो चिन्ता पून दोहरयाएका छन् । उनले सरकारलाइ प्रतिशोधको राजनीतिबाट बाहिर आउन आग्रह गर्दै सबैको कुरालाइ सुन्न सुझाए । उनले भने, ‘लगातारको आर्थिक गिरावटले भारतकोलागि अत्यन्त जटिल स्थिति हुनेछ । म आग्रह गर्छु कि सरकारले प्रतिशोधको राजनीतिबाट बाहिर आएर दिमागले काम लिएर सबैका कुरा सुनोस । अर्थव्यवस्थाको यो हालत सरकारकै गल्तीहरुकै कारणले बनेको हो । ’
मोदी सरकारले पहिलो कार्यकालको ८ नोभेम्वर २०१५ मा अचानक ५सय र १ हजार दरका नोटहरुको प्रचलनमा रोक लगायो । भ्रष्टाचार नियन्त्रण, मुलकमा लुकाएर राखिएका भ्रष्ट सम्पती अनि विदेशमा जमा भएका काला धन फर्काउने र डिजिटर कारोबारलाइ बढावा दिने सरकारको कठोर कदम भन्दै ‘डिमोनिटाइजेसन’लाइ लागु गरियो । नरेन्द्र मोदी नेतृत्वको सरकारले डिमोनिटाइजेसन(नोटबन्दी) को सफलताको रट लगाइरहेको समयमा उनको यो कदमको दुरगामी प्रभाव बारे सिंहले आफनो चिन्ता नै जताइरहे । नोटबन्दीको प्रतिकुल असर केहि समयभित्र देखिन थाल्ने भन्दै उनले मोदी सरकारलाइ बारम्बार सचेत गराइरहे ।
उनले नोटबन्दी र जीएसटी लागु गरिएको एक वर्षपछि ब्लुमवर्ग क्विन्ट अनलाइनलाइ दिएको एक अन्तर्वातमा खुलेर मोदी सरकारको यो कदमको सकारात्मक र नकारात्मक पक्षहरुलाइ केलाएका थिए । नोटबन्दीले अर्थतन्त्रका सुचकाँकमा परेको भन्दा अधिक प्रभाव समाजको कमजोर वर्ग तथा मध्यम वर्गीय व्यवसायीलाइ परेको उनले बताएका थिए । सिंहले त्यतिबेला गरेका क्यालकुलेटिभ प्रेडिक्सन भारतको पछिल्लो अर्थव्यवस्थाको विग्रिएको स्वास्थ्यसँग मेल खाएको छ ।